भन्सार छलीकाे १७ क्विन्टल चिनी बरामद
निजगढ । भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको करीब रु एक लाख ५० हजार बराबरको चिनी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको १७ क्विन्टल चिनी कलैया उपमहानगरपालिका–६ बाट बरामद गरेको हो । भारतसँग खुला सिमाना भएका कारण पनि तस्करहरुले खुला सिमानाको प्रयोग गरी भन्सार छलीका अवैध सामान आयात तथा निर्यात गर्ने गरेका छन् । प्रहरीले बोरा सिलाउने मेसिन एक थान र विभिन्न चिनी उत्पादक कम्पनीको नाम उल्लेखित २०० थान खाली बोरासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकासराज खनालले बताए । भन्सार छली नेपाल ल्याएर लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पठाइएको बारा प्रहरीले जनाएको छ । कलैया उपमहानगरपालिका–६ बस्ने कलैया उपमहानगरपालिका २५ का दिनेश तिवारी र रमेश तिवारीले सो परिमाणको चिनी भन्सार छली नेपालमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेकोे जनाएको छ । उक्त घरभित्रबाट मरिच, छोकडा र केराउलगायतका सामग्रीसमेत फेला पारेको र आन्तरिक राजश्व कार्यालय सिमरा बारालाई जानकारी गराइएको प्रहरी उपरीक्षक खनालले जानकारी दिएका छन् । रासस
दशैँपछि चितवनको सौराहा पर्यटकले भरिभराउ
भरतपुर । सुनसान बनेकाे साैराहा दशैँपछि पर्यटकले भरिभराउ हुन थालेकाे छ । देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा अहिले पर्यटकको चहलपहल बढेको छ । दशैँअघि सुनासनजस्तै बनेको सौराहामा यतिबेला पर्यटक आउनेक्रम बढेको हो । सौराहामा अहिले सबैभन्दा धेरै पर्यटक आउने बेला हो । विगतका वर्षमा दशैँअघिदेखि नै पर्यटकको भीडभाड हुने गरेको तर यसपटक ढिला गरी पर्यटकको चहलपहल बढेको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले बताएका छन् । उनले भने,“आन्तरिक पर्यटक ह्वात्तै बढेको छ, तर रात बिताउने पर्यटकको सङ्ख्या अझै कम छ ।” केही वर्षयता आन्तरिक पर्यटककै भरमा सौराहाको पर्यटन व्यवसाय चलेको छ । नेपालीहरू बिदाको समयमा घुम्ने संस्कार बढेकाले त्यसको प्रभाव बर्षेनी पर्यटकको सङ्ख्या बढ्दै गएको भट्टराई बताउँछन् । पछिल्लो समय चितवनमा देखिएको डेङ्गुको प्रकोप र काठमाडौँबाट चितवन भित्रिने सडकको दुरावस्थाका कारण पर्यटकको चहलपहल घटेको सौराहाका रेष्टुरेन्ट व्यवसायी गोकर्ण गिरी बताउँछन् । उनले दशैँपछि घुम्ने परम्परा रहेकाले अब पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे । पछिल्लो समय सौराहामा विदेशी पर्यटकभन्दा स्वदेशी पर्यटकको सङ्ख्या बढ्दो छ । अहिले पनि आन्तरिक पर्यटक नै धेरै छन् सौराहामा । “सौराहाको राप्ती किनार क्षेत्रका रेष्टुरेन्टहरू भरिभराउ हुन थालेका छन्”, रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले भने, “परिवारसँग घुम्न आउने पर्यटक बढेका छन्, बाह्य पर्यटक भने फाट्टफुट्ट केही मात्रामा मात्र देखिन्छन् ।” चिनियाँ र भारतीय पर्यटक बढी छन् । सौराहामा ५० प्रतिशत आन्तरिक पर्यटक र ३० प्रतिशत बाह्य पर्यटक आउने गरेको व्यवसायीको भनाइ छ । पर्यटक आउने ‘सिजन’ बल्ल शुरु भएकाले विस्तारै पर्यटक बढ्दै जाने होटल व्यवसायी सुमन घिमिरेले बताए । तुलनात्मक रूपमा यसपटक पर्यटकको सङ्ख्यामा कमी