विकासन्युज

नयाँ बजेटबारे के भन्छन भरत मोहन अधिकारी, बर्षमान पुन र शंकर कोइराला ?

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेट प्रति तीन जना पुर्व अर्थमन्त्रीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । पुर्व अर्थमन्त्री भरतमोहन अधिकारी, बर्षमान पुन र शंकर कोइरालाले नयाँ बजेट प्रति मिश्रित प्रतिक्रिया दिएका हुन् । ठुला पुर्वाधार आयोजनामा यथेष्ठ मात्रामा बजेट विनियोजन गर्नु, स्थानिय तहका लागि रकम सिधै पठाउनु, संघियता कार्यान्वयनमा जोड दिनु लगायतका सकारात्मक पक्ष रहेको बताउँदै केहि अनावश्यक कार्यक्रम र असमान बजेट वितरण समेत गरिएको बताएका हुन् । पुँजीगत खर्च कम भयोः अधिकारी एमाले नेता तथा पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीले राष्ट्रिय गौरवको आयोजनाहरुलाई निरन्तरता दिने काम राम्रो भएपनि पुँजीगत खर्च अत्यन्तै कम भएकोमा भने चिन्ता व्यक्त गरे । उनले भने,‘मैले त बडो स्पष्ट रुपमा भनेको छु, कि ठूला ठूला परियोजनाहरुको काम कसरी भैरहेको छ, यसको प्रगति विवरण लिनको लागि प्रधानमन्त्रीको लेभलमा एउटा सेल र अर्थमन्त्रीको लेभलमा अर्को सेल बनाउनुपर्छ, अनि प्रगति विवरण लिनुपर्छ ।’ त्यस्तै उनले काठमाडौं–तराई द्रुत मार्ग परियोजना, तीन वटा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई एकाउन्टेवल बनाउनुपर्नेमा जोड दिए । अधिकारीले बजेटले गरिबी निवारण सम्बन्धी प्रभावकारी कार्यक्रम ल्याउन नसकेको गुनासो पोखे । उनले भने,‘गरिबीको रेखामुनी बस्नेहरुको संख्या ह्वात्तै बढेको छ, गरिबी निवारणका कामहरु हुन सकेका छैनन्, विदेशी सहायताहरु विचौलीयाहरुले बिचमै खाने गरेका छन्, यतातिर सरकारको ध्यान पुग्नुपर्छ ।’ उनले गरिबी निवारणसम्बन्धी कार्यक्रमहरुलाई एकद्धार प्रणालीमा सञ्चालन गर्नुपर्ने समेत बताए । त्यस्तै उनले युवा स्वरोजगार कार्यक्रमलाई समेत प्रभावकारी बनाउनुपर्ने समेत बताए । उनले भने,‘यसमा सरकारले कार्यक्रमहरु दिनुपर्छ ।’ उनले कृषिमा समेत विशेष ध्यान दिन नसेकेकोमा गुनासो पोखे । उनले भने,‘अर्थतन्त्रलाई गति दिन चुक भएको छ, किनकी गाउँमा रोजगारी सिर्जना गर्ने भनेको नै कृषिमा विशेष ध्यान दिनुपर्छ नि।’ उनले बजेटले संघीयतालाई कार्यान्वयन गर्न जोड दिएको छ । यद्धपी उनले स्थानीय निकायलाई रकम भने अपूरो भएको गुनासो पोखे । त्यस्तै उनले आफूले त कृषिमा कम्तिमा ५० अर्व रकम विनियोजन गर्नुपर्ने भनेपनि जम्मा ३० अर्ब मात्रै छुट्याएको स्पष्ट पारे । त्यस्तै चीनसँगको ओबोरमा हस्ताक्षर गरेपछि पूर्वाधार विकास अघि बढ्ने भएकोले यसलाई समयमै कार्यान्वयन गर्नुपर्नेतिर विशेष ध्यान दिनुपर्ने बताए । ऐतिहासिक बजेटः पुन माओवादी केन्द्रका नेता एंव पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले हालै ल्याएको बजेट ०७४÷७५ को आर्थिक बजेट समग्रमा राम्रो भएको टिप्प्णी गरे । पूर्व अर्थमन्त्री पुनले समयमै बजेट आउनु र यसमा सबै दलहरुको समर्थन रहनु सुखद् पक्ष रहेको बताएका हुन् । उनले भने,‘जेठ १५ गते बजेट ल्याउनुपर्ने थियो समयमै बजेट आयो, यो एकदमै खुशीको कुरा हो ।’ पुनले भने,‘संघीय स्वरुप अनुसार नै स्थानीय तह वा सरकारलाई पर्याप्त बजेट गएको छ ।’ उनका अनुसार मनाङमा ५ सय जनसंख्या भएको गाउँपालिकामा पनि न्यूनतम् दश करोड बजेट गएको छ । उनले केन्द्रिय तहबाट स्थानीय तहमा बजेट पर्याप्त रुपमा पुगेकोमा खुशी व्यक्त गर्दै यो अत्यन्तै सकारात्मक पक्ष भएको बताए । उनका अनुसार सरकारले हुलाकी राजमार्ग, तीन वटा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण, फाष्ट ट्रयाक, हुलाकी राजमार्ग, जलविद्युत आयोजनामा राम्रो बजेट विनियोजन गरिएको छ । त्यस्तै सरकारले ठूला आयोजना अन्र्तगर्त उज्यालो नेपाल अन्र्तर्गत उर्जा क्षेत्रमा ७८ अर्व विनियोजन गरिएको यो बजेटको राम्रो विशेषता रहेको पुनले बताए । त्यस्तै यही माघ ७ गतेभित्र तीन तहकै निर्वाचन सम्पन्न गर्नको लागि सुनिश्चिततासहित बजेट विनियोजन भएकोमा प्रंशसा गरेका थिए । त्यस्तै आगामी ५ वर्षभित्र मुलुकको राजनीतिक संक्रमण अन्त्य गरि आर्थिक क्रान्तिलाई द्रुत गतिमा अघि बढाउनेगरि बजेट आएको समेत उनले बताए । कर्मचारीको तलवभत्ता वृद्धि नभएकोमा थोरै गुनासो भएपनि यसलाई पूरक बजेटमा समेट्ने आफूले विश्वास लिएको बताए । उनले भने,‘आचारसंहिताको कारण अहिले राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि हुन सकेन् तर हामी यसलाई पूरक बजेटमा समेट्छौं भन्नुभएको छ, मलाई विश्वास छ, यो अब आउने बजेटमा समेटिनेछ ।’ त्यस्तै जेष्ठ नागरिक, एकल महिला लगायतका सामाजिक सुरक्षा भत्ता समेत पूरक बजेटमा समेटिने आफूले विश्वास लिएको पुनको भनाई थियो । त्यस्तै युवा स्वरोजगारलाई पनि विशेष ध्यान दिईने उनको तर्क छ । यद्धपी उनले बजेटको आकार ठूलो भएको भन्ने गुनासो भएपनि यसको स्रोत राजश्व संकलन नै रहेको बताए । उनले भने,‘कर २० प्रतिशतले वृद्धि हुन्छ, त्यसैले यो लक्ष्य सजिलै हाँसिल हुन्छ ।’ राजनीतिक सहमतिको गैर राजनीतिक बजेटः कोइराला पूर्वअर्थमन्त्री डा. शंकरप्रसाद कोइरालाले पनि बजेट विशिष्ट परिस्थितिमा आएको भएपनि यसले आशाका किरणहरु ल्याएको बताए । कोइरालाले बजेट दुई दलीय सहमतिमा आएको भएपनि यो बजेटलाई राजनीतिक सहमतिमा ल्याईएको गैर–राजनैतिक बजेटको संज्ञा दिए । उनले अर्थमन्त्रीलाई हात खुट्टा बाँधेर बजेट ल्याउन भनिएको भएपनि सकारात्मक पक्षहरु समेटेर बजेट आएकोमा खुशी व्यक्त गरे । उनले भने,‘यो बजेट चुनावी आचारसंहिताले बाँधिएर आएको छ, समग्रमा बजेट राम्रो छ, यसले तीन तहकै निर्वाचन संविधानले तोकेको समयसिमाभित्रै सम्पन्न गर्नको लागि सुनिश्चितता गरेको छ ।’ त्यस्तै आर्थिक वृद्धिदर ७.२ प्रतिशत प्रक्षेपण गरिएको र उक्त वृद्धिदर हाँसिल हुने समेत विश्वास व्यक्त गरे । त्यस्तै स्थानीय तहकमा स्रोत र साधनहरु हस्तान्तरण गर्नुपनि बजेटको सुन्दर पक्ष रहेको कोइरालाले बताए । त्यस्तै बजेटले रज्यसत्ता स्थानीय तहमा हस्तान्तरण गरेको अनुभुति समेत भएको उनको भनाई थियो । उनले भने,‘केन्द्रका आयोजनाहरु स्थानीय तहसम्म पुगेका छन्।’ पुँजीगत खर्च कार्यान्वयन गर्नतिर विशेष ध्यान दिनुपर्ने उनले बताए । त्यस्तै उनले नयाँ नीति तथा कार्यक्रमहरु नल्याउने भनिएपनि अर्थमन्त्रीले बढो चलाखीपूर्वक ढंगले केही नयाँ कार्यक्रमहरु समेत ल्याएको बताए । उनका अनुसार रसुवागढी–काठमाडौं– पोखरा–भैरहवा रेलमार्ग, राष्ट्रसेवक कर्मचारीहरु मार्फत ५०० मेगावाट जलविद्युत क्षमता निर्माण गरिने, ७ वटै प्रदेशमा एक एक मेगासिटी बनाउने जस्तो नयाँ कार्यक्रमहरु बजेटमार्फत आएका छन् । त्यस्तै उनले बजेटको आकार ठूलो हुनु अलिकति अशोभनीय भएको टिप्पणी गरे । उनले भने,‘हाम्रो कुल गार्हस्थ भनेको २६ खर्ब हो, जिडीबीको ४० प्रतिशतमात्रै बजेटमा ल्याउनुपर्ने हो, यो चाहीँ ठाडै उल्लंघन भएको छ ।’ उनले अहिलेको बजेटको आकार हेर्दा जिडीपीको झण्डै ५० प्रतिशत बजेट आएको बताए । त्यस्तै बजेटले नीजी क्षेत्रलको मनोवल र हौसललाई प्रदान नगरेको गुनासो पोखे । उनले भने,‘यो बजेटले नीजी क्षेत्रलाई त्यति उत्साह प्रदान गरेको छैन, आयातमा मात्रै हामी केन्द्रित भयौं, निर्यात अत्यन्तै कम भएको छ, यतातिर पनि ध्यान दिईनुपर्ने थियो ।’

‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’को नतिजा सार्वजनिक

काठमाडौं । आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र– २०७३ “ आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति”सार्वजनिक गरेको छ । बैंकले राष्ट्र विकासका कर्णधार विद्यार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्याउने उद्देश्यले सो कार्यक्रम लागु गरेको थियो । छात्रवृृति सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्याब्सनका अध्यक्ष विजय सम्बाहम्फे र हिसानका उपाध्यक्ष डा. स्वागत श्रेष्ठको उपस्थिती रहेको थियो । छात्रवृति समितिका सह-संयोजक डेनियल डी. श्रेष्ठ, हिसान उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, प्याब्सन अध्यक्ष विजय सम्बाहम्फे, आईएमई तथा ग्लोबल आईएमई बैंकका सीईओ सुमन पोखरेल र अनिल ज्ञवालीले आकाँक्षा छात्रवृति योजनाको विषयमा जानकारी गराएका थिए । उक्त छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीबाट प्राप्त भएका सदर आवेदनका आधारमा एक शैक्षिक सत्र अथवा शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिएको हो । आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि एक सय जना विद्यार्थीलाई गत शैक्षिक सत्रदेखि नै छात्रवृत्ति प्रदान गरिँदै आएको छ । आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकको संयुक्त पहलमा ल्याईएको यो योजना यी दुवै वित्तीय संस्थाहरुको संस्था गत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्दछ । निर्धारित समयमा रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर सम्बन्धित संस्थाका उच्च पदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले निर्णयगरी अन्तिम नतिजा मंगलबार प्रकाशन गरेको हो । छात्रवृति प्राप्त गर्न सफल छात्र/छात्राहरुको नामावली यसै साथ संलग्न गरिएको छ ।  

