विकासन्युज

चोभारमा अन्तराष्ट्रिय प्रदर्शनीस्थल बनाउन चीन र भारतको इच्छा, धमाधम डिजाइन बन्दै

काठमाडौं, ११ माघ । सरकारले चोभारमा बनाउने भनेको अन्तराष्ट्रिय प्रदर्शनीस्थल बनाउन चीन र भारतले इच्छा देखाएका छन् । व्यापार तथा निर्यात प्रर्वद्र्धन केन्द्रका कार्यकारी निर्देशक इश्वरी प्रसाद घिमिरेका अनुसार अन्तराष्ट्रिय प्रदर्शनी स्थल बनाउन चीन र भारतले पटक पटक आग्रह गरिरहेका छन् । ‘चीन र भारतले हामी बनाइदिन्छौं, प्रस्ताव ल्याउनुस भनेका छन्’, घिमिरेले भने । उनका अनुसार चोभारको हिमाल सिमेन्ट कारखाना क्षेत्रमा ३०० रोपनी क्षेत्रमा निर्माण गर्ने भनिएको प्रदर्शन केन्द्रको यतिबेला धमाधम डिजाइन निर्माणको काम भैरहेको छ । ‘हामीले निर्माणको मोडालीटी तयार गरिरहेका छौं, मन्त्रालयसँग बजेट मागिरहेका छौं, इन्टर मोडल यातायात विकास समितिले डिजाइन बनाईरहेको छ’, घिमिरेले विकासन्युजसँग भने । प्रदर्शनी केन्द्रमा सुबिधा सम्पन्न प्रदर्शनी स्थल, आकर्षिक पार्किङ स्थल, सभा हल, सूचना प्रबिधीयुक्त कार्यालय, बैंक शाखाको व्यवस्था गरिनेछ । प्रदर्शनी स्थल निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भनेको छ । तर त्यसको आधिकारीक सम्झौता भनेको भैसकेको छ । विश्व बैंकले सघाउने भने पनि त्यसको मोडालिटी भने भैसकेको छैन् । ‘विश्व बैंकले सहयोग गर्ने भनेको छ तर कुन श्रोतबाट कति रकम सघाउने भन्ने चाँही निश्चित भैसकेको छैन ।’ सरकारले चालु आर्थिक बर्षकै बजेट वक्तव्यमा सो प्रदर्शनी स्थल बनाउने उल्लेख गरेको थियो । तर बाणिज्य तथा आपुर्ति मन्त्रालयले आवश्यक बजेट भने विनियोजन गरेको छैन् ।

बैंकको व्याजदर भन्दा डबल अंकले घट्यो सेयर बजार, बीमा समूहको परिसूचक १४० अंकले घट्याे

काठमाडौं, ११ माघ । सेयर बजारको मापन गर्ने परिसूचक मंगलबार २४ अंकले घटेको छ । मंगलबार विहान दुई वाणिज्य बैंकले मुद्दती बचतमा १२ प्रतिशत व्याज दिने योजना सार्वजनिक गरेपछि सेयर बजारका लगानीकर्ता थप आत्तिएर सेयर बेच्न थालेको देखिएको छ । मंगलबार नेप्से परिसूचक १४३३ अंकमा झरेको छ । यो अंक गत बैंशाख ८ गतेयताको सबैभन्दा तलको विन्दु हो । बजारमा सबै समूहका परिसूचकहरु घटेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १४० अंकले घटेको छ । खानीखोला हाइड्रोपावर, लुम्बिनी फाइनान्स, पोखरा फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंकको सेयरधनीले बढी गुमाएका छन् । राष्ट्रिय बीमा कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, साझा विकास बैंक, बरुण हाईड्रोपावरका सेयरधनीले घटेको बजारमा पनि ३ प्रतिशतभन्दा बढी नाफा गरेका छन् । सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेर ३८ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ ।

अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज र एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्सबीच स्वस्थ्य सेवा प्रदानमा सहकार्य

