विकासन्युज

कामना सेवा र बिओके क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र बिओके क्यापिटल मार्केट लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार कामना सेवा विकास बैंक लिमिटेडको शेयर सम्बन्धी कार्य (शेयर सम्बन्धी कारोवारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु) बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडौंबाट हुनेछ । सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र बिओके क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् ।

नेपाल यार्न एण्ड टेक्सटायल एक्स्पो शुरु, ‘करीब १० लाखलाई रोजगारी’

काठमाडौँ । पछिल्लो समय व्यापार घाटा बढ्दै गएको बेला करीब रु ११ अर्ब बराबरको धागो निर्यात भएको छ । नेपाल धागो उत्पादक सङ्घले स्वदेशमा बनेका विभिन्न तयारी पोशाकको प्रवद्र्धन गर्न बिहीबारदेखि भृकुटीमण्डपमा शुरु गरेको मेलामा चार कम्पनीले रु १५ अर्बको धागो उत्पादन गरेकामा रु चार अर्बको मात्र स्वदेशमा खपत भएको जानकारी दिएको छ । नेपाल यार्न एण्ड टेक्सटायल एक्स्पो २०१९ को उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले कृषि उद्यमीलाई रु पाँच करोडसम्मको ऋणमा पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराएको बताए । व्यवसायीको संरक्षण सरकारले गर्ने बताउँदै कपास, रेशा, तथा धागोजन्य वस्तु एकापसमा सह–सम्बन्धित रहेका कारण त्यस्ता उत्पादनमा उद्यमीलाई विद्युत्मा सहुलियत, आयकर तथा ब्याजमा छुटको व्यवस्था गरिएको बताए । उनले भने, “यसरी सह–सम्बन्धित रहेका विभिन्न उत्पादनलाई मूल्य श्रृङ्खलामा ल्याउनुपर्छ, मूल्य अभिवृद्धि करले चोरी पैठारी नियन्त्रणमा सहयोग तथा उपभोक्तालाई लागत थपेको छ ।” स्वदेशी उत्पादनको खपतलाई वृद्धि गर्ने गरी सार्वजनिक खरीद ऐन संशोधनको अन्तिम तयारीमा भइरहेको बताउँदै मन्त्री खतिवडाले सरकारले उपभोग्य सामग्रीमा अनुदान नदिने प्रष्ट पारे । बुटवल धागो उद्योग कम्पनी निजी क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिन लागेको उनको भनाइ थियो । सङ्घका अध्यक्ष पवनकुमार गोयलले टेक्सटाईल क्षेत्रले करीब १० लाखलाई रोजगार दिएको जानकारी दिँदै दक्ष जनशक्तिको अभाव रहेको उक्त क्षेत्रको विकासका लागि बोर्ड गठन गर्न माग गरे । मेला यही असोज ६ गतेसम्म चल्नेछ ।

लोक सेवा दिने परीक्षार्थीले एनआईसी एशियामा दस्तुर बुझाउन सक्ने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर बापतको राजश्व एनआईसी एशिया बैंकमार्फत् संकलन गर्ने सम्झौता भएको छ । सो सम्झौता अनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एनआईसी एशिया बैंकको देशभर रहेका २९८ कार्यालयहरु र ७० वटा एक्स्टेन्सन काउण्टरहरुबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सक्ने छन् । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र लोक सेवा आयोगको तर्फबाट सहसचिव जानकीराम शर्मा बरालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतासँगै लोकसेवा आयोगको परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुलाई दस्तुर भुक्तानी प्रक्रिया सहज हुने बैंकल विश्वासे लिएको छ ।

