विकासन्युज

दश लाख युवा परिचालन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले घोषणा गरेको ‘युवा परिचालन वर्ष’मा १० लाख युवा परिचालन गर्ने तयारी थालेको छ । युवा तथा खेलकूद मन्त्रालयले यस आर्थिक वर्षमा युवालाई विभिन्न क्षेत्रमा परिचालन गर्न कार्यक्रमको खाका माग गरेको छ । खाका माग गर्न मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा युवा परिचालन कार्यक्रम मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिमा युवासम्बन्धी सरोकार रहेका अरु मन्त्रालयको समेत प्रतिनिधित्व रहनेछ । मन्त्रालयका युवा परिचालन तथा परामर्श शाखाका प्रमुख कृष्णप्रसाद बस्यालले समितिले युवा परिचालन वर्ष मनाउनका लागि के–कस्ता कार्यक्रम गर्ने भनेर युवासम्बन्धी काम गर्न खाका माग गरेको बताएका छन् । उनले युवा परिचालन वर्ष मनाउने भने पनि कुन विषयमा कार्यक्रम गर्ने भन्ने नीति उल्लेख नगरिएकाले विषयगत मन्त्रालयसँग खाका माग गरिएको जानकारी दिए । मन्त्रालयले युवाका क्षेत्रमा के गर्न सकिने र नसकिने सम्बन्धमा खाका माग गरेको हो । “साउनदेखि नै युवा परिचालनका कार्यक्रम सञ्चालन भइरहेका छन्”, उनले भने, “तर, युवाका क्षेत्रमा विशिष्टकृत कार्यक्रम सञ्चालनका लागि युवासम्बन्धी काम गर्ने मन्त्रालयसँग प्रस्ताव माग गरिएको छ ।” सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत युवा परिचालन वर्ष घोषणा गरेको थियो । सरकारले राष्ट्रिय युवा नीति–२०७२ र युथ भिजन–२०२५ सहित १० वर्षे रणनीतिक योजनामा समेटिएका युवाका कुरालाई लक्षित गरेर परिचालन वर्ष सञ्चालन गर्ने बस्यालले बताएका छन् । नीतिको सार्थक सहभागिता, क्षमता र नेतृत्व विकासका माध्यमबाट युवालाई राष्ट्रिय विकासको मूलधारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्ने युवाको भूमिका र उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउनु रहेको छ । यस्तै युथ भिजनले युवाको शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षा, सहभागिता र नेतृत्व विकास तथा खेलकूद र मनोरञ्जन क्षेत्रमा विकास गर्ने लक्ष्य लिइएको छ । राष्ट्रिय युवा परिषद्ले विभिन्न १० क्षेत्रमा युवालाई परिचालन गर्नेछ । परिषद्ले कृषि उत्पादनमा युवा, पर्यटन प्रवद्र्धनमा युवा, सार्वजनिक शिक्षा सबलीकरणमा युवा, वातावरण संरक्षणमा युवा, अन्धविश्वास लैङ्गिक हिंसा जातीय विभेद तथा छुवाछूतविरुद्ध युवा, उद्यमशीलतामा युवा र सुशासनमा युवालाई परिचालन गर्नेछ । यसैगरी, विपद् व्यवस्थापन तथा स्वयमसेवकीय कार्यमा युवा परिचालन, परम्परागत सीपको विकास तथा संरक्षणमा युवा र स्वस्थ्य तथा खेल सचेतनामा युवालाई परिचालन गर्नेछ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले ती क्षेत्रमा १० लाख युवा परिचालन गरिने बताए । उनका अनुसार मङ्सिरभित्रमा कुन मन्त्रालयले के गर्ने भन्ने निक्र्योल गर्ने, पुसमा प्रदेश र माघको १५ गतेभित्र स्थानीय तहमा के कार्यक्रम गर्ने भन्ने स्पष्ट खाका प्रस्तुत गरिने छ । उनले माघदेखि असारसम्म नै सङ्घ, प्रदेश र स्थानीय तहमा युवा परिचालन गरिने जानकारी दिएका हुन् । उपसचिवसमेत रहेका बस्यालले युवा क्षमता विकास गर्ने, युवाका समस्या, सीप तथा तालीम दिनका लागि समेत परिचालन वर्ष गरिने जानकारी दिएका छन् । “यस वर्ष हामीले कुन–कुन क्षेत्रमा युवालाई परिचालन गर्न सक्दछौँँ, त्यो कार्यक्रमअनुसार थाहा हुन्छ”, उनले भने, “यस वर्ष परिचालनको प्रारम्भिक कार्य भए पनि आउँदो वर्षदेखि परिचालन वर्षलाई निरन्तरता दिने योजना रहेको छ ।” रासस

