विकासन्युज

एशियाको आर्थिक वृद्धि ५.९ प्रतिशत मात्र हुने, नेपालमा ७.१ प्रतिशत वृद्धिकाे प्रक्षेपण

काठमाडौं । सन २०१९ मा दक्षिण एशियाको आर्थिक वृृद्धिदर ५.९ प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ, जुन गत अप्रिल महिनाको वृद्धिदर भन्दा १.१ प्रतिशत कम हो । अल्पकालिन आर्थिक मन्दी र अनिश्चिताको प्रभावले आर्थिक वृद्धिमा नकारात्मक असर परेको विश्व बैंकको विश्लेषण छ । सन् २०१९ मा नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । आगामी वर्ष क्रमशः ६.५ र ६.५ प्रतिशतले आर्थिक वृद्धि हुने विश्व बैंकको पूर्वाअनुमान छ । बंगलादेशमा यस वर्ष ८.१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । विगतमा एशियाका देशहरुमा आन्तरिक उपभोग र माग उच्च रहेको तर पछिल्लो समय यसमा गिरावट आएको विश्व बैंकको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ । मागको कमीले यस वर्ष पाकिस्तान र श्रीलंकमा आयात १५ देखि २० प्रतिशतले घट्ने अनुमान गरिएको छ । भारतमा पनि उपभोग ३.१ प्रतिशतले घट्ने अनुमान गरिएको छ, जबकी गत वर्ष ७.३ प्रतिशतले बढेको थियो । गत वर्ष भारतमा औद्योगिक उत्पादन १० प्रतिशतले वृद्धि भएकोमा यस वर्ष १ प्रतिशत भन्दा कम भएको जनाईएको छ । सन् २०१९ मा भारतमा ६ प्रतिशतले आर्थिक वृद्धि हुने, त्यसपछिको वर्षमा क्रमशः ६.९ र ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।

ललितपुर फाइनान्सको कामु सीईओमा चन्द्र शेखर खड्का

काठमाडौं । ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा चन्द्र शेखर खड्का नियुक्त भएका छन् । गत असोज ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्कालाई संस्थाको कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाले असोज ६ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेलसम्मको लागि संस्थाको कामु सीईओमा नियुक्त गरेको हो । असोज ५ गते बसेको सञ्चालक समितिको ३९७औँ बैठकको निर्णयअनुसार संस्थाको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा खड्कालाई कम्पनी सचिवको कार्यलाई समेत निरन्तरता दिने गरी उक्त पदमा नियुक्त गरिएको हो ।

चीनसँग २० ओटा विषयमा समझदारी, सडक र सुरुङमार्ग निर्माण प्राथमिकतामा

  काठमाडौं । नेपाल र चीनबीच २० ओटा बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   राष्ट्रपति सी जिङपिङको राजकीय भ्रमणका अवसरमा दुई देशका उच्चस्तरीय सरकारी टोलीले छलफल गरी १८ ओटा समझदारीपत्र र २ ओटा लेटर अफ एक्सचेञ्ज गरी २० समझदारीमा गरेका हुन् । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो सम्झाैतापत्र दुई देशका सम्बन्धित मन्त्रालयका अधिकारीहरुबीच आदानप्रदान गरिएको थियो । सम्झौतामा नेपालका दुई शहर र चीनका दुई शहरबीच भगीनी सम्बन्ध कायम गर्ने, त्रिभुवन विश्वविद्यालयअन्तर्गत कन्फ्युसियस इन्सिच्युड स्थापना गर्ने, काठमाडौंमा खानेपानी आपूर्ति गर्ने, आयुर्वेदिक उपचारमा सहयोग गर्ने, सीमा सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण जस्ता विषय रहेको जनाइएको छ । साथै केही पूर्वाधार निर्माणका क्षेत्रमा समेत सहमति भएको जनाइएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा सोल्टी होटलमा आइतबार हस्ताक्षरपछि समझदारीपत्र आदानप्रदान गर्नुहुँदै दुवै देशका अर्थसचिव । सहमतिको विस्तृत विवरण आउन बाँकी छ । सीले शनिबार सीले काठमाडौं–नुवाकोट–केरुङ सुरुङमार्ग बनाइदिने घोषणा गरेका थिए । साे सुरुङमार्ग निर्माणमा समेत समझदारी भएकाे बताइएकाे छ ।