काठमाडौं, ११ माघ । भारतको केरालामा अवस्थित १,३०० बेड भएको अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज् र नेपालको एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्स (एनगोज) ले एनगोज सदस्य संस्थाहरुमा बिरामीको हेरविचार र स्वास्थ्य सेवा प्रदान प्रणालीमा सुधार गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झातौ अन्तर्गत, भारतीय अस्पतालले एनगोज सदस्यताभएका नेपालका सबै स्वास्थ्य संस्थाहरुमा विशिष्ट र अर्ध विशिष्ट किसिमको सेवाहरुकालागि स्टेट अफ आर्टमा आधारित टेलिमेडिसिन परामर्श सेवा स्थापना गर्नेछ । यसको अर्को महत्वपू्र्ण पक्ष स्वास्थ्य शिक्षा र तालिम कार्यक्रमको माध्यमबाट वृहत रुपमा स्वास्थ्य व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्नु हो । नेपालका गैर सरकारी अस्पतालहरुमा सूचना प्रविधिको दक्ष प्रयोगका लागि हेल्थ म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एचएमआईएस) शुरु गर्नु हो । यसका साथै मेडिकल शिक्षाको निरन्तरताका लागि ई–लर्निंग कार्यक्रमहरु तथा कार्यपत्रहरु प्रस्तुत हुनेछ, साथ साथै स्वास्थ्य व्यवसायीहरु, डाक्टरहरु, मेडिकल विद्यार्थिहरुका लागि आदान प्रदान कार्यक्रम पनि संचालन हुनेछ । सम्झौतापत्रमा अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज, केरला, भारतका मेडिकल निर्देशक, डा. प्रेम नैयर र एनगोसका अध्यक्ष डा. भरत प्रधानले हस्ताक्षर गरेका छन् । कार्यक्रममा  एनगोसका कार्यकारी सदस्यहरु चर्चित मृगौला विशेषज्ञ डा ऋषिकुमार काफ्ले तथा श्याम धौबडेल पनि उपस्थित थिए । अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज, केरला, भारतका मेडिकल निर्देशक, डा. प्रेम नैयरले भने–‘यो सहकार्यले स्टेट अफ आर्ट सेवा प्रदान गर्न अनुमति प्रदान गर्नेछ, तर एनगोजका सदस्य स्वास्थ्य संस्थाहरुमा नेपालीबाट आउने बिरामीहरुलाई सूलभ स्वास्थ्य सेवा प्रदान गर्नेछ । टेलिमेडिसिनको माध्यमबाट भारतमा हाम्रा मेडिकल विशेषज्ञहरुको विशेष सेवा उनीहरुका लागि आवश्यक समयमा उपलब्ध हुनेछ । हाम्रो कोचीमा रहेको संस्थामा एनगोसबाट रेफर गरिएका दुईको यसअघि नै