विकासन्युज

प्रभु टेक्नोलोजीद्धारा मोवाइल पेमेन्ट सिस्टम शुरु, केही महिनामै संचालनमा आउने

काठमाडौं । प्रभु टेक्नोलोजीले मोवाइल पेमेन्ट सिस्टमको शुरुवात गर्न लागेको छ । नेपाल राष्ट्र बैंकबाट पहिलोपटक मोवाइल पेमेन्ट सिस्टम संचालनका लागि प्रभु टेक्नोलोजीलाई लाइसेन्स दिइएको हो । योसँगै नेपाली बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्रिएको छ । लामो समयको अध्ययनपछि यो प्रकृया अघि बढेको हो । यसका लागि नेपाल दुरसंचार प्राधिकरण र नेपाल राष्ट्र बैंंकको टोलीले सबै गृहकार्य सम्पन्न गरेको छ । यसका लागि प्रभु टेक्नोलोजीले यो सेवा संचालनको लागि पहिलो लाइसेन्स प्राप्त गरेको हो । क्यास लेस ट्रान्जेक्शनको आवश्यकतालाई यसले सहजिकरण गर्ने छ । खल्तीमा पैसा पनि बोक्ने कार्ड पनि बोक्ने प्रचलनलाई यो प्रविधिले अन्त्य गर्ने विश्वास लिइएको छ । अहिले एटिएममा गएर पैसा निकाल्ने अनि पसलमा गएर त्यहि पैसाले रिचार्ड कार्ड किन्ने अबस्था छ । तर मोवाइल पेमेन्ट सिस्टमले डिजिटल फाइनान्सको सरल एवं सहज व्यबस्था भित्राउने छ । जसबाट अब नेपालमा पनि मोवाइलमै पैसा बोकेर हिड्न मिल्ने भएको छ । तपाईको मोवाइलमा रकम जम्मा गरेर त्यही रकमबाट विभिन्न सामान खरीद गर्ने तथा स्कूल कलेजको शुल्क तिर्ने, अन्य विभिन्न बिल तिर्ने लगायतका सुविधा पाउन सक्नुहुन्छ । यो सेवाका लागि करिव १ बर्षदेखि राष्ट्र बैंकले होमवर्क गरेको थियो । विदेशी टेक्नोलोजीलाई नेपालमा भित्राएपछि यसबाट नेपालमा पनि थप सरल बैंकिङ सेवा सुरु हुने भएको हो । यस प्रकृया अनुसार मोवाइलबाटै सबै कुराको पेमेन्ट हुन्छ । केहो हो मोवाइल पेमेन्ट सिष्टम ? मोवाइल पेमेन्ट सिस्टम अन्तरगत मोवाइल वालेट डिजिटल फाइनान्सको सबैभन्दा लेटेस्ट, विकसीत र सरल प्रविधि हो । यो प्रविधि अनुसार मोवाइलमै रकम जम्मा गर्न मिल्छ । मोवाइमा जम्मा भएको रकम फेरि बैंककै खातामा पनि पठाउन सकिन्छ भने बैंक खातामा भएको रकम आफूलाई आबश्यकता परेअनुसार बैंकबाट मोवाइल वालेटमा राख्न सकिन्छ । यसै वालेटबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको वील तिर्न सकिन्छ भने फिल्मको टिकट खरीद गर्न पनि सकिन्छ । त्यसबाहेक जुनसुकै पसलबाट जुनसुकै सामान खरीद गर्न सकिन्छ । यो प्रविधि सरल भएका कारण हरेकजसो चिया पसल, किराना पसल र अन्य ससाना व्यबसायीहरुले प्रयोग गर्न सकिने प्रविधि हो । यसका लागि मोवाइल फोन भएपछि अरु केही आबश्यक पर्दैन । प्रभु टेक्नोलोजीको सेवा कसरी लिने ? प्रभु टेक्नोलोजी नेपालको बैंकिङ ग्रुप अन्तरगतको प्रभु ग्रुपद्धारा संचालिन कम्पनी हो । यस कम्पनीले मोवाइल पेमेन्ट सिस्टम सुरु गरेको हो । जसले मोवाइल पेमेन्ट सिस्टमको सबै जिम्मेवारी लिएको छ । यसको प्रयोगका लागि प्रभु बैंंकमा रहेको खाताबाट आफ्नो मोवाइलमा रकम जम्मा गर्न सकिन्छ भने अन्य बैंकको खातामा रहेको रकम पनि जम्मा गर्न सकिन्छ । साथै मोवाइलमा जम्मा गरेको रकम सिधै कुनै पनि बैंकको खातामा पठाउन सकिन्छ । यसबाहेक विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिले सिधै मोवाइलमा रकम पठाउन सक्ने छ । तर प्रभु बैंकमा खाता रहेको हुनु पर्ने छ । खाताबाट मोवाइलमा पठाइसकेको रकम भने जुनसुकै बैंकको खातमा पनि जम्मा गर्न सकिन्छ । त्यसैगरी अन्य बैंकको खातामा रहेको रकम पनि मोवाइलमा पठाउन तथा अर्को बैंकका जम्मा गर्न सकिन्छ ।