नेपालका आँखा अस्पतालकाे गुणस्तरीय सेवासँगै बढ्याे भारतीय बिरामीको चाप

निजगढ । बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन् । भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका बिरामी उपचारका लागि सो अस्पतालमा आउने गरेका अस्पताल स्रोतले जनाएको छ । अन्य प्रकारका स्वास्थ्य सेवाका लागि यहाँका उपचार केन्द्र विश्वसनीय नभए पनि आँखाको उपचार राम्रो भएकाले यहाँ भारतीय सेवाग्राहीको सङ्ख्या बढेको हो । दैनिकजसो भारतबाट विभिन्न सवारीसाधन प्रयोग गरी आँखासम्बन्धी उपचार गर्न आउने बिरामीको सङ्ख्या यहाँका विरामीको सङ्ख्याको ४० प्रतिशत रहेको अस्पताल स्रोतको भनाइ छ । आँखाको उपचार राम्रो हुने भएका कारण आफूहरु उपचारको लागि नेपाल आएकोे विहारका प्रताप सिंहले बताए । सरकारको हस्तक्षेप नभएका कारण पनि अस्पतालको सेवा भरपर्दो र विश्वासिलो भएको आँखा विशेषज्ञ डाक्टर सुदर्शन काफ्लेको भनाइ छ । विगत पाँच वर्षदेखि सरकारले नेपाल नेत्र ज्योति सङ्घलाई वार्षिक रु पाँच करोड सहयोग स्वरूप उपलब्ध गराउँदै आएको छ । वार्षिक एक लाख ५० हजारको हाराहारीमा बिमारीले सेवा लिने गरेको र तीमध्ये करिब २० हजारको आँखाको शल्यक्रिया हुने गरेको डा. काफ्लेले बताएका छन् । अस्पतालमा आँखाको शल्यक्रिया रु एक हजार २०० मै हुने भएको र गुणस्तरीय सेवा पनि भएकाले भारतीय बिरामीको घुइँचो लाग्ने गरेको अस्पतालका प्रशासन प्रमुख प्रकाश वर्माको भनाइ थियो । विसं २०३१ मा स्थापना भएको यो अस्पतालले एकै दिन २६५ सम्म बिरामीको शल्यक्रिया गरी विश्व ‘रेकर्ड’समेत कायम गर्न सफल भएको थियो । रासस

सभामुखपछि लगत्तै सांसद मोहम्मद आफताब आलम पक्राउ

काठमाडाैं । सभामुख कृष्णबहादुर महरा पक्राउ परेकाे एक साता नवित्दै प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद आलमलाई रौतहट प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।  उनी पूर्व मन्त्री समेत हुन् । सांसद आलमलाई गौर नजिक इद्रिस गेटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नवीन कार्कीले बताए ।  विसं २०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनीमाथि किटानी जाहेरी परेको थियो । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ । आज अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक कार्कीले बताए । उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । पछि मृतकका आफन्तले हालेको रिट निवेदनमा सुनुवाइ गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ मा दोषी आरोपित आलमसहित पाँच जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । यसअघि याैनहिंसाकाे आराेपमा प्रतिनिधिसभाका सभामुख महरालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेकाे छ ।

सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत   

काठमाडाैं । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीनफिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासँग आग्रह गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यसँगको भेटवार्तामा चीनमा आफूहरुले जनता र राष्ट्रलाई सही बाटामा डोर्याएका कारण जनताको अपार समर्थन पाएको र उक्त सद्भाव जनताको सत्ताका रुपमा स्थापित र लोकप्रिय भएको उल्लेख गरे । भेटमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति सीले नेपालको राजाीतिक उपलब्धि र विकासको पहल र नेपालको विशेषतासहितको प्रयत्नलाई बधाई दिएको र चीन नेपालको विकासका प्रयासलाई सहयोग गर्न तत्पर रहेको विश्वास दिलाएकाे बताए । “नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ । हामीबीच पहिलेदेखि नै राम्रो सम्बन्ध रहिआएको छ । यसलाई सबै तहमा विश्वास र विस्तार गर्नुपर्छ”, राष्ट्रपति सीले भने, “हामीहरुबीचको सम्बन्धलाई सरकार जनता, पार्टीको तहमा अगाडि बढाउनुपर्छ । दुई कम्युनिष्ट पार्टी भएकाले हाम्राबीचको राजनीतिक तहमा सम्बन्धका दायरा र आयामलाई अगाडि बढाउनुपर्छ ।” चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा शक्ति आर्जन गरेका कारणले त्यसैको आधारमा मात्रै आफूहरु हिँडिरहेको भन्ने नभएको बताउँदै राष्ट्रपति सीले भने, “शक्ति प्राप्त गरेका कारणले मात्रै होइन । कम्युनिष्ट पार्टीले आफूभित्रको अनुशासनलाई विशेष जोड दिनुपर्छ । त्यसलाई केन्द्रमा राखेर समाजवाद निर्माण गर्नुपर्छ । चीन र नेपालको बीचमा सकारात्मक पाटो मात्र छैन । चुनौतीका पहाड पनि छन् भन्ने बुझ्दै अगाडि बढ्नुपर्छ, जुन कुरा मैले हिजोको सम्बोधनमा समेत इङ्गित गरेकोे छु ।” भेटका अवसरमा नेकपाका अध्यक्ष दाहालले चीन र चिनियाँ कम्युनिष्ट पार्टीसँगको मित्रतालाई नेकपाले धेरै महत्व दिएको र एक चीन नीतिप्रति शब्दमा मात्र नभई व्यवहारमा समेत प्रतिबद्ध रहेको बताए । अध्यक्ष दाहालले भने, “चीनको विकासबाट हामी पनि लाभान्वित हुन चाहन्छौँ । नेपाल र नेपाली जनताले त्यसबाट लाभ लिन सक्छन् भन्ने हाम्रो विश्वास छ । तपाईँको नेतृत्वमा चीनले अझै बढी विकास गरी सबल समाजवाद निर्माण गरोस् भन्ने हाम्रो पनि अपेक्षा छ ।” राष्ट्रपति सी बसेकाे होटेलमा भएको भेटवार्तामा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र महासचिव विष्णुप्रसाद पौडेल एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए । यसपछि राष्ट्रपति सीले अध्यक्ष दाहालसँग बेग्लै भेटवार्ता गरेका थिए । राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत भएकाले दुई पार्टीका स्तरमा छलफल भएको हो । यही असोज ७ गते काठमाडौंँमा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सम्बन्ध विस्तारबारे सम्झौता भएको थियो । भेटमा राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, अन्य नेता र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी थिए ।

राष्ट्रिय बीमा कम्पनीले विद्यार्थी बीमा र क्रेडिट ग्यारेण्टी बीमा पोलीसी जारी गर्ने

काठमाडौ । राष्ट्रिय बीमा कम्पनीले बजारमा २ वटा नयाँ बीमा पोलिसी जारी गर्न अन्तिम तयारी गरिरहेको छ । उक्त बीमा कम्पनीले विद्यार्थी बीमा लेख तथा क्रेडिट ग्यारेण्टीसँग सम्बन्धित बीमा लेख जारी गर्ने भएको हो । दुबै पोलिसी तिहार अगाडि नै सार्वजनिक गर्ने तयारी भएको बताईएको छ । अहिले बजारमा अन्य कम्पनीले पनि विद्यार्थी बीमा लेख जारी गरेको भएपनि आफूहरुले बजारमा ल्याउन लागेको बीमा लेख) केही फरक रहेको कम्पनीले जानाएको छ । कम्पनीले विद्यार्थी बीमा लेखमा आफूहरुले नर्सरी कक्षा देखी कक्षा १२ सम्मका विद्यार्थीलाई समेटने जनाएको छ । राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुबास कोईरालाले नेपाली बजारमा अहिले विभिन्न किसिमका बीमा लेखहरु जारी हुँदै आएको भएपनि विद्यार्थी लक्षित बीमा लेखहरु कम रहेको बताए । साथै, बीमितहरुबाट माग भएकाले आफूहरुले क्रेडिट ग्यारेण्टी बीमा लेख समेत बजारमा ल्याउन लागेको कम्पनीले जनाएको छ । उक्त बीमा कम्पनीले बैकले दिने ऋण सम्बन्धी बीमितलाई सहज होस भनेर सो बीमा लेख जारी गर्न आवश्य ठानेको हो ।

