मन्त्री बन्न हानथाप, दलभित्रै भाँडभैलो
काठमाडौं । शेरबहादु देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएरु सत्तासिन दलहरुभित्र भाँडभैलो मच्चिएको छ । यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ । स्रोतका अनुसार देउवाले दोस्रो चरणको चुनावअघि केही मन्त्री थप्ने सोच बनाएका छन् । तर सरकारमा कसलाई थप्ने भन्नेबारे सत्तासिन दलभित्र भाँडभैलो उत्पन्न भएको छ । फोरम लोकतान्त्रिक नेपाल र राप्रपाभित्र पनि मन्त्री को बन्ने भन्ने विषयलाई लिएर विवाद उत्पन्न भएको छ । कंग्रेसभित्र रामचन्द्र पौडेल पक्षले पाँच मन्त्रालय मागेको छ । चारभन्दा कम मन्त्रालय पाए नाम नै सिफारिस नगर्ने अडानमा पौडेल पक्ष छ । नागरिक दैनिकबाट ।
मेलम्चीको ट्यांकी र पाइपमा सेन्सर राखिने,मास्टर कन्ट्रोल रुमबाट निगरानी
काठमाडाै । मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा) प्रणाली जडान गरिने भएको छ। स्काडा जडानपछि पानीको चुहावट, गुणस्तर र बहाव मापन कम्प्युटरबाटै नियन्त्रण गर्न सकिनेछ। उपत्यकामा वितरित पानीको विवरण विश्लेषण मास्टर कन्ट्रोल रुमबाट हुनेछ। सोही आधारमा पानीमाथि नियन्त्रण र निरीक्षण गरिनेछ। मेलम्ची खानेपानी कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार जडान गर्न लागिएको यो प्रणाली नेपालमै पहिलोपटक हो। पहिलो चरणमा यो प्रणाली थोक वितरण प्रणाली (बिडिएस)अन्तर्गत बिछ्याइएका पाइपमा कार्यान्वयन गरिनेछ। उपत्यकामा यस प्रणालीअन्तर्गत ७७ किमि पाइप बिछ्याइएका छन्। पिआइडीका प्रवक्ता तथा वरिष्ठ इन्जिनियर लीलाप्रसाद ढकालले यो प्रणाली सेट भएपछि वितरित पानीको सम्पूर्ण विवरण एउटै कोठामा संकलन हुने र आइपर्ने समस्या कन्ट्रोल रुमबाटै समाधान गरिने जानकारी दिए। ‘स्काडा प्रणाली नेपालमै पहिलोपटक जडान हुन लागेको हो। यो अत्याधुनिक प्रविधि हो। यसले पाइप र पाइपमा वितरित पानीको सम्पूर्ण विवरण कन्ट्रोल रुममा पठाउनेछ। त्यसबाट आवश्यक अपरेसन कोठाबाटै हुनेछ,’ उनले भने। पिआइडीका अनुसार स्काडा प्रणाली ६४ करोड २० लाख रुपैयाँ खर्चमा जडान गर्न लागिएको हो। यसका लागि पिआइडीले आउने साताभित्र टेन्डर आह्वान हुनेछ। अबको तीन वर्षभित्र प्रणाली जडान गरिसक्ने पिआइडीको योजना छ। कन्ट्रोल रुम भने महाराजगन्जस्थित पानी ट्यांकीमा राखिनेछ। ‘करिब ६ मिलिनयन अमेरिकी डलरको लागतमा यो प्रणाली जडान गरिँदै छ। यसका लागि १५ जुनभित्र टेन्डर आह्वान हुनेछ। काम सक्न तीन वर्ष लाग्नेछ,’ उनले भने। पिआइडीका अनुसार वितरण गरिएका सबै खानेपानी पाइप र ट्यांकीमा ‘सेन्सर’ जडान गरिनेछ। जडित सेन्सरको सम्बन्ध ‘मास्टर कन्ट्रोल रुम’मा हुनेछ। सेन्सरले पानीको सबै विवरण कन्ट्रोल रुमलाई दिनेछ। त्यसले पानीको बहाव, लिकेज र गुणस्तर मापन