नेपाल एसबिआई बैंकको संचालकमा विजयकुमार त्यागी नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंकको संचालकमा विजयकुमार त्यागी नियुक्त भएका छन् । असार ४ गते बसेको बैंकको संचालक समितिको ४०८औँ बैठकले त्यागीलाई कम्पनीको संचालकमा नियुक्त गरेको हो । यसअघि बैंकको संचालकमा प्रबोध पारिख रहेका थिए । पारिखले असार ४ गतेदेखि नै लागु हुने गरि बैंकको संचालकाे पदबाट राजिनामा दिएका हुन् ।

भरतपुर १९ को पुनः मतदान प्रकरणः सर्वाेच्चले माग्यो निर्वाचन आयोगको सक्कली निर्णय

काठमाडौं । सर्वाेच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको सक्कल निर्णय मागेको छ । मंगलबार कायम मुकायम प्रधानन्यायधिश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजालसले आयोगको निर्णयको सक्कल फाइल मागेको हो । यस अघि जेठ २२ गते न्यायधिश चोलेन्द्र शमशेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । जेड २८ गतेका लागि तोकिएको पेशी सरेर असार ६ गते सरेको थियो । नेकपा(एमाले)को तर्फबाट वडा नम्बर १९ मा खुल्ला सदस्य पदका उम्मेदवार गुञ्जमान बि.कले पुनः मतदान गराउने निर्णय खारेज गरि मतगणनाको माग गर्दै जेठ २१ गते सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

गोप्य सूचना चुहाएर सेयर किनबेच गर्ने एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार बन्द

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । मंगलबार बोर्डको पत्र पाएपछि नेप्सेले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोकेको हो । धितोपत्र बोर्डको छानबिन नटुगिंदासम्म सेयर कारोबार नखुल्ने नेपाल स्टक एक्सचेञ्जका सहायक प्रवक्ता मुरारी पराजुलीले बताए । बोनस, हकप्रद र साधारणसभा सम्बन्धि जानकारीहरु सार्वजनिक हुनु पहिले चुहावट भएको भन्दै बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दिएपछि कारोबार बन्द भएको हो । ६ वर्षपछि साधारण सभा बोलाएको एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र ६०० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको छ । उक्त सूचना सार्वजनिक हुनु पहिले नै बजारमा चुहावट भएको भन्दै धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । गोप्य सूचना चुहाएर सेयरको मुल्य बढाएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि एभरेष्टको सेयर कारोबार रोकिएको नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । बोर्डको पत्र प्राप्त हुनासाथ नेप्सेले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । साधारण सभाको प्रस्ताव आउनु पहिले नै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य २६०० रुपैंयाको हाराहारीमा पुगेको थियो । एभरेष्ट इन्स्योरेन्सले गोप्य सूचना चुहाएर सेयर कारोबार गराएको भन्दै गत विकासन्युजले गत शुक्रबार मुख्य समाचार बनाएको थियो भने देशविकास पत्रिकामा अग्रपृष्ठमा समाचार प्रकाशित भएको थियो । याे पनि पढ्नुहाेस् । एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र ६०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, गोप्य सूचनाका आधारमा करोडौंको सेयर कारोबार

भ्रष्टाचार गर्ने न्यायधिश र संबैधानिक निकायका प्रदाधिकारी माथि छानविनको बाटो खुला गरिनुपर्छ–रमणकुमार श्रेष्ठ

