दशैँकाे मुखमा ठगीः सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार
Photo: THT काठमाडौं । दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्को भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ । काठमाडौँबाट हेटौँडा जान लागेका एक यात्रुले ४५० लाग्ने भाडा ८०० तिरेर यात्रागर्न बाध्य भएको बताएका छन् । केही यात्रु घरमा पुग्न पाइने आशमा बढी भाडा तिर्ने गरेका छन् भने धेरै यात्रुले चाहना नहुँदानहुँदै बढी भाडा तिर्नुपरेको गुनासो गरेका छन् । ट्राफिक प्रहरीले बढी भाडा लिने सवारीको निगरानी बढाए पनि यात्रु ठगिने क्रम रोकिएको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको बताए । उनले दशैँमा हुने यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको र आजसम्मका २३२ सवारीलाई कारवाही गरिएको उल्लेख गरेका छन् तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरेका छन् । ठगी रोक्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । बसपार्क क्षेत्रमा पछिल्लो समयमा प्रगति भइरहेको र ठगिने क्रम रोकिएको दाबी प्रहरीको छ तर अन्य क्षेत्रमा अझै प्रहरीको आँखा छलेर पैसा असुल्ने क्रम जारी छ । प्रहरीले भिडियो रेकर्ड र बढी भाडा लिएको रसिदसहित पक्राउ गरेर कारवाही गर्दै आएको छ । प्रहरीले आफैँ प्यासेन्जर बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र प्यासेञ्जर बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ । यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ । प्रहरी नै यात्रु बनेर जाँदा ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ । काठमाडौँबाट बर्दिवासको भाडा रु ७०० छ । सादा पोशाकमा यात्रु बनेर गएका प्रहरीले कोटेश्वरस्थित टिकट काउन्टरमा पुग्दा रु ९०० भाडा लिएको पाइएपछि टिकट काउन्टरका कर्मचारी अशोक थोकर, प्रशान्त तामाङ र अर्का रवीन्द्रनाथ श्रेष्ठलाई प्रहरीले पक्राउ गर्यो । आज मात्रै बढी भाडा लिने दक्षिणकाली सुमो टिकट काउन्टरबाट कर्मचारी रामचन्द्र कार्की पक्राउ परेको प्रहरीले जनाएको छ । असोज १२ गते वीरगञ्ज कलैया सुमो सेवाको टिकट काउन्टरबाट मकवानपुरका श्रीराम स्याङ्तान र चन्दन शाहलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । यस्तै बढी भाडा असुल्ने दीपेन्द्र पौडेल, उपेन्द्र ढुङ्गाना र विशाल घिसिङसमेत पक्राउ परेका छन् । बढी भाडा असुल नियन्त्रण अभियानमा खटिएका एकजना प्रहरी कर्मचारीले रासससँग भने, “हामी नै यात्रु बनेर गएपछि यस्ता कर्तुत फेला परेको हो, उनीहरुले रसिदमा सरकराले तोकेको भाडा नै उल्लेख गर्ने गरेको र बढी भाडा भने बिना रसिद लिने गरेको पाइयो ।” महाशाखाका पीडित सहायता एकाइका प्रहरी नायब निरीक्षक रमेश बजागाईंले सर्वसाधारणको रुपमा यात्रु बनेर बढी भाडा लिनेलाई पक्राउ गर्ने गरिएको बताएका छन् । उनीहरुले गाडी चढ्नु अघि कतिपय यात्रुलाई कन्भिन्स गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको छ । रासस
२०२० अप्रिलदेखि नेपालमा पनि ‘यूरो-६’ मापदण्डको इन्धन, कति बढ्ला मूल्य ?
