विकासन्युज

गुल्मीका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन

गुल्मी । सदरमुकाम तम्घासका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । चाडपर्व नजिकिँदै जाँदा रेसुङ्गा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, गुल्मी उद्योग वाणिज्य सङ्घ, उपभोक्ता मञ्चलगायतले तम्घास बजारका मासु पसलको अनुगमन गर्दा मापदण्ड विपरीत कारोबार गर्दै आएको पाइएको छ । अनुगमनका क्रममा सदरमुकाम तम्घासमा रहेका अधिकांश मासु व्यवसायीको मासु काट्ने स्थान निकै फोहर देखिएको र उक्त काटेको मासु बिक्री गर्ने स्थान मात्र सफा देखिएको र बधशाला स्थल अत्यन्तै दुर्गन्धित रहेको भेटिएको छ । बधशाला शौचालय नजिकै र अत्यन्तै फोहर अवस्थामा रहेको पाइएको छ । व्यवसायीलाई तत्काल बधशाला सुधार गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताएका छन् । मापदण्डअनुसार मासु पसल सञ्चालन नगर्ने व्यवसायीलाई उपभोक्ता ऐनअनुसार कारबाही गरिने उनले बताए । अनुगमनका क्रममा व्यवसायीले खसी र कुखुराको मासु एउटै ठाउँमा राखेर उपभोक्तालाई बिक्री वितरण गर्ने गरेको पाइएको छ । अनुगमन समितिले म्याद नाघेका खाद्य सामग्रीको बिक्री–वितरणमा रोक लगाउन बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । पहिलो चरणमा समितिले मासु पसलका अतिरिक्त होटल, किराना पसललगायतको अनुगमन गरेको हो । रासस

महालक्ष्मीको नयाँ शाखा ललितपुरको झम्सिखेलमा

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिले ललितपुर महानगरपालिका वडा नं ३, स्थित झम्सिखेलमा शाखा कार्यालय उद्घाटन गरेको छ । आइतबार उक्त शाखाको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रुपमा एसएसपी टेकप्रसाद राई रहेका थिए । बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरे । बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा बिस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने उनले प्रतिवद्धता गरे ।

यस्तो छ होण्डाको डर्ट बाइक‘एक्सआर १५० एल’, के छन् विशेषता ?

काठमाडौँ । नेपालका लागि होण्डा टू व्हीलरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होण्डाको स्कुटर, कम्युटर बाइक्स, बिग बाइक्स तथा डर्ट बाइकहरु बिक्री वितरण गर्दै आइरहेको छ । होण्डाले नेपालमा विक्री गर्दै आएको सवैभन्दा कम मूल्य पर्ने डर्ट बाइक एक्सआर १५० एल हो जसको बजारमूल्य चार लाख ८४ हजार नौ सय रहेको छ । ५–स्पिड गियरबक्स दिइएको एक्सआर १५० एल मा १५० सीसी सिङ्गल-सिलिण्डर इञ्जिन दिइएको छ, जसले १२.१४ एचपिको पावर र १२.५ एनएमको टर्क प्रोड्यूस गर्दछ । टायरको कुरा गर्नु पर्दा यस बाइकको अगाडिको चक्कामा ९०/९० सेक्सनको र पछाडिको चक्कामा ११०÷९० सेक्सनको डुअल पर्पोज टायरहरु दिइएका छन् । त्यसैगरी, अगाडिको चक्कामा २४० मिलिमिटर डिस्क ब्रेक र पछाडिको चक्कामा चाहिँ ड्रम ब्रेक दिइएको छ । यति भएतापनि यस बाइकमा एबीएस चाहिँ दिइएको छैन । यस बाइकको ग्राउण्ड क्लियरेन्स२४५ मिलिमिटर र कर्ब वेट चाहिँ १२९ के.जी.छ । ठूलो ग्राउण्ड क्लियरेन्स र थोरै तौल भएको हुनाले पनि यस बाइकको अफरोडिङ्ग पर्फमेन्स उत्कृष्ट रहेको छ । त्यसैगरी, १२ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यो बाइकको सिट लामो र चौडा छ, जसले राइडर र पिलियन दुवैलाई आरामदायक सिटिङ्ग पोस्चर प्रदान गर्दछ । स्याकार ट्रेडिङ्ग कम्पनीका अनुसार दशैं तिहारलाई लक्षित गरेर ल्याइएको अफर अनुरुप ग्राहकले यस बाइकको खरिदमा रु. १०,००० नगद छुट पाउने छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंक र पशुपति क्षेत्र विकास कोषबीच भेटी संकलनमा सहकार्य