भारतदेखि प्रतिपक्षी दल र संसदलाई समेत फकाउँदै सी, ९० प्रतिशत सम्झाैता कार्यान्वयनमा

काठमाडौं । नरिवलको ताडीमा जुस पिउँदै भरतनाट्यमको मनोरञ्जन लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ६ घण्टासम्मको अनौपचारिक समिट सकेर २ दिने औपचारिक राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार बेलुकी ५ बजे काठमाडौं आइपुगे । जसरी भारतीय बाटो हुँदै नेपालको व्यापारिक सम्बन्ध चीनसँग हुँदै आएको छ, त्यसैगरी नेपालको कुटनीतिक सम्बन्धमा पनि भारतीय उपस्थितिको झल्को दिनेगरी काठमाडौं आएका उनको यो गतिविधिको भित्री आशय नेपाल–चीन कुटनीतिक सम्बन्धमा भारत नचिढियोस् भन्ने चाहेका हुनसक्छ । त्यसै भएर उनले नेपालको यो भ्रमणमा भारतलाई नचिढ्याउने नीति लिए । सी–मोदीले गरेको फोहोर मोदीले टिपेको चर्चा भारतमा सेलाउन नपाउँदै उनी नेपालबाट बाहिरिनेछन् । सी शनिबार बेलुकी मात्रै काठमाडौं आए पनि मिडियामार्फत् उनी बिहीबारदेखि नै छाउने प्रयास गरेका थिए । सरकारी मुखपत्रको रुपमा रहेको गोर्खापत्र लगायत मूलधारका मुख्य मिडियालाई विशेष आलेख उपलब्ध गराएर नेपाली मिडिया र जनतासम्म छाउने प्रयास सीको थियो । काठमाडौं ओर्लिएसँगै नेपाली सेनाबाट सलामी ग्रहण गरेका उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग औपचारिक रुपमा भेट गर्नुबाहेक पहिलोपटक प्रमुख प्रतिपक्षी दलका शीर्ष नेता शेयबहादुर देउवा र संघीय संसदका तर्फबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भेटे । राजकीय भ्रमणहरुका सम्बन्धमा सामान्यतया प्रमुख प्रतिपक्षी दल वा संसदको कुनै भूमिका हुन्न । तर भ्रमणका क्रममा भएका सहमतिको स्वामित्व ती दुई पक्षले नलिएसम्म कार्यान्वयन हुने अवस्था समेत रहन्न । नेपालको शासकीय प्रणालीलाई बुझेका सीले यी दुई भेटबाट उनले आफ्नो उपस्थितिमा भएका सम्झौताहरु कार्यान्वयनमा प्रतिपक्षी दल र संसदको समेत भविष्यसम्मै साथ चाहिने ठान्दै उनीहरुलाई विश्वास दिलाउने पर्यत्न गरे । अहिले संसद अधिवेशन छैन । संसदको हिउँदे अधिवेशन सुरु भएपछि सीको भ्रमणका बारेमा संसदमा उठ्नसक्ने प्रश्न वा संसदले सहमतिहरुमा स्वामित्व ग्रहण नगर्न सक्ने अवस्थालाई सीको यस दुई भेटले अन्त्य गरिदिएको छ । उता प्रमुख प्रतिपक्षी दलका तर्फबाट भ्रमण र सहमतिका अन्तर वस्तुमा हुनसक्ने विमतिलाई कम गर्ने काम समेत उनले गरेका छन् । सोल्टी होटेलको रात्रीभोजमा नेपालका राष्ट्रपतिसँगै उनले पनि सम्बोधन गर्दैै नेपाल र चीनबीचको सम्बन्ध र हिमालवारि र हिमालपारिको बहुआयामिक कनेक्टिभिटीमा जोड दिने बताए । सम्बोधनका