विकासन्युज

भारतदेखि प्रतिपक्षी दल र संसदलाई समेत फकाउँदै सी, ९० प्रतिशत सम्झाैता कार्यान्वयनमा

काठमाडौं । नरिवलको ताडीमा जुस पिउँदै भरतनाट्यमको मनोरञ्जन लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ६ घण्टासम्मको अनौपचारिक समिट सकेर २ दिने औपचारिक राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार बेलुकी ५ बजे काठमाडौं आइपुगे । जसरी भारतीय बाटो हुँदै नेपालको व्यापारिक सम्बन्ध चीनसँग हुँदै आएको छ, त्यसैगरी नेपालको कुटनीतिक सम्बन्धमा पनि भारतीय उपस्थितिको झल्को दिनेगरी काठमाडौं आएका उनको यो गतिविधिको भित्री आशय नेपाल–चीन कुटनीतिक सम्बन्धमा भारत नचिढियोस् भन्ने चाहेका हुनसक्छ । त्यसै भएर उनले नेपालको यो भ्रमणमा भारतलाई नचिढ्याउने नीति लिए । सी–मोदीले गरेको फोहोर मोदीले टिपेको चर्चा भारतमा सेलाउन नपाउँदै उनी नेपालबाट बाहिरिनेछन् । सी शनिबार बेलुकी मात्रै काठमाडौं आए पनि मिडियामार्फत् उनी बिहीबारदेखि नै छाउने प्रयास गरेका थिए । सरकारी मुखपत्रको रुपमा रहेको गोर्खापत्र लगायत मूलधारका मुख्य मिडियालाई विशेष आलेख उपलब्ध गराएर नेपाली मिडिया र जनतासम्म छाउने प्रयास सीको थियो । काठमाडौं ओर्लिएसँगै नेपाली सेनाबाट सलामी ग्रहण गरेका उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग औपचारिक रुपमा भेट गर्नुबाहेक पहिलोपटक प्रमुख प्रतिपक्षी दलका शीर्ष नेता शेयबहादुर देउवा र संघीय संसदका तर्फबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भेटे । राजकीय भ्रमणहरुका सम्बन्धमा सामान्यतया प्रमुख प्रतिपक्षी दल वा संसदको कुनै भूमिका हुन्न । तर भ्रमणका क्रममा भएका सहमतिको स्वामित्व ती दुई पक्षले नलिएसम्म कार्यान्वयन हुने अवस्था समेत रहन्न । नेपालको शासकीय प्रणालीलाई बुझेका सीले यी दुई भेटबाट उनले आफ्नो उपस्थितिमा भएका सम्झौताहरु कार्यान्वयनमा प्रतिपक्षी दल र संसदको समेत भविष्यसम्मै साथ चाहिने ठान्दै उनीहरुलाई विश्वास दिलाउने पर्यत्न गरे । अहिले संसद अधिवेशन छैन । संसदको हिउँदे अधिवेशन सुरु भएपछि सीको भ्रमणका बारेमा संसदमा उठ्नसक्ने प्रश्न वा संसदले सहमतिहरुमा स्वामित्व ग्रहण नगर्न सक्ने अवस्थालाई सीको यस दुई भेटले अन्त्य गरिदिएको छ । उता प्रमुख प्रतिपक्षी दलका तर्फबाट भ्रमण र सहमतिका अन्तर वस्तुमा हुनसक्ने विमतिलाई कम गर्ने काम समेत उनले गरेका छन् । सोल्टी होटेलको रात्रीभोजमा नेपालका राष्ट्रपतिसँगै उनले पनि सम्बोधन गर्दैै नेपाल र चीनबीचको सम्बन्ध र हिमालवारि र हिमालपारिको बहुआयामिक कनेक्टिभिटीमा जोड दिने बताए । सम्बोधनका