विकासन्युज

मास मोबाइल जोन सञ्चालनमा, हरेक मोबाइलको खरिदमा निःशुल्क बीमा सुबिधा

काठमाडौं । मोबाइल व्यवसायमा विगत डेढ दशकदेखि सक्रिय युवा व्यवसायीहरुको नेतृत्वमा मास मोबाइल जोन सञ्चालनमा आएको छ । पाको न्यूरोडमा अवस्थित मास मोबाइल जोनले आफ्ना ग्राहकहरुलाई हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ । ब्राण्डेड मोबाइल फोनहरुको कारोबार गर्दै आएको मास मोबाइल जोनले आफ्नो शोरुम उद्घाटनको अवसर पारेर प्रत्येक मोबाइल फोनको खरिदमा इन्स्योरेन्सको सुविधा निःशुल्क दिने भएको छ । मास मोबाइल जोनको इन्स्योरेन्स पार्टनर मेरो सुरक्षाको साथमा कम्पनीले आफ्नो जोनबाट बिक्री गरिने हरेक मोबाइल फोनमा ५ प्रतिशतको इन्स्योरेन्स आफैंले गरिदिने भएको हो । यो सुविधा नेपालभरी मास मोबाइल जोनमा मात्र उपलब्ध रहेको छ । मास मोबाइल जोनमा मात्र उपलब्ध एक्सक्लूसिभ इस्न्योरेन्स अफर अन्तरगत किनेको कुनैपनि ब्राण्डका मोबाइल फोनहरु डिस्प्ले फुटेमा, हराएमा वा चोरी भएमा पुरै इन्स्योरेन्स सुविधा उपलब्ध हुनेछ । साथै, कम्पनीले प्रत्येक खरिदकर्ताहरुलाई मोबाइल किनेपछि रु १,०० रुपैयाँ मूल्य बराबरको रिचार्ज कार्ड उपलब्ध गराउनेछ । त्यसैगरि कम्पनीले आफ्ना हरेक ग्राहकहरुलाई दशैंको अवधिभर फोन किन्दा प्रत्येक खरिदमा एउटा ५०० एमएलको कोकाकोला र पपकर्न निःशुल्क दिनेछ । यसबाहेक मास मोबाइल जोनले हरेक ग्राहकहरुलाई प्रत्येक स्मार्टफोनको खरिदमा टेम्पर ग्लास र ब्राण्डेड ईयरफोन सित्तैमा दिने भएको छ । कम्पनीले ओपो, भीभो, अनर र शाओमी ब्राण्डका स्मार्टफोनहरुमा विशेष छुट उपलब्ध गराउने छ । यी फोनहरुमा कम्पनीले ग्राहकहरुलाई अधिकतम छुट सहित स्मार्टफोन बिक्री गर्ने योजना ल्याएको छ । मास मोबाइल जोनमा भ्याटबिलसहित आधिकारीक मोबाइल फोनहरु मात्र बिक्री गर्ने तथा ग्राहकहरुलाई सम्पूर्ण सुविधाहरु उपलब्ध गराएको कम्पनीका निर्देशक मनोज मानन्धरले जानकारी दिए । यसपालिको दशैंमा मास मोबाइल जोनको रिटेल स्कीम कस्टमरको लागि सबैभन्दा राम्रो सस्तो र भरपर्दो हुनुका साथै हरेक मोबाइलको खरिदमा धेरै उपहारहरु राखिएको कम्पनीका निर्देशक मानन्धरले दाबी गरे । ‘बजारमा जताततै अवैध र ग्रेका मोबाइल फोनहरु ग्राहकहरुलाई झुक्याएर बेच्ने गरिएको गुनासो रहँदै आएको छ, तर हामी भ्याट बिल काटेर नै ग्यारेन्टीका साथ ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध गराउनेछौं,’ निर्देशक मानन्धरले जानकारी दिए । मास मोबाइल जोनबाट खरिद भएका मोबाइल फोनहरुमा कुनै समस्या आएमा त्यसको लागि सर्भिस सेन्टर समेत राखिएको छ । जहाँ ग्राहकहरुले अन्य बजारमा भन्दा सुपथ मूल्यमा गुणस्तरीय मोबाइल सर्भिस प्राप्त गर्न सक्नेछन् । यसबाहेक ग्राहकहरुलाई विभिन्न मोबाइल ब्राण्डहरुले ल्याएका अफरहरुमा पनि समावेश गरिनेछ । हाल भीभो स्मार्टफोनको खरिद बडा चाडको उमंग अफर योजना सार्वजनिक गरेको छ, जसअन्तरगत इण्डोनेशियाको बाली टूर जित्न सकिनेछ भने ओपो स्मार्टफोनले पनि ग्राहकहरुका लागि दशैंको अफर दिएको छ जसअन्तरगत बिजेताहरुले प्रत्येक साता इण्डोनेशियाको बाली टूर जान सक्नेछन् । मास मोबाइल जोनमा ओपो, भीभो, हनर, ह्वावे, शाओमीलगायत विभिन्न ब्राण्डका स्मार्टफोनहरु सूपथ मूल्यमा विशेष अफर र योजनासहित उपलब्ध रहेका छन् ।

