विकासन्युज

नागरिक उड्डयन प्राधिकरणमा १४१ जनालाई रोजगारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा १४१ जनालाई जागिर खुलेको छ । प्राधिकरणले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै बिभिन्न पदहरुमा १४१ जनाका लागि दरखास्त आव्हान गरेको हो । प्रशासन, लेखा, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, इलेक्ट्रिकल इञ्जिनियरिङ लगायतका पदमा खुल्ला तथा आरक्षित कोटामा दरखास्त आव्हान गरिएको हो । प्राधिकरणले निर्देशक देखि सहायकस्तरसम्मका लागि आगामी ३० दिनभित्र आवेदन दिन सकिने जनाएको छ ।

सिभिल बैंकको २ अर्ब ७ करोडको हकप्रद सेयर आयो, नयाँ सेयरले पनि १० प्रतिशत बोनस सेयर पाउने

काठमाडौं । सिभिल बैंकले २ अर्ब ७ करोड ४० लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । विद्यमान सेयरधनीले १० कित्ता बराबर ४ कित्ता सेयर लिन पाउने गरी बैंकले हकप्रद सेयर निष्काशन गरेको हो । मंसिर ५ गतेभन्दा अघिल्लो दिनसम्म सेयर लिएका सेयरधनीले हकप्रद सेयरका लागि आवेदन गर्न पाउने बैंकले जनाएको छ । हकप्रद सेयरका लागि मंसिर २२ गतेदेखि पुस २७ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । हकप्रद सेयरको लागि बुक क्लाज भएपछि यस बैंकको सेयर प्रतिकित्ता १८९ रुपैयाँमा कारोबार भएको छ । हाल यस बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपैयाँ छ । ४० प्रतिशत हकप्रद सेयर निष्काशन पछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ हुन्छ । चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने अझै ७५ करोड रुपैयाँ कम भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने बताए । अहिले निष्काशन गरेको हकप्रद सेयरले पनि गत वर्षको नाफाबाट करिब १० प्रतिशत बोनस सेयर पाउने उनले बताए । गत अार्थिक वर्षकाे नाफा ३५ कराेड र संचित काेषमा रहेकाे ५६ कराेड रूपैयाँ बाेनस सेयरकाे रूपमा वितरण गरिने उनले जानकारी दिए ।

किसान माइक्रोफाइनान्सको साधारण हकप्रद सेयर लिलामी हुदै, मंसिर १९ गते अन्तिम दिन

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण समूहको हकप्रद सेयर लिलाम हुने भएको छ । संस्थाको साधारण समूहको १ हजार ३५१ कित्ता सेयर खरिद गर्न मंसिर १९ गतेसम्म बोलपत्र पेश गर्न भनिएको छ । संस्थाको असोज ६ देखि कात्तिक ७ गतेसम्म हकप्रद सेयर निष्कासनका गर्दा आवेदन नपरेको सेयर संस्थाले लिलामी गर्न लागेको हो । किसानले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

बीपीसीले ५ वर्षभित्र थप १ हजार मेगावाट आयोजना निर्माण गर्ने, आज ३ चिनियाँसँग लगानी सम्झौता हुदै