काठमाडौं । महान्यायधिवक्ता रमणकुमार श्रेष्ठले भ्रष्टाचार तथा अख्तियार दुरुपायोग गरेमा प्रधानन्यायधिश, न्यायधिशहरु र संबैधानिक निकायका पदाधिकारीहरु माथि पनि छानविन हुनुपर्ने औल्याएका छन् ।  तर हाल उनीहरुमाथि अनुसन्धान गर्न संबैधानिक र कानुनी व्यवस्था नभएको उनले बताए । आइतबार ललितपुरमा आयोजित भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन अवस्था विषयक गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने–‘प्रधानन्यायधिश, न्यायधिश, संबैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुलाई संसदले महाअभियोग लगाउने बाहेक अन्य उजुरी, अनुसन्धन तथा कारवाही हुन सक्दैन । संविधानले नै यस्तो व्यवस्था गरेको छ । यो व्यवस्था ठिक हो कि होइन ? बहस जरुरी छ । माथि हुने भ्रष्टाचारमा आँखा चिम्लेर तल हुने भ्रष्टाचार नरोकिने उनले बताए । उनले आफ्नो विचार व्यक्तिगत भएको बताए । ‘म महान्यायधिवक्त हो कि होइन, आफै अन्यौलमा छु । मलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियुक्त गर्नु भएको थियो । नयाँ प्रधानमन्त्री शेरबहादुर देउवा भएपछि मैले उहाँलाई भेट्ने मौका पाएको छैन’ उनले भने ‘त्यसैले यो मेरो व्यक्तिगत विचार हो ।’ तर उनलार्इ आयोजकले महान्यायधिवक्ताको हैसियतमा निम्ताएर मञ्चमा राखेका थिए र बोल्न दिएका थिए । गोष्ठिमा कानुन आयोगका प्रमुख माधव पौडेलले नेपालले हस्ताक्षर गरेको ‘संयुक्त राष्ट्र संघीय महासन्धि’ अनुसार बैंक, बीमा कम्पनी तथा कुनै पनि पब्लिक तथा प्राइभेट कम्पनीका हुने आर्थिक अनियमिता पनि भ्रष्टाचारमा पर्ने बताउँदै निजी क्षेत्रमा हुने भ्रष्टाचारको पनि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले छानविन गर्ने, मुद्दा लगाउन पाउनु पर्ने बताए । आयोगको पूर्वसचिव पूर्णचन्द्र भट्टराईले उक्त महासन्धिका आधारमा अख्तियार दुरुपयोग अनुसन्धन आयोगले ४० प्रतिशत क्षेत्रको मात्र अनुसन्धान गर्दै आएको बताए । पछिल्लो समय सहकारी, बैकिङ, बीमा, जलविद्युत, बचत समूह, महिला तथा युवा समूह, गैरसरकारी संस्था (एनजीओ आईएनजीओ) भित्र भ्रष्टाचार भएको भनेर थुप्रै उजुरी आउने गरेको तर अधिकार नभएकोले आयोगले अनुसन्धान गर्न नपाएको बताए । त्यस्तै, कानुन तथा न्याय मन्त्रालयका सहसचिव रमेश ढकालले निजी क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रण गर्न नयाँ कानुन र नयाँ संरचनाको आवश्यक भएको बताए । तर महान्यायधिवक्ता रमणकुमार श्रेष्ठले सिंगापुर वा अरु कम भ्रष्टाचार हुने विकसित देशको जस्तै कानुन नेपालमा लागू हुन नसक्ने बताए । ‘कानुन र समाजको विकास सँगसँगै हुुनुपर्छ । समाजको विकास धेरै पछाडि रहेको अवस्थामा विकसित देशमा लागू भएको कानुन ल्याएर जस्ताको तस्तै लागू गर्न सकिदैन’ उनले भने । श्रेष्ठको भनाईमा महालेखा परीक्षक टंकमणि शर्माले पनि सहमति जनाए । सरकारी तहमा भ्रष्टाचार नहुने हो भने निजी क्षेत्रमा भ्रष्टाचार स्वत कम हुने उनको भनाई छ । आफू आन्तरिक राजश्व विभागको महानिर्देशक हुँदा भ्याट छलिको विषयमा गरिएको अनुसन्धानको अनुभव सुनाउँदै भने–भ्याट छलिमा अनुसन्धान गर्दै जाँदा ५०औं हजार व्यवसायी विवादमा तानिए । ठूला मात्र होइन, साना साना व्यवसायी पनि मिसम्याचमा परे । अनुसन्धान गर्दै गर्दा कोही पनि चोखो नदेखिने भए । निजी क्षेत्र पुरै आतंकित भयो । त्यो अवस्थामा हामीले बाध्य भएर नयाँ  बाटो रोज्यौं । हर्जना र जरिवानामा धेरै छुट दिएर स्वेच्छिक रुपमा कर बुझाउन अपिल गर्यौं ।’ नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले अरु क्षेत्रको तुलनामा बैकिङ क्षेत्रमा नगन्य भ्रष्टाचार रहेको बताए । निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धन आयोग पस्ने हो भने सरकारले पुँजीगत खर्च गर्न नसकेजस्तै निजी क्षेत्रले पनि प्रभावकारी रुपमा काम गर्न नसक्ने र लगानी वातावरण विग्रने उनले बताए ।