सनराइज बैंकद्वारा वृद्धआश्रम तथा अनाथालयलाई सहयोग

काठमाडौं । सनराइज बैंकले असोज महिनालाई १२औं वार्षिककोत्सव महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ । उक्त अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न बृद्घ आश्रम तथा अनाथालयहरुमा सहयोग सामाग्री वितरण कार्यक्रम आयोजना गरेको छ । “कियरिङ हुम्यानिटी हामीसँग सँगै” भन्ने नाराको साथबैंकले कुपण्डोलको निजानन्दवृद्ध आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ । सोहि दिन बैंकको तिनकुने, बिराटचोक, बर्दीवास, कोहलपुर, पनौती, बिरेन्द्रनगर, र अत्तरिया शाखाहरुबाट बृद्घ आश्रम तथा अनाथालयहरुमा सहयोग सामाग्री वितरण गरेको छ । त्यसैगरी, असोज १३ गते बैकले टंगाल स्थित बालमन्दिर, बगर र धरानशाखाहरू बाट सहयोग सामाग्री वितरण र असोज १४ मा बानियाटार शाखाले सहयोग सामाग्री वितरण गर्ने योजना बताएको छ ।

लघुवित्त संघको अध्यक्षमा वसन्तराज लम्साल, उपाध्यक्षमा भेषराज पन्थी

काठमाडौं । लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु आवद्ध नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएशन (एनएमबिए) को अध्यक्षमा वसन्तराज लम्साल निर्वाचित भएका छन् । एशोसिएशनको आइतबार भएको साधारणसभामा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत समेत रहेका लम्साल ‘निर्विरोध’ निर्वाचित भएका हुन् । अध्यक्षका आकांक्षी समेत रहेका प्रकाशराज शर्माले अन्तिम समयमा उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् । उनले निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै अध्यक्षको मैदान छाडेको बताइएको छ । शर्माले छाडेपछि लम्साल निर्विरोध निर्वाचित भएका हुन् । लम्सालसहित उपाध्यक्षमा भेषराज पन्थी समेत निर्विरोध निर्वाचित भएका छन्, उनी फस्र्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत हुन् । महासचिवसहित अन्य ९ पदाधिकारीका लागि भने छलफल भइरहेको नवनिर्वाचित अध्यक्ष लम्सालले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष लम्सालले लघुवित्त संघको नेतृत्वमा रहँदा आफूले लघुवित्त संघको पहिचान र यसको स्वायत्तता बढाउने र लघुवित्त संघको प्रभावकारिता वृद्धि गर्दै जाने कुरामा जोड दिने बताए । उनले लघुवित्त आफ्ना संस्थालाई थप सशक्त बनाउने र कुनै न कुनै रुपमा प्रदेशगत रुपमा उपस्थिति जनाउने प्रतिवद्धता व्यक्त गरे ।

चार दिनमा ६० हजारले अवलोकन गरे फेस्टिवल मार्केट, सोमबार सकिँदै

काठमाडौँ । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षितगर्दै राजधानीको भृकुटीण्डपमा फेस्टिवल जारी फेस्टिवल शपिङ मार्केटमा सेवाग्राहीको घुइँचो लागेको छ । चाडपर्वको समयमा एकै स्थानमा सस्तो मूल्यमा सामानकिन्नपाइने भएकाले सेवाग्राहीको घुइँचो लागेको हो । इभेण्ट सोलुसनप्रालिको आयोजनामा सञ्चालितमार्केट चार दिनमा ६० हजारले अवलोकन गरेका छन् । इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानका अनुसार पहिलो दिनमा ११ हजारले अवलोकन गरेको मार्केट दोस्रो दिन १३ हजारले अवलोकन गरेका थिए । त्यस पछिका दिनमा विदा परेकाले शनिबार २१ हजार तथाआइतबार १५ हजारले मेला अवलोकन गरेका छन् । ‘बजारमाभन्दा सस्तो मूल्यमा हरेक किसिमका सामानउपलब्धभएकाले मेलामा ग्राहकको घुइँचो लागेको हो । यसले हामीलाई उत्साहित बनाएको छ ।’ प्रधानले भने । ‘अफरै अफरको ब्यापारिक भेला,शपिगं गर्ने यहि हो बेला’भन्ने नाराका साथसुरु भएको फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु छन् । फेस्टिवल मार्केट अवलोकन गर्न आउने तथा सामानकिन्नेहरुलाई उपहार प्रदानगरिनेछ । दैनिक रुपमा आकर्षक उपहार बितरण गरिनुका साथै बम्पर उपहारमा एक जनालाई मोटरसाइकल प्रदान गरिनेछ । मोटरसाइकलको लक्की ड्र सोमबार साँझगरिने इभेण्ट सोलुसनका अध्यक्ष सुनिल भण्डारीले बताए । फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पलउद्यमी समूह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहेको छ । एक्स्पोमा सुजल फुड्स अन्तरगतको सफल डेरीका सुजल ब्राण्डका उत्पादनको विशेष कारोबार भएको बताइएको छ । मार्केटलाई काठमाण्डौं उद्योग वाणिज्य संघ, ललिपुर उद्योग वाणिज्य र भक्तपुर उद्योग वाणिज्य संघले प्रवद्र्धन गरेका छन् । असोज ९ गतेदेखि सञ्चालन भईरहेको फेस्टिवल सपिङ मार्केट सोमबार सकिँदैछ ।

