एउटै गाउपालिकाले उत्पादन गर्यो दुई करोड बढीको आलु
खोटाङ । जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने आलु यसवर्ष रु दुई करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो । लेकाली भेगमा पर्ने खिदिमाका प्रत्येक घरमा कम्तीमा पनि २५ मुरी (५०० पाथी) आलु उत्पादन भएको स्थानीय किसान गोविन्द तामाङले बताएका छन् । “खिदिमामा ४२५ घरधुरी स्थानीयवासी बसोवास गर्छन्”, उनले भने, “अन्यबाली खासै नहुने खिदिमामा प्रत्येक घरले कम्तीमा पनि २५ मुरी आलु उत्पादन गर्छन् ।” खिदिमामा यसवर्ष साँढे सात हजार क्वीन्टल भन्दा बढी आलु उत्पादन भएको साकेला गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए । “आलुबाट मात्रै प्रति घरपरिवारले सरदरमा रु ४३ हजार ७५० भन्दा बढी आम्दानी गरेका छन्”, उनले भने, “पहिलो बालीका रुपमा लगाइने आलु खेतीलाई थप प्रवद्र्धन गर्न गाउँपालिकाको तर्फबाट गत वर्ष रु दुई लाख अनुदान उपलब्ध गराइएको थियो ।” समुद्री सतहदेखि करिब दुई हजार फिट अग्लो भू–भागमा पर्ने खिदिममा उत्पादन भएको आलु जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रु ४० मा खरिद तथा बिक्री हुने गरेको छ । खिदिमाको आलु कम्पोष्ट मल प्रयोग गरेर उत्पादन गरिएकाले खरिद गर्नेको लुछाचुडी नै चल्ने गरेको पाइएको छ । खिदिमाको आलु अर्गानिक भएकाले पनि उपभोक्ताको माग सबैभन्दा बढी रहेको दिक्तेलका व्यापारीले बताएका छन् । गाउँमा खासै बिक्री नहुने आलु स्थानीयवासीले गाडीमा हालेर दिक्तेलबजार तथा बाहिरी जिल्ला निर्यात गर्ने गरेका छन् । यसअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालय खोटाङले खिदिमालाई आलुको पकेट क्षेत्र घोषणा गरेर प्रवद्र्धनको काम थालेको थियो । देशमा सङ्घीयता लागूभएसँगै साकेला गाउँपालिकाले पनि उक्त कार्यलाई निरन्तरता दिएको छ । आलु उत्पादक किसानलाई सङ्गठित गरेर टोलटोलमा समूहसमेत गठन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गठन गरेको साकेला सोकी किसान समूहले गतवर्ष भस्मे फाँडेर रोपेको ठाउँबाट मात्रै १०० मुरी भन्दा बढी आलु उत्पादन भएको कृषि शाखा प्रमुख राईले बताएका हुन् । एक मुरीमा २० पाथी हुन्छ । पाथीमा साँढे तीन किलो हुने किसानले बताएका छन् । गाउँघरमा पाथीको हिसाबले खरिद तथा बिक्री हुने गरेको छ । खिदिमामा पङ्खदले, खम्बुले, ठ्याङ्ग्रे, भोटाङ्गे, धराने जस्ता रैथाने प्रजातिका आलु उत्पादन हुने गरेको छ । रैथाने प्रजातिको आलु अहिले बजारमा आएको अन्य नयाँ प्रजातिको भन्दा स्वादिलो र पोषिलो हुने किसानको दाबी छ । खिदिमलगायत माथिल्लो भेगमा आलुको पकेटक्षेत्र घोषणा गरेर प्रवद्र्धनको काम शुरु गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । “आलुका लागि हाम्रो गाउँपालिकालाई भूगोलले साथ दिएको छ”, उनले भने, “यसलाई व्यवस्थित र प्रवद्र्धन गर्न गत वर्षदेखि नै योजना बनाएर अगाडि बढेका छौँ ।” साकेला गाउँपालिकाको खिदिमा, रतन्छा, बाँझेच्यानडाँडा, मात्तिमलगायत माथिल्लो भेगमा आलु उत्पादन हुने गरेको छ । गाउँपालिकाले एक वडा, एक कृषि उत्पादनको नीति बनाएर अगाडि बढेको र खिदिमालाई आलु उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका प्रमुख खड्काले बताएका हुन् । पाँच वटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशपक्षीपालनलगायत फरक÷फरक कृषि व्यवसायको पकेट क्षेत्र बनाउने अभियान शुरु गरिएको छ । हरेक वडामा भूगोल अनुसार फरक–फरक व्यवसायका लागि किसान समूह गठन गरेर अभियानलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ । वडास्तरमा २९ वटा किसान समूह गठन गरेर प्रवद्र्धनमा लागेको गाउँपालिकाले हरेक किसान समूहलाई आवश्यक सीप तथा तालीमका साथै बीउबीजन, उन्नत जातको पशुपक्षी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । यसरी, व्यावसायिक कृषिलाई जोड दिँदै आएको गाउँपालिकाले गत वर्ष रु ५३ लाख र स्वीस सरकार अन्तर्गत हेल्भेटासले रु ४५ लाख २८ हजार गरी जम्मा रु ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो । रासस
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला ७० हजार ७ सयमा कारोबार
काठमाडौं । बिहीबार सुन प्रतितोला ६ सय रुपैयाँ घटेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार अर्थात भदौ महिनाको पहिलो दिन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको सुनको महिनाको दास्रो दिन एक्कासी ६ सय रुपैयाँले घटेको छ । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार प्रतितोला ७० हजार ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ८५५ रुपैयाँमा कारोबार भइरहेको छ भने बुधबार चाँदी प्रतितोला ८७० रुपैयाँमा बिक्री भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
आईटीमा लगानी नगरे जोखिम अझ बढ्ने, वित्तीय संस्थाले अटेर गरे राष्ट्र बैंकले निर्देशन दिनेः गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबि नेपालले सूचना प्रविधि(आईटी) को क्षेत्रमा लगानी बढाउन सुझाव दिएका छन् । विश्व बजारमा नयाँ नयाँ प्रविधि भित्रिएसँगै जोखिम बढ्दै गएकोले आईटीलाई फलो गर्न नसके समय सयममा यस्ता संकटहरू आइपरिरहने बताए । नेशनल बैंकिङ इन्स्टिच्युट(एनबीआई) द्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीबि नेपालले आईटीमा लगानी नगर्दा बैंक तथा वित्तिय संस्थाहरूको वर्षाैको आम्दानी जोखिम परेको बताए । वर्षौ लगाएर कमाएको रकम एक क्लिकमै नोक्सान हुन सक्ने भएकोले यसबाट जोगिन आईटीमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई उनले आग्रह गरे । ‘विशेषतः अन्य क्षेत्रमा भन्दा वित्तीय क्षेत्रले आईटीमा लगानी गर्नुपर्छ,’ उनले भने ‘तपाईहरूले लगानी गर्नुभएन भने राष्ट्र बैंकले निर्देशन जारी गरेर भएपनि लगानी गर्न लगाउँछ ।’ १९ दिन अघि नेपाली बैंकको एटीएमबाट चिनियाँ नागरिकहरूले ठूलो नेपाली रकम झिकेका थिए । यसबाट जोगिन आईटीमा लगानी गर्नुपर्ने आवश्यकता छ । आईटीमा गरेको लगानीले तपाईहरूले धेरै कमाउन सक्नु हुन्छ ।’ यसमा लगानी नगरे बैंकहरूले ३० वर्ष लगाएर कमाएको पैसा डुब्छ,’ उलने भने । अब पनि बैंक तथा वित्तीय क्षेत्रले आईटीमा लगानी गर्न आनाकानी गरे राष्ट्र बैंकले निर्देशन नै दिने उनले बताए । आईटी क्षेत्रमा छुट्याएको लगानीले पुग्दैन, यसको अडकल पनि गर्न सकिदैन,’ उनी भन्छन् ‘ नेपालको आईटी क्षेत्र अत्यन्त कमजोर छ । १४ वर्षको बच्चाले पनि यहाँको बैंकलाई ह्याक गर्न सक्छ ।’ गभर्नर डा. नेपालले संस्थागत सुशासन र कर्मचारी तालिममा जस्तै सूचना प्रविधि पनि नाफाको निष्चित प्रतिशत लगानी गर्ने व्यवस्था गर्नुपर्ने बताए । नेपालमा बैंकिङ क्षेत्र साइबर आक्रमणको उच्च जोखिममा परेको बताउँदै एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले बैंकहरूले प्रविधिमा ठूलो मात्रामा लगानी बढाउन अत्यावश्यक रहेको बताए । ‘नेपालका बैंक तथा वित्तिय संस्थाहरू साइबर आक्रमणको उच्च जोखिममा रहेकाले जुनसुकै समयमा ठूलो दुर्घटना निम्तिन सक्ने चेतावनी समेत उनले दिए ।
भाइरलका कारण तीन दिनदेखि विद्यालय बन्द
