विकासन्युज

पञ्चकन्या माई हाइड्रोपावरले ११ करोडको आईपीओ निष्कासन गर्न पायो अनुमति

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले ११ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डले मंगलबार पञ्चकन्या माईलाई जलविद्युत आयोजनाबाट प्रभावितका लागि आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले इलाममा ९.९ मेगावाट क्षमताको अपरमाई खोला आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । कम्पनीको जारी पुँजी ९९ करोड रुपैयाँ रहेको छ । यसमध्ये १० प्रतिशत स्थानिय बासिन्दालाई निष्कासन गर्न लागेको हो । यसपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ ।

सात दिनको तालिम, ४९ सय भत्ताः ५३ हजारलाई रोजगारी

काठमाडौं । जागिर नपाएर हैरान हुनु भएको छ ? त्यसो हो भने चिन्ता नगर्नुस, अब भत्तासहितको तामिल र तालिमपछि रोजगारीको अवसर प्राप्त हुँदैछ । राष्ट्रिय पुननिर्माण प्राधिकरले ७ दिनको तालिमसँगै रोजगारीको अवसर प्रदान गर्दैछ । प्राधिकरणका प्रवक्ता यमलाल भुषालका अनुसार प्राधिकरणले ५३ हजार युवालाई ७ दिनको तालिम दिएर पुननिर्माणको काममा खटाउँदैछ । प्राधिकरणले भूकम्प प्रभावित जिल्ला र त्यसका केहि केन्द्रहरु तोकेर तालिम दिनेछ । त्यसरी तालिम लिनका लागि सोही क्षेत्रमा निर्माण क्षेत्रमा काम गरिरहेका युवाहरुलाई वडा कार्यालयहरुको सिफारिसका आधारमा तालिममा समावेश गरिनेछ । ‘गाउँ गाउँमा डकर्मीलाई सात दिनको तालिम दिएर ५३ हजारलाई रोजगारी दिँदैछौं’, प्राधिकरणका प्रवक्ता भुषालले विकासन्युजसँग भने । मंसिर भित्र डकर्मी सिफारिस तथा छनौट सकेर पुस महिनादेखि तालिम आरम्भ गर्ने पनि उनले जानकारी दिए । हाल प्राधिकरणले तालिम उपलब्ध गराएका ४७ हजार डकर्मीहरु पुननिर्माणको काममा खटिएका छन् । उनीहरुले पाउने ज्याला भने स्थानीयस्तरमा आपसी समझदारीबाट तय हुनेछ । ‘रोजगारीका लागि भन्दै दैनिक हजारौं युवा विदेशिएका छन, प्राधिकरणले प्राबिधिक तालिम दिएर आफ्नै गाउँ ठाउँमा रोजगारीको अवसर प्रदान गर्दैछ’, भुषालले भने । यसरी तालिम प्राप्त जनशक्तिले भूकम्पपछिको पुननिर्माण सम्पन्न भएसँगै निर्माण क्षेत्रमा काम गरेर राम्रो आम्दानी गर्न सक्नेछन् । नेपालको निर्माण क्षेत्रमा स्वदेशी जनशक्तिको अभावमा ठुलो मात्रामा भारतीय कामदारले रोजगारी पाईरहेका छन् । नेपालको निर्माण क्षेत्रलाई राम्रो आम्दानी हुने रोजगारीको क्षेत्र मानिन्छ । पुननिर्माणको काम सम्पन्न भएपछि नेपालको निर्माण क्षेत्रमा ठुलो संख्यामा नेपालीहरुले नै रोजगारी पाउनेछन् । प्राधिकरणले पुननिर्माणको कामलाई भूकम्प प्रतिरोधी र छिटो गतिमा अघि बढाउनका लागि डकर्मीहरुलाई तालिम उपलब्ध गराएको भएपनि तालिम लिईसकेपछि विदेशिने क्रम बढेपछि भने पुननिर्माणमा असर गरेको छ ।

साढे ८ करोडको कारोबार गर्दै सकियो १५ औं हस्तकला व्यापार मेला, १ लाख ८ हजारले गरे अवलोकन