गर्नेछ। पिआइडीका अनुसार सेन्सरले ट्यांकीीमा पानी भएको–नभएको सूचना दिनेछ। ट्यांकीीमा पानी छैन भने कन्ट्रोल रुममै स्विच दबाएर भर्नेछ। ट्यांकीी ओभरफ्लो हुन लागे पनि कन्ट्रोल रुममै बसेर पानी बन्द गर्न सकिनेछ। ‘सेन्सरले पानीको सबै सूचना कन्ट्रोल रुमलाई दिन्छ। कन्ट्रोल रुमबाटै वितरित सबै पानी नियन्त्रण गर्न सकिनेछ, हाम्रो काम भनेको बटम थिच्ने मात्रै हो,’ प्रवक्ता ढकालले भने। पिआइडीले खानेपानी वितरणका लागि पाइप बिछ्याउने काम अन्तिम चरणमा पुर्याएको छ। वितरण सञ्जाल सुधार ९डिएनआई० अन्तर्गत बिछ्याउनुपर्ने ६७० किमिमध्ये पिआइडीले ५८५ किमि पाइप बिछ्याइसकेको छ। अब ८५ किमि पाइप बिछ्याउन बाँकी छ। त्यस्तै, थोक वितरण प्रणाली ९बिडिएस० अन्तर्गत बिछ्याउनुपर्ने ७७ किमि पाइपमध्ये ५८ किमि पाइप बिछ्याइसकिएको छ। नयाँ पत्रिका दैनिकबाट ।
आशा लघुवित्तको दुई दिने बार्षिक योजना तर्जुमा गोष्ठि सम्पन्न
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई दिने बार्षिक योजना तर्जुमा गोष्ठि २०७४ सम्पन गरेको छ । काठमाडौं सम्पन भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले कार्यक्रमको उद्धेश्यको बारेमा जानकारी दिएका थिए । बिहीबार र शुक्रबार २ दिनसम्म गरिएको कार्यक्रममा संस्थाका विभागिय प्रमुखहरु प्रमोद भट्टराई, जीवन खनाल, रविन खतिवडा र दिपेन्द्र खनालले क्रमशः आ.व. २०७४/०७५ को योजना र बजेट, शाखा प्रमुखहरुको भुमिका र व्यक्तित्व बिकास, कर्जा ब्यवस्थापन, कार्य संचालन ब्यवस्थापन आदीका बारेमा प्रस्तुति गरेका थिए । सो कार्यक्रममा २८ वटा शाखा कार्यालयका प्रबन्धकहरुको उपस्थिति थियो ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालद्धारा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको संवोधन
काठमाडौं । स्वीटजरलैण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं अधिवेशनलाई नेपालको रोजगारदाता संगठनको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालले शुक्रबार संवोधन गरेका छन् । उक्त अधिवेशनमा भाग लिन सभापति ढकाल हाल जेनेभामा छन् । उक्त अधिवेशनमा महासंघको रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्यले समेत भाग लिइरहनु भएको छ । सम्मेलन आगामी जुन १६ तारिखसम्म संचालन हुनेछ । अधिवेशनलाई संवोधन गर्दै ढकालले अन्तर्राष्ट्रिय श्रम संगठनले नेपालमा आफनो कार्यकालकोे ५० औं वर्ष पूरा गरेको आवसरमा आईएलओ का महानिर्देशक गाय राईडरको गत डिसेम्बरमा भएको नेपाल भ्रमणवाट नेपालको निजी क्षेत्र उत्साहित हुनुका साथै अन्तर्राष्ट्रिय श्रम संगठनस“ग नेपालको वलियो साझेदारी र सहकार्य प्रतिविम्वित भएको कुरा बताए । साथै उनले नेपाल राजनैतिक र सामाजिक क्षेत्रको विकासमा अघि वढि रहेको चर्चा