हुलाकी राजमार्ग निर्माण शुरु, अनुमानित लागत ६९ करोड
तुलसीपुर । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडक निर्माणको बाँकी काम शुरु भएको छ । बजार क्षेत्रमा निर्माण भएका संरचनाले गर्दा रोकिएको थियो । अहिले गढवा बजारको मुुख्य चौराहामा साविक गढवा गाविसले तयार गरेका व्यापारिक संरचना हटाउन शुरु गरिएको छ । लमही–कोइलावास सडक कालोपत्रे गर्ने कार्यलाई सहज बनाउन गाउँपालिकाका ११ वटा संरचना हटाइएको गढवा गाउँपालिका–६ का अध्यक्ष बालचन्द्र ठकुरी हमालले बताएका छन् । “यसअघि ती संरचनाले गर्दा सडक निर्माणको कार्य अघि बढ्न सकेको थिएन”, उनले भन, “तर अहिले यी संरचना हटाउन थालिएको छ ।” योसँगै लमही–कोइलावास सडकखण्डमा मुुआब्जा बुुझेर पनि संरचना भत्काउन आनाकानी गरेकाको संरचना भत्काइने भएको छ । निर्धारित समयसम्म अटेरी गरी संरचना नहटाएमा गाउँपालिकाले डोजर लगाएरै भए पनि हटाउने उनको भनाइ छ । यसअघि गाउँपालिकाको आह्वानमा भएको सर्वपक्षीय सर्वदलीय बैठकको सुुझावबमोजिम संरचना हटाउने निर्णय भएको उनको भनाइ छ । पुुराना व्यवसायीलाई तत्काल सडक निर्माण कार्यलाई सहज बनाउन आह्वान गरी नयाँ निर्माण गरिएका ११ वटा सटरमा आउँदो असार मसान्तसम्मका लागि स्थानान्तरण गरी गाउँपालिकाका संरचना भत्काइएको वडाध्यक्ष हमालले जानकारी दिएका छन् । साढे दुई महिनामा कालोपत्रेको काम सक्नुपर्ने भए पनि २६ महिनासम्ममा आधा काम पनि हुन सकेको छैन । इञ्जिनीयर मुकेशकुमार शाहका अनुसार ३३ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने छ । मुआब्जा वितरणमा ढिलाइ हुनु, विद्युत्, टेलिकमका पोल नहटाउनुजस्ता कारणले कामले गति लिन नसकेको उनको भनाइ छ । हुलाकी राजमार्गअन्तर्गत दाङ खण्डको ३३ किलोमिटर सडक कालोपत्रे गर्न करिब रु ६९ करोड बजेट लाग्ने अनुमान गरिएको छ । कालीका कुमार जेभीले निर्माणको जिम्मा लिएको छ । हुलाकी सडकको चौडाइ सात मिटर हुने छ । रासस
सानिमा बैंकको एजीएम असोज २९ गते, ‘मर्जर वा प्राप्ति सम्बन्धी अधिकार सञ्चालक समितिलाई दिन प्रस्ताव’
काठमाडौँ । सानिमा बैंक लिमिटेडको १५ औँ वार्षिक साधारण सभा(एजीएम) असोज २९ गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले नक्साल ब्याङ्केट नारायणचौर काठमाडौँमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ११.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर स्वीकृत गर्ने जनाइएको छ । बोनस सेयर बितरणपछि हाल कायम चुक्ता पूँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँबाट बृद्धि भई ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्नेछ । साथै साधारण सभाले कुनै बैंक तथा वित्तीय संस्थाहरु प्राप्ती वा मर्जर गर्न आवश्यक सहमति/सम्झौता गर्ने लगायत सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ । वार्षिक साधारण सभा प्रयोजनको लागि असोज १३ गते १ दिन बैंकको सेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गर्ने निर्णय गरिएको कम्पनी सचिव रुद्रप्रसाद बञ्जाराले जनाएका छन् ।
तराई, मधेश समृद्धि कार्यक्रमका लागि तीन करोड विनियोजन
