रसुवा महोत्सवमा ४० लाख बराबरको कारोबार, २० हजारद्धारा अवलोकन
रसुवा, १० माघ । महोत्सवको आधार कृषि तथा पर्यटनको सुधार भन्ने नाराका साथ रसुवा तेस्रो महोत्सव सम्पन्न भएको छ । महोत्सव अवधिमा ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । महोत्सव आयोजक संस्था लहरेपौवा महिला सञ्जालकी अध्यक्ष सरिता लम्सालका अनुसार गत पुस २८ देखि माघ ९ गतेसम्म आयोजित महोत्सवमा २० हजारले अवलोकन गरेको र स्टलमा राखिएका कृषिजन्य, हस्तकला, काष्ठकला, कृषि औजारलगायतका सामग्रीले ग्रामीणवासीलाई काममा थप प्रेरणा मिलेको जनाइएको छ । महोत्सव अवधिभर पर्यटन व्यवसायी, विभिन्न विधाका कलाकर्मी, गीतकार, गायककार, राजनीतिक दलका प्रतिनिधि समेतको सहभागिता रहेको आयोजक संस्थाले बताएको छ । रासस
सूचना प्रविधिको विकासमा ११ अर्ब ५० करोड खर्चिदै सरकार, आर्थिक समृद्धिको लागि सबै जिल्लालाई जोड्ने
काठमाडौं, १० माघ । सरकारले सूचना प्रविधिको विकासका लागि ११ खर्ब ५० करोड रुपैयाँ खर्चिने भएको छ । मध्यपहाडी लोकमार्गसँगै कनेक्टिभिटी गरी ‘इन्फरमेशन सुपर हाइवे’ निर्माणका सरकारले सो खर्चगर्ने तयारी गरेको हो । नेपालको सूचना प्रविधिको विकासको मेरूदण्डका रूपमा उक्त हाइवेलाई विकास गर्ने लागिएको हो । देशभरिका सबै जिल्ला सदरमुकाम तथा नगरपालिका जोड्ने गरी अप्टिकल फाइबर सञ्जालको ‘लिज कनेक्टिभिटी’ तयार हुँदै छ । यसका लागि मेचीदेखि-महाकालीसम्ममा कुल ७ हजार ५ किलोमिटर लामो अप्टिकल फाइबर तयार हुँदैछ । मध्यपहाडी लोकमार्गमा बिछ्याइने अप्टिकल फाइबरले आगामी २० देखि २५ वर्षसम्मको राष्ट्रिय आवश्यकता पूरा गर्नसक्ने बताइएको छ । सरकारी क्षेत्रबाट परियोजनामा हुन लागेको सो लागनी दूरसञ्चार पूर्वाधारको क्षेत्रमा अहिलेसम्मकै बढी भएको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए । नवीन प्रविधिहरूको अधिकतम उपयोग गर्दै सूचना तथा सञ्चार सेवामार्फत् सामाजिक, सांस्कृतिक विकास तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य सहित उक्त परियोजना अघि बढाइएको हो । चौधौ योजनाको आधारपत्रमा मुलुकभरि सूचना तथा सञ्चारको सञ्जाल स्थापना गरी सूचनाको माध्यमबाट गुणस्तरीय सेवा पहुँचलाई समावेशी बनाइ आर्थिक विकास, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षण गर्दै राष्ट्र विकासको योगदान टेवा पु¥याउने लक्ष्य सरकारले तोकेको छ । त्यस्तै बजेट तथा सरकारको नीति तथा कार्यक्रमले समेत यो परियोजना छिट्टै कार्यान्वयनमा लैजानले प्रतिवद्धता गरिएको थियो । मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर विच्छाउनका लागि प्रदेश नम्बर एक, दुई र तीन लागि सम्झौता गरिसकिएको छ भने प्रदेश चार र पाँचमा आवेदन मूल्यांकलन भइरहेको छ । छ र सातमा टेण्डर आह्वान भइरहेको छ । पूर्वी खण्ड उत्तर–दक्षिणी सडक र तीनओटै प्रदेशका ३२ जिल्लामा ४ अर्ब ८८ करोड रुपैयाँ खर्चेर कुल २ हजार ३ सय ७६ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने भएको छ । मध्यखण्डमा फाइबर बिछ्याउनका लागि कार्यका लागि प्राधिकरणले ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ । उक्त खण्डमा १ हजार ४ सय ८२ किलोमिटर भूमिगत र ६ सय ३५ किलोमिटर एडीएसएस गरी कुल २ हजार १ सय १७ किलोमिटर अप्टिकल फाइबर बिछ्याइने छ । तेस्रो खण्डमा अप्टिकल फाइबर बिछ्याउन केही दिनअघि सूचना जारी गरेको छ । सुपर हाइवेको तेस्रो प्याकेजमा कुल २ हजार ५ सय १२ किलोमिटर अप्टिकल फाइबरबाट दुवै प्रदेशका १९ जिल्लामा कनेक्टिभिटी पुर्याउने सरकारको योजना छ । उक्त खण्डमा सो परियोजनको लागि लागि ३ अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान छ । सो परियोजनाबाट शहरोन्मुख बस्तीका साथै उत्तर दक्षिण जोड्ने सडक हुँदै पूर्वपश्चिम राजमार्गसमेतलाई फाइबरले जोड्ने सरकारको तयारी छ । उक्त फाइबरबाट मुलुकभर विभिन्न किसिमका दूरसञ्चार सेवाको विकासका लागि आवश्यक पूर्वाधार तयार हुने बताइएको छ । स्वदेशी लगानीमा बन्न लागेको इन्फरमेशन सुपर हाइवे दूरसञ्चार सेवाप्रदायक तथा इण्टरनेट सेवाप्रदायक सबै कम्पनीहरूले उपयोग गर्न पाउनेछन् । यसले सबैजसो सेवा प्रदायकमा सेवाग्राहीको पहुँच पुग्नुका साथै प्रतिस्पर्धाका कारण सस्तो तथा गुणस्तरीय सेवासमेत पाउन सक्ने अनुमान गरिएको छ । देशभरि अप्टिकल फाइबर विच्छाउने स्थानमा कालोपत्र सडक सञ्जालको अभाव छ । सो कारणले फाइबर बिछ्याउने कार्य केही अप्ठ्यारो देखिएको छ । सडक पिच हुन समय लाग्ने भएकाले प्राधिकरणले अन्य विकल्पको प्रयोगबाट फाइबर विस्तार योजनालाई अघि बढाउने भएको छ । जमीनमुनि त्यतिकै बिछ्याउँदा राजमार्ग निर्माणका क्रममा क्षति पुग्ने तथा बाढी तथा पहिरोले बगाउन सक्ने सम्भावना देखिन्छ । पिच भएको सडकमा अप्टिकल फाइबर र त्यसबाहेकको क्षेत्रमा एडीएसएस पोलमा तार झुण्ड्याएर उच्च क्षमताको माइक्रोवेभ प्रयोग गरिने बताइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको क्षेत्रमा रहेका विभिन्न सेवाप्रदायकबाट प्रत्येक वर्ष वार्षिक आम्दानीको २ प्रतिशत रकम ग्रामीण दूरसञ्चार विकास कोषामा राख्दै आएको छ । आगामी ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको उक्त परियोजना नेपालको दूरसञ्चार पूर्वाधारमा सरकारका तर्फबाट अहिलेसम्मकै ठूलो लगानी हो ।
एईसीसी ग्लोबल अष्ट्रेलियन एडमिशन डे जेनवरी २०१७ सम्पन्न, ९ सय जना विद्यार्थीहरुको सहभागिता
काठमाडौं, १० माघ । एईसीसीले ग्लोबल अष्ट्रेलियन एडमिशन डे जेनवरी २०१७ सम्पन्न गरेको छ । कार्यक्रम मार्फत अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति, भर्ना, भिसा तथा आवेदन सम्बन्धी सम्पुर्ण जानकारी लिने अवसर प्रदान गरिएको आयोजकको दावी छ । आइतबार होटल याक एण्ड यतिमा आयोजना भएको उक्त कार्यक्रममा करिव ९ सय जना विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । शेष घले (अध्यक्ष, एनआरएन) मेलबर्न ईन्ष्टिच्युट अफ टेक्नोलोजीले पनि कार्यक्रममा उपस्थिती जनाएको आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा नेपालमै पहिलो पटक विदेश अध्ययन सम्बन्धि जिज्ञासाको समाधानका लागि फेसबुक डिस्कशन सेशनको पनि आयोजना गरिएको थियो । कार्यक्रममा अष्ट्रेलियामा एमबीए, बिजनेश प्रोग्राम, विज्ञान तथा