दुर्घटना नियन्त्रण गर्न सवारी साधनमा ‘टाइम कार्ड’ लागू
जाजरकोट । बढ्दो दुर्घटना न्यूनीकरणका लागि जिल्ला सदरमुकामबाट छुट्ने र आउने सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ । दशैँ, तिहार जस्ता ठूला पर्वमा जथाभावी यात्रु राखेर भारी गतिका साथ यातायातका साधन सञ्चालन हुने भएकाले यसलाई नियन्त्रण गर्न लागिएको प्रजिअ जनकराज पन्तले बताउनुभयो । नयाँ व्यवस्थाअनुसार सदरमुकामदेखि सुर्खेतको छिन्चु र सदरमुकामदेखि रिम्नासम्मको सडकमा टाइमकार्ड लागू गरिएको छ । रिम्ना–होलुखोला एक घण्टा, होलुखोला–खलङ्गा ४५ मिनेट, खलङ्गादेखि मटेला ३० मिनेट, मटेला कुदु २० मिनेट, कुदूदेखि छेडाचौरसम्म एक घण्टा २० मिनेटमा यात्रा पूरा गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । टाइम कार्ड उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले सडक निर्माण गर्नु राज्यको दायित्व भएकोे, राम्रो व्यवहार र अनुशासितपूर्वक यात्रा गनतव्यमा पुर्याउने काम यातायात व्यवसायीको भएको बताएका छन् । त्यस्तै तोकिएको समयभन्दा अघि वा पछि यातायातका साधन गुडाउनेलाई कारवाही गरिने प्रजिअ पन्तले जानकारी दिए । रासस
एलजी नेपालले ल्यायो डबल खुशीको अपग्रेड अफर
काठमाडौँ । एलजी नेपालले चाडपर्वको अवसरमा ल्याएको छ डबल खुशीको अपग्रेड अफर ल्याएको छ । यो अफर अन्तरगत एलजी नेपालले हरेक टेलिभिजनको खरिदमा ६ महिनाको लागि प्रभु टीभी एपको सदस्यता सित्तैमा प्रदान गर्ने भएको छ । यो सुबिधा एलजीका पुराना खरिद गरिसकेका टेलेभिजनहरुमा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । सदस्यहरुको सदस्यता एलजी टीभीको प्रभु एपमा लगइन गरेपछि शुरु हुनेछ । यो कार्य योजना शुरु भएको ३ महिना भित्र गर्नु पर्नेछ । यो योजना असोज १ देखि लागु भएको जनाइएको छ ।
बागलुङका ३८ विद्यालयको पुनःनिर्माण शुरु
गलकोट । भूकम्पले क्षतिग्रस्त बागलुङका विद्यालयको पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस वर्ष जिल्लाका ३८ विद्यालय र २५ शौचालय निर्माण गर्न शुरु गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा पहिलो चरणमा ४० विद्यालय पुनःनिर्माण गरेको प्राधिकरणले दोस्रो चरणमा यस वर्ष ३८ विद्यालय पुनःनिर्माण गर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका प्रमुख मतिलाल चपाईले बताएका छन् । “जिल्ला आयोजना कार्यान्वयन एकाइले जिल्लाका सबै क्षेत्रको पुनःनिर्माण र सबलीकरणको काम गर्दै आएको थियो”, कार्यालय प्रमुख चपाईले भने, “अहिले शिक्षा क्षेत्रको पुनःनिर्माण गर्न छुट्टै कार्यालय राखिएको छ, अब हामीले यसलाई थप गति दिनेछौँ ।” विद्यालय जस्तो संवेदनशील क्षेत्रको पुनःनिर्माणमा ढिलाइ भएका कारण छुट्टै कार्यालय नै सञ्चालन गरेर पुनःनिर्माण कार्य थालिएको उनको भनाइ थियो । बागलुङमा पहिलो चरणमा पुनःनिर्माण थालिएका ४० मध्ये ३४ विद्यालय बनिसकेको छ । त्यस्तै छ विद्यालय निर्माणको अन्तिम चरणमा रहेको कार्यान्वयन एकाइ शिक्षाका इञ्जिनीयर नवीनकुमार सिंहले जानकारी दिएका छन् । दोस्रो चरणमा निर्माण हुने विद्यालयमा दुई कोठे १८, तीन कोठे पाँच र चार कोठे १५ वटा भवन तथा २५ विद्यालयमा शौचालय निर्माण गरिनेछ । चार कोठे भवनका लागि रु ७० लाख, तीन कोठेलाई रु ३५ लाख र दुई कोठेलाई रु २३ लाखका दरले ३८ भवनका लागि प्राधिकरणबाट बजेट विनियोनजन भएको छ । त्यस्तै २५ शौचालय बनाउन प्रत्येकलाई रु १५ लाख विनियोजन भएको छ । विद्यालय तथा शौचालय अपाङ्गमैत्री हुने जनाइएको छ । एउटै भवनभित्र छात्रछात्राका लागि छुट्टाछुट्टै कोठाको व्यवस्थासहित २५ शौचालय निर्माण हुनेछन् । भूकम्पमा विद्यालय भवनसँगै शौचालयमा क्षति पुगेको भन्दै यस वर्षबाट त्यसको पुनःनिर्माण थालिएको कार्यालय प्रमुख चपाईले बताएका छन् । कार्यान्वयन एकाइ शिक्षाको नयाँ कार्यालयमा कार्यालय प्रमुखसहित १० जनाको दरबन्दी छ । बागलुङमा भूकम्पले क्षति पुर्याएको २१० मध्ये १८० विद्यालयमा प्राधिकरण जिल्ला कार्यान्वयन एकाइले पुनःनिर्माणमा सहयोग गरेको छ । रासस
प्रभु बैंकको १९६औँ शाखा चितवनको कुरिनटारमा
काठमाडौँ । प्रभु बैंक लिमिटेडले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा सोमबारदेखि १९६औं शाखा कार्यालयको सञ्चालनमा ल्याएको छ । बैंकको कुरिनटार शाखा कार्यालयको उद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गले एक समारोहका बीच गरेकी हुन् । बैंकको कुरिनटार शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कर्णाली प्रदेश सरकार र राष्ट्रिय बीमा कम्पनीको सहकार्य, १७ लाखको सामुहिक बीमा
काठमाडौ । राष्ट्रिय बीमा कम्पनीले कर्णाली प्रदेश सरकारको सहकार्यमा १७ लाख कर्णालीबासीको जोखिम बहन गर्न घर तथा दुर्घटना बीमा कार्यक्रम अघि सारेको छ । सरकारी कम्पनीले नागरिक प्रतिको दायित्व पूरा गर्न सो योजना अघि सारेको हो । सबै प्रदेशमा बीमाको चेतना र पहुँच पुर्याउन अहिले बीमा कम्पनीहरु लागि परेका छन् । सोही क्रममा राष्ट्रिय बीमा कम्पनीले कर्णालीमा रहेको जोखिम र त्यहाँका जनतालाई बीमाबारे सचेत गराउन अग्रसर रहेको बताएको छ । हालसम्म राष्ट्रिय बीमा कम्पनीले ५ वटा प्रदेशमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । साथै, आगामी दिनमा प्रदेश नम्बर २ र ६ मा समेत कार्यक्रम गर्ने तयारी गरेको छ । कर्णाली प्रदेश सरकारले करीब १७ लाख ७० हजार नागरिकहरुको सामूहिक दुर्घटना बीमा गराएको छ । सामूहिक दुर्घटना बीमाबाट प्राकृतिक विपतको कारणले मृत्यु हुँदा प्रतिनागरिक १ लाख रुपैयाँ प्रदान गरिन्छ । १७ लाख ७० हजार नागरिकको प्रतिनागरिक १ लाख पाउने गरी सो सामुहिक बीमा कार्यक्रम अघि सारिएको हो । भूकम्प, बाढी, आगजनी, हावाहुरीको कारणले मृत्यु भएमा सो लाभ पाइनेछ । कर्णाली प्रदेशको १० जिल्लामा प्रति जिल्ला १ हजार घरको बीमा कार्यक्रम समेत सञ्चालन गरिएको छ । प्रत्येक घरको बीमा ५ लाख रुपैयाँको दरले बीमा गरिएको हो । भूकम्प, बाढी पहिरोको कारणले क्षती हुँदा बढीमा ५ लाख रुपैयाँसम्म प्रदान गरिन्छ । आर्थिक अवस्था कमजोर भएका जनताहरुलाई सहज होस् भन्ने उद्देश्यले उक्त बीमा कार्यक्रम ल्याईएको राष्ट्रिय बीमा कम्पनीले जानकारी दिएको छ । कृषि बीमामा कर्णाली प्रदेशको शत प्रतिशत अनुदान नेपाल सरकारले कृषि बीमामा अनुदान लागि ७५ प्रतिशत हिस्सा व्यहोर्ने भएपनि कर्णाली प्रदेश सरकारले त्यसलाई हेरफेर गर्न आवश्यक मानेको छ । अन्य प्रदेशका लागि सो अनुदानले काम गरेपनि कर्णाली प्रदेशका लागि भने सत प्रतिशत सहुलियत दिन आवश्यक रहेको प्रदेश सरकारको बुझाई छ । राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुवास कोइरालाले भने-‘जोखिम रहेको ठाउँमा बीमा गर्नु आवश्यक हुन्छ, अहिले कर्णालीमा बीमाको आवश्यकता निकै भएकाले हामीले त्यस ठाउँमा पुगेका हौँ ।’ उनले भने-‘आगामी दिनमा बीमा बजार बिस्तार गर्दै अन्य स्थानमा समेत पुग्नेछौँ ।’
