विकासन्युज

एनआरएनको ९औँ विश्व सम्मेलन राजधानीमा शुरु, ८१ देशबाट २५ सय प्रतिनिधि सहभागी

काठमाडौं । गैर अवासीय नेपाली संघ (एनआरएन) को ९ औँ विश्व सम्मेलन राजधानीमा शुरु भएको छ । मंगलबार सुरु भएको एनआरएनको सम्मेलन आगामी बिहीबारसम्म चल्नेछ । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी हुन्। यस्तै, परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, उद्योग वाणिज्य महासंघको वरिष्ट उपाध्यक्ष भवानी राणा, एनआएनएका अध्यक्ष भवन भट्ट लगायतको कार्यक्रममा उपस्थिति रहेकाे छ । यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल इन्भेष्टमेण्ट बोर्डका सिईओ महा प्रसाद अधिकारी, नेपाल उद्योग परिसंघका अध्यक्ष सत्तिस कुमार मोर, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, फेड्रेसन अफ नेप्लीज चेम्बर अफ कमर्सका उपाध्यक्ष चन्द्र ढकालको कार्यक्रममा उपस्थित रहने छन् । सम्मेलनमा ८१ देशबाट २५ सय प्रतिनिधि सहभागी छन् । बिहान ९ बजे शुरू भएकाे उक्त कार्यक्रम साँझ साढे ६ बजेसम्म संचालन हुनेछ ।

५ करोड लागतमा ‘इको टुरिजम उद्यान’ बन्ने, १८ महिनामा सक्नेगरी सेभ इञ्जिनीयरिङ कन्स्ट्रक्सनलाई जिम्मा

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण गर्न लागिएको इको टुरिजम उद्यान सञ्चालनमा ल्याइने भएको छ । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले सोमबार सो उद्यान शिलान्यास गरेका हुन् । वनको आयआर्जनका लागि रु पाँच करोडको लागतमा शिखर हरियाली सामुदायिक वनको १३ बिघा जमिनमा अत्याधुनिक सामुदायिक उद्यान निर्माण गर्न लागिएको हो । उद्यान परिसरमा स्वीमिङ पुल, बाल उद्यान, फूलको बगैँचा, पानीको फोहोरा, वनभोजस्थल, आरामका लागि गोलघर, बिजुलीको व्यवस्था हुने सामुदायिक वनका अध्यक्ष केदार आचार्यले जानकारी दिए । उद्यान निर्माणको जिम्मा पाएको सेभ इञ्जिनीयरिङ कन्स्ट्रक्सन प्रालिले १८ महिनाभित्र निर्माण गर्ने गरी सम्झौता गरेको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले उद्यान निर्माणपछि पूर्वी चितवनको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरेका छन्। रासस