आए पनि पर्यटकको सङ्ख्या बढ्ने क्रममा रहेको उनले जानकारी दिएका छन् । “नोभेम्बरसम्म नै पर्यटकको आउने सिजन हो”, उनले भने, “गत वर्षकै अनुपातमा पर्यटक आउने अनुमान गरेका छौँ ।” सौराहामा गतवर्षको तुलनामा यो सिजनमा यसपटक २० प्रतिशत पर्यटक पनि भित्रिएका छैनन् । गत वर्ष यसबेला दैनिक एक हजारको हाराहारीमा पर्यटक भित्रिएको क्षेत्रीय होटल सङ्घले जनाएको छ । विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जिप सफारीका लागि पर्यटकहरू सौराहा आउने गरेका छन् । यसरी, साना तथा ठूला १५० होटल र ८० रेष्टुरेन्ट रहेको सौराहामा सात हजार पर्यटक अट्ने क्षमता रहेको छ । गत वर्ष सौराहामा स्वदेशी तथा विदेशी गरी डेढ लाख पर्यटक भित्रिएका थिए । चितवन आउने पर्यटकमध्ये ८० प्रतिशतले सौराहा घुम्ने गरेका छन् । रासस
तीन लाख भारुसहित साह पक्राउ
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताएका छन् । शनिबार बेलुका अन्दाजी ६ बजेतिर ज७प ३३९५ नंको मोटरसाइकलमा चढी रु तीन लाख भारु बोकेर मटिहानीबाट जलेश्वर जाँदै गरेको अवस्थामा मटिहानी नपा–९ स्थित जलसागर पोखरी नजिकै खटिएका सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा स्रोत नखुलेको भारुसहित उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताएका हुन् । भारुसहित पक्राउ परेका युवक साह अवैधरूपमा नेपाली–भारुको सटही कारोबार गर्ने गरेको प्रहरीले आशङ्का गरेको छ भने उनलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिएका छन् । रासस
शितल निवासमा दुई देशका राष्ट्रपतिबीच भेटवार्ता, केरूङ-काठमाडाैं-लुम्बिनी रेलमार्गबारे छलफल
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएकाे जनाइएकाे छ । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा काठमाठाैं आएका छन् ।शितल निवासमा भएकाे वार्तामा दुइ देशका उच्च अधिकारीहरू सहभागी भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी छन् । राष्ट्रपति सी चिनफिङ शितलनिवासकाे आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् । त्यसपछि राष्ट्रपति भण्डारीले आयाेजना गरेकाे रात्रीभाेजमा समकक्षी सी चिनफिङ सहभागी भएका थिए । राष्ट्रपति सीले कोदारी राजमार्गको स्तरोन्नति, केरूङ-काठमाडौं सुरूङ मार्ग निर्माण र रेलमार्ग निर्माण कार्यमा क्रमबद्ध सहयोग गर्दै जाने बताएका छन् । राष्ट्रपति सीले ल्याण्डलक नेपालकाे ल्याण्ड लिङ्क बन्ने चाहानामा सहयाेग गर्ने बताएका छन् । उनले योजना अनुसार काम गर्नु पर्नेमा जाेड दिए । उनले चीन हिमालय सीमा पारकाे विकासमा सहयाेगि बन्न चाहेकाे बताए । रात्रीभाेजमा दुइ देशका उच्च राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारीहरू, कुटनीतिक व्यक्तिहरू भएका छन् । -फाेटाेहरू राससबाट
भारतमा आफ्नो फाइभ–जी नेटवर्क विस्तार गर्ने चीनकाे प्रस्ताव, औषधी र सूचना उद्योग माेदीका प्राथमिकतामा
