भ्रमण वर्षलाई थपिए २० पर्यटकीय बस, १० मुख्य पर्यटकीय शहरमा चलाउने
काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा शुरु गरेको छ । पोखरा मुख्य कार्यालय भएको कम्पनीले पर्यटकलाई सुरक्षित, भरपर्दो, आरामदायी भ्रमणको व्यवस्था गर्दै स्विफ्ट होलिडेज सञ्चालनमा ल्याएको हो । अहिले सुविधा सम्पन्न २० वटा गाडी सञ्चालनमा ल्याइएको छ । तीमध्ये १० वटा चार्टरमा र १० वटा मुख्य पर्यटकीय शहर पोखरा, चितवन, लुम्बिनीलगायतमा चलाउने योजना रहेको कम्पनीका प्रबन्ध निर्देशक मिलन नेपालले बताए । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा लिइएको पर्यटन क्षेत्रमा भावी विकासलाई मध्यनजर गर्दै लगानी बढाइएको उल्लेख गर्दै उहाँले यसले पर्यटन क्षेत्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे । पर्यटकीय याममा ठूलो सङ्ख्यामा घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै चार्टड सेवा ल्याइएको कम्पनीले उल्लेख गरेको छ । टोयटा ब्राण्डको यो गाडी आरामदायी र वातावरणमैत्री छ । सत्र सिट क्षमताको यो गाडीमा यात्रुको सुरक्षालाई विशेष महत्व दिइएको छ । आरामदायी सानो गाडीको जस्तै सुविधा रहेका यी गाडीको ढोका खुल्ला भएमा चालकले एक्सिलेटर पनि दबाउन सक्दैन । वीरगञ्ज, जनकपुरलगायत गन्तव्यमा पनि सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ । अहिले प्रायः सबै पर्यटक बस बिहान ७ः०० बजे बसपार्कबाट छुट्छन् तर कम्पनीले बिहानको खाजा खाएर मात्र ९ बजेदेखि सेवा शुरु हुने जनाएको छ ।
नलगाड जलविद्युत् आयोजनामा लगानीका लागि जाइका तयार
काठमाडौँ । सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समझदारी भएको जनाएको छ । जापान भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जाइकाका उच्च अधिकारीसँग विहीबार भएको छलफलमा त्यस्तो समझदारी भएको हो । मन्त्री पुन र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच आज भएको भेटवार्तामा उक्त परियोजनालाई अघि बढाउने विषयमा सैद्धान्तिक सहमति भएको मन्त्री पुनको सचिवालयले जनाएको छ । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयारीको क्रममा रहेको सो आयोजनाको क्षमतासमेत सात मेगावाटले बढेर ४१७ मेगावाट पुगेको छ । यसअघि सो आयोजनाको क्षमता ४१० मेगाबाट हुने बताइएको थियो । डिपिआर तयार भएपछि आयोजानलाई अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ । ऊर्जामन्त्री पुनले जाइकासँग सार्वजनिक निजी साझेदारीमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको र जापानी पक्षले सकारात्मक जवाफ दिँदै सहमति जनाएको थियो । सो आयोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ । “जाइकासँगको छलफल अत्यन्तै सकारात्मक भएको छ, डिपिआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिबद्धता जनाउनुभएकाले पनि चाँडै यसले मूर्तरुप पाउनेमा म आशावादी छु”, मन्त्री पुनले भने । छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । मन्त्री पुनले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध, नेपालमा जापानले गरिरहेको लगानीलगायतका विषयमा छलफल गरेका थिए । यस्तै, उक्त परियोजनालाई अघि बढाउने विषयमा बुधबार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्रयाटिकक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल गरेका थिए । भेटवार्तामा ऊर्जा मन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारी सहभागी थिए । भेटमा मन्त्री पुनले