सिद्धार्थ डेभलपमेण्ट बैंकका अध्यक्ष भण्डारीले लिए डेपुटी गभर्नर सामु सपथ ग्रहण

काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंकका नवनिर्वाचित अध्यक्ष राम बहादुर भण्डारीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलबार डेपुटी गभर्नरका सामु सपथ लिएका भण्डारीले आफ्नो पदीय जिम्मेवारी सम्हालेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ लागू भए पश्चात उक्त ऐनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले आफु निर्वाचित भए पश्चात तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंक समक्ष सपथ लिनु पर्ने ब्यवस्था बमोजिम नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार नवनिर्वाचित अध्यक्ष भण्डारीले आज नेपाल राष्ट्र बैंकमा आयोजित विशेष समारोहमा सपथ लिएका हुन् । गत जेठ १२ गते सम्पन्न बैंकको विशेष साधारण सभाले अध्यक्ष भण्डारीका साथै सञ्चालकहरु रतन लाल अग्रवाल, उद्धव चन्द्र गौतम संस्थापक समुहबाट र अर्जुन कुमार भट्टराई, बद्री खनाल र एनपीसिएम इण्भेष्टमेण्ट प्रा.लि. सर्वसाधारण समुहबाट गरी जम्मा ६ सदस्यीय सञ्चालक समितिको निर्वाचन गरेको थियो । साथै, सञ्चालक समिति सदस्यहरुले आफु मध्येबाट निवर्तमान अध्यक्ष भण्डारीलाई नै सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।

बाजुरामा नेपाली सेनाको विमान दुर्घटना, पाइलट गुरुङको मृत्यु, दुई जना घाइते

भीमदत्तनगर। नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा । दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन् । गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले जानकारी दिए । सुुर्खेतबाट खाद्यान्न लिई हुम्ला, सिमीकोटका लागि उडेको सो जहाज अवतरण हुन नसकेपछि कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा दुर्घटनामा परेको हो । “अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज धान खेतमा पल्टिएको हो,” भाटले भने । दुर्घटनापछि जहाजमा लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए । गम्भीर घाइते खड्का र आलेलाई उपचारका लागि सीता एयरको जहाजबाट अहिले नेपालगन्ज लगिएको छ । घाइतेसँगै पाइलट गुरुङको शवसमेत नेपालगन्ज लगिएको छ । नेपालगन्जबाट भारतीय पर्यटक लिई हुम्लाको सिमीकोटका लागि उडेको सीता एयरको जहाज मौसम खराबीका कारण अवतरण हुन नसक्दा कोल्टी विमानस्थलमा अवतरण गरिएको प्रहरी नायब निरीक्षक भाटले बताए । रासस

मंगलबारको नेप्से परिसूचक २१ अंकले ओरालो, ७६ करोडको सेयर कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक २१ दशमलब १५ अंकले ओरालो लागेर १५९४ दशमलब ४३ अंकमा झरेको छ । सो दिनको बजारमा ७६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो रकम आइतबारको तुलनामा एक करोड रुपैयाँ बढी हो । मंगलबार १४७ कम्पनीको १२ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १२० अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य, बैंकिङ, विकास बैंक, होटल र हाइड्रोपावर समूहको परिसूचक क्रमशः २६, १९, १६, ११ र १० अंकले ओरालो लागेको छ । उत्पादनमूलक र फाइनान्स समूहको परिसूचक क्रमशः ५ र १ अंकले बढेको छ । मंगलबार सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९९ रुपैयाँ रहेको छ । त्यस्तै, मिथिला लघुवित्त विकास बैंक र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ को सेयर मूल्य क्रमशः ५.७५ र ५.१८ प्रतिशतले घटेको छ । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी कर्नाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.७३ प्रतिशतले बढेको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता २८२ रुपैयाँ रहेको छ । हिमालयन जनरल इन्स्योरेन्सको ५ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं । साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौं महानगरपालिका नयाँ बसपार्कमा होटल म्याग्दी पोखरा सञ्चालन गरी बस्ने ३२ वर्षीय राजकुमार भुसाललाई प्रहरीले २०० ग्राम सुनसहित पक्राउ गरेको हो । साउदीबाट थारुसँगै नेपाल आएका उनका साथीहरुसँग भन्सार जाँचपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ स्थलमा बसी सुन सङ्कलन गरिरहेका अवस्थामा दुवैलाई सुनसहित पक्राउ गरिएको हो । रासस

मधेशमा पूर्वाधार विकास गर्न ३२ अर्ब ४८ करोड, के केमा पर्यो बजेट ?

