नेपाल टी एशोसियसनको दशै लक्षित शुभकामना तथा सपथ ग्रहण
काठमाडौं। नेपाल टी एशोसियसनका (एनटीए) पदाधिकारीहरुको बुधबार सपथ ग्रहण तथा दशै, तिहारको शुभकामना आदान प्रदान सम्पन्न भएको छ। उक्त कार्यक्रमको अवसरमा सदस्यहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो। काठमाडौमा आयोजित एक कार्यक्रममा नेपाल टी एशोसियसनका अध्यक्ष कमल मैनाली र महासचिव केदारमणी पौडेल उपस्थित थिए। आयोजकले दिएको जानकारी अनुसार पदाधिकारीहरुको निर्वाचन मण्डलबाट सपथ ग्रहण गराइयो। देश, ईश्वर र चियाको नाममा सपथ खुवाइएको हो। एनटीएका सल्लाहकार उदय चापागाइले चियासम्बन्धी आफ्ना अनुभवहरु व्यक्त गरे। महासचिव केदारमणी पौडेलले विश्व बजारमा नेपाली चियालाई कसरी व्यापक बनाउँने भन्ने विषयमा आफ्नो धारण व्यक्त गरे । कार्यक्रममा चिया क्षेत्रलाई राज्यले उपेक्षा गरेकोमा जोड दिइयो । सो कुरामा राज्यको ध्यान जानु पर्ने महासचिव पौडेलको तर्क छ । अध्यक्ष कमलमणी मैनालीले एनटीएमा राजनितीक गंध मिसिन नदिने जानकारी दिए।
रेनोको ‘क्वीड फेसलिफ्ट’ रु. दुई लाख ८३ हजारमै पाइने
काठमाडौँ । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले आफ्नो पपुलर मोडेल ‘क्वीड ह्याचब्याक’ को ‘फेसलिफ्ट’ भर्जन भारतमा सार्वजनिक गरेको छ । इन्टेरियर अपडेट गरिएको ‘रेनो क्वीड फेसलिफ्ट’ को भारतीय बजारमा सुरुवाती मूल्य भने रु. दुई लाख ८३ हजार तोकिएको छ । यस रिफ्रेस गरिएको मोडेलका स्ट्याण्डर्ड, आरएक्सइ, आरएक्सएल, आरएक्सटि र क्लाइम्वर गरी ५ अलग भेरियन्टहरु छन् भने यी सवै भेरियन्टहरु दुई अलग इञ्जिन अप्सन्स्का साथ उपलब्ध रहेका छन् । ड्राइभर्स एयरब्याग, एबीएस सिस्टम, ईबीडी सिस्टम, सिट बेल्ट रिमाइन्डर, स्पिड अलर्ट सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर्स जस्ता फिचरहरु यस कारका सवै भेरियन्टहरुमा पाउन सकिन्छ । तर १४ इञ्च एलोयस, एलइडि डिआरएल्स, म्यानुअल एसी, रियर सेन्टर आर्मरेस्ट, पेसेन्जर एयरब्याग, रियर पावर विन्डो र त्यसैगरी एप्पल कार प्ले र एन्ड्रोइड अटो कम्प्याटिविलिटी सहितको ८.० इञ्च टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टमजस्ता फिचरहरु चाहिँ यस कारका अलि महँगा भेरियन्टहरुमा मात्र दिइएको छ । ‘रिनो क्वीड फेसलिफ्ट’ ७९९ सीसी र त्यसैगरी १.० लि. ३ सिलिण्डर पेट्रोल इञ्जिन गरी दुई इञ्जिन अप्सनहरुमा उपलब्ध रहेको छ । ७९९ सीसीको इञ्जिनले ५३ बिएचपिको पावर र ७२ एनएमको टर्क प्रोड्युस गर्छ भने १.० लि. को इञ्जिनले ६७ बीएचपीको पावर र ९१ एनएमको टर्क प्रोड्यूस गर्दछ । ५–स्पिड म्यानुअल ट्रान्समिशन दिइएको यस कारको १.० लि. इञ्जिन भएको भेरियन्ट चाहिँ अटोमेटिक म्यानुअल ट्रान्समिशनमा पनि उपलब्ध रहेको छ । भारतीय बजारमा रेनो क्वीड फेसलिफ्टको टप भेरियन्ट ‘क्लाइम्वर एएमटी’ को मूल्य चाँही रु. चार लाख ८४ हजार तोकिएको छ ।
किन रुग्ण हुँदैछन् साना जलविद्युत आयोजनाहरु ?
