विकासन्युज

असोज १० गते देखि मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनी

काठमाडौं । असोज १० देखि ११ गतेसम्म सानेपाको हेरिटज गार्डेनमा ७ औं ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ हुने भएको छ । ‘आफ्नो भन्या आफ्नै हो’ भन्ने नाराका साथ स्वदेशमै उत्पादन भएको सम्पूर्ण सामाग्रीको सम्बर्दन, प्रवर्दन र बजारिकरण गर्ने उद्देश्यले युवा उद्यमी मञ्चले उक्त प्रदर्शनीको आयोजना गर्ने भएको हो । बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले प्रदर्शनीको बारेमा जानकारी गराए । युवा उद्यमी मञ्चका अध्यक्ष निकोलस पाण्डेले प्रदर्शनीमा स्वदेशमै उत्पादित गुणस्तरिय वस्तु तथा सामाग्रीहरु राखिने बताए । प्रदर्शनीमार्फत नेपाली वस्तु तथा सेवाहरुको प्रवद्र्धन तथा विस्तरमा सहयोग पुग्ने छ । उनले भने- नेपाली वस्तुप्रति चासो बढाउन तथा स्वदेशि उत्पादन पनि गुणस्तरिय हुन्छ भन्ने विश्वास दिलाउन प्रदर्शनी महत्वपूर्ण रहने छ । प्रदर्शनीमा ७० वटाभन्दा धेरै स्टल रहने छन् । युवा उद्यमी मञ्चमा ४५० जना सदस्य रहेका छन् । मेलामा साना बस्तु उत्पादकहरुलाई निशुल्क स्टलको पनि व्यवस्थापन गरिएको छ भने प्रदर्शनी प्रवेश नि:शुल्क रहेको आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा ७५ ओटै जिल्लाका आ-आफ्ना ठाँउका पहिचान बोकेका वस्तु तथा सेवाहरुको सहभागिता रहनेछ । लाखौको संख्यामा अवलोकनकर्ता तथा ग्राहकहरुले प्रदर्शनीको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

बिजी मलमा सुरु भयो यमाहा फ्यान्टास्टिक दशैं तिहार योजना

काठमाडौँ । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यमाहा फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ योजनाबाट सेवाग्राहीले हरेक दिन कुनै न कुनै उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए । सप एण्ड वीन उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने गिरीले जानकारी दिए । बम्पर उपहारमा गोलाप्रथाबाट एक एक एक जनाले यमाहाको एफजेड मोटरसाइकल, यमाहा रे जेड स्कुटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको उपहार जित्न सक्ने मेला संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए । यो अफर अन्तर्गत ग्राहकले दैनिक रुपमा १ हजार रुपैयाँको सपिङ भौचर, लन्च कुपन तथा मुभी टिकट प्राप्त गर्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ ईञ्चको सिजिको एलईडी टेलिभिजन, सिजि वासिङ मेशिन, र सिजि ग्यास एण्ड इलेक्ट्रिक हिटर, सिजि इलेक्ट्रिक ओभनतथा साउण्ड बार उपहारको रुपमा पाउन सक्छन् । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् । असोज २ गतेदेखि सुरु भएको यमाहा फ्यान्टास्टिक दशैं तिहार योजना आगामी कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।

पूर्णिमा विकास बैंकका सीइओमा प्रकाश गुरुङ नियुक्त

काठमाडौँ । पूर्णिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा प्रकाश गुरुङ नियुक्त भएका छन् । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले असोज ९ गतेदेखि पूर्णिमा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त कारोबार नहुञ्जेलसम्मका लागि सीईओमा गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो । पूर्णिमा विकास बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकसँग एक्वीजिशनमा जानेबारे राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागबाट २०७६ बैशाख १६ गते प्रारम्भिक सहमति प्राप्त भएको र असार २७ गते दुबै संस्थाको विशेष साधारण सभाबाट पारित भई अन्तिम स्वीकृतिको क्रममा रहेको पूर्णिमा विकास बैंकका बरिष्ठ प्रबन्धक बद्रिकेदार श्रेष्ठले जनाएका छन् ।