दशैको अवसरमा टेलिकमका ग्राहकलाई अफरै अफर, आजैदेखि लागू हुने

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आज घटस्थापना अर्थात असोज १२ देखि नै लागू भएका छन् । १. फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । २. पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् । ३. पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ । ४. प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नेछन् । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ । मिस्ड कल अलर्ट (एमसीए) ले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिन्छ । ५. रिचार्जमा बोनस: जीएसएम/सीडीएमए ग्राहकका प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । दशैको अवसरमा आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा रु. ५०।–, १००।– र २००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु. ५०, १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट रु. १०।– देखि ४९९।– सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीद्वारा सपथ ग्रहण, आइतबारबाटै सम्हाले पदभार

काठमाडौँ । सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले आइतबार सपथ ग्रहण गरेका छन् । आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच असोज १० गते बसेको बैंकको संचालक समितिको ३१४ औं बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका भण्डारीलाई गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । बैंकको स्थापनाकालदेखि २०७५ पुससम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यकाल पूरा गरेका भण्डारीले सञ्चालक समितिको अध्यक्ष पदमा आगामी ४ बर्षको कार्यकालका लागि आइतबारबाटै पदभार ग्रहण गरेका हुन् ।

नेपाल र युएईबीच हवाई सेवा सम्झौता, नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने

काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स युएईका बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो । महासभामा नेपालका तर्फबाट सहभागी हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र युएईका अर्थमन्त्री सुल्तान बीन साइद अल्मान्सोरीले शनिबार हवाई सेवा सम्झौतामा हस्ताक्षर गरेका हुन् । हवाई सम्झौतासँगै दुई देश बीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउन मद्दत पुगेको पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत जनाएका छन् । “दुबै देशले अन्तर्राष्ट्रिय नियम तथा अनुबन्धनहरुको परिपालना गर्दै दुई देशबीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउनुका साथै सहयोगको आदनप्रदान गर्न मद्दत पुग्नेछ । “यो सम्झौता पत्रको तयारीमा लाग्नुभएका दुबै देशका सम्बद्ध अधिकारीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु”, मन्त्री भट्टराईले आफ्नो फेसबुकवालमा पोष्ट गरेका छन् । उनले हवाई सम्झौताले एक अर्को देशलाई सहयोग गर्ने वातावरण निर्माण हुनुका साथै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । एक सय ९३ देशका झण्डैं दुई हजार बढीको सहभागिता रहेको आइकाओ महासभामा आफ्नो सहभागिता र आफूले त्यहाँ व्यक्त गरेका धारणाले भ्रमण वर्षको प्रचार र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति देखाउन सहयोगी भूमिका निभाएको मन्त्री भट्टराईले उल्लेख गरेका छन् । उनले भ्रमण वर्ष सफल पार्न सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै पछिल्लो समय गरिएको कार्यक्रम फलदायी बनेको बताए । भ्रमण वर्षको प्रवद्र्धनका लागि भ्रमण वर्ष शुरुवात कार्यक्रममा नेपालमा विभिन्न देशका राष्ट्रप्रमुख तथा नेपालमा रहेका विभिन्न कुटनीतिक नियोगका अधिकारीलाई बेलाइने जानकारी गराउँदै उनले विश्वका विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावास तथा नियोगमार्फत ती देशका राष्ट्रप्रमुख तथा अधिकारीलाई बोलाएर विभिन्न देशमा कार्यक्रम गरिने बताए ।

