विकासन्युज

फलाम उत्खनन् गर्न साढे २ अर्बको कम्पनी दर्ता, निजी क्षेत्रको लगानी १८ करोड

काठमाडौं । सरकारले धौवादीको फलाम खानी उत्खनन् गर्न कम्पनी दर्ता गरेको छ । नेपालमा फलाम खानी सञ्चालनमा ल्याउन सरकार र निजी क्षेत्रको लगानीमा धौवादी फलाम कम्पनी दर्ता भएको हो । सरकारको २ अर्ब २० करोड र निजी क्षेत्रको १८ करोड लगानी रहने कम्पनी दर्ता भएको हो । फलामको धाउ (कच्चा फलाम) उत्खनन् गर्ने उद्देश्यसहित सरकारले कम्पनी दर्ता गरेको जनाइएको छ । ३ मन्त्रालय संस्थापक र खानी तथा भूगर्भ विभाग, निजी क्षेत्रका स्थापित कम्पनी र महालेखाको लगानीमा कम्पनी दर्ता भएको हो । २२५८३६ दर्ता नम्बर रहेको उक्त कम्पनीको नाम ‘धौवादी फलाम कम्पनी’ राखिएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनीले दर्ता प्रमाणपत्र लिइसकेको छ । कम्पनीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको १ अर्ब अर्थ मन्त्रालयको ५० करोड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २५ करोडको लगानी गर्ने छन् । त्यस्तै, निजी क्षेत्रको स्थापित कम्पनीहरुको १८ करोड लगानी रहने छ । खानी तथा भूगर्भ विभागको २० करोड र महालेखाको २५ करोड लगानी रहेको कम्पनी दर्ता भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार संस्थापक सदस्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेका छन् । कम्पनीको कार्यालय काठमाडौं महानगरपालिका वडानम्बर ३ मा हुने उल्लेख छ । पब्लिक सरकारी कम्पनीको रुपमा सो कम्पनी दर्ता भएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले फलाम उत्पादन भएपछि नेपालका स्टील कम्पनीहरुले प्रयोग गर्ने बताए ।

ठमेलमा महालक्ष्मी विकास बैंकको शाखा बिस्तार

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.ले सेवा विस्तार गर्दै लैजाने क्रममा काठमाडौँ महानगरपालिका वडा नं. २९, डमेलमा शाखा कार्यालय उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ शुक्रबार उक्त शाखाको उद्घाटन गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थापक शेयरधनी अर्जुनप्रसाद शर्माको पनि उपस्थिति रहेको थियो । बैँकका प्रमुख कार्यकारी अधिकृत लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए । बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन शाखाविस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरे ।