नेपालमा बनेका वस्तु तथा सेवा प्रदर्शनी, बजार मूल्यमा ३० प्रतिशत छुट

काठमाडौँ । सानेपाको हेरिटेज गार्डेनमा ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ शुक्रबार शुरु भएको छ । नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठमा नेपालीहरुले धेरै बस्तु तथा सामाग्रीहरु उपभोग गर्छन्, यही कुरालाई मध्यनजर गर्दै नेपालमा बनेको वस्तु तथा सेवाको प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनमा राखिएका वस्तु र सेवाहरु बजार मूल्यभन्दा १० देखि ३० प्रतिशतसम्म छुट दिएमा बिक्री वितरण हुने आयोजक युवा उद्यमी मञ्चले जनाएको छ । ‘आफ्नो भन्या आफ्नै हो’ भन्ने नाराका साथ स्वदेशमै उत्पादन भएको सम्पूर्ण सामाग्रीको सम्बद्र्धन, प्रवद्र्धनत र बजारीकरण गर्ने उद्देश्यले युवा उद्यमी मञ्चले उक्त मेलाको आयोजना गरेको हो । मेड इन नेपाल-वस्तु तथा सेवा प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरेका हुन् । यो प्रदर्शनी नेपालमा सियोसम्म बन्दैन भन्दै हिड्नेहरुलाई नेपाली उद्योग क्षेत्रमा सकारात्मक परिवर्तन हुँदै गएको गतिलो उदाहरण भएको मन्त्री यादवले बताए । उद्योगी व्यवसायीहरुसँग छलफल गरेर नेपालमा उत्पादन हुने बस्तुहरुको उत्पादन र उपभोक्ता बढाउन सरकारले सहयोग गर्ने मन्त्री यादवले प्रतिबद्धता जनाए । उनले भने-‘सरकारले उद्योगीहरुलाई सहजिकरण, सहयोग र औद्योगिक वातावरण सिर्जना गर्ने हो । विश्वमा सामान्य व्यक्तिहरुले पनि अन्तर्राष्ट्रिय स्तरका उद्योगहरु सञ्चालन गरिरहेको छन्, नेपाल पनि त्यहि क्रममा विकास हुँदै गएको छ । ’ आयोजक युवा उद्यमी मञ्चका अध्यक्ष निकोलस पाण्डेले प्रदर्शनीमा स्वदेशमै उत्पादित गुणस्तरीय वस्तु तथा सामाग्रीहरु राखिएको बताए । उनने भने–‘नेपालमा उत्पादन भएका बस्तुहरु पनि उच्च गुणस्तरको छ भनेर बुझाउन आवश्यक छ ।’ प्रदर्शनी शनिबारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा ७० वटाभन्दा धेरै स्टल रहेका छन् । ७५ ओटै जिल्लाका पहिचान बोकेका वस्तु तथा सेवाहरु प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा इट्टा, सिमेन्ट, कपडा, अचार, सिङ्गारका सामाग्री र  भाडाकुँडा लगायत नेपालमा उत्पादन हुने सम्पूर्ण सामाग्रीहरु राखिएका छन् ।

एनएलजी इन्स्योरेन्सको तेह्रौं साधारण सभा सम्पन्न, ‘पोर्टफोलियो निरन्तर बृद्धिमा’