उपचार शुरु गरिसकेका छौं । यसभन्दा अगाडि, सदस्य संस्थाहरुबाट गएका ६ जना नर्सहरुले एडभान्स इन्फेक्सन–कन्ट्रोल प्राक्टिसेजमा तालिम सम्पन्न गरिसकेका छन् । एडभान्स सर्जरीको तालिम कार्यक्रमहरु छिटै शुरु हुनेछ । टेलिमेडिसिनका साथमा, बिरामीको साथमा हाम्रो संलग्नता थप गहिरो हुनेछ । हामी अपेक्षा गर्दछौं कि नेपालबाट जाने विशेषगरि कठिन किसिमका केस भएका बिरामीहरु प्रत्येक महिना कम्तिमा २० देखि २५ जना सम्मलाई सेवा प्रदान गर्नेछौं ।’ एनगोसका अध्यक्ष डा. भरत प्रधानले नेपालले पछिल्लो डेढ दशकमा स्वास्थ्य सेवाहरुको क्षेत्रमा निकै प्रगति गरेको बताँदै अझै यो भन्दा धैरै काम गर्न आवश्यक भएको बताए । ‘हाम्रा अस्पतालहरु गैर नाफा मूलक संस्थाहरु हुन, सुविधाबाट बंचित तथा पिछडिएका समुदायहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रित छन्, मुलुकको सहि आवश्यकतालाई सम्बोध नगर्न नसक्ने तर स्वास्थ्य सेवाहरु भने उपलब्ध भईरहेका सरकारी अस्पतालहरुको तुलनामा विकसित मुलुकहरुमा प्रदान गरिने सेवाहरु जस्तै सेवा दिनका लागि निजी अस्पतालहरु अगाडि आएका हुन् । भारतको अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेजसँगको यो सहकार्यले हाम्रा अस्पतालहरुको समग्र विकासमा फाईदा पुग्नेछ ।’ यो सहमतीपत्रको महत्वपूर्ण भागमा मेडिकल विद्यार्थिहरु डाक्टरहरु, नर्सहरु, वैज्ञानिकहरु र अन्य स्वास्थ्य व्यवसायीहरुको आदान प्रदान कार्यक्रम हो । डा. प्रेम नैयरले  भने, ‘नेपालका डाक्टरहरु तथा अन्य स्वास्थ्य व्यवसायीहरुको लागि छोटो अवधि काकार्यक्रमहरु तथा तत्काल आवश्यक पर्ने प्रशिक्षणहरु प्रदान गर्ने हाम्रो अभिप्राय रहेको छ । यो प्रशिक्षणको क्षेत्रहरुमा विशेष गरि टाउको र घाँटी, उच्च तहका क्यान्सरहरु, थाईराइड, मुटु रोगहरु र आर्थोस्कोपी सर्जरी समावेश छन, यसका साथै रेडियोलोजी र प्याथोलोजी । हामीले नेपालबाट आउने डाक्टरहरुका ल्याप्रोस्कोपी र एडभान्स सर्जरी स्कील्स विषयमा प्रशिक्षण कार्यक्रमहरु संचालन गरिरहेका छौं । यस अतिरिक्त, नेपालमा मेडिकल विद्यार्थिहरुको तालिम अभिवृद्धि गर्न हामी ई–लर्निंग प्याकेज विकास गर्नेछौं ।’