मर्जरलाई अन्तर्राष्ट्रिय स्तरबाट हेर्न जरुरी छः शिवराम तिमल्सिना

बीमितहरुको नजरमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी एक विश्वासिलो कम्पनीको रुपमा स्थापित भएको छ । कम्पनीले बजारको आवश्यकता अनुसार बीमा प्रडक्ट ल्याएको छ । प्रतिष्ठित प्रमोटर रहेकाहरुका कारण सानिमा लाईफलाई बीमितहरुले सहजै विश्वास गरेका छन् । वर्तमान बीमा बजारको बारेमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका जेनरल म्यानेजर शिवराम तिमल्सिनासँग नबिन पोखरेलले गरेको विकास बहस । सानिमा लाइफ इन्स्योेन्स कम्पनीको गत आर्थिक बर्षको वित्तीय नतिजा कस्तो छ? हाम्रो व्यालेन्सिट सन्तोषजनक छ । हाम्रो बोनश दर राम्रो छ भने नाफा आर्जनमा समेत हामी सन्तुष्ट रहने अवस्था छ । अब एउटा कम्पनीको कुन-कुन सूचकलाई हामीले आधार मानेर हेर्ने भन्ने कुराले समेत भूमिका खेल्छ । अहिले हाम्रो प्रायः सबै सूचक सन्तोषजनक अवस्थामा नै छ । गत असार मसान्तमा भने कम्पनीको कूल बीमा शुल्क आर्जन ५२ करोड ८० लाख पुगेको देखिन्छ । अघिल्लो बर्ष ९ करोड ४५ लाख रुपैयाँ थियो । नयाँ कम्पनी भएकोले सिस्टम निर्माण र विकास, नेटवर्क निर्माण र विस्तार, कर्मचारीको क्षमता विकास, अभिकर्ताको क्षमता विकासमा हामीले जोड दिएका छौं । आगामी दिनमा व्यापार वृद्धि हुने सम्भावना कतिको छ ? आगामी दिनमा पनि व्यापार वृद्धि हुने अवस्था राम्रै छ । हामीले दक्ष जनशक्ति थप्दैछौं र भएका कर्मचारीहरुको पनि दक्षता बढ्दै गइरहेको छ । यस्तै, बीमाको पहुँच नपुगेका ठाउँमा समेत हामीले हाम्रा स्किमहरु लगिरहेका छौँ । अनलाईन सर्भिस समेत हामीले दिने प्रयास गरिरहेकै छौँ । सोही कारण आगामी दिनमा हाम्रो व्यापार बढ्ने हाम्रो अनुमान छ । साधारणसभा कहिले गर्दै हुनुहुन्छ ? हामीले वित्तीय विवरणहरुको प्रक्रिया सिध्याउन लागेका छौँ । आव २०७४÷७५ को साधारण सभा हामीले दशैँ अगाडिनै गर्ने सोच बनाएका छौँ । प्रक्रियामा केही समस्या आएकाले मात्र ढिलाई भएको हो । तैपनि करिब १ महिना भित्र हामी साधारण सभा गर्छौँ । यस्तै, आव २०७५÷७६ को साधारण सभाको तयारी पनि गर्दैछौँ । नयाँ रणनीतिक योजना के छन् ? हाम्रो रणनीति भनेको बजार बिस्तार गर्ने, अभिकर्ताको संख्यात्मक तथा गुणस्तरमा वृद्धि गर्ने तथा इनोभेटिभ प्रडक्टहरु ल्याउने हो । साथै, बीमा बजारमा रहेको प्रडक्ट भन्दा पनि बजारको आवश्यकता अनुसारको प्रडक्ट ल्याउने रणनीति छ । सानिमा लाईफको उद्देश्यलाई बीमितहरुले बुझ्दै आउनु भएको छ । भोलिका दिनमा समेत हामीले उहाँहरुसँग गर्ने सहकार्य