नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै
काठमाडौं । अक्टोबर क्रान्तिको एक सय वर्ष पुगेको सन्दर्भमा आगामी साता काठमाडौँमा नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल वैकल्पिक अनुसन्धान समाजले आयोजना गर्ने सम्मेलनमा तीन देशका कम्युनिस्ट शक्तिहरुबीचको आपसी सहकार्य र माक्र्सवादी विचारधाराबारे चिन्तन हुने समाजका अध्यक्ष डा महेश मास्केले बताए । आउँदो नोभेम्बर ८, ९ र १० मा हुने सम्मेलनमा तीनै देशका प्राध्यापक, बुद्धिजीवी, लेखक, विद्यार्थी नेतालगायत सहभागी हुनेछन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । अध्यक्ष मास्केले नेपालमा वाम गठबन्धनले निर्वाचन जितेर आफ्ना प्रतिबद्धता पूरा गरेमा समृद्धिको यात्रा तय हुने बताए । भारतबाट वाम बुद्धिजीवीहरु प्रख्यात पटना, सिपी चन्द्रशेखर, आनन्दस्वरुप वर्मा तथा चीनबाट चाइनिज एकेडेमी अफ सोसल साइन्सका प्रतिनिधि सहभागी हुनेछन् । सन् १९१७ नोभेम्बर ७ मा रुसमा तत्कालीन सत्ताको विरोधमा कम्युनिस्टहरुले चलाएको आन्दोलन सफल भएको दिनलाई अक्टोबर क्रान्तिका रुपमा स्मरण गरिन्छ । रासस
अनिल शाह सेञ्चुरी कमर्शियल बैंकको सीईओ हुने
काठमाडौं । सेन्चुरी कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह हुने भएका छन् । हाल मेगा बैंकमा सीईओ रहेका शाहले अब छिट्ट सेञ्चुरीको जिम्मेबारी सम्हालने भएका छन् । मेगाको स्थापना कालदेखि सीईओ भएका शाहको कार्यकाल मंसिरमा सकिदै छ । सेञ्चुरीका सञ्चालक समिति र शाहबीच बिहीबार सहमति भएको छ ।बाफीयाअनतर्गत मेगामा २ कार्यकाल बस्न नमिल्ने भएकाले सेन्चुरी जाने शाहाले जानकारी दिए । उनले मेगासंग भएको सम्झौता सकिएपछि सेन्चुरी जाने स्पष्टपारे । बैंक तथा वित्तीय संस्था सम्बन्धि (वाफीया) ऐनमा एउटा बैंक तथा वित्तीय संस्थामा २ कार्यकाल भन्दा बढी सीईओ हुन नपाउने व्यवस्था छ । मेगामा सीईओ हुन नपाएपछि उनी सेञ्चुर जान लागेका हुन् । अनुजमणी तिमिल्सिनाले सीईओ पदबाट राजीनामा दिएपछि हाल सेञ्चुरीमा कामु सीईओको रुपमा जीवन भट्टराईले काम गरिरहेका छन् । शाह नेपाल बैंकर्स संघका अध्यक्ष पनि हुन् ।
चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्स बीच सम्झौता, टिकट खरिदमा छुट
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडद्धारा प्रवद्र्धन गरिएको चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सबीच टिकट खरिदमा छुट लिने दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रवन्धक अभिषेक विक्रम शाह र टर्किस एयरलाइन्सको तर्फबाट महाप्रवन्धक अब्दुल्हा तुन्सेर केसेचिले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार चन्द्रागिरि हिल्स लिमिटेड र टर्किस एयरलाइन्समा कार्यरत कर्मचारीहरु र यात्रु महानुभावहरुले दुवै तर्फको टिकट खरिदमा छुट पाउने व्यवस्था मिलाईएको कम्पनी ले जनाएको छ । छुट सम्बन्धी व्यवस्था सम्झौता पत्रको सेवा र शर्तहरुमा आधारित हुनेछ । कर्मचारीहरुको हकमा दुवै तर्फको टिकट खरिदमा कम्पनीले जारी गरेको परिचय–पत्र र यात्रुहरुको हकमा यात्रा अवधिको बोर्डिङ्ग पास र टिकट देखाउन अनिवार्य गरिएको छ । सन् १९३३ मा स्थापित टर्किस एयरलाइन्ससँग अहिले २५१ अन्तर्र्राष्ट्रिय र ४९ आन्तरिक उडान भर्ने जहाज छन् भने विश्वका ३०० गन्तव्यमा नियमित उडान भर्दै आएको छ ।
१७ हजारको मोबाइलले चढायो स्कुटर