नेपालमा नीजिक्षेत्रको लगानीबाट निर्माण गरिएका अधिकांश जलविद्युत आयोजनाहरुबाट उत्पादन गरिएको विद्युत राष्ट्रिय ग्रीडमा प्रवाह गर्नको लागी डेडिकेटेड ट्रान्समिसन लाइनको अभाव छ । अधिकांश जलविद्युत आयोजनाहरु ३३.के.भि. ट्रान्समिशन लाइन वा ११ के.भि. ट्रान्समिशन लाइनमार्फत् ग्रीडमा जोडिएका छन् । यी ग्रीडहरुमा दिनमा सयौं पटक फल्ट भइरहन्छ । किनभने ३३ के.भि. र ११ के.भि. ट्रान्समिसन लाइनमा ट्रान्सफरमर राखेर यत्रतत्र विद्युत् वितरण भइरहेको छ । यस्तो अवस्थामा कुनै पनि सानो भन्दा सानो फल्ट आएमा पनि विद्युत गृह बन्द हुन्छन् । यसर्थ विद्युत उत्पादन गर्ने विद्युत गृहको विद्युत ११ के.भि. ट्रान्समिसन लाईनमा जोड्नु हुँदैन भने ३३ के.भि. ट्रान्समिसन लाइनमा ट्रान्सफरमरहरु राखी सोझै विद्युत् वितरण गर्न दिनु हुँदैन भन्ने नियम छ तर यो व्यवस्था कडाइका साथ पालना गर्ने र सोको अनुगमन गरेमा विद्युत गृहहरुमा हुने आउटेज कम हुनेछ । सबै ठाउँमा ३३ के.भि. लाइनलाई ट्रान्समिसन लाइनको रुपमा मात्र उपयोग गर्नु तथा गराउनु पर्दछ । ११ के.भि. ग्रीडमा जोड्नु हुँदैन र ३३ के.भि.ट्रान्समिसन लाइनको क्षमता तोकी सो भन्दा बढी क्षमताको विद्युत् जडान गर्न स्विकृति दिनु हुँदैन । ३३ के.भि. क्षमताको सिंगल सर्किटको १०० किलोमिटर लामो लाईनमा कति विद्युत प्रवाह गर्नु उपयुक्त हुन्छ ? प्राधिकरणले तोकिदिनु पर्दछ । हालको बेथितिको परिणाम हामी भोगिरहेका छौं । यसको समस्या समाधान गर्नको लागि जलविद्युत केन्द्रमा नै इनर्जिमिटर जडान गर्ने र ततपश्चातको ग्रीडमा भएको नोक्सानीको मासिक रुपमा भुक्तानी दिने । गुरुप्रसाद न्यौपाने प्रत्येक वर्ष ३३ के.भि. ट्रान्समिसन लाइनमा लाइन ट्रिप हुनसक्ने व्यवस्था सम्झौतामा व्यवस्था छ यसअनुसार १४४ घण्टासम्म विद्युत् अवरोध हुनसक्छ । यो व्यवस्था अनुसार कुन महिना कुन ट्रान्समिसन लाइनमा के कति घण्टा ट्रिप भयो र सो ट्रिप कस्का कारणले भयो ?र यस्तो ट्रिप भए वापत कुन विद्युत उत्पादकले कुन महिना कति क्षतिपूर्ति पाए भन्ने बारेमा नत तथ्याङक रेकर्ड छ नत भुक्तानी नै लिनेदिने चलन छ । यो प्राधिकरणको हेलचेक्राँईले भएको हो । मुस्ताङ जिल्लामा निर्मित थापाखोला जलविद्युत् आयोजनालाई यसको नमूनाको रुपमा प्रस्तुत गर्न चाहन्छु । यस आयोजनालाई एक उदाहरण मानेर अध्ययन भई समस्याको समाधान गर्नुपर्दछ । ३३ के.भि. लाईनमा जोडेर उद्योगलाई ४०० के. भि. मा विद्युतवितरण ट्रान्समिसन लाइन तुरुन्त हटाई यस्ता लाईनलाई ११ के.भि.बाट विद्युत् उपलब्ध गराउनुपर्दछ । नेपाल विद्युत प्राधिकरणले अहिले नीजि जलविद्युत आयोजनाहरुलाई वर्षको ६ महिना सुख्खा महिना मानि सुख्खा महिनाहरुका लागि विद्युत बिक्रीदर ८.४० र सोमा ८ वर्ष सम्म ३ प्रतिशतका दरले मूल्य वृद्धिदर दिँदै आएको छ । यो सुविधा नयाँ र पुराना सबै जलविद्युत आयोजनाहरुले एकसमान रुपमा पाउने व्यवस्था लागू गरिदिन अनुरोध छ । आखिर सबै जलविद्युत् आयोजनाहरुले उत्पादन गर्ने विद्युत् त विद्युत् नै हो र यो देशभरिका ग्राहकहरुलाई एउटै मूल्यमा बिक्री भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले पटक पटक विद्युतको बढाइरहेको छ तर उत्पादकहरुले भने यो बढेको मूल्यको एउटा सानो अंशसम्म पनि थप पाउन सकेका छैनन् । जलविद्युत् आयोजनाहरुमा ठूलो लगानीको आवश्यकता पर्दछ । एक मेगावाटको जलविद्युत् आयोजना नीजि लगानीबाट निर्माण गर्दा रु. २० करोडको लगानी लाग्ने अनुमान गरिन्छ । यसको ७० प्रतिशत बैंकबाट ऋण तथा ३० प्रतिशत शेयरधनीहरुको लगानी हुने चलन छ । बैंकबाट प्राप्त कर्जाको औसत ब्याजदर ८ देखि १० प्रतिशतको हाराहारीमा रहेको थियो । अहिले बैंक कर्जाको ब्याजदर १२ – १४ प्रतिशत पुगेको छ । र आयोजनाले तिर्नुपर्ने कर्जाको ब्याजको भार बढेको छ तर विद्युत् बिक्रीबाट प्राप्त हुने आय निश्चित हुने हुँदा परियोजनाको मुनाफामा प्रतिकुल असर परिरहेको छ । यसको परिणाम स्वरुप कयौं आयोजनाहरुले आफना लगानीकर्तालाई वर्षौंसम्म पनि लाभ दिन सकेका छैनन् । यस्तो अवस्थामा बनिसकेका आयोजनाहरुले नेपाल राष्ट्र बैंकबाट कर्जा दिने बैंक मार्फत पुनरकर्जाको सुविधा पाउन सक्ने व्यवस्था छ । यो व्यवस्था सहवित्तीयकरण अन्तरगत कर्जा लिई संचालन गरिएका आयोजनाहरु मध्ये कुनै बैंकले पुनरकर्जाका लागि आवेदन गर्ने र कसैले नगर्ने गरेका छन् । यो पुनरकर्जा सुविधा जलविद्युत आयोजनाहरुले प्राप्त गर्न सकेमा ब्याजदरमा सहुलियत प्राप्त हुने थियो । यसको कार्यान्वयन पक्षमा रहेको कमजोरी हटाउन सकेमा जलविद्युत आयोजनाहरुले राहत पाउनेछन् । यसको विकल्पको रुपमा नेपाल सरकारको स्वामित्वमा स्थापना भएको जलविद्युत् लगानी तथा विकास कम्पनीले नीजि लगानीबाट बनिसकेका जलविद्युत आयोजनाहरुलाई पुनरकर्जा उपलब्ध गराई दिएमा आयोजनाहरुले सरल व्याजदरमा कर्जा प्राप्त गर्नेछन् । यस्तो कर्जाको भुक्तानी अवधि लामो बनाई दिन समेत अनुरोध छ । साना जलविद्युत् आयोजनाहरुले सामना गरिरहेको अर्काे समस्या भनेको जलवायु परिवर्तनका कारणले वर्षा हुनेमा अनिमियतता भई खोलामा पानीको वहाव कम बढी भई लक्ष्य अनुसार विद्युत उत्पादन हुन नसकेको पेनाल्टी बुझाउनु परिरहेको छ । यस समस्याको समाधानका लागि हालको विद्युत खरीद विक्री सम्झौतामा संशोधन गरी मिटरमा चढेको विद्युतको रकम भुक्तानी दिने व्यवस्था गरिदिन हुन अनुरोध छ । हालको व्यवस्थानुसार जलविद्युत् आयोजनाहरुले हिउँदका ६ महिनाहरुमा ३० प्रतिशत न्यूनतम उर्जा उत्पादन गरेमा त्यस्तो उर्जालाई सुख्खा महिनाको उर्जामा गणना गर्ने व्यवस्था रहेको हँुदा यो सुविधा सबै जलविद्युत आयोजनाले पाउने व्यवस्था गर्न अहिलेको विद्यमान भेदभावपूर्ण व्यवस्था खारेज गर्न अनुरोध छ । जलविद्युत आयोजनलाई सरकारले दिन्छु भनी प्रतिज्ञा गरेको प्रतिमेगावाट रु. ५० लाखको सहुलियत हालसम्म पनि प्रदान हुन सकेको छैन । सो उपलव्ध गराई दिनु पर्ने तथा सबै आयोजनाले समान दरमा विद्युतको मूल्य भुक्तानी पाउनु पर्ने आवश्यकता छ ।
सिन्धुलीगढीमा अंग्रेजलाई परास्त गरेको दिनको सम्झनामा मनाइयो बिजयोत्सव
सिन्धुलीगढी । सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले अंग्रेज सेनालाई पराजित गरेको दिनको सम्झनामा समृद्ध सिन्धुली अभियानले बिजय दिवस मनाएको छ । सिन्धुलीगढीमा विक्रम संवत १८२४ असोज १५ गते गोर्खाली सेनाले काठमाडौ उपत्यकाका मल्ल राजालाई सघाउन आएको अंग्रेज फौजलाई परास्त गरेको थियो । अंग्रेजी सेनालाई पराजित गरेको दिनको सम्झनामा अभियानले कला शिविरको आयोजना गरेर दिवस मनाएको हो । शिविरको प्रदेश सांसद विनोद खड्काले क्यानभासमा चित्र कोरेर उद्घाटन गरे । नेपाल पत्रकार महासंघ सिन्धुलीको पहलमा सिन्धुलीगढीमा हरेक बर्ष कात्तिकको २४ गते बिजयोत्सव मनाइँदै आएको छ । विजय हासिल गरेको दिनको सम्झनामा विजय दिवस भने पहिलो पटक मनाउन थालिएको हो । सिन्धुलीगढीमा २०७४ सालमा मनाइएको २५० औं विजयोत्सवमा राष्टपति विद्यादेवी भण्डारी सहभागी भएकी थिइन् । समृद्ध सिन्धुली अभियानले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कला शिविर गरेको अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए । शिविरमा राष्ट्रिय स्तरका १० जना कलाकारले सिन्धुलीगढीमा रहेका ठूलोगढ, सानो गढ, पौवागढी, दरबारलगायतको कलाचित्र क्यानभाषमा उतार्नेछन् । त्यस्तै कलाकारले त्यतिखेर अंंग्रेज सेनासँग गोर्खालीले गरेको लडाइँको दृष्यलाई कल्पना गरेर चित्रमा उतार्ने छन् । ‘कलाकारले बनाएका चित्रलाई हामी सिन्धुलीगढीको प्रबर्धनमा प्रयोग गर्ने छौं,’ अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने–‘सिन्धुलीगढी कला शिविरमा तयार भएका चित्रकलाई काठमाडौं र बेलायतमा प्रदर्शन गर्ने हाम्रो योजना छ ।’ कलाकारले तयार गरेका चित्रलाई सिन्धुलीगढीको प्रचार गर्न चित्र पुस्तिका, पोष्टकार्ड, सोभेनियर, क्यालेन्डर आदि सामग्री तयार गर्न उपयोग गरिने अभियन्ता तथा कला शिविरका संयोजक दीपक श्रेष्ठले बताए । शिविरमा कलाकार तथा प्राज्ञ सुष्मा राजभण्डारी, कलाकारहरु सुदर्शनविक्रम राणा, सुनिता राणा, सुरेम देशार, अश्रुराम खाइजू, अनिल खड्का, सुदीप विशंखे, सञ्जु थापा मगरलगायतले क्यानभाषमा चित्र कोरिरहेका छन् । कला शिविर उद्घाटन गर्दै सांसद बिनोद खड्काले सिन्धुलीगढी नेपालीहरुले गौरव गर्न लायकको ऐतिहासिक स्थल भएकाले यसको संरक्षण र प्रबर्धन गर्न सरकारी स्तरबाटै प्रयास हुनु पर्ने बताए । ‘समृद्ध सिन्धुली अभियान र ललितकला प्रज्ञा प्रतिष्ठानले सरकारले गर्नु पर्ने काम गरेका छन्,’ उनले भने-‘यी संस्थाको प्रयासबाट स्थानीय, प्रदेश र संघीय सरकारले पनि पाठ सिक्नेछन् भन्ने मेरो अपेक्षा छ ।’ कार्यक्रममा जर्बुट्टा कलाकार विश्वम्भर लामिछानेले सिन्धुलीगढीमा अंग्रेजी सेनामाथि विजय हासिल गरेको दिन असोज १५ गते भन्ने इतिहासविद्हरुले स्पष्ट गरिसकेको अबस्थामा विजय दिवसबारे कसैले द्वीविधा राख्न नहुने बताए । ‘विजय उत्सव बर्षभरि जुनसुकै संस्थाले मनाउँदा हुन्छ,’ उनले भने–‘विजय दिवस भने अंग्रेजलाई पराजित गरेकै दिन मनाउनु पर्छ ।’ नेपाल ललितकला प्रज्ञाप्रतिस्ठानकी प्राज्ञ तथा चित्रकला विभाग प्रमुख शुष्मा राजभण्डारीले नेपाललाई एकिकृत स्वरुपमा रहन सघाउने एतिहासिक स्थल सिन्धुलीगढीमा कलाकारहरुलाई कला सिर्जना गर्ने अबसर पाएकामा खुशी ब्यक्त गर्दै यहाँ तयार भएका चित्रकलाले सिन्धुलीगढीलाई बिश्वभर चिनाउन सघाउने बताइन् । नेकपाका केन्द्रीय सदस्य तथा हरिहरपुरगढी संरक्षण समितिका अध्यक्ष कमलजंग राईले एतिहासिक गढीहरुको संरक्षण गर्दै तिनको प्रबर्धन गरेर पर्यटक भित्र्याउन सके जिल्लाको समृद्धिमा योगदान गर्न सकिने बताए । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धनमा अभियानले हरेक बर्ष साइकल यात्रा, हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग जोड्ने एकिकरण पदमार्गको निर्माण, कला शिविरलगायतका काम गर्दै आएको छ । अभियानले हरेक बर्ष गर्दै आएको राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा यस बर्ष यही मंसिर ६ देखि ९ गतेसम्म काठमाडौंबाट ऐतिहासिक सिन्धुलीगढी हुँदै जनकपुरधामसम्म गर्ने भएको छ ।
एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ आजदेखि १० देशमा
काठमाडौँ । एनसेलका ग्राहकले अबविभिन्न १० देशहरुको भ्रमणमा रहदाबिनाकुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदालिन सक्ने भएका छन् । एनसेल प्रालिले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहिबारबाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकापनि समावेश गर्ने भएको हो । यो सँगै अब भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुका लागि अनलिमिटेड रोमिङ्ग डेटा प्याक उपलब्ध हुनेछ । यस अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्पेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० (रु १२७.६९ कर सहित) मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्ने छन् । यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशन अनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्ने कम्पनीले जनाएको छ । यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ । एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतःनविकरण हुनेछ र शुल्कभने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात ग्राहकले प्याकखरिद गरी डेटा सेवाप्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याकमाथिउल्लेखित १० देशहरुको भ्रमणमा जानु अघि वातीगन्तव्यहरुमापुगे पछि पनि लिन सक्नेछन् । सम्बन्धित देशमा पुगेर मात्र यो डेटा प्याक लिनका लागि ग्राहकले रोमिङ्ग सेवा नेपालमा नै सुचारु गरेको हुनु पर्ने कम्पनीले जनाएको छ ।
९७ रुपैंया मूल्य भएको कम्पनीको २५ लाख कित्ता शेयर लिलामीमा
काठमाडौं । बजारमा ९७ रुपैंयामा अन्तिम कारोबार भएको कम्पनीको २५ लाख कित्ता शेयर लिलामीका लागि बोलपत्र खुला हुने भएको छ । असोज ३० गतेदेखि कात्तिक ७ गतेसम्मको समय दिएर मल्टिप्रपोज फाइनान्सले १८ लाख ६० हजार कित्ता संस्थापक र ६ लाख २६ हजार कित्ता साधारण शेयरका लागि बोलपत्रमार्फत् बिक्री आह्वान गर्न प्रस्ताव गरिएको हो । उक्त शेयरको न्यूनतम बिक्री मूल्य नै १०० रुपैंया तोकिएको छ जुन बोलपत्र आह्वान गरिएको दिन (बिहीबार)सम्म रहेको अन्तिम मूल्यभन्दा ३ रुपैंया कम हो । सामान्यतयाः बोलकबोल लिलामीबाट शेयर उठाउनेले बजारमूल्यभन्दा कम्तीमा पनि १० प्रतिशत सस्तो मूल्यमा शेयरको अपेक्षा राखेका हुन्छन् । यसो गर्दा मल्टिप्रोपोज फाइनान्सको शेयरका लागि ९० रुपैंयासम्म हाल्न आवेदकहरु तयार हुन्छन्, अझ बजारमा सीधै बिक्री नहुने संस्थापक शेयरको मूल्य त झन् सर्वसाधारण शेयरभन्दा पनि कम हुनुपर्ने हो तर यहाँ न्यूनतम मूल्य नै १०० रुपैंया तोकिएको छ ।
लालीगुराँस बहुउद्देश्यीय सहकारीले मनायो २१ औँ वार्षिकोत्सव
ललितपुर । पुल्चोक स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औ वार्षिक उत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही ,सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशम्सेर थापाद्वारा केक काटेर वार्षिक उत्सव मनाएको छ । कार्यक्रममा संचालक समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति र शृयर सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सचिव एंव प्रमुख कार्यकारी निर्देशक भण्डारीले २१औ वार्षिकोत्सवको अवसरमा देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीले देशको समग्र आर्थिक क्षेत्रको विकासमा संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडि बढाउदै लैजाने बताए । संस्थाका विविध गतिविधिको बारेमा जानकारी गराउदै उनले भविष्यमा सो संस्थालाई थप प्रभावकारी रुपमा अघि बढाइने बताए । २० वर्ष पूरा गरेको संस्थाले गएको वर्ष उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ । ९७औ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश नं.३ बाट श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको थियो । यो अवधीमा ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउण्टर संचालन गरी सकेको छ । चालु वर्ष भित्र काठमाडौंको न्यूरोड, गोंगबु र महाराजगंज, भक्तपुरको सुर्यविनायक, चितवनको पर्सा र भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा र मकवानपुरको हेटौडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ । यसैबीच संस्थाको स्थापना दिवसको अवसरमा संस्थाले श्री लालिगुँरास मा.वि.मा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारी, विभिन्न समिति र उपसमितिका सदस्य, सल्लाहकार, कर्मचारी तथा शेयरसदस्य गरी जम्मा ५० जनाले रक्तदान गरेका थिए । सोही अवसरमा लालीगुँरास अस्पतालले निःशुल्क स्वाथ्य शिविर संचालन गरेको थियो ।
शेखर गोल्छालाई राजाको जेठो छोराको संज्ञा, अध्यक्षसहित तीन उपाध्यक्ष प्रत्यक्ष चुनावकाे पक्षमा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका तीन जना उपाध्यक्ष, तीन वटा प्रदेश अध्यक्षले महासंघको अध्यक्ष कार्यकारी प्रमुख पद भएकोले अध्यक्षका प्रत्यक्ष निर्वाचनबाट नै हुने गरि विधान संशोधन गर्न लागिएको बताएका छन् । तीन वर्षअघि गरिएको विधान संशोधनको निर्णय गलत भएको र त्यसपछि महासंघको नेतृत्व प्रभावकारी नभएको उनीहरुको भनाई छ । महासंघका उपाध्यक्षत्रय किशोर प्रधान, चन्द्रप्रसाद ढकाल र उमेशलाल श्रेष्ठ, प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ, प्रदेश ५ का अध्यक्ष गुणनीति तिवारी र प्रदेश १ का कार्यवहाक अध्यक्ष, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार लगायतले बुधबार साँझ पत्रकार सम्मेलन गर्दै प्रत्यक्ष अध्यक्षको चयनको पक्षमा खुलेर वकालत गरेका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधान बनाएर महासंघले तीन वर्षअघि गल्ती गरेको र त्यो गल्ती महासंघका अधिकांश सदस्यले अनुभूति गरेको उनीहरुले बताए । उनीहरुले आफ्ना भनाई राख्दै गर्दा महासंघका अध्यक्ष भवानी राणा र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा कार्यक्रममा थिएनन् । विधान संशोधन समितिका संयोजक चण्डिराज ढकाल लगायत प्रत्यक्ष निवाचनका पक्षधर रहेका करिव २ दर्जन व्यवसायी पत्रकारसँगै फ्लोरमा उपस्थिति थिए । औपचारिक कार्यक्रम सकिएसँगै अध्यक्ष भवानी राणा उपस्थिति भएकी थिइन् । उनकाे उपस्थितिले उनी पनि प्रत्यक्ष निर्वाचनकै पक्षमा रहेकाे संकेत दिएकाे छ । तर विकासन्युजसँगकाे कुराकानीमा उनले अाफू सहमति गराएर अगाडि बढ्न चाहेकाे बताइन् । महासंघका एशोसियट समूहका उपाध्यक्ष तथा विधान संशोधन समितिका सदस्य चन्द्रप्रसाद ढकालले विधान संशोधनका लागि देशभरबाट सुझाव संकलन गर्ने काम भईरहेको र प्राप्त सुझावका आधारमा संशोधनका लागि विशेष साधारणसभामा पेश गर्ने तयारी भईरहेको बताए । ‘प्राप्त सुझावहरुलाई समेटेर विधान संशोधनको प्रस्ताव विशेष साधारणसभामा पेश हुन्छ । साधारणसभामा जनमतको आधारमा निर्णय हुन्छ, संशोधन हुन्छ’ उनले भने । विधानलाई समय सापेक्ष बनाउनको लागि जिल्ला तथा नगर उद्योग बाणिज्य संघबाट बढी माग भएको र संशोधनको अन्तिम निर्णय साधारणसभाले गर्ने बताए । अध्यक्षको प्रत्यक्ष