जारी रहन्छ । उपभोक्ताले सानिमा लाइफ इन्स्योरेन्स कम्पनी नै छान्नु पर्ने कारण चाहीँ के हो ? आर्थिक स्थिति कम भएका बीमितहरुले समेत सानिमा लाइफमा कुनै अप्ठ्यारो महशुस गर्दैनन् । हाइस्कुल देखी, दम्पत्ती, ग्यारेण्टेड प्रडक्ट, ३ महिनासम्म लाभ लिन सकिने किसिमका प्रडक्टहरु भएकाले नै बीमितले सानिमा लाइफ इस्योरेन्स कम्पनी छान्ने गर्छन् । दाबी भुक्तानीमा हामी निकै अगाडि छौँ भने बीमा सम्बन्धी जानकारीहरुमा पनि हामीले सही सूचना दिँदै आएका छौँ ।नीतिगत रुपमा हामी अनुशासित ढङ्गले बढिरहेका छौँ । सानिमा गु्रपबाट हामी प्रवर्तित छाँै । सोही कुराले नै समाजमा समेत राम्रो छवि समेत बनाएको छ । बैंक, हाइड्रो, जनरल तथा लाइफ इन्स्योरेन्स सानिमा ग्रुपले सञ्चालन गरेकाले पनि बीमितले हामीलाई मान्ने दिगो आधार हुन् । बीमितको माग अनुसारको सेवा हामीले दिन्छौँ तथा सोही अनुसारको प्रडक्ट समेत हामीले ल्याएका छौँ । सानिमा लाईफको उद्देश्यलाई बीमितहरुले बुझ्दै आउनु भएको छ । भोलिका दिनमा समेत हामीले उहाँहरुसँग गर्ने सहकार्य जारी रहन्छ । नौला प्रडक्ट यहाँहरुले बजारमा के दिनु भयो ? हामीले बजारमा (इनोभेटिभ प्रडक्ट) दिने प्रयास गरिरहेका छौँ । बजारमा हाल भइरहेको भन्दा केही फरक दिन अवश्यक रहेको हाम्रो बुझाई हो । सोही अनुसार कार्य सम्पादन समेत गर्दै आएका छौँ । पछिल्लो समय बीमा कम्पनीहरुमा कर्मचारी टर्न ओभर धेरै छ, तपाईँको कम्पनीमा कस्तो अवस्था छ ? कर्मचारीहको टर्न ओभर समान्यता सबै कम्पनीहरुमा भईरहने कुरा हो । यस्तै, बीमा क्षेत्रमा कर्मचारीहरुको टर्नओभर हुने कारण भनेको चाहीँ दक्ष जनशक्ती अभाव हुनु हो । दक्ष जनशक्तीको अभाव भएपछि अनुभविलाई प्राथमिकता दिनु पर्ने हुन्छ । तर, हाम्रोमा तानातानको स्थितिमा भने सिर्जना भएको छैन ।अहिले हामी फ्रेसरहरु राखेर सिप, दक्षता, ज्ञान दिएर अघि बढिरहेका छौँ । हामीले राम्रो सिस्टमको विकास गर्ने हो । बेरोजगारहरु ल्याएर क्षमता विकास गर्न सकेमा त्यसले राम्रो गर्छ । हाम्रो कर्पोरेट कल्चर पृथक छ । हामीसँग जोडिएका साथिहरु कम नै बाहिरिनु हुन्छ । यसलाई हाम्रो तागतको रुपमा हेरेपनि हुन्छ । काम गर्ने कर्मचारीहरुको सोचाई अनुसार प्रशासनले काम गर्न दिने र कर्मचारीहरुले कम्पनीको उद्देश्य अनुसार काम गरेमा टर्न ओभरको अवस्था आउँदैन । हामीले हालसम्म टर्न ओभर भोगेका छैनाँै र भोलिका दिनमा यो अवस्था कायम राख्ने प्रयत्न गर्नेछौँ । कर्मचारीको क्षमता विकासमा कम्पनीले के–के काम गरिरहेको छ ? यसमा त सबै कुरा खुलाउन मलाई नै केही समस्या पर्छ । श्रम ऐनले तोकेका कुराहरु सबैले गर्नै पर्ने हुन्छ । हामीले त्यसको अतिरिक्त कार्य क्षमता अनुसारको प्रमोसन दिँदै आएका छौँ ।