काठमाडौं । दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका छन् । तण्डुकारले ताम्राकार कम्प्लेक्समा जारी लेनेभो मोटोरोला ताम्राकार मोबाइल महोत्सबको समयमा ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको पसलबाट मोबाइल खरिद गरेका थिए । ताम्राकार कै बम्पर उपहार योजना अन्तर्गतको पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए । ताम्राकारको दशैंतिहार उपहार योजना अन्तर्गत ५० जनाले मोबाइल, ६५ वटा पावर बैंक र ५० भन्दा बढी ब्लुतुथ बितरण गरिएको मोबाइल ब्यापार संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले जानकारी दिए । यो पटकको मेला सफल बनेको बताउँदै ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले मोबाइल पारखीहरुकाबीच ताम्राकार मोबाइल बजारले अझ विश्वास बढाएको विचार ब्यक्त गरे । आफ्नो परिवारमा आवश्यकपर्ने सबै मोबाइल ताम्राकार बाटै किनेको बताउने स्कुटर बिजेता तण्डुकारले ताम्राकार बजार नै सबैभन्दा बढी विश्वासिलो बजार भएको बताए । लेनेभो र मोटोरोलाले मुख्य प्रायोजन गरेको मोबाइल महोत्सबमा मोटोरोला मोबाइलले ऐतिहासिक कारोबार गरेको बताउँदै व्यापार संघका सचिब गुरुदत्त शर्माले मेला अबधीभरमा लेनेभोको र मोटोरोलाका २ हजारभन्दा धेरै सेटको कारोबार भएकोे जानकारी दिए ।
१७ किलो सुनसहित एक युवक पक्राउ
लमजुङ । अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मनाङको नासोङ गाउँपालिका-९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । मनाङबाट बेँसीशहरतर्फ मोटरसाइकलमा आएका गुरुङ जाँचका क्रममा पक्राउ परेका हुन् । प्रहरी जाँचका क्रममा उनी भाग्न खोजेका र भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । युवकबाट एक किलो लेखिएको १७ थान सुन समातिएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । प्रहरीले ती युवकले सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नं को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । सदरमुकाम बेँसीशहरबाट करिब सात किमी उत्तरतर्फ मनाङ जाने बाटोमा युवक समातिएका हुन् । सुनलाई तिब्बतको सीमाबाट मनाङ हुँदै ल्याइएको हुन सक्ने अनुमान गरिएको छ । रासस
बैंकहरुको नाफा घट्न थाल्यो, लगानीकर्ताले कमाउने दिन सकिएकै हुन् र?
काठमाडौं । स्थानीय निर्वाचनको सफलता तथा संघ र प्रदेशको निर्वाचन सम्मुखमै आइपुग्दा केहि बैंकहरु भने नाफा बढाउन असफल भएका छन् । निर्वाचनले अर्थतन्त्रलाई चलायमान बनाउने र बैंकहरुको पनि बजार बढ्ने बताइँदै आएका बेला लगानीकर्तालाई निराश पार्ने गरी बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गरेका आधा दर्जन बैंक मध्ये ३ वटाको नाफा घटेको छ भने ३ वटाको बढेको छ । हिमालयन बैंक, मेगा बैंक र सिटिजन्स बैंकले पहिलो त्रैमासिकमा आफ्नो नाफा बढाउन सकेनन् । नविल बैंक, प्राइम कमर्शियल बैंक, एनएमबी बैंक र सानिमा बैंकको नाफा बढेपनि सन्तोषजनक छैन् । यसबाट चालु आर्थिक वर्षमा बैंकको नाफा धेरै नबढ्ने देखिएको छ । ‘गत बर्ष ६ महिनासम्म झेलिएको तरलता अभावले ब्याजदर १३ प्रतिशतसम्म पुगेको थियो, अहिले त्यसकै परिणाम भोगिँदैछ’, बैंकर्स संघका अध्यक्ष समेत रहेका मेगा बैंकका सिइओ अनिल शाहले भने । शाहले नेतृत्व गरेको मेगा बैंकको नाफा घटेर ८ करोड ११ लाख रुपैयाँमा खुम्चिएको छ । मेगा बैंकले गत आवको पहिलो त्रैमासिकमा १४ करोड रुपैयाँ ६९ रुपैयाँ नाफा कमाएको थियो । बैंकको नाफा घटेपछि प्रतिसेयर आम्दानी १७.२७ बाट घटेर १.७७ प्रतिशतमा खुम्चिएको छ । त्यस्तै, सिटिजन्स बैंकको नाफा पनि ३४ करोड ५१ लाखबाट खुम्चिएर ३१ करोडमा झरेको छ । ३ महिनामा सिटिजनले ३ करोड रुपैयाँ नाफा घटेको उसले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । नाफा घटेपछि सिटिजन्सको प्रतिसेयर आम्दानीमा गिरावट आएर १५ रुपैयाँ ९० पैसामा झरेको छ । हिमालयन बैंकको पनि नाफा ३ करोड रुपैयाँ घटेको छ । बैंकले गत आवको पहिलो त्रैमासिकमा ४३ करोड ८४ लाख नाफा कमाएको थियो तर चालु आवको सोही अवधीमा जम्मा ४१ करोड मात्रै नाफा कमाउन सफल भएको देखिन्छ । आखिर किन घट्यो त बैंकको नाफा ? बैंकर्स संघको अध्यक्ष शाह भन्छन–‘तरला अभाव भएको ६ महिनाको ब्याजदर, दशैं तिहारमा ऋण असुलीमा ढिलाईले पहिलो त्रैमासिकमा नाफा घट्यो ।’ उनले त्रैमासिक सकिएको १५ दिन भित्रै वित्तिय विवरण बुझाउनुपर्ने बाध्यात्मक कारणले पनि नाफा कम देखिएको दावी गरे । ‘राष्ट्र बैंकले १५ दिनभित्र वित्तिय विवरण बुझाउन भनेको छ, त्यसले १६ औं दिन हुने आम्दानीलाई समेट्न सकिएन, त्यसैले पनि नाफा थोरै देखिएको हो’, शाहले भने । उनका अनुसार बैंकहरुले पुँजी वृद्धिकै मात्रामा बजार बढाउन लगानीका नयाँ स्रोतहहरुको व्यापक खोजी गरिरहेका छन् । २ सय वटा स्थानीय तहमा शाखा विस्तारसँगै गाउँ गाउँमा वित्तिय पहुँच पुगेको र त्यसले नयाँ बजार पाएसँगै दोश्रो त्रैमासिकमा बैंकहरुको नाफामा उल्लेख्य वृद्धि हुने दावी पनि उनले गरे । आसन्न निर्वाचनपछि स्थानीय, प्रदेश र केन्द्र सरकारले गर्ने विकास खर्चले बैंकहरुको नाफा बढाउन ठुलो योगदान दिने आशा पनि उनले व्यक्त गरे । उता, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले एकाध कम्पनीहरुलाई आधार मानेर बैंकहरुको नाफा घटेका भन्न नमिल्ने बताए । ‘कुनै बैंकले पहिलो त्रैमासिकमै झण्डै एक अर्ब कमाएका पनि छन, केहि बैंकले भने नाफा घटाएको देखिन्छ’, सहायक प्रवक्ता पण्डितले भने । उनले कम्पनीहरुलाई छुट्टा छुट्टै अध्ययन गरेपछि मात्रै कुनै बैंकको नाफा किन ह्वात्तै बढेको र कुनैको घटेको बारे भन्न सकिने स्पष्ट पारे । सानिमा बैंकका सिइओ भुवन दाहालले पनि बैंकहरुका लागि सुनौला दिन सकिएको बताउँदै आएका छन् । उनले पुँजी वृद्धिको तुलनामा बजार र नाफा बढाउन निकै चुनौती बढ्दै गएको बताए । उनी नेतृत्वको बैंक सानिमाले ३ महिनामा ७ करोड रुपैयाँ नाफा बढाएपनि प्रतिसेयर आम्दानी भने घटेको छ ।
काँग्रेसले ४५ जिल्लामा केन्द्र र प्रदेशसभाका उम्मेदवार टुङायो, हेर्नुस को को परे ?
काठमाडौं । आगामी मंसिर २१ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको दोस्रो चरणको चुनावमा नेपाली काँग्रेसले उम्मेदवार छनौट गरेको छ । ४५ जिल्लामा हुन लागेको चुनावमा १२८ केन्द्रका लागि प्रत्यक्ष र २५६ जना प्रदेशसभाका लागि उम्मेदवार छनौट गरेको काँग्रेसले जनाएको छ । (काँग्रसका उम्मेदवार जान्नको लागि यहाँ क्लिक गर्नुहोस्।)
पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं । देशभरका बालबालिकालाई आज र भोलि(कात्तिक १६ र १७ गते) भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख राजकुमार पोखरेलले देशभरका ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएकोे जानकारी दिए । गत कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई खुवाउने भनिएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम निर्धारण भए पनि तिहारका कारण आज र भोलि सारिएको हो । भिटामिन ‘ए’ को कमीले भविष्यमा बालबालिकालाई रतन्धो रोग लाग्ने, कुपोषण हुने, दीर्घकालीन झाडा पखाला लाग्ने, दादुरालगायतका रोग लाग्ने चिकित्सकले बताएका छन् । सरकारले हरेक छ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ । पोखरेलले तराईका २८ जिल्लाका बालबालिकामा रक्तअल्पता पनि अत्यधिक देखिएकाले छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई आइरन भएको धुलो बालविटा पनि खुवाइने बताए । उनले हरेक बालबालिकालाई कुपोषण छ कि छैन भनेर जाँच गरी भएका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा सिफारिस गरी पठाउन पनि महिला स्वास्थ्य स्वयंसेविकालाई सूचित गरेको बताए । रासस