विकासन्युज

सिटिजन लाइफले ७५ करोडको आईपीओ ल्याउने

काठमाडौं । नयाँ बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी चुक्तापुँजी भएको सिटिजन लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ । सो प्रयोजनका लागि सिटिजनले वार्षिक साधारणसभा समेत बोलाएको छ । सिटिजनले असोज २९ गते ललितपुरको होटेल हिमालयनमा दिउँसो ३ बजे बस्नेगरी उक्त साधारणसभा बोलाएको हो । साधारणसभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै एकजना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा समेत छ । हाल १ अर्ब ७५ करोड चुक्तापुँजी भएको सिटिजनले अब ७५ करोड रुपैंया बराबरका ७५ लाख कित्ता साधारण शेयर जारी गरेर चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैंया पुर्याउनेछ । सिटिजन लाइफले अघिल्लो आवको अन्त्यसम्म १ लाख बीमितबाट १ अर्ब १६ करोड रुपैंया कुल बीमाशुल्क संकलन गरेको छ । हाल सिटिजनले देशभरका ८० स्थानहरुमा रहेका शाखाहरुमार्फत् आफ्नो सेवा प्रदान गर्दै आएको छ । हाल सिटिजनले विभिन्न ९ ओटा योजनाहरुमार्फत् आफ्ना बीमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ जसमा २० ओटा घातक रोगहरुको बीमाको व्यवस्था रहेको छ ।

चिनी आयातमा ५० प्रतिशत कर छुट, दशैंअघि बीस हजार मेट्रिक टन भित्र्याउने ठेक्का २ कम्पनीलाई