गर्दै नया“ संविधान जारीसँगै मुलुक संघीय शासान प्रणली र राजनीतिक स्यायित्व तर्फ उन्मूख भएको बताएका छन् । ढकालले परिवर्तित राजनीतिक वातावरणसँगै राजनीतिक र आर्थिक क्षेत्रमा महिला सहभागिता बढी रहेको प्रसंग उल्लेख गर्दै नेपाल उद्योग वाणिज्य महासंघको ५० वर्षको इतिहासमा पहिलो पटक महिलाले अध्यक्ष्ँको रुपमा नेतृत्व सम्हालेको र मुलुकमा स्थानीय तहदेखि राष्ट्रको सर्वोच्च पद राष्ट्रपति, संसदको सभामुख एवं सर्वोच्च अदालतको प्रधान न्यायधीश पदमा समेत महिलाले नेतृत्व लिएको कुरा उल्लेख गरेका छन् । कार्यक्रममा ढकालले अहिलेको विश्वको साझा चुनौती भनेकै दीगो समावेशी आर्थिक विकास, गरिवी निवारण, रोजगार सृजना र वातावरण परिवर्तनबाट परेको असरको न्यूनिकरण गर्नु पर्ने कुरामा जोड दिदै आधुनिक प्रविधिको प्रयोगले श्रम बजारमा नयाँ शीपयुक्त जनशक्तिको माग बढ्दै गएको कुरा उल्लेख गरेका छन् । सभापति ढकालले पछिल्लो पटक नेपालको गरिवी दर आशातित रुपमा घटेको उल्लेख गर्दै नेपालले सन् २०२२ सम्म आफूलाई विकासोन्मुख देशमा स्तरोन्नती गर्ने निकै चुनौतीपूर्ण लक्ष्यका साथ अगाडी बढेको र यसका लागि अधिक लगानी आकर्षण गरी उच्च आर्थिक वृद्धि र बढी भन्दा बढी रोजगारीका अवसर सृजना गर्ने उद्देश्य अनुरुप नेपालको निजी क्षेत्र सरकारसँग सहकार्यका साथ अगाडी बढीरहेको कुरामा जोड दिएका छन् । हालका वर्षहरुमा नेपालको श्रम सम्बन्धमा निकै सुधार आएकाे रोजगारदाता र ट्रेड युनियनहरू बीच सौहाद्रपूर्ण वातावरण रहेको उल्लेख गर्दै दुवै पक्षको सहकार्यमा श्रम ऐन सहित सामाजिक सुरक्षा ऐनको मस्यौदा तयार भएको बताए । श्रम ऐन र सामाजिक सुरक्ष ऐन संसदबाट छिट्टै पारित हुने विश्वास व्यक्त गर्दै यसवाट नेपालको श्रम सम्बन्ध सुधारमा नयाँ आयाम थपिने उल्लेख गरेका छन् । सोही अवसरमा उपाध्यक्ष ढकालले औद्योगिक विकासका अतिरिक्त असल औद्योगिक सम्बन्ध विकासका विविध पक्षहरु बारेमा सम्मेलनका सहभागी विश्वका विभिन्न मुलुकका प्रतिनिधिहरुसँग विस्तृत विचार विमर्श गर्ने कार्यक्रम छ । साथै उनले अन्तर्राष्ट्रिय श्रम संगठन आइओएल र अन्तर्राष्ट्रिय रोजगारदाता संगठन आइओईका पदाधिकारीहरुसँग समेत भेटघाट एवं छलफल गर्ने कार्यक्रम रहेको छ ।
सेयर बजारमा सुधार, नेप्से २१ अंकले बढ्दा तीन अर्ब ३५ करोड रुपैयाँको सेयर कारोबार
काठमाडौं । यस साता सेयर बजारमा सुधार देखिएको छ । साताभरको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१.३८ अंकले बढेर अन्तिम दिन १६१५.१९ अंकमा पुगेको छ । पाँच दिन खुला रहेको सेयर बजारमा तीन अर्ब ३५ करोड सात लाख रुपैयाँ बराबरका सेयर कारोबार भएको छ । जुन रकम गत साताको भन्दा १७.