ईञ्जिनियरिङ, कम्प्युटिङ, आईटी, टेलिकम्यूनिकेशन, मेडिसिन र नर्सिङ, अध्ययन लगायत अन्य विविध विषयका बारेमा समेत समग्र जानकारी उपलब्ध गराइएको थियो । सहभागीहरुलाई आयोजकले पोष्ट ग्राजुएट र अन्डर ग्राजुएट लेभल मध्य आफ्नो अध्ययन क्षेत्र रोज्न सक्ने अवसर प्रदान गरेको जानकारी दिइएको छ । साथै, तत्काल प्रक्रिया अगाडी बढाई आफ्ना आवेदन विश्वविद्यालय सामु प्रस्तुत गर्ने अवसरपनि कार्यक्रममा प्रदान गरिएको थियो । कार्यक्रम मार्फत विद्यार्थीले आवेदन शुल्क अधित्याग तथा शुल्क रहित प्रोशेसिङ सुविधा, विश्वविद्यालयका प्रतिनीधि सँग प्रत्यक्ष परामर्श लागायत सुविधा प्राप्त गरेका छन् । कार्यक्रममा सहभागीका लागि आईईएलटीएस/पीटीई/टोफल अध्ययनका लागि विशेष प्याकेजको ब्यवस्था समेत गरिएको संस्थाले जानकारी दिएको छ । सहभागीलाई अष्ट्रेलियामा अध्ययन पश्चात चार बर्ष सम्मका लागि कार्य अधिकार (वर्क राइट) पनि प्रदान गरिने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।
एनबी इन्सुरेन्सले शतप्रतिशत हकप्रदको लागि माग्यो धितोपत्र बोर्डसँग अनुमति
काठमाडौं, १० माघ । एनबी इन्सुरेन्सले शतप्रतिशत (१ बराबर १ अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले माघ ९ गते बोर्डसँग शेयर निष्काशनको लागि अनुमति मागेको हो । उक्त व्यवस्था तथा विवरण नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त हुनासाथ हकप्रद शेयर जारी गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनील यही मंसीर १७ गते सम्पन्न १८औं र १९औं बार्षिक साधारण सभाबाट पारित भए वमोजिम सो मात्राको शेयर निष्कासन गर्न लागेको हो ।
राष्ट्रिय बाणिज्य बैंक र एनआइडीसी डेभलपमेन्ट बैंक मर्ज अन्तिम चरणमा
काठमाडौं, १० माघ । राष्ट्रिय बाणिज्य बैंक र एनआइडीसी डेभलपमेन्ट बैंकबिचको मर्ज प्रक्रिया अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय बाणिज्य बैंककको ५२ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले यी दुई बैंकबिच मर्जको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका हुन् । मन्त्रि महराले भने–‘चालु आर्थिक बर्षभित्रै राष्ट्रिय बाणिज्य बैंक र एनआइडीसी डेभलपमेन्ट बैंकबिच मर्ज हुन्छ, त्यसको फाइलमा हस्ताक्षर गरिसकेँ, अबको मन्त्रिपरिषद बैठकबाट पारित गराउँछु ।’ दरबार मार्गमा केन्द्रिय कार्यालय रहेको एनआइडीसी डेभलपमेन्ट बैंक यथेष्ठ अचल सम्पति रहेको सरकारी बैंक हो । यसैबिच, चालु आर्थिक बर्षभित्रै राष्ट्रिय बाणिज्य बैंकले ३० प्रतिशत साधारण सेयर निष्काशन गर्ने पनि मन्त्री महराले बताएका थिए ।
४० रोपनीको हनुमान ढोका दरबार क्षेत्र निर्माणमा ७ वटा एजेन्सी, ७३ संरचनाको पुर्ननिर्माण एकैसाथ (फोटो फिचरसहित)
