अब सातै प्रदेशमा टेलिकमको फोरजी सेवा, के हाे र कसरी गर्ने ‘एक्टिभेट’ ?
काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ गरेका हुन् । टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो । त्यसका लागि करीब १५० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको छ । सातै प्रदेशका मुख्यमुख्य शहरमा फोरजी सेवा विस्तार गरिएको छ । प्रदेश नं १ को चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान र धनकुटामा फोरजी सेवा सञ्चालनमा आएको छ । यस्तै प्रदेश नं २ को जनकपुर, जलेश्वर, मलङ्गवा, बारा, पर्सा, सिमरा, कलैया र गौरमा पनि सेवा शुरु भएको छ । प्रदेश नं ३ को धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भीमेश्वर, सिन्धुलीमाडी, चितवन, सौराहा तथा गण्डकी प्रदेशको पर्वत, कुश्मा र बाग्लुङमा पनि सेवा सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको प्रादेशिक राजधानी पोखरामा यसअघि नै फोर जी सेवा सञ्चालनमा आइसकेको छ । प्रदेश ५ को तौलिहवा, बुटवल, देवदह, तुल्सीपुर, घोराही, नेपालगञ्ज र कोहलपुर, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको भीमदत्तनगर, झलारी पिपलाडी, चौमाला र अत्तरियामा सेवा सञ्चालनमा आएको छ । फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । गत माघमा सम्झौता भएबमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पुर्याउने लक्ष्य साथ युद्धस्तरका काम भइरहेको छ । उक्त सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले अगाडि सारेको ‘डिजिटल नेपाल’को अवधारणालाई सार्थक बनाउन फोरजी सेवालाई महत्वपूर्ण साधनका रुपमा हेरिएको छ । सरकारले डिजिटल नेपाल निर्माण गरी देशको सर्वाङ्गीण विकास गर्न फोरजी सेवाले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटिई कर्पोरेशन र हङकङको सिसिएसआई कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार तोकिएको अवधि पूरा हुन चार महीना बाँकी रहेको भए पनि निर्धारित समयमै काम सकिने देखिएको छ । दैनिक १६ देखि १८ घण्टासम्म निरन्तर खटिई काम सम्पन्न गरिएको थियो । टेलिकमले फोरजीका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ काठमाडौँ र बुटवलमा राखेको छ । टावरको फाउन्डेशन, विद्युत् जडान, घरवालासँगको सम्झौता, जग्गा भाडाको सबै काम सम्पन्न गरिसकेको छ । देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजनासाथ काम भइरहेको टेलिकमको दाबी छ । गत असार मसान्तको विवरणअनुसार हाल टेलिकमका ग्राहक दुई करोड २६ लाख ९६ हजार छन् । त्यसमा मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या मात्रै दुई करोडको हाराहारीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । टेलिकमले गत शुक्रबार मात्रै फोरजी विस्तार गर्ने स्थानमा आवश्यक परीक्षण गरेको थियो । के हो फोरजी सेवा ? फोरजी सेवा प्रयोग गरी कुराकानी गर्न तथा भिडियो, अडियो र सामान्य इन्टरनेट प्रयोगसहितका बहुआयामिक उपयोगिता हासिल गर्न सहज हुने बताइएको छ । सन् १९८० को दशकमा व्यावसायिक रुपमा शुरु भएको ताररहित वा बेतार मोबाइल फोन सेवाले आजको दिनमा आइपुग्दा प्रविधिगत र व्यावसायिक रुपमा ठूलो फड्को मारेको छ । यो उच्च गुणस्तरको भ्वाइस कल सेवा दिने प्रविधि हो । फोरजी सेवाबाट ताररहित उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिनेछ । यसले द्रुतगतिमा डाटा ‘अपलोड’ र ‘डाउनलोड’ गर्ने क्षमता राख्दछ । फोरजीबाट थ्रिजीभन्दा पाँच गुणा बढी गतिको इन्टरनेट चल्दछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संस्थाले बनाएको मापदण्डले १०० एमबिपिएस गतिको इन्टरनेट सेवालाई फोरजीका रुपमा मानिएको छ । फोरजी प्रविधिअन्तर्गत टेलिकमको नेटवर्कमा ८०० मेगाहर्ज, १८०० मेगाहर्ज र भविष्यमा २३०० मेगाहर्जसमेत गरी तीन अलगअलग फ्रिक्वेन्सी ब्यान्डमा सेवा सञ्चालन गरिने टेलिकमले जनाएको छ । फरकफरक ब्यान्डले सेवाको ‘कभरेज’ र डाटा क्षमतामा प्रभाव पार्ने भएकाले पनि नयाँ विस्तारित सेवा क्षमताको हिसाबले पहिलो