दशैंको बेला सिटिसी मलमा मोबाइल मेला, बाली ट्रिपदेखि स्कूटर उपहार

काठमाडौँ । नजिकिँदै गरेको चाड पर्वलाई लक्षितगर्दै सुनधारास्थित सिटिसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ । मलको भुई तल्लामा रहेको मोबाइलको नयाँ गन्तव्य सिटिसी मोबाइल हबमा चाडपर्व लक्षित अफरहरु सहित असोज ५ गते शनिबारदेखि मोबाइल मेला सुरु हुने भएको हो । मेलामा सञ्चालित अफर अन्तरगत मोबाइल खरिद गर्नेहरु मध्येबाट प्रथम उपहारस्वरुप एक जनालाई यामाहाको रे जेड स्कूटर उपलब्ध गराइने मोबाइल हबले जनाएको छ । त्यसैगरी दोस्रो उपहारस्वरुप एक जनालाई इण्डोनेशियाको बाली भ्रमणको प्याकेज उपलब्ध गराइनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ल्यापटप बितरण गरिनेछ । सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका ६ सय ५० रुपैंयादेखि २ लाख १५ हजार रुपैंयासम्मका मोबाइल फोनहरु उपलब्ध छन् । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै जस्तोसुकै पुरानो मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई गोलाप्रथाबाट विभिन्न ब्रण्डका स्मार्टफोन बितरण गरिनेछ । मेलामा मोबाइल खरिद गर्दा मोबाइलको निःशुल्क बीमा हुनेछ भने निःशुल्क सिनेमा टिकट पनि उपलब्ध गराइनेछ । त्यसैगरी गल्फमा तोकिएको स्कोर गरी खरिद गरेको मोडलको अर्को एउटा मोबाइल निःशुल्क पाउन सकिन्छ । मोबाइल मेला दशैंको पूmलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १७ गतेसम्म लागू हुनेछन् । उल्लेखित अफरहरु सिटिसी मोबाइल हब सुन्धाराका साथै दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमा लागू हुनेछन् । मोवाइलको नयाँ गन्तव्यका रुपमा लिइएको मोबाइल हबमा चल्ने मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने छ । अफर भित्रपनि अफर अन्तरगत छुटका साथै अहिले लैजानुहोस् पछि तिर्नुहोस् भन्ने नाराका साथ शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हातखाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्धनिर्देशक संगम राईले बताए ।