काठमाडौं, १० माघ । करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको हनुमानढोका दरबार स्क्वायरमा रहेका सम्पदाहरुको पुर्ननिर्माणमा ७ वटा एजेन्सीहरुले हात हालेका छन् । २०७२ सालको बैशाख १२ गतेको महाभूकम्पले हनुमानढोका दरबार परिसरका ७३ वटा सरंचनामा क्षति पुर्याएको थियो । ती पुरातात्विक महत्वका सम्पदाहरुको निर्माणमा स्वदेशी तथा विदेशी गरि ७ वटा निकायले काम गरिरहेका छन् । हनुमानढोका दरबार संग्रहालय विकास समिति, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका संरक्षण कोष, जापानिज फण्ड इन ट्रस्ट, एम्बेसडर्स फण्ड फर कल्चरल प्रिजर्भेशन र चीन सरकार रहेका छन् । चीन सरकार बाहेक अन्य सबै एजेन्सीहरुले काम सुरु गरिसकेको हनुमानढोका दरबार परिसर पुर्ननिर्माणमा खटिएका पुरातत्व विभागका इञ्जिनियर गोपाल झाले बताए । च्यासी देग बंशगोपाल मन्दिरको पुर्ननिर्माण आधा सम्पन्न भैसकेको छ । त्यस बाहेक शिव मन्दिरमा रेट्रो फिटिङको कार्य सम्पन्न भैसकेको छ । कागेश्वरी मन्दिरको पुर्ननिर्माण कार्य धमाधम अघि बढिरहेको छ । जगन्नाथ र गोपीनाथको मन्दिर युनेस्कोले बनाउने तयारी गरिरहेको छ । मसान चौकको नाटेश्वर मन्दिरको पुर्ननिर्माण २८ लाख खर्चेर सम्पन्न भैसकेको छ । काष्ठमण्डप र माजुदेगः मन्दिर काठमाडौं महानगरपालिकाले बनाउँदैछ । गद्धी बैठक निर्माणको जिम्मा अमेरिकन एम्बेसडर्स फण्ड इन कल्चरल प्रिजर्भेशनले लिएको छ । नौ तले दरबारको निर्माण चीन सरकारले गरिदिने भनेर अध्ययन सम्पन्न गरिसकेको छ । त्यस्तै, पुरतत्व विभागले २५ लाख रुपैंयाँ खर्चेर श्वेत भैरवको मन्दिर पुर्ननिर्माण गरिरहेको छ ।(फोटो-अलिना ताम्राकार, पुरातत्व विभाग)
सानिमा बैंकले शुरु गर्यो यूसडि क्रेडिट कार्ड, दुई देशबाहेक अन्य देशमा प्रयोग हुने
काठमाडौं, १० माघ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डलर क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । यो कार्ड भिसा कार्ड स्विकृत हुने भारत र भुटान बाहेक विश्वका सम्पूर्ण एटिएम तथा पिओएस मेसिनहरुमा प्रयोग गर्न सकिनेछ । चिप प्रविधिमा आधारित र विश्वमा नै बढी स्विकृत हुने यो कार्डबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोवार गर्न सक्नेछन्। यो कार्ड बिदेश भ्रमणको लागि जाने ग्राहकहरुका लागि निकै लाभदायक हुने बैंकले जनाएको छ ।
सुधारको बाटोमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंक, ६ महिनामा कमायो ११ करोड २३ लाख
काठमाडौं, १० माघ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पुस मसान्तस भित्रै ११ करोड २३ लाख नाफा कमाउन सफल भएको छ । बैंकले सो अवधीमा ६९ करोड २४ लाख ब्याज आम्दानी गरेको छ भने ४० करोड ब्याज खर्च गरेको छ । बैंकले चालु आवको ६ महिनामा १५ अर्ब ३९ करोड निक्षेप संकलन गरेर १३ अर्ब २१ करोड कर्जा प्रवाह गरेको देखिन्छ । एक अर्ब ८७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ करोड रुपैंयाँ रहेको छ । बैंकको खराब कर्जा २ दशमलब १७ प्रतिशत मात्रै रहेको छ भने सीडी रेसियो ७७ दशमलब १० रहेको छ । बैंकको प्रति सेयर आम्दानी १२ रुपैंयाँ ३८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १०६ रुपैंयाँ ६ पैसा रहेको छ । केहि महिना अघि मात्रै भिबोर डेभलपमेन्ट बैंक र सोसाइटी डेभलपमेन्ट बैंकबिच मर्ज भएर भिबोर सोसाइटी डेभलपमेन्ट बैंक बनेको हो । खराब अवस्थाबाट गुज्रिरहेका दुई बैंक मर्ज भएर बनेको भिबोर सोसाइटी डेपलपमेन्ट बैंक क्रमशः सुधारको बाटोमा अघि बढिरहेको देखिन्छ ।