केएनपिद्वारा उत्पादित सेमि–इलास्टिक गुणयुक्त माइका मार्बल अब नेपाली बजारमा

काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले आफ्नो नवीनतम उत्पादन माइका मार्बल एक्स्टिरियर पेन्टलाई नेपाली बजारमा भित्राएको छ । यही असोज ८ गते होटल हायात रिजेन्सीमा आयोजित डिलर मिटको अवसर पारेर केएनपिले माइका मार्बल पेन्ट लन्च गरेको थियो । सामान्यतया मौसममा हुने परिवर्तनले घरको बाहिरी रंगलाई चर्काउने समस्यालाई मध्यनजर गर्दै केएनपिले नेपालमा इलास्टो टफ प्रविधिद्वारा निर्मित माइका मार्बल पेन्ट ल्याएको हो । यस पेन्टमा इलास्टिक जस्तै तन्किने गुण भएकाले यसले घरको बाहिरी पेन्टलाई घाम पानी जस्ता मौसमीय समस्याहरुबाट सुरक्षित राख्दछ । ७ वर्षको ग्यारेण्टी रहेको यस पेन्टले घरको बाहिरी सुन्दरतालाई यथावत राखी सुरक्षा समेत प्रदान गर्नेछ ।

टेनिस च्याम्पियनसीपमा कमल थापाले जिते दोहोरो उपाधि

कास्की । नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआइसी एशिया बैंक नेपाल आइटिएफ विश्व बरियता सिनियर्स ग्रेड ४’ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले पोखरा रङ्गशालाको टेनिस कोर्टमा आज भएको ५५ वर्ष माथिको उमेर समूहको प्रतिस्पर्धामा भारतका सञ्जय कुमारलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरी उपाधि प्राप्त गरेका हुन् । त्यसैगरी, थापाको जोडीले ५५ वर्षमाथिकै उमेर समूहको युगल तर्फको समेत उपाधि जितेको छ । थापा र छाम्बा ढुण्डुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुस्लिमको जोडीलाई ११–९ को सेटमा पराजित गरी उपाधि जितेको हो । च्याम्पियनसीपको ३५ वर्षमाथिको उमेर समूहको उपाधि भने धरमबहादुर लामिछाने र विमलकुमार गुरुङको जोडीले गोपी भट्टराई र शरन गुरुङको जोडीलाई पहिलो सेट ६–४, दोस्रो सेट ५–७ र अन्तिम सुपरटाई १०–६ मा पराजित गरी उपाधि जितेका छन् । ३५ वर्ष माथिको उमेर समूहको उपाधि भने विकास गुरुङ तथा ४५ वर्ष माथिको उमेर समूहको उपाधि विमलकुमार गुरुङले जितेका हुन् । च्याम्पियनसीपमा ३५ वर्षमाथिको उमेर समूहमा १० जना, ४५ वर्षमाथिको उमेर समूहमा २२ जना तथा ५५ वर्ष माथिकोे प्रतिस्पर्धामा २० जनाले बरियता प्राप्त गर्ने अङ्कको लागि प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक प्रिति बरालले जानकारी दिएका छन् । विजेता खेलाडीलाई एनआइसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मा, नेपाल टेनिस सङ्घका पूर्व अध्यक्ष मनोज राणालगायतले ट्रफी वितरण गरेका थिए। रासस