काठमाडौं । नेपाल आयल निगमले यूरो-६ मापदण्डको इन्धन बिक्री गर्ने भएको छ । ईन्डियन आयल कर्पोरेसनले आगामी अप्रिलदेखि यूरो-६ मापदण्डको इन्धन मात्रै बिक्री गर्ने भएपछि नेपालमा पनि यूरो-६ मापदण्डको इन्धन बिक्री हुने भएको हो । नेपालमा हाल ‘यूरो –४’ मापदण्डको इन्धन बिक्री हुँदै आएको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले २०२० अप्रिलको सुरुवातदेखि नेपालमा युरो सिक्स मापदण्ड इन्धन बिक्री हुने बताए । उनले भने-‘हामीले भारतसँग इन्धन खरिद गर्ने हो । भारतमा युरो सिक्स मापदण्ड इन्धन बिक्री शुरु भए पछि उसले हामीलाई पनि यूरो-६ मापदण्ड इन्धन दिन्छ ।’ ‘आईओसीले नयाँ मूल्यसूची नपठाएसम्म यूरो सिक्सको मूल्य कति बढ्छ भनेर भन्न सकिन्न’–निगम प्रवक्ता गोइतले भने । यता, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ बरिष्ट उपाध्यक्ष विजयबहादुर सुवारले यूरो-६ मापदण्डको इन्धन वातावरणीय दृष्टिकोणले फाइदाजनक हुने बताए । यो इन्धन प्रयोगमा आएपछि गाडीहरूबाट कम प्रदूषण हुने बताए । ‘युरो सिक्स’ मापदण्डको इन्धन प्रयोग गर्दा सवारी साधनको इञ्जिन बिग्रिने सम्भावना कम र माइलेज पनि बढ्ने उनले बताए । भारतबाट युरो सिक्स मापदण्डको इन्धन ल्याएर नेपालमा परीक्षण समेत भइसकेको आयल निगमले जानकारी दिएको छ । यता, ठूला ग्राहकको लागि उच्च गुणस्तरको यूरो-६ पेट्रोल आयात गर्न खुल्ला गरेको आयल निगमले जनाएको छ । निगमका प्रवक्ता गोइतले ठूला ग्राहकको माग अनुसार यूरो-६ पेट्रोल आयातको बाटो खुल्ला गरेको जानकारी दिएका हुन् ।
थोमस कुकको अन्त्य र एनएसीको भविष्य
निगमकाे जहाजकाे फाइल तस्बिर १७८ वर्ष इतिहास अन्त्य गर्दै विश्वको पहिलो ट्राभल कम्पनी थोमस कुकले गत साता औपचारिक टाट उल्टिएको घोषणा गर्यो । यसले विश्वका १६ देशमा २२ हजार कर्मचारीलाई बेरोजगार बनायो । सन् १९४१ मा बेलायतमा खुलेको उक्त कम्पनीले टुर प्याकेजको योजना ल्याएसँगै सन् १९५५ मा अन्तराष्ट्रिय कम्पनीको रुपमा परिणत भएको थियो । सन् १८९२ मा कम्पनीका संस्थापक थोमस कुकको निधन भएपछि मैसन कुकले उक्त कारोबार सम्हालेका थिए । सन् १९२८ मा उक्त कम्पनी सो परिवारले अर्को मालिकलाई बेचिदिएका थिए । दोस्रो विश्वयुद्धमा सो कम्पनीले आफ्ना यात्रुहरुको राम्रो व्यवस्थापन गर्न सकेन । परिणाम १९४८ मा सो कम्पनीलाई व्रिटिस सरकारले राष्ट्रियकरण गरेको थियो । २४ वर्षपछि सन् १९७२ मा सो कम्पनीलाई फेरि निजी क्षेत्रलाई हस्तान्तरण गरियो जसको शेयर मिडल्याण्ड बैंक, होटलियर ट्रष्ट हाउस फोर्ट र अटोमोबाइल एशोसिएसनले किनेका थिए । सन् १९९२ मा सो कम्पनीलाई जर्मनीको सहवित्तीयकरण गर्ने संस्थाले लगानी गर्यो । फेरि २००१ मा सी एण्ड एन टुरिस्टिक एजी नामक कम्पनीले यसको अधिग्रहण गरेपछि त्यसको नाम थोमस कुक एजी भएको थियो । २००७ मा सो कम्पनीले ले बेलायतकै एउटा ट्राभल कम्पनी माई ट्राभल्सलाई आफूमा गाभ्यो । कम्पनी बन्द हुनुको पछाडि प्रतिस्पर्धालाई नै मुख्य कारणको रुपमा लिइएको छ । इन्टरनेटको माध्यमबाट सस्तो हवाई टिकट बुक गर्ने कम्पनीहरु सक्रिय भएपछि ‘ट्राभल प्याकेज’ गर्ने यसलाई थप अप्ठ्यारो परेको थियो । यो कम्पनी बचाउन अघिल्लो महिना मात्रै चीनको एउटा इन्भेष्टमेन्ट कम्पनीले १.