सुरुङगा । सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका विपन्न परिवारका लागि आवाससहितका कार्यक्रम सञ्चालन गर्न रु दुई करोड २५ लाख बजेट विनियोजन गरेको छ । मार्फत विपन्न आवास कार्यक्रमसहित अन्य विभिन्न सामाजिक कामका लागि रु दुई करोड २५ लाख बजेट विनियोजन गरेको सङ्घीय सांसद पवित्रा निरौला खरेलले जानकारी दिएका छन् । उनका अनुसार तराई, मधेश समृद्धि कार्यक्रमअन्तर्गत बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकासँग समन्वय गर्दै यहाँका विपन्न समुदायका लागि आवास निर्माण गरिने भएको छ भने बुद्धशान्ति गाउँपालिकामा सामुदायिक भवन, कनकाई नगरपालिकामा कोच राजवंशीको अधुरो सामुदायिक भवन निर्माणमा रकम खर्च गरिने भएको छ । बिर्तामोड नगरपालिका६, ७, ८ र ९ मा रहेका पछाडि परेका समुदाय र विपन्न परिवारका लागि सङ्घीय सरकारबाट रु ७५ लाख बजेट विनियोजन भएको छ भने अर्जुनधारा–३ मा रहेका विपन्न परिवारका लागि आवास निर्माण गर्न रु ६० लाख बजेट विनियोजन भएको छ । विपन्न आवास कार्यक्रम सञ्चालनका लागि अर्जुनधारा नगरपालिकाले रु १५ लाख प्रदान गर्ने र बिर्तामोड नगरपालिकाले रु नौ लाख प्रदान गर्ने सहमति भएको बताइएको छ । अर्जुनधारा नगरपालिकामा विपन्न कार्यक्रम आवासका लागि चालू आर्थिक वर्षमा रु ७५ लाख र बिर्तामोड नगरपालिकामा रु ८४ लाख खर्च हुने बताइएको छ । त्यस्तै बुद्धशान्ति गाउँपालिका–२ मा सामुदायिक भवन निर्माणका लागि केन्द्रीय अनुदान रु ३० लाख र स्थानीय तहबाट रु पाँच लाख गरी ३५ लाख बजेट प्राप्त भएको छ । त्यसैगरी, जगदिश्वर शिव पाञ्चायन मन्दिर बहुउपयोगी सामुदायिक भवन निर्माणका लागि सङ्घीय सरकारबाट रु ३० लाख बजेट विनियोजन भएको छ । यो सामुदायिक भवन गाउँपालिकाको वडा नं २ मै रहेको छ । यसका लागि गाउँपालिकाले रु पाँच लाख थप बजेट प्रदान गर्ने बताइएको छ । यता कनकाई नगरपालिका–९मा रहेको कोच राजवंशी सामुदायिक भवन निर्माणका लागि सङ्घीय सरकारले रु ३० लाख बजेट विनियोजन गरेको र कनकाई नगरपालिकाले रु तीन लाख बजेट प्रदान गरेको प्रतिनिधिसभा सदस्य खरेलका स्वकीय सचिव लीला आचार्यले जानकारी दिएका छन् । आचार्यका अनुसार तराई, मधेश समृद्धि कार्यक्रमका लागि सङ्घीय सरकारबाट रु दुई करोड २५ लाख, स्थानीय तहबाट रु ३७ लाख गरी दुई करोड ६२ लाख झापा क्षेत्र नं २ लाई मात्रै बजेट विनियोजन भएको हो । रासस
‘रेष्टुराँ एण्ड बार एशोसिएशन’द्वारा मिनीसडक महोत्सव असोज १० मा हुने
पोखरा । विश्व पर्यटन दिवसका अवसरमा असोज १० गते ‘रेष्टुराँ एण्ड बार एशोसिएशन’ (रेवान)ले मिनी सडक महोत्सवको आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष विश्वभरि २७ सेप्टेम्बरमा मनाइने सो दिवसको अवसरमा ‘पर्यटन र रोजगार सबैका लागि राम्रो भविष्य’ भन्ने मूल नारालाई आत्मसात् गर्दै यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ यहाँ सो दिवस मनाउन लागिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्देश्यले पर्यटन दिवसको उपलक्ष्यमा फिस्टेलगेटदेखि बाराहीचोकसम्म लेकसाइडमा बेलुका ५ः०० बजेबाट राति अबेरसम्म एकदिने महोत्सव गरिने मिनी सडक महोत्सवका संयोजक सूर्यबहादुर भुजेलले बताएका छन् । महोत्सवको मुख्य आकर्षणअन्तर्गत सडकमै विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय खानाको परिकार, नेपालका विभिन्न जातीय र धार्मिक संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम, साहसिक खेलकूद तथा पर्यटकीय आकर्षण वृतचित्रको प्रदर्शनी, लाइभ व्याण्ड, पञ्चेबाजाका साथै गन्दर्भ गायन र सडकमै मनोरञ्जनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ । पर्यटन प्रबर्धनमा सूचना प्रविधि र सञ्चारको क्षेत्रमा भएको अभूतपूर्व विकासको माध्यमबाट नेपालमा रहेको सम्पदालाई विश्वसामु प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गरी आय र रोजगारीका अवसरमा अभिवृद्धि गर्ने प्रचुर सम्भावना रहेकोले सो अवसरलाई सदुपयोग गरिने बताइएको छ । रासस
माइती घर मण्डलामा कृषि विकास बैंकले गर्यो बृक्षारोपण
काठमाडौँ । सप्ताहव्यापी संविधान दिवस मनाउने क्रममा शनिबार कृषि विकास बैंक लि.ले माइतीघर मण्डलामा बृक्षारोपण गरेको छ । प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा माईतिघर मण्डलाको चौरीमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको हो । सो कार्यक्रमका बैंकका कामु उपमहाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, बैंकका विभागीय प्रमुखहरु प्रेमकुमार श्रेष्ठ, पप्पुबाबु , कृष्ण नकर्मी, प्रकाश कँडेल, निर्मलराज कोईराला, विना शर्मा, सरोज साह, बैंकका प्रबक्ता हिमलाल पौडेल, शाखा प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।
गुहेश्वरी मर्चेण्डद्वारा विद्यालयलाई २ थान कम्प्युटर प्रदान
काठमाडौँ । संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको कार्यालयमा दिपावली सहित अतिरिक्त कार्यक्रम गरिएको छ । साथै, संस्थाको चाबहिल शाखा कार्यालयको समन्वयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा कामनपा वडा नं. ८, काठमाडौंमा रहेको सारदा आधारभूत विद्यालयलाई २ थान कम्प्युटर प्रदान गरिएको जनाइएको छ ।
बेइजिङकाे अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनीमा मनाइयाे नेपाल राष्ट्रिय दिवस
काठमाडौं । बेइजिङमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ मा आज नेपाल राष्ट्रिय दिवस मनाइयो । सो कार्यक्रमको आयोजना नेपाली राजदूतावास बेइजिङ, अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ आयोजक समिति तथा नेपालको इम्प्लिमेन्टिङ एक्सपोर्ट ग्रुप (आइजी) को संयुक्त तत्वावधानमा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै चीनका लागि नेपाली राजदूत महामहिम लीलामणि पौड्यालले पृथ्वीको कुल भूभागमध्ये सानो अंशमात्र ओगट्ने भएपनि नेपालमा जैविक विविधताको विपुल सम्पदा रहेको उल्लेख गर्दे यस प्रदर्शनीस्थलमा नेपालको सहभागिताको विशेष महत्त्व रहेको बताएका छन् । राजदूत श्री पौड्यालले नेपालको अनुपम साँस्कृतिक, प्राकृतिक र ऐतिहासिक विशेषताको चर्चा गर्दै आगामी वर्ष मनाइने नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमण गर्न चिनियाँ जनतालाई आमन्त्रण गरे । अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी बेइजिङ २०१९ का प्रमुख इन्जिनियर झङ लनियनले यस विश्वकै हालसम्मको विशालतम वागवानी प्रदर्शनीमा लुम्बिनी शान्ति बाटिका नामक नेपाल पभिलियनको