नेपालमा हाल स्थायी सरकार रहेको भन्दै थप लगानीका लागि आग्रह गरेका थिए । उनले नेपालमा जलविद्युत्को बजारसमेत सुरक्षित रहेको र नाफासमेत सजिलै लिन सकिने अवस्था सरकारले बनाएको तथ्य पेश गरेका थिए । आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित बिजुली बेच्नका लागि भारत र बङ्गलादेशसँग सम्झौता भइसकेको मन्त्री पुनको भनाइ थियो । उनले उत्पादित बिजुलीका लागि आन्तरिक र बाह्य बजार बनाउन सरकारसक्षम रहेको धारणासमेत राखे । मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न समेत आग्रह गरेका थिए । नेपालको जलविद्युत् क्षेत्रमा लगानीको लागि सरकारले उपयुक्त वातावरण बनाएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरे । कार्यक्रममा मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपाली लगानीकर्तासरह सुविधा दिने प्रतिबद्धता जनाए । उनले, “तपाईहरुले नेपालमा लगानी गर्नुभयो भने हामी नेपाली लगानीकर्तासरह नै सुविधा दिन्छौँ । उत्पादित बिजुली पनि हामीले नै खरीद गर्छौं, बजारको पनि चिन्ता नगर्नुहोस् ।” मन्त्री पुनले उत्पादकले चाहेमा छिमेकी देशमा बेच्ने वातावरणसमेत बनाइदिने प्रतिबद्धता जनाए । अन्तरक्रियामा जापानमा जलविद्युत्को क्षेत्रमा काम गरिरहेका तोसिबा, कान्साइ, टोकियो इलेक्ट्रोनिक्स, न्युजेक इलेक्ट्रोनिक्सलगायत कम्पनी सहभागी थिए । कार्यक्रमको संयोजनसमेत जाइकाले गरेको थियो । रासस
चालक अनुमतिपत्र छपाइका लागि आइपुग्यो चार लाख कार्ड
काठमाडौँ । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड आइपुगेको हो । ‘ग्लोबल टेण्डर’ मार्फत कार्ड खरीद गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विभागमा कार्ड थोरै मात्रै बाँकी रहेकाले र अहिले ठूलो क्षमताको उपकरण ९मास प्रिन्टर० को परीक्षण भइरहेकाले अहिलेसम्म थोरै सङ्ख्यामा छपाइ हुँदै आएको विभागका प्रवक्ता तीर्थराज खनालले बताए । दश लाख कार्ड खरीद प्रक्रिया अघि बढाइएकामा केही समयभित्रै बाँकी छ लाख कार्ड आइपुग्नेछ । उनले भने, “कार्ड पर्याप्त भएपछि नियमित र क्षमतानुसार छपाइ हुनेछ ।” ‘मास प्रिन्टर’ को क्षमता प्रतिघण्टा ५०० कार्ड छपाइ गर्ने रहेको छ । यसले पूर्णरूपमा काम गर्न थालेसँगै अहिले रहेको चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ समाधान हुने प्रवक्ता खनालले बताए । चालक अनुमतित्रका लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणका लागि राजश्व बुझाएको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र पाइसकेका छैनन् । सरकारले चार वर्षपहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । अहिलेसम्म विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन)को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका थिएनन् ।
तिलोत्तमा लगानी सम्मेलनमा १६ अर्बको प्रतिबद्धता, भयो प्रारम्भिक सम्झौता
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा झण्डै रु १६ अर्बको लगानी प्रतिबद्धता आएको छ । नगरपालिकाले २२ क्षेत्रमा गरेको प्रस्तावमध्ये ३० क्षेत्रमा लगानी प्रतिबद्धता आएको हो । लगानी प्रतिबद्धता आएका प्रस्तावमध्ये कृषि, पर्यटन, उद्योग, सीप विकास र रोजगारीसँग सम्बन्धित रहेको तिलोत्तमा नगरपालिकाका प्रेस संयोजक बिपी गौतमले जानकारी दिए । प्रतिबद्धता आएका संस्था र तिलोत्तमा नगरपालिकाबीच विहीबार नै प्रारम्भिक सम्झौतासमेत भएको उले जानकारी दिए । । लगानी प्रतिबद्धता आएकामध्ये युकेएड र