विकासन्युज

सञ्चारकर्मीलाई सराप्दै हिँडे अर्थमन्त्री: ‘….उनीहरुको जिविकोपार्जनका लागि समेत मैले बोल्नुपर्छ’

काठमाडौं । विहीबार त्रिपुरेश्वरस्थित भञ्सार विभागको भवन उद्घाटन गर्ने कार्यक्रम थियो जसको उद्घाटनका लागि आमन्त्रित थिए अर्थमन्त्री युवराज खतिवडा । नयाँ भवनको माथिल्लो तलाको सभाहलमा सुरु भएको उक्त कार्यक्रमलाई बीचैमा स्थगित गरेर भवनको उद्घाटन गरेपछि प्रमुख अतिथिको हैसियतमा बोल्न सुरु गर्नेबित्तिकै उनले सञ्चारकर्मीलाई ‘सराप्न’ भ्याए । ‘अर्थतन्त्रबारे अर्थमन्त्रीले बोलेन भने कसले बोल्छ ? अर्थमन्त्रीले केही बोलेन भने टिकाटिप्पणी र पत्रपत्रिकाहरुमा लेख छापेर जिविकोपार्जन गर्नेहरुलाई समस्या पर्छ, उहाँहरुको लागि भने पनि मैले बोल्नुपर्छ’ उनले भने । उनले आयातबारे गलत टिकाटिप्पणी गरिएकोप्रति आक्रोशित हुँदै भात खान नपाएर नेपालीहहरुले चामल आयात नगरेको समेत दाबी गरे । ‘कुल ग्राहस्र्थ उत्पादनमा ५१/५२ प्रतिशत लगानी भएको छ, त्यो भनेको १६/१७ खर्ब हो । लगानीको आधा त विदेशबाट कच्चापदार्थ, प्रविधि नै ल्याउनुपर्छ, त्यसैले ८/९ खर्ब त अनिवार्य आयात नै हुन्छ, १० खर्ब नै पुग्ला, त्यसैले हामीले आयात नियन्त्रण गर्ने भनेको ४/५ खर्बको आयातमध्ये मात्रै हो ।’ उनले भने । अर्थमन्त्री खतिवडाले नेपालीहरुले भातै खान नपाएर चामल आयात भएको नभई अन्य उत्पादनहरुका लागि चामल, गहुँ, मकै लगायतका अन्नहरु आयात गरिएको दाबी गरे । ‘आदर्श अर्थमन्त्री भएको भए जे पनि गर्नसक्थेँ होला, तर अर्थतन्त्रको समस्याहरुलाई हामीले बुझ्नुपर्छ । अलकत्रादेखि हवाइजहाजसम्म आयात हुने हाम्रो मुलुकमा आलाप गरेर मात्रै बस्न सुहाउँदैन’ खतिवडाले भने । भन्सारले उक्त कार्यक्रमसँगै अन्तरक्रिया कार्यक्रम समेत राखेको थियो । तर अर्थमन्त्रीले ‘अन्तरक्रिया गर्नुपर्दैन, अहिले भनेका कुराहरु निर्देशन भयो भन्दै एकै वचनमा खारेज गरिदिए ।’

मुक्तिनाथ विकास बैंकद्धारा बाढीपीडितलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले यही भदौ ३१ गते बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका ४२ घरधुरीका पीडितहरुलाई खाद्यान्न तथा झुल सहयोग गरेको छ । हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेकोे बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताएका छन् ।

पत्रकारद्वय भण्डारी र अधिकारी राष्ट्रिय विज्ञान पुरस्कारबाट सम्मानित

काठमाडौं । यस वर्षको राष्ट्रिय विज्ञान पुरस्कार साइन्स इन्फोटेक अनलाइनका प्रधानसम्पादक गोपाल भण्डारी र एबिसी टेलिभिजनकी समाचार वाचिका सन्तोषी अधिकारीलाई दान गरिएको छ । पत्रकारद्वय भण्डारी र अधिकारीले विज्ञान र प्रविधिका क्षेत्रमा पत्रकारिताका माध्यमबाट उल्लेखनीय योगदान पुर्याएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनही रु १५ हजार पुरस्कार सहित सम्मान गरेको हो । पुरस्कृत भण्डारी एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न छन् । उनका विभिन्न विषयका १२ पुस्तक, आठ अनुसन्धानात्मक प्रतिवेदन ‘वैज्ञानिक जगत्’ नामक जर्लनमा प्रकाशित हुनाका साथै विभिन्न अनलाइन तथा पत्रपत्रिकामा पनि एक हजारभन्दा बढी लेख प्रकाशित भएका छन् । त्यसैगरी, पत्रकार अधिकारी पनि विगत १४ वर्षदेखि विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका छन् । उनका विज्ञानसँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक लेख र रचना प्रकाशित छन् । यस वर्षको राष्ट्रिय विज्ञान दिवसको नारा ‘विज्ञान, प्रविधि र नवप्रवर्तन र सामाजिक आर्थिक रुपान्तरण’ तय गरिएको छ । रासस