महाबलीपुरम । चीनले भारतमा आफ्नो फाइभ–जी नेटवर्क विस्तार गर्ने प्रस्ताव गरेकाे छ । भारत भ्रमणकाे क्रममा चीनका राष्ट्रपति सी चिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस्ताे प्रस्ताव गरेका हुन् । चिनियाँ नेताको दुई दिने भारत भ्रमणको दोस्रो दिन चेन्नईको दक्षिणमा रहेको ऐतिहासिक ताज फिशरम्यान कोव रिसोर्टमा दुइ नेताबीच लामाे गाेप्य वार्ता भएकाे छ । जनसङ्ख्याका हिसाबले विश्वका दुई ठूला मुलुकबीच देखिँदै आएका समस्यालाई कम गर्दै जाने बिषयमा उक्त वार्ता केन्द्रीत भएकाे छ । वार्तामा अमेरिकासँग संरक्षणवादी नीति लिएका दुवै मुलुकले आपसी बजारका लागि समेत व्यापक पहुँच विस्तार गर्ने सहमति भएको बताइएको छ । दुई नेताबीच विगत १८ महिनामा भएको यो दोस्रो भेटवार्ता हो । उनीहरूबीच करिब डेढ बर्ष पहिले चीनको उहानमा भएको शिखर सम्मेलनका प्रतिवद्धतालाई कार्यान्वयन गर्न इमान्दार प्रयास जारी राख्ने सहमति भएको छ । “भेटवार्तामा दुवै पक्षले विवेकसम्मतरूपमा कुनै पनि बिषयमा रहेका मतभिन्नतालाई व्यवस्थापन गर्ने सहमति बनेको छ,” भारत सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतीय प्रधानमन्त्री मोदीले भने, “उहान सम्मेलनले हाम्रो सम्बन्धमा नयाँ स्वरूप र बढ्दो स्थायित्व प्रदान गरेको छ । हाम्रो चेन्नई दृष्टिले चीन र भारतबीच सहकार्यको नयाँ युगको थालनी गरेको छ ।” राष्ट्रपति सीले सम्मेलनका प्रतिनिधिमण्डलसँग आफ्नो मन्तव्य राख्दै आफू र भारतीय प्रधानमन्त्री मोदीबीच मित्रका हिसाबले खुला दिलले छलफल गरेको बताए । चीन–भारत उच्चस्तरीय आर्थिक व्यापारिक वार्ता प्रणालीको स्थापनाका आधारमा आर्थिक विकासको रणनीतिक सम्पर्कलाई अझ प्रबर्द्धन गर्नुपर्ने र उद्योग व्यवसायको साझेदारी सम्बन्धको स्थापनाबारे छलफल गर्नुपर्ने धारणा राष्ट्रपति सीले राखेका छन् । भारतीय औषधी र सूचना उद्योग व्यवसायहरूमा चीनलाई लगानी लगाउन प्रधानमन्त्री मोदीले स्वागत व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले चीनसँगको वास्तविक सहकार्यलाई अझ बढी गहन पार्न भारत इच्छुक रहेको बताउनुका साथै चिनियाँ उद्योग व्यवसायहरूलाई भारतीय उद्योगमा लगानीका लागि अह्वान गरे । एएफपी/रासस
२३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखकाे पाइला नेपालमा (फाेटाेफिचर सहित)
काठमाडौं । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुईदिने राजकीय भ्रमण सुरु भएको छ । एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नई हुँदै सी भारतको चेन्नई हुँदै शनिबार अपराह्न काठमाडौँमा अवतरण गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सीलाई राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर स्वागत गरेकी थिइन भने उनको साथमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली समेत गएका थिए । विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गरेका थिए । सीको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएको थियो । चिनियाँ राष्ट्रपति सीको नेपाल बसाइलाई आनन्ददायी बनाउन भव्य तयारी गरिएको छ । सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको छ । विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए । विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिङ्गारिएको छ । विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो । चिनियाँ विशिष्ट पाहुनाको आवागमनका सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका छन् । विमानस्थलबाट बाहिरिने