नेपालमा उत्पादित सुन्तला तथा जुनार अब सजिलै चिनियाँ बजारमा
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीङपिङले नेपाल भ्रमणको क्रममा नेपालमा उत्पादित सुन्तला, कागती, जुनार तथा फलफूलहरु चीन निर्यात गर्न पाउने सहमति भएकाे छ । लामो समयदेखि झन्झटिलो क्वारेन्टाईनका कारण सुन्तला तथा जुनारजन्य फलफूल निर्यातमा चीनले रोक लगाएको थियो । हालै चिनीयाँ राष्ट्रपतिको राजकिय नेपाल भ्रमणका बेलामा भएको २० बुदेँ सहमति भित्र कृषि क्षेत्रबाट कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले सो प्रस्ताव राखेका हुन् । जस अन्तर्गत नेपालको सुन्तला, कागती साथै जुनार चीनमा निर्यात गर्न चीन सरकारले स्विकृति दिनु पर्ने रहेको थियो उक्त प्रस्ताव सहजै स्वीकृत भएको छ । चिनियाँ राष्ट्रपतिका साथै प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा चिनियाँ राजदूत र कृषि मन्त्रालयका सचिव डा. युवकध्वज जिसीबीच सो विषयमा साझेदारी भएको थियो । उक्त साझेदारीमा चिनियाँ मापदण्ड भित्र परेका सबै नेपाल फलफूल नेपालबाट चिनियाँ बजारमा सहजै लैजान सक्ने कृषिमन्त्रालयले जनाएको छ ।
चार करोड लगानीमा वातावरण मैत्री उद्योग सञ्चालन
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ बनकट्टीमा चार करोड रुपैयाँको लगानीमा वातावरण मैत्री उद्योग सञ्चालनमा आएको छ । आईतबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले औपचारिक रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । प्लाष्टिक झोलाले फैलाउँदो वातावरणीय प्रदषणलाई मध्यनजर गर्दै साङ्लो गु्रपले पहिलो उद्योगको रुपमा साङ्लो गु्रप एण्ड ईण्डष्ट्रिज प्रा.लि.को नामबाट उक्त नन् ओभन उद्योग सञ्चालनमा ल्याएको छ । सम्भवतः नेपालमै पहिलो पटक मल्टीकलर प्रिन्टिङको सुविधा सहित उत्पादन सुरु गरिएको उक्त झोलाले द्रुतगतिमा बजार विस्तार गर्न सक्ने विश्वास पनि ब्यक्त गरिएको छ । संस्थाका अध्यक्ष खिमानन्द भुषालको अध्यक्षता र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा कम्पनीको संक्षिप्त जानकारी गराउँदै अध्यक्ष खिमानन्द भुषालले समयको माग र बदलिंदो परिस्थितिसँगै सहयात्रा गरौं भन्ने उद्देश्यले सानो सानो पुँजिलाई एकिकृत गरी साङ्लो गु्रप एण्ड इण्डष्ट्रिज प्रा.लिको स्थापना गरेर वातावरण मैत्री उद्योग सञ्चालनमा ल्याएको बताए । उनले तिलोत्तमा नगरपालिकाले अगाडी सारेको ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा र राष्ट्रिय स्तरमै वातावरण सुरक्षाको लागि साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज प्रा.लि. स्थापना सहयोगी भूमिकामा रहिरहने धारणा व्यक्त गरे । वर्तमान समयमा उद्योगले १३ जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी गराउँदै अध्यक्ष भुषालले निकट भविष्यमै कृषि, यातायात, सहुलियत सपिङ मल लगायत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने उद्देश्य बोकेको जानकारी दिएका छन् । प्रमुख घिमिरेले नगरपालिकाका सबै बजारहरुमा आफ्ना उत्पादनहरु पु¥याएर पूर्ण प्लाष्टिक झोला मुक्त गर्ने नगरपालिकाको अभियानमा सहयोग गर्नपनि आग्रह गरेका छन् । एक्लो प्रयासले कुनैपनि कामलाई सफलताको सिढीमा चढाउन असम्भव हुने हुँदा २५ जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको उद्योग एक जनाको लागि उपयुक्त स्थान भएकोले फरक फरक क्षेत्रका अन्य २४ वटा उद्योगहरु पनि सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजना ल्याएको बताएका छन् ।
नेपाल–चीनबीचको सहमति : रेलमार्गदेखि सुरुङमार्गसम्म (सूचीसहित)
काठमाडौं । नेपाल र चीनबीच आइतबार भएको बीसबुँदे समझदारीमा पूर्वाधार निर्माणका अतिरिक्त कन्फ्युसियस इन्सिच्युड स्थापना गर्ने विषयसम्म समेटिएका छन् । चीनका राष्ट्रपति सी जिङपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको २० ओटा सम्झौताहरुमा सो विषय समेटिएका हुन् । नेपाल र चीनबीच भएका सम्झौताका २० बुँदाहरु यसप्रकार छन् । १. सीमा व्यवस्थापपन प्रणालीका सम्बन्धमा नेपाल र चीन सरकारबीच समझदारी । २. शासकीय क्षमता सुधारका लागि सहयोग गर्ने सम्बन्धमा नेपाल सरकार र चीन सरकारबीच समझदारी । ३. कानूनी सहयोग र आपराधिक विषयवस्तुबारे दुई देशबीच सन्धी । ४. सगरमाथा क्षेत्रको संरक्षणका लागि नेपाल र चीनबीच आपसी सहयोग । ५. राष्ट्रिय योजना आयोगको चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबीच लगानी गरिएका योजनाहरुको उत्पादकत्व क्षमता विस्तार गर्ने ६. चीनको चेँग्दु शहरमा नेपाली महावाणिज्य दुतावास खोल्ने समझदारी । ७. क्रसबोर्डर रेल्वेको सम्भाव्यता अध्ययन गर्न नेपाल र चीनको भौतिक पूर्वाधार मन्त्रालयबीच सहमति । ८. काठमाडौं र नान्जिङ शहरबीच भगीनी सम्बन्ध कायम गर्ने । ९. बुटवल र चीनको सियिङ शहरबीच भगीनी सम्बन्ध कायम गर्ने । १०. परम्परागत औषधी (आयुर्वेद)को क्षेत्रमा सहयोग गर्न नेपालको स्वास्थ्य तथा जनसंख्या र चीनको नेशनल एड्मिनिष्ट्रेसन अफ ट्रेडिसनल चाइनिज मेडिसिनबीच लेटर अफ एक्सचेञ्ज । ११. प्रकोप जोखिम न्यूनीकरण र आपत व्यवस्थापन गर्न चीन र नेपालको गृह मन्त्रालयबीच समझदारी । १२. नेपाल र चीनको महान्यायाधीवक्ता कार्यालयबीच सहयोग आदानप्रदान गर्ने सम्झौता । १३.त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस विश्वविद्यालयबीच नेपालमा कन्फ्युसियस इन्सिच्ुड सञ्चालन गर्ने सहमति १४. नेपालबाट चीनमा फलफुल निर्यात गर्ने सम्बन्धमा कृषि मन्त्रालय र चीनको अध्यागमन विभागबीच समझदारी । १५. नेपाल र चीनका वाणिज्य मन्त्रालयबीच व्यापारमा साझेदार गर्ने समझदारी १६. चाइना एडअन्तर्गत सञ्चालित भुकम्प अनुगमनसम्बन्धी योजनाका सम्बन्धमा । १७. अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोगसम्बन्धी वर्किङ ग्रुप गठन गर्नेे सहमति । १८. सुरुङमार्ग निर्माणमा सहयोगका सम्बन्धमा अर्थ मन्त्रालय र चीनको अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीबीच समझदारी । १९. सीमा सुरक्षा र संसाधन सहयोगबारे समझदारी २०. काठमाडौं उपत्यकामा खानेपानी सुधार परियोजनाबारे सम्भाव्यता अध्ययन ।