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, पानीपोखरी, काठमाडौँको तेह्रौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/०७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७५ साल असार मसान्तको वासलात, २०७४ साउन १ देखि २०७५ असार ३२ सम्मको नाफा-नोक्सान हिसाब र नगदप्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयहरु छलफल भई पारित गर्ने निर्णय गर्यो । कम्पनीका अध्यक्ष बिमलप्रसाद वाग्लेले बिगतका वर्षहरुमा कम्पनीले नियमित लाभांश प्रदान गर्दै आएकोमा यसपटक बीमा समितिको निर्देशनअनुसार एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा बिभिन्न किसिमको व्यवस्था तथा जगेडामा रकमान्तर गर्नु पर्दा लक्ष्य अनुसार लाभांश वितरण गर्न नसकिएको जानकारी गराए । बीमा समितिको निर्देशनअनुसार रु. एक अर्ब चुक्ता पूँजी पुर्याउनको लागि २०७६ जेठ १४ गते सम्पन्न विशेष साधारण सभाको निर्णय अनुसार ६० प्रतिशत हकप्रद शेयर जारी गर्न लागिएको अध्यक्ष वाग्लेले जानकारी गराएका हुन् । कम्पनीले आव २०७४/०७५ मा कुल बीमा शुल्क आम्दानी रु. १५० करोड ४८लाख, खुद बीमा शुल्क आम्दानी रु. ६९ करोड १५ लाख र खुदनाफा रु. २४ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ११.६८ प्रतिशतले बृद्धि भई २०७५ साल असार मसान्तमा रु. १९६ करोड पुगेको छ । आव २०७५/०७६ मा कम्पनीको कूल कारोबार गत आव २०७४/०७५ कोे तुलनामा १०.६८ प्रतिशतले बृद्धि भई, रु. १६६.५६ करोड बीमा शुल्क आर्जन गरेको छ र सबै पोर्टफोलियोहरु निरन्तर बृद्धिमा रहेको कम्पनी सचिव मनोज श्रेष्ठले जनाएका छन् ।