वायुसेवा निगमलाई जहाज भाडामा दिन भुटान एयरलान्सले बाजी मार्यो, दुई महिने जहाज भाडाको सम्झौता भोली

काठमाडौं । नेपाल वायुसेवा निगमलाई जहाज भाडमा दिन भुटानी र युक्रेनी वायुसेवाबीचको प्रतिस्पर्धामा भुटानी वायुसेवाले बाजी मारेको छ । निगमले जहाज भाडामा लिन मागेको प्रस्तावमा भुटानको टासी गु्रप अन्तर्गतको भुटान एयरलाइन्स र युक्रेनको टुवेल्भ स्टार एभिएसन अन्तर्गतको स्टार एयरलाइन्सले प्रस्ताव पेश गरेका थिए । यी दुई वायुसेवाको प्रस्तावमा प्राविधिक र आर्थिक दुबैमा भुटान एयरलाइन्सको उपयुक्त पाइएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । निगमले मागेको वेट लिज (जहाजसहित क्याविन क्रुको टोली)को प्रस्ताव उपयुक्त भएकोले भोली बुधबार सम्झौता हुने भएको छ । निगमले भुटान एयरलान्सबाट एयरवसको ए३२० नामक १५० सिट क्षमताको जहाज भाडामा लिन लागेको हो । भुटान एयरलाइन्ससँग ए३१९ नामक १२२ सिट क्षमताको जहाज पनि रहेको छ । निगमको तयारी अनुसार एउटा ए३२० जहाजबाटै निगमको उडान हुने गरी सम्झौता हुने भएको छ । भुटान एयरलाइन्स भुटानको पहिलो निजी क्षेत्रबाट सञ्चाललिन जहाज पनि हो । निगमका अनुसार यो वायुसेवाले कति मूल्यमा मासिक उडान गर्ने भएको छ भन्ने जानकारी भने भोली वायुसेवा निगम र भुटान एयरलाइन्सबीच हुने दुईपक्षिय सम्झौतापछि मात्रै सार्वजनिक गरिने जानकारी दिए । निगमका अनुसार भुटान एयरलाइन्सको जहाज भाडामा लिने सुनिश्चित भएको छ । हामीसँग भएको २ वटा एयरवस नियमति उडानमै रहेकोले थप जनशक्ति नभएकोले पनि निगमले वेट लिजमा जहाज लिन लागेको हो । जहाजसँगै भुटान एयरलाइन्सकै पाइलट, इन्जिनियर, एयरहोस्टेज हुनेछन भने नेपाली यात्रुलाई सेवा दिने काम मात्रै हुने भएको छ । यो जहाज भाडामा लिएवापन मासिक तोकिएको शुल्क तिर्ने र त्यसबाट आएको लाभ सबै निगमलाई हुने भएकोले पनि उल्लेख छ । निगमसँग भएको २ वटा १९० पसट क्षमतको बोइङलाई आवश्यक मर्मत गर्नुपर्ने भएकोले पनि जहाज भाडामा लिन लागेको हो । निगमले हरके १८ महिनामा गर्नुपर्ने इन्जिन बाहेककको सम्पूर्ण मर्मत सिचेकका लागि सिंगापुर पठाउँर्दै छ । सिचेकका लागि कम्तिमा एक महिना लाग्ने भएकोले पनि सो समयमा भाडामा लिएको जहाजबाट नियमतिउडान नरोकिने गरी सेवा प्रदान गरिने भएको छ । निगमको अर्को एउटा बोइङ भने विक्रीका लागि राखिएको छ । निगमले भाडामा लिएको जहाजबाट मलेसियाको क्वालालाम्पुर, कतारको दोहा, भारतको दिल्ली र बैंगलोरसहितका हाल उडान गरिरहेकै गन्तव्यमा सेवा दिने जानकारी दिएको छ । निगमले भाडामा लिने जहाज भने आगामी साउन २ गतेबाट मत्रै लिने भएको छ । निगमसँग हाल १५८ सिट क्षमताको एयरवसको ए३२० नामक दुईवटा न्यारोवडी जहाज उडानमा छ ।

भरतपुर १९ को पुनः मतदान सम्बन्धी मुद्दा गोपाल पराजुली र हरिकृष्ण कार्कीको बेञ्चमा