२०२० मा ५ लाख चिनियाँ पर्यटक भित्र्याउने नेपालको लक्ष्यमा सी चिनफिङको साथ

काठमाडौं । दक्षिण एसियामा चिनियाँ नागरिकहरूको छनोटको पहिलो गन्तव्य देश नेपाल हो । हाल प्रत्येक हप्तामा दुई देशबीचका लगभग ६० उडानहरू छन्, हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिहरूले एकअर्काको देश भ्रमण गर्दछन् । नेपालमा पाइला टेक्नुभन्दा एक दिनअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालका दुई ठूला दैनिक पत्रिकामा प्रकाशन गरेको आलेखमा भनेका छन्– लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको छ । … दिन प्रतिदिन बढ्दो आदानप्रदानले दुई देशका जनताबीचको समझदारी बढाउनुका साथै दुई देशका विकास र प्रगतिमा प्रेरक शक्ति थपेका छन् । नेपाल आएपछि राष्ट्रपति विद्यादेवि भण्डारीले आयोजना गरेको रात्री भोजमा सहभागीलाई सम्बोधनको क्रममा पनि सी चिनफिङले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने चिनियाँ नागरिकहरुलाई नेपाल भ्रमणमो लागि प्रेरित गर्ने बताए । उनको लेखाई र भनाईले नेपालको पर्यटन क्षेत्रमा केही उत्साह थपेको छ । पछिल्ला वर्षहरुमा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढेकोले पनि राष्ट्रपति सी चिनफिङको भनाई प्रति नेपाली पर्यटन व्यवसायी आश्वस्त भएका छन् । सन् २०१७ मा एक लाख चार हजार ६६४ चिनियाँ नागरिक नेपाल घुम्न आएका थिए । सन् २०१८ मा एक लाख ५४ हजार ६३३ जना चीनियाँ पर्यटकहरु नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले बढी हो । समग्रमा विदेशी पर्यटकको आगमन सन् २०१७ को तुलनामा २०१८ मा करिव २५ प्रतिशतले वृद्धि भएको बेलामा चिनियाँ पर्यटकको वृद्धि दर झण्डै दोब्बर बढी छ । गत वर्ष विभिन्न देशहरुबाट ११ लाख ७३ हजार विदेशी पर्यटक नेपाल भित्रिएको तथ्याङ्कले देखाएको छ । सन् २०१७ मा भने ९ लाख ४० हजार २ सय १८ जना पर्यटक नेपाल घुम्न आएका थिए । पछिल्ला तीन वर्षमा भने चीनियाँ पर्यटकहरुको नेपाल आगमनमा निरन्तर बढेको नेपाल पर्यटन बोर्डका अनुसन्धान तथा योजना विभागका गोकुल भण्डारीले बताए । उनका अनुसार सन् २०१९ को जुनसम्म ८५ हजार ३०८ जना चिनियाँ पर्यटक नेपालमा आएका छन् । शक्तिशाली देशका शक्तिशाली व्यक्तित्वको नेपाल भ्रमणले नेपाल भ्रमण वर्ष २०२०लाई समेत उल्लेख्य टेवा पुग्ने नेपाल भ्रमण वर्षका संयोजक सुरज बैद्यको विश्वास छ । पछिल्लो समय चीनियाँ पर्यटकहरु नेपालमा बिदा मनाउन, हिमाल चढ्न वा पदयात्रा गर्न, तिर्थयात्रीका रुपमा, व्यापार व्यवसाय गर्न, लगायतका अन्य उदेश्यका साथ नेपाल आउने गरेको पर्यटन बोर्डले जनाएको छ । हाल नेपाल–चीन र चीन–नेपाल गरी हप्ताको साठी पटक हवाई जहाजहरु ओहोर दोहोर हुने गरेको छ । अब दुई देशबीचको उडान संख्या साताको ९८ बनाउने दुई देशबीच हवाई सम्झौता पनि यसै वर्ष भएको छ । नेपालले २०२० मा चीनबाट मात्र ५ लाख पर्यटक भित्र्याउने नेपालको लक्ष्यमा सी चिनफिङको भ्रमणले साथ दिएको छ । घट्दो आम्दानी विदेशबाट नेपाल आउने पर्यटकहरुको संख्या वर्षेनी बढेपनि तिनीहरुले गर्ने खर्चमा भने झन्–झन् कम हुँदै गएको देखिएको छ । नेपाल पर्यटकको संख्यामा जसरी बृद्धि भइरहेको छ, त्यसैगरी उनीहरुले गर्ने खर्चमा भने बढेको छैन । बरु, त्यो बृद्धिदर घटेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्ला तीन वर्षमा पर्यटकको आम्दानी बृद्धिदरमा कमी आएको छ । अघिल्लो वर्ष ४० प्रतिशतले बढेको आय गत वर्ष १४ प्रतिशतले मात्र बढेको छ । विश्वब्यापी रुपमा ट्राभल कस्ट कम हुँदै गएकोले पनि आयको बृद्धिदर पहिले जस्तै बढ्न नसक्नु एउटा कारण हो । छिमेकी मुलुकबाट आउनेहरुले आफ्नै देशमा भुक्तानी गरेर नेपालमा सेवा लिने प्रवृति बढेकोले आय अपेक्षित बढ्न नसकेको पाइएको हो ।  नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभाग प्रमुख सरिता भट्टले नेपालमा पर्यटकहरुले खर्च गर्ने प्रशस्त ठाउँहरु नभएका, उनीहरुको बसाई अवधि कम भएकोले पनि पर्यटक संख्या वृद्धि भए झै आए वृद्धि नभएको बताइन् । साथै, चिनियाँ पर्यटकहरुले नेपाल भ्रमण गर्दा नेपालीहरुलाई तुलनात्मक रुपमा कम लाभ भएको पनि नेपाली व्यवसायीहरुको अनुभव छ । उनीहरुले नेपाल भ्रमण गर्दा गरेको खर्च पनि वीच्याट र अलिपेबाट भुक्तानी गर्ने गरेकोले नेपाल विदेशी मुद्रा आर्जन गर्नमा चुकेको छ । तर नेपाल राष्ट्र बैंकले गत जेठ महिनामा एक सूचना जारी गरी वीच्याट र अलिपे लगायत राष्ट्र बैंकबाट स्वीकृत नपाएको कुनै पनि कम्पनी वा एपबाट हुने कारोबारमा बन्देज लगाएको छ ।