एक हप्तादेखि अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालनमा
हुम्ला । जिल्ला सदरमुकामसहित आसपासका क्षेत्रमा एक हप्तादेखि अवरुद्ध भएको सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ । जेनेरेटरले काम गर्न छाडेपछि जिल्लाको नेपाल टेलिकम शाखाका सबै सेवा एक हप्तादेखि बन्द भएका थिए । हिल्दुम लघुजलविद्युत् आयोजना मर्मतका लागि बन्द हुँदा काम चलाउ रुपमा प्रयोग गरिएको जेनेरेटर पनि बिग्रिएपछि टेलिकमले आइतबारदेखि एनसेलको टावरबाट विद्युत् सप्लाइ गरेर सिमकोट आसपासका क्षेत्रलाई सञ्चारमा जोडेको निमित्त प्रमुख रामबहादुर बोहराले जानकारी दिएका छन् । गत भदौ २० गतेदेखि विद्युत्का कारण बन्द भएको टेलिकमको जिल्ला शाखाले जेनेरेटरबाट आफ्नो सेवा दिएता पनि जेनेटर बिग्रँदा एनसेलको जेनेरेटरबाट तार जडान गरी आइतबारदेखि नमस्ते टेलिफोन, इन्टरनेट, एडिएल लगायतका सम्पूर्ण सेवा सञ्चालनमा आएका छन् । जेनेरेटर सञ्चालनमा आएपछि टेलिकमका इन्टरनेट, ल्यान्डलाइन, जिएसएम, थ्रिजी, सिडिएमए लगायतका सबै सेवा सञ्चालन भएका छन् । रासस
स्याउले मूल्य नपाउँदा कृषक मर्कामा
सुर्खेत । गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकेजी रु ७० मा स्याउ बिक्री गरे । उत्पादन थोरै भए पनि आम्दानी मनग्य नै भयो उनीहरुको । यस वर्ष भने प्रतिकेजी रु ३५–५० मूल्य पाउन पनि उनीहरुलाई हम्मेहम्मे भएको छ । यो वर्ष जुम्लाले छ हजार १०० मेट्रिक टन स्याउ उत्पादन गरेको छ । स्याउ नेपालका प्रमुख शहर सुर्खेत, कोहलपुर, नेपालगञ्ज, धनगढी, बुटवल, पोखरा, काठमाडौँ मात्र नभएर सल्यान, जाजरकोट, दैलेख, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची र गुल्मी जस्ता पहाडी र भित्री मधेशका जिल्लामा पुगेको छ । रङ्गीन, स्वादिलो, पोटिलो, आकर्षक र सस्तो भएर होला यसले चाइनिज तथा भारतीय स्याउलाई पनि विस्थापित गरेको छ । स्याउले नेपाली बजार ढाकेर भारतीय स्याउ विस्थापित गरे पनि लगानीअनुसारको मूल्य प्राप्त नगरेको स्याउ किसानले गुनासो गरेका छन् । चन्दननाथ नगरपालिका– ८ जुम्ला उम्खोला गाउँका कृषक धर्मसिंह कठायतले राम्रो मूल्य पाउने आशाले सुर्खेतमा स्याउ पुर्याउँदा पनि घैयाको भाउमा स्याउ बेच्नुपरेको गुनासो गर्नुभयो । “पोहोर साल घरमा १५ क्विन्टल स्याउ उत्पादन गरे घरमै प्रतिकेजी रु ५०–७० हामी किसानले मूल्य पायौँ । यसले हामीलाई खेती गर्नतर्फ उत्साहित पनि बनायो”, कृषक कठायतले भने, “रातदिनको मेहनतले होला यस वर्ष १०८ क्विन्टल स्याउ उत्पादन भयो । प्रतिकेजी रु १०० पर्ने स्याउ सुर्खेतमा पुर्याउँदासमेत मुस्किलले प्रतिकेजी रु ५९ मा बाध्य भएर बिक्री गर्नुपर्यो ।” अहिले कर्णाली, रत्न, महेन्द्र राजमार्ग आसपासका शहर तथा बजार स्याउमय बनेका छन् । जहाँतहीँ जुम्ली स्याउले ढाकेको छ । कर्णालीको डोल्पा, मुगु, कालीकोट, हुम्लाका स्याउ पनि दक्षिणका बजारमा निर्यात भएको छ । मूलतः सबै जिल्लामा उत्पादित स्याउ जुम्ली प्राङ्गारिक स्याउका नामले बिक्री वितरण भइरहेको उपभोक्ता बताउँछन् । त्यस्तै, अर्का स्याउ कृषक पृथ्वीबहादुर बुढाले पनि लगानीअनुसारको मूल्य नपाएको बताए । सरकारले स्याउ कृषक तथा व्यापारीको समस्यामा चासो नराख्दा बिचौलिया मोटाउने गरेको आरोप लगाउँदै कृषक