कर्मचारीहरुलाई उत्साह हुने किसिमले हामीले काम गर्दै आएका छाँ,ै यसलाई नै अतिरिक्त मान्दा हुन्छ । एउटा पक्षमा बीमा कम्पनीहरु मिलेर जाउँ भन्ने हिसाबमा मर्ज हुन सक्छन् । अर्कोतर्फ भने चुक्ता पूँजी नपुग्दा बीमा कम्पनीहरु मर्ज हुने स्थिति आउँछ । समग्र बीमा बजारको अवस्था हेर्दा कस्तो पाउनु हुन्छ ? अहिले बीमा क्षेत्रमा अवसर राम्रो छ । बीमाको पहुँच बढ्दो क्रममा छ । विकसित देशमा बीमा बेचिन्छ भने हाम्रो अहिले बीमा बुझ्ने/बुझाउने क्रममा रहेको छ । बीमाको आफ्नै महत्व रहेको छ ।बचतको सधैँ महत्व हुन्छ । बीमाले भनेको बचत नै गराउने हो । सधै अवसर मात्र भेटिन्छ भन्ने पनि हुँदैन । हामीले केही संघर्ष गर्नु पर्ने पनि हुन्छ । कम्पनीहरुले गरेका संघर्षहरुलाईपनि हामीले अवसरको रुपमा हेर्दै आएका छौँ ।पछिल्लो समयका नीतिहरुले बीमालाई लगानी गर्न केही खुल्ला गरेको छ ।हामी आफैँले विकास गर्दै, जनताहरुलाई बुझाउँदै लानु पर्ने हो । बुझाईमा रहेको कमी पनि एककिसिमको च्यालेन्ज रुपमा स्थापित छ । बीमा समितिको नियमन कसरी अघि बढिरहेको छ ? बीमा कम्पनीहरु बढ्दो क्रममा छन् । बीमा समितिले सुपरीवेक्षणमा आफ्नो काम गर्दै आएको छ । पछिल्लो समय बीमा चेतना बढाउने कुरामा बीमा समिति लागिरहेको छ । सोही कुरामा हामीलेपनि सहयोग गर्दै आएका छौँ । भोलिका दिनमा बीमा कम्पनी र बीमा समितिको सहकार्य तथा डिजिटल युगमा बीमा प्रवेश गर्दा बीमितले लाभ पाउँछन् । हामी सबैको उद्देश्य बजारमा सेवा राम्रो प्रवाह गरौँ भन्ने हो, यसमा बीमा समितिको सहयोगी भूमिका छ । पछिल्लो समय बीमा क्षेत्रमा मर्जरको कुरा चलिरहेको छ, यसलाई कसरी हेर्नु हुन्छ ? मर्जरकालागि विभिन्न कारणहरु आवश्यक हुन्छन् । एउटा पक्षमा बीमा कम्पनीहरु मिलेर जाउँ भन्ने हिसाबमा मर्ज हुन सक्छन् । अर्कोतर्फ भने चुक्ता पूँजी नपुग्दा बीमा कम्पनीहरु मर्ज हुने स्थिति आउँछ । सानिमाको केसमा भने पब्लिकबाट आउने ३० प्रतिशत आएपछि पूरा भई हाल्छ । मर्जरलाई हामीले राष्ट्रिय आवश्यकताबाट भन्दापनि अन्तर्राष्ट्रिय स्तरबाटहेर्न जरुरी छ । अन्त्यमा बीमितहरुलाई के भन्न चाहानुहुन्छ ? हामीसँग व्यवसायिक प्रमोटरहरु हुनुहुन्छ । नेटवर्क बिस्तार हुँदैछ । हाम्रो शाखाबाट नै पोलिसी हातमा लिन सकिने व्यवस्था छ । हामीले प्रविधि मैत्री भएर काम गर्दै आएका छौँ । बीमितहरु ढुक्क भए हुन्छ, हामी राम्रो गरिरहेका छौँ ।