सेयर कारोबार गर्ने ७०० कम्पनी गैरकानुनी, २० वटा कम्पनीको कार्यकारी प्रमुख एउटै व्यक्ति, बजार अस्थीर बनाउने खेलाडीको नाम गोप्य

काठमाडौं, ११ माघ । सेयर बजारमा निजीस्तरका करिव ७०० वटा कम्पनीहरुले गैरकानुनी रुपमा कारोबार गर्दै आएको भेटिएको छ । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर किनबेच गर्ने कम्पनीहरुको बारेमा गरेको प्रारम्भिक अध्ययनले त्यस्तो देखाएको हो । ‘धितोपत्र बजारमा हाल १००० को संख्यामा निजी लगानी कम्पनीहरु रहेको देखिएको छ’ अध्ययन रिपोर्टबारे प्रारम्भिक जानकारी दिदै धितोपत्र बोर्डले भनेको छ–‘धितोपत्र बजारमा लगानी गर्ने उद्देश्यसहित स्थापना भएका कम्पनीहरु ३०० (करिब एक तिहाई) को हाराहारीमा मात्र रहेको छ ।’ साथै एउटै व्यक्ति कार्यकारी प्रमुखको रुपमा रही २० वटा सम्म लगानी कम्पनीहरु स्थापना गरी धितोपत्र कारोबार गरिरहेको पनि देखिएको छ । यसरी कारोबार गर्ने कम्पनीहरुले बजार अस्थिर बनाउने र सामान्य लगानीकर्तालाई फराउने काम गर्छन । यस्तो कारोबारी कम्पनी तथा सेयर बजारका खोलाडीको नाम भने धितोपत्र बोर्डले गोप्य राखेको छ । अधिकांश कम्पनीहरुको लगानीको उद्देश्य हेर्दा धितोपत्र बजारमा लगानी गर्ने उद्देश्य नदेखिएता पनि धितोपत्र बजारमा लगानी गरिरहेको देखिएको धितोपत्र बोर्डले जनाएको छ । कम्पनी रजिष्ट्रार प्रेमकुमार श्रेष्ठका अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उदेश्य नखुलाई गरिएको सबै कारोबार गैरकानुनी हुन्छ । लगानीकर्ताको अनुशासित एवम् विवेकशिल संलग्नताबाट धितोपत्रबजार स्वच्छ, प्रभावकारी र विश्वासिलो हुने परिप्रेक्ष्यमा बजारमा के कस्ता लगानीकर्ताहरुको उपस्थिति एवम् संलग्नता रहेको छ भन्ने तथ्य यकिन हुन आवश्यक देखिन्छ । यसका लागि बोर्डले हालै धितोपत्रको दोस्रो बजारमा निजी लगानी कम्पनीहरुको स्थिति पत्ता लगाई यिनीहरुको गतिविधि व्यवस्थित गर्ने उद्देश्यले दोस्रो बजारमा इन्भेष्टमेन्ट कम्पनी सम्बन्धी प्रारम्भिक अध्ययन गरेको छ । बजारमा रहेका सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरु मार्फत् धितोपत्रको कारोबार गरिरहेका लगानी कम्पनीहरु सम्बन्धी विवरण माग गरी प्राप्त विवरणलाई अध्ययनको मुख्य आधार बनाइएको बोर्डले जनाएको छ । बजारमा अन्य संस्थागत लगानीकर्ता तथा धितोपत्र व्यापारीको समेत अभाव भएको हालको अवस्थामा यस्ता निजी लगानी कम्पनीहरुलाई व्यवस्थित गर्न आवश्यक देखिएको बोर्डले जनाएको छ । यस सन्दर्भमा यस प्रारम्भिक अध्ययनबाट लगानी कम्पनीको सन्दर्भमा थप अध्ययन गरी यस्ता कम्पनीहरुलाई पँुजीबजारको नियमन दायरामा ल्याउन सहज हुने र यसबाट लगानी कम्पनीहरुको गतिविधी समेत पारदर्शी भर्ई दोस्रो बजार थप व्यवस्थित रुपमा विकास तथा विस्तार हुने बोर्डले अपेक्षा गरेको छ ।