क्रममा उनले नेपालले चीनको सहयोगमा निर्माण गर्न चाहेका सबैजसो आयोजनाहरुको नाम लिए जसले गर्दा नेपाल सरकार र नेपाली जनतामा समेत एउटा उत्साहको वातावरण सिर्जना हुन सफल भयो । यद्यपि महँगो लागत र प्रधानमन्त्री केपी शर्मा ओलीको रणनीतिक महत्वको काठमाडौं–केरुङ रेलमार्ग निर्माणको मोडालिटीमा नगई सम्भाव्यता अध्ययन मात्रै गर्नेगरी सीले टार्ने प्रयास गरेका छन् । हुन त सम्भाव्यता अध्ययन नै नभएको परियोजनालाई त्यत्तिकै बनाइदिन्छु भनेर विश्वकै शक्तिशाली व्यक्तिबाट बोलिनु उपयुक्त नहुन पनि सक्छ तर नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा महत्व दिएर सम्बोधन गरेको विषयलाई सम्भाव्यता अध्ययनको नाममा टार्न खोज्नु चीनको प्राथमिकतामा यो योजना नपर्नु वा कम पर्नु हो । यसका बाबजुद पनि उनले त्यस्तो आभाष हुन दिएनन् । नेपाल भ्रमण गर्नुअघि नेपाल कम्युनिष्ट पार्टीमार्फत् उनले नेपालमा आफ्नो विचारधाराको प्रचार समेत गराउन सफल भए । स्पष्ठ बहुमतसहितको सत्तारुढ दलमै आफ्नो विचारधारालाई प्रशिक्षित गराउँदा यसले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा छुट्टै तरंग सिर्जना समेत गर्यो । तर नेपालको भूराजनीतिक परिस्थितिमा उनको विचार लागु हुने सम्भावना निकै कम छ । नेपाल आएपछि पनि उनका गतिविधिले नेपाली जनतालाई थप उत्साहित बनाउन सफल भए । भारतीय प्रधानमन्त्रीले गरेको भाषणजस्तो शैली र लबजले नेपालीको मन जित्नसक्ने सुविधा सीमा छैन, किनकी उनले बोल्ने भाषा र नेपाली भाषामा निकै भिन्नता छ, त्यसका बाबजुद आफ्नो भ्रमणलाई सबैले स्वामित्व ग्रहण गर्नसक्ने बनाउनु उनको सफलता हो । सीले द्विदेशीय रुपमा जतिपनि सम्झौता भएका छन् ती सम्झौताहरुमध्ये ९० प्रतिशत सहमतिहरु कार्यान्वयनमा गइसकेको बताइन्छ । त्यसैले उनी हत्तपत्त कुनैपनि कुरा बोल्दैनन् तर बोलेका कुराहरु पूरा गर्नुपर्छ भन्नेमा दृढ छन् भन्ने सन्देश उनले विश्वलाई नै दिन सफल भएका छन् । त्यसो त सोल्टी होटेलमा गरेको सम्बोधनमा उनले नेपालीहरुलाई दिएको सन्देश पनि यही हो कि ‘आँटेको योजना जसरी पनि पूरा गर !’ सीकाे नेतृत्वमा रहेकाे चीनले ‘दुईवटा सयवर्षको लक्ष्य’ लिएको छ । यो लक्ष्यका बीचमा उनले एउटा अर्को लक्ष्यको घोषणा गरेका छन् – ‘हिमालवारि र हिमालपारिको बहुआयामिक कनेक्टिभिटी’ । यसअन्तर्गत, सडक, विद्युत्, रेलमार्ग हवाई सञ्जालका अतिरिक्त सामाजिक र सांस्कृतिक सम्बन्धहरु समेत पर्छन् । विश्वलाई नेतृत्व गर्न चाहेको उनले सबै पक्षहरुलाई विश्वासमा दिँदै लिएको यो लक्ष्य भने कत्तिको सार्थक हुन्छ, यो भने समयले देखाउनेछ ।