जाजरकोट । भाइरलका कारण जाजरकोटको नलगाड नगरपालिका– ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ । तीन दिनदेखि सबै विद्यार्थी र स्थानीयवासी बिरामी भएपछि विद्यालय बन्द भएको हो । नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच घण्टाको पैदल दूरीमा रहेको सो ठाउँ हिमालमा पर्दछ । यसरी, तीन दिनदेखि विद्यालय बन्द भए पनि स्वास्थ्य संस्था नजिक नभएका कारण समस्या भएको प्रधानाध्यापक कमल बोहाराले जानकारी दिएका छन् । यता नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले तुरुन्तै स्वास्थ्यकर्मी परिचालन गरिने बताए । गाउँमा सबै बिरामी भएका कारण उपचारमा लैजानुपर्ने विद्यार्थी लैजान नसकिएको स्थानीयवासी कर्णबहादुर पुनले बताएका छन्। रासस
ग्लोबल आइएमई बैंक र नारायणी बयोधा अस्पतालबीच छुटसम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नारायणी बयोधा अस्पताल प्रा.लि. बीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको वीरगञ्ज शाखा प्रमुख राकेश ज्ञवाली र नारायणी बयोधा अस्पताल प्रा.लि.को तर्फबाट अस्पतालका मानव संशाधन प्रबन्धक अंशु शर्माले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात नारायणी बयोधा, वीरगञ्जमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट , क्रेडिट ,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् । बैंकले १४५ वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८८ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय (अष्टे«लिया, बेलायत र भारत) मार्पmत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सिमान्त र श्रृजनको स्वरमा रहेको ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने…’ गीत सार्वजनिक
काठमाडौं । सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको गीत ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने…’ सार्वजनिक भएको छ । मिरा देवी राईको शब्द, नवीन कार्कीको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा गायक सिमान्त र श्रृजन फिचर्ड छन् भने आफ्नो जीवनमा उदाहरणीय काम गरेर सबैको प्रेरणका स्रोत रहेका विभिन्न व्यक्तित्वहरुलाई देखाइएको छ । ‘हामीले स्रोता÷दर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौ पक्कै पनि स्रोता÷दर्शकको रोजाइमा पर्छ होला’ सिमान्त र श्रृजनले भने । ‘मेरो दिल दुखायौ के पायौ…’बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्तका थुप्रै गीतहरु चर्चामा छन् । विगत चार वर्षदेखि गायन क्षेत्रमा तल्लिन उनका एक दर्जन भन्दा बढी गीत स्रोता÷दर्शकको रोजाईमा परेका छन् । गायनमा विभिन्न अवार्डहरु पनि चुम्न सफल सिमान्त आफ्ना अन्य गीत जस्तै ‘मलाई पनि रहर छ…’ले पनि स्रोता÷दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताउँछन् ।
आज देशभरका सरकारी स्वास्थ्य संस्थाको ओपिडीतर्फको टिकट निःशुल्क हुने
काठमाडौं । संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको हो । स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । संविधानअनुसार तीन तहका सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा प्रदान गरिरहेका छन् । मन्त्रालयले संविधान कार्यान्वयन भएपछि आज पहिलोपटक ओपिडीतर्फको टिकट निःशुल्क गरेको हो । यसबाट विपन्न समुदायका बिरामीले थप राहत पाउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्र वाग्लेले जानकारी दिएका छ । उनले भने, “जुम्ला