६४ प्रतिशत बढि हो । गत साता १५८ कम्पनीहरुको कारोबार भएको थियो । सो अवधिमा १५९ कम्पनीहरुको ५९ लाख ४३ हजार १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यस साता कारोबार भएका प्राय सबै समूहको परिसूचकहरु उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३२ अंकले बढेको छ । त्यस्तै, विकास बैंक, वाणिञ्य बैंक, जलविद्युत र अन्य समूहको परिसूचक क्रमशः २७, २५, २० र १३ अंकले उकालो लागेका छन् । होटल समूह भने १२ अंकले ओरालो लागेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.०५ अंकले बढेर ३४३.१२ अंकमा आईपुगेको छ । यस साता स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३० करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी सिभील बैंक लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । सो अवधिमा बैंकको चार लाख ५२ हजार कित्ता किनबेच भएको हो ।
एघार महिनामा पाँच लाख ६९ हजार सवारी चालकलाई कारबाही
काठमाडौं। ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ २५ गतेसम्म सवारी नियम उल्लङ्घन गर्ने पाँच लाख ६९ हजार ८१५ सवारी साधनका चालकलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७२÷७३ मा पाँच लाख ४८ हजार ४७० सवारी साधनका चालक कारबाहीमा परेका थिए । गत आवमा पाँच हजार ६६८ दुर्घटनामा १६६ जनाको मृत्यु, २७५ जना गम्भीर घाइते तथा तीन हजार ९०१ जना सामान्य घाइते भएका थिए । कमजोर सडक पूर्वाधार, कमजोर ट्राफिक नियम, जनचेतनाको स्तरलगायत कारणले दुर्घटना बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मिङ्मार लामाले बताए । व्यवस्थापिका–संसद्को विकास समितिले आज आयोजना गरेको सडक सुरक्षासम्बन्धी बैठकमा ट्राफिक नियम उल्लङ्घनका घटना प्रस्तुत गर्दै उहाँले पैदल मार्ग ९फुटपाथ०को अतिक्रमण, अनधिकृत पार्किङ र सडकमा हतार गर्ने बानीका कारण दुर्घटना बढ्ने गरेकाले कारबाही गर्न बाध्य हुनुपरेको बताए । “विशिष्ट व्यक्तिको सवारी, सरकारी नम्बर प्लेटका सवारी साधनका चालकले गर्ने नियम उल्लङ्घन, कानुनी प्रावधान, प्रतिरोधात्मक क्षमता एवम् साधन स्रोतजस्ता कारण सडक सुरक्षामा चुनौती देखिएको छ,” – उनले भने । यसका लागि विद्यालय पाठ्यक्रममा सडक सुरक्षा समायोजन, ड्राइभिङ स्कुल मापदण्ड, महाशाखामा स्रोत र ट्राफिक तालिम केन्द्रको स्थापना, बालबालिका ट्राफिक शिक्षा उद्यानलगायत व्यवस्थाको पहल गर्न महाशाखाले समितिसमक्ष माग गरेको छ । उपत्यकाको सडक सुरक्षाका लागि विशेष कार्ययोजना बनाइएको बताउँदै महाशाखा प्रमुख लामाले रु छ अर्ब ७५ करोड ७७ लाख १५ हजार बजेट आवश्यक पर्ने जानकारी गराए । गत वैशाख १ गतेदेखि बिहीबारसम्म हर्न बजाउने पाँच हजार ५०७ सवारी चालकलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सहरी र राजमार्गका सडकको मापदण्ड तोक्न सहरी विकास मन्त्रालयसँग