साढे ५ करोड लागतमा निर्माणाधीन पुल अलपत्र अवस्थामा
गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाअन्तर्गत उरर्ली खोलामा निर्माणाधीन पक्की पुल तीन वर्षसम्म निर्माण सम्पन्न नहुँदा यतिबेला अलपत्र अवस्थामा छ । तीन वर्ष अघि निर्माण सम्पन्न भई सक्नुपर्ने उक्त पक्की पुल निर्माण व्यवसायीको लापर्बाहीका कारण अलपत्र परेको हो । कतिबेला पुल बन्ला र त्यही पुलको माध्यमबाट आवतजावत गर्न सहज होला भनेर पर्खेर बसिरहेका त्यस क्षेत्रका हजारौँ मानिस पुलको निर्माण कार्य नै अलपत्र परेपछि यति बेला थप निरास बन्दै जान थालेका हुन् । पुल निर्माणको जिम्मा पाएको लुम्बिनी शान्ति जेभी काठमाडौँले २०७३ साल कात्तिक २६ गते पुल निर्माणको काम सम्पन्न गरी सक्नुपर्ने सम्झौता गरेको थियो तर पुल निर्माण कार्य समयमै सम्पन्न हुनु त कता हो कता आधा निर्माण भएको संरचनासमेत जोखिमपूर्ण अवस्थामा अलपत्र अवस्थामा छोडिएको छ । पुल निर्माण शुरु गरेपछि त्यतिबेला त्यहाँका स्थानीय खुशीले गद्गद् बनेका थिए तर तीन वर्षसम्म पुल अलपत्र अवस्थामा पर्दा त्यस क्षेत्रका मानिसको खुशी पनि खोसिएको स्थानीय लक्ष्मण ढकालले बताएका छन् । “आफ्नै घर अगाडि पक्की पुल बनेपछि सदरमुकाम तम्घास आवतजावत गर्न निकै सजिलो हुने भो भनेर निकै खुशी बनेका थियौँ तर तीन वर्षसम्म पुल अलपत्र बनेको र यसको निर्माण कार्यमा सम्बन्धित निकायले चासो नदिएकोमा हामी अत्यन्तै निराश बनेका छौँ”, उनले भने । रु पाँच करोड ५० लाख लागतमा पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनी लुम्बिनी शान्ति जेभि काठमाडौंले पुल निर्माणको काम ५० प्रतिशत पुग्दै गर्दा फाउण्डेशन खन्ने क्रममा खोलाको सतहवाट पानी आइरहेको र त्यसलाई हटाउन नसकिएको भन्दै त्यसको डिजाइन परिवर्तन गरि पाइल फाउण्डेशन गर्नुपर्ने माग राख्दै काम बन्द गरेको थियो । मदन भण्डारी राजमार्ग योजना एकाइ कार्यालय गुल्मीले भने निर्माण व्यवसायीले काममा आलटाल गर्ने गरी उक्त तर्क अघि सारेको र उक्त तर्कमा आफूहरु प्रविधिक हिसाबले विश्वस्त नभएको भन्दै निर्माण व्यवसायीले बहाना बनाएर कामबाट उम्कन खोजेको योजना प्रमुख सन्तोषकुमार कर्णले बताए । गत तीन वर्ष अघि निर्माण सक्नुपर्ने उक्त पुल निर्माणका लागि स्थानीयवासीले पटकपटक राजनीतिक दलका नेतालाई गुहार्दै आइरहेका छन् । पछिल्लो समयमा उक्त पुलको निरीक्षण गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्ने र ठेक्का होल्ड गरेर बस्ने गरेको भन्दै त्यस्ता निर्माण व्यवसायीलाई कारवाही गरिने बताएका थिए । जिल्लामा सञ्चालित विकास निर्माणका योजनाको अनुगमन गर्ने क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उक्त अलपत्र अवस्थामा रहेको