काठमाडौँ । पशुपति क्षेत्र विकास कोष र नेपाल इन्भेष्टमेण्ट बैंकबीच सहमति भएको छ । पशुपतिनाथको मन्दिर र मन्दिर प्राङ्गण रहेका देवी देवतालाई भक्तजन तथा तीर्थयात्रीद्वारा दानपत्र वा भेटीपत्रमा चढाईने भेटी, चन्दाहरु बैंकिङ्ग प्रणालीद्वारा संकलन तथा गणना गरी कोषका नाममा रहेको बैंक खातामा जम्मा गरी भेटी रकमलाई व्यवस्थापन गर्ने सहमति भई सुरुवात भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउदै आएको जनाएको छ ।

भेस्पा र अप्रिलियाको शो रुम सुर्खेतमा

काठमाडौँ । नेपालमा पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सको आधिकारिक बिक्रेता एमभी दुगड़ ग्रुपअन्तर्गतको दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले सुर्खेतमा शोरुमको उद्घाटन गरेकोे छ । उक्त शोरुम सूर्खेतमा श्रीनाथ सप्लायर्सले सञ्चालनमा ल्याएको हो । सोमबार शो रुमको उद्घाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बूढा र भेस्पा/अप्रिलियाका हेड अफ अपरेशन विजय महतोले संयुक्त रुपमा गरेका हुन् । सोही कार्यक्रममा ११ वटा स्कूटरका ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा मन्त्री नन्दसिंह बूढाले यस्तो प्रिमियम प्रोडक्टको नयाँ शो रुम सञ्चालनमा आउनु खुशीको कुरा भएको बताए । उक्त कार्यक्रममा कम्पनीका हेड अफ अपरेशन(भेस्पा/अप्रिलिया) विजय महतोले कम्पनीको बजार बिस्तारका बारेमा जानकारी गराएका थिए ।

गढीमाई मन्दिर क्षेत्र विकासका लागि १२ करोडको डिपिआर तयार हुँदै

वीरगञ्ज । भारतीय सीमासँग जोडिएको बारा जिल्लाको गढीमाई नगरपालिका–१ मा रहेको प्रसिद्ध धार्मिक तथा प्राचीन शक्तिपीठ गढीमाई मन्दिर तथा सो क्षेत्रको विकासका लागि गढीमाई नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको छ । नगरप्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई क्षेत्रमा रहेको ऐतिहासिक पोखरीको मध्य भागमा सूर्यदेवताको मन्दिर बनाउन रु १२ करोडको डिपिआर तयार भइरहेको जानकारी दिएका छन् । सो क्षेत्रको ऊर्जा, खानेपानी, बाटोघाटो जस्ता पूर्वाधारको विकास गर्न नगरपालिकाले डिपिआरसमेत तयार गरेको बताइएको छ । करिब २६५ वर्षको लामो इतिहास बोकेको गढीमाई क्षेत्रमा प्रत्येक पाँच–पाँच वर्षमा धार्मिक मेला लाग्ने गरेको छ जहाँ नेपाललगायत भारतबाट लाखौँ दर्शनार्थी मेला भर्न आउने गरेका छन् । दर्शनार्थीको सुविधालाई ध्यानमा राखी नगरपालिकाले सो क्षेत्रमा बासस्थान, खानेपानी, शौचालय लगायतका व्यवस्था गरेको छ । विश्वमा सबभन्दा धेरै बलि दिने गढीमाई विश्वको सबभन्दा ठूलो मेला रहेको छ । सो मन्दिरका ११औँ पुस्ताका पुजारीका रुपमा शिव चौधरी रहेका छन् । सो क्षेत्रलाई धार्मिक पर्यटनको क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न नगरपालिका कटिबद्ध रहेकाले यसमा प्रदेश सरकार र सङ्घीय सरकारको सहभागिता हुनुपर्ने स्थानीयवासीको माग रहेको छ । सो मेला असोजदेखि शुरु भई मङ्सिरसम्म रहने गरेको गढीमाई मन्दिर सञ्चालक तथा विकास समितिले जनाएको छ । रासस