काठमाडाै । सरकारले चाडबाडको समयमा उपभोक्ताको मागलाई हेरेर चिनीको अभाव हुन नदिन सरकारी कम्पनीमार्फत २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । भदौ अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई १०/१० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी अयात गर्न स्वीकृति दिएको हो । चाडपर्वको समयमा व्यापारीले चिनीको कृत्रिम अभाव देखाइ मूल्यवृद्धि गर्नसक्ने भन्दै सरकारले बजारमा हस्तक्षेप गर्न सरकारी कम्पनीमार्फत चिनी आयात गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । बैठकले नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरावलोकनसम्बन्धी तेस्रो बैठकमा सहभागिताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा नौ सदस्यीय वार्ता टोली गठन गरेको छ । मेलम्ची खानेपानी आयोजनाका श्रमिकको बाँकी ज्याला सम्बन्धित ठेकेदारबाट असुल गरी हिसाब मिलान गर्ने गरी राहतस्वरुप भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरिएको छ । बैठकले नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले अधिग्रहण गरेको जग्गामध्ये साविक बलम्बु गाविस वडा नं ६ (क) को अधिग्रहण भएको कित्ता नं १०१२ को बाँकी रहेको एक आना दुई पैसा दुई दाम क्षेत्रफल जग्गासमेत अधिग्रहण गरी क्षतिपूर्ति प्रदान गर्न स्वीकृति दिएको छ । दुई सय ८२ को कैद मिनाहा सरकारले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम विभिन्न अपराधमा कैद सजाय भुक्तान गरिरहेका २८२ को कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । कैद भुक्तान गरिरहेका भीमबहादुर शेर्पालगायत कैदीको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बाँकी कैद तथा सजाय माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए । बैठकले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज राति १२ बजेदेखि सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रिपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । यसैगरी संविधान दिवसका दिन हनुमान ढोका दरबार सङ्ग्रहालय, पाटन सङ्ग्रहालय र राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरमा प्रवेश निःशुल्क गर्ने निर्णय गरेको छ । अधिकारी सहायक रथीमा बढुवा सरकारले नेपाली सेनाका महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ । उनी तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका थिए । सहायक रथीको विशेष पद (चार वर्षका लागि) सिर्जना गरी अधिकारीलाई पदोन्नति गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए । यसैगरी प्राविधिक प्रमुख सेनानीद्वय बानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा मध्यनेपाल नगरपालिका–१, लमजुङका प्रा डा श्रीकृष्ण गिरीलाई नियुक्त गर्ने निर्णय गरिएको छ । बैठकले नेपाल प्रशासन सेवा समूहीकरण (क्लस्टर) तर्फका राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा कायममुकायम प्रमुख सचिव तोयम रायलाई बढुवा गरी ३ नं प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल इञ्जिनीयरिङ सेवाको समूहीकरण (क्लस्टर)तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा प्रथम श्रेणीका अधिकृत शिवहरि शर्मालाई बढुवा गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सचिव पदमा पदस्थापन गरिएको छ । बैठकले अतिरिक्त समूहमा रहेका राजपत्राङ्कित विशिष्ट श्रेणीका ऋषिराम शर्मालाई राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख अधिकृत र रवीन्द्रनाथ श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव (सिँचाइ) मा सरुवा गरेको छ । बैठकले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयअन्तर्गत आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०७६÷०७७ का लागि ४९ राजपत्राङ्कित अधिकृतको अस्थायी दरबन्दी सिर्जना गरेको छ । चालू आवकै लागि बालसुधार गृह र राष्ट्रिय बाल अधिकार परिषद्तर्फ शाखा अधिकृतको छ वटा अस्थायी दरबन्दी स्वीकृत गरेको छ । जसअन्तर्गत बाल सुधार गृहहरु रुपन्देही, मकवानपुर, डोटी र पर्साका लागि राजपत्राङ्कित तृतीय श्रेणीका चार र परिषद्तर्फ कर्यक्रम अधिकृत एक र बाल संरक्षण अधिकृत एक दरबन्दी स्वीकृत गरिएको हो । बैठकले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ आँखा उपचारमा अतुलनीय योगदान गर्नुभएको डा सन्दुक रुइतलाई रु पाँच लाख र ‘राष्ट्रिय प्रतिभा अनुदान सहयोग’ रदी मियाँ र विकल्प ढुङ्गानालाई जनही रु दुई लाख ५० हजार प्रदान गर्ने निर्णयसमेत गरेको छ । बैठकले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७६ र तेह्रौँ दक्षिण एशियाली खेलकूद २०१९ आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७६ स्वीकृत गरेको छ । यस्तै राष्ट्रिय विज्ञान प्रविधि तथा वनप्रवर्तन नीति, २०७६ स्वीकृत गरिएको छ । रेल्वे ऐन, २०७६ र योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७६ को मस्यौदा विधेयकलाई सङ्घीय संसद्को बैठकमा पेश गर्न स्वीकृति दिइएको छ । यसैगरी नीति अनुसन्धान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । यसैगरी दक्षिण एशियाली महिला विकास मञ्चको पाँचाैंअन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलनका लागि रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । यही असोज २२ र २३ गते नेदरल्याण्डको आइन्डहोबेन शहरमा हुने ‘म्याप एक्स्पो २०१९’ र आगामी फागुन २ देखि ५ गतेसम्म जर्मनीमा न्युरेम्बर्ग शहरमा आयोजना हुने ‘बायोफ्याच–२०२०’ मेलामा सहभागिता जनाइ नेपाली प्रशोधित जडीबुटी, मसला र कृषिजन्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसाद तथा प्रवद्र्धन गर्न वन तथा वातावरण मन्त्रालयको सिफारिसमा सहभागी हुने उद्योगी व्यवसायीको स्टल व्यवस्थापनका लागि मात्र आवश्यक पर्ने ६६ हजार ८५५ यूरो उपलब्ध गराउने निर्णय गरेको छ ।  रासस

दशैंको लागि नयाँ नोट असोज १० गतेदेखि खुला, सबै प्रकारका बैंक/फाइनान्समा पाइने

काठमाडौं । बडा दशैंको अवसरमा नेपाल राष्ट्र बैंकले बाँढ्ने नयाँ नोट असोज १० गतेदेखि १७ गतेसम्म लिन पाइने भएको छ । राष्ट्र बैंकले रु.५, रु.१०, रु.२०, रु ५० र रु १०० दरका एक÷एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार १०० रुपैयाँ नयाँ नोट सटही दिने जनाएको छ । नयाँ नोट सबै वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाबाट साट्न सकिने राष्ट्र बैंकका प्रबक्ता लक्ष्म प्रपन्न निरौलाले जानकारी दिए । ‘जसको बैंक खाता जहाँ छ, त्यहीबाट नयाँ तथा सुकिला नोट सटही गर्न सकिन्छ’ विहीबार राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकका सबै कार्यालयहरु र राष्ट्र बैंकले तोकेका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक निश्चित शाखाबाट सर्बसाधारण जो कोहीले पनि नयाँ तथा सुकिला नोट सटही गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । सर्वसाधारणले नेपाल बैंक लिमिटेडको न्यूरोड, कीर्तिपूर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट लिन सक्ने छन् । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरवार, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट नयाँ नोट लिन सकिनेछ । त्यस्तै, कृषि विकास बैंकको गौशला, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाहरुबाट नयाँ नोट लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