विद्यमान फोरजी सेवाभन्दा राम्रो रहेको टेलिकमको दाबी छ । कसरी गर्ने ‘एक्टिभेट’ ? टुजी र थ्रिजी सिमलाई फोरजीमा रुपान्तरण गर्दा कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ । अन्य सिमकार्डको प्रयोग गरेका ग्राहकले मोबाइलमा स्टार ४४४ ह्यास डायल गरी फोरजी सेवा निःशुल्क ‘एक्टिभेट’ गर्न सक्नेछन् । पुरानो सिमले फोरजी सेवा सपोर्ट नगरेमा टेलिकमको जुनसुकै ग्राहक सेवा केन्द्रमार्फत सिम परिवर्तन गर्न सकिनेछ । थ्रिजी तथा टुजीको दरमा नै फोरजी सेवा लिन सकिने र थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ । टेलिकमले दशैँका अवसरमा आइतबारदेखि नै फोरजी र अन्य सेवामा विशेष छुट दिएको छ । कम्पनीका अनुसार पहिलो पटक फोरजी ‘एक्टिभ’ गर्ने ग्राहकले दुई दिनको समयसहितको दुईसय एमबी डाटा बोनस पाउनेछन् ।
पोखरामा महालक्ष्मी विकास बैंकको दुई शाखा
काठमाडौं। महालक्ष्मी विकास बैंक बुधबारदेखि पोखरामा आफ्नो शाखा विस्तार गरेको छ। बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ६-लेकसाइड र वडा नं २६-विजयपुरमा दुई नँया शाखा कार्यालयहरु बिस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको हो। उक्त शाखाहरु सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०२ पुगेको छ । महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरी १०२ वटा शाखाबाट करिब ५ लाख ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ।
अर्थमन्त्री खतिवडा भारत प्रस्थान, के छ त विशेष एजेण्डा ?
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार भारतको नयाँ दिल्ली प्रस्थान भएका छन् । अर्थमन्त्री खतिवडा अक्टोवर ३ र ४ (असोज १६ र १७ गते) भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान भएका हुन् । कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा सम्बोधन गर्ने छन् । साथै, उनले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधार लगायतका विषयमा जानकारी गराउने छन् । त्यस्तै, अर्थमन्त्री डा. खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डसँग द्विपक्षीय भेटघाट गर्नेछन् भने विश्वका आर्थिक क्षेत्रका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा अर्थमन्त्री डा. खतिवडाले भारतीय समकक्षी अर्थमन्त्री निर्मला सिथारमणबीच भेट गरी पछिल्लो आर्थिक स्थिति, नेपाल-भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल गर्ने बताइएको छ । उनी असोज १८ गते स्वदेश फर्किने छन् ।
इप्पानको निष्कर्ष : तिहारपछि सरकारलाई साँचो बुझाउने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सरकारका कारण साना जलविद्युत् आयोजनाहरु रुग्ण अवस्थामा पुगेपछि इप्पानले सबै निजी जलविद्युतहरुको चाबी सरकारलाई बुझाउने भएको छ । नेपाल विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग, विद्युत् विकास विभाग र उर्जा तथा जलस्रोत मन्त्रालयले समेत व्यवसायीहरुको माग नसुनेपछि उनीहरुले संस्थागत रुपमै आयोजनाको चाबी सरकारलाई बुझाउन लागेका हुन् । उनीहरुले सरकारलाई तिहार अघिसम्म निजी क्षेत्रका जलविद्युत् व्यवसायीहरुको समस्या समाधान गर्न समेत दिएका छन् । अहिले सञ्चालनमा रहेका ८३ जलविद्युत् आयोजनाहरुमध्ये ११ ओटा आयोजनाहरु मात्रै नाफामा रहेको र बाँकी ७२ ओटा आयोजनाहरु घाटामा रहेको भन्दै यसमा सरकारी नीति नै दोषी भएको उनीहरुको तर्क छ । घाटामा भएकामध्ये पनि निजी क्षेत्रले संचालन गरिरहेका आयोजनामध्ये आयोजना २८ आयोजना कमजोर वित्तीय अवस्था रहेकाे, १८ वटा आयोजना नाजुक अवस्थामा रहेका र २० वटा त बैंकले लिलाम नै गर्नुपर्ने अवस्थामा पुगिसकेकाे बताइएकाे छ । बढ्दो सञ्चालन तथा निर्माण लागत, प्रसारण लाइन निर्माणमा प्राधिकरणको अटेरी र त्यही कारण खेर जाने विद्युत्, विद्युत् चुहावट आदिका कारण यस्तो अवस्था सिर्जना भएको भन्दै सरकारले व्यवसायीहरुको कुरा नसुनेको आरोप उनीहरुको थियो । सरकारले घोषण गरेको सेवा सुविधा नदिएको र बैंक तथा वित्तीय क्षेत्रमा उच्च ब्याजदर रहेको कारणले पनि