द्वार, तीनकुने चोक, माइतीघर मण्डल, त्रिपुरेश्वर, कालीमाटी चोक ताहाचललगायत स्थान चिटिक्क सिङ्गारिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सप्तरङ्गी इन्द्रेणीको अनुभव हुने गरी पानीको फोहरा निर्माण गरिएको थियो भने ढकमक्क फुलेका फूलले विमानस्थल र सवारी मार्गको शोभा नै बढाएको थियो । राष्ट्रपति सीलाई विमानस्थलबाट उहाँलाई आतिथ्यता एवं आवासको व्यवस्था गरिएको स्थलसम्मका सवारीमार्गका दायाँबायाँ नेपाल सरकारका कर्मचारी, विभिन्न शैक्षिक प्रतिष्ठानका विद्यार्थीसहित विशाल जनसमुदायले नेपाल र चीनका झण्डा फहराउँदै स्वागत गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी सीबीच आजै राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता हुनेछ भने चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले आजै साँझ राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ । तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपतिका साथ विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारी भ्रमणदलमा सहभागी हुनुहुन्छ । राष्ट्रपति सीको यो भ्रमणलाई नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध अभिवृद्धिमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ । नेपालमा चीनका राष्ट्रपतिकाे भ्रमण २३ वर्ष पछिकाे हाे ।
जमुनाह–हिल्सा द्रुतमार्ग निर्माणका लागि बाँकेवासीको चासो
काठमाडाै । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका अवसरमा जमुनाह–हिल्सा द्रुुतमार्ग निर्माणका लागि बाँकेका उद्योगी व्यवसायीले चासो देखाएका छन् । उक्त द्रुतमार्ग निर्माणका लागि पहिलो चरणको सम्भाव्यता अध्ययन गरिसकेकाले पनि यहाँका व्यवसायी यस विषयमा सम्झौता हुनेमा आशावादी भएका छन् । पश्चिमको विकासका लागि जमुनाहदेखि हिल्सासम्मको द्रुतमार्गको सम्झौता हुनुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष आदेश अग्रवाल बताए। उक्त द्रुतमार्ग निर्माणसँगै नेपालगञ्जको भविष्यसमेत उज्ज्वल हुने उल्लेख गर्दै उनले भने, “वास्तवमा सरकारले पश्चिमलाई हेला नगरेको हो भने जमुनाह–हिल्सा द्रुतमार्गको सम्झौता गर्नुपर्दछ ।” कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच हुने समझदारीमा यो द्रुतमार्गलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेकाले पनि यहाँका व्यवसायी सम्झौता हुनेमा बढी आशावादी भएका हुन् । होटल व्यवसायी महासङ्घका अध्यक्ष भीमलाल कँडेल उक्त द्रुतमार्ग निर्माणका लागि सम्झौता भए कर्णाली प्रदेशसँगै नेपालगञ्जको आर्थिक कारोवार बढ्ने बताए । “अहिले नेपालगञ्जका कार्यालय प्रदेश राजधानी बुटवलमा सारिएकाले व्यावसायिकरुपमा नेपालगञ्ज सुनसानजस्तै भएको छ तर उक्त द्रुतमार्ग सञ्चालनमा आयो भने नेपालगञ्ज फेरि ब्युझिनेछ ।” उक्त दुु्रतमार्गको प्रारम्भिक अध्ययन पूरा भइसकेको छ । चीनको सरकारी निर्माण कम्पनी चाइना रेल्वे इञ्जिनीयरिङ कम्पनी ९सीआइइसी० को प्राविधिक टोलीले चार महीना लगाएर प्रारम्भिक अध्ययन गरेको थियो । सो दु्रतमार्ग निर्माण भए त्रिदेशीय सडक सञ्जाल जोडिनाका साथै भारत र चीनसँग पनि सडकमार्ग विस्तार हुनेछ । रासस
देशकै ‘लाइफलाइन’ बन्नसक्छ केरुङ–काठमाडौँ रेलमार्ग