अनुगमन टोली बजार पुग्दा व्यापारीहरु भागाभाग, म्याद नाघेको खाद्यवस्तु बरामद

सोलुखुम्बु । जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्त रूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । न्यूनतम मापदण्ड पूरा नगरेका मासु पसलका कारण बजार क्षेत्र सधै दुर्गन्धित हुन्छ । बिहीबार दिउँसो स्थानीय प्रशासनसहितको अनुगमन टोली बजारमा पुग्दा माछा मासु पसल सञ्चालकहरुको भागाभाग भएको थियो । अनुगमनमा संलग्न सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले १५ दिनको म्याद दिएर उनीहरुलाई मापदण्डमा आउन आग्रह गरिएको बताए । अवज्ञा गरी पुनः सञ्चालन गरेको पाइएमा त्यस्ता पसललाई सिल गर्दै सञ्चालकलाई कारवाही गर्ने पनि उनले जानकारी दिए । फाप्लुमा बढी म्याद नाघेको सामाग्री सल्लेरी तथा फाप्लुको अधिकांश पसलमा म्याद गुज्रेको खाद्यवस्तुमध्ये मिट मसला बढी भेटिएको छ । नगरपालिका–६ को जिरोप्वाइन्टदेखि वडा नं ५ को प्रशासन कार्यालय नजिक र वडा नं ४ फाप्लुसहित ४५ पसलमा गरिएको अनुगमनको क्रममा मिट मसलापछि बिस्कुट, थुक्पा र चिउरालगायतका खाद्यवस्तुको म्याद गुज्रेको पाइएको हो । अनुगमन गरिएकामध्ये पाँच पसल बिनादर्ता सञ्चालनमा रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी दिए । नगरपालिका उपमेयर कल्पना राईको नेतृत्वमा गरिएको अनुगमन टोलीले फाप्लु क्षेत्रको पसलबाट सबैभन्दा बढी म्याद नाघेको खाद्यवस्तु बरामद गरेको छ । टोलीले २६६ प्याकेट मिट मसला, १६४ थान बिस्कुट, ६६ थान थुक्पा, ४१ प्याकेट चिउरासहित २१ प्रकारको खाद्यवस्तु बरामद गरेको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिएका छन् । उनका अनुसार ती खाद्यवस्तुको मुचुल्का उठाउने काम सकिएकाले आज डिस्पोज गरिनेछ । सोलुखुम्बु आइपुग्दा म्याद सकिएको हुन्छ चाडबाड नजिकिएकाले मानव स्वास्थ्यलाई ध्यानमा राख्दै गाउँ–गाउँमा समेत बजार अनुगमन गरिनुपर्ने इलाका प्रहरी कार्यालय सोताङका प्रमुख प्रहरी निरीक्षक प्रदीप खड्काले बताएका हुन् । हिमाली जिल्ला भएकाले अन्तिम म्याद भएका अधिकांश खाद्यवस्तु आउने गरेको व्यापारीले बताएका छन् । फाप्लुका एक व्यापारी पदम तामाङले केही दिन अगाडि मात्रै ल्याएको सनफ्लावर तेलको एक महिना अगाडि नै म्याद सकिएको पाइएको छ । उनलाई समेत डिलरले ढाँटेर छाडेको पाइएको अनुगमन टोलीले जनाएको छ । बरामद भएका केही मसला दुई वर्ष अगाडि नै म्याद सकिएको भए पनि बिक्रीमा राखेको पाइएको सहायक प्रजिअ शाहीले जानकारी दिए । उनले व्यापारीले समेत सामान खरीद गर्दा उत्पादन मिति र म्याद समाप्त हुने मिति हेर्नुपर्ने सुझाव दिएका छन् । बिहीबार गरिएको बजार अनुगमनका क्रममा प्रहरी, प्रशासन, नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार महासङ्घ, उपभोक्त हित संरक्षण मञ्च, उद्योग वाणिज्य सङ्घलगायतको सहभागिता रहेको थियो । यो बजार अनुगमनलाई गाउँगाउँमा पुर्याइने प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । यता सल्लेरीका केही व्यापारीले समेत समय–समयमा बजार अनुगमन गर्न माग गरेका छन् । अनुगमनमा पुगेको टोलीलाई उनीहरुले प्रत्येक महिना अनुगमन गरिदिन आग्रहसमेत गरेका हुन् । कानूनी व्यवस्था उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ५ को दफा २० को उपदफा १ मा वस्तु उत्पादन गर्ने उद्योग भए उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवासायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था उल्लेख छ । तर यहाँका अधिकांश पसलमा यो व्यवस्था लागू भएको छैन । सोही ऐनको परिच्छेद २ को दफा ३ को उपदफा १ ले उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने अधिकार प्रदान गरेको छ । सोही परिच्छेदको उपदफा २ को खण्ड (ङ) मा समेत मावन जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानी पुर्याउने वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार ग्यारेण्टी गरेको छ । तर यहाँका अधिकांश क्षेत्रमा सञ्चालित पसलले हाल क्रियाशील रहेको ऐनको एक छेउ पनि कार्यान्वयन गरेको पाइँदैन । परिच्छदे ३ को दफा ११ खण्ड (घ) मा सम्बन्धित निकाय वा पदाधिकारीले माग गरेको बखत आफूसँग रहेको मौज्दात वा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था उल्लेख छ । तर पनि अनुगमन टोली जाँदा कुनै पनि व्यापारी वा व्यवसायीले आफूसँग भएको गोदाम वा मौज्दात वस्तु उपलब्ध गराएनन् ।

विश्व मुटु दिवसको अवसरमा नर्भिकले गर्यो प्रभातफेरी

  काठमाडौँ । विश्व मुटु दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले शुक्रबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । गतवर्ष नर्भिकमा विविधखाले मुटुरोगको सफलतापूर्वक उपचार गराई नव जीवन प्राप्त गरेका बिरामीहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणको उपस्थितिमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नर्भिक हस्पिटलका मुटुरोग विभागीय निर्देशक प्राडा यादवदेव भट्टसहित अन्य मुटुरोग विशेषज्ञहरू, कर्मचारीहरू लगायत, संघ संस्थाका पदाधिकारीहरू गरी करिब २०० जना सहभागी थिए । प्रभातफेरि नर्भिकको प्राङ्गणबाट सुरु भई कुपण्डोल, पाटनढोका, कृष्णमन्दिर हुँदै नर्भिक पुगेर टुङ्गिएको थियो । विश्व मुटु दिवसकै अवसरमा शनिबार एक मुटु रोग सम्बन्धी कार्यक्रम आयोजना गरिने हस्पिटलले जनाएको छ । कार्यक्रममा मुटुरोग, यसका जटिलताहरु, रोकथामका उपायहरु, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानीहरु, जीवन बचाउका उपायहरु आदि बारे विरामी पक्ष लगायत सर्वसाधारणलाई विशेष प्रशिक्षण दिइने कार्यक्रम छ । प्रशिक्षण प्राडा भट्टसहित मुटुरोग विशेषज्ञहरुको टोलीले नर्भिकको ओपीडी विभागमा दिने जनाइएको छ । विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ तारिखका दिन मनाइदै छ । विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् ।