नगरपालिकाबीचको साझेदारीमा प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी सीप परियोजना सञ्चालन गर्ने प्रतिबद्धतामा प्रारम्भिक सम्झौता भएको छ । यस्तै नेपाल बैंक लिमिटेडले नगरभित्रका वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै आत्मनिर्भर हुन व्यवसाय सञ्चालन गर्न चाहने, द्वन्द्वपीडित र विपन्न परिवारका जनतालाई नगरपालिकाको सिफारिसमा सहुलियत कर्जा उपलब्ध गराउन रु एक करोड लगानी गर्ने प्रतिबद्धता आएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे लगानी सम्मेलनमा नगरभित्रका सहकारीको समूहको लगानीमा तिलोत्तमा नगरपालिकामा दुग्ध प्रशोधन केन्द्र स्थापना गर्ने पनि प्रतिबद्धता आएको छ । यस्तै रिडी हाइड्रोले रु ८० करोडको लगानीमा सौर्य ऊर्जा स्थापना गर्ने, रु एक अर्ब ६० करोडको लगानीमा भाटा रिसोर्ट प्रालि सञ्चालन गर्ने र मिनि नेपाल प्रालिले पर्यटनको क्षेत्रमा स्मार्ट पार्क स्थापना गर्न रु एक अर्ब ५० करोड लगानीको प्रतिबद्धतामा सम्झौता भएको प्रेस संयोजक गौतमले जानकारी दिए । यसका साथै सङ्घीय सरकारको लगानीमा यसअघिनै घोषणा भएको फोहरमैला प्रशोधन केन्द्र र कृषिउपज सङ्कलन केन्द्रको परियोजनाको कामसमेत अघि बढाउने घोषणा गरिएको छ । लगानी सम्मेलनमा आएका लगानीका प्रस्तावबाहेक निजी क्षेत्रबाट करीब दुई दर्जन उद्योग तथा व्यावसायिक क्षेत्रका लगानीको समेत प्रतिबद्धता जाहेर गरिएको छ । यसका लागि डेरी, मिठाई, कमर्सियल फार्मिङ, स्मार्ट टनेल खेतीजस्ता निजी क्षेत्रबाट लगानीको प्रतिबद्धता आएको उनले बताए । नगरपालिकाले प्रस्ताव गरेका आयोजनामा लगानीकर्ताले जग्गाको समेत माग गरेमा लिजमा जग्गा उपलब्ध गराउने र प्रतिष्ठान स्थापना गर्न आवश्यक कानूनी प्रक्रियालाई सहजिकरण गर्ने र विभिन्न राजश्वमा छुटको व्यवस्था गर्ने छ । यस्तै निजी क्षेत्रका तर्फबाट आउने लगानीकर्तालाई समेत कानूनी प्रक्रियामा सहजीकरण र राजश्वमा छुटको व्यवस्था मिलाइने बताइएको छ । लगानी सम्मेलनमा नगरपालिकाले लगानी सम्मेलनका माध्यमबाट तिलोत्तमा कृषिउपज सङ्कलन तथा प्रशोधन केन्द्र, तिलोत्तमा मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई समेत व्यापारमा जोड्ने गरी बिजनस हब, रेल वे रिङरोडजस्ता परियोजनामा लगानी भित्र्याउने मुख्य लक्ष राखिएको थियो । यस्तै स्मार्ट हाटबजार, स्मार्ट पार्किङस्थल, बाल उद्यान, रोहिणी एकीकृत बहुउद्देश्यीय पर्यटकीयस्थल, तिलोत्तमा मिनी नेपाल, महिला तथा बाल अस्पताल र एकीकृत दूध सङ्कलन तथा प्रशोधन केन्द्रजस्ता आयोजना अघि सारिएको थियो । नगरपालिकाले सम्मेलनबाट रु ५० अर्बभन्दा बढी पूँजी भित्रिने अपेक्षा राखिएको थियो । रासस
एनएमबि र ओमको बैंकिङ सेवा आज बन्द, एकीकृत कारोबार भोलिदेखि
काठमाडौँ । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको बैंकिङ सेवा शुक्रबार बन्द हुने भएको छ । बबरमहलमा कार्यालय रहेको एनएमबि र पोखरा चिप्लेढुंगामा मुख्य कार्यालय रहेको ओम एक आपसमा गाभिएर असोज ११ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएकाले दुबै संस्थाको तथ्याङ्क एकीकृत गरी एउटै कोर बैंकिङ सफ्टवेयरबाट कारोबार गर्नु पर्ने भएकाले शुक्रबार कारोबार बन्द हुने जनाइएको छ । बैंकका सम्पूर्ण काउन्टरहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम/पीओएस सेवा, रेमिट्यान्स सेवा तथा विद्युतीय माध्यमबाट प्रदान गर्ने सेवा लगायत सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