काठमाडाै । विनाशकारी भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल–चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनियाँ पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ । नेपाली पक्षमा पनि नाका व्यवस्थापन र सडक स्तरोन्नतिका काम भइरहेको छ । चिनियाँ राष्ट्रपति सी चीनफिङको राजकीय नेपाल भ्रमणमा क्रममा केरुङ–काठमाडौँ रेलमार्गको लगानीको ढाँचाका विषयमा हुने छलफलको तयारीले यो नाकाको चर्चा पुनः चुलिएको छ । सीमा जोडिएको रसुवा र नुवाकोटको मात्र होइन, सिङ्गो देशले केरुङ–काठमाडौँ रेलमार्ग सञ्चालनको परिकल्पना गरिरहेको छ । काठमाडौँबाट पोखरा–लुम्बिनी हुँदै भारतसम्म रेलमार्ग जोड्ने सरकारको दीर्घकालीन लक्ष्य छ । रेलमार्ग निर्माण भएमा चीनसँगको लगानी, व्यापार र पर्यटक आवागमनमा उल्लेख्य वृद्धि हुने निश्चित छ । मल्लकालमा शुरु भएको रसुवागढीबाट केरुङसम्म २३ किलोमिटरको दूरी पर्छ । चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष्य लिएकामा नेपालले उक्त रेलमार्गलाई केरुङ–काठमाडौँ हुँदै पोखरासम्म जोड्न गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक छ । चीनको ‘बेल्ट एण्ड रोड’ पहल र हिमालयन वारपार बृहत् सम्पर्क सञ्जालमा नेपालले सहमति जनाइसकेकाले भावी दिनमा सहकार्यको दायरा फराकिलो हुने देखिँदा त्यसबाट नाका जोडिएको जिल्लाले प्रत्यक्ष लाभ लिन सक्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको शनिबार र आइतबार हुने राजकीय भ्रमणका अवसरमा रेलमार्ग निर्माणको कार्यसूची उच्च प्राथमिकतामा छ । चिनियाँ राष्ट्रपति सीको भ्रमणको पूर्वसन्ध्यामा यही असोज २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउँदै पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञबिचकाे बैठकमा रेलमार्गको लगानीको ढाँचा, सुरुङसहित बेत्रावती रसुवागढी दोहोरो मार्गको सडक निर्माण, टोखा छहरे सुरुङ निर्माण, विद्युत् र कनेक्टिभिटीसहित अन्य विभिन्न नाकाको सञ्चालनलगायतका विषयमा चिनियाँ पक्षसँग वार्ता हुने जानकारी दिइएको थियो । केरुङ–काठमाडौँ रेलमार्ग बन्नुपर्ने कुनै पनि दलको आपत्ति छैन तर यसको सम्पूर्ण लगानी ऋणमा नेपालले गरेमा त्यसको भार थेग्न सक्छ कि सक्दैन भन्ने बहस जारी छ । भूकम्पपछि यो नाका व्यवस्थित नभए पनि हाल जेनतेन चलेको छ । यस्तो स्थितिमा पनि वार्षिक आठ अर्ब रुपैयाँ राजस्व सङ्कलन यो नाकाले गरेको छ । हाल गल्छी बेत्रावती स्याफ्रुबेँसी रसुवागढीको १६ किलोमिटरको नयाँ बाटोमा ११ वटा नयाँ पुल बन्दैछन् बेत्रावती धुन्चे हुँदै रसुवागढी जाने पुरानो बाटो पनि नियमित छैन । एकीकृत भन्सार निर्माणका क्रममा छ भने सुक्खा बन्दरगाह निर्माणका लागि मुअब्जा वितरण शुरु भएको छ । रसुवाका सांसद मोहन आचार्यले नाकाको व्यवस्थापन र सडकको स्तरोन्नति आवश्यक भएको र आफूहरुले त्यसका चिनियाँ सहयोगमा अपेक्षा गरेको जनाउँदै भन्सार क्वारेन्टाइनको स्थापना हुनुपर्ने बताए। उनले नेपालबाट कृषि उपजका सामान निर्यातको अवस्था हुन सकेमा व्यापार घाटा घट्ने जनाए । रसुवाका पूर्वसांसद जनार्दन ढकालले राष्ट्रपति सीको भ्रमणले आपसी सम्बन्ध प्रगाढ हुनाका साथै सो नाका व्यवस्थित भई रेलमार्ग निर्माण भएमा उक्त नाका