काठमाडौं । सरकारले मधेशका बिभिन्न जिल्लाहरुमा पुर्वाधार विकासका लागि ३२ अर्ब ४८ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले आगामी आर्थिक बर्षका लागि पेश गरेको बजेटले मधेशमा ठुला विकासका पुर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा यथेष्ठ रकम विनियोजन गरेको हो । सरकारले मधेशका २० वटा जिल्लाका सदरमुकामहरुको शहरी पुर्वाधार विकासका लागि मात्रै ११ अर्ब रुपैंयाँ विनियोजन गरेको छ । तत्कालिन केपी ओली सरकारले मधेशका १८ जिल्लाको सदरमुकामको शहरी पुर्वाधार विकासका लागि ९ अर्ब बजेट विनियोजन गरेको थियो । त्यस्तै, नयाँ बजेटमा हुलाकी राजमार्गको प्रथम चरणको ५१८ किलोमिटर सडक निर्माणका लागि ४ अर्ब २७ करोड विनियोजन गरिएको छ । मधेशको लाइफलाइनका रुपमा हेरिएको हुलाकी राजमार्गको दोश्रो चरणका लागि आवश्यक पर्ने रकमको जोहो गरिने पनि बजेट वक्तव्यमै उल्लेख गरिएको छ । तराई मधेशका जिल्ला सदरमुकामहरुलाई पुर्वपश्चिम राजमार्गसँग जोड्ने सडक स्तरोन्नतिका लागि थप ३ अर्ब विनियोजन भएको छ । नारायणगढ–बुटवल सडक खण्डलाई चार लेनको बनाउन अरु ७ अर्ब ११ करोड बजेट छुट्याइएको छ । बर्दिबास–सिमरा रेल वे लाइन निर्माणका लागि ४ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ । रानी–इटहरी–धरान, जटही–जनकपुर, बिरगञ्ज–पथलैया, बेलहिया–बुटवल र मोहना–अत्तरिया सडकलाई २ बर्षभित्रै ६ लेनको बनाउन थप २ अर्ब ९० करोड विनियोजन गरिएको छ । त्यस बाहेक हुलाकी राजमार्गमा १० वटा नयाँ शहरको स्थापना गरिने बजेटमा उल्लेख गरिएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइएको छ । तराई मधेशका २० वटा जिल्ला सदरमुकाममा आर्सेनिकमुक्त खनेपानी सेवा उपलब्ध गराउन सोलार पम्पिङ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