मेलिनाले जितिन् मिस मुस्ताङको उपाधि

मुस्ताङ । मिस मुस्ताङ २०७६ को उपाधि मेलिना थकालीले जितेकी छन् । घरपझोङ गाउँपालिका–३ स्याङ्की २० वर्षीया थकालीले अन्य आठ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस मुस्ताङको ताज पहिरिएकी हुन् । थाक खेलकूद तथा सांस्कृतिक विकास संस्थाले आयोजना गरेको सो प्रतियोगितामा थासाङ गाउँपालिका–५ ताक्लुङ्की मनिषा हिराचन फस्ट रनरअफ र जोमसोमकी एलिना थुरुङ सेकेण्ड रनरअप भएको संस्थाका कोषाध्यक्ष शर्मिला गुरुङले बताइन् । जोमसोमको जनहित बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत थकालीले समाजसेवा र अनाथ बालबालिकाको क्षेत्रमा काम गर्ने रुचि भएको बताएकी छिन् । विजयी थकालीलाई मिस मुस्ताङको क्राउन पहिराउनुका साथै नगद रु दश हजार प्रदान गरिएको छ । गत शनिबारदेखि शुरु भएको ४९औँ थाक खेलकूद च्याम्पीयनसीप प्रतियोगिता मङ्गलबार साँझ समापन भएको छ । सो अवसरमा आयोजित महिला र पुरुष भलिबल प्रतियोगितामा थासाङ गाउँपालिका–३ लेतेको निर्मल स्पोटिङ युवा क्लब विजयी भएको छ । पुरुष भलिबलमा लगातार तीन वर्ष प्रतियोगिता जितेको निर्मल स्पोटिङले रनिङ शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको छ । पुरुष भलिबलमा ताक्लुङको अन्नपूर्ण युवा क्लब र महिला भलिबलमा धौलागिरि युवा क्लब कोवाङ दृतीय भएका संस्थाका सचिव दीपक लालचनले बताएका छन् । पुरुष भलिबलको विजेता र उपविजेताले रनिङ शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद चालीस हजार र रु २५ हजार प्राप्त गरेका छन् । महिला भलिबलको बिजेताले रु २५ हजार र उपविजेताले रु पन्ध्र हजार हात पारेका छन् । आर्चरी खेल प्रतियोगितामा मिलिजुली युवा क्लबमार्फ प्रथम र निलगिरि युवा क्लब टुकुचे दितीय भएका छन् । नृत्य प्रतियोगितामा जोमसोमको जनहित युवा क्लब प्रथम र सिक्स सोल्टी युवा क्लब घाँसा दितीय भएका छन् । घरपझोङ र थासाङ गाउँपालिकाका–८क्लबले प्रतियोगितामा सहभागिता जनाएका आयोजक संस्थाका अध्यक्षसमेत रहेका प्रदेश सांसद चन्द्रमोहन गौचनले बताए । लेतेका भलिबल खेलाडी सनिष तुलाचन सर्वोकृष्ट भएका छन् । थाक खेलकूद प्रतियोगिता तल्लो मुस्ताङमा ४९ वर्षदेखि निरन्तर आयोजना हँुदै आएको छ । सो अवसरमा आयोजित कृषि मेला प्रदर्शनीमा १७९ जना कृषकले सहभागिता जनाएका थिए । रासस

प्रदेश प्रहरीका लगि खरिद गरिएका नाै थान गाडी सङ्घीय सरकारको प्रहरीलाई हस्तान्तरण

धनगढी । प्रदेश प्रहरीका लागि खरिद गरिएका नौ थान गाडी सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षकलाई आज हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रहरी नायब महानिरीक्षक तारणीप्रसाद लम्साललाई ती नयाँ गाडीको साँचो प्रदान गरी हस्तान्तरण गरेका हुन् । प्रदेश प्रहरी गठन नहुँदै प्रदेश सरकारको गत आर्थिक वर्षको बजेट रु तीन करोड ३२ लाख ९१ हजारमा नयाँ गाडी खरिद गरिएको थियो । हस्तान्तरणको काम अघि नबढाउँदा दुई महिनादेखि मन्त्रालय परिसरमै यी गाडी थन्किएका थिए । तत्कालीन प्रदेश प्रहरी गठन हुन नसकेको अवस्थामा हाल सङ्घीय सरकारको प्रहरीलाई गाडी हस्तान्तरण गरिएको मन्त्रालयका उपसचिव तेजप्रकाश जोशीले बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकार, मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम यी गाडी सङ्घीय सरकारको प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र बन्दै