दोस्रो बजार खोलौं, ५ अर्बको कारोबार हुन्छ : रेवतबहादुर कार्की

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले शेयर कारोबार गर्न नेपाल स्टक एक्सचेञ्जसँगै निजी क्षेत्रमा अर्को मार्केट खोल्ने हो भने दैनिक ५ अर्ब भन्दा बढीको शेयर कारोबार हुने दोहोर्याएका छन् । धितोपत्र बोर्डका अध्यक्षको रुपमा अन्तिम पत्रकार सम्मेलन आयोजना गरेका कार्कीले आफूले विगतमा पनि दोस्रो बजारको आवश्यकता रहेको बताएको भन्दै अहिले पनि निजी क्षेत्रबाट सञ्चालन हुनेगरी थप एउटा स्टक मार्केट चाहिने बताएका हुन् । ‘अर्थतन्त्र र पुँजीबजारको आवश्यकता र विकास सम्बोधन गर्न निजी क्षेत्रमा थप एक स्टक प्रवेश गराउने नीतिगत निर्णय भइसकेको परिप्रेक्षमा नेप्सेको कर्पोरेट निजीकरण सुधारको साथै आधुनिक अर्को स्टक एक्सचेञ्ज स्थापना गरी प्रतिस्पर्धात्मक, स्वच्थ, आधुनिक बजारको विकास र विस्तार गर्ने चुनौती छ, जसबाट आधुनिक सुविधा उपलब्ध भई दैनिक ५ अर्बको कारोबार हुनसक्छ’ कार्कीले भने । त्यस्तै, अन्तराष्ट्रिय रुपमा परीक्षण गरिएको सफ्टवेयर प्रणाली अपनाई गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालाई बजारमा प्रवेश गराउने तथा नियमन निकायसहित बजार सहभागिताको क्षमता अभिवृद्धि गरी नेपालको धितोपत्र बजारलाई अन्तराष्ट्रिय रुपमा स्तरोन्नती गराउनु मुख्य चुनौती रहेको बताए । उनले आफूले बजार सुधारका लागि उल्लेख्य कामहरु गरेको भन्दै दोस्रो बजार खोलेर कारोबार बढाउनु, धितोपत्र बजार श्रम, प्रविधि र सेवाका हिसाबले अन्तर्राष्ट्रिय स्तरको बनाउनु बोर्डको लागि अबको चुनौती रहेको बताए । कार्कीले आफ्नो कार्यकालमा प्राथमिक बजारको सुधार तथा विकास, दोस्रो बजारको सुधार तथा विकास, लगानीकर्ताको प्रत्यक्ष समस्या समाधान, ब्रोकर र मर्चेन्ट बैंकिङ सेवा/क्षेत्र विस्तार र सुदृढीकरण, बोर्डको क्षमता अभिवृद्धि, नयाँ वित्तीय उपकरण/सेवाको व्यवस्था, कानूनी संरचना विकास तथा सुदृढीकरणको साथै आर्थिक जरिवानासहितको कानूनी कारबाही, वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा ल्याउने प्रोत्साहनमूलक प्याकेज र सूचिकृत कम्पनीमा सुशासन निर्देशिका लागु गर्ने, धितोपत्र बोर्डलाई अन्तर्राष्ट्रिय संस्था बनाउने लगातका सुधारहरु गरेको समेत बताए।

ट्राफिक प्रहरीले भने- ‘ढुक्क हुनुहाेस्, अब नागढुङ्गामा त्यस्तो जाम हुँदैन’

