विकासन्युज

यसकारण नेपालमा चर्चित बन्न सक्छ नयाँ सुजुकी जिक्सर

काठमाडौँ । सुजुकीले केहि समय अघि भारतमा २०१९ मोडलको जिक्सर १५५ लाई पुरानो जिक्सरभन्दा फरक डिजाइनका साथ लञ्च गरेको थियो । अहिलेको डिजाइनले जिक्सर १५५ लाई अझ बढी एग्रेशिभ र मस्कुलर देखिनमा मद्दत पुर्याएको छ । सुजुकीले यस बाइकमा विल्कुलै नयाँ फ्ल्याट एलईडी हेडलाइट दिएको छ, जुन पहिलेको तुलनामा थप आकर्षक देखिन्छ । त्यसैगरी यसमा नयाँ थपिएको ट्याङ्क स्राउडको कारणले यो बाइकलाई मस्कुलर र एग्रेशिभ पनि बनाएको छ । सुजुकीले नयाँ एलईडि टेल लाईट र मडगार्डजस्ता कुराहरु दिएर यसको टेल सेक्सनलाई पनि अपडेट गराएको छ । त्यसैगरी पहिलेको जिक्सर १५५ मा सिङ्गल पिस सिट थियो भने अहिलेको जिक्सरमा चाहिँ स्प्लीट सिट दिइएको छ । यस बाइकमा दिइएको नयाँ इन्स्ट्रुमेन्ट कन्सोलले चाहिने जति सवै इन्फर्मेशन डिस्प्ले गर्दछ र यसको लुक्स पनि सेग्मेन्ट मध्येकै राम्रो मानिएको छ । ५–स्पिड गियरबक्स दिइएको २०१९ जिक्सर १५५ मा १५५ सीसी सि¨ल सिलिण्डर एयरकुल्ड इञ्जिन दिइएको छ जसले पहिलेको भन्दा केहि कम पावर प्रोड्यूस गर्दछ । पहिलेको कार्बुरेटेड इञ्जिनलाई फ्यूल इन्जेक्टेड बनाएको हुनाले यसको पावरमा थोरै कमी आएको कम्पनीले जनाएको छ । तर, यसको सवल पक्ष चाहिँ के हो भने यस फ्यूल इन्जेक्टेड इञ्जिनले बाइकले दिने माइलेजमा लामो समयसम्म एकरुपता ल्याउनका साथै इञ्जिन चिसिएर स्टार्ट नहुने समस्यालाई पनि समाधान गर्दछ । यो नयाँ एफआई इञ्जिनले १४.१ पिएसको पावर र १४ एनएमको टर्क प्रोड्यूस गर्दछ । दुवै चक्कामा डिस्क ब्रेक दिइएको यस बाइकको अगाडिको चक्कामा एबिएस पनि दिइएको छ जसले बाइकलाई थप सुरक्षित समेत बनाएको छ । बजारमा २०१९ जिक्सर १५५ सिल्भर, ब्ल्याक र ब्ल्याक–ब्लू गरी ३ कलर अप्सन्समा उपलब्ध छन् । नेपालका लागि सुजुकी टू व्हिलर्सको आधिकारीक विक्रेता भीजी अटोमोवाइल्स प्रालिले नेपाली बजारमा २०१९ जिक्सर १५५ को मूल्य रु.३,१५,९०० तोकेको छ । यसको आकर्षक लुक्स त्यसैगरी एफआई इञ्जिन र एबिएस जस्ता आधुनिक फिचर्सका कारण यस बाइकले बजारमा राम्रो पकड जमाउने छ भन्ने कम्पनीले विश्वास गरेको छ ।