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले चिनियाँसँगको साझेदारीमा आउदो ५ वर्षमा थप १ हजार मेगावाट क्षमताका आयोजना निर्माण गर्ने भएको छ । ६७ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजनाको एकैपटक निर्माण सुरु गरेको बीपीसीले चीनको सिचुवान प्रान्तको ३ वटा कम्पनीसंगको संयुक्त लगानीमा १ हजार मेगाावाट बिजुली उत्पादन गर्न लागेको हो । चीनियाँ साझेदार र बीपीसीबीच आज संयुक्त लगानी सम्झौता हुदैछ । बीपीसीले १ सय मेगावाटको तल्लो मनाङ मस्र्याङदी र साढे ८ मेगावाटको चिनोखोला आयोजना अघि बढाउँदैछ । पाहिलो चरणमा दुई चिनियाँ साझेदारीमा निर्माण गर्ने बीपीसीको योजना छ । अन्य पाइपलाइनमा रहेका ठुला आयाजना निर्माण गर्ने तयारी बीपीसीको छ । हाल बीपीसीले ३७. ६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण सुरु गरेको छ । दुवै आयोजना आगामी सन् २०२० मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । कावेली बनाउन करिब १० अर्ब र न्यादीमा ६ अर्ब रुपैयाँ लाग्नेछ । कावेली १० अर्ब रुपैयाँभन्दा कम लगानी हुदै छ । । कावेलीमा विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त कर्पोरेशन (आईएफसी) को ऋण लगानी छ । यस्तै, न्यादीमा एभरेष्ट बैंकको अगुवाइमा ऋण लगानी भएको छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ । दुई आयोजना बनाउका लागि लगानी जुटाउन बीपीसीले ४० लाख ८१ हजार कित्ता थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । प्रतिकित्ता ५१८ रुपैयाँ प्रिमियम मुल्यमा उसले एफपीओ ल्याउन लागेको हो । यो दरमा एफपीओ निश्कासन अनुमति पाए कुल २ अर्ब ११ करोड ३९ लाख ५८ हजार रुपैयाँ संकलन हुने छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को नाफा २३५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असोजसम्म बीपीसीले ७ करोड २२ लाख रुपैयाँ खुदनाफा गरेको छ ।बीपीसीमा सरकारको १० प्रतिशत लगानी छ । गत आवको सोही अवधिमा बीपीसीको नाफा २ करोड १५ लाख रुपैयाँ मात्र थियो । विद्युत उत्पादनमा भएको वृद्धि र विद्युत महशुल निर्धारण आयोगले बिजुलीको महशुल बढाएपछि यसको असर खुदनाफामा परेको हो । समीक्षा अवधिमा कम्पनीले आँधिखोला र झिम्रुक आयोजनाको बिजुली बेचेर कुल २१ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७१ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९९ पैसा छ । गत वर्षको सोही अवधिमा १ रुपैयाँ २८ पैसा मात्र थियो । कम्पनीको संचित कोषमा २ अर्ब ३६ करोड ९० लाख रुपैयाँ छ ।

जनही १ करोड धरौटी बुझाउन नसकेपछि कर फच्छौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल जेल चलान

काठमाडौं । अदालतले मागेको धरौटी बुझाउन नसकेपछि कर फर्छ्यौट आयोगका पुर्वअध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई हिरासतमा पठाइएको छ । विशेष अदालतले मंगलबार जनही १ करोड रुपैयाँ धरौटी माग गरेपछि बुझाउन नक्दा उनीहरुलाई हिरासतमै राखिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेपछि फरार रहेका महत र ढकाल कात्तिक २९ गते अदालतमा उपस्थित भएका थिए। अख्तियारले गत साउनमा तीन पदाधिकारीविरुद्द १० अर्ब २ करोड बिगोदाबी गर्दे बिशेष अदालतमा मुद्दा दायर गरेको थियो। झण्डै २१ अर्ब रुपैयाँ कट छुट दिई राज्यलाई अर्बो रुपैयाँ नोक्सान पारेको भन्दै आन्तरिक राजश्व विभागमा महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेपछि दुबै जना फरार भएका थिए । कर फच्छौट आयोगले साढे ९ अर्ब रुपैयाँ कर निर्धारण गरी साढे २० अर्ब रुपैयाँ मिनाह गरेपछि महालेखा परीक्षकको कार्यलयले गम्भीर आपत्ति जनाएर वार्षिक प्रतिवेदनमा आर्थिक अनियमितता भएको ठहर गरेपछि अख्तियारले अनुसन्धान थालेको हो ।  

बजार अनुगमन, डेन्टल अस्पताल शिलबन्दी

काठमाडौँ । काठमाडौँ काडाँघारीमा रहेको हेलेना विनायक डेन्टल हस्पिटल प्रालिमा शिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा जिल्ला जन स्वास्थ्य कार्यालयको स्वीकृति बिना नै अस्पताल सञ्चालन गरेको पाएपछि सम्पूर्ण सामग्री सञ्चालन स्वयंको जिम्मामा रहने गरी शिलबन्दी गरिएको हो । अनुगमन संयोजक निरोज घिमिरेका अनुसार काँडाघारीमै रहेको सविना फर्मा र एनएण्डएस फार्मेसी प्रालिले व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाएकाले २४ घन्टाभित्र औषधि व्यवस्था विभागमा उपस्थिति हुन निर्देशन दिइएको छ । शिलबन्दी गरिएको औषधि पसललाई तीन दिनभित्र र अन्य दुई पसललाई २४ घण्टाभित्र विभागका उपस्थिति नभए विभागले थप कारबाही गर्ने पनि चेतावनीसमेत दिएको छ । विभागले काठमाडौँको गौशाला र भीमसेनगोलामा केही खाद्य पसलमा गरेको अनुगमनका क्रममा २५ बोतल पेय पदार्थ नष्ट गरेको छ । त्यस्तै वनस्थलीमा रहेको एएक्सएन ट्रेडिङ प्रालिले साइनबोर्ड नराखेको, दर्ता प्रमाणपत्र, गुणस्तर सम्बन्धी कागजात र मूल्य विश्लेषणको कागजात देखाउन नसकेकोले सात दिनभित्र साइनबोर्ड बनाएर राख्न र दर्ता प्रमाणपत्र, गुणस्तरसम्बन्धी कागजात र मूल्य विश्लेषणको कागजातसहित विभागमा आउन निर्देशन दिइएको छ ।