खाद्य संस्थाले तोक्न सकेन खसी, बोकाको मूल्य, उपभोक्ता परे मारमा

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पुर्याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको कम्पनी अञ्चल कार्यालयका प्रवक्ता टेकप्रसाद रेग्मीले जानकारी दिएका छन् । बजारमा निजी क्षेत्रका व्यवसायीको एकाधिकारलाई सन्तुलित बनाउन उक्त संस्थाले प्रत्येक वर्ष यो समयमा खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याएर उपभोक्तालाई सहुलियतमा बिक्री गर्दै आएको छ । दाङ र विरगञ्जबाट गरी एक हजार खसी, बोका तथा मुस्ताङबाट दुई हजार च्याङ्ग्रा ल्याउन लागिएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा खरिद समिति गठन भई खसी, बोका तथा च्याङ्ग्रा खरिद हुने गर्दछ । अहिलेसम्म ५५० च्याङ्गा र १८० खसी बोका काठमाडौँ आइसकेको तथा अन्य आउने क्रममा छ । आज बस्ने बैठकले मूल्य कायम गरेमा आजैबाट बिक्री शुरु गरिने जनाइएको छ । अघिल्लो वर्ष खसी, बोका जिउँदो प्रतिकिलो ५०० तथा च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपलब्ध गराइएको थियो । रासस

मन्त्री पण्डितले भने- ‘चार हजार पाँच सय किमी सडक निर्माण कार्य अगाडि बढेकाे छ’

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयअन्तर्गत नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको बताएका छन् । विराटनगर बसपार्क व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा प्रहरी बिट र नागरिक सहायक कक्षको उद्घाटन कार्यक्रममा उनले उक्त सडक सञ्जाल जोड्न रु आठ खर्ब खर्च लाग्ने भए पनि हाललाई उक्त कार्यका लागि काम अगाडि बढाउन शुरु गरिएको बताए । मन्त्री पण्डितले नेपालको कूल बजेटको २५ प्रतिशत रकम सडक निर्माणमा खर्च हुने चर्चा गर्दै सडक निर्माणमा न्यून गुणस्तरीय निर्माण गर्नेलाई दण्डित गरिने धारणा व्यक्त गरेका छन् । उन ले यस क्षेत्रका जनतालाई सहज आवागमनका लागि विराटनगरको रानी–निमुवा नहर सडकको कालोपत्र गर्ने कार्यको आगामी हप्ता शिलान्यास गरिने जानकारी दिए । त्यस्तै मुलुकमा भ्रष्टाचार गर्नेलाई दण्डित गर्ने कार्य शुरु भएको छ भन्दै आत्महत्या गर्छु भनेर धम्की दिएको आधारमा कोही कसैले छुट नपाउने बताएका छन् । मन्त्री पण्डितले अहिले नेपालको वार्षिक वृद्धिदर सात प्रतिशतभन्दा बढी रहेको जानकारी दिँदै वर्तमान सरकारले ११ प्रतिशत पुर्याउने लक्ष्यले काम गरिरहेको र यसैबाट मुलुकमा समृद्धी आई जनतालाई खुशी तुल्याउने धारणा राखेका छन् । उनले अहिले जनताले जहाँ खोजे त्यहीँ सरकार रहेको चर्चा गर्दै तीन तहको सरकारको सहकार्यमा मुलुकको विकास अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले समुदाय प्रहरी साझेदारीका कारण विगत दुई महिनामा यस क्षेत्रमा अपराधका घटनामा कमी आएको जानकारी दिए । बस व्यवस्थापन समितिका अध्यक्ष पदम श्रेष्ठ, उपाध्यक्ष राजन कँडेल, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेशका संयोजक सरोज श्रेष्ठले बसपार्कमा आगामी दिनमा आधुनिक स्वागतद्वार, घण्टाघर, विश्वकर्मा भगवानको मन्दिर, ज्येष्ठ नागरिक कक्ष, वाचनालय, धुलो पखाल्ने प्रविधि, आधुनिक यात्रु प्रतीक्षालय, शुद्ध र चिसो पिउने पानी उपलब्ध गराउनाका साथै छिमेकी मुलुक सरहको नमूना बसपार्क बनाउने जानकारी दिएका छन् । रासस