नेपाल र चीनबीच उच्चस्तरका प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता

काठमाडाैं । नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधनमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्छ भने राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत सहभागी छन् । वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यहरुले शिष्टाचार भेट वार्ता गरेका छन् ।  राष्ट्रपति सीसँगको शिष्टाचार भेटमा नेकपाका वरिष्ठ नेताहरु एवं पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्यहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए । राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत हुनुभएकाले दुई पार्टीबीच उच्चस्तरमा छलफल भएको थियो । यही असोजमा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच आपसी सम्बन्ध विस्तारबारे सम्झौता भएको थियो । राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, चीन सरकारका अन्य वरिष्ठ नेता तथा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी थिए । रासस

भन्सार छलीकाे १७ क्विन्टल चिनी बरामद

निजगढ । भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको करीब रु एक लाख ५० हजार बराबरको चिनी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको १७ क्विन्टल चिनी कलैया उपमहानगरपालिका–६ बाट बरामद गरेको हो । भारतसँग खुला सिमाना भएका कारण पनि तस्करहरुले खुला सिमानाको प्रयोग गरी भन्सार छलीका अवैध सामान आयात तथा निर्यात गर्ने गरेका छन् । प्रहरीले बोरा सिलाउने मेसिन एक थान र विभिन्न चिनी उत्पादक कम्पनीको नाम उल्लेखित २०० थान खाली बोरासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकासराज खनालले बताए । भन्सार छली नेपाल ल्याएर लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पठाइएको बारा प्रहरीले जनाएको छ । कलैया उपमहानगरपालिका–६ बस्ने कलैया उपमहानगरपालिका २५ का दिनेश तिवारी र रमेश तिवारीले सो परिमाणको चिनी भन्सार छली नेपालमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेकोे जनाएको छ । उक्त घरभित्रबाट मरिच, छोकडा र केराउलगायतका सामग्रीसमेत फेला पारेको र आन्तरिक राजश्व कार्यालय सिमरा बारालाई जानकारी गराइएको प्रहरी उपरीक्षक खनालले जानकारी दिएका छन् । रासस

दशैँपछि चितवनको सौराहा पर्यटकले भरिभराउ

भरतपुर । सुनसान बनेकाे साैराहा दशैँपछि पर्यटकले  भरिभराउ हुन थालेकाे छ ।  देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा अहिले पर्यटकको चहलपहल बढेको छ । दशैँअघि सुनासनजस्तै बनेको सौराहामा यतिबेला पर्यटक आउनेक्रम बढेको हो । सौराहामा अहिले सबैभन्दा धेरै पर्यटक आउने बेला हो । विगतका वर्षमा दशैँअघिदेखि नै पर्यटकको भीडभाड हुने गरेको तर यसपटक ढिला गरी पर्यटकको चहलपहल बढेको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले बताएका छन् । उनले भने,“आन्तरिक पर्यटक ह्वात्तै बढेको छ, तर रात बिताउने पर्यटकको सङ्ख्या अझै कम छ ।” केही वर्षयता आन्तरिक पर्यटककै भरमा सौराहाको पर्यटन व्यवसाय चलेको छ । नेपालीहरू बिदाको समयमा घुम्ने संस्कार बढेकाले त्यसको प्रभाव बर्षेनी पर्यटकको सङ्ख्या बढ्दै गएको भट्टराई बताउँछन् । पछिल्लो समय चितवनमा देखिएको डेङ्गुको प्रकोप र काठमाडौँबाट चितवन भित्रिने सडकको दुरावस्थाका कारण पर्यटकको चहलपहल घटेको सौराहाका रेष्टुरेन्ट व्यवसायी गोकर्ण गिरी बताउँछन् । उनले दशैँपछि घुम्ने परम्परा रहेकाले अब पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे । पछिल्लो समय सौराहामा विदेशी पर्यटकभन्दा स्वदेशी पर्यटकको सङ्ख्या बढ्दो छ । अहिले पनि आन्तरिक पर्यटक नै धेरै छन् सौराहामा । “सौराहाको राप्ती किनार क्षेत्रका रेष्टुरेन्टहरू भरिभराउ हुन थालेका छन्”, रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले भने, “परिवारसँग घुम्न आउने पर्यटक बढेका छन्, बाह्य पर्यटक भने फाट्टफुट्ट केही मात्रामा मात्र देखिन्छन् ।” चिनियाँ र भारतीय पर्यटक बढी छन् । सौराहामा ५० प्रतिशत आन्तरिक पर्यटक र ३० प्रतिशत बाह्य पर्यटक आउने गरेको व्यवसायीको भनाइ छ । पर्यटक आउने ‘सिजन’ बल्ल शुरु भएकाले विस्तारै पर्यटक बढ्दै जाने होटल व्यवसायी सुमन घिमिरेले बताए । तुलनात्मक रूपमा यसपटक पर्यटकको सङ्ख्यामा कमी आए पनि पर्यटकको सङ्ख्या बढ्ने क्रममा रहेको उनले जानकारी दिएका छन् । “नोभेम्बरसम्म नै पर्यटकको आउने सिजन हो”, उनले भने, “गत वर्षकै अनुपातमा पर्यटक आउने अनुमान गरेका छौँ ।” सौराहामा गतवर्षको तुलनामा यो सिजनमा यसपटक २० प्रतिशत पर्यटक पनि भित्रिएका छैनन् । गत वर्ष यसबेला दैनिक एक हजारको हाराहारीमा पर्यटक भित्रिएको क्षेत्रीय होटल सङ्घले जनाएको छ । विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जिप सफारीका लागि पर्यटकहरू सौराहा आउने गरेका छन् । यसरी, साना तथा ठूला १५० होटल र ८० रेष्टुरेन्ट रहेको सौराहामा सात हजार पर्यटक अट्ने क्षमता रहेको छ । गत वर्ष सौराहामा स्वदेशी तथा विदेशी गरी डेढ लाख पर्यटक भित्रिएका थिए । चितवन आउने पर्यटकमध्ये ८० प्रतिशतले सौराहा घुम्ने गरेका छन् । रासस

तीन लाख भारुसहित साह पक्राउ

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताएका छन् । शनिबार बेलुका अन्दाजी ६ बजेतिर ज७प ३३९५ नंको मोटरसाइकलमा चढी रु तीन लाख भारु बोकेर मटिहानीबाट जलेश्वर जाँदै गरेको अवस्थामा मटिहानी नपा–९ स्थित जलसागर पोखरी नजिकै खटिएका सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा स्रोत नखुलेको भारुसहित उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताएका हुन् । भारुसहित पक्राउ परेका युवक साह अवैधरूपमा नेपाली–भारुको सटही कारोबार गर्ने गरेको प्रहरीले आशङ्का गरेको छ भने उनलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिएका छन् । रासस

शितल निवासमा दुई देशका राष्ट्रपतिबीच भेटवार्ता, केरूङ-काठमाडाैं-लुम्बिनी रेलमार्गबारे छलफल

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएकाे जनाइएकाे छ । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा काठमाठाैं आएका छन् ।शितल निवासमा भएकाे वार्तामा दुइ देशका उच्च अधिकारीहरू सहभागी भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी छन् । राष्ट्रपति सी चिनफिङ शितलनिवासकाे आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् । त्यसपछि राष्ट्रपति भण्डारीले आयाेजना गरेकाे रात्रीभाेजमा समकक्षी सी चिनफिङ सहभागी भएका थिए । राष्ट्रपति सीले कोदारी राजमार्गको स्तरोन्नति, केरूङ-काठमाडौं सुरूङ मार्ग निर्माण र रेलमार्ग निर्माण कार्यमा क्रमबद्ध सहयोग गर्दै जाने बताएका छन् । राष्ट्रपति सीले ल्याण्डलक नेपालकाे ल्याण्ड लिङ्क बन्ने चाहानामा सहयाेग गर्ने बताएका छन् । उनले योजना अनुसार काम गर्नु पर्नेमा जाेड दिए । उनले चीन हिमालय सीमा पारकाे विकासमा सहयाेगि बन्न चाहेकाे बताए । रात्रीभाेजमा दुइ देशका उच्च राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारीहरू, कुटनीतिक व्यक्तिहरू भएका छन् । -फाेटाेहरू राससबाट

भारतमा आफ्नो फाइभ–जी नेटवर्क विस्तार गर्ने चीनकाे प्रस्ताव, औषधी र सूचना उद्योग माेदीका प्राथमिकतामा