४० करोडको लागतमा मौलिक संस्कृति झल्किने गरी बन्दै प्रधानमन्त्री निवास

काठमाडौँ । मुलुकको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवास मौलिक संस्कृति र परम्परा झल्कने गरी निर्माण हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बालुवाटारस्थित हालको प्रधानमन्त्री निवास रहेको ठाउँमा केही भवन भत्काएर आधुनिक प्रविधिसहित वर्तमान आवश्यकतालाई परिपूर्ति गर्ने र मौलक परम्परा झल्किने गरी भवन बन्न लागेको हो । निजी आवासका लागि र सार्वजनिक प्रयोजनका लागि दुई छुट्टाछुट्टैरुपमा बन्ने भवनको कन्टेक प्रालि नक्सालले निर्माणको जिम्मा लिएको छ । भवन दुई वर्षमा सक्ने योजना छ । दुई रोपनी क्षेत्रफलमा बन्ने पहिलो भवन नौ महिनामा र दोस्रो भवन १५ महिनामा सक्ने लक्ष्य रहेको र यसका लागि झण्डै रु ४० करोड लागत लाग्ने विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए । “मौलिक परम्परा झल्कने गरी काठमा बुट्टा कुँदेर झ्याल, ढोका बनाइनेछ, काठको बाल्कुनेसमेत आकर्षक हुन्छ, इँटाको प्रयोग सोहीअनुसार हुनेछ, समग्रमा हाम्रो परम्परा र संस्कृति झल्कने गरी भवन निर्माण हुन्छ”, गेलालले भने । आधुनिक प्रविधियुक्त बनाइने र आकस्मिक मन्त्रिपरिषद्समेत बस्न सक्ने गरी भवन निर्माण हुनेछ । प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न सक्ने अडियो भिडियोसहितको स्टुडियो पनि बनाइने विभागले जनाएको छ । प्रधानमन्त्री निवास यसअघि पटकपटक गरेर बनाइएको थियो । पहिलो चरणमा उत्तरखण्ड र दोस्रो चरणमा दक्षिणखण्डको भवन बनेको थियो । निरङ्कुश राजतन्त्रको बेलामा भवन बनाइएको थियो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यासका क्रममा निरङ्कुश राजतन्त्रको बेलामा विगतमा जनताद्वारा निर्वाचित जनप्रतिनिधि कमजोर र अव्यवस्थित क्षेत्रमा बस्नुपर्छ भनेर नेपालमा धेरै दरबार बनिसकेपछि प्रधानमन्त्रीका लागि सामान्य घर बनाइएको बताए । जसमा प्रधानमन्त्रीका लागि आवश्यक कुनै पनि पुर्वाधार थिएन । “भुइँतलामा तीन कोठा र माथि तीन कोठा मात्रै थिए, अतिथि सत्कार र बैठक कक्ष कुनै थिएन, त्यो विस्तार गर्दा पनि उपयुक्त ढङ्गको थिएन”, प्रधानमन्त्री ओलीले उल्लेख गरे । यसपाली काठको बुट्टा कुँदेर आकर्षक झ्याल बनाइनेछ । इँट्टा पनि मौलिक संस्कृतिसँग मिल्ने गरी प्रयोग गरिने र बाल्कुने बनाएर नेपाली पन झल्कने गरी डिजाइन गरिएको विभागले जनाएको छ । एउटा भवन प्रधानमन्त्रीको नितान्त निजी प्रयोजनका लागि र अर्को भवन सार्वजनिक प्रयोजनका लागि हुनेछ । सार्वजनिक भवन राजनीतिक, कूटनीतिक संवाद तथा सर्वसाधारणसँगको भेटघाटका लागि प्रयोग हुनेछ । सार्वजनिक भवनको भुइँतलामा अति विशिष्ट भेटघाट कक्ष, मन्त्रिपरिषद्को आकस्मिक बैठक कक्ष, चालिस जनासम्मले खान मिल्ने डाइनिङ हल, किचेन, कम्युनिकेशन सेन्टर, सुरक्षाकर्मीको नियन्त्रण कक्ष, एडिसी कक्ष, गोप्य कोठा, प्रतीक्षा कक्ष हुनेछ । पहिलो तलामा सर्वसाधारण भेटघाट कक्ष, भोजन गर्न मिल्ने बैंक्वेट, दुई प्रतिक्षा कक्ष, होल्डिङ कक्ष, पिए बस्ने र प्रधानमन्त्रीको ग्यालरी कक्ष, शैलुन, डाक्टर कक्ष र डेन्टलसहितको नौ युनिट रहनेछ । दोस्रो तलामा प्रधानमन्त्रीको कार्यकक्ष, प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न मिल्ने अडियो भिडियोसहितको स्टुडियो, बगैँचासहितको लवी गरी १२ युनिट रहनेछ । सार्वजनक भवनको भुइँ तलामा १४ कार्यकक्ष रहेछ । भुइँतला अति विशिष्ट व्यक्तिसँगको भेटघाटका लागि छुट्याइनेछ । निजी निवास पूर्णतया व्यक्तिगत प्रयोजनका लागि हुनेछ । भुइँ तलामा गेष्ट रुमसहित १० युनिट, पहिलो तला पारिवारिक आवासका लागि बाल्कुनेसहितको १५ युनिट रहनेछ । दोस्रो तला अति विशिष्ट पाहुनालगायतका लागि गरी ११ युनिटको हुने विभागले जनाएको छ । अहिलेको सरकारी निवास समयानुुकूल आवश्यकता परिपूर्ति गर्ने खालको नभएको र सुरक्षाका हिसाबलेसमेत उपयुक्त नभएकाले आधुनिक भवन निर्माण गर्न लागेको शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए । सरकराले हिजो मात्रै संसद् भवनको शिलान्यास गरेको थियो । अहिले धेरै भवनको शिलान्यास भएको र प्रधानमन्त्री ओलीको कार्यकालको अन्त्यसम्ममा सबै भवन उद्घाटन गर्ने गरी योजना बनाइएको उनले बताए । अर्को हप्ता प्रदेश प्रमुखको निवासको शिलान्यास गर्ने कार्यक्रम रहेको जानकारी दिँदै सचिव अधिकारीले मुलुकको समृद्धिको सपना साकार पार्ने चरणमा सरकार अगाडि बढेको र कतिपय निर्माण समयमै र समयअघि नै सम्पन्न गरेकोसमेत बताए । रासस