चुनाव, अध्यक्षका कार्यकाल ३ वर्षलाई घटाएर २ वर्ष बनाउने, प्रदेश उद्योग वाणिज्य संघलाई व्यवस्थित बनाउने लगायतका महत्वपूर्ण दफामा संशोधन हुन लागेको उनले बताए । वस्तुगत समूहका उपाध्यक्ष उमेशलाल श्रेष्ठले विधान संशोधनको ३५ बुँधा भए पनि अध्यक्षको प्रत्यक्ष चुनाव हुने संशोधनको विषयमा सबैंको ध्यान गएको बताए । ‘संशोधन हुन लागेको ३५ दफा मध्ये अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने दफा मेरो ध्यान गएको छ । बाँकी ३४ वटा बुँदा त मलाई पनि याद छैन’ उनले भने । उनले विधान संशोधन व्यक्ति लक्षित नभई संस्था बलियो बनाउन भएको तर्क गरे । ‘महासंघको चुनावमा चलखेल धेरै भयो भनेर हाम्रा अग्रजहरुले वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउन विधिको प्रस्ताव गर्नुभयो । तीन वर्षअघि असहमतिको बीच हामीले सहमति जनायौ’ उनले भने–‘तर विधान संशोधनसँगै राजाको जेठो छोरा जन्मिए ।’ असन्तुष्ट पक्षले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई राजाको जेठो छोराको रुपमा व्याङ्ग्य गर्ने गरेका छन् । गोल्छा तीन वर्षअधि प्रत्यक्ष निर्वाचनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्ष तीन वर्षपछि स्वतः अध्यक्ष हुने विधिका आधारमा उनी वरिष्ठ उपाध्यक्षको प्रत्यक्ष चुनावमा लडेका थिए । तर वरिष्ठ उपाध्यक्ष भएपछि महासंघका सदस्यहरुको फोन नउठाउने, समय नदिने गरेको उनीमाथि आरोप छ । महासंघ सधैं ठूला व्यापारीको कब्जामा परेको भन्दै साना र मझ्यौला व्यवसायी पनि महासंघको अध्यक्ष बन्ने व्यवस्था गरिनु पर्ने भएको र त्यसका लागि पपिन विधान संशोधन गरिने पर्ने भएको श्रेष्ठले बताए । पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले तीन वर्षअघि विधान संशोधन गरेर गल्ती भएको बताए । ‘महासंघ अध्यक्षात्मक प्रणालीमा चलेको संस्था भएकोले महासंघको अध्यक्षको निर्वाचन राष्ट्रव्यापी हुनुपर्छ भन्ने मेरो पुरानो अडान हो । आज पनि म त्यहि अडानमा छु’ उनले भने । विधान संशाेधनसँगै महासंघकाे अध्यक्ष नपाउने देखेर नेपाल चेम्बर अफ कमर्शकाे पदाधिकारीम नियुक्ती खाएका राजकर्णिकार फेरी महासंघकाे राजनीतिमा फर्केका हुन् । विधान संशोधनका क्रममा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा माथि अन्याय हुन्छ भन्ने विचारको आलोचना गर्ने उलने संस्था बनाउने क्रममा, विधान संशोधन व्यक्ति गौढ हुने बताए । महासंघका ३ प्रदेश प्रमुख गुणनीतिले अध्यक्ष कार्यकारी पद भएकोले प्रत्यक्ष निर्वाचन विधिमा जानु अनिवार्य भएको बताए । विधिसम्वत हुने विधान संशोधनबाट कोही पनि डराउनु नपर्ने उनले बताए । उद्योग वाणिज्य संघ प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठले महासंघ निजी क्षेत्रको देशको सबैभन्दा ठूलो महासंघ नै भएकोले यो संस्थालाई बलियो बनाउन विधान संशोधन आवश्यक भएको दावी भए ।