आयोजनाहरु समस्यामा परेको समेत इप्पानले गुनासो छ । प्रशारण लाइनको अभावका कारण पनि सबै आयोजनाले पूर्ण क्षमतामा संचालन भई विद्युत उत्पादन गर्न नसकिएको उनीहरुको भनाई छ । त्यसैगरी, विद्युत खरिद सम्झौता र प्रशारण सम्झौता प्राधिकरणले निर्माण गर्ने भनिएको विद्युत प्रशारणलाइन, जलविद्युत आयोजना संचालनमा आएको वर्षौं बितिसक्दा पनि निर्माण नभएका कारणले प्रशारण सुविधाबाट बञ्चित रहेका जलविद्युत आयोजनाहरुलाई क्षतिपूर्ति दिईनुपर्ने उनीहरूको भनाई छ । आर्थिक वर्ष २०७१/७२ को वार्षिक बजेटमा घोषणा भएको व्यवस्थाअनुसार निर्माण सम्पन्न भई व्यापारिक उत्पादन सुरु गरेका आयोजनाहरुलाई दिने भनिएको अनुदानबापतको रकम समेत सकारले भुक्तानी नदिएको कारणले पनि आयोजनाहरु समस्यामा परेको छ ।
एनआईसी एशियाको चाडपर्व लक्षित योजना, देशभर पैसा पठाउन शुल्क नलाग्ने
काठमाडौँ । एनआईसी एशिया बैंकले दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरलाई मध्यनजर गर्दै एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित योजना ‘निःशुल्क आन्तरिक रेमिट्यान्स सुविधा’ सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत एनआईसी एशिया रेमिटबाट दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिने योजना सञ्चालनमा ल्याएको हो । उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको ३०१ शाखा कार्यालय, ७२ वटा विस्तारित काउण्टर, ४२ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सकिने छ । असोज १४ गतेदेखि कात्तिक १६ गतेसम्म लागू हुने योजनाबाट चाडपर्वहरुको समयमा ग्राहकहरुले बिना झन्झट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् रकम पठाउन र प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।
नेपालमा स्क्रब टाइफसले महामारी रुप लिँदै, ९९ जनामा सङ्क्रमण
चितवन । जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो । स्क्रब टाइफसका कारण मृत्यु भएकामा एक जना गैंँडाकोटकी महिला र एकजना रौतहटका पुरुष रहेको केसीले जानकारी दिनुभयो । जिल्लाका अस्पतालमा उपचार गराउन आउनेमा चितवनसहित नवलपरासी, तनहुँ, गोर्खा, मकवानपुर, धादिङ्, रौतहट, बारालगायका जिल्लाका रहेका छन् । स्क्रब टाइफस ओरीएण्टा सुसुगामुसी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइटस)लाई सङ्क्रमणमा पार्दछ । ती सङ्क्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्न रुचाउने गर्दछन् । यी सङ्क्रमित किर्ना बोकेका मुसा, जनावर मानिसको सम्पर्कमा आएपछि मानव शरीमा टाँसिएर टोक्ने केसीले जानकारी दिनुभयो । यसबाहेक, ग्रामीण भेगमा झारपात र झाडीमा सङ्क्रमित किर्ना प्रशस्त हुन्छन् । ग्रामीण भेगका किसानलाई प्रत्यक्ष रुपले यी किर्नाले टोकेमा स्क्रब टाइफस रोग सर्ने गर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । गर्भवतीले स्क्रब टाइफसबाट सङ्क्रमित भए उनकोे गर्भाशय रहेको शिशु अङ्गभङ्ग हुने सम्भावना रहेकाले यस सम्बन्धी परामर्श लिनुपर्ने चिकित्सकको सुझाव छ । आर्थिक वर्ष २०७४÷७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो । यस्तै डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या तीन हजार ६६९ जना पुगेको छ । केसीका अनुसार ११ हजार ९२७ जनामा परीक्षण गरिएको थियो । भदौको तेस्रो र चौथो साता निकै बढेको सङ्क्रमण विस्तारै घट्दै गएको छ । डेङ्गुबाट जिल्लामा दुई जनाको मृत्यु भएको छ ।
ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि दुईवटा नयाँशाखा सञ्चालनमा ल्याएको छ । बैंकले लमजुङ्ग जिल्लाको बेशीशहर नगरपालिका वडा नं. १, उदीपुर र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं १, नवलपुरमा नयाँशाखा सञ्चालनमा ल्याएको हो । नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या १४८ पुगेको छ ।
दश हजार घुससहित नापी कार्यालयका सर्भेक्षक पक्राउ
चिप्लेढुङगा । घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई रु १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।