रिलायबल डेभलपमेन्ट बैंकको २९ प्रतिशत बोनस सेयर स्वीकृत, ८ महिनामा दोस्रो पटक बोनस पाउँदै

काठमाडौं, ११ माघ । रिलायबल डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको २९ प्रतिशत बोनस सेयरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । गत मंसिर २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । असारमा सम्पन्न साधारणासभा बैंकको प्रस्तावलाई आगामी ११औं वार्षिक साधारणसभाले स्वीकृति गरेपछि सेयरधनीले उक्त बोनस सेयर पाउने छन् । यस बैंकको सेयरधनीले ८ महिनाको अन्तरमा दोस्रो पटक बोनस सेयर पाउँदैछन् । बैंकले गत असारमा अघिल्लो आर्थिक वर्ष २०७१/७२को नाफबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिएको थियो ।

लद्यु जलविद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्दै नेपाल विद्युत् प्राधिकरण

काठमाडौं, ११ माघ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ न्यूनिकरण गर्न लघु जलविद्युत् आयोजनासँग विद्युत् खरीद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाएको छ ।  प्राधिकरणले देशभरि उत्पादन भएका लद्यु जलविद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोडेर लोडसेडिङ अत्य गर्ने अभियानसहित लघु जलविद्युत् आयोजनाहरुसँग पीपीए गरेको हो । हालसम्म सय किलोवाटभन्दा बढी क्षमताका थप १० ओटा आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्नका लागि सम्झौता भैसकेको छ । त्यस्तै एक सय किलोवाटभन्दा कम क्षमताका तीनओटा लघु जलविद्युत् आयोजनासँग प्राधिकरणले पीपीए गरिसकेको छ । उत्पादन भएर पनि राष्ट्रिय प्रसारण लाइन जडान हुन नसक्दा यस्ता आयोजनाबाट उत्पादित विद्युत् त्यतिकै खेरा गइरहेको थियो । अब सरकारको पछिल्लो यो अभियानले राष्ट्रिय प्रसारण पुगेपछि सो क्षेत्रमा रहेका लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्को पनि  उपयोगिता बढ्ने छ । ग्रामिण क्षेत्रमा विद्युत्को  विकास गर्न तथा त्यहाँका आम जनतालाई सेवा पु¥याउन निर्माण गरिएका यस्ता आयोजना राष्ट्रिय प्रसारण लाइन पुगेका स्थानमा बन्द पनि भएका छन् । बन्द गरिएका तथा उत्पादन भएर पनि उपयोगितमा आउन नसकेका विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नको लागि जनसंख्या तथा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)ले प्राधिकरणको यो अभियानलाई सघाउने भएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश दिनेश घिमिरेले बताए । सरकारले देशभरको लोडशेडिङ न्यूनीकरण गर्न सोर्य ऊर्जालाई पनि प्राथमिकताका राखेको छ । पछिल्लो समय लोडसेडिङ न्यून भएपछि सहरी क्षेत्रमा सौर्य (सोलार) ऊर्जाको माग घटेको छ । विद्युत्को आवश्यकतालाई परिपूर्ति गर्न सरकारले ग्रीड कनेक्टेड सोलारको अवधारणालाई अघि बढाउने भएको छ ‘यसको प्रारम्भिक प्रयोग सिंहदरबारभित्रका कार्यालयहरूका छानामा प्यानल राखेर उत्पादित विद्युत् संयुक्त ग्रीडमा जोडी सम्बन्धित कार्यालयहरूमा वितरण गर्ने सरकारको योजना हो ।  सिंहदरबार भित्र सोलार प्यानल जडान गर्ने सम्बन्धमा २ वर्षअघि नै योजना बने पनि हालसम्म कार्यान्वयन जान सकेको छैन । सरकारले अब लोडसेडिङमुक्त अभियानसँग यसलाई पनि कार्यान्वयनमा लैजाने भएको छ । पछिल्लो घरायसी सोलारको माग घटेपनि सडक बत्तीमा प्रयोग हुने सोलारको माग भने पहिलेभन्दा बढेको छ । उपत्यकालगायत देशका विभिन्न सहर तथा मूल बाटोहरुको सरकारले सौर्य बत्ती जडान गर्ने योजना पनि बनाएको छ । स्रोत र साधनले भ्याएमा महानगरले अबको दुई वर्षमा नै सहर झिलिमिली सक्ने बताएको छ । सरकारले देशलाई लोडसेडिङबाट मक्त गराउन ठूला परियोजनामा लगानी बढाएसँगै अन्य क्षेत्रबाट पनि यस्तो उपयोगिता लिन खोजेको हो ।

नेपालले चीनलाई भन्यो-‘पेट्रोलियम खानीको अध्ययन रिपोर्ट चाहियो’, थप अनुसन्धानका लागि चिनियाँ टोलीलाई निम्ता पनि