अस्पतालले गरीब, विपन्न जनतालाई कुनै शुल्क नलिई उपचार गरिरहेको छ ।” चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा दैनिक ओपिडीतर्फ ७०० देखि एक हजार १०० सम्म बिरामी सेवा लिन आउँछन् । “हामीले आज ओपिडीतर्फको टिकट निःशुल्क गर्छौँ”, अस्पतालका निर्देशक प्रा. डा. केदार सेञ्चुरी भन्छन् । विसं १९४७ मा १५ श्ययाबाट सेवा दिन शुरु गरेको वीर अस्पतालको हालको क्षमता ४५० श्ययाको छ । न्याम्समा चिकित्सा विज्ञानका नर्सिङ, एमबीबिएस, एमडीलगायत विभिन्न तह, विषयमा उच्च शिक्षा पठनपाठन तथा तालीमका कार्यक्रमसमेत सञ्चालन हुँदै आएको छ । संविधानको मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक सेवाबाट वञ्चित नगरिने, व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने र नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने प्रवधान रहेको छ । मौलिक हक कार्यान्वयन गर्न मन्त्रालयले दुईवटा विधेयक ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी र जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कार्यान्वयनमा ल्याएको छ । ती विधेयकलाई थप कार्यान्वयन गर्न नियमावली तयार गरी मन्त्रिपरिषद्मा पेश भएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । “मन्त्रालयले सङ्घीयता कार्यान्वयन गर्न आफ्ना मातहतका अस्पतालको वर्गीकरण गरी यसको सञ्चालन र व्यवस्थापनमा स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । आधारभूत स्वास्थ्य सेवालाई थप व्याख्या गरी सेवालाई चुस्त बनाएको छ”, उनले भने । पछिल्लो सयम स्वास्थ्य क्षेत्रका केही सूचकमा सामान्य सुधार देखिएको छ । शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) र नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) क्रमशः ३३ र २३ मा झरेको छ । पाँच वर्षमुनिका बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३८ तथा मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) २५८ मा झरेको छ । परिवार नियोजनको दर करिब ५३ प्रतिशतको हाराहारीमा उक्लेको छ । कूल प्रजननदर (१५–४९ वर्षका उमेर समूहका महिलाको) दुई दशमलव तीन रहेको छ । तौल नपुगेका बच्चाको २८ प्रतिशतमा, क्षयरोगको सफल उपचार र आयोडिनयुक्त नुनको प्रयोग गर्ने घरपरिवारको सङ्ख्या ९० माथि उक्लेको छ । रासस
यस्तो बन्दै छ सङ्घीय संसद् भवन
काठमाडौँ । विगत एक दशकदेखि भाडामा बस्दै आएको सङ्घीय संसद् अबको तीन वर्षमा आफ्नै भवनमा बस्ने भएको छ । सिंहदरवार परिसर पुतली बगैँचामा बन्ने उक्त भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि अबको तीन वर्षमा संसद् आफ्नै भवनमा बस्ने भएको हो । विसं २०५५ बाट असार ८ गते तत्कालीन मन्त्रिपरिषद्ले भवन निर्माण गर्ने निर्णय गरेतापनि लामोसमयसम्म भवनको काम शुरु हुन सकेको थिएन । प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि दुई वर्षभित्रमा संसद् भवन बनाउने निर्णय गरेसँगै अहिलेको भवनको निर्माण शुरु गरिएको हो । कूल रु सात अर्ब ७३ करोड ५२ लाख चार हजार ७३१ को लागतमा निर्माण हुने सो भवन मूल्यवृद्धि र विभिन्न कन्टिजेन्सीसहित करीब रु नौ अर्ब ६० करोडमा निर्माण हुने भएको जनाइएको छ । भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित विभिन्न ११ किसिमका संरचना तयार हुनेछन् । विसं २०६४ देखि संसद् भवन नहुँदा नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आइरहेको छ । त्यसभन्दा अगाडि सिंहदरबारको संसद् भवन भूकम्पका कारण भत्किएको छ । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा सिंहदरबारस्थित भवनमा तत्कालीन संविधानसभाका सदस्य नअटाउने भएपछि सम्मेलन केन्द्रमा बैठक बस्दै आइरहेको छ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले तीन वर्षभित्रमा भवन बनाइसक्ने प्रतिबद्धता व्यक्त गरे । उक्त भवन मुलुकको सवैभन्दा ठूलो भवनको रुपमा रहने छ । शहरी विकास र भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले संसद् सम्बन्धी सबै कार्य एकै थलोबाट गर्ने किसिमको भवन रहने बताए । भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमल कक्ष, अति विशिष्ट व्यक्तिको लागि कार्यालय भवन, पुस्तकालय र सङ्ग्राहालय, संसदीय दलको कार्यालय, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस/छपाइ र पार्किङ भवन रहने छन् । प्रतिनिधिमा चार सय र राष्ट्रियसभामा सय जना प्रतिनिधिसभाको क्षमता चार सय व्यक्ति अटाउने ठूलो सभाहल र राष्ट्रियसभाको सय जना अटाउने ठूला सभाहल हुने छ । प्रतिनिधिसभा भवनमा समामुख कक्ष, पत्रकारसम्मेलन कक्ष र अतिविशिष्ट कक्ष, तीन सयजना दर्शक/पत्रकार/आगन्तुक पाहुना अटाउने बालकोनी हल र दुई सय क्षमताको मार्सल कोठासमेत रहने छ । यसैगरी राष्ट्रियसभाको भवनमा स्टुडियो कोठा, कन्ट्रोल कोठा, भिडियो र रेकर्ड कोठा रहने छ । भने अध्यक्षको कार्यकक्ष, विशिष्ट कक्ष र समिति हल, दुई सय जना अटाउने बालकोनी हल र तीन सयजना क्षमताको बैठक कक्ष तथा मर्मतकक्ष र मार्सल कोठा रहने छ । कूल १७३ रोपनी आठ आनामा क्षेत्रफलमा निर्माण हुन लागेको भवनको निर्माणको जिम्मेवारी टुण्डी से जेभी कम्पनीले पाएको छ । महानिर्देशक गेलालका अनुसार भवन परिसरमा भवन क्षेत्र २७ प्रतिशत, खुला हरियाली ४५ प्रतिशत र पार्किङ क्षेत्र २८ प्रतिशत छुट्याइएको छ । भवन परिसरको मूल ढोका दक्षिणतर्फ रहने छ भने सांसदको प्रवेशका लागि उत्तर–पश्चिम ढोका, दक्षिणपूर्वमा कर्मचारी र सर्वसाधारण प्रवेशको व्यवस्था मिलाइने छ । प्रवेशका लागि अति आधुनिक सुरक्षा प्रविधिबाट जाँच गरिने छ । काठमाडौँको स्थानीय वास्तुकला झल्कने खालको बन्ने भवन इन्टरनेशनल स्टे अफ द आर्टको रुपमा डिजाइन गरिएको छ । भवनका डिजाइन आपतकालीन विशेष अवस्थाजस्तै भूकम्प, आगलागीलाई मध्यनगर गरी नेपालको भवन निर्माण सम्बन्धी मापदण्डअनुसार डिजाइन गरिएको छ । भवनमा हरियाली चौर, पानीका फोहरा, सार्वजनिक खुल्ला चौर जस्ता रहने छन् । दक्षिणतर्फका मुख्य प्रवेशद्वारको बायाँतर्फ संसद्को प्रतिनिधिसभा र दायाँतर्फ राष्ट्रियसभा हुने छ । संसदीय दल र समिति पाँच तला संसदीय दल र संसदीय समितिका भवन पाँच तले र अन्य भवन भने तीन तले हुने विभागका महानिर्देशक गेलालले जानकारी दिए । यसैगरी मुख्य संसद् भवनको दायाँतिर तीन तल्लाको दुई वटा ब्लकमा संसदीय सचिवालय भवन रहने छ । प्रतिनिधिसभा भवनको उत्तरतिर चार तलाको पुस्तकालय भवन र दुई तलाको चमेना गृह हुने छन् । चमेना गृहको भूइँ तला सर्वसाधारण र माथिल्लो तला सांसदको लागि छुट्याइने छ । यसैगरी राष्ट्रियसभाको भवनको उत्तरतिर चार तलाको अतिविशिष्ट कक्ष निर्माण गरिने विभागले जनाएको छ । संसदीय दलको कार्यालय र संसदीय समितिको भवन पाँच तलाको रहने छ । मुख्य संसद् भवनको दायाँतिर उत्तरपूर्वमा पाँच तलाको संसदीय समितिको भवन र उक्त भवनको दायाँतर्फ छापाखाना रहने विभागका महानिर्देशक गेलालले जानकारी दिए । मुख्य भवनको बायाँतर्फ उत्तरकुनामा पाँच तलाको संसदीय दलको कार्यालयको भवन रहने छ । भवन परिसरमा सात सय गाडी पार्किङ गर्ने सकिने छ । रासस