क्रेडिट कार्ड देखाउँदा शुन्य ब्याजदर र किस्ताबन्दीमा स्मार्टफोन

काठमाडौं । रु.१ मा नै मोबाइल फोन ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि फेष्टिवल अफर ल्याएकोछ । न्यूरोड ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका स्मार्टफोनहरु किस्ताबन्दीमा खरिद गर्न सकिने अफर सार्वजनिक गरेको छ । ‘बैंकको क्रेडिट कार्ड देखाउनुस्, शुन्य प्रतिशत ब्याज र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस,’ नामक अफरअन्तरगत हाल ग्लोबल आइएमइ बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेन्चुरी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यसको फाईदा उठाउन सक्नेछन् । यो अफरअन्तरगत सुविधा लिनको लागि तपाईँले आफ्नो क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शुन्य ब्याजदरमा कुनैपनि ब्राण्डको स्मार्टफोन किन्न सक्नेछन् । असोज १ गतेदेखि लागू भएको यो अफर कात्तिक ३० गतेसम्म लागू हुने जनाइएको छ । कम्पनीले विशेष गरी बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई सहज र सुविधाजनक रुपमा मासिक किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउने गरि यो योजना ल्याएको ईजी मोबाइल केयर प्रालिका अध्यक्ष संजित पौडेलले बताए । ‘हामी रु १ मा स्मार्टफोन र मासिक किस्ताबन्दीमा स्मार्टफोन दिने नेपालकै पहिलो र एक मात्र कम्पनी हौं, बैंकका क्रेडिट कार्ड होल्डरले सजिलोसँग नै मनपरेको स्मार्टफोन किन्न सक्ने सुविधा दिएका छौं,’ उनले भने । कम्पनीले नगदमा स्मार्टफोन किन्ने ग्राहकहरुका लागि पनि सुविधा र अफर दिएको छ । ग्राहकहरुले विभिन्न स्मार्टफोनहरुमा न्यूनतम ५ प्रतिशतदेखि ५० प्रतिशतको छुट पाउने छन् । सिमित अवधिका लागि घोषणा गरिएको यस अफरअन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ । कम्पनीबाट किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त हुनेछ ।

फर्पिङ-कुलेखानी सडक खण्डमा आजदेखि सवारीसाधन आवागमन बन्द

हेटौँडा । कुलेखानी-फाखेल-हुमाने-फर्पिङ सडकखण्डमा शुक्रबारदेखि असोज ११ गतेसम्मका लागि सवारीसाधन आवागमन बन्द गरिने भएको छ । सडकको पहिरो पन्छाउनु पर्ने भएकाले सवारीसाधन आवागमन बन्द गरिने भएको हो । कुलेखानी–फाखेल–हुमाने सडक मर्मतसम्भार उपभोक्ता समितिका अनुसार शुक्रबारदेखि कुलेखानी–सिस्नेरी सडकखण्ड भएर यातायात सञ्चालन गरिने जनाइएको छ ।

माछापुच्छ्रे बैंकको साधारणसभा असोज २४ गते पोखरामा

काठमाडौं । माछापुच्छ्रे बैंकले असोज २४ गते पोखराको होटल पोखरा ग्राण्डमा बिहान ११ कवे बस्नेगरी साधारणसभा बोलाएको छ । आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको माछापुच्छ्रेले सो वर्षको वार्षिक प्रतिवेदन र घोषित लाभांश पारित गर्ने एजेन्डासिहित उक्त साधारणसभा आह्वान गरेको हो । साधारणसभाले चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्ने, बोनस शेयरअनुसार चुक्ता पुँजी बढाउने लगायतका प्रस्ताव समेत पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि असोज १० गतेदेखि २४ गतेसम्म बैंकले आफ्नो शेयर दाखिल खारेजको काम बन्द गर्ने भएकोले ९ गतेसम्म शेयर कायम रहेका शेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । बैंकको साधारणसभामा सञ्चालक निर्वाचन गर्ने एजेन्डा भने छैन ।

सिटिजन लाइफले ७५ करोडको आईपीओ ल्याउने

काठमाडौं । नयाँ बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी चुक्तापुँजी भएको सिटिजन लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ । सो प्रयोजनका लागि सिटिजनले वार्षिक साधारणसभा समेत बोलाएको छ । सिटिजनले असोज २९ गते ललितपुरको होटेल हिमालयनमा दिउँसो ३ बजे बस्नेगरी उक्त साधारणसभा बोलाएको हो । साधारणसभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै एकजना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा समेत छ । हाल १ अर्ब ७५ करोड चुक्तापुँजी भएको सिटिजनले अब ७५ करोड रुपैंया बराबरका ७५ लाख कित्ता साधारण शेयर जारी गरेर चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैंया पुर्याउनेछ । सिटिजन लाइफले अघिल्लो आवको अन्त्यसम्म १ लाख बीमितबाट १ अर्ब १६ करोड रुपैंया कुल बीमाशुल्क संकलन गरेको छ । हाल सिटिजनले देशभरका ८० स्थानहरुमा रहेका शाखाहरुमार्फत् आफ्नो सेवा प्रदान गर्दै आएको छ । हाल सिटिजनले विभिन्न ९ ओटा योजनाहरुमार्फत् आफ्ना बीमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ जसमा २० ओटा घातक रोगहरुको बीमाको व्यवस्था रहेको छ ।