काठमाडौं, ११ माघ । नेपालले पेट्रोलियम खानीहरुको रिपोर्ट पठाउन चीन सरकारलाई औपचारिक पत्र लेखेको छ । उद्योग मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत पत्र चीनियाँ टोलीले अध्ययन गरेका पेट्रोलियम खानीहरुको रिपोर्ट उपलब्ध गराउन चीन सरकारलाई पत्र पठाएको हो । ‘हामीले मन्त्रालयलाई चीन सरकारसँग आधिकारीक रिपोर्ट माग्न अनुरोध गरेका थियौं, मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारलाई पत्र पठाएको छ’, पेट्रोलियम अन्वेषण परियोजनाका एक अधिकारीले विकासन्युजसँग भने । नेपालले पुस दोश्रो साता चीनलाई पत्र लेखेको पनि उनले जानकारी दिए । गत अप्रिल ३० तारिखमा नेपाल आएको ६ सदस्यीय चाइना जिओलोजिकल सर्भेको टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेको थियो । सो टोलीले ती खानीको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर मे २६ तारिखका दिन चीन फर्किएको थियो । उनीहरुले यी तीन क्षेत्रमा रहेका श्रोत चट्टान र पेट्रोलियम अन्वेषण परियोजनासँग भएका तथ्यांकहरुको गहिरो अध्ययन गरेका थिए । उनीहरुले ल्याब परिक्षणका लागि सो क्षेत्रका चट्टान र माटोको नमूना चीन लगेका थिए । तिनै नमुनाको परिक्षणबाट सो क्षेत्रमा प्रयोग गर्न सकिने पेट्रोलियम पदार्थ रहेको प्रारम्भिक अनौपचारिक रिपोर्ट चीनले नेपाल पठाएको थियो । नेपालले अब भने औपचारिक रिपोर्ट मागेरै पत्र लेखेको उनले जानकारी दिए । ‘उनीहरुले प्रारम्भिक सम्भाव्यता अध्ययन रिपोर्ट अनौपचारिक रुपले नेपाललाई दिइसकेका थिए, त्यसमा सकारात्मक रहेको उल्लेख थियो तर अब औपचारिक रिपोर्ट चाहियो भनेका छौं’, ति अधिकारीले भने । उद्योग मन्त्री नविन्द्रराज जोशीले पनि विकासन्युजसँग कुरा गर्दै चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक रिपोर्ट सकारात्मक रहेको बताएका थिए । थप अनुसन्धानका लागि चिनियाँ टोलीलाई निम्ता नेपालले औपचारिक रिपोर्टसँगै थप अध्ययनका लागि पनि चिनियाँ टोलीलाई पुनः निम्ता पनिसँगै पठाएको छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा चीनियाँ टोलीले पहिलो चरणको अन्वेषण गरेको थियो । उत्खनन् गर्दा पनि सोही सम्झौताका आधारमा दुई मुलुकबिच संयुक्त कम्पनी वा प्रोजेक्टको स्थापना हुनेछ । सो कम्पनी वा प्रोजेक्टले उत्खननको मोडल तथा व्यवसायीक आधार तयार पार्नेछ । त्यसमा उत्खननपछि प्राप्त पेट्रोलियम पदार्थको केहि प्रतिशत चीनियाँ कम्पनीले पाउने र केहि नेपाल सरकारले पाउने उल्लेख गरिनेछ । कसको हिस्सा कति हुने भन्नेबारे भने दुई मुलुकका विज्ञ सम्मिलित टोलीले निर्धारण गर्नेछ ।

माघ १४ देखि ललितपुर मलमा जोप्पो एक्स्पो, ७० प्रतिशतसम्म छुट

काठमाडौं, ११ माघ । ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको माघ १४ गतेदेखि जोप्पो मोबाइल एक्स्पो आयोजना हुने भएको छ । ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गर्ने एक्स्पो २२ गतेसम्म सञ्चालन हुनेछ । मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने नारा सहित आयोजना गर्न लागिएको एक्स्पोमा विभिन्न ब्राण्डका स्मार्टफोन, ग्याजेट, एसेसरिज तथा मोबाइल मर्मतको सेवा उपलब्ध हुनेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम एक हजारदेखि १ लाख ४० हजार सम्मका विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् । जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्सपो २०१७ मा जोप्पोको कलर एफ ५, ह्वावेको जिआर ५ २०१७, सामसंगको सि नाइन प्रो, जियोनीको एस सिक्स एस, लाभाको ए३, कलर्सको पि ८५ प्लस, डिटिसीको गियर म्याक्स, ओबीआईको एस एफ १.५, जेडटिईको एक्सजोन मिनी, ओप्पोको एफ वान एस मोडलका स्मार्टफोनहरु विशेषरुपमा प्रदर्शन तथा बिक्रीका लागि राखिनेछ । यसका साथै एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस पनि मोबाइल महोत्सवको आकर्षणको केन्द्रमा हुनेछन् । कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि अंग्रेजी नयाँ वर्षको अवसरलाई आकर्षक बनाउन योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । “हामीले यो कम्प्लेक्समा ग्राहकलाई ब्राण्डेड मोबाइल मात्र बिक्री गर्ने हुँदा ग्राहकहरु हामीकहाँ नियमित आउने गर्दछन्,” उनले भने । एक्स्पोमा हरेक ग्राहकहरुलाई ५ देखि ७० प्रतिशतसम्मको छुट उपलब्ध गराईने छ । मोबाइल मेलाको अवधिभर कम्प्लेक्समा करिब ३ लाख ग्राहकहरुले मेला अवलोकन गर्ने अनुमान गरिएको छ भने ५ करोड रुपैंया बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।