दशैंका लागि नोट साट्ने सुविधा आजदेखि, एक व्यक्तिले साढे १८ हजार पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि दशैंका लागि सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा दिएको छ । बैंकले असोज १७ गतेसम्म प्रत्येक व्यक्तिलाई ५, १०, २०, ५० र १०० सय दरका एक-एक प्याकेट नोट उपलब्ध गराउने व्यवस्था मिलाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । हरेक वर्षको दशैंमा जस्तै यस वर्षको दशैंमा पनि बैंकले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढी कार्यालयबाट सो सेवा उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकका यी कार्यालय सहित राष्ट्रिय वाणिज्य बैंकको १०, नेपाल बैंकको ७ र कृषि विकास बैंकको ६ शाखाबाट आमसर्वसाधारणले नयाँ नोट सटही गर्न पाउने छन् । सर्वसाधारणले राष्ट्रिय वाणिज्य बैंकको सिंहदरवारप्लाजा, सिंहदरवार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बाजालु, लुभु र टोखा शाखाबाट नयाँ नोट साट्न पाउने छन् । त्यस्तै नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सो सुविधा पाउने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ । कृषि विकास बैंकको गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ । यसका साथै बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई पनि यो सुविधा दिन सक्ने व्यवस्था मिलाएको निरौलाले बताए ।
अब एटीएम बुथमा अनिवार्य सुरक्षा गार्ड राख्नुपर्ने
काठमाडौं । एटीएम मेशिनबाट नगद निकाल्नेर चोरी गर्ने बढेपछि देशभर संचालित एटीएम बुथमा सुरक्षा गार्ड राख्नु पर्ने भएको छ । एक महिनाको अवधिमा भारतीय एजेन्टसँग मिलेर नेपालीले र चिनियाँ नागरिकहरूले समेत एटीएम बुथबाट पैसा निकालेपछि राष्ट्र बैंकले निगरानी बढाउन सुरक्षा गार्ड अनिवार्य राख्नु पर्ने व्यवस्था गरेको हो । ‘अब एटीएम बुथहरुमा २४ घण्टा नै सुरक्षा गार्ड राखेर विशेष निगरानी गर्नुपर्ने छ,’ शंकास्पद गतिविधि भएमा यथासक्य तोकेको पदाधिकारीलाई खबर गर्नुपर्छ,’ राष्ट्र बैंकको निर्देशिकामा उल्लेख गरिएको छ । यसअघि राष्ट्र बैंकले सबैतिर सीसी क्यामेरा र सुरक्षा गार्ड राख्नु पर्ने व्यवस्था गरेको थियो । अहिले बैंक तथा वित्तीय संस्थाहरुसँग ३ हजार ३ सय १६ वटा एटिएम बुथ छन् । यसमध्ये अधिकांस बैंकिङ कार्यालयमा छन् भने कतिपय बेग्लै पनि राखिएका छन् ।
धितो मूल्यांकनकर्ता खत्री पक्राउ, सीआईबीले उच्च अदालत पाटनमा बुझायो
काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) को ऋण दूरुपयोग गरेको अभियोगमा धितो मूल्यांकनकर्ता भेषराज खत्री पक्राउ परेका छन् । बिओके कमलपोखरी कार्यालयका प्रमुख प्रतिक श्रेष्ठको जाहेरीमा मूल्यांकनकर्ता एभरेष्ट ईन्जिनियरिङ कन्सल्टेन्सी विराटनगरका भेषराज खत्रीलाई आज बिहीबार नेपाल प्रहरीको अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरी उच्च अदालत पाटनमा बुझाएको छ । बैंकबाट स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रालिका संस्थाक एवम् सञ्चालक सुरेन्द्र श्रेष्ठले ऋण लिएका थिए । उनले झापाको ४ कठ्ठा १० धुर जग्गा झुक्याइ झुठ्ठा विवरण लिखत र नापी, नक्सा मिलाइ बैंकमा पेश गरेको आरोप प्रहरीको छ । श्रेष्ठले एक ठाउँको जग्गा देखाएर अर्को ठाउँको जग्गा धितोमा राखेका थिए । सो जग्गाको मूल्यांकन खत्रीले गरेका थिए । बैंकलाई हानीनोक्सानी पुर्याउने कार्यमा संलग्न रहेको अभियोगमा उनलाई पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ ।