दशैंको बिदामा पनि सिटिजन्स बैंकको नगद काउन्टर खुल्ने, बिहान ११ बजेदेखि सेवा पाइने
काठमाडौं । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दशैंका सम्पूर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ । बैंकले ग्राहकहरूलाई सरल, सहज, सुलभ तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा दिन लागेको हो । बैंकले असोज १८, १९, २० र २२ गते काठमाडौं उपत्यका भित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका बिराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ । ३६५ दिन बैंकिंग सेवा प्रवाह गर्ने योजनाअन्तर्गत बैंकले विजयादशमीको दिन(आश्विन २१ गते)काठमाडौं उपत्यकाभित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ । उल्लेखित शाखाहरुबाट सेवाग्राहीहरुले बिहान ११ः०० बजे देखि दिउँसो २ः०० बजे सम्म नगद काउन्टरको सेवा लिन सक्नेछन् ।
सिभिल क्यापिटल र बुद्ध एयर प्रालिबीच एक अर्काको ग्राहक सेवामा छुट दिने सम्झौता
काठमाडौँ । सिभिल क्यापिटल मार्केट लि. र बुद्ध एयर प्रालिबीच कर्मचारी तथा ग्राहकहरुलाई एक अर्काको ग्राहक सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतामा सिभिल क्यापिटल मार्केट लि.का कामु प्रमुख कार्यकारी अधिकृत सुशिल महर्जन र बुद्ध एयर प्रालिका बिक्री तथा बजार व्यवस्थापन निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् । यस किसिमको संझौता सिभिल क्यापिटल मार्केट लि.ले यसअघि अन्य संघ संस्थाहरुसँग पनि गरिसकेको छ ।
दशैं बिदामा पनि नेपाल मेडिसिटीले स्वास्थ्य उपचार सुचारु राख्ने
काठमाडौँ । नेपालीहरुको महान चाड विजयदशमीको समयमापनि नेपाल मेडिसिटी अस्पतालले आफ्नो स्वास्थ्य सेवालाई सुचारु राख्ने भएको छ । पुरै देश चाडबाडको उल्लासमा खुशी मनाईरहेको अवस्थामा कसैलाई आकस्मिक स्वास्थ्य सेवा चाहिएको खण्डमा नेपाल मेडिसिटी अस्पताल २४सैं घण्टा खुल्ला रहने अस्पतालले जनाएको छ । विशेषगरी अस्पतालको आकस्मिक सेवा, क्रिटिकल केयर, शल्यक्रिया, डाईग्नोष्टिक सेवाहरु २४सैं घण्टा खुल्ला रहने, दिउंसो ओपिडि सेवापनि सुचारु रहने भएकोले बिरामीहरुलाई विदाको समयमापनि सहज उपचार सेवा प्राप्त हुने अस्पतालले जनाएको छ । बिदाको समयमा विशेष गरी बिरामीहरुको स्वास्थ्य आवश्यकतालाई मनन् गर्दै आकस्मिक उपचार सेवामा पर्याप्त चिकित्सकहरुको ब्यवस्था गरिएको इमरर्जेन्सी विभागका प्रमुख डा. सञ्जय कार्कीले बताए । चाडबाडको बेलामा प्रि-हस्पिटल केयर अन्तगर्त एम्बलेन्स र देशका कुनै पनि स्थानहरुबाट हेली एम्बुलेन्स सेवाको आवश्यकता परेमा पनि आफूहरु तयारी अवस्थामा रहेको उहाँले जानकारी गराए । नेपालको उत्कृष्ट क्रिटिकल केयर सेवा प्रदान गरिरहेको अस्पतालले बिरामीहरुको रोगको सघनतालाई हृदयंगम गर्दै आईसियु, सिसियु र एनआईसियु सेवालाई पनि चुस्तदुरुस्त राखिए क्रिटिकल केयर विभागका डा. दिप्तेश अर्यालले बताए ।
बढी भाडा असुल्ने सवारीबाट रकम फिर्ता गराउँदै प्रहरी