विशेष स्थान रहेको उल्लेख गर्दै यस प्रदर्शनी अवधिभरि नेपालको सक्रिय सहभागिताको सराहना गरेका छन् । प्रदर्शनीका आयोजक एवम् विभिन्न देशका प्रदर्शकहरु, विदेशी कूटनीतिक प्रतिनिधिहरु, बेइजिङस्थित नेपाली समुदाय तथा चिनियाँ सर्वसाधारण सहित् २५० सय जना भन्दा बढी सहभागी रहेको सो कार्यक्रममा कुमारी स्वागत नृत्यका साथै विविध नेपाली नृत्यसहितको साँस्कृतिक कार्यक्रम एवम् नेपाली खानाको व्यवस्था गरिएको थियो । प्रदर्शनीस्थलमा रहेको लुम्बिनी शान्ति बाटिका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले २८ अप्रिल २०१९ मा उद्घाटन गरेका थिए । सो प्रदर्शनी अक्टोबर २०१९ सम्म जारी रहनेछ ।
इलेक्ट्रिक बाइक रिभ्यू : भिमोटो सुपर सोको टिसि
काठमाडौं । ६० भोल्टको लिथियम आयन ब्याट्री प्रयोग भएको भिमोटोको सुपरसोको टिसिले फूल चार्जमा १ सय किलोमिटरसम्मको रेञ्ज दिन्छ भनी कम्पनीले दावी गरेको छ । मतलव, ब्याट्री फूल चार्ज गरिएको छ भने १ सय किलोमिटरसम्म आरामका साथ बाइक चलाउन सकिन्छ । बाइकमा २ ओटा ब्याट्रीका लागि स्पेस भएको हुनाले एउटा ब्याट्रीको चार्ज सकिएमा अर्को ब्याट्री हालेर पनि आफ्नो यात्रालाई निरन्तरता दिन सकिन्छ । यस बाइकमा स्मार्ट फिचरको रुपमा कि–लेस लकिङ्ग सिस्टम दिइएको छ । मतलव बाइकलाई अन वा अफ गर्नका लागि यसमा चाविको सट्टा रिमोटको प्रयोग हुन्छ ।ह्याण्डलमा भएका स्पिड स्विचहरुले बाइकको राइडिङ्ग मोड निर्धारण गर्छन् । फस्र्ट मोडमा बाइकले थोरै स्पिड र धेरै रेञ्ज, सेकेण्ड मोडमा अलि बढि स्पिड तर केहि कम रेञ्ज र त्यसैगरी थर्ड मोडमा चाहिँ सबैभन्दा धेरै स्पिड तर थोरै रेञ्ज दिन्छ । साे बाइकमा आफूलाई सजिलो हुने गरी एड्जस्ट गर्न मिल्ने पेडलहरु छन् । त्यसैगरी यसको सस्पेन्सनको कुरा गर्नु पर्दा अगाडि अपसाइड डाउनफर्क र पछाडि भने मोनोसक दिइएको छ । यी सफ्टर सस्पेन्सनहरुले खाल्डाखुल्डी बाटोहरुमा पनि चालकलाई केहि हदसम्म राहत दिन्छ । यस बाइकको दुवै चक्काहरुमा डुअल पिस्टन डिस्क ब्रेक दिइएका छन् भने अझ छोटो ब्रेकिङ्ग डिस्टेन्सका लागि सिबिएस युनिट पनि दिइएको छ । यसमा प्रयोग भएको मोटर एउटा प्रख्यात जर्मन ब्राण्ड ‘बश’ ले म्यान्युफ्याक्चर गरेको इलेक्ट्रिक हबमोटर हो । यसले ३ हजार वाटको पावर र त्यसैगरी १ सय ५० एनएमको टर्क प्रोड्यूस गर्दछ । लब्याट्री चार्जको कुरा गर्नुपर्दा पार्क गर्ने ठाउँमा सकेट भएमा बाइकलाई नै सिधै चार्ज गर्न सकिन्छ । तर सकेट नभएको खण्डमा चाहिँ ब्याट्रीलाई निकालेर छुट्टै चार्ज पनि गर्न सकिन्छ । कम्पनीको दावी अनुसार यस बाइकको ब्याट्री ५ घण्टा भित्रमै फूल चार्ज हुन सक्छ तर अर्जेन्ट रुपमा कतै जानुपरेको खण्डमा भने २० मिनेट मात्र गरेको चार्जले पनि २० देखि ३० किलोमिटरको रेञ्ज दिनेछ । जम्मा ८४ के.जी. कर्ववेट रहेको यस बाइकको सिट हाइट भने ७ सय ७० मिलिमिटर छ जसले होचा राइडर्सहरुलाई पनि बाइक चलाउँदा खासै अप्ठ्यारो महशुस नहुने जानकारी दिँदै भिमोटोको नेपालका लागि आधिकारिक विक्रेता अष्ट अटोमोवाइल प्रा.लि. रहेको जनाएकाे छ ।काठमाडौंको टेकुमा प्रधान कार्यालय रहेको यस कम्पनीले नेपाली बजारमा यस बाइकलाई रु.२ लाख ७९ हजार मूल्यमा विक्रि गर्दै आइरहेको छ ।