महाबलीपुरम । चीनले भारतमा आफ्नो फाइभ–जी नेटवर्क विस्तार गर्ने प्रस्ताव गरेकाे छ । भारत भ्रमणकाे क्रममा चीनका राष्ट्रपति सी चिनपिङले  भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीसँग यस्ताे प्रस्ताव गरेका हुन् । चिनियाँ नेताको दुई दिने भारत भ्रमणको दोस्रो दिन चेन्नईको दक्षिणमा रहेको ऐतिहासिक ताज फिशरम्यान कोव रिसोर्टमा दुइ नेताबीच लामाे गाेप्य वार्ता भएकाे छ । जनसङ्ख्याका हिसाबले विश्वका दुई ठूला मुलुकबीच देखिँदै आएका समस्यालाई कम गर्दै जाने बिषयमा उक्त वार्ता केन्द्रीत भएकाे छ । वार्तामा अमेरिकासँग संरक्षणवादी नीति लिएका दुवै मुलुकले आपसी बजारका लागि समेत व्यापक पहुँच विस्तार गर्ने सहमति भएको बताइएको छ । दुई नेताबीच विगत १८ महिनामा भएको यो दोस्रो भेटवार्ता हो । उनीहरूबीच करिब डेढ बर्ष पहिले चीनको उहानमा भएको शिखर सम्मेलनका प्रतिवद्धतालाई कार्यान्वयन गर्न इमान्दार प्रयास जारी राख्ने सहमति भएको छ । “भेटवार्तामा दुवै पक्षले विवेकसम्मतरूपमा कुनै पनि बिषयमा रहेका मतभिन्नतालाई व्यवस्थापन गर्ने सहमति बनेको छ,” भारत सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतीय प्रधानमन्त्री मोदीले भने, “उहान सम्मेलनले हाम्रो सम्बन्धमा नयाँ स्वरूप र बढ्दो स्थायित्व प्रदान गरेको छ । हाम्रो चेन्नई दृष्टिले चीन र भारतबीच सहकार्यको नयाँ युगको थालनी गरेको छ ।” राष्ट्रपति सीले सम्मेलनका प्रतिनिधिमण्डलसँग आफ्नो मन्तव्य राख्दै आफू र भारतीय प्रधानमन्त्री मोदीबीच मित्रका हिसाबले खुला दिलले छलफल गरेको बताए । चीन–भारत उच्चस्तरीय आर्थिक व्यापारिक वार्ता प्रणालीको स्थापनाका आधारमा आर्थिक विकासको रणनीतिक सम्पर्कलाई अझ प्रबर्द्धन गर्नुपर्ने र उद्योग व्यवसायको साझेदारी सम्बन्धको स्थापनाबारे छलफल गर्नुपर्ने धारणा राष्ट्रपति सीले राखेका छन् । भारतीय औषधी र सूचना उद्योग व्यवसायहरूमा चीनलाई लगानी लगाउन प्रधानमन्त्री मोदीले स्वागत व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले चीनसँगको वास्तविक सहकार्यलाई अझ बढी गहन पार्न भारत इच्छुक रहेको बताउनुका साथै चिनियाँ उद्योग व्यवसायहरूलाई भारतीय उद्योगमा लगानीका लागि अह्वान गरे । एएफपी/रासस

२३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखकाे पाइला नेपालमा (फाेटाेफिचर सहित)

काठमाडौं । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुईदिने राजकीय भ्रमण सुरु भएको छ । एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नई हुँदै सी भारतको चेन्नई हुँदै शनिबार अपराह्न काठमाडौँमा अवतरण गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सीलाई राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर स्वागत गरेकी थिइन भने उनको साथमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली समेत गएका थिए । विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गरेका थिए । सीको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएको थियो । चिनियाँ राष्ट्रपति सीको नेपाल बसाइलाई आनन्ददायी बनाउन भव्य तयारी गरिएको छ । सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको छ । विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए । विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिङ्गारिएको छ । विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो । चिनियाँ विशिष्ट पाहुनाको आवागमनका सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका छन् । विमानस्थलबाट बाहिरिने द्वार, तीनकुने चोक, माइतीघर मण्डल, त्रिपुरेश्वर, कालीमाटी चोक ताहाचललगायत स्थान चिटिक्क सिङ्गारिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सप्तरङ्गी इन्द्रेणीको अनुभव हुने गरी पानीको फोहरा निर्माण गरिएको थियो भने ढकमक्क फुलेका फूलले विमानस्थल र सवारी मार्गको शोभा नै बढाएको थियो । राष्ट्रपति सीलाई विमानस्थलबाट उहाँलाई आतिथ्यता एवं आवासको व्यवस्था गरिएको स्थलसम्मका सवारीमार्गका दायाँबायाँ नेपाल सरकारका कर्मचारी, विभिन्न शैक्षिक प्रतिष्ठानका विद्यार्थीसहित विशाल जनसमुदायले नेपाल र चीनका झण्डा फहराउँदै स्वागत गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी सीबीच आजै राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता हुनेछ भने चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले आजै साँझ राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ । तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपतिका साथ विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारी भ्रमणदलमा सहभागी हुनुहुन्छ । राष्ट्रपति सीको यो भ्रमणलाई नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध अभिवृद्धिमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ । नेपालमा चीनका राष्ट्रपतिकाे भ्रमण २३ वर्ष पछिकाे हाे ।