१ अर्ब डलर लगानी गर्यो तर त्यसले पनि कम्पनीलाई बचाउन सकेन थोमक कुकको अन्त्यले के प्रष्ट पारेको छ भने कम्पनी पुरानो र ब्राण्ड पुरानो हुँदैमा कम्पनी बलियो हुँदैन । यो सत्यतालाई नेपाल वायुसेवा निगमले आत्मसाथ गर्नु जरुरी छ । निगमको सुधारका लागि सरकारले गठन गरेको एक कार्यदलले निगम सुधारको लागि विभिन्न सुझाव प्रस्तुत गरेको छ । निगम करिव ४० अर्ब रुपैयाँ ऋणमा डुबेको छ । असार मसान्तसम्म ५ अर्ब २१ करोड ७६ लाख सञ्चित नोक्सानीमा रहेको छ । निगमको आर्थिक व्यवस्थापनका लागि नेपाल वित्तिय प्रतिवेदन मान(एनएफआरएस) अनुसार बनेको छैन । कर्मचारीहरुलाई तलव भुक्तान गर्न पनि समस्या हुने अवस्था देखिएको छ । एकातिर निगममा दक्ष जनशक्ति छैनन् । निगमको सञ्चालन खर्च धान्न आवश्यक विमान समेत छैनन् । निगम सुधारका लागि थप २ वटा एयर बस ३२० खरिद गर्न सुझाव दिएको छ । समयानुकुल प्रतिस्पर्धामक क्षमता अभिबृद्धि गर्न जहाजको कमि, व्यवस्थापनमा राजनीतिक हस्तक्षेप, परम्परागत र अपारदर्शी निर्णय र प्रक्रिया, राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार प्रवद्र्धन गर्ने दक्ष जनशक्तिको अभाव लगायतका निगमका कमजोरी रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ । बहुपक्षीय लगानीकर्ता भित्र्याउँदै कम्पनी मोडलमा लैजानुपर्ने लगायत १३ सुझाब दिएको छ । उक्त सुझावलाई कार्यान्वन गर्दै निगम बचाउने दिशामा तत्काल काम थाल्नुपर्ने देखिएको छ ।
२४ वटा विद्यालय पुनर्निर्माणका लागि त्रिपक्षीय समझदारी, नर्वे सरकारको ८० लाख अमेरिकी डलर सहयोग
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच २४ वटा विद्यालय पुनर्निर्माणका लागि समझदारी भएको छ । नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्नेछन् । परियोजनाअन्तर्गत रामेछापमा १३, सिन्धुलीमा ९ तथा काठमाडौं र भक्तपुरमा एक–एक वटा विद्यालय पुनर्निर्माण हुनेछन् जसमा १४४ वटा कक्षाकोठा रहनेछन् । अपांगमैत्री यी विद्यालयमा शौचालय, खानेपानीको सुविधा हुनेछ । विद्यालय पुनर्निर्माण भएपछि करिब ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुनेछन् । परियोजनाको अवधि सन् २०२१ नोभेम्बर (२०७८ मंसिर १४) सम्म रहेको छ । समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव पिताम्बर घिमिरे, नर्वेजियन राजदूतावासका तर्फबाट नेपालका लागि राजदूत लास्से जोर्न जोहानेसें र युनओपिएसका कन्ट्री डाइरेक्टर चाल्र्स क्यालानानले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रमपछि नर्वे सरकार तथा युनओपिएसलाई धन्यवाद दिंदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजनाको समयमै सफल कार्यान्वयन हुने विश्वास व्यक्त गरे । उनले प्राधिकरण भूकम्पपछिको पुनर्निर्माणमा विकास साझेदारहरुसँग समन्वय तथा मिलेर काम गर्दै आएको र गर्न तयार रहेको पनि उल्लेख गरे । नर्वेका राजदूत जोहानेसेंले नर्वे सरकारको विद्यालय क्षेत्रप्रति दरिलो प्रतिबद्धता रहेको उल्लेख गर्नु हुँदै भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण तथा युनओपिएससँग साझेदारी गर्न पाउँदा गर्व लागेको बताए । त्यसैगरी, पुनर्निर्माण प्राधिकरणका योजना तथा बजेट व्यवस्थापन महाशाखा प्रमुख सहसचिव पिताम्बर घिमिरेले परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा योगदान गर्नुका साथै दुई देशबीचको सम्बन्घमा पनि नयाँ आयाम थप्ने बताए । युएनओपिएसका कन्ट्री डाइरेक्टर चाल्स क्यालानानले पुनर्निर्माण प्राधिकरण र नर्वे सरकारसँग मिलेर विद्यालय पुनर्निर्माण गर्नु पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा विद्यालय पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाए ।
लामबगर र सिनामंगलमा सिटिजन्सको शाखा बिस्तार
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने ८३औं शाखा काठमाडौँको लामबगर र ८४औं शाखा काठमाडौँको सिनामंगलमा संचालनमा ल्याएको छ । बुधबार उक्त शाखा कार्यालयहरुमा पूजा पाठ गरी बैंकिङ्ग कारोबारको सुरुवात गरिएको हो । उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । यी शाखाहरू मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
बुधबारबाट सन् २०२१ का लागि ईडीभीको आवेदन खुल्दै, कात्तिक १९ गतेसम्म भर्न सकिने
काठमाडौँ । सन् २०२१ का लागि अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिषा (इडिभी)का लागि आवेदन फारम खुलेको छ । बुधबार राति १२ बजेबाट इडिभीको आदेवन खुला हुने भएको हो । कात्तिक १९ गते राति १२ बजेसम्म आवेदन दिन सकिने छ । यस वर्ष डिभी भर्न पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । आवेदन फारम भर्न कुनै शुल्क नलाग्ने र आफैं भर्न सकिनेछ । फारम भरिसकेपछि कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्ने हुन्छ । नतिजा आएपछि कन्फर्मेसन नम्बरकै आधारमा इडिभीको नतिजा हेर्न सकिने छ।
६ वटा वाणिज्य बैंकलाई ११ वटा विकास बैंकले उछिने
काठमाडौं । पछिल्लो समय सेयर बजारमा वाणिज्य बैंक र विकास बैंकबीच प्रतिस्पर्धा भएको छ । नेपाल राष्ट्र बैंकद्धारा ‘ख’ वर्गको लाइसेन्स पाएका ११ वटा विकास बैंकले ‘क’ वर्गको लाइसेन्स पाएका ६ वटा वाणिज्य बैंकहरुलाई सेयर मूल्य र समूह सूचक दुबैमा उछिनेका छन् । असोज १४ गते सेयर बजारमा ११ वटा विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ भन्दा बढी छ भने ६ वटा वाणिज्य बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता २०० रुपैयाँभन्दा तल झरेको छ । नेप्सेमा हाल २७ वटा विकास बैंकहरु सूचिकृत रहेकोमा माउन्ट मकालु डेभलपमेन्ट बैंक, साहारा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंक र गण्डकी विकास बैंकको सेयर मूल्य २०० रुपैयाँ बढी छ । यी मध्ये माउन्ट मकालुको सबैभन्दा बढी प्रतिकित्ता ६७३ रुपैयाँमा सेयर किनबेच भएको थियो । सेयर मूल्य २०० भन्दा बढी भएका विकास बैंकः त्यस्तै, साहाराको ४६०, नारायणीको ४३५, मुक्तिनाथको ३०८, एक्सेलको २७२, शाइन रेसुङ्गाको २४४, मितेरीको २५१, कैलाशको २३८, महालक्ष्मीको २१३, गरिमाको २१२ र गण्डकीको प्रतिकित्ता २०१ रुपैयाँ सेयर