अब नेपाली विद्यार्थीलाई अष्ट्रेलिया जान सजिलो

काठमाडौं । नेपालबाट अष्ट्रेलिया पढ्न र करिअर बनाउन जान चाहने विद्यार्थीलाई पहिले भन्दा अलिक सजिलो हुने भएको छ। अष्ट्रेलियाबाटै त्यहाँको जिवन, विश्वविद्यालय, कोर्ष, आम्दानीको अवस्था साथै कसरी अष्ट्रेलिया प्रोसेस गर्ने आदी विषयमा जानकारी दिन सिड्नीमा रहेका केही युवाले पोर्टल नै सुरू गरे पछी अब अष्ट्रेलिया जान चाहनेका लागी सुसूचित हुन सजिलो हुने भएको हो। नेपालबाट अष्ट्रेलिया जान चाहने तथा अष्ट्रेलिया पुगिसकेका नेपालीहरूलाई त्यहाँको जीवन शैली तथा पढाई र भविष्यको बसाईंका बारेमा जानकारी दिने हिसाबले नेपालीपेजडटकम www.nepalipage.com वेब पोर्टल सुरू गरिएको छ। वेब पोर्टलले नेपाली तथा अंग्रेजी भाषामा नेपालबाट अष्ट्रेलिया जान चाहने तथा अष्ट्रेलियामा रहेका नेपालीहरूलाई अष्ट्रेलिया र त्यहाँको अवसर बारे सूचित गर्ने वेब पोर्टल संचालक तथा प्रोग्रामर मदनमणि अधिकारीले बताए। ‘हामीले एक वर्ष देखी अष्ट्रेलियाको नेपाली उपस्थिती, विद्यार्थीका समस्या अध्ययन गरेर यसको प्राविधिक तथा सामग्री योजनाबद्ध ढंगले विकास गरेका छौं’ अधिकारीले बताए। उनले नेपालमा पत्रकारिता गरेको अनुभव र अष्ट्रेलियाको सफ्टवेयर ईन्जिनियरिङको सिप प्रयोग गरेर आफू जस्तै अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनका तिता मिठा भोगाई र संभावनाका बाटा पहिल्याउन सहयोग गर्ने हिसाबले यसलाई अघि बढाएको बताए। ‘नेपालबाट अष्ट्रेलिया जाने भनेपछी स्वर्गै हो कि जस्तो मान्ने गरिन्छ, यहाँका समस्या र प्रतिस्पर्धा अनि जोगिनुपर्ने धेरै विषय छन् जसको बारेमा नेपालमा धेरै कमलाई थाहा छ’ अधिकारीले भने ‘त्यस्ता विषय जसले अष्ट्रेलिया जाने निर्णयलाई सही र सफल बनाउन मदत गर्छन् ती कुराहरू हामीले समेट्छौं’। अधिकारी वेबसाइटका डेभेलोपर, प्रोग्रामर हुन्। उनले वेब पोर्टलको एण्ड्रोईड एप समेत सुरू हुन लागेको जानकारी दिए। वेब पोर्टलकी म्यानेजिङ एडिटर संगिता घिमीरेले आफूहरूले विशेष गरेर अष्ट्रेलियामा कस्तो कलेज एवम् कोर्ष पढ्ने, कसरी सस्तो शुल्क भएको कोर्ष तथा कलेज, युनिभर्सिटी छान्ने, कुन शहरमा बस्दा सस्तो सजिलो हुन्छ, कसरी पीआरको प्रक्रिया अपनाउने देखी अष्ट्रेलियामा घर किन्ने सम्मको जानकारी प्रकृयागत रूपमा प्रस्तुत गर्दै जाने बताईन। उनका अनुसार यसले नेपालबाट पीआर लिएर तथा विद्यार्थी भिषामा अष्ट्रेलिया जान चाहनेहरूका लागी अष्ट्रेलियाको रोजगारको बजार, सामयिक कोर्ष तथा अष्ट्रेलिया पुगेपछी काम तथा बसोबासको अवस्था बारे जानकारी लिन मदत गर्नेछ। पोर्टलका डिजीटल पब्लिसिङ म्यानेजर प्रमेश श्रेष्ठले नेपालीपेजले अष्ट्रेलिया र नेपालमा रहेका नेपालीलाई गुणस्तरिय डिजिटल कन्टेन्ट नेपाली र अंग्रेजी भाषामा उपलब्ध गराउने र त्यसबाट दुवै देशमा रहेका नेपाली साथै विश्वभरका नेपाली लाभान्वित हुने बताए। ‘हामीले दिने सूचना र जानकारीले नेपालीहरूलाई आफ्नो करिअर, शैक्षिक तथा आर्थिक अवस्था र अष्ट्रेलिया सपनालाई जोड्न सजिलो बनाउँछ’ श्रेष्ठले भने ‘यसका सामग्री मनन गर्ने हो भने नेपालीलाई अष्ट्रेलियामा जाने, बस्ने र निर्णय गर्ने विषय सजिलो हुन्छ, हाम्रो चाहना पनि नेपालीलाई अष्ट्रेलिया सजिलो बनाउने नै हो’। पछील्लो समय अष्ट्रेलियामा नेपाली विद्यार्थी विभिन्न सामुन्द्री दुर्घटना, झगडा तथा आत्महत्या जस्ता घटनाहरूमा जोडिएको धेरै समाचार आउने गरेका छन्। त्यसो त अष्ट्रेलियामा नेपाली विद्यार्थीहरू लामो समय सम्म काम नपाउने, श्रम शोषणमा पर्ने, कलेज तथा विश्वविद्यालयको फि जम्मा गर्न नै गाह्रो हुने जस्ता समस्यामा पर्दै आएका छन्। अष्ट्रेलिया पुगेपछी कलेज, कोर्ष परिवर्तन गर्ने देखी भिजा क्यान्सिलमा पर्ने विद्यार्थीको संख्या पनि बढ्दो छ। नेपालमा धेरै कन्सल्टेन्सीले सही सूचना र जानकारी नदिँदा अष्ट्रेलिया पुगेपछी विद्यार्थीले भोग्नुपर्ने समस्याहरू ठूलो हुने भएकाले सबैलाई सुसूचित हुने अवसर बढाउनका लागि पोर्टलको सुरूवात भएको वेब पोर्टल टीमले बताएको छ।