काठमाडौं । केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०÷२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाएका छन् । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिनुपर्यो । त्यो देख्दा यसपालिको दशैँ सास्तीमै बित्ने त होइन भन्ने आशङ्का भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त पारेको छ । “आज बिहानको अवस्था भन्नुपर्दा नागढुङ्गामा सबै सहज छ, गाडी क्युमा समेत छैन, अब ढुक्कसँग यात्रा गर्दा हुन्छ, कुनै अकल्पनीय घटनाबाहेक समस्या हुने छैन”, महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले भने । उनका अनुसार अब विस्तारै उपत्यकाको चाप घट्दो क्रममा छ । खुसी र उमङ्गको चाड बडादशैँ आजदेखि औपचारिक रुपमा शुरु भएको छ । यो उमङ्ग तबसम्म रहिरहन्छ, जबसम्म नेपाली सहज रुपमा आ–आफ्नो घरसम्म पुग्न सक्छन् । त्यो अवस्थामा पुर्याउनका लागि ट्राफिक प्रहरी अहोरात्र खटिएको छ भन्छन्, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल । ट्राफिक प्रहरीका अनुसार अघिल्लो हप्ता केही दिन नियमित वर्षा भयो । नागढुङ्गा तलको ढलान गरिएको सडकमा गाडी चिप्लिएर रोकिए, त्यही समयमा केही गाडीहरु बिग्रँदा यात्रुले जामको समस्या झेल्नुपर्यो । रातभरको प्रयाससमेत सफल नहुँदा उत्पन्न समस्या शनिबारबाट भने हटेको प्रहरीले दाबी गरेको छ । महाशाखाका प्रमुख ढकालले यो क्षेत्रमा ४० भन्दा बढी प्रहरी खटाइएको र गाडी तान्ने दुई वटा र्याकरसमेत तयारी अवस्थामा राखिएको जानकारी दिए । उक्त र्याकरको ४० टनसम्मका गाडी तान्ने क्षमता छ । यातायात सहज पार्न महाशाखाले प्रहरी निरीक्षककै नेतृत्वमा १० जना छुट्टै ट्राफिक प्रहरी खटाएको छ । यस्तै, आठ जना ट्राफिक प्रहरी मोटरसाइकल गस्तीमा सक्रिय छन् । उनीहरुले उक्त सडकमा ओभरटेक गर्न नदिने र ओभरटेक गरेमा तत्कालै कारबाही गर्नेछन् । धादिङबाट समेत प्रहरी परिचालन गरिएको छ । आजबाट अत्यावश्यक सामान बोकेका बाहेक ठूला लहरी तथा ट्रकहरुलाई सात दिनका लागि आवागमन रोकेको प्रहरीले जनाएको छ । एकै दिन एक लाख ५६ हजार यात्रु बाहिरिए प्रहरीका अनुसार गएको २४ घण्टामा उपत्यकाबाट एक लाख ५६ हजार यात्रु बाहिरिएका छन् भने ६० हजार यात्रु भित्रिएका छन् । आठ हजार गाडी भित्रिए भने १३ हजार गाडी बाहिरिए । “यसले के देखाउँछ भने आजबाट उपत्यकाको चाप घट्दो छ भन्न सकिन्छ”, प्रहरी उपरीक्षक पौडेलले भने । आज घटस्थापनासँगै उपत्यकामा स्कूल÷कलेज बन्द भएकाले जामको समस्या कम हुने प्रहरीको अनुमान छ । तर पनि मुख्य व्यापारिक क्षेत्र र चोकमा भने गाडीसँगै मानवीय चाप बढी भएकाले त्यसको व्यवस्थापनमा प्रहरी खटाइएको महाशाखाले जनाएको छ । व्यापारिक क्षेत्रमा साँझको समयमा बढी मानवीय चाप रहेकाले त्यस क्षेत्रमा क्युमा केही गाडीहरु रहने गरेका छन् । उपत्यकाको सवारी व्यवस्थापन गर्न प्रहरीले ३६८ स्थानमा सवारी जाँच गरिरहेको छ । यसअघि ७५० ट्राफिक प्रहरी खटिएकामा अहिले ४३० प्रहरी थप खटाइएको छ । बसपार्क विभिन्न नाकाका १५ स्थानमा विशेष चेकजाँच भइरहेको छ । मापसेविरुद्ध कडाइका साथ जाँच भइरहेको बताउँदै महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ढकालले भने, “अब कसैले मापसे गरेर गाडी चलाउँछु भन्ने नसोचे हुन्छ ।” मन्दिरमा पूजाआजा गर्ने स्थान र किनमेल गर्ने न्युरोड जस्ता स्थानमा बढी चाप छ, शुभकामना आदानप्रदान कार्यक्रमहरु बढेका छन्, त्यसतर्फ हामीले निगरानी बढाएका छौँ,” ढकालले भने । प्रहरीको सक्रियताले अहिले दैनिक १६ देखि १७ सयसम्म कारवाहीमा पर्ने गरेको उनले बताए । “अब नागढुङ्गा क्षेत्रमा अस्तिको जस्तो जाम हुँदैन, ढुक्कसँग यात्रा गर्दा हुन्छ, केही समस्या परे प्रहरीलाई भन्नुुहोला, प्रहरीले सहयोग गर्ने छ”, महाशाखा प्रमुख ढकालले थपे । ट्राफिक सचेतना, जानकारी र व्यवस्थापनका लागि स्वयमसेवक र कलाकारहरुले समेत आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेको महाशाखाले जनाएको छ । रासस

