विजयादशमीको बिदामा समेत प्रभु बैंकले २४ शाखामा दशैं काउन्टर सञ्चालन गर्ने
काठमाडौँ । विजयादशमी बिदाको दिन समेत प्रभु बैंकले २४ शाखामा बैकिङ दशैँ काउन्टर सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्र ९ र उपत्यका बाहिर १५ शाखामा दशैँ काउन्टर सञ्चालन गर्ने प्रभु बैंकले जनाएको छ । असोज २१ गते विजयादशमीका दिन भने बैंकिङ सेवा बन्द रहने जनाइएको छ । दशैँ काउन्टरमा बढी १ लाख रुपैयाँको चुक भुक्तानी हुने र रेमिट्यान्स रकम बढीमा ५० हजारसम्म भुक्तानी लिन सकिने छ ।
सिटिजन्स बैंकमा फर्किए राजनसिंह भण्डारी
काठमाडौं । प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएको ८ महिनापछि राजनसिंह भण्डारी सिटिजन्स बैंकमा फेरि फर्किएका छन् । तर प्रमुख कार्यकारी अधिकृतकाे हैसियतमा हाेइन, सञ्चालक समितिकाे अध्यक्षकाे हैसियतमा बैंककाे नेतृत्व गर्दैछन् । शुक्रबार हुन गइरहेको बैंकको साधारणसभामा रहेको ३ जना प्रोमोटर र एकजना सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचनमा ४ जनाको मात्रै उम्मेदवारी परेपछि उनी बैंकमा भित्रने निश्चित भएको हो । सञ्चालकहरुको निर्वाचन गर्न गठित निर्वाचन समितिका संयोजक विवेक घिमिरेले ४ जना सञ्चालकका लागि ४ जनाको मात्रै उम्मेदवारी परेकोले शुक्रबारको साधारणसभाबाट उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरिने जानकारी दिए । त्यस्तै, सिटिजन्स बैंकमा प्रमोटरका तर्फबाट प्रवलजंग पाण्डे र सजन शर्मा सञ्चालक बन्ने भएकाे छन् । पाण्डे नेपाल उद्याेग वाणिज्य महासंघकाे कार्यसमिति सदस्य हुन् । केही वर्षअघि उनकाे बुबा प्रदिपजंङ्ग पाण्डेले यस बैंककाे अध्यक्षकाे जिम्मेवारी समालेका थिए । सजन शर्मा पूर्व सञ्चालक डाेलराज शर्माका छाेरा हुन् । त्यस्तै, सर्वसाधारण शेयरधनीका तर्फबाट महिला सञ्चालक सीता कार्की चुनिकी छिन । क्षमता, अनुभव र वरिष्टताकाे आधारमा राजनसिंह भण्डारी सिटिनन्स बैंकको अध्यक्ष बन्ने पक्का भएको स्राेतले बतायाे । छ । हाल अध्यक्ष रहेका डा. शंकर शर्माको कार्यकाल साधारणसभा समापनसँगै सकिने छ । नयाँ सञ्चालक समितिले नयाँ अध्यक्ष चयन गर्नेछ । भण्डरी सिटिजन्स बैंक प्रबर्द्धकका साथै संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । उनले लगातार १२ वर्ष बैंककाे प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी समालेका थिए । उनलाई बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिन चाहेकाे थियाे । बाफियामा उल्लेखित २ कार्यकालको व्यवस्था देखाउँदै राष्ट बैंकले तेस्राे कार्यकालका लागि नियुक्ती नगर्न सञ्चालक समितिलाई संकेत दिएपछि बैंकले भण्डारीलाई सल्लाहकारकाे रुपमा नियुक्त गरेको थियो । तर त्यसमा राष्ट्र बैंकको असन्ताेषपछि उनले सल्लाहकार पदबाट राजीनामा दिएका थिए । आफूभन्दा कनिष्ट व्यक्ति डेपुटी गभर्नर भएपछि राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । राष्ट बैंक छाेडेपनि उनले बैकिङ क्षेत्र छाेडेनन् । सिटिजन्स बैंकका संस्थापक भण्डारी प्रमुख कार्यकारी अधिकृत हुँदै अध्यक्ष समेत हुने निश्चित भएकाेछ । उनी नेपाल बैकर्स संघकाे अध्यक्ष समेत भएका थिए ।