काठमाडौं । भरतपुर महागरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्धा कायम मुकायम प्रधान न्यायधिश गोपाल पराजुली र हरिकृष्ण कार्कीको बेञ्चमा परेको छ । यस अघि २२ गते न्यायधिश चोलेन्द्र शमशेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । नेकपा(एमाले)को तर्फबाट वडा नम्बर १९ मा खुल्ला सदस्य पदका उम्मेदवार गुञ्जमान बि.कले पुनः मतदान गराउने निर्णय खारेज गरि मतगणनाको माग गर्दै जेठ २१ गते सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए । चोलेन्द्र शमशेरले २८ गतेका लागि पेशी तोकेका थिए । न्यायधिश विश्वम्भर प्रसाद श्रेष्ठ र प्रकाश मानसिंह राउतको बेञ्चमा परेको सो मुद्धा हेर्दा हेर्दैमा राखिएको थियो ।  

एक बर्षमै तेश्रो जन्मः गोपाल पराजुलीका नाममा आठौं आश्चर्य

काठमाडौं । मान्छे एक पटक जन्मन्छ र एक पटक मर्छ पनि । यो प्राकृतिक नियम नै हो । ठूला दुर्घटनाहरुबाट बाच्न सफल भएकाहरुलाई दोश्रो जन्म मान्ने चलन छ । नेपालमा एक जना यस्ता पात्र छन् जसले तेश्रो जन्म पाएका छन् तर उनले पाएको थप २ वटा जन्मसँग न कुनै ठूलो दुर्घटना जोडिएको छ न त कुनै ठूलो रोगको अचानक निदान नै । यसरी संसारकै लागि आठौं आश्चर्यको इतिहास रच्न सफल भएका व्यक्ति हुन गोपाल पराजुली । तीनै पराजुली केहि समयपछि नै सर्वाेच्च अदालतको प्रधानन्यायधिसको कुसीमा आसिन हुँदैछन् । पौने तीन करोड नेपालीलाई न्याय दिलाउने कुर्सीमा आसिन हुनै लागेका पराजुलीले एक वर्षको अवधिमै तीन पटक जन्म लिएको तथ्यहरुले देखाउँछ । उनलाई अतिरिक्त २ वटा जन्म दिलाउने कुनै ईश्वरीय शक्ति वा उनका अविभावक भने होइनन् । पराजुली आफैंले तीन पटक जन्म लिएको प्रमाणहरु तयार पारेका हुन् । २०३० साउन २१ गते जारी गरिएको नागरिकतामा उनको उमेर २१ वर्ष लेखिएको छ । जन्म मिति नखुलाएर उमेर मात्रै लेखिएको सो नागरिकताका आधारमा पराजुलीको जन्म २००९ सालमा भएको देखिन्छ । तर पराजुलीले २०६७ साल मंसिर ९ गते नागरिकताको अर्काे प्रतिलिपी बनाएका छन् । सो प्रतिलिपिमा उनको जन्म २०१० बैशाख १६ गते भएको उल्लेख छ । त्यसो त पराजुलीले सर्वाेच्च अदालतमा बुझाएको कागजातमा पनि उनको जन्म २००९ साल साउन २१ गते लेखिएको थियो । उनको पेन्सन पट्टामा भने जन्म मिति २०१० साल बैशाख १३ गते लेखिएको छ । यसरी गोपाल पराजुली एक वर्षमै तीन पटक जन्म लिने ऐतिहासिक व्यक्ति बन्न सफल भएका छन् । आफ्नै हात जगन्नाथ पराजुलीले आफ्नै नेतृत्वमा बसेको न्यायपरिषद बैठकबाट आफ्नो तीन वटा जन्ममध्ये सबै भन्दा कान्छो मिति अर्थात २०१० साल बैशाख १६ गतेलाई बैधानिकता दिलाएका छन् । अदालत भनेको जनताको अन्तिम आस्थाको केन्द्र हो तर त्यहि अदालतको नेतृत्वमा बस्नेहरुले आफ्ना लागि जस्तो सुकै निर्णय गराउने प्रवृत्तिले अदालत प्रतिको जन विश्वासमा ह्रास आउने जानकारहरू बताउँछन् । पराजुलीको उमेर सम्बन्धी विवाद न्याय परिषदमा पुगेको थियो, तर पराजुलीले आफ्नै नेतृत्वको बैठकबाट आफ्नो उमेर सच्याए । आफुले आफैंलाई न्याय दिने नियम पनि सायद संसारमा आठौं आश्चर्यमै पर्ला । सायद यसैलाई भन्छन होला–आफ्नो हात जगन्नाथ पनि ।