चिनी आयातमा ५० प्रतिशत कर छुट, दशैंअघि बीस हजार मेट्रिक टन भित्र्याउने ठेक्का २ कम्पनीलाई

काठमाडाै । सरकारले चाडबाडको समयमा उपभोक्ताको मागलाई हेरेर चिनीको अभाव हुन नदिन सरकारी कम्पनीमार्फत २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । भदौ अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई १०/१० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी अयात गर्न स्वीकृति दिएको हो । चाडपर्वको समयमा व्यापारीले चिनीको कृत्रिम अभाव देखाइ मूल्यवृद्धि गर्नसक्ने भन्दै सरकारले बजारमा हस्तक्षेप गर्न सरकारी कम्पनीमार्फत चिनी आयात गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । बैठकले नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरावलोकनसम्बन्धी तेस्रो बैठकमा सहभागिताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा नौ सदस्यीय वार्ता टोली गठन गरेको छ । मेलम्ची खानेपानी आयोजनाका श्रमिकको बाँकी ज्याला सम्बन्धित ठेकेदारबाट असुल गरी हिसाब मिलान गर्ने गरी राहतस्वरुप भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरिएको छ । बैठकले नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले अधिग्रहण गरेको जग्गामध्ये साविक बलम्बु गाविस वडा नं ६ (क) को अधिग्रहण भएको कित्ता नं १०१२ को बाँकी रहेको एक आना दुई पैसा दुई दाम क्षेत्रफल जग्गासमेत अधिग्रहण गरी क्षतिपूर्ति प्रदान गर्न स्वीकृति दिएको छ । दुई सय ८२ को कैद मिनाहा सरकारले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम विभिन्न अपराधमा कैद सजाय भुक्तान गरिरहेका २८२ को कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । कैद भुक्तान गरिरहेका भीमबहादुर शेर्पालगायत कैदीको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बाँकी कैद तथा सजाय माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए । बैठकले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज राति १२ बजेदेखि सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रिपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । यसैगरी संविधान दिवसका दिन हनुमान ढोका दरबार सङ्ग्रहालय, पाटन सङ्ग्रहालय र राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरमा प्रवेश निःशुल्क गर्ने निर्णय गरेको छ । अधिकारी सहायक रथीमा बढुवा सरकारले नेपाली सेनाका महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ । उनी तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका थिए । सहायक रथीको विशेष पद (चार वर्षका लागि) सिर्जना गरी अधिकारीलाई पदोन्नति गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए । यसैगरी प्राविधिक प्रमुख सेनानीद्वय बानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा मध्यनेपाल नगरपालिका–१, लमजुङका प्रा डा श्रीकृष्ण गिरीलाई नियुक्त गर्ने निर्णय गरिएको छ । बैठकले नेपाल प्रशासन सेवा समूहीकरण (क्लस्टर) तर्फका राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा कायममुकायम प्रमुख सचिव तोयम रायलाई बढुवा गरी ३ नं प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल इञ्जिनीयरिङ सेवाको समूहीकरण (क्लस्टर)तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा प्रथम श्रेणीका अधिकृत शिवहरि शर्मालाई बढुवा गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सचिव पदमा पदस्थापन गरिएको छ । बैठकले अतिरिक्त समूहमा रहेका राजपत्राङ्कित विशिष्ट श्रेणीका ऋषिराम शर्मालाई राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख अधिकृत र रवीन्द्रनाथ श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव (सिँचाइ) मा सरुवा गरेको छ । बैठकले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयअन्तर्गत आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०७६÷०७७ का लागि ४९ राजपत्राङ्कित अधिकृतको अस्थायी दरबन्दी सिर्जना गरेको छ । चालू आवकै लागि बालसुधार गृह र राष्ट्रिय बाल अधिकार परिषद्तर्फ शाखा अधिकृतको छ वटा अस्थायी दरबन्दी स्वीकृत गरेको छ । जसअन्तर्गत बाल सुधार गृहहरु रुपन्देही, मकवानपुर, डोटी र पर्साका लागि राजपत्राङ्कित तृतीय श्रेणीका चार र परिषद्तर्फ कर्यक्रम अधिकृत एक र बाल संरक्षण अधिकृत एक दरबन्दी स्वीकृत गरिएको हो । बैठकले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ आँखा उपचारमा अतुलनीय योगदान गर्नुभएको डा सन्दुक रुइतलाई रु पाँच लाख र ‘राष्ट्रिय प्रतिभा अनुदान सहयोग’ रदी मियाँ र विकल्प ढुङ्गानालाई जनही रु दुई लाख ५० हजार प्रदान गर्ने निर्णयसमेत गरेको छ । बैठकले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७६ र तेह्रौँ दक्षिण एशियाली खेलकूद २०१९ आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७६ स्वीकृत गरेको छ । यस्तै राष्ट्रिय विज्ञान प्रविधि तथा वनप्रवर्तन नीति, २०७६ स्वीकृत गरिएको छ । रेल्वे ऐन, २०७६ र योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७६ को मस्यौदा विधेयकलाई सङ्घीय संसद्को बैठकमा पेश गर्न स्वीकृति दिइएको छ । यसैगरी नीति अनुसन्धान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । यसैगरी दक्षिण एशियाली महिला विकास मञ्चको पाँचाैंअन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलनका लागि रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । यही असोज २२ र २३ गते नेदरल्याण्डको आइन्डहोबेन शहरमा हुने ‘म्याप एक्स्पो २०१९’ र आगामी फागुन २ देखि ५ गतेसम्म जर्मनीमा न्युरेम्बर्ग शहरमा आयोजना हुने ‘बायोफ्याच–२०२०’ मेलामा सहभागिता जनाइ नेपाली प्रशोधित जडीबुटी, मसला र कृषिजन्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसाद तथा प्रवद्र्धन गर्न वन तथा वातावरण मन्त्रालयको सिफारिसमा सहभागी हुने उद्योगी व्यवसायीको स्टल व्यवस्थापनका लागि मात्र आवश्यक पर्ने ६६ हजार ८५५ यूरो उपलब्ध गराउने निर्णय गरेको छ ।  रासस