लक्ष्मी बैंकले दुई अर्बको ऋणपत्र जारी गर्दै, असोज २३ गतेदेखि बिक्री खुला

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले कूल दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेञ्चर) जारी गर्ने भएको छ । बैंकले आगामी असोज २३ गतेदेखि एक हजार अंकित दरको २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । ऋणपत्र किन्न चाहने इच्छुकले असोज २३ गतेदेखि छिटोमा असोज २७ गतेसम्म र ढिलोमा कात्तिक २२ गतेसम्म खरिद गर्न सक्नेछन् । सर्वसाधारणहरुले न्युनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको ऋणपत्र खरिद गर्न सक्ने छन् । १० वर्ष अवधि भुक्तानी भएको यस ऋणपत्रमा वार्षिक १० प्रतिशत व्याज पाइने छ ।

आज बडादशैँको पहिलो दिन, घरघरमा धार्मिक विधिअनुसार घटस्थापना

नेपालीको महान् पर्व बडादशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरियो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बिहान १०ः३५ को शुभसाइतमा महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजाआजा गरी घटस्थापना गरिएको थियो । सोही साइतमा हनुमान ढोका दरबार दशैँ घरमा धार्मिक विधिअनुसार घटस्थापना गरिएको छ । दशैँ घरका मूल पुरोहित देवराज अर्यालले बिहानको १०ः३५ को साइतमा घटस्थापना गरिएको जानकारी दिए । सो अवसरमा नेपाली सेनाको शार्दूलजङ्ग गुल्मको गुरुज्यूको पल्टनले मङ्गल धून बजाउनाका साथै बढाइँसमेत गरेको थियो । गाईको गोबरले लितपोत गरिएको पूजाकोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा लिई पूजा गर्ने चलन रहिआएको छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ । रासस

टिभिएसको ‘अपाचे आरआर ३१०’ मोटरसाईकलका यस्ता छन् विशेषता, कति पर्छ मूल्य ?

काठमाडौँ । टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले अपाचे आरआर ३१० लाई केहि महिना अघि नेपाल भित्र्याएको थियो । कम्पनीले टिभिएसको प्रिमियम मोटरसाइकलको रुपमा ल्याएको यस मोटरसाइकलको मूल्य नेपाली बजारमा ७ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ । यो स्पोर्ट बाइक हेर्दा हेभी देखिन्छ, जसको एग्रेसिभनेसलाई बढाउनमा ट्वीन एलइडि प्रोजेक्टर, फ्रन्ट फेयरिङ्ग, विन्ड स्क्रीन लगायतले मद्दत पुर्याएका छन् । अपाचे आरआर ३१० मा भएको इञ्जिन एउटा ३१२.२ सीसी लिक्विड कुल्ड सिङ्गल–सिलिण्डर इञ्जिन हो, जसले ३४ एचपिको पावर र २७.३ एनएमको टर्क प्रोड्युस गर्छ । कम्पनीले यसको टप स्पिड १६० र त्यसैगरी यसले ० देखि ६० को स्पिड २.९३ सेकेण्डमै कभर गर्न सक्छ भनेर क्लेम गरेको छ । टिभिएसका इञ्जिनियरहरुले विभिन्न एक्सपेरिमेन्ट पश्चात फाइनलाइज गरेको एरोडाइनामिक्स सेपले गर्दानै यो कुरा सम्भव भएको हो । दुबै चक्कामा डिस्क ब्रेक दिइएको यस बाइकमा सेफ्टि फिचरको रुपमा डुअल–च्यानल एबीएस दिइएको छ जसले यो बाइकलाई सुरक्षित बनाएको छ । सुरुमा यो बाइक बजारमा आउँदा यसमा स्लिपर क्लच थिएन, तर व्यापक आलोचना पछि हालसालै मात्र टिभिएसले यस बाइकमा अर्को सेफ्टि फिचरको रुपमा स्लिपर क्लच समावेस गरेको छ । स्लिपर क्लचले गियर डाउनसिफ्टलाई स्मूथ बनाउने काम गर्छ र त्यसैगरी एग्रेसिभ डाउनसिफ्टको वेला चक्कालाई लक पनि हुन दिँदैन । हाल रेड, म्याट ब्ल्याक र फ्यान्टम ब्ल्याक गरी यो बाइक ३ कलर अप्सन्सहरुमा उपलब्ध छ ।