संयुक्त समिति गठन गरेर काम गर्न निर्देशन दिएको छ । सडक सुरक्षा अभिवृद्धि गरी दुर्घटनाका घटना घटाउन पनि समितिले सम्बन्धित निकायलाई निर्देश गरेको छ । अतिविशिष्ट पाँच व्यक्तित्वको सवारीका क्रममा सडक अवरोध गर्दा ट्राफिक व्यवस्थापनमा समस्या परेको गुनासो धेरैतिरबाट आएकाले सरलीकरण गर्न पनि निर्देशन दिएको सभापति रवीन्द्र अधिकारीले बताए । “पैदल यात्रुका लागि सडक पेटीको व्यवस्था गर्न र १५ दिनभित्र १२० मिटर सडकको दूरीमा जेब्रा क्रसिङ निर्माण गरिसक्न समिति बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएको छ” – उनले भने । एसियाली विकास बैंकको सहयोगमा निर्माण हुने भनिएको सडक बत्ती (ट्राफिक लाइट) छिटो मर्मत गर्न र छिटो सम्भव नभए सरकारकै स्रोतबाट बनाउन मन्त्रालयलाई निर्देशन दिइएको छ । विभिन्न देशका नेपालस्थित राजदूतावासले सडक पेटी नछोडेकाले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरी सडक पेटीको काम सम्पन्न गर्न समितिले सरोकारवाला निकायलाई निर्देशन दिएको छ । राजस्व उठाएको १५ प्रतिशत भत्ता दिँदा सर्वसाधारणमा नकारात्मक प्रभाव परेको ट्राफिक प्रहरीबाटै गुनासो आएकाले जोखिम र विशेष भत्ताको व्यवस्था गर्न समितिले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सडक नियमको उल्लङ्घन गर्दा गरिने कारबाहीको रकम कम भएकाले कार्यान्वयन गर्न नसकिएको गुनासो गर्दै बढी जरिवाना लगाउने कानुन निर्माण गरिदिन सांसद्सँग माग गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले सडक सुरक्षाको नीतिगत व्यवस्था गर्न सडक सुरक्षा परिषद्को गठन गरिएको जानकारी गराए । सडक सुरक्षा र सार्वजनिक सडक ऐनको मस्यौदा तयार भइरहेको उनले बताए । सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले राजमार्ग र सहरी क्षेत्रमा सवारीको गति एकै किसिमको हुने गरेकाले दुर्घटना बढेको बताए । नमुना सहरी सडकको मापदण्ड निर्माण गर्न लागिएको समेत उनले जानकारी गराएका छन् । रासस
पाँच बर्षभित्रै राजधानीका सडक सिंगापुरकै जस्तो
काठमाडौं । आगामी पाँच बर्षभित्रै काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन सिंगापुरकै जस्तो हुने भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले ६ अर्ब ७५ करोड ७७ लाख १५ हजार रुपैंयाँ खर्चेर आगामी पाँच बर्षभित्रै काठमाडौं उपत्यकाको ट्राफिक आवागमनलाई सिंगापुरकै जस्तो आधुनिक र व्यवस्थित बनाउन लागेको हो । महानगरिय ट्राफिक प्रहरी महाशाखाले ५ बर्षभित्र बनाउन लागेको राजधानीको सवारी व्यवस्थापनको स्केच महाशाखाले तीन वटा चरणको कार्ययोजनासहित ट्राफिक व्यवस्थापनको काम गरिरहेको छ । त्यसका लागि महाशाखाले चालु आर्थिक बर्षमा १४ करोड २९ लाखको बजेटमा स्वास्थ्य सुरक्षाका लागि