बुढाले भने, “स्थानीय वा प्रदेश सरकारले शीत भण्डारको व्यवस्था नगरेसम्म किसानले यो समस्या बेहोरी राख्नुपर्छ ।” सुर्खेतका स्याउ व्यापारी प्रकाश तिमिल्सिनाले राज्यको कमजोर नीतिका कारण स्याउ किसानलाई मर्का परेको गुनासो गरेका छन् । व्यापारी तिमिल्सिनाले भने, “राज्यले कृषकलाई जतिसक्दो स्याउ उत्पादन गर भन्यो तर त्यसको उचित व्यवस्थापनका लागि बजारीकरण, ‘ग्रेडिङ’का विषयमा कहिल्यै ध्यान दिएन ।” बजारको सुनिश्चितता नहुँदासम्म किसान तथा स्याउ व्यापारीले दुःख पाउने उनले जिकिर गरेका छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले यो मौसममा ह्वात्तै स्याउ जाँदा यसका किसानले अपेक्षित मूल्य प्राप्त नगरेको बताउँछन् । “बजारमा मागभन्दा आपूर्ति बढी हुँदा स्वभाविक रुपले यस्ता समस्याबाट किसान मर्कामा पर्नुपर्दोरहेछ”, उनले भने, “किसानका यी समस्या समाधान गर्न सरकारले बहुआयमिक शीतगृह निर्माणको योजना अघि सारेको छ ।” रासस
चाडबाड लक्षित सुपथ पसलले उपभोक्तालाई राहत
बागलुङ । चाडबाडलाई लक्षित गरी खुलेको सुपथ मूल्य पसलले उपभोक्तालाई राहत मिलेको छ । बजार भाउभन्दा सस्तोमा चिनी, नून किन्न पाउँदा उपभोक्ता खुशी छन् । ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङद्वारा सञ्चालित पसलमा दैनिक सयौँको लाम देखिन्छ । पसल शुरु भएको छ दिनमै तीन हजार ९४९ जना उपभोक्ताले सेवा लिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ कार्यालयले जनाएको छ । हालसम्म २३ हजार ३९४ किलो चिनी र ११ हजार ५१३ किलो नून बिक्री भएको छ । चिनी र नून बिक्रीबाट रु १८ लाख ९१ हजार ६०० को कोरावार भएको कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले बताएका छन् । बजारको तुलनामा प्रतिकिलो चिनी आठ र नून चार रुपैयाँ सस्तोमा बिक्री भइरहेको उनको भनाइ छ । अहिले चिनीको बजार मूल्य रु ८० र नूनको रु २२ छ । सुपथ मूल्य पसलले भने चिनी प्रतिकिलो रु ७२ र नून रु १८ मा उपलब्ध गराएको छ । एक जनाले चिनी छ किलो र नून तीन किलोसम्म किन्न पाउने व्यवस्था छ । दोहोरिएर आउने उपभोक्ताले भने खरिद गर्न पाउँदैनन् । “उपभोक्ताको भीड छ, सहज सेवाका लागि खटिएका छौँ”, कार्यालय प्रमुख श्रेष्ठले भने । कार्यालयले कर्मचारीबाहेक थप चार जना कामदार ज्यालादारीमा राखेको छ । उपभोक्ताको लाम व्यवस्थापनका लागि प्रहरी खटिएका छन् । अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलालाई लाममा नबसी खरिद गर्न पाउने व्यवस्था मिलाइएको छ । दुरुपयोग हुने डरले १४ वर्षमुनिका बालबालिकालाई चिनी, नून बेच्ने गरिएको छैन । “चाडबाडको बेला उपभोक्तालाई राहत मिलोस् भनेर सस्तो मूल्यको पसल राखेका हौँ”, कार्यालय प्रमुख श्रेष्ठले भने । उपभोक्ताले भने चाडबाडबाहेकको समयमा पनि सहुुलियत मूल्यको पसल सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् । चिनी र नून मात्रै नभएर अन्य उपभोग्य सामान पनि सुपथ पसलमा राख्नुपर्ने आवाज उठेको छ । बागलुङ नगरपालिका–२ श्रीनगरटोलस्थित कार्यालय परिसरमै सञ्चालित पसल आउँदो कात्तिक १८ गतेसम्म सञ्चालन हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने पसल सार्वजनिक बिदाका दिनमा भने बन्द हुने गरेको छ । ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ले वर्षेनी चाडबाडको मुखमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । रासस