काठमाडौं । १५ औं हस्तकला व्यापार मेला सकिएको छ । मंगलबार सम्पन्न भएको मेलामा ८ करोड ५० हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल हस्तकला व्यापार मेला समितिका संयोजक धर्मराज शाक्यले जानकारी दिए । यसअघि मेलामा १० करोड भन्दा बढी कारोबार हुने अनुमान गरिएको थियो । मेलामा लक्ष्यभन्दा १ करोड ५० करोड कम कारोबार भएको शाक्यले बताए । नेपाल हस्तकला महासंघको आयोजनामा गत मंसिर १ गतेदेखि मेला सुरु भएको थियो । मेलामा ३ करोड भन्दा बढीको सामान बुकिङ भएको छ भने १ लाख ८ हजार जनाले अवलोकन गरेका छन् । शाक्यले समापन कार्यमा मन्तव्य दिँदै हस्तकला क्षेत्रले आर्थिक विकासको क्रममा निर्यात व्यापारमा अग्रणी भूमिकाको साथै रोजगारी सिर्जनाद्वारा गरिबी निवारणको क्षेत्रमा खेलेको बताए । सो क्रममा उनले महासंघको अभिलेख अनुसार गत आर्थिक वर्षमा हस्तकला निकासी करीब ५ अर्ब बराबरको रहेको बताए । उनका अनुसार चालू आवको प्रथम चौमासिकमा तथ्यांकले यस वर्ष हस्तकलाका वस्तुहरुको निर्यात वृद्धि हुने संकेत देखाएको छ । मेलामा उत्कृष्ट प्याभिलियन तर्फ फेयर ट्रेड ग्रुप नेपाललाई १ लाख रुपैयाँ बराबरको पूरस्कार प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट स्टलमा फिंगर प्रिन्ट आर्ट एण्ड क्राफ्ट्सलाई दिइएको थियो । परम्परामा आधारित समसामयिक वस्तु, होम डेकोर (टेक्सटाईल, सेरामिक, ऊनीजन्य वस्तु) र फेशन एसेसरिज र गरगहना तर्फ प्रथममा नेपाल बनकी श्रिभूषण मानन्धर, दोस्रोमा सबाह नेपाल र तेस्रोमा नेपलिज डि कलेक्सनकी मिनु बज्राचार्य सम्मानित भएका छन् । त्यस्तै परम्परागत विधातर्फ बीरेन्द्र चित्रकार, पुनम कुमारी दास र नरेन्द्र चौधरी पूरष्कृत भएका छन् । समकालिन विधामा ज्ञान कुमारी शाक्य, श्री कुमारी चौधरी र अम्बीका सिन्चुरी बिकेलाई सम्मान गरिएको छ । महासंघका अनुसार हस्तकला क्षेत्रमा करीब १२ लाख व्यक्ति प्रत्यक्ष तथा प्रत्यक्षरुपमा आबद्ध छन् ।

नेपाल बङ्गलादेश बैंकका नवनिर्वाचित अध्यक्ष जलाल अहमदद्धारा शपथ ग्रहण

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको नवनिर्वाचित अध्यक्ष जलाल अहमदले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बैंकको हालै सम्पन्न तेईसौं बार्षिक साधारणसभाले सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा जलाल अहमदलाई अध्यक्ष चयन गरेको थियो । उक्त सभाबाट संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह अलाम सरावर, मनिरुल इस्लाम तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्र बहादुर थापा, दीपक कार्की र मुकुन्द नाथ ढुंगेलसञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।