पुलको काम चाँडै सम्पन्न गर्ने आश्वासनसमेत दिएका थिए। सत्यवती गाउँपालिकाभित्र निर्माणाधीन अवस्थामा अलपत्र परेको उक्त पुलको बारेमा स्थानीयले पटकपटक गाउँपालिका कार्यालयमा गुनासो गरिरहेको हुँदा आफूले पनि गाउँपालिकाको तर्फबाट निर्माण व्यवसायी र मदन भण्डारी राजमार्ग योजना एकाइ कार्यालयसँग पुल निर्माणको काम तत्कालै सञ्चालन गर्नका लागि पहल गरिरहेका थिए । यसरी, पहल गर्दा पनि सरोकार निकायले त्यसमा खासै चासो नदेखाएका कारण काम अलपत्र परेको सत्यवती गाउपालिका अध्यक्ष पारिश्वर ढकालले बताएका छन् । यसरी लामो समयसम्म करोडौँको योजना यसरी अलपत्र परेपछि स्थानीय पनि पुल निर्माणको काम सञ्चालन होला कि नहोला भनेर थप अन्योलमा परेका छन् । रासस
एशियाको आर्थिक वृद्धि ५.९ प्रतिशत मात्र हुने, नेपालमा ७.१ प्रतिशत वृद्धिकाे प्रक्षेपण
काठमाडौं । सन २०१९ मा दक्षिण एशियाको आर्थिक वृृद्धिदर ५.९ प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ, जुन गत अप्रिल महिनाको वृद्धिदर भन्दा १.१ प्रतिशत कम हो । अल्पकालिन आर्थिक मन्दी र अनिश्चिताको प्रभावले आर्थिक वृद्धिमा नकारात्मक असर परेको विश्व बैंकको विश्लेषण छ । सन् २०१९ मा नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । आगामी वर्ष क्रमशः ६.५ र ६.५ प्रतिशतले आर्थिक वृद्धि हुने विश्व बैंकको पूर्वाअनुमान छ । बंगलादेशमा यस वर्ष ८.१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । विगतमा एशियाका देशहरुमा आन्तरिक उपभोग र माग उच्च रहेको तर पछिल्लो समय यसमा गिरावट आएको विश्व बैंकको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ । मागको कमीले यस वर्ष पाकिस्तान र श्रीलंकमा आयात १५ देखि २० प्रतिशतले घट्ने अनुमान गरिएको छ । भारतमा पनि उपभोग ३.१ प्रतिशतले घट्ने अनुमान गरिएको छ, जबकी गत वर्ष ७.३ प्रतिशतले बढेको थियो । गत वर्ष भारतमा औद्योगिक उत्पादन १० प्रतिशतले वृद्धि भएकोमा यस वर्ष १ प्रतिशत भन्दा कम भएको जनाईएको छ । सन् २०१९ मा भारतमा ६ प्रतिशतले आर्थिक वृद्धि हुने, त्यसपछिको वर्षमा क्रमशः ६.९ र ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।
ललितपुर फाइनान्सको कामु सीईओमा चन्द्र शेखर खड्का
काठमाडौं । ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा चन्द्र शेखर खड्का नियुक्त भएका छन् । गत असोज ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्कालाई संस्थाको कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाले असोज ६ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेलसम्मको लागि संस्थाको कामु सीईओमा नियुक्त गरेको हो । असोज ५ गते बसेको सञ्चालक समितिको ३९७औँ बैठकको निर्णयअनुसार संस्थाको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा खड्कालाई कम्पनी सचिवको कार्यलाई समेत निरन्तरता दिने गरी उक्त पदमा नियुक्त गरिएको हो ।