आज विश्व पर्यटन दिवस, सबै पर्यटकलाई हानले २० प्रतिशत छुट दिने
काठमाडौं । ४० औं विश्व पर्यटन दिवस नेपालमा पनि शुक्रबार धुमधामका साथ मनाइँदै छ । ‘पर्यटन र रोजगारः सबैका लागि सुनौलो भविश्य’ भन्ने मूल नाराका साथ नेपालमा पनि सेप्टेम्बर २७ अर्थात असोज १० गते विश्व पर्यटन दिवस मनाइने भएको हो । दिवसका अवसरमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाहरु मिलेर विविध कार्यक्रमको आयोजना गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघिय पर्यटन संगठनको आब्हानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाईदै आएको छ । सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतको पर्यटन बोर्डले शुक्रबार राजधानीको ठमेलमा दिवसको औपचारिक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । पर्यटन क्षेत्र सँग सम्बन्धित ५० भन्दा बढि संघ सस्थाहरुले राजधानीको ठमेलबाट प्रभातफेरी निकाल्ने तयारी रहेको बोर्डले जनाएको छ । बोर्डले दिवसका अवसरमा सबैभन्दा बढि पर्यटक भित्र्याउने पर्यटन उद्योगलाई सम्मानित समेत गर्ने बोर्डका सिनियर डाइरेक्टर हिक्मत सिंह ऐरले बताए । बोर्डले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, र पर्यटक भित्रिने मुख्य नाकाहरुमा नेपाल भित्रिने पर्यटकहरुलाई त्यहाँका पर्यटक सँग सम्वन्धित संस्थाहरुबाट विशेष स्वागत गर्ने जनाएको छ । यस्तै होटल एसोसिएसन अफ नेपालले नेपाल भित्रिने पहिलो दुई अन्तराष्ट्रिय पर्यटकलाई ५० प्रतिशत छुट र सबै पर्यटकलाई २० प्रतिशत छुट सहितको कुपन प्रदान गर्ने जनाएको छ । हानले विविध झाँक्री सहितका साँस्कृतिक कार्यक्रम गर्ने जनाएको छ । यस्तै देशभर विभिन्न कार्यक्रहरु गरी विश्व पर्यटन दिवस मनाइने जनाएको छ । पर्यटन सम्बन्धि संघं सस्थाहरुले विभिन्न जिल्लाहरुमा हेल्थ चेकअप, साँस्कृतिक कार्यक्रमहरु र पर्यटन सम्वन्धि विविध कार्यक्रम गरी दिवस मनाउने भएका छन् । ठमेलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका राज्यमन्त्री धनबहादुर बुढाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना हुने बोर्डले जनाएको छ । यो कार्यक्रमले पनि नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन धेरै सघाउ पुग्ने बोर्डले जनाएको छ ।
भ्रमण वर्षलाई थपिए २० पर्यटकीय बस, १० मुख्य पर्यटकीय शहरमा चलाउने
काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा शुरु गरेको छ । पोखरा मुख्य कार्यालय भएको कम्पनीले पर्यटकलाई सुरक्षित, भरपर्दो, आरामदायी भ्रमणको व्यवस्था गर्दै स्विफ्ट होलिडेज सञ्चालनमा ल्याएको हो । अहिले सुविधा सम्पन्न २० वटा गाडी सञ्चालनमा ल्याइएको छ । तीमध्ये १० वटा चार्टरमा र १० वटा मुख्य पर्यटकीय शहर पोखरा, चितवन, लुम्बिनीलगायतमा चलाउने योजना रहेको कम्पनीका प्रबन्ध निर्देशक मिलन नेपालले बताए । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा लिइएको पर्यटन क्षेत्रमा भावी विकासलाई मध्यनजर गर्दै लगानी बढाइएको उल्लेख गर्दै उहाँले यसले पर्यटन क्षेत्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे । पर्यटकीय याममा ठूलो सङ्ख्यामा घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै चार्टड सेवा ल्याइएको कम्पनीले उल्लेख गरेको छ । टोयटा ब्राण्डको यो गाडी आरामदायी र वातावरणमैत्री छ । सत्र सिट क्षमताको यो गाडीमा यात्रुको सुरक्षालाई विशेष महत्व दिइएको छ । आरामदायी सानो गाडीको जस्तै सुविधा रहेका यी गाडीको ढोका खुल्ला भएमा चालकले एक्सिलेटर पनि दबाउन सक्दैन । वीरगञ्ज, जनकपुरलगायत गन्तव्यमा पनि सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ । अहिले प्रायः सबै पर्यटक बस बिहान ७ः०० बजे बसपार्कबाट छुट्छन् तर कम्पनीले बिहानको खाजा खाएर मात्र ९ बजेदेखि सेवा शुरु हुने जनाएको छ ।
नलगाड जलविद्युत् आयोजनामा लगानीका लागि जाइका तयार
काठमाडौँ । सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समझदारी भएको जनाएको छ । जापान भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जाइकाका उच्च अधिकारीसँग विहीबार भएको छलफलमा त्यस्तो समझदारी भएको हो । मन्त्री पुन र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच आज भएको भेटवार्तामा उक्त परियोजनालाई अघि बढाउने विषयमा सैद्धान्तिक सहमति भएको मन्त्री पुनको सचिवालयले जनाएको छ । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयारीको क्रममा रहेको सो आयोजनाको क्षमतासमेत सात मेगावाटले बढेर ४१७ मेगावाट पुगेको छ । यसअघि सो आयोजनाको क्षमता ४१० मेगाबाट हुने बताइएको थियो । डिपिआर तयार भएपछि आयोजानलाई अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ । ऊर्जामन्त्री पुनले जाइकासँग सार्वजनिक निजी साझेदारीमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको र जापानी पक्षले सकारात्मक जवाफ दिँदै सहमति जनाएको थियो । सो आयोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ । “जाइकासँगको छलफल अत्यन्तै सकारात्मक भएको छ, डिपिआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिबद्धता जनाउनुभएकाले पनि चाँडै यसले मूर्तरुप पाउनेमा म आशावादी छु”, मन्त्री पुनले भने । छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । मन्त्री पुनले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध, नेपालमा जापानले गरिरहेको लगानीलगायतका विषयमा छलफल गरेका थिए । यस्तै, उक्त परियोजनालाई अघि बढाउने विषयमा बुधबार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्रयाटिकक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल गरेका थिए । भेटवार्तामा ऊर्जा मन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारी सहभागी थिए । भेटमा मन्त्री पुनले नेपालमा हाल स्थायी सरकार रहेको भन्दै थप लगानीका लागि आग्रह गरेका थिए । उनले नेपालमा जलविद्युत्को बजारसमेत सुरक्षित रहेको र नाफासमेत सजिलै लिन सकिने अवस्था सरकारले बनाएको तथ्य पेश गरेका थिए । आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित बिजुली बेच्नका लागि भारत र बङ्गलादेशसँग सम्झौता भइसकेको मन्त्री पुनको भनाइ थियो । उनले उत्पादित बिजुलीका लागि आन्तरिक र बाह्य बजार बनाउन सरकारसक्षम रहेको धारणासमेत राखे । मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न समेत आग्रह गरेका थिए । नेपालको जलविद्युत् क्षेत्रमा लगानीको लागि सरकारले उपयुक्त वातावरण बनाएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरे । कार्यक्रममा मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपाली लगानीकर्तासरह सुविधा दिने प्रतिबद्धता जनाए । उनले, “तपाईहरुले नेपालमा लगानी गर्नुभयो भने हामी नेपाली लगानीकर्तासरह नै सुविधा दिन्छौँ । उत्पादित बिजुली पनि हामीले नै खरीद गर्छौं, बजारको पनि चिन्ता नगर्नुहोस् ।” मन्त्री पुनले उत्पादकले चाहेमा छिमेकी देशमा बेच्ने वातावरणसमेत बनाइदिने प्रतिबद्धता जनाए । अन्तरक्रियामा जापानमा जलविद्युत्को क्षेत्रमा काम गरिरहेका तोसिबा, कान्साइ, टोकियो इलेक्ट्रोनिक्स, न्युजेक इलेक्ट्रोनिक्सलगायत कम्पनी सहभागी थिए । कार्यक्रमको संयोजनसमेत जाइकाले गरेको थियो । रासस
चालक अनुमतिपत्र छपाइका लागि आइपुग्यो चार लाख कार्ड
काठमाडौँ । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड आइपुगेको हो । ‘ग्लोबल टेण्डर’ मार्फत कार्ड खरीद गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विभागमा कार्ड थोरै मात्रै बाँकी रहेकाले र अहिले ठूलो क्षमताको उपकरण ९मास प्रिन्टर० को परीक्षण भइरहेकाले अहिलेसम्म थोरै सङ्ख्यामा छपाइ हुँदै आएको विभागका प्रवक्ता तीर्थराज खनालले बताए । दश लाख कार्ड खरीद प्रक्रिया अघि बढाइएकामा केही समयभित्रै बाँकी छ लाख कार्ड आइपुग्नेछ । उनले भने, “कार्ड पर्याप्त भएपछि नियमित र क्षमतानुसार छपाइ हुनेछ ।” ‘मास प्रिन्टर’ को क्षमता प्रतिघण्टा ५०० कार्ड छपाइ गर्ने रहेको छ । यसले पूर्णरूपमा काम गर्न थालेसँगै अहिले रहेको चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ समाधान हुने प्रवक्ता खनालले बताए । चालक अनुमतित्रका लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणका लागि राजश्व बुझाएको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र पाइसकेका छैनन् । सरकारले चार वर्षपहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । अहिलेसम्म विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन)को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका थिएनन् ।
तिलोत्तमा लगानी सम्मेलनमा १६ अर्बको प्रतिबद्धता, भयो प्रारम्भिक सम्झौता
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा झण्डै रु १६ अर्बको लगानी प्रतिबद्धता आएको छ । नगरपालिकाले २२ क्षेत्रमा गरेको प्रस्तावमध्ये ३० क्षेत्रमा लगानी प्रतिबद्धता आएको हो । लगानी प्रतिबद्धता आएका प्रस्तावमध्ये कृषि, पर्यटन, उद्योग, सीप विकास र रोजगारीसँग सम्बन्धित रहेको तिलोत्तमा नगरपालिकाका प्रेस संयोजक बिपी गौतमले जानकारी दिए । प्रतिबद्धता आएका संस्था र तिलोत्तमा नगरपालिकाबीच विहीबार नै प्रारम्भिक सम्झौतासमेत भएको उले जानकारी दिए । । लगानी प्रतिबद्धता आएकामध्ये युकेएड र नगरपालिकाबीचको साझेदारीमा प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी सीप परियोजना सञ्चालन गर्ने प्रतिबद्धतामा प्रारम्भिक सम्झौता भएको छ । यस्तै नेपाल बैंक लिमिटेडले नगरभित्रका वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै आत्मनिर्भर हुन व्यवसाय सञ्चालन गर्न चाहने, द्वन्द्वपीडित र विपन्न परिवारका जनतालाई नगरपालिकाको सिफारिसमा सहुलियत कर्जा उपलब्ध गराउन रु एक करोड लगानी गर्ने प्रतिबद्धता आएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे लगानी सम्मेलनमा नगरभित्रका सहकारीको समूहको लगानीमा तिलोत्तमा नगरपालिकामा दुग्ध प्रशोधन केन्द्र स्थापना गर्ने पनि प्रतिबद्धता आएको छ । यस्तै रिडी हाइड्रोले रु ८० करोडको लगानीमा सौर्य ऊर्जा स्थापना गर्ने, रु एक अर्ब ६० करोडको लगानीमा भाटा रिसोर्ट प्रालि सञ्चालन गर्ने र मिनि नेपाल प्रालिले पर्यटनको क्षेत्रमा स्मार्ट पार्क स्थापना गर्न रु एक अर्ब ५० करोड लगानीको प्रतिबद्धतामा सम्झौता भएको प्रेस संयोजक गौतमले जानकारी दिए । यसका साथै सङ्घीय सरकारको लगानीमा यसअघिनै घोषणा भएको फोहरमैला प्रशोधन केन्द्र र कृषिउपज सङ्कलन केन्द्रको परियोजनाको कामसमेत अघि बढाउने घोषणा गरिएको छ । लगानी सम्मेलनमा आएका लगानीका प्रस्तावबाहेक निजी क्षेत्रबाट करीब दुई दर्जन उद्योग तथा व्यावसायिक क्षेत्रका लगानीको समेत प्रतिबद्धता जाहेर गरिएको छ । यसका लागि डेरी, मिठाई, कमर्सियल फार्मिङ, स्मार्ट टनेल खेतीजस्ता निजी क्षेत्रबाट लगानीको प्रतिबद्धता आएको उनले बताए । नगरपालिकाले प्रस्ताव गरेका आयोजनामा लगानीकर्ताले जग्गाको समेत माग गरेमा लिजमा जग्गा उपलब्ध गराउने र प्रतिष्ठान स्थापना गर्न आवश्यक कानूनी प्रक्रियालाई सहजिकरण गर्ने र विभिन्न राजश्वमा छुटको व्यवस्था गर्ने छ । यस्तै निजी क्षेत्रका तर्फबाट आउने लगानीकर्तालाई समेत कानूनी प्रक्रियामा सहजीकरण र राजश्वमा छुटको व्यवस्था मिलाइने बताइएको छ । लगानी सम्मेलनमा नगरपालिकाले लगानी सम्मेलनका माध्यमबाट तिलोत्तमा कृषिउपज सङ्कलन तथा प्रशोधन केन्द्र, तिलोत्तमा मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई समेत व्यापारमा जोड्ने गरी बिजनस हब, रेल वे रिङरोडजस्ता परियोजनामा लगानी भित्र्याउने मुख्य लक्ष राखिएको थियो । यस्तै स्मार्ट हाटबजार, स्मार्ट पार्किङस्थल, बाल उद्यान, रोहिणी एकीकृत बहुउद्देश्यीय पर्यटकीयस्थल, तिलोत्तमा मिनी नेपाल, महिला तथा बाल अस्पताल र एकीकृत दूध सङ्कलन तथा प्रशोधन केन्द्रजस्ता आयोजना अघि सारिएको थियो । नगरपालिकाले सम्मेलनबाट रु ५० अर्बभन्दा बढी पूँजी भित्रिने अपेक्षा राखिएको थियो । रासस
एनएमबि र ओमको बैंकिङ सेवा आज बन्द, एकीकृत कारोबार भोलिदेखि
काठमाडौँ । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको बैंकिङ सेवा शुक्रबार बन्द हुने भएको छ । बबरमहलमा कार्यालय रहेको एनएमबि र पोखरा चिप्लेढुंगामा मुख्य कार्यालय रहेको ओम एक आपसमा गाभिएर असोज ११ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएकाले दुबै संस्थाको तथ्याङ्क एकीकृत गरी एउटै कोर बैंकिङ सफ्टवेयरबाट कारोबार गर्नु पर्ने भएकाले शुक्रबार कारोबार बन्द हुने जनाइएको छ । बैंकका सम्पूर्ण काउन्टरहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम/पीओएस सेवा, रेमिट्यान्स सेवा तथा विद्युतीय माध्यमबाट प्रदान गर्ने सेवा लगायत सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।