दशैंको लागि नयाँ नोट असोज १० गतेदेखि खुला, सबै प्रकारका बैंक/फाइनान्समा पाइने

काठमाडौं । बडा दशैंको अवसरमा नेपाल राष्ट्र बैंकले बाँढ्ने नयाँ नोट असोज १० गतेदेखि १७ गतेसम्म लिन पाइने भएको छ । राष्ट्र बैंकले रु.५, रु.१०, रु.२०, रु ५० र रु १०० दरका एक÷एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार १०० रुपैयाँ नयाँ नोट सटही दिने जनाएको छ । नयाँ नोट सबै वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाबाट साट्न सकिने राष्ट्र बैंकका प्रबक्ता लक्ष्म प्रपन्न निरौलाले जानकारी दिए । ‘जसको बैंक खाता जहाँ छ, त्यहीबाट नयाँ तथा सुकिला नोट सटही गर्न सकिन्छ’ विहीबार राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकका सबै कार्यालयहरु र राष्ट्र बैंकले तोकेका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक निश्चित शाखाबाट सर्बसाधारण जो कोहीले पनि नयाँ तथा सुकिला नोट सटही गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । सर्वसाधारणले नेपाल बैंक लिमिटेडको न्यूरोड, कीर्तिपूर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट लिन सक्ने छन् । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरवार, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट नयाँ नोट लिन सकिनेछ । त्यस्तै, कृषि विकास बैंकको गौशला, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाहरुबाट नयाँ नोट लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

