स्कुल बिदा गर्नैपर्ने निर्णयबाट पछि हट्यो महानगर, दशैं तिहारमा अब कतिदिन हुन्छ बिदा ?

<p>काठमाडौं । दशैं र तिहारको बीचमा कलेज तथा विद्यालय सञ्चालन गर्न नपाउने निर्णयबाट काठमाडौं महानगरपालिका पछि अटेको छ । महानगरपालिका अन्तर्गतको शिक्षा विभागले गत फागुनमा उपत्यकाभरका सम्पूर्ण विद्यालयहरुले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी गरेको थियो । जसमा विद्यालयहरुले निश्चितभन्दा बढी शुल्क लिन नपाउने, पुस्तकहरु आफैं बिक्री गर्न नपाउने, विद्यालय पोशाक आफैं बिक्री गर्न नपाउने, दशैं [&hellip;]</p>

काठमाडौं । दशैं र तिहारको बीचमा कलेज तथा विद्यालय सञ्चालन गर्न नपाउने निर्णयबाट काठमाडौं महानगरपालिका पछि अटेको छ । महानगरपालिका अन्तर्गतको शिक्षा विभागले गत फागुनमा उपत्यकाभरका सम्पूर्ण विद्यालयहरुले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी गरेको थियो ।

जसमा विद्यालयहरुले निश्चितभन्दा बढी शुल्क लिन नपाउने, पुस्तकहरु आफैं बिक्री गर्न नपाउने, विद्यालय पोशाक आफैं बिक्री गर्न नपाउने, दशैं तिहारको बीचमा अनिवार्य रुपमा विद्यालय बिदा गर्नुपर्ने लगायतको व्यवस्था गरिएको थियो । तर दशैंको मुखमा आएपछि महानगर पूर्व निर्णयबाट पछि हटेको हो ।

काठमाडौं महानगरपालिका शिक्षा विभागकी प्रमुख निर्मला केसीले विद्यालयहरुले आफू अनुसार बिदा गर्न सक्ने बताइन् । ‘प्राइभेट स्कुलहरुले प्याब्सन वा एनप्याब्सनले तोकेअनुसार बिदा गर्छन्, त्यसो हुँदा तिहारसम्म बिदा हुनसक्छ, सरकारी स्कुलहरु भने पूर्णिमापछि सञ्चालन हुन्छ’ उनले भनिन् ।

यो वर्ष निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र राष्ट्रिय आवासीय विद्यालय संगठन (एनप्याब्सन) अन्तर्गत रहेका विद्यालयहरुमा दशैंको फुलपातीदेखि छठको भोलिपल्टसम्म बिदा हुने जनाइएको छ त्यसो गर्दा ३३ दिन बिदा हुन्छ । प्याब्सनका महासचिव कुमार घिमिरेले प्याब्सनले अघिल्ला वर्षअरुजस्तै यस वर्ष पनि दशैं र तिहारको बीचमा बिदा दिने बताए । उनले यो बीचमा रहेको बिदा बर्षे र हिँउदे बिदाबाट कटाएर दिने व्यवस्था गरिएको समेत बताए ।

यद्यपि वार्षिक २३० देखि २४० दिनसम्म कक्षा सञ्चालन गर्नुपर्ने प्याब्सनको नियम रहेको उनको भनाई थियो । सरकारी विद्यालयहरु भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बिदा हुने र तिहार र छठपर्वमा फेरि बिदा हुने बताइएको छ । यसो गर्दा बीचमा रहेको १२ दिनको लागि विद्यार्थीहरु पुनः स्कुल जानुपर्छ । अहिले सरकारी बिदाहरुबाहेक विद्यालयहरु कुन समयमा बिदा दिने भन्ने निर्णय स्थानीय तहबाट नै हुन्छ ।

भुगोल र अवस्थाअनुसार स्थानीय तहहरुले कुन समयमा विद्यालय खोल्ने र कुन समयमा बन्द गर्ने निर्णय गर्न सक्छ । हिमाली भेगका स्थानीय तहहरुले हिँउदमा मात्रै बिदा गर्छन्, पहाडी भेगका विद्यालयहरुले जाडो बिदा गर्दैनन् बरु धान रोप्ने र धान भित्र्याउने समयमा विद्यालय बन्द गर्छन् । तराई भेगमा भने बढी गर्मी हुने भएकोले गर्मी समयमा विद्यालय बन्द गर्छन् ।

काठमाडौं उपत्यकामा हाल ६० लाख जनसंख्या रहेको अनुमान गरिएको छ जसमध्ये १८ लाख जनसंख्या मात्रै काठमाडौं भित्रका छन् । दुई तिहाईभन्दा बढी जनसंख्या उपत्यका बाहिरको हुने र दशैंदेखि तिहारसम्म उनीहरु गाउँ जाने भएकोले त्यसो गर्नु उपयुक्त हुने भए पनि पछिल्लो समय सरकारी विद्यालयहरुले दशैं र तिहारको बीचमा पनि कक्षा सञ्चालन गर्ने अभ्यास सुरु गरेका छन् ।

काठमाडौं महानगरपालिकाको गत फागुनको परिपत्रपछि सरकारी विद्यालयका विद्यार्थी र शिक्षकहरु समेत उत्साहित भएका थिए तर अहिले विभागले बिद्यालयहरुलाई आफूखुसी निर्णय गर्ने छुट दिएको छ । तर विद्यालयहरुले कम्तीमा २२० दिन स्कुल खोल्नुपर्ने र १९६ दिन कक्षा सञ्चालन गर्नेपर्ने व्यवस्था भने रहेको शिक्षा विभाग प्रमुख केसीले बताइन् ।

Share News