दुई महिनामा साढे ६४ अर्ब सरकारी खर्च, १ खर्ब ४१ करोड राजस्व

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा साढे ६४ अर्ब रुपैयाँ बजेट खर्च गरेर १ खर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । असोज अन्तिमसम्म गएको आवकै कर चुक्ता गर्ने समयावधि तोकिएको र आवको शुरुका महिनामा परियोजनाहरूमा खासै खर्च नहुने हुँदा खर्चभन्दा राजस्व बढी देखिएको हो । यद्यपि पछिल्लो महिनामा समेत महत्वकांक्षी राजस्व लक्ष्य तोकिएकोले भन्दा कम उठ्ने गरेको छ । त्यसो त खर्च बढाउन सरकारले आवको शुरुदेखिनै तदारुक्ता देखाए पनि लक्षित खर्च पनि हुन सकेको छैन । सरकारले यो अवधिमा गरेका खर्च कुल बजेटको ४.२१ प्रतिशतमात्र हो । सरकारले यो अवधिमा गरेको खर्चमध्ये ५८ अर्ब ७७ करोड ९४ लाख चालु खर्च हो । दुई अवधिमा ५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । सरकारले गएको आवमा ७ खर्ब १४ अर्ब ९८ करोड (कुल चालु बजेटको ९१.३३ प्रतिशत )रुपैयाँ चालु खर्च गरेको छ । दुई खर्ब ३८ अर्ब ३५ करोड पुँजीगत र १ अर्ब ४१ अर्ब २४ करोड वित्तीय व्यवस्था खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट ल्याएको छ । सो बजेटमध्ये ९ खर्ब ५७ अर्ब १० करोड चालु खर्च हो भने चार खर्ब ८ अर्ब पुँजीगत खर्च हो । सरकारले चालु आवको लागि एक खर्ब ६७ अर्ब ८५ करोड वित्तीय व्यवस्थाको लागि खर्च छुट्याएको छ । सरकार सो अवधिमा एक खर्ब ४१ अर्ब ५२ करोड राजस्व संकलन गरेको छ । सो राजस्वमध्ये एक खर्ब ३२ अर्ब कर राजस्व हो भने ९ अर्ब ४१ करोड गैर कर राजस्व भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ ।

सरकारी ठेक्का प्रणालीलाई चुनौती दिँदै त्रिपुरेश्वरमा ठडियो सुन्दर भवन, साढे ५ करोड बचत

काठमाडौं । सरकारी निर्माणहरुमा हुने लागत वृद्धि, ढिलासुस्ती र गुणस्तरहीनतालाई चुनौती दिँदै निर्माण भएको भवन सञ्चालनमा आएको छ । २०७२ सालको भुकम्पपछि क्षतिग्रस्त त्रिपुरेश्वरस्थित भन्सार विभागको केन्द्रीय कार्यालय रहेको भवन निर्माण लागत, समय र गुणस्तर सबै हिसाबले उपयुक्त देखिएको हो । ३ वर्ष अवधि दिएर २०७३ भदौ १० गते कार्यादेश दिएको उक्त भवन लागत सम्पन्न हुनुभन्दा ४० दिन अघि नै सम्पन्न गरेर ठेकेदार कम्पनी आशिष/सीएम/कौशिल बस्नेत जेभीले विभागलाई हस्तान्तरण गरेको हो । सो भवन बनाउन भ्याटबाहेक सुरुमा १९ करोड ३५ लाख ९७ हजार रुपैंया अनुमान गरिएको थियो तर जेभीले लागतभन्दा २७ प्रतिशत कम अर्थात् भ्याटबाहेक १३ करोड ९६ लाख ३९ हजार रुपैंयामा ठेक्का सम्झौता गरी निर्माण सुरु गरेको थियो, सो भवन असार मसान्त अघि नै हस्तान्तरण भएको भन्सार विभागले जनाएको छ । कस्तो छ भवन ? ५ तला भएको उक्त भवनमा काठमाडौं उपत्यकाको मौलिकता झल्कने दाचि अप्पा इँटाको प्रयोग गरिएको छ जसमा आलुमिनियमको पार्टेसनबाहेक ४१ ओटा कोठाहरु, महिला पुरुष र अपांगमैत्री शौचालय, ८ जना क्षमता भएको लिफ्ट, कर्मचारी तथा आगन्तुक महिलाका लागि स्तनपान कक्ष, बालबालिकाको लागि मनोरञ्जन कक्ष, कन्फरेन्स हल, बैठक कक्ष समेत रहेको जनाइएको छ । त्यस्तै, उक्त भवनमा ७३ लिटर क्षमताका पानीट्यांकी र अत्याधुनिक आगलागी नियन्त्रणका उपकरणहरु समेत जािन गरिएका छन् । सो ट्यांकिमा २८० मिटरको डिप बोरिङबाट भूमिगत पानी तानेर फिल्टरेसन प्लान्टबाट फिल्टर गरी सबै धाराहरुमा पानी आपूर्ति हुने विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । सो भवनको बाहिर आकस्मिक रुपमा बाहिर निस्किने भवन समेत छ । सो भवनमा ६२० वर्गमिटर क्षेत्रफलको बेसमेन्ट पार्किङ छ जसमा १८ ओटा चारपांग्रे सवारी अट्न सक्छन् । मन्त्री र सचिवको प्रशंसा सस्तो लागतमा गुणस्तरीय भवन बनेपछि सो भवनबारे अर्थमन्त्रीदेखि अर्थसचिव समेतले खुलेर प्रशंसा गरेका छन् । अर्थसचिव राजन खनालले सरकारी ठेक्काहरुका काममा ढिलाई हुने, गुणस्तर कमजोर हुँने, लागत बढ्दै जाने प्रवृत्ति रहेकोमा सो भवनमा कुनै कमजोरी नदेखिएको र गुणस्तर समेत राम्रो रहेको बताए । ‘भन्सार सुधार कार्यक्रमअन्तर्गत भनेको भवन वति सुन्दर छ, अब कामकारबाही त्यतिकै पारदर्शी र उत्तरदायी हुनुपर्यो’ उनले भने । अर्थमन्त्री युवराज खतिवडाले यो भवनलाई अरु भवन निर्माणका सन्दर्भमा मापदण्ड बनाउने घोषणा समेत गरे । उनले भावी दिनहरुमा कुनैपनि सरकारी ठेक्का लगाउँदा पहिले त्रिपुरेश्वरको यो भवन हेर्न भन्ने समेत बताए ।