क्यानको बजेट ४६ अर्ब ९६ करोड, पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०७६ /०७७ का लागि ४६ अर्बको बजेट विनियोजन गरेको छ । क्यानले बिहिबार एक कार्यक्रमको आयोजना गर्दै चालु आवका लागि ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको हो । प्रक्षेपित आय अन्तर्गत ८ अर्ब ३३ करोड १३ लाख रहने अनुमान गरिएको छ । जसमध्ये एरोनोटिक अन्तर्गत ५ अर्ब ८३ करोड १९ लाख र नन एरोनोटिकल अन्तर्गत २ अर्ब ४९ करोड ९४ लाख अनुमान गरिएको छ । यस वर्ष विमानस्थल विकास शुल्क अन्तर्गत २ अर्ब २१ करोड २८ लाख उठाउने लक्ष्य रहेको बताइएको छ । क्यानको पुँजीको व्ययको पुँजीगत तर्फ ३४ अर्ब ४ करोड ३७ लाख, कार्यसञ्चालन तर्फ ४ अर्ब १८ करोड ८४ लाख गरी कुल ३८ अर्ब २३ करोड २१ लाख रहेको छ । के-के छन् नीति तथा कार्यक्रम ? नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आवको बजेट तथा कार्यक्रममा पुरानै आयोजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । नयाँ विमानस्थल निर्माण गर्नुपर्दा नयाँ विमानस्थल निर्माण सम्बन्धी मापदण्ड, २०७३ र हेलिप्याड निर्माण गर्नुपर्दा जमिनको सतहमा हेलिप्याड निर्माण तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ पालना गरिने बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आवश्यक भौतिक पूर्वाधार विकास गरी सेवा प्रवाहमा थप गुणस्तरीयता कायम गरी बुटिक विमानस्थलका रुपले स्तरोन्नती गर्ने,२४ सै घण्टा सञ्चालन योग्य बनाइने, यात्रुका लागि ट्रान्जिट लाउन्जको व्यवस्था गरिने,  विमानस्थलको आन्तरिक उडान तर्फ सम्माननीयलाई मात्र सवारी साधन सहित विमान नजिक जान पाउने व्यवस्था गरिने लगायतका मापदण्ड, कार्यक्रम तथा योजनाहरु रहेका छन् । यस्तै आन्तरिक विमानस्थलहरुमा भू-उपग्रहमा आधारित यान्त्रिक उडान प्रणाली लागु गर्दै लैजाने, विराटनगर, चन्द्रगढी, जनकपुर र धनगढी विमानस्थलको गुरुयोजना तयार गरी सो अनुरुप स्तरोन्नति गर्दै लगिने, अन्तर प्रदेश हवाई सेवा सञ्चालन तथा विस्तार गर्न वायुसेवा कम्पनीहरुलाई प्रोत्साहन गरिने उल्लेख गरेको छ । तीन विमानस्थलका लागि २३ अर्ब बजेट तथा कार्यक्रममा उल्लेख गरे अनुसार प्राधिकरणले तीन ठूला आयोजनाका लागि मात्र आधा बजेट विनियोजन गरेको छ । राष्ट्रिय गौरवका रुपले चिनिने निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि प्राधिकरणले २३ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेकोे छ । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यसम्पन्न गरी यथाशीघ्र सञ्चालनमा ल्याउने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि प्राधिकरणबाट गर्नुपर्ने प्रारम्भिक कार्यसम्पन्न गरिने जनाइएको छ । हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ७४ प्रतिशत, पोखराको ४२ प्रतिशत काम सकिएको छ भने निजगढ विमानस्थलको वातावरणिय प्रभाव मूल्याङ्कन सम्पन्न भएको छ । १३ वटा विमानस्थल नाफामा देशका १३ वटा विमानस्थलहरु नाफामा सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ  । प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार हाल देशभर ५० वटा विमानस्थलहरु रहेका छन् । जसमध्ये ३२ वटा मात्र सञ्चालनमा रहेका छन् । अन्य विमानस्थलहरु यात्रुहरुके अभाव भई सडक विस्तार भएपछि बन्द भएका छन् । हाल देशभर सञ्चालनमा रहेका विमानस्थलहरु मध्ये नाफामा सञ्चालित विमानस्थलहरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,गौतमबुद्ध विमानस्थल, नेपालगंज,  पोखरा रहेका छन् । यस्तै विराटनगर, सिमरा, चन्द्रगढी, जनकपुर, भरतपुर ,जोमसोम, धनगढी, सिमिकोट र तेन्जिङ्ग हिलारी विमानस्थल नाफामा सञ्चालित रहेका छन् ।  