माथिल्लो तामाकोशी २०७५ मंसिरमा सम्पन्न हुने

दोलखा  ।  विसं २०७५ मंसिरदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने बताइए पनि सबै युनिट एकैसाथ सञ्चालनमा ल्याउने गरी नयाँ समयसीमा निर्धारण गरिएको हो । सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ९३ प्रतिशतको हाराहारीमा पुगेको छ । कुल ८.५ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको प्रमुख काम सम्पन्न भएको छ । सुरुङ निर्माण सम्पन्न भएपछि त्यसको मर्मत तथा सम्भार(कंक्रिटिङ) गर्ने कार्य शुरु हुनेछ । सो आयोजनाको सुरुङ अन्य आयोजनाको तुलनामा फरक ढंगले निर्माण गरिएको छ । नेपालमा पहिलो पटक सुरुङमार्गमा ठाडो सुरुङसमेत रहेको छ । ठाडो सुरुङमा ‘स्टिल लाइनिङ’ गर्ने कार्य नै सबैभन्दा अप्ठ्यारो कार्यको रुपमा रहेको आयोजना प्रमुख विज्ञान श्रेष्ठको भनाइ छ । आयोजनामा अत्यन्तै अप्ठ्यारो कार्यका रुपमा रहेको दुईवटा ठाडो सुरुङ निर्माण यसअघि नै सम्पन्न भएको हो । आयोजना प्रमुख श्रेष्ठले दुईवटा ठाडो सुरुङ नेपालमा निर्माणाधिन आयोजनामध्ये पहिलो भएको बताए । कुल ३११ मिटर लामो माथिल्लो पेनस्टक सार्प टनेल गत भदौ ३१ गते निर्माण सम्पन्न भएको हो भने ३७३ मिटर लामो तल्लो पेनस्टक सार्प टनेल २०७१ माघमा सम्पन्न भएको हो । तर सो कार्यमा संलग्न निर्माण व्यवसायीको कार्यशैली र कार्यक्षमतामा प्रश्न उठेको छ । पेन स्टक पाइप आयात गर्न समय लागेको छ । सो कार्यको जिम्मा भारतीय कम्पनी टेक्स म्याको रेल एण्ड इञ्जनियरिङ कम्पनीले लिएको छ । आयोजनाले ठेकेदारलाई कुनै पनि विषयमा लापरबाही नगर्न र तोकिएको समयमा काम गर्न निर्देशन दिएको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका अध्यक्ष समेत रहनुभएका कुलमान घिसिङले आयोजना आम नेपालीको आशा र भरोसाको केन्द्रका रुपमा रहेकाले यसलाई शीघ्र सम्पन्न गराउन आयोजनामा कार्यरत सबै कर्मचारी र निर्माण व्यवसायीलाई निर्देशन दिए । “एक दिन पनि ढिला गर्ने र हुने काम नगर्न म सबैलाई निर्देशन दिन्छु, यो राज्यको प्राथमिकताको आयोजना हो । कुनै पनि व्यक्ति वा निकायले कमजोरी गरे, त्यो मान्य हुँदैन,” उनले भने । सरकारले आयोजनाका लागि अत्यावश्यक सबै साधन स्रोत उपलब्ध गराएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार मुलुकको विद्युत् माग सम्बोधन गर्न महत्वपूर्ण मानिएको आयोजनामा समस्या आउन नदिन सरकारले अत्यावश्यक स्रोत साधन उपलब्ध गराएको र बजेट समेत समयमै दिइएको छ । भौतिक निर्माण कार्य लगभग सम्पन्न हुने चरणमा रहेको छ । बाँकी रहेको काम भने हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र सिभिल निर्माणमा संलग्न ठेकेदारको आवश्यक समन्वयमा गर्नुपर्नेछ । ‘गोरखा भूकम्प’का कारण डेढवर्ष पर धकेलिएको आयोजना निर्माणमा देखिएको प्रगति जस्तै प्रसारण लाइन निर्माणमा सफलता हासिल भएको छ । कुल २२० केभी क्षमताको प्रशारण लाइनमा निर्माण हुने १२७ टावरमध्ये हालसम्म ९७ वटा टावर जडान कार्य सम्पन्न भएको छ । त्युस्तै ११८ वटा टावरको जग निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएकामध्ये ७.५ किलोमिटर तार तान्ने कार्य समेत सम्पन्न भएको छ । आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि निर्माणको क्रममा रहेको न्यू खिम्ती सवस्टेशनका कारण भने समस्यापर्ने देखिएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्न भारतको केइसिइन्टरनेशनले माटो परीक्षण गरिरहेको छ । एक वर्षभित्र सवस्टेशन निर्माण सम्पन्न हुने अवस्था भने देखिदैन । सो सवस्टेशन निर्माण सम्पन्न नभए पनि खिम्तीमा रहेको हिमाल पावरको सवस्टेशनबाट काठमाडाँै वा तराईमा विद्युत् प्रवाह गर्न कुनै समस्या नहुने आयोजनाले जनाएको छ । रासस