अष्ट्रेलियामा अध्ययन: नेपाली विद्यार्थीलाई भिसामा कडाई

अष्ट्रेलिया । अष्ट्रेलियाले नेपाली विद्यार्थीहरुलाई भिसामा थप कडाई गर्ने भएको छ । अष्ट्रेलियाले नेपाली विद्यार्थी सहित भारत र बङ्लादेशका विद्यार्थीलाई भिसामा थप कडाई गर्ने लागेको हो । माइग्रेशन एजेन्ट नरिंदर कौरले भारत, पाकिस्तान र नेपालका विद्यार्थीहरूको लागि भिसा प्रणाली कडाई गर्दै अद्यावधिक गरिएको बताईन् । “यी देशहरूबाट आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरू अहिले उच्च जोखिममा छन् । यी देशबाट आएका भिसा आवेदनहरूको असेसमेन्ट लेभल २ बाट स्तर ३ मा पुगेको छ,” उनले भनिन् । परिवर्तन गरिएको मापदण्ड अनुसार विद्यार्थीले कम्तिमा पनि आईएल्टीसमा ५.५ भन्दा माथि र पिटिएमा उपयुक्त स्कोरको आवश्यक हुन्छ । यो अंक राम्रा विद्यार्थीहरुलाई ल्याउन भने त्यति गाह्रो छैन । अष्ट्रेलियामा विद्यार्थीको भिसा आवेदनहरू उनीहरुको व्यक्तिगत योग्यताको आधारमा मूल्याङ्कन गरिन्छ, जसमा शैक्षिक योग्यता, वित्तीय आवश्यकताहरु र अंग्रेजी भाषामा राम्रो दक्षता समावेश छ । विद्यार्थी भिसालाई मूल्याङ्कन गर्ने असेसमेन्ट लेभलले भिसा प्रणालीलाई सुव्यवस्थित गर्दछ, जसले भिसा आवेदनका लागि लागु गरिएका आवश्यकताहरूलाई आदेश दिने गर्दछ । यी भिसाको आवश्यकताहरू प्राय: अष्ट्रेलियामा शिक्षा प्रदायकहरूसँग अध्ययन गर्न चाहेको विशेष देशका आवेदकहरूद्वारा प्रस्तुत अध्यागमन जोखिमको आधारमा परिवर्तन हुन्छन् । असेस्मेन्ट लेभल १ भएका प्रख्यात विश्वविद्यालयका विद्यार्थीहरुलाई बाहेक अन्यलाई यो नयाँ भिसाको परिवर्तन लागु हुने बताईएको छ । माइग्रेसन विज्ञहरु भन्छन्-‘भिसा जारी गर्ने अधिकारीहरुले समय समयमा मूल्याङ्कन स्तर परिवर्तन गर्न सामान्य हो । उनीहरूको अनुसार यो परिवर्तनले पढ्छु नै भन्ने सोच भएका साथै अंग्रेजी भाषामा दक्ष र आर्थी अवस्था मजबुत भएका गैरआवसिय विद्यार्थीहरूलाई भने कुनै पनि समस्या नहुने बताउँछन् । गत मे महिनामा, एबीसीको फोर कर्नरले कसरी अस्ट्रेलियाको उच्च शिक्षा प्रणालीलाई विदेशी शुल्क तिर्ने विद्यार्थीहरूको बढ्दो निर्भरताले कसरी कमजोर पारिरहेको छ भन्ने अध्ययन गरेका थिए । अध्ययनले अष्ट्रेलियाको शिक्षा उद्योगले बौदिक चोरी, शैक्षिक दुराचार र फेल हुने विद्यार्थीको संख्या बढी भएको रिपोर्ट गरेको कारण विशेष रूपमा भारतीय उपमहादेशबाट आएका विद्यार्थीहरूको गुणस्तरमा नराम्रो असर पारिरहेको देखाएको छ । विद्यार्थी भिसामा भएको यस परिवर्तनले भिसाको नतिजा कुरिरहेका विद्यार्थीहरुलाई असर गर्ने बताईएको छ । त्यसैले भिसा आवेदकहरुले कुनै थप जानकारीको लागि अनुरोध पठाउनुभन्दा पहिले भिसाको आवश्यकताहरू पूरा गर्न प्रयास गर्दा निकै राम्रो हुन्छ । मार्च २०१९ सम्मको अष्ट्रेलियाको डाटा अनुसार हाल ६१ लाख १३ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययन गरिरहेका छन् जसमा सबैभन्दा बढी चीन, भारत र नेपालबाट आएका विद्यार्थी रहेका छन् । २०१८ मा मात्रै अष्ट्रेलियामा ५ लाख ४८ हजार अन्तराष्ट्रिय विद्यार्थीहरु भर्ना भएका थिए । उक्त सालको डाटा अनुसार अन्तराष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा २४ खर्ब भन्दा बढी योगदान पुर्याएका छन् । यो रकमले पनि विद्यार्थीहरुको अष्ट्रेलिया प्रति भएको लगाव र विश्वास देख्न सकिन्छ । (एसबिएसबाट अनुवाद गरिएको )