जेसीबीका ग्राहक बेलायतस्थित मुख्य प्लान्टको भ्रमणमा

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई बेलायतको रोसेस्टरस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण आयोजना गरेको छ । एक साता लामो भ्रमणमा जेसीबीका नेपाली ग्राहकले विश्वमै सबैभन्दा बढी विश्वास गरिएको हेभी इक्विपमेन्टको निर्माण कसरी हुन्छ भन्ने अवलोकन गरेका थिए । भ्रमणका क्रममा जेसीबीका ग्राहकले स्टिलबाट कसरी मेसिन बनाइन्छ ?, प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ र पार्टस्को एसेम्ब्ली गरेर कसरी जेसीबी मेसिन तयार पारिन्छ ? भन्ने निरीक्षण गरेका थिए । साथै, उनीहरुले जेसीबी कम्पनीका संस्थापक जोसेफ सिरिल बमफार्डले आविष्कार गरेको संसारकै पहिलो ब्याकहो लोडर र जेसीबीले निर्माण गरेको संसारकै सबैभन्दा तीव्र गतिमा दौडने डिजेल कारको समेत निरीक्षण गरेका थिए । ‘निर्माण कार्यका क्रममा खराबभन्दा पनि खराब परिस्थितिको सामना गर्न जेसीबीलाई कसरी तयार पारिन्छ भन्ने हेर्यौं ।’ भ्रमणमा सहभागी गोल्डेन गुड्स शेर्पा कन्स्ट्रक्सनका कार्यकारी निर्देशक गेल्जे लामाले भने, ‘जेसीबी मेसिन कसरी बनाइन्छ भन्ने हेर्न पाउनु ठूलो अवसर हो । यो दुर्लभ मौका दिनुभएकोमा हामी एमएडब्लु अर्थमुभर्सप्रति आभारी छौं ।’ जेसीबी संसारकै ‘टप थ्रि’ हेभी इक्विेमेन्ट निर्माता कम्पनीमध्ये पर्छ । चार महादेशमा फैलिएको जेसीबीको सञ्जालमा १२ हजार कर्मचारी आवद्ध छन् । जेसीबीका मेसिनहरु दुई हजार डिलरमार्फत एक सय ५० देशमा विक्रीवितरण हुने गर्छ । हाल जेसीबीले तीनसयभन्दा बढी प्रकारका मेसिनको उत्पादन गर्छ भने अतुलनीय ग्राहक सेवाले गर्दा यसप्रतिको विश्वास विश्वव्यापी रुपमा फैलिएको छ । नेपाली बजारमा जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन उपलब्ध छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कार्यक्षमताका कारण यी मेसिनहरु लोकप्रिय छन् । अझ पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दो छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । नेपालको अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । विक्रीभन्दा पनि त्यसपछिको सेवालाई जोड दिने भएका कारण जेसीबीले आफूलाई नेपालकै नम्बर १ हेभी इक्विपमेन्ट ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ ।

सानिमाको पहिलो एक्सटेन्सन काउन्टर भक्तपुरमा, राजस्व संकलन गर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो पहिलो एक्सटेन्सन काउन्टर भक्तपुर जिल्ला प्रशासन कार्यालयमा खोलेको छ । यस काउन्टरबाट भक्तपुर जिल्ला प्रशासन कार्यालयको राजस्व संकलन गर्ने छ । उक्त काउन्टरको उद्घाटन भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकृत द्रोणा पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले संयुक्त रुपमा गरेका हुन् । हाल यस बैंकको ४७ वटा शाखा संजाल तथा ५३ वटा एटिएम रहेका छन् ।