आयात/निर्यात बारे सम्पूर्ण जानकारी अब ‘ट्रेड इन्फर्मेसन पोर्टल’मा
काठमाडौं । नेपाल सरकारले नेपालको व्यापार तथा निकासीलाई सहज बनाउन बिहिवारदेखि ट्रेड इन्फर्मेसन पोर्टलको सुरुवात गरेको छ । सो पोर्टलले नेपालबाट निर्यात हुने र विदेशबाट आयात हुने बस्तुको बारेमा सम्पूर्ण जानकारी दिने छ । यो पोर्टल निर्माणका लागि ३ करोड ५० लाख खर्च भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले विदेशी व्यापारीलाई सिधै नेपाली व्यापारीसँग सम्बन्ध गराउने उद्देश्यले ट्रेड इन्फर्मेसन पोर्टल सञ्चालनमा ल्याएको हो । उक्त ट्रेड पोर्टलको विहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरे । उनले भने–‘नेपालको निर्यात र आयातमा अब सहज अवस्था सिर्जना हुन्छ ।’ केन्द्रमा ट्रेड पोर्टलसम्बन्धी छुट्टै युनिट राखेर विश्वभरिका ताजा तथा नयाँ सूचनाहरु पोर्टलमा अपडेट गरिरहने उनले बताए । सो पोर्टल मार्फत नेपालको व्यापार कस्तो छ भनेर सजिलै जानकारी लिन पनि सकिने मन्त्री यादवले बताए । उद्योग मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले ट्रेड पोर्टलमा नेपालबाट निर्यात गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाका साथै निर्यातकर्ताको सम्पूर्ण विवरण उल्लेख हुने बताए । उनले भने–विदेशी व्यापारीले पनि नेपाली व्यापारीसँग ट्रेड पोर्टलमार्फत सहजै सम्पर्क गर्न सक्ने छन् । ट्रेड पोर्टलमा निर्यातकर्ताको सबै विवरण हुनेछ । व्यापारीले कुन वस्तु कति मूल्यमा कहाँ उत्पादन गर्छ र निर्यात गर्छ भन्नेसमेत पोर्टलमा राखिने बताए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले नेपाली वस्तु खोज्ने विदेशी व्यापारीलाई नेपाली व्यापारीसँग सहज सम्बन्ध गराउने उद्देश्यले ट्रेड इन्फर्मेसन पोर्टल निर्माण भएको बताए । विश्व बैंकसँगको सहकार्यमा यो पोर्टल निर्माण भएको हो । यो पोर्टलमा क्रमसः फिचरहरु थपिँदै जाने पनि बताए । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठले ट्रेड इन्फर्मेसन पोर्टलका बारेमा उत्पादक र व्यापारीलाई व्यापक रुपमा बुझाउनु पर्ने बताए ।
राजधानीमा अष्ट्रेलियन एजुकेशन फेयर, अष्ट्रेलिया कसरी जाने बारे परामर्श
काठमाडौ । नेप्लिज एशोसियन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ (नायर) ले राजधानीमा बिहीबार ‘नायर अष्ट्रलियन एजुकेशन फेयर’ को आयोजना गरेको छ । अष्ट्रेलियामा पढ्न चाहने नेपाली विद्यार्थीलाई शिक्षा प्रणाली, भिसा प्रकृया, छात्रवृत्तीको बारेमा आवश्यक सूचना मेलामा प्रवाह गरिएको छ । मेला बिहान १० बजेदेखी ५ बजेसम्म चल्नेछ । विभिन्न कलेज तथा युनिर्भसिटी तथा कन्सल्टेन्सिहरु गरि २० वटा भन्दा बढी संस्थाहरुको सहभागिता रहेको छ । मेलामा छात्रवृत्ति, आईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङ्गका विषयमा जानकारी दिइएको छ । मेलामा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउने छन् भने मेलामा सहभागी हुने २०० आगन्तुकको लागि आकर्षक उपहार समेत राखिएको छ । अस स्टडिज, ब्रिज ब्लु, डंलफिन एजुकेशन, एडुब्रिज, एजुकेशन फस्ट, एजुकेशन पार्क, एक्सपर्ट एजुकेशन, ग्लोबल रिच, हब जस्ता परामर्श दिने संस्थाहरुको स्टल मेलामा रेहका छन् । यस्तै मेन्टर, मोटिफ एजुकेशन अब्रोड, नेपाल एजुकेशन कन्सल्टेन्सी, नेप्लिज इन्काउन्टर्स, ओली एण्ड एसोसिएट्स, प्रोफेशनल एजुकेशन, राइट एण्ड एसोसिएसन, द नेक्स्ट समेतको मेलामा उपस्थिति छ । साथै, मेलामा युनि क्याम्पस र भिआईइसी लगायतका नेपालको उत्कृष्ट शैक्षिक परामर्श दिने संस्थाहरुको स्टल मेलामा रहेको नायरका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।