मूल्य रहेको छ । बाँकी १६ वटा विकास बैंकको भने सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा तल छन् । नेप्सेमा सूचिकृत रहेका २७ वटा वाणिज्य बैंकमध्ये ६ वटाको सेयर मूल्य घटेर प्रतिकित्ता २०० रुपैयाँ भन्दा तल झरेको छ । सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, कुमारी बैंक, मेगा बैंक, सिटिजन्स बैंक र एनसीसी बैंकको सेयर मूल्य २०० भन्दा कम छ । जसमध्ये सबैभन्दा घटी सिभिल बैंकको रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता १४४ रुपैयाँ रहेको छ । त्यस्तै, सेञ्चुरीको १५५, कुमारीको १७९, मेगा र सिटिजन्सको १९४ र एनसीसीको प्रतिकित्ता १९९ रुपैयाँ सेयर मूल्य छ । सेयर मूल्य २०० भन्दा कम भएका वाणिज्य बैंकः बाँकी २१ वटा वाणिज्य बैंकको सेयर मूल्य २०० रुपैयाँ भन्दा माथि छ । नबिल बैंकको सबैभन्दा बढी प्रतिकित्ता ७७२ रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट, हिमालयन र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य प्रतिकित्ता ५०० रुपैयाँभन्दा बढी छ भने अन्य बाँकीको ४०० रुपैयाँभन्दा तल रहेको छ । त्यस्तै, सेयर बजारमा समूह परिसूचकको आधारमा पनि वाणिज्य बैंकभन्दा विकास बैंक नै अगाडि रहेका छन् । विकास बैंक झण्डै ५०० अंकले अगाडि देखिएकाे छ । नेप्से परिसूचक ११४५ मा हुँदा विकास बैंक समूहको परिसूचक १५५२ हुँदा वाणिज्य बैंक समूहको परिसूचक १०५३ रहेको छ ।
टी–ट्वान्टी क्रिकेटमा नेपाल र सिङ्गापुर भिड्ने
सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज साँझ घरेलु टोली सिङ्गापुरसँग खेल्दैछ । सिङ्गापुरस्थित इण्डियन एशोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ सिङ्गापुरविरुद्ध मैदानमा उत्रदैछ । खेल नेपाली समयानुसार साँझ ५ः१५ बजे हुनेछ । उक्त प्रतियोगिताको फाइनलमा पुग्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । यदि सिङ्गापुरविरुद्धको अन्तिम खेलमा नेपाल पराजित भएमा जिम्बावे र सिङ्गापुर एकापसमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा प्रवेश गर्नेछन् । त्यसकारण पनि आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ । यता, सिङ्गापुर नेपालसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । उक्त सिरिजअन्तर्गत यसअघि सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिङ्गापुरलाई नौ विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भयो । त्यस्तै सिरिजको दोस्रो खेलमा सिङ्गापुरले जिम्बावेलाई पराजित गरेको थियो । नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा छ । यसअघि तीन खेल खेलेको नेपालको दुई अङ्क छ । त्यस्तै शीर्ष चार अङ्क जोडेको जिम्बावे शीर्ष स्थानमा छ । आयोजक सिङ्गापुर दुई खेलमा दुई अङ्क जोडेर तेस्रो स्थानमा छ । सिङ्गापुरले अन्तिम खेल भोलि जिम्बावेसँग खेल्नेछ । डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ । नेपाली टोली सिङ्गापुरबाटै सिधै ओमान जानेछ । ओमानमा यही असोज १८ देखि २३ गतेसम्म चल्ने टि ट्वान्टी सिरिजका लागि नेपाली टोली त्यसतर्फ जानेछन् । रासस