चितवन । दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि यहाँका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार बुधबार एउटा माईक्रो बसका १७ जना यात्रुको बढी भाडा लिइएको रकम फिर्ता गराइएको छ । उनका अनुसार काठमाडौँबाट यात्रु लिएर कावासोतीको लागि हिँडेको बा ३ ख ३८९१ नं को माइक्रो बसका यात्रुलाई रु दुई सय देखि चार सयसम्म बढी लिइएको भाडा प्रति व्यक्तिका दरले फिर्ता गराइएको हो । गिरीका अनुसार आज यातायात कार्यालयका प्रतिनिधिको रोहवरमा भरतपुरको रामनगरमा चेकजाँच थालिएको छ । दशैँको टिकाको दिन अघिसम्म काठमाडौँबाट आउने र टीकापछि काठमाडौँ फर्कने सवारी साधनमा चेकजाँच गरिने उनले बताए । गन्तव्यमा पुग्नैपर्ने यात्रुलाई बाध्य पारेर बढी भाडा लिने गरिएको भन्दै उनले त्यस्ता सवारीलाई रकम फिर्ता गराई कडा कारवाही गरिने बताए । यस्तै, सवारी गतिसमेत चेकजाँच गर्न थालिएको छ । चाडपर्वको समयमा तीव्र गतिमा सवारी चलाउने गरेको र यसले दुर्घटना बढाउने भन्दै चेकजाँच थालिएको हो । बुधबार कुरिनटार क्षेत्रमा राजमार्गमा गति मापनयन्त्र (राडरगन) बाट चेकजाँज गरिएको थियो । यस कार्यलाई पनि विभिन्न सडकमा निरन्तरता दिइने गिरीले जानकारी दिए । रासस
निजी क्षेत्रले प्रदेश सरकारलाई उछिन्यो, नारायणी नदीमा ‘सानो पानी जहाज’ सञ्चालन
नारायणगढ । प्रदेश नम्वर ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (सानो पानी जहाज ) सञ्चालन गर्ने तयारी भैरहेका बेला छुट्टै निजी क्षेत्रले नारायणी नदीमै मिनी क्रुज सञ्चालन गरेको छ । रंगमहल रिभर ल्याण्ड प्रालिले नारायणीमा मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसको औपचारिक शुरुवात भने दशैको फूलपाती अर्थात शनिवारबाट शुरु गरिने प्रालिका अध्यक्ष रमन भट्टराईले जानकारी दिए । “हामीले अहिले टेष्ट ड्राईभ शुरु गरेका हौँ, यसलाई औपचारिक रुपमा फूलपातीवाट शुरु गर्ने छौ”, अध्यक्ष भट्टराईले बताए । मिनी क्रुज झट्ट हेर्दा सानो पानी जहाजकै स्वरुपमा छ । यसलाई स्थानीय पानी जहाजकै नामले चिन्दछन् । मिनी क्रुज पहिलो पटक गत आइतवार र सोमबार नारायणी नदीमा टेष्ट डाईभ गरिएको थियो । “अहिले हामी २० जना यात्रु राखेर यसमा चलाउन सक्ने छौं”, अध्यक्ष भट्टराईले भने । मिनी क्रुज सगै प्रालीले २ वटा जेट स्किम, २ वटा रिभर वोट र एक वनाना वोट पनि सञ्चालनमा ल्याएको छ । यसका लागि प्रालिले झण्डै साढे तीन करोड रुपियाँ लगानी गरेको छ । रंगमहल रिभर ल्याण्ड प्राली कम्पनी रजिष्टारको कार्यलयमा दर्ता भएको संस्था हो भने यसले नारायणी नदीमा मिनी क्रुज चलाउनका लागि वन तथा वातावरण मन्त्रालयवाट वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गराएको छ । पर्यटन मन्त्रालय र भरतपुर महानगर पालिकावाट सञ्चालनको अनुमति पनि लिएको छ । नारायणगढको नारायणी किनार स्थित वुद्धपार्कलाई आफ्नो केन्द्र बनाएको प्रालिले मिनी क्रुज देवघाटदेखि गोलाघाटसम्म सञ्चालन गर्ने भएको छ । “हामीले पर्यटन प्रर्वधनकै लागि मिनी क्रुज चलाउने उदेश्य राखेका हौं”, प्रालिका अध्यक्ष भट्टराईले बताए । नारायणी नदीमा झण्डै दुई सय सिटको क्रुज अर्थात सानो पानी जहाज चलाउने तयारी भै रहेको अवस्थामा मिनी क्रुज पनि नारायणीमै आएको हो । प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा राइनो वाटर ईन्टरमेन्टेन्ट प्रालिले क्रुज वनाउँदै छ । दशैंअघि नै क्रुज चलाउने योजना भए पनि प्राविधिक कारणले यो सञ्चालनमा अझै एक महिना लाग्ने राइनोका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलले बताए । कात्र्तिक महिना भरीमा क्रुज पनि नारायणीमा सञ्चालनमा आउने छ । “प्रदेश सरकारले क्रुजको पार्किङ्ग स्थल अर्थात पोर्ट (बन्दरगाह ) निर्माणका लागि एक करोड रुपियाँ अनुदान सहयोग गरेको हो ”, प्रबन्ध निर्देशक कँडेलले भने,–“पोर्ट बनाउदै गर्दा यसले नारायणी नदीको कटान पनि रोक्ने उदेश्य राखिएको छ ।” क्रुज सञ्चालन गर्ने वेला सम्म जम्मा २५ करोड खर्च हुने र अहिले क्रुज वनाउन मात्रै १५ करोड रुपियाँ खर्च भएको उनले बताए । “साढे दुई तलाको क्रुजमा २०० सिट रहने छ”, कँडेलले भने, “क्रुज भित्रै खाना खाँजा समेतको ब्यवस्था गरेर यात्रा गराइने योजना हाम्रो हो ।” रंगमहल रिभर ल्याण्ड प्रालीले नारायणीमा संञ्चालनमा ल्याएको मिनी क्रुज चिनमा निर्माण भइ नारायणी नदीमा ल्याइएको हो भने राइनो वाटर ईन्टरमेन्टेन्ट प्रालिले सञ्चालनमा ल्याउन लागेको क्रुज प्राविधिकहरु विदेशवाट झिकाएर नारायणी नदीमै निर्माण गर्दै गरिएको हो । पर्यटन वर्ष २०२० नजिकदै गरेको समयमा नारायणी नदीमा मिनी क्रुज नयाँ आर्कषण बनेको छ । मिनी क्रुज नै सञ्चालनमा आएपछि यसले अझै प्रभावकारिता बढ्ने चितवन पर्यटन विकास समितिका महासचिव विश्वप्रसाद सुवेदीले बताए ।
बिहीबार प्रतितोला ९ सयले बढ्यो सुन, ७० हजार ९ सय रुपैयाँमा कारोबार
काठमाडौं । बिहीबार प्रतितोला ९ सय रुपैयाँले सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा बिक्री भएको सुन बिहीबार ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी बुधबारको तुलनामा प्रतितोला ९ सय रुपैयाँ बढेर ७० हजार ६ सय रुपैयाँमा बिक्री भईरहेको छ । चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ भने बुधबार प्रतितोला ८ सय ३५ रुपैयाँमा बिक्री भएको नेपाल सुन चाँदी व्यवसायीले जानकारी दिएको छ ।
सार्वजनिक बिदाका दिनमा पनि बजार अनुगमन गरिने
काठमाडौं । सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले यात्रुलाई सहयोगका लागि सहायताकक्ष बनाएर सेवा दिँदै आएको समेत बताएका छन् । केही गुनासो भएमा देशैभरि प्रहरीको १००, उपत्यकाको १०३, सशस्त्र प्रहरीको १११४ नम्बरमा फोन गरेर जानकारी गराउन गृह मन्त्रालयले विज्ञप्ति जारी गरी जनाएको छ । आपसी सद्भाव, मित्रता अभिवृद्धि गर्ने गरी सांस्कृतिक मान्यताअनुसार चाडपर्व मनाउन आग्रह गर्दै मन्त्रालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयन गरिएको सूचनामार्फत जनाएको छ । मन्त्रालयले यातायात व्यवसायी, थोक तथा खुद्रा विक्रेतालाई आम उपभोक्ताको सेवा पुर्याउन अनुरोध गरेको छ । अनुचित फाइदा लिने मनसायले ठगी गर्ने, कानून मिच्ने, गुणस्तरहीन सामान बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानूनअनुसार कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ । दिपावली र छठका अवसरमा प्रयोग हुने पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थका कारण सर्वसाधारणको स्वास्थ्य तथा सुरक्षामा प्रतिकूल असर पुग्ने र चोटपटक तथा आगलागीसमेत हुने भएकाले यस्ता विष्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गर्दै बेचबिखन र प्रयोग गरेको पाइएमा कारवाही गर्ने मन्त्रालयद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । रासस
प्रदेश नं २ पाँच लाख पर्यटक भित्र्याउने तयारीमा
लहान । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी प्रदेश नं २ मा पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालिएको छ । भ्रमण वर्ष २०२० मा २० पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन प्रदेश नं २ समितिले प्रदेशको आठवटै जिल्लामा सरसफाइसँगै प्रदेशभरि रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका साथै प्रमुख पर्यटकीय क्षेत्रहरुलाई लिपिबद्ध गर्न एकीकृत दस्ताबेज गर्न लागेको हो । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन यो प्रदेशमा पर्यटकीय क्षेत्रहरु धेरै रहेपनि एकीकृत दस्तावेज नहुँदा त्यसबारे सबैलाई थाहा नभएकाले एकीकृत दस्तावेज तयार गर्न लागेको भ्रमण वर्ष २०२० का प्रदेश नं २ का संयोजक मनिष झाले जानकारी दिएका छन् । प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सयौँ सङ्ख्यामा धार्मिक र पर्यटकीय क्षेत्र छन्, तर वास्तविक सङ्ख्या एकिन नहुँदा पर्यटकलाई लोभ्याउन सकिने पर्यटकीय क्षेत्रहरुसमेत ओझेलमा परेको छ । संयोजक झाले भने, “पर्यटकलाई आकर्षित गर्न कुन–कुन पर्यटकीय क्षेत्र तथा धार्मिकस्थलहरु उपयुक्त हुन्छ र त्यस्ता पर्यटकीय क्षेत्रहरु कतिको सङ्ख्यामा छन् भन्ने कुराहरु पत्ता लगाउन एकीकृत दस्तावेज तयार गर्न लागेका छौँ ।” यसरी तयार गरिने एकीकृत दस्तावेज प्रदेश नं. २ का ८ वटै जिल्लाका प्रमुख शहरमा रहेका होटल तथा लजहरुमा प्रचार–प्रसारका लागि राखिने उनको भनाइ छ । यस्तै, भ्रमण वर्षलाई दृष्टिगत गरी प्रदेश नं २ का आठै जिल्लाको शहरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । महोत्तरीबाट शुरु गरिएको सरसफाइ अभियान प्रदेश नं २ को सबै जिल्लाका प्रमुख शहरमा लैजाने र त्यसका लागि सरकारकारवालाहरुसँग अन्तरक्रिया गरिरहेको संयोजक झाले बताए । सरकारले कार्यविधि र बजेट उपलब्ध नगराउँदा भ्रमण वर्षको तयारीमा केही कठिनाइ भइरहे पनि भ्रमण वर्षलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा कार्यक्रम अघि बढाएको संयोजक झाको भनाइ छ । रासस