चीनसँग २० ओटा विषयमा समझदारी, सडक र सुरुङमार्ग निर्माण प्राथमिकतामा
काठमाडौं । नेपाल र चीनबीच २० ओटा बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी जिङपिङको राजकीय भ्रमणका अवसरमा दुई देशका उच्चस्तरीय सरकारी टोलीले छलफल गरी १८ ओटा समझदारीपत्र र २ ओटा लेटर अफ एक्सचेञ्ज गरी २० समझदारीमा गरेका हुन् । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो सम्झाैतापत्र दुई देशका सम्बन्धित मन्त्रालयका अधिकारीहरुबीच आदानप्रदान गरिएको थियो । सम्झौतामा नेपालका दुई शहर र चीनका दुई शहरबीच भगीनी सम्बन्ध कायम गर्ने, त्रिभुवन विश्वविद्यालयअन्तर्गत कन्फ्युसियस इन्सिच्युड स्थापना गर्ने, काठमाडौंमा खानेपानी आपूर्ति गर्ने, आयुर्वेदिक उपचारमा सहयोग गर्ने, सीमा सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण जस्ता विषय रहेको जनाइएको छ । साथै केही पूर्वाधार निर्माणका क्षेत्रमा समेत सहमति भएको जनाइएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा सोल्टी होटलमा आइतबार हस्ताक्षरपछि समझदारीपत्र आदानप्रदान गर्नुहुँदै दुवै देशका अर्थसचिव । सहमतिको विस्तृत विवरण आउन बाँकी छ । सीले शनिबार सीले काठमाडौं–नुवाकोट–केरुङ सुरुङमार्ग बनाइदिने घोषणा गरेका थिए । साे सुरुङमार्ग निर्माणमा समेत समझदारी भएकाे बताइएकाे छ ।
नेपालका आँखा अस्पतालकाे गुणस्तरीय सेवासँगै बढ्याे भारतीय बिरामीको चाप
निजगढ । बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन् । भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका बिरामी उपचारका लागि सो अस्पतालमा आउने गरेका अस्पताल स्रोतले जनाएको छ । अन्य प्रकारका स्वास्थ्य सेवाका लागि यहाँका उपचार केन्द्र विश्वसनीय नभए पनि आँखाको उपचार राम्रो भएकाले यहाँ भारतीय सेवाग्राहीको सङ्ख्या बढेको हो । दैनिकजसो भारतबाट विभिन्न सवारीसाधन प्रयोग गरी आँखासम्बन्धी उपचार गर्न आउने बिरामीको सङ्ख्या यहाँका विरामीको सङ्ख्याको ४० प्रतिशत रहेको अस्पताल स्रोतको भनाइ छ । आँखाको उपचार राम्रो हुने भएका कारण आफूहरु उपचारको लागि नेपाल आएकोे विहारका प्रताप सिंहले बताए । सरकारको हस्तक्षेप नभएका कारण पनि अस्पतालको सेवा भरपर्दो र विश्वासिलो भएको आँखा विशेषज्ञ डाक्टर सुदर्शन काफ्लेको भनाइ छ । विगत पाँच वर्षदेखि सरकारले नेपाल नेत्र ज्योति सङ्घलाई वार्षिक रु पाँच करोड सहयोग स्वरूप उपलब्ध गराउँदै आएको छ । वार्षिक एक लाख ५० हजारको हाराहारीमा बिमारीले सेवा लिने गरेको र तीमध्ये करिब २० हजारको आँखाको शल्यक्रिया हुने गरेको डा. काफ्लेले बताएका छन् । अस्पतालमा आँखाको शल्यक्रिया रु एक हजार २०० मै हुने भएको र गुणस्तरीय सेवा पनि भएकाले भारतीय बिरामीको घुइँचो लाग्ने गरेको अस्पतालका प्रशासन प्रमुख प्रकाश वर्माको भनाइ थियो । विसं २०३१ मा स्थापना भएको यो अस्पतालले एकै दिन २६५ सम्म बिरामीको शल्यक्रिया गरी विश्व ‘रेकर्ड’समेत कायम गर्न सफल भएको थियो । रासस