माडी नगरपालिकाले सञ्चालनमा ल्यायो आफ्नै क्रसर उद्योग

चितवन । प्राकृतिक सम्पदाको धनी भएर पनि निकुञ्जको बीचमा भएकै कारण पछाडि परेको माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याएको छ । माडी नगरपालिका–५ ब्रम्हपुरीमा रु एक करोड ३० लाखको लागतमा क्रसर उद्योग सञ्चालनमा ल्याइएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पूर्वाधार विकासमा आवश्यक पर्ने गिट्टी–बालुवा प्रशोधन गर्नका लागि नगरपालिकाले आफ्नै क्रसर उद्योग स्थापना गरेको हो । उद्योगबाट प्राकृतिक गिट्टी, विभिन्न आकारका फोरेका गिट्टी, कालोपत्रका लागि चिप, डस्ट, धोएको बालुवा उत्पादन हुने ढकालले बताए । एक हप्ताको परीक्षण अवधिपछि क्रसर नियमित रूपमा सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ । हाल परीक्षणमा रहेको क्रसरमा नगरपालिकाले स्थानीय मगईखोलाको गिट्टी–बालुवा प्रयोग गर्नेछ । यससँगै अन्य खोलाको पनि वातावरणीय प्रभाव मूल्याङ्कन गरी ढुङ्गा, गिट्टी, बालुवा निकालिने उनले बताए । ढकालका अनुसार प्रतिघण्टा २४ घनमिटर क्रसरको क्षमता रहेको छ । नगरपालिकाका विकास निर्माणका कामबाहेक स्थानीय र ठेकेदारलाई समेत यो उत्पादनले पुग्ने उनले जानकारी दिएका छन् । ढकालको अनुमानमा नगरपालिकालाई पुगेर पनि वार्षिक रु १० करोडभन्दा बढीको सामग्री बिक्री गर्न सकिनेछ । अत्याधिक दोहन नहुने गरी व्यवस्थित किसिमले खोलाको सतह गहिरिने गरी गिट्टी–बालुवाको प्रयोग गरिने नगरपालिकाले जनाएको छ । माडी नगरपालिकाले चालू आव २०७६÷७७ मा १८ किमीभन्दा बढी सडक कालोपत्र गर्दैछ । यो आवमा १० भन्दा बढी कल्भर्ट, नहर र पुललगायतका संरचना बन्ने नगरपालिकाले जनाएको छ । रासस

नेपाली बजारमा पाइने टाटाको सबैभन्दा सस्तो कार, मूल्य कति ?

काठमाडौँ । टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले भारतीय अटोमेकर कम्पनीका विभिन्न मोडेलहरु नेपालमा विक्री वितरण गर्दै आइरहेको छ । नेपालमा पाइने टाटाका कारहरुमध्ये ‘टियागो’ को बेस भेरियन्ट ‘टियागो एक्सइ’ सवैभन्दा सस्तो मोडेलका रुपमा रहेको छ, जसको बजारमूल्य रु.२४,९५,००० तोकिएको छ । यस कारका सेफ्टि फिचरहरुको रुपमा दुईओटा एयरब्यागहरु, एबीएस सिस्टम, ईबीडी सिस्टम, चाइल्ड सेफ्टि लकजस्ता कुराहरु रहेका छन् भने कम्फर्ट फिचरका रुपमा म्यानुअल एयर कण्डिसन, हिटर, एडजस्ट गर्न मिल्ने ड्राइवर सिट, फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्नमिल्ने हेड रेस्टजस्ता कुराहरु रहेका छन् । त्यसैगरी अन्य फिचरहरुको रुपमा यस कारमा आउटसाइड रियर भ्यू मिरर्स, रुफ माउन्टेड एन्टेना, सवै आवश्यक जानकारी डिस्प्ले गर्ने एनालग इन्स्ट्रुमेन्ट क्लष्टर, १२ भोल्टको ब्याट्रीजस्ता कुराहरु दिइएका छन् । यस कारमा प्रयोग भएको ११९९ सीसी ३ सिलिण्डर डिओएचसि पेट्रोल इञ्जिनले ८५ पिएसको पावर र ११४ एनएमको टर्क प्रोड्यूस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले २३.८४ केएमपीएलको माइलेज दिन्छ । यसरी ५ सिटर यस कारको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३७४६ मिलिमिटर, चौडाई १६४७ मिलिमिटर र उचाई १५३५ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १६५ मिलिमिटर रहेको छ । त्यसैगरी कम्पनीले ३५ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक जडान गरेको छ भने पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिएको छ ।