ह्वावेको दशैं अफर, बाली र थाइल्याण्ड भ्रमणको अवसर
काठमाडौँ । यसपालीको दशैंमा ह्वावे नेपालले आफ्नो ग्राहकहरुको लागि लिएर आएको छ खुशीको बहार ! जस अन्तर्गत कुनै पनि ह्वावे फोनको खरिद गरी ग्राहकले एउटा सहज प्रतियोगितामा सहभागी भएर ह्वावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात, ५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात, ५ दिन) मा जाने मौका प्राप्त गर्न सक्ने छन् । प्रतियोगितामा सहभागी हुनको लागि ह्वावेको प्रयोगकर्ता हुने पर्नेछ । ह्वावे फोन किनेपछि आफ्नो मान्य आईएमई नम्बर राखेर भदौ २९ गतेदेखि असोज १७गते भित्र फेसबुकमा एउटा फर्म भरेको हुनु पर्नेछ । सहभागिताका लागि भरेको फर्मको हरेक जानकारी सही हुनु पर्नेछ र लक्की ड्र द्वारा विजेताको घोषणा गर्ने बेला र पुरस्कार प्रदान गर्ने बेला सोही जानकारीलाई आधार मानिनेछ । प्रतियोगिताका लागि दर्ता गरिसकेपछि उपहारको घोषणा बारे थाहा पाउनको लागि ह्वावेको फेसबुक र इन्स्टाग्राम पेज फलो गर्ने कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा विस्तार
काठमाडौँ । भदौ २० गतेदेखि छिमेकी मुलुक भारतबाट पुनः संचालन गरिएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकहरुमा विस्तार गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि १३ मुलुकहरुमा डाटा रोमिङ सेवा उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ । सो अनुसार अब कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जादा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने छन् । साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जादा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्ने छन् । हाल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ । केही समय भित्रै डाटा तथा प्रिपेड रोमिङ सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लगिने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् । नेपाल टेलिकमले बिगत लामो समय देखि आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरि ८७ मुलुकका १९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ । गत २०७६ बैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा (भ्वाइस तथा एसएमएस) उपलब्ध गराइएको थियो ।
प्रहरी नायब निरीक्षक पन्त घुस रकमसहित अख्तियारकाे नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिएबापत पन्तले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो । उनलाई घुसबापतको रु पाँच हजारसहित कागेश्वरी मनहरा नगरपालिका–५ स्थित एक खाजा घरबाट नियन्त्रणमा लिएको आयोगले आज जानकारी दिएको छ । आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार आरोपी पन्तमाथि अनुसन्धान भइरहेको छ । रासस
राजमार्ग मर्मतको खर्च सार्वजनिक
रसुवा । मैलुङ स्याफ्रुबेसी अन्तर्राष्टिय राजमार्ग मर्मतमा भएको खर्च सार्वजनिक गरिएको छ । गल्छी, त्रिशूली, मैलुङ र स्याफ्रुबेंशी सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार आकस्मिक रूपमा खोलिएको उक्त राजमार्गको अवरोध हटाउन प्रयोग भएका उपकरणको भाडाबाहेक करिब रु १० लाख खर्च भएको हो । हिमपाइप खरिदमा रु पाँच लाख २५ हजार, उपकरणका लागि प्रयोग गरिएका इन्धनका लागि रु दुई लाख पचास हजारका साथै ग्याविन जाली र विविधमा बाँकी खर्च भएको उहाँको भनाइ थियो । तुलनात्मक हिसाबले प्रतिकिलोमिटर रू ५२ हजार ६३१ खर्च भएको बताइएको थियो । उक्त खर्च बाहेक राजमार्ग पुनःसञ्चालनका लागि सांसद मोहन आचार्यले एक स्काभेटर र एक लोडर, गोसाइँकुण्ड गाउँपालिकाले एक स्काभेटर, संविधानसभा सदस्य जनार्दन ढकालले एक जेसिबीका साथै रसुवागढी हाइड्रो पावर कम्पनी र डिभिजन सडक कार्यालयले एक÷एक वटा लोडरका लागि सहयोग गरेका आयोजना प्रमुख भण्डारीले बताएका छन् । धुञ्चेतर्फ पासाङल्हामु राजमार्ग खण्डको राम्चे नजिक पहिरो गई सवारी साधन पूर्णरूपमा आवतजावत बन्द भएकामा संसद्लगायत स्थानीय तह र स्थानीय प्रशासनसमेतको आग्रहमा चार दिनको साझा प्रयासले गत भदौ ३१ गतेदेखि उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो । राजमार्ग खुलेलगत्तै रोकिएका करिब २०० को हाराहारीमा मालवाहक ट्रक तथा कन्टेनर आफ्नो गन्तव्यतर्फ गइसके पनि ती सवारी साधनका पाङ्ग्रा गाडिन थालेकाले आज मध्याह्नदेखि पासाङल्हामु राजमार्ग बन्द गरिएकाले राम्चेतर्फको बैकल्पिक मार्ग खुल्ने प्रतिक्षामा सवारी चालक रहेको ट्राफिक प्रहरीले जनाएको छ । रसुवागढीलाई व्यवस्थित पार्न र त्रिदेशीय मार्गका रूपमा विकसित गर्न खोलिएको गल्छीदेखिको नदी किनार राजमार्गको दूरी भने ८२ किलोमिटर छ । आयोजना प्रमुख भण्डारीका अनुसार पछिल्लो नापमा गल्छी त्रिशूली २५, त्रिशूली बेत्रावती आठ, बेत्रावती मैलुङ १३, मैलुङ स्याफ्रुवेंशी १९ किलोमिटर र स्याफ्रुवेंशी रसुवागढी १७ किलोमिटर कायम गरिएको छ । सडक सुधार आयोजनाअन्तर्गत गल्छीदेखि स्याफ्रुवेंशीसम्म सुधार गरिने र गल्छीदेखि मैलुङसम्म टेण्डर प्रक्रियाबाट ‘डबल लेन’को बनाउने काम भइरहेको छ । १९ किमी सो मार्ग सुधारका लागि रु दुई अर्ब ५० करोड लाग्नेसमेत आयोजना प्रमुख भण्डारीले जानकारी दिए । यस्तै दुई दिन अगाडि पुनःसञ्चालनमा ल्याइएको मैलुङ स्याफ्रुवेंशी राजमार्गका लागि पछि सोधभर्ना गर्ने गरी रसुवागढी हाइड्रो पावरले डिजेल, सिँचाइ कार्यालयले तार जाली उपलब्ध गराएको थियो । रासस
नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन भोलिबाट शुरु हुने
भक्तपुर । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को सातौँ महाविधेशन भोलिबाट शुरु हुने भएको छ । नेमकिपाका सचिव प्रेम सुवालले आज विज्ञप्तिमार्फत भोलि शुक्रबार बिहान ११ बजेबाट नेमकिपाको तीन दिने महाधिवेशन शुरु हुने जानकारी दिएको हो । नेमकिपाका सचिव सुवालका अनुसार भक्तपुरको च्याहमासिंह, बोडे र काठमाडौँको कोटेश्वर गरी तीन ठाउँबाट एकैसाथ बाजागाजाका साथ र्याली शुरु गरी भक्तपुर सल्लाघारी चौरमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले महाधिवेशनको उद्घाटन गर्ने भएका छन् । नेपाल मजदूर किसान पार्टीले देशको सार्वभौमिकता रक्षा र प्रजातन्त्रको लागि स्थापनाकालदेखि नै साम्राज्यवाद र विस्तारवादविरुद्ध सङ्घर्ष गर्दै आएको बताउँदै सचिव सुवालले नेपालको किसान आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलनमा पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले देशमा अहिले नेकपाको दुई तिहाइको सरकार भए पनि देशको खुला सिमानाका कारण सुरक्षित हुन नसकेको टिप्पणी गर्दै भारतले एकतर्फी रुपमा बनाएको बाँध र तटबन्धको कारण वर्षेनी तराई भूमि डुबानमा परिरहेको, हाल अहिले १३ खर्बभन्दा बढीको व्यापार घाटा रहेको, भ्रष्टाचार नियन्त्रण हुन नसकेको, महङ्गी बढ्दै गएको, ७० लाख नेपाली वैदेशिक रोजगारीमा जान बाध्य भएकोले यसको समस्याको समाधानका लागि नेमकिपाले आवाज उठाउँदै आइरहेको बताएका छन् । यसअघि नेमकिपाको २०७० साल चैत २१ गते काठमाडौँको खुल्ला मञ्चमा छैठौं महाधिवेशन गरिएको थियो । पार्टी स्थापनाकालदेखि हालसम्म नारायणमान बिजुक्छे पार्टीमा अध्यक्ष चयन हुँदै आएका छन् । हाल २५ सदस्यीय केन्द्रीयसमिति रहेको नेमकिपामा सातौं महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्तावेज पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ । रासस
लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छः मन्त्री बाँस्कोटा
विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ भनेका छन् । गोरखापत्र पूर्वक्षेत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उद्घाटन समारोहमा उनले भने, “लोकतन्त्रमा प्रेसको जीवन अनन्त छ, जनताले स्थापित गरेको लोकतन्त्र गोरखापत्रले बचाउनुपर्दछ ।” मन्त्री बाँस्कोटाले लोकतन्त्र प्रणालीलाई राजनीतिक प्रणालीले स्थापित गरिसकेको उल्लेख गर्दै नयाँ नेपाल निर्माणका बहुआयामिक स्वरुप निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । उनले भने, “लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले अब अर्थतन्त्रका लागि अघि बढ्नुपर्ने समय आएको छ ।” गोरखापत्र दैनिक सरकारको मुखपत्र नभएर राष्ट्र र जनताका मुखपत्र भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्र भएको देशमा नै प्रेस बाँच्न सकिने कुरामा जोड दिएका हुन् । मन्त्री बाँस्कोटाले नेपालको पत्रकारिताको इतिहास गोरखापत्रबाट शुरु भएको प्रसङ्ग उल्लेख गर्दै विकासका दुई आयाम भौत्तिक र मानवीय विकास हो भनेका छन् । त्यसैगरी, निकट भविष्यमा सुनसरीको इटहरीबाट नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण हुने जानकारी पनि दिए । उनले सरकारी जग्गा संरक्षित गर्न सकियो भने हाम्रा भावी पुस्ताका लागि अर्को संरचना बनाउन सजिलो हुने भन्दै गोरखापत्र पत्रिका मात्र नभएर भवन, मेसिन र रोजगार सिर्जना गर्ने स्थान भएकाले यसले गुणस्तरीय र अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सकिने तथा पाठक वर्गले रुचाउने किसिमको हुनुपर्ने जानकारी दिए । प्रदेश नं– १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपालको ज्येष्ठ राष्ट्रिय दैनिक गोरखापत्र नयाँ अध्यायबाट शुरु भएकोमा खुशी व्यक्त गर्दै संसार खुल्ला भएर नै प्रतिस्पर्धा बढेको र यसमा गोरखापत्रले पनि आफूलाई बदल्नुपर्ने सुझाव दिएका हुन् । मन्त्री कार्कीले गोरखापत्रलाई श्रेष्ठकर एवं पठनीय बनाउन प्रतिस्पर्धामा आउनु सत्य, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने कुरामा जोड दिए ।उनले मुलुकका सबै सरकारी सञ्चार माध्यम बलियो भएमा लोकतन्त्र पनि बलियो हुने पनि बताएका छन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले ११९ वर्ष पार गरिसकेको गोरखापत्र नयाँ ढङ्गले सत्य, तथ्यमा आधारित भएर आवाज विहीनका आवाज बन्नुपर्नेमा जोड दिएका हुन् । गोरखापत्र सञ्चालक समितिका अध्यक्ष कृष्णमुरारी भण्डारीले सत्यतथ्य र विचारमा आधारित समाचारले हिंसा रोक्ने प्रसङ्ग उल्लेख गर्दै सञ्चार राज्यको स्नायु प्रणाली र दिमाग हो भनेका छन् । उनले आउने फागुन ७ गते कोहलपुरबाट पनि गोरखापत्र प्रकाशन हुने जानकारी दिएका छन् । गोरखापत्र ११९ वर्षपछि विराटनगरबाट प्रकाशन हुने पत्रिका प्रदेश नंं. १ र २ का लागि हुने भनिएको छ भने मुलुकका विविध संस्कृतिले भरिएको हाम्रो मुलुकका ३८ जातजातिका भाषा गोरखापत्र पत्रिकामा छाप्ने गरिएको छ । नेपाली भाषा, संस्कृति, साहित्य र कलाको दस्तावेज गोरखापत्रले मुना, युवामञ्च, मधुपर्क, द राईजिङ नेपाल छाप्ने गरेको छ । रासस