नागरिक लगानी कोषले सार्वजनिक गर्यो नागरिक बचत बृद्धि कार्यक्रम

काठमाडौँ । नागरिक लगानी कोषले निश्चित अवधि पछि ‘पे एज यू गो’ को आधारमा पेन्सन योजनामा रुपान्तरण गर्ने प्रावधान सहितको नागरिक बचत बृद्धि कार्यक्रम सार्वजनिक गरेको छ । संबिधान दिवस २०७६ को अवसरमा शहीद परिवार सम्मान कार्यक्रममा बिहीबार कोषद्वारा प्रवद्र्धित नयाँ योजना सार्वजनिक गरेको हो । कोषमा सर्वसाधारण जनतालाई समेट्ने कुनै कार्यक्रम नरहेको र लामो समय देखि कोषले कुनै पनि नयाँ कार्यक्रम नल्याएको सन्दर्भमा सर्वसाधारणलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूति दिन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले नयाँ योजना ल्याएको जनाइएको छ । कार्यक्रमले नियमित वा निश्चित समयमा मात्र आय आर्जन गर्ने आम नागरिकलाई समेट्ने छ । गैर आवाशिय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, प्रचलित कानुन बमोजिम दर्ता भएको प्रतिष्ठान र सो प्रतिष्ठानमा कार्य गर्ने कामदार श्रमिकहरु, स्वरोजगारमा रहेका सर्वसाधरणलाई पनि यस कार्यक्रमले समेटने छ । यसमा न्यूनतम मासिक रु ५००।– देखी क्षमता अनुसार अधिकतम रकम जम्मा गर्न सकिने प्रावधान राखिएको छ । साथै, यस कार्यक्रममा सहभागीहरुले एकमुष्ठ वा अनुकुलता अनुसार पटक पटक गरेर पनि बचत गर्न सक्ने ब्यवस्था गरिएको कोषले जनाएको छ । योजनामा सहभागी भई २ वर्षसम्म नियमित बचत गरे पश्चात बचतकर्तालाई जम्मा रकमको ८० प्रतिशत सम्म सहभागी सापटी उपलब्ध गराइने छ भने २ वर्ष सम्म बचत गर्ने बचतकर्ताहरुलाई धितोमा आधारित आवास, सरल एवं शिक्षा कर्जा जस्ता कोषले प्रवाह गर्ने कर्जा सुविधाहरु उपलब्ध गराइने जनाइएको छ । यसका अतिरिक्त सहभागीहरलाई निश्चित मापदण्डको आधारमा दुर्घटना बीमा, औषधी उपचार बीमा, मृत्यु संस्कार खर्च र सुत्केरी खर्च जस्ता समाजिक सुरक्षाका सुविधाहरु समेत समावेश गरिने छ । यस कार्यक्रममा कोषले समय समयमा निर्धारण गरेको ब्याजको अलवा थप प्रतिफलको समेत ब्यवस्था गरेको छ । योजनामा संकलित रकम राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानी गर्दा बचतकर्तालाई सहभागी गराउने ब्यवस्था मिलाईने छ । निजी अस्पतालहरुसंग समझदारी गरेर यस कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुलाई औषधीउपचार गर्दा विशेष छुटको ब्यवस्था समेत गरिने बताइएको छ । आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पूँजी वृद्धिका साथै लगानीका अवसरहरु बढाउन तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने प्रमुख उद्देश्य राखेर नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, राष्ट्रिय बीमा संस्थान, अन्य बैंक तथा वित्तीय संस्थाहरु र सर्वसाधारण जनताको समेत शेयर लगानीमा २०४७ सालमा स्थापना भई नागरिक लगानी कोषले आफ्नो क्रियाकलापहरु सञ्चालन गर्दै आईरहेको छ । कोषले हाल कर्मचारी बचत वृद्धि, नागरिक एकांक योजना, उपदान कोष योजना, लगानीकर्ता हिसाब योजना लगायतका विभिन्न बीमा कोषहरु समेत गरी कुल ११ ओटा योजनाहरु प्रभावकारी रुपमा व्यवस्थापन गर्दै आइरहेको छ । २०७६ असार मसान्त सम्ममा कोषले कुल रु.१३१ अर्ब बचत परिचालन गरिरहेको जनाएको छ ।