आजदेखि पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला

काठमाडौं । दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको हो । बुकिङसँगै नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । सयौँ व्यक्ति एकाबिहानैदेखि पोखरा र गोरखाका विभिन्न स्थान जानका लागि टिकट लिन बसपार्क पुगेका थिए । गोरखा र पोखराका लागि नयाँ बसपार्कबाट मात्र टिकट लिने व्यवस्था गरिएको छ । दशैँको टिकट खुला भएसँगै संस्कार समाज नेपालले यात्रुलाई सुरक्षित यात्राका लागि एक हजार सवारीसाधनमा जनचेतनामूलक सामग्रीसहितको पेनड्राइभ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ सिकाऔँ’, ‘आफ्नो देश आफैं बनाऔँ’ भन्ने मूल लक्ष्यसहित स्थापना भएको संस्कार समाज नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगको सहकार्यमा बिहीबारदेखि पेनड्राइभ वितरण गर्न शुरु गरेको हो । संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङ विगत वर्षमा सुरक्षित यात्राका लागि पर्चा र पम्प्लेट वितरण गरे पनि अभियानले सार्थकता नलिएकाले अहिले पेनड्राइभमार्फत जनचेतनामूलक कार्यक्रम प्रसारण गरिरहेको बताउँछन् । अहिले नयाँ बसपार्कबाट छुट्ने एक हजार सवारीसाधनलाई पेनड्राइभ वितरण गरिए पनि आगामी दिनमा देशैभर उक्त अभियान थालिने गुरुङले बताए । समाजले यसअघि उपत्यकाका विभिन्न स्थानमा ट्राफिक जनचेतनामूलक होर्डिङ बोर्ड, हरेक हप्ता सरसफाइ, विद्यालयमा असल संस्कारसम्बन्धी कक्षा सञ्चालन र अनाथ तथा असहायलाई सहयोग गर्दै आएको छ । दशैँ लागेसँगै नयाँ बसपार्कमा दैनिकजसो यात्रुको भीड लाग्ने गरेको छ । दैनिक दुई हजारभन्दा बढी बस नयाँ बसपार्कबाट गुड्ने गरेका छन् । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर अभियानले चालक, सहचालक र यात्रुलाई सचेत बनाउने हुँदा दुर्घटनामा समेत कमी आउने बताए । चाडपर्वको बेला सुरक्षित यात्रामा अभियानले सहयोग पुग्ने उनको भनाइ छ । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायीको संयुक्त पहलमा नयाँ बसपार्कमा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला यात्रुको समस्या समाधानका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको बताउँछन् । यात्रु सहायता कक्ष स्थापनासँगै कहाँ जाने भाडा कति भन्ने स्पष्ट हुने भएकाले यात्रु ठगिनेबाट जोगिने उनको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक मुनेन्द्र थापा दशैँमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन र टिकटमा हुने कालाबजारी रोक्न ट्राफिक प्रहरी लागिरहेको बताएका छन् । दशैँका टिकट काट्ने हरेक काउन्टरको अगाडि भाडासमेत स्पष्ट रुपमा लेखेर यात्रुले देख्ने ठाउँमा टाँस्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । रासस