दशैँ अघिनै सातै प्रदेशमा नेपाल टेलिकमको फोरजी सेवा, तयारी अन्तिम चरणमा
काठमाडौ । नेपाल टेलिकमले देशका सातैवटा प्रदेशका विभिन्न शहरहरुमा फोर जी सेवा बिस्तार गर्ने अन्तिम तयारी गरेको छ । हाल काठमाडौँ र पोखरामा मात्रै फोर जी सेवा संचालन गर्दै आएकोमा टेलिकमले यसलाई देशभरका प्रमुख शहरहरुमा बिस्तार गर्न लागेको हो । एनटीसीले सो सेवा दशैँ अघि नै शुरु गर्ने गरी तयारी गरिरहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । टेलिकमले यसअघि नै फोर जी सेवा बिस्तार गर्ने योजना बनाएको भएपनि सार्वजनिक खरिद ऐनमा रहेको टेण्डर प्रक्रिया सम्बन्धी व्यवस्थाले सो कार्यमा ढिलाई हुँदै आएको थियो । उच्च गतिको इन्टरनेट र भ्वाइस कलको सुविधा रहेको उक्त सेवा बिस्तारका लागि विराटनगर, विर्तामोड, ईटहरी, जनकपुर, पोखरा, बाग्लुङ्ग, पाल्पा, सुर्खेत, नेपालगञ्ज, वीरगञ्ज र काठमाडौँमा समेत एफटीटीएच नेटवर्क निर्माणको काम सकिएको टेलिकमले जनाएको छ । टेलिकमले हाल काठमाडौँ र पोखरामा प्रदान गर्दै आएको फोर जी सेवामा इन्टरनेट मात्रै रहेकाले अब भने भ्वाइस कल सेवा समेत उपलब्ध गराउने तयारी गरेको छ । के हो फोर जी ? फोर जी उच्च गतिको ब्रोर्डव्याण्ड नेटवर्क प्रविधि हो । सो प्रविधिमा यस अघिको टु जी वा थ्री जीको भन्दा १० गुणा छिटो इन्टरनेट चल्छ । फो जी सेवा बिस्तार भएपनि टु जी र थ्री जी सेवा समेत एथावत रहने टेलिकमले जनाएको छ । फोर जी सेवा प्राप्त गर्न भने ग्राहकले नयाँ सिम लिनु पर्ने र फोर जी नेटवर्क सर्पोट गर्नुपर्ने मोवाईल हुनुपर्छ । ठूला भवनहरुले फोर जीको नेटवर्क सिग्नललाई अवरोध नगर्ने टेलिकमले जानकारी दिएको छ । सोही कारण फोर जी ग्राहकहरुको रोजाइमा पर्ने टेलिकमको बुझाई रहेको छ ।
संविधान दिवसको अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षबाट शुभकामना
काठमाडौं । संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै नेपाल सरकार, नेपाली जनताका साथै राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् । संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति चो रोङ हे, अरब गणतन्त्र, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र म्यान्माका राष्ट्रपति विनमिन्टले राष्ट्रपति भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गरेका हुन् । रासस
अब राति मात्र चल्ने भयाे ठूला तथा मालवाहक सवारीसाधन
धादिङ । दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबेँसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो । सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताएका छन् । त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडक खण्ड १२ किलोमिटरलाई ग्यास बुलेट, लामा भारी सामान बोकेका गाडी र टिप्परलाई राति नौ बजेपछि मात्र खानीखोलाबाट काठमाडौं जान दिने योजना बनाइएको छ । उक्त सडकमा एक हजारभन्दा बढी टिप्पर सञ्चालन हुँदै आएका छन् । जाम कम गराउन खानीखोलाबाट दिउँसोको समयमा टिप्परको प्रवेशमा रोक लगाइने भएको हो । बाटो साँघुरो भएकाले नौबिसे–नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ । ट्राफिक प्रहरी परिचालन गरी सडक खुला गरिने प्रजिअ तामाङले बताए । उक्त क्षेत्रमा गत वर्ष मर्मत गरिएको सडक पूरै भत्किएको छ । साँघुरो सडकलाई तत्काल चौडा बनाउन नसकिए पनि जाममुक्त बनाउन सकिने धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य बताउँछन् । कार्यक्रममा देवीदत्त गणका प्रमुख सेनानी सुदीप बानियाँ, प्रहरी उपरीक्षक राजकुमार बैदवार, प्रहरी उपरीक्षक प्रकाश रानाभाट, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक मकुन्द मरहठ्ठालगायत उपस्थित थिए । रासस
एनआईसी एशियाले थप तीन सहायक कम्पनी खोल्ने, सुन र रेमिट्यान्स कारोबारमा आक्रामक बन्दै
काठमाडौं । एनआईसी एशिया बैंकले थप तीन सहायक कम्पनी खोल्ने भएको छ । यूनिभर्सल बैकिङ अवधारणा अनुरुप बैंकले प्रदान गरिरहेको बैकिङ सेवा सुविधालाई थप वृहत बनाउन एवं परिष्कृत सेवा प्रदान गर्नको लागि सहायक कम्पनीहरु खोल्न लागेको बैंकले जनाएको छ । बैंकले विप्रेषण (रेमिट्यान्स) कारोबार गर्न, सुनचाँदी धितोमा राखी कर्जा प्रवाह गर्न र क्रेडिट रेटिङ सेवा सञ्चालन गर्न सहायक कम्पनी खोल्न लागेको हो । यसअघि बैंकले एनआईसी एशिया क्यापिटल नामको सहायक कम्पनी खोली पुँजी बजारसम्बन्धि विविध काम गर्दै आएको छ । सहायक कम्पनी दुई मोडलबाट खोल्न राष्ट्र बैंकसँग प्रस्ताव गर्ने र राष्ट्र बैंकको स्वीकृतिको आधारमा कम्पनी खोल्ने बैंकले प्रष्ट पारेको छ । ‘कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानीमा पनि यस्ता सहायक कम्पनी खोल्न सक्छौं । बैंकको मात्र लगानीमा पनि सहायक कम्पनी खोल्न सक्छौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बताए । सहायक कम्पनी खोल्न सम्बन्धि प्रस्ताव आगामी साधारणसभाबाट पेस गरिने र साधारणसभाले अनुमोदन गरेपछि तत्काल कार्यान्वयनमा लैजाने बैंकले जनाएको छ । सहायक कम्पनी सञ्चालनसँगै रेमिट्यान्स र सुन कारोबारमा बैंक आक्रामक बन्ने भएको छ । बैंकले असोज १० गते साधारणसभा गर्दैछ । साधारणसभामा सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने मुख्य प्रस्ताव छ । त्यसमा ११ प्रतिशत नगद लाभांश दिने र १० प्रतिशत बोनस सेयर दिने बैंकको प्रस्ताव छ ।