मास्क, जोखिम भत्ता, कम्प्युटर, प्राथमिक उपचार व्याग, ब्रेथलाइजर, नमुना सडक लगायतका काम गरिरहेको छ । दोश्रो चरणमा ३ अर्ब २२ करोड ३७ लाख ६२ हजारको लागतमा सडकमा सिसि टीभी जडान, ट्राफिक तालिम केन्द्रको निर्माण, सवारी साधन खरिद, इनफोर्समेन्ट डिभाइसको खरिद, तथ्यांक व्यवस्थापन केन्द्रको स्थापना, चिल्ड्रेन्स ट्राफिक एजुकेशन पार्कको निर्माण, सञ्चार साधान खरिद, लगायतका काम गर्ने योजना बनाएको छ । दोश्रो चरणको यो कार्यक्रम आर्थिक बर्ष २०७४/७५ देखि २०७६/७७ सम्म तीन बर्ष सञ्चालन हुनेछ । तेश्रो चरणको कार्यक्रम भने आर्थिक बर्ष २०७७/७८ देखि २०७८/७९ सम्म सञ्चालन हुनेछ । ३ अर्ब ४० करोड ९० लाख ५३ हजारको लागतमा सो दुई बर्षभित्रै इन्टेलिजेन्ट ट्राफिक मेनेजमेन्ट सर्भिस विस्तार गरिहनेछ । महानगरिय ट्राफिक प्रहरीका लागि आधुनिक भवनको निर्माण गरिनेछ भने सुबिधा सम्पन्न ट्राफिक अध्ययन केन्द्रको पनि निर्माण सम्पन्न गरिनेछ । महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाले भने –‘हामीले आगामी पाँच बर्षभित्रै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सिंगापुरकै जस्तो बनाउने योजनासहित काम अघि बढाएका छौं ।’ ट्राफिक प्रहरीलाई जरिवाना रसिदबाट नभएर सुरक्षा भत्ताका रुपमा प्रोत्साहन रकम दिनुपर्ने धारणा पनि उनले राखे ।
बेबी लाईफ होमलाई नबिल बैंकको सहयोग
काठमाडौं । नबिल बैंकले एशोसिएशन अफ सेन्ट मेरिज एल्मुनाई नेपालसँग सहकार्य गरी बेबी लाईफ होम किर्तिपुरलाई .एक लाख पन्ध्र हजार रुपैयाँ बराबरको खाने कुरा, स्टेशनरी तथा अन्य देनिक रुपमा आवस्यक पर्ने सामाग्रीहरु प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यी सामाग्रीहरु त्यहाँ वस्ने बालबालिकाहरुलाई वितरण गर्नको लागि गत बिहीबार बेबी लाईफ होमलाई हस्तान्तरण गरको हो । बेबी लाईफ होम एचआई भी लागेका अनाथहरुको लागि स्थापना गरिएको एक अनाथालय हो र यसले एचआईभी संक्रमित बालबालिकाहरुलाई खाना, आवास तथा शिक्षा प्रदान गर्दछ । हाल बेबी लाईफ होमले नेपालको विभिन्न क्षेत्रबाट आएका ५ देखी १८ वर्षको उमेर समुहका २३ जना बालबालिकाहरुलाई संरक्षण र हेरचाह प्रदान गरिरहेको छ र ती बालबालिकाहरुलाई एचआइभी संक्रमितको लागि स्थापना गरिएको पहिलो विद्यालय सफलता एचआईभी शिक्षा सदनबाट शिक्षा प्रदान गरिरहेको छ । नबिल बैंकका नायब महाप्रवन्धक रमेशप्रसाद लोहनीले उक्त सामाग्रीहरु बेबी लाईफ होमलाई हस्तान्तरण गर्नु हुंदै यस्तो उत्कृष्ट सेवाको काममा सहभागि हुन पाएकोमा सन्तुष्टी व्यक्त गरेका थिए । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला आदि विभिन्न सामाजिक कल्याणका क्षेत्रमा निरन्तररुपमा सहयोग प्रदान गरी सहयोगको अझ बढी प्रतिवद्धताका साथ लागि परेको छ ।