विस्तृत शान्ति सम्झौताको एघार वर्ष पुरा, पीडितले अझै न्याय पाएनन्

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा हुँदा पनि पीडितले न्याय पाउन नसकेको ठहर गरेको छ । आयोगले आज विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्तीले सरकार मानवअधिकारप्रति संवेदनशील नभएको बताए । आयोगले गरेका सिफारिस कार्यान्वयनमा सरकारले उदासीनता देखाएको उल्लेख गर्दै उनले आयोगले गरेका सिफारिस कार्यान्वयनमा ढिलासुस्ती गरिरहे कडारुपमा प्रस्तुत हुने चेतावनी दिए । आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले उम्मेदवारलाई लक्षित गरेर वम विस्फोट भइरहेको घटनाप्रति गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै सुरक्षा व्यवस्था कडा हुनुपर्नेमा जोड दिएका छन् । आयोगका सदस्य सुदीप पाठकले संविधान जारी हुनु र स्थानीय तहको निर्वाचन सम्पन्न हुनुबाहेक विस्तृत शान्ति सम्झौता भएपछि सशस्त्र द्वन्द्वका पीडितले न्याय पाउन नसकेको बताए । आयोगले द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय दिनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएता पनि कानून, स्रोत, साधन र स्वनिर्णयको अभावमा आयोगले काम गर्न नसकेको जनाएको छ । त्यसैगरी, आयोगले स्थानीय तह निर्वाचन २०७४ को अनुगमन प्रतिवेदन समेत सार्वजनिक गरेको छ । आयोगका सदस्य वस्तीले सो प्रतिवेदन सार्वजनिक गरेका छन् । प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा तीन व्यक्तिको हत्या भएको, केही जिल्लामा दलहरुबीच सामान्य झडप भए पनि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख छ । साथै, स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग केही घटे पनि कमी नभएको, निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको, मतदान केन्द्र अपांगमैत्री नभएको, मतदान शिक्षा प्रभावकारी नभएकोलगायत प्रतिवेदनमा उल्लेख छ । रासस