हेटौंडा । अर्काको देशमा गएर काम गर्नुभन्दा स्वदेशमा नै काम गरेर विदेशको सरह कमाइ गर्न सकिन्छ र स्वरोजगार बन्दै अरु नेपालीलाई पनि रोजगारी दिन सकिन्छ भन्दै विभिन्न जिल्लाका युवाले शुरु गरेको यस कृषि फार्मले एक वर्षभित्र नै एक हजार ५०० लाई रोजगारी दिने लक्ष्य लिएको छ । वैदेशिक रोजगारीमा रहेका तथा विगतमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएर हाल नेपालमा फर्किएका युवा र विभिन्न कारणले पीडित बन्न पुगेका महिलासमेत गरी देशका ४० जिल्लाका १५५ लगानीकर्ताको शेयर लगानी रहेको यस फार्मले हाल १०० जतिलाई रोजगारी दिएको र एक हजार ५०० लाई रोजगारी दिनेगरी काम अगाडि बढिसकेको फार्मका अध्यक्ष प्रेम कार्कीले जानकारी दिएका छन् । कार्कीका अनुसार फार्ममा हाल थोरै सङ्ख्यामा पाडापाडी, गाई, बाख्रा र कुखुरा भए पनि आगामी वर्षबाट नै एक हजार ५०० बाख्रा, २०० गाई, १० हजार कुखुरा, १०० पाडा, तीन÷चार हजार बट्टाई, उपलब्ध भएसम्म कालिज, केही हजार टर्की आदिको व्यावसायिक पालन शुरु गरिने छ । केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको कारण आफूहरु कृषितर्फ आकर्षित भएको उनको भनाइ छ । हाल फार्मको आफ्नो जग्गा ७० कट्ठा भए पनि भडामा सोही अनुपातको जग्गा रहेको कार्कीले जानकारी दिए । कार्कीका अनुसार एक गाई बराबर एक कट्ठा जग्गा आवश्यक पर्ने भएकाले २०० वटा गाई पाल्ने लक्ष्य भएको फार्मलाई आवश्यक पर्ने २०० कट्ठा जग्गा वरिपरिका किसानसँग भाडामा लिएर घाँस खेती शुरु गरिएको छ । बृहत् योजनासहित शुरु गरिएको कृषि फार्मलाई केन्द्र सरकार तथा प्रदेश सरकारले पनि सहयोग गर्ने जनाइएको छ भने स्थानीय सरकारको रूपमा रहेको मनहरी गाउँपालिकाले प्रत्यक्ष रूपमा सहयोग गरिरहेको छ । यस क्षेत्रमा छ वटा पोखरीमा माछापालन र केही बाख्रा र बङ्गुरसमेत पालन गरिरहेको खड्का बहुउद्देश्य कृषि फार्म, सोही अनुपातमा माछा उत्पादन गरिरहेको विष्ट एण्ड सन्स कृषि फार्म, तीन बिघा क्षेत्रफलमा पोखरी बनाएर माछापालन गरिरहेको तितुङ्ग माछापालन, दुई बिघामा तरकारी उत्पादन गरिरहेको थापा कृषि केन्द्रलगायत दर्जनौँ व्यावसायिक कृषि फार्म दर्ता भई व्यावसायिक कृषि प्रणालीतर्फ लागेर मनग्य आम्दानी गर्न तथा कतिलाई रोजगारीसमेत दिन सफल भएका छन् । प्रत्येक घर परिवारको कुनै न कुनै परिमाणमा कृषि उत्पादनमा योगदान रहेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको भनाइ छ । जिल्लालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन जिल्ला समन्वय समितिले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । कृषि उत्पादन पशुपालन, माछापालन र अन्य कृषिउपजको उत्पादनमा मकवानपुरका हरेक स्थानीय तहबीच अनुभव तथा प्रविधि र सीपसमेतको आदानप्रदान गराएर कृषि उत्पादनमा मकवानपुरलाई अगाडि बढाउन आफूहरु लागेको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताएका छन् । कृषि उत्पादनलाई नै पहिलो प्राथमिकतामा राखेको प्रदेश ३ सरकारले कृषि उत्पादन बढाउन र प्रशस्त रोजगारीसमेत सिर्जना हुने गरी शुरु गरिएको यस फार्मलाई सकेको सहयोग गर्न सरकार तत्पर रहेको मुख्यमन्त्री डोरमणि पौडेल बताउँछन् । सरकारको प्राथमिकता एकीकृत खेती भएकाले सोहीअनुसार एकीकृत खेती प्रणालीलाई सरकारले सहयोग गर्ने तथा आधुनिक कृषिमा जोड दिने उनको धारणा छ । यसरी, कृषि क्षेत्र विकासको मेरुदण्ड रहेको भन्दै उनले आर्थिक विकास गर्न कृषिलाई जोड दिन सबैलाई आग्रहसमेत गरेका छन् । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको कृषि र पशुपालन सँगसँगै लैजाने नीति रहेको बताए । कृषिलाई निर्वाहमुखीभन्दा पनि व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्ने उनको धारणा छ । प्रदेश सरकारले प्रदेशका ११९ वटै स्थानीय तहमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्ने बताउँदै एक गाउँ एक उत्पादन क्षेत्रको अवधारणामा अघि बढिने जानकारी दिएका छन् । मुख्यमन्त्री पौडेलले किसानलाई मर्का पार्ने किसान र उपभोक्ताबीचको बिचौलिया प्रथाको अन्त्य गरिने र बृहत् कृषि बजार स्थापना गरिनेसमेत बताए । हरेक कृषिउपजको बजारीकरणका लागि दिगो र भरपर्दो कृषि बजारको व्यवस्था गरिने मुख्यमन्त्री पौडेलको भनाइ छ । पौडेलले सरकारले लिएको दिगो विकासको लक्ष्यअनुरुप हुने गरी काम गरिने जानकारी दिए । भिजन अफ मकवानपुर कृषि फार्म तथा हाँडीखोलाको अधिकांश कृषि उद्यमको अवलोकन गरेको र समस्या सुनेको बताउँदै पौडेलले मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्र कृषि तथा पशुपालनमा पकेट क्षेत्र भए पनि खहरे खोलाले दुःख दिएको, पानी, बत्तीलगायत समस्या रहेको गुनासो आएकाले त्यसको समाधान गरिने बताए । पौडेलले उचित र मजबुत तटबन्धको व्यवस्था गर्न, कृषिमा लागत कम गरी उत्पादन बढाउन यसै क्षेत्रमा दाना उद्योग व्यवस्था गर्न सरकार लाग्ने जानकारी दिएका छन् । हाँडीखोला क्षेत्र तरकारी उत्पादन, बाख्रापालन, माछापालन आदिका हिसाबले निक्कै नै प्रसिद्ध रहेकाले कृषि फार्म सञ्चालनका लागि यस क्षेत्र रोजेको फार्मका सञ्चालक बताउँछन् । यो क्षेत्र जिल्लाका लागि मात्र नभएर चितवन, बारा, पर्सा, रौतहट आदि जिल्लामा स्वादिलो तरकारी र माछाका लागि प्रसिद्ध छ । यहाँको काउली तथा आलुको मूल्य बजारमा तराई क्षेत्रबाट आउने आलु काउलीको तुलनामा १५ देखि २० प्रतिशतसम्म महँगो पर्ने तरकारी व्यापारी बताउँछन् । यस क्षेत्रको माछा हेटौँडामा अन्य क्षेत्रको माछाको तुलनामा रु ५० प्रतिकेजी महँगोमा बिक्री गर्न सकिने माछा बजारका व्यापारी बृजेन्दर माझी बताउँछन् । तराईको तुलनामा केही चिसो वातावरण हुने हुँदा यहाँको हरेक उत्पादन स्वादिष्ट हुने भएकाले उपभोक्ताको पहिलो रोजाइमा हाँडीखोलाको काउली, माछा, आलु, केरा तथा गेडागुडी पर्ने उपभोक्ता मञ्च, मकवानपुरका अध्यक्ष कुमार पौडेल बताउँछन्। स्वास्थ्यप्रति सजग उपभोक्ता ताजा र विषादीरहित उत्पादन रुचाउँछन् र अहिलेसम्म हाँडीखोलावासी किसानको इमान्दारीका कारण खानयोग्य उत्पादन आएकाले रुचाइएको उनको भनाइ छ । रासस