क्रममा उनले नेपालले चीनको सहयोगमा निर्माण गर्न चाहेका सबैजसो आयोजनाहरुको नाम लिए जसले गर्दा नेपाल सरकार र नेपाली जनतामा समेत एउटा उत्साहको वातावरण सिर्जना हुन सफल भयो । यद्यपि महँगो लागत र प्रधानमन्त्री केपी शर्मा ओलीको रणनीतिक महत्वको काठमाडौं–केरुङ रेलमार्ग निर्माणको मोडालिटीमा नगई सम्भाव्यता अध्ययन मात्रै गर्नेगरी सीले टार्ने प्रयास गरेका छन् । हुन त सम्भाव्यता अध्ययन नै नभएको परियोजनालाई त्यत्तिकै बनाइदिन्छु भनेर विश्वकै शक्तिशाली व्यक्तिबाट बोलिनु उपयुक्त नहुन पनि सक्छ तर नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा महत्व दिएर सम्बोधन गरेको विषयलाई सम्भाव्यता अध्ययनको नाममा टार्न खोज्नु चीनको प्राथमिकतामा यो योजना नपर्नु वा कम पर्नु हो । यसका बाबजुद पनि उनले त्यस्तो आभाष हुन दिएनन् । नेपाल भ्रमण गर्नुअघि नेपाल कम्युनिष्ट पार्टीमार्फत् उनले नेपालमा आफ्नो विचारधाराको प्रचार समेत गराउन सफल भए । स्पष्ठ बहुमतसहितको सत्तारुढ दलमै आफ्नो विचारधारालाई प्रशिक्षित गराउँदा यसले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा छुट्टै तरंग सिर्जना समेत गर्यो । तर नेपालको भूराजनीतिक परिस्थितिमा उनको विचार लागु हुने सम्भावना निकै कम छ । नेपाल आएपछि पनि उनका गतिविधिले नेपाली जनतालाई थप उत्साहित बनाउन सफल भए । भारतीय प्रधानमन्त्रीले गरेको भाषणजस्तो शैली र लबजले नेपालीको मन जित्नसक्ने सुविधा सीमा छैन, किनकी उनले बोल्ने भाषा र नेपाली भाषामा निकै भिन्नता छ, त्यसका बाबजुद आफ्नो भ्रमणलाई सबैले स्वामित्व ग्रहण गर्नसक्ने बनाउनु उनको सफलता हो । सीले द्विदेशीय रुपमा जतिपनि सम्झौता भएका छन् ती सम्झौताहरुमध्ये ९० प्रतिशत सहमतिहरु कार्यान्वयनमा गइसकेको बताइन्छ । त्यसैले उनी हत्तपत्त कुनैपनि कुरा बोल्दैनन् तर बोलेका कुराहरु पूरा गर्नुपर्छ भन्नेमा दृढ छन् भन्ने सन्देश उनले विश्वलाई नै दिन सफल भएका छन् । त्यसो त सोल्टी होटेलमा गरेको सम्बोधनमा उनले नेपालीहरुलाई दिएको सन्देश पनि यही हो कि ‘आँटेको योजना जसरी पनि पूरा गर !’ सीकाे नेतृत्वमा रहेकाे चीनले ‘दुईवटा सयवर्षको लक्ष्य’ लिएको छ । यो लक्ष्यका बीचमा उनले एउटा अर्को लक्ष्यको घोषणा गरेका छन् – ‘हिमालवारि र हिमालपारिको बहुआयामिक कनेक्टिभिटी’ । यसअन्तर्गत, सडक, विद्युत्, रेलमार्ग हवाई सञ्जालका अतिरिक्त सामाजिक र सांस्कृतिक सम्बन्धहरु समेत पर्छन् । विश्वलाई नेतृत्व गर्न चाहेको उनले सबै पक्षहरुलाई विश्वासमा दिँदै लिएको यो लक्ष्य भने कत्तिको सार्थक हुन्छ, यो भने समयले देखाउनेछ ।