गगन थापाद्धारा कृषि अनुदान नलिएको स्पष्टोक्ति, केशव स्थापितको आरोप झुटो

काठमाडौं । काँग्रेस नेता गगनकुमार थापाले कृषी सम्वन्धी अनुदान लिएर अनियमितता गरेको भन्दै एमालेका नेता कार्यकर्ताहरुले गरेको प्रचार गलत भएको तथ्य फेरी सार्वजनिक भएको छ । यसअघि पनि यस्तै प्रचार गर्ने केही व्यक्तिहरुलाई तथ्यहिन गलत प्रचार गरेको अभियोगमा प्रहरीले कारबाही गरेको थियो । काठमाडौं महानगरका पूर्व मेयर तथा एमाले नेता केशव स्थापितले बाख्रा पालनका लागि भन्दै थापाले व्यवसायीक कृषि आयोजना केन्द्र (प्याक्ट) मार्फत् अनुदान लिएको तर बाख्रा पालन नगरेको भन्दै प्रचार गरेका थिए । स्थापित जस्तो जिम्मेबार व्यक्तिले गैरजिम्मेबार प्रचार गरेको र त्यसैलाई आधार बनाएर केही संचार माध्यमहरुले गलत समाचार सामग्री बनाएको भन्दै प्याक्टले आज (मंगलबार) प्रेस विज्ञप्ती नै प्रकाशित गरेर स्थापितले गलत प्रचार गरेको स्पष्ट पारेको हो । थापा अध्यक्ष रहेको सुनखानी एकिकृत कृषि केन्द्र माहांकाल काठमाडौले गुणस्तरीय मासु उत्पादन तथा बजारीकरण उपआयोजना सञ्चालन गर्न प्याक्टसँग सम्झौता गरेको भएपनि कुनै रकम भने भुक्तानी नगरिएको विज्ञप्तीमा उल्लेख छ । केन्द्रको तर्फबाट अनुदान पाउने बेलामा केन्द्रका अध्यक्ष थापा संसदको कृषी तथा जलश्रोत समितिको सभापतिमा निर्वाचित भएपछि केन्द्रले अनुदान लिन अस्विकार गरेको प्याक्टले जनाएको छ । समितिले नै अनुगमन गर्ने आयोजनाबाट अनुदान लिदा कार्य सम्पादनमा असर पर्ने र स्वार्थ बाझीने भएकाले अनुदान लिन अस्विकार गरिएको निवेदन थापाको संस्थाले २०७२ साल मंसीर २८ गते प्याक्टमा दिएपछि अनुदान रद्ध भएको थियो । अनुदान रद्ध भएसँगै त्यही बर्षको फागुन १९ गतेको पत्र अनुसार उपआयोजना पनि बन्द गरिएको थियो । त्यसैगरी फर्पिङमा कुरिलो उत्पादन तथा गोल्फुटारमा एच एण्ड एच मिट सप सञ्चालनका लागि पनि आयोजनाबाट कुनैपनि अनुदान तथा सहयोग उपलब्ध नगराइएको प्याक्टले स्पष्ट पारेको छ । आजै थापाले पनि सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेको भिडियो सन्देशमा आफु कमजोर धरातलमा नउभिएको स्पष्ट पार्दै त्यस्ता आरोप लगाउनु अगाडी हजार पटक सोच्न र पत्याउनु अगाडी लाख पटक सोच्न आग्रह गरेका छन् । काठमाडौ क्षेत्र नं. ४ मा काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदबार थापाले आफ्नो पहिलो चुनावी सभामा पनि आफ्ना विरुद्धमा अनेकौ भ्रमक समाचार आउने भएकाले त्यसको पछि नलाग्न आह्वान गरेका थिए । आफुले कक्षा दश देखि नै ट्यिसन पढाउने, रेडियोमा कार्यक्रम चलाउने लगायतका अनेक व्यवसाय गर्दै आईरहेको स्पष्ट पार्दै २०६७ देखि आफुले कृषि व्यवसाय सुरु गरेको उनले जानकारी दिएका छन् । आफ्नै लगानीमा चार जनाले सुरु गरेको सुनखानी एकिकृत कृषि केन्द्रले अहिले सम्म कसैको एक रुपैया वा एक पैसा पनि नलिएको नेता थापाले दावी गरेका छन् । उनले नुवाकोटमा गरेको अनुभव र सिकाईका आधारमा त्यस व्यवसायलाई चितवनमा विस्तारित रुपमा संचालन गर्न लागिएको बताएका छन् । राजनीति गर्ने व्यक्तिले आफ्नो खर्च चलाउनका लागि कुनै न कुनै व्यवसाय गर्नु पर्छ भन्ने मान्यताका साथ आफुले विभिन्न पेशा व्यवसाय गर्दै आईरहेको र अरुलाई पनि त्यसमा प्रेरित गर्ने गरेको थापाले भिडियोमा भनेका छन् । भ्रमणपुरर्ण समाचारका आधारमा राजनीति गर्न खोज्ने एमाले उम्मेदबार केशव स्थापितलाई मतदाताले राम्रोसँग हिसावकिताव गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् । प्रपोगण्डा मच्चाउन माहिर एमाले नेता स्थापित यसअघि पनि यस्तै झुट र भ्रामक प्रचार गर्ने गरेको आफैले बताएका थिए । मदन भण्डारीको निधनपछि एमालेको तर्फबाट उम्मेदबार भएकी विद्यादेवी भण्डारीलाई आफैले सेतो साडीमा रातो छर्कन लगाई काँग्रेसले छर्केको भनेर भ्रमण प्रचार गरेको उनैले केही समय अगाडी बताएका थिए । चुनाव जित्नका लागि जे पनि गर्नु पर्छ भन्ने मान्यता राख्ने स्थापितलाई एमालेकै नेताहरुले उपयोग मात्रै गर्ने तर जिम्मेबारी दिन भने डराउने गरेका छन् । थापालाई लगाएको आरोप गलत पुष्टी भएपछि उनले माफी माग्नु पर्ने आवाज उठेको छ भने सामाजिक संजालमा उनलाई “हावादारी गफाडी”को संज्ञा दिएको छ । रासस

नेप्से सामान्य अंकले बढ्दा दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । यस साताको शुरुदेखि ओरालो लागेको नेप्से परिसूचक मंगलबार भने उकालो लागेको छ । आजको नेप्से ३.०८ अंकले उकालो लागेर १४७२.२४ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकमा केही सुधार आएतापनि कारोबार रकममा भने गिरावट भएको छ । सोमबार ३९ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार जम्मा ३५ करोडको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको ४ करोड रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । मंगलबार १५९ कम्पनीको ८ लाख ४२ हजार कित्ता सेयर कारोबार भएको हो । सामान्य अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन ग्रीन डेभलपमेन्ट बैंक र बिशाल बजार कम्पनीका लगानीकर्ताले क्रमशः ९.८४ र ९.८१ प्रतिशत बढी कमाएका छन् । अघिल्लो दिनको तुलनामा ग्रीन डेभलपमेन्टको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँ र बिशाल बजारको सेयर मूल्य प्रतिकित्ता १८५ रुपैयाँले बढेको छ । सोही दिन प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ६ प्रतिशत गुमाएका छन् । बजारमा ट्रेडिङ समूहको परिसूचक १५ अंकले बढेको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक १४ अंकले घटेको छ ।