विप्लव समूहद्वारा कार्यालयमा बम विस्फोट
अछाम । नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिएका हो । विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए । तार जोडेर करिब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ । प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ । नगरपालिका कार्यालयको ढोका नजिक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताएका छन् । यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्ष्य गरी उनको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो । नगरपालिका कार्यालयमै बम विस्फोट भए पछि कर्मचारी त्रसित बनेका छन् । रासस
भाटभटेनीले प्रहरी प्रभाव कोटेश्वरलाई उपलब्ध गरायो सीसी क्यामरा
काठमाडौँ । भाटभटेनी सुपर मार्केटले काठमाडौँ प्रहरी परिसरलाई अत्याधुनिक पीटीजेड र फोरके क्यामरा उपलब्ध गराएको छ । भाटभटेनी सुपरमार्केटका निर्देशक कल्याण गुरुङले ती क्यामरा हस्तान्तरण गरेका हुन् । भाटभटेनीले उपलब्ध गराएको क्यामरा मध्ये नौ लाख बराबरको ९ वटा क्यामरा प्रहरी प्रभाग कोटेश्वरलाई उपलब्ध गराइएको छ । ती क्यामरा बिगटेक अफिस सिस्टमले प्रहरीसँगको समन्वयमा जडान गरेको छ । बिगटेक अफिस सिस्टमका चेयरम्यान हरिराम रिमालका अनुसार कोटेश्वरदेखि पेप्सीकोटातर्फ काठमाडौँ महानगर ३२ नम्बर वडा कार्यालयसम्म, काटेश्वरदेखि तीनकुने चोकसम्म र कोटेश्वर देखि बालकुमारी पुलसम्म अत्याधुनिक सीसी क्यामरा जडान गरिएको छ । सीसी क्यामरा जडानपछि सवारी दुर्घटना न्यूनीकरण र घटनाको अनुसन्धानमा प्रहरीलाई सहज हुने काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जनाएका छन् ।
वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’
काठमाडौं। वरिष्ठ आँखा रोग बिशेषज्ञ डा. सन्दुक राइतलाई सरकारले प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने भएको छ। सरकारले डा. राइतलाई पाँच लाख राशिको प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्ने जानकारी दिएका हुन्। २००६ मा म्यागसेस पुरस्कारबाट सम्मानित डा. सन्दुक रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुन्। आफ्न हातले एक लाख भन्दा बढी मानिसको आँखाको शल्यकृया गरिसकेका डा. रुईत विश्वोविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापध्दति ‘रुईतेक्टोमी’का सुरुवातकर्ता पनि हुन।
राष्ट्रिय दिवसमा ६३१ जना सम्मानित हुँदै, को को छन् चर्चित अनुहार ?
काठमाडौं । सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा विभिन्न विधाका ६३१ जनालाई सम्मान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजसेवी, कर्मचारी, व्यवसायी, साहित्यकार, कलाकार, पत्रकार लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुलाई विभिन्न मानपदवी, अलंकार र पदकद्धारा विभुषित गर्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सूचीमा सबैभन्दा ठूलो महाउज्जवल राष्ट्रदीप पदकबाट साहित्यकार मदनमणि दीक्षित र तात्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई विभूषित गर्ने घोषणा गरेको छ । दीक्षितको केही समय अघिमात्रै निधन भएको हो भने अधिकारीको हेलिकोप्टर दुर्घटनामा गत बैशाखमा निधन भएको थियो । त्यस्तै, प्रथम श्रेणीकै सुप्रसिद्ध प्रवल जनसेवाश्री पदकबाट प्रा.डा. दिब्यासिंह शाह, तात्कालिन पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा लगायतका ७ जना छन् । यो वर्ष उद्योगी व्यवसायीको तर्फबाट अशोककुमार अग्रवाल, चन्द्रप्रसाद ढकाल र भवानी राणा सम्मानित हुने भएका छन् । अग्रवाल विशाल ग्रुपका प्रबन्ध निर्देशक हुन् भने चन्द्र ढकाल आईएमई ग्रुपका अध्यक्ष हुन् । त्यस्तै, राणा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष हुन् । यी तीनै जनालाई कीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गरिने भएको हो । सो पदकबाट उनीहरुसहित अन्य ७ जना सम्मानित हुने भएका छन् । त्यस्तै नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारी, एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने पनि सम्मानित हुने भएका छन् । अधिकारी सुप्रबल जनसेवाश्री तथा न्यौपानेले प्रबल जनसेवाश्री पदकबाट सम्मानित हुने भएका हुन् ।