पाँच करोड लागतमा सम्पन्न ट्रमा केयर सेन्टरको बुधबारबाट औपचारिक सेवा शुरु

विराटनगर । जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रालिले बुधबारदेखि औपचारिक रूपमा सेवा शुरु गरेको छ । प्रदेश नं। १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बुधबार यहाँ आयोजित कार्यक्रममा सेन्टर सेवाको औपचारिक सुरुवात गरेका हुन् । विराटनगर–९ स्थित रु पाँच करोडको लागतमा सञ्चालन भएको सो सेन्टर १५ श्ययाको छ । निजी क्षेत्रबाट सञ्चालित सो सेन्टरमा सघन उपचार कक्ष, एन सघन उपचार कक्ष पिआइसीयु, भन्टिलेटरलगायतका अन्य ल्याब सम्बन्धीसेवा उपलब्ध गराएको सञ्चालक जयप्रकाश रायले बताएका छन् । सेन्टरले उच्चरक्तचाप, डाइबिटिजका बिरामीलाई दैनिक निःशुल्क सेवा उपलब्ध गराउने भएको छ । अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सकसहित ३० जना कर्मचारी कार्यरत रहेका छन् । असहाय, गरिबीका रेखामुनी रहेका बिरामीलाई सम्बन्धित निकायको सिफारिशमा सम्पूर्ण उपचारलगायत औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको सञ्चालक रायले जानकारी दिए । सो अवसरमा मन्त्री घिमिरेले विराटनगरलाई ‘स्वास्थ्य पर्यटन केन्द्र बनाउनमा यसले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । आगामी १५ दिनसम्म सेन्टरका सम्पूर्ण उपचार सेवामा बिरामीलाई ५० प्रतिशत छुट उपलव्ध गराएको छ । रासस

एलपीजी ग्यासको मूल्य पनि स्वचालित प्रणालीमा, छठ पर्वसम्म पेट्रोलियम पदार्थको मूल्य नबढ्ने

काठमाडौँ । खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि स्वचालित प्रणाली अनुसार घटबढ हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले विहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उक्त कुरा बताएका हुन् । यस विषयमा छलफल भइरहेको र केही दिनमै निर्णय हुने मन्त्री यादवले बताए । यता, यसअघि नै स्वचालित मूल्य निर्धारण प्रणाली लागु भएको पेट्रोल, डिजल र मट्टीतेलको मूल्य छठ पर्वसम्म नबढ्ने भएको छ । मन्त्री यादवले संबिधान दिवसका अवसरमा अन्तर्राष्ट्रिय बजारमा थपघट जे भएपनि नेपाल आयल निगमले मूल्य नबढाउने बताए ।

जनता बैंकद्वारा फलेनी माविका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण

काठमाडौं । जनता बैंकले लमजुङको दोर्दी गाउँपालिका हिले बजार स्थित फलेनी मा.वि. का विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । उक्त विद्यालयमा गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका शाखा प्रबन्धक हिराकुमार मोक्तानले विद्यार्थीहरुलाई ब्याग वितरण गरेका हुन् । ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यालयमा अयोजित एक कार्यक्रमका बिच लमजुङ जिल्लाको विकट भौगोलिक अवस्थितिमा रहेको यस विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ७ सम्मका २०६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरिएको हो । जनता बैंकले हाल देशैभरि कूल १४२ शाखा, ११० एटिएम, ५० शाखा रहित बैंकिङ्ग सेवा, ३ एक्स्टेन्सन काउण्टर र २ सिमत बैंकिङ इकाईबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।