मदन भण्डारी मेमोरियल ऐकेडेमीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा असोज ०२ गते उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त स्थापित एक्स्टेन्सन काउण्टरको ऐकेडेमीका कार्यकारी निर्देशक विनोद र्अयालले उद्घाटन गरेका हुन् । मदन भण्डारी मेमोरियल ऐकेडेमीमा अध्ययनरत विध्यार्थीले अब विना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट कारोबार गर्र्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको यस प्रभु बैंकले मदन भण्डारी मेमोरियल ऐकेडेमीमा पनि सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा ३३ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

आयात/निर्यात बारे सम्पूर्ण जानकारी अब ‘ट्रेड इन्फर्मेसन पोर्टल’मा

काठमाडौं । नेपाल सरकारले नेपालको व्यापार तथा निकासीलाई सहज बनाउन बिहिवारदेखि ट्रेड इन्फर्मेसन पोर्टलको सुरुवात गरेको छ । सो पोर्टलले नेपालबाट निर्यात हुने र विदेशबाट आयात हुने बस्तुको बारेमा सम्पूर्ण जानकारी दिने छ । यो पोर्टल निर्माणका लागि ३ करोड ५० लाख खर्च भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले विदेशी व्यापारीलाई सिधै नेपाली व्यापारीसँग सम्बन्ध गराउने उद्देश्यले ट्रेड इन्फर्मेसन पोर्टल सञ्चालनमा ल्याएको हो । उक्त ट्रेड पोर्टलको विहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरे । उनले भने–‘नेपालको निर्यात र आयातमा अब सहज अवस्था सिर्जना हुन्छ ।’ केन्द्रमा ट्रेड पोर्टलसम्बन्धी छुट्टै युनिट राखेर विश्वभरिका ताजा तथा नयाँ सूचनाहरु पोर्टलमा अपडेट गरिरहने उनले बताए । सो पोर्टल मार्फत नेपालको व्यापार कस्तो छ भनेर सजिलै जानकारी लिन पनि सकिने मन्त्री यादवले बताए । उद्योग मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले ट्रेड पोर्टलमा नेपालबाट निर्यात गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाका साथै निर्यातकर्ताको सम्पूर्ण विवरण उल्लेख हुने बताए । उनले भने–विदेशी व्यापारीले पनि नेपाली व्यापारीसँग ट्रेड पोर्टलमार्फत सहजै सम्पर्क गर्न सक्ने छन् । ट्रेड पोर्टलमा निर्यातकर्ताको सबै विवरण हुनेछ । व्यापारीले कुन वस्तु कति मूल्यमा कहाँ उत्पादन गर्छ र निर्यात गर्छ भन्नेसमेत पोर्टलमा राखिने बताए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले नेपाली वस्तु खोज्ने विदेशी व्यापारीलाई नेपाली व्यापारीसँग सहज सम्बन्ध गराउने उद्देश्यले ट्रेड इन्फर्मेसन पोर्टल निर्माण भएको बताए । विश्व बैंकसँगको सहकार्यमा यो पोर्टल निर्माण भएको हो । यो पोर्टलमा क्रमसः फिचरहरु थपिँदै जाने पनि बताए । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठले ट्रेड इन्फर्मेसन पोर्टलका बारेमा उत्पादक र व्यापारीलाई व्यापक रुपमा बुझाउनु पर्ने बताए ।