नागरिक लगानी कोषले सार्वजनिक गर्यो नागरिक बचत बृद्धि कार्यक्रम

काठमाडौँ । नागरिक लगानी कोषले निश्चित अवधि पछि ‘पे एज यू गो’ को आधारमा पेन्सन योजनामा रुपान्तरण गर्ने प्रावधान सहितको नागरिक बचत बृद्धि कार्यक्रम सार्वजनिक गरेको छ । संबिधान दिवस २०७६ को अवसरमा शहीद परिवार सम्मान कार्यक्रममा बिहीबार कोषद्वारा प्रवद्र्धित नयाँ योजना सार्वजनिक गरेको हो । कोषमा सर्वसाधारण जनतालाई समेट्ने कुनै कार्यक्रम नरहेको र लामो समय देखि कोषले कुनै पनि नयाँ कार्यक्रम नल्याएको सन्दर्भमा सर्वसाधारणलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूति दिन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले नयाँ योजना ल्याएको जनाइएको छ । कार्यक्रमले नियमित वा निश्चित समयमा मात्र आय आर्जन गर्ने आम नागरिकलाई समेट्ने छ । गैर आवाशिय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, प्रचलित कानुन बमोजिम दर्ता भएको प्रतिष्ठान र सो प्रतिष्ठानमा कार्य गर्ने कामदार श्रमिकहरु, स्वरोजगारमा रहेका सर्वसाधरणलाई पनि यस कार्यक्रमले समेटने छ । यसमा न्यूनतम मासिक रु ५००।– देखी क्षमता अनुसार अधिकतम रकम जम्मा गर्न सकिने प्रावधान राखिएको छ । साथै, यस कार्यक्रममा सहभागीहरुले एकमुष्ठ वा अनुकुलता अनुसार पटक पटक गरेर पनि बचत गर्न सक्ने ब्यवस्था गरिएको कोषले जनाएको छ । योजनामा सहभागी भई २ वर्षसम्म नियमित बचत गरे पश्चात बचतकर्तालाई जम्मा रकमको ८० प्रतिशत सम्म सहभागी सापटी उपलब्ध गराइने छ भने २ वर्ष सम्म बचत गर्ने बचतकर्ताहरुलाई धितोमा आधारित आवास, सरल एवं शिक्षा कर्जा जस्ता कोषले प्रवाह गर्ने कर्जा सुविधाहरु उपलब्ध गराइने जनाइएको छ । यसका अतिरिक्त सहभागीहरलाई निश्चित मापदण्डको आधारमा दुर्घटना बीमा, औषधी उपचार बीमा, मृत्यु संस्कार खर्च र सुत्केरी खर्च जस्ता समाजिक सुरक्षाका सुविधाहरु समेत समावेश गरिने छ । यस कार्यक्रममा कोषले समय समयमा निर्धारण गरेको ब्याजको अलवा थप प्रतिफलको समेत ब्यवस्था गरेको छ । योजनामा संकलित रकम राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानी गर्दा बचतकर्तालाई सहभागी गराउने ब्यवस्था मिलाईने छ । निजी अस्पतालहरुसंग समझदारी गरेर यस कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुलाई औषधीउपचार गर्दा विशेष छुटको ब्यवस्था समेत गरिने बताइएको छ । आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पूँजी वृद्धिका साथै लगानीका अवसरहरु बढाउन तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने प्रमुख उद्देश्य राखेर नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, राष्ट्रिय बीमा संस्थान, अन्य बैंक तथा वित्तीय संस्थाहरु र सर्वसाधारण जनताको समेत शेयर लगानीमा २०४७ सालमा स्थापना भई नागरिक लगानी कोषले आफ्नो क्रियाकलापहरु सञ्चालन गर्दै आईरहेको छ । कोषले हाल कर्मचारी बचत वृद्धि, नागरिक एकांक योजना, उपदान कोष योजना, लगानीकर्ता हिसाब योजना लगायतका विभिन्न बीमा कोषहरु समेत गरी कुल ११ ओटा योजनाहरु प्रभावकारी रुपमा व्यवस्थापन गर्दै आइरहेको छ । २०७६ असार मसान्त सम्ममा कोषले कुल रु.१३१ अर्ब बचत परिचालन गरिरहेको जनाएको छ ।

सनराइज बैंकको दमौली शाखाले गर्यो डेंगु रोग सम्बन्धी सचेतना

काठमाडौँ । १२ औं बार्षिकोत्सबको अवसरमा सनराइज बैंक दमौली शाखाले बुधबार ब्यास नपा वडा नं २ स्थित केराघारी आधारभूत स्वास्थ्य चौकी र सामाधान हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । व्यास नपा वडा नं २ का वडाध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सनराइज बैंक लिमिटेड दमौली शाखाका शाखा प्रमुख किर्तीमान राणाले संचालन गरेका थिए । २०० जना भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा समाधान हस्पिटल प्रालिका चिकित्सक डा. श्रीराम चन्द र यास नपा वडा नं २ केराघारी आधारभूत स्वास्थ्य चौकीका प्रमुख सुनिल अधिकारीले डेंगु रोग तथा यसबाट बच्ने उपायहरु बारे बोलेका थिए । बंैकले असोज महिनालाई १२ औं वार्षिकोत्सवका अवसरमा विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

अपी पावरको बोनस सेयर धितोपत्र बोर्डमा दर्ता

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको १५औँ बाषिक साधारण सभाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर(कर बाहेक) नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ । अर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट दिइने सो शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरणपछि शेयरधनीहरुको डिम्याट खातामा पठाईने शेयर रजिष्टार भिबोर क्यापिटलले जनाएको छ ।

५८ बुँदे सुझाव कार्यान्वयनमा नेप्सेले के के गर्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले अर्थ मन्त्रालयले गठन गरेको समितिले दिएको सुझावअनुसार नेपाल स्टक एक्सचेञ्जले गर्नुपर्ने भनेर तोकिएका कमहरुबारे भएका प्रगतिहरुको विवरण सार्वजनिक गरेको छ । ‘पुँजीबजार र मुद्राबजारको समस्या समाधान गर्न गठित समिति’ नेप्सेले गर्नुपर्ने भनी विभिन्न ५ ओटा कामहरुबारे सुझाव प्रस्तुत गरेको थियो जसमध्ये बैंकलाई ब्रोकर लाइसेन्स दिने र प्रत्येक जिल्लाहरुमा ब्रोकरको शाखा खोल्न आवश्यक व्यवस्था गर्ने, सर्किट ब्रेकर प्रणालीमा समायोजन गर्ने, लगानीकर्ता संरक्षण कोष स्थापना गर्ने, ओसीटी बजारलाई गतिशील बनाउने, बजारमा मार्केट मेकर वा स्टक डिलरको व्यवस्था गर्ने लगायतका कामहरु थिए । जसमध्ये बैंकलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था गर्ने सम्बन्धमा नेप्सेले गत साउन १७ गते नै सूचना प्रकाशित गरी त्यस्तो लाइसेन्सका लागि अनुमतिपत्र लागि सिफारिस गरिएको तर अर्थ समितिको निर्देशनबमोजिम हाल स्थगित राखिएको भनिएको छ । त्यस्तै, सबै प्रदेश, जिल्ला र स्थानीय तहमा ब्रोकर खोल्ने अनुमति दिने सम्बन्धमा कार्यविधि तयार गरी सञ्चालक समितिमा छलफल गरिरहेको नेप्सेले जनाएको छ । त्यस्तै, नेप्सेको सर्किट सिस्टम परिवर्तन गर्ने सम्बन्धमा दिएको सुझाव पूर्ण रुपमा कार्यान्वयन भइसकेको, ग्राहक संरक्षण कोष स्थापना भइसकेको जनाएको छ । त्यस्तै, ओसीटी बजारलाई गतिशील बनाउने सम्बन्धमा विगतको कारोबार प्रणालीलाई नै प्रयोग गरी लागत र लाभ अध्ययन गर्दै सुधार गर्दै जाने सम्बन्धमा काम सुरु भइसकेको नेप्सेले जनाएको छ । स्टक डिलर स्थापना गर्ने सम्बन्धमा नेप्सेले अध्ययन प्रतिवेदन तयार गरी वोर्डमा पेश गरिसकेको र बजार निर्माताको काम गर्न अहिलेकै कारोबार प्रणालीमा व्यवस्था रहेको समेत नेप्सेले स्पष्ठ पारेको छ । [pdf id=172270]

कामना सेवा विकास बैंकको ओडी कार्ड सेवा शुरु

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा ओडी कार्ड सुविधा समेत प्रदान गर्ने गरी असोज २ गते देखि सेवा शुरु गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत बस्नेतले ओडी कार्डको महत्व र यसबाट ग्राहकहरुले प्राप्त गर्न सक्ने सुविधा र फाइदाका बारेमा प्रकाश पार्दै अब बैंकका ग्राहकहरुले उक्त ओडी कार्ड प्रयोग गरी उपलब्ध सीमासम्मको रकम झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सक्ने बताए ।