रसुवा, नुवाकोटका लागि मात्र नभई देशकै समृद्धिको ‘लाइफलाइन’ बन्न सक्ने प्रतिक्रिया दिनुभयो । नेकपाका नेता ढकालले भन्नुभयो, “रेलमार्ग बनाउँदा हामी धेरै ऋणमा पर्छौं, थिचिन्छौँ भन्ने कुरा होइन । यसले कालान्तरमा भारतसँग पनि सम्पर्क जोड्ने भएकाले आर्थिक समृद्धिमा प्रत्यक्ष टेवा दिन सक्नेछ ।” चीनको ‘नेशनल रेल्वे अथोरिटीले’ केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन गत मङ्सिर २४ गते नेपाल सरकारलाई बुझाएको थियो । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको उक्त प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र लगानीको ढाँचाका सम्बन्धमा दुई देशबीच छलफल हुँदैछ । चिनियाँ टोलीले काठमाडौँ–पोखरा रेलमार्गको पनि सम्भाव्यता अध्ययन गरिसकेको छ । केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुनेछ । सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब रु तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । काठमाडौँ–पोखरा रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ । प्रधानमन्त्री ओलीले २०७३ असार ५ देखि १० गतेसम्म गर्नुभएको चीनको औपचारिक भ्रमणका क्रममा सो रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । रसुवागढी नाकाबाट हाल स्याउ, अदुवा, लसुन, जुत्ता चप्पल, तयारी पोशाक, बच्चाका खेलौना, विद्युत् तथा सिँगारका सामग्री आदि नेपाल आयात तथा नेपालबाट कारागारमा निर्मित बुनेका मुढा, चाउचाउ, बिस्कुट, कृषि उपज आदि निर्यात हुँदै आएको छ । टिमुरेस्थित व्यापारी सुनाम वाङ्जी तामाङ नाकाको व्यवस्थित सञ्चालन भएमा व्यापारिक कारोवार सहज भई व्यापार बढ्ने भन्दै रसुवाका नागरिक क्षेत्रका अगुवा बाबुलाल तामाङ पनि नाकासम्मको सडकको स्तरोन्नति मुख्य सवाल भएको बताए । बेत्रावतीस्थित समाजसेवी चन्द्रशेखर लम्सालले राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने र रसुवामा विद्यालय, खानेपानी, बिजुली, सिँचाइका क्षेत्रमा समेत सहयोग अभिवृद्धि हुने अपेक्षा व्यक्त गरे । रसुवागढी नेपाल र चीन सिमानामा रसुवा जिल्लाको साविक टिमुरे गाविसमा अवस्थित डेढ शताब्दी पुरानो ऐतिहासिक गढी मानिन्छ । उत्तरबाट लिङ्दे र पश्चिमबाट केराङ खोला मिलेर भोटेकोशी नदी शुरू हुने दोभानमा विसं १०१२ मा रसुवागढी निर्माण भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने यही गढीको नामबाट रसुवा जिल्लाको नामकरण भएको हो । दुई पक्षबीच युद्ध हुँदा बहादुर शाहको समयमा भएको नेपाल–भोट युद्धमा भोटको सहायताका लागि यही बाटो हुँदै आएका चिनियाँ फौज नेपाल आएको थियो । पछि जङ्गबहादुरको पालामा भएको नेपाल–भोट युद्धमा नेपाली फौज गढीको बाटो हुँदै केरूङ र दिगर्वसम्म पुगेका थिए । दुवै पक्षबीच पछि समझदारी भएको थियो । लिच्छवीकालमा अंशुबर्माको शासनकालमा उहाँकी छोरी भृकुटी यही नाका हुँदै घर माइती गर्ने गरेको पाइन्छ । भृकुटीले तिब्बती राजा स्रङ्चङ गम्पोसँग विवाह गरेकी थिइन् । विसं २०७२ मा दक्षिणी छिमेकी भारतले पेट्रोलियम पदार्थको आपूर्तिमा अघोषित नाकाबन्दी गरेपछि चीनबाट रसुवागढी नाकाबाट नुवाकोट हुँदै काठमाडौँसम्म पेट्रोलियम पदार्थ ल्याउने विषयमा दुईपक्षीय छलफल भएको थियो । रासस