पर्यटकहरुलाई सुरक्षा दिन सशक्त रुपमा अगाडि बढ्दै नेपाल प्रहरी

काठमाडौं । मुलुकभर पर्यटन वर्षको स्वागतका लागि तयारी तीव्र पारिएको छ । यहि क्रममा नेपालमा आउने पर्यटकहरुलाई सुरक्षा दिन नेपाल प्रहरी सशक्त रुपमा अगाडि बढेको छ । पर्यटकीय क्षेत्र भएका जिल्लाहरुमा त्यहाँ कार्यरत सुरक्षा प्रमुखहरुले विशेष रणनीतिहरु अहिले देखि नै शुरु गरिसकेका छन् । यसैक्रममा मनाङ प्रहरीले पनि पर्यटक सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर विभिन्न रणनितिहरु तय गर्दैै विशेष सुरक्षा योजना लागु गरिसेकेका मनाङको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक (डिएसपी) टीका बहादुर कार्कीले जानकारी दिएका छन् । यतिवेला जिल्लामा आउने पर्यटकको लागि सिजन सुरु भएको छ । आफ्नो महत्वपूर्ण समयको व्यवस्थापन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्ला भित्रिनेको संख्या बढ्दै छ । जिल्ला आउने पर्यटकको रोजाई तिलिचो ताल अग्रस्थानमा छ । उच्च स्थानमा रहेको मनोरम तिलिचो तालमा पुग्ने पर्यटकको संख्या बढ्दै गर्दा त्यहाँ पुग्ने पर्यटकको सुरक्षा मनाङ प्रहरीले कडा रुपमा गर्दै आएको छ । पर्यटकको सुरक्षाका लागि मनाङ प्रहरीले तिलिचो तालमा नै प्रहरी गस्ती सुरु गरेको छ । अन्नपूर्ण पदमार्ग अन्तरगत पर्ने महत्वपूर्ण गन्तव्य तिलिचो तालमा पुग्ने पर्यटकको सुरक्षाका लागि प्रहरी गस्ती सुरु गरिएको प्रहरी प्रमुख कार्कीले बताए । अन्नपूर्ण पदमार्गमा आउने प्रर्यटकको चाप बढेसंगै उनीहरुको सुरक्षाका लागि प्रहरी तिलिचोसम्म पुगेको हो । यो हाम्रो दायित्व र जिम्मेवारी दुवै हो, डिएसपी कार्कीले भने, प्रहरी सहायक निरीक्षक मोहदत्त शर्माको कमाण्डमा प्रहरी टोली त्यहाँ पुगेको छ । यसले पर्यटकलाई पनि आफु सुरक्षित छु भन्ने महशुस हुनेछ । गस्तीसंगै डिएसपी टिका बहादुर कार्कीको कमाण्डमा ५१०६ मिटर उचाईमा रहेको लार्केपासमा गस्ती तथा ४१७५ मिटरउचाईमा रहेको नार्पाभूमी गाउँपालिका १ मा पर्ने नार गाउँमा पुगी गाउपालिका अध्यक्ष लगायत जनप्रतिनिधिसँग सुरक्षा सम्बन्धी अन्तरक्रिया गरेको थियो । त्यसैगरी, प्रहरी निरिक्षक सबिन भण्डारीको कमाण्डमा ५४१६ मिटर उचाईमा रहेको थ्रोङलापासमा, प्रहरी नायब निरीक्षक रामबहादुर बानिया र राजेश मल्ल ठकुरीको कमाण्डमा ५००२ मिटर उचाईमा रहेको काजिन सारा तालसम्म मनाङ प्रहरीले गस्ती गर्दै सुरक्षा प्रदान गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ग्रामिण पर्यटकीय सामुदायिक गस्ती सञ्चालन गरिएको हो । यो कार्यक्रमलाई जिल्लामा प्रभावकारी रुपमा अगाडि बढाईएको डिएसपी कार्कीले बताए । जिल्लामा रहेका र जिल्ला भित्रिने सबै नागरिकको जीउधनको सुरक्षाको लागि प्रहरी दत्तचित्त भएर लागिपरेको छ । सुरक्षाको कुनै पनि चिन्ता नगरी मनाङमा आउन डिएसपी कार्कीकोे आग्रह छ । गण्डकी प्रदेशमा आउने पर्यटकहरु सबैतिरबाट मनाङ भित्रिने भएकाले पनि यहाँ सूचना संयन्त्रलाई थप प्रभावकारी बनाउनु पर्नेछ । मुस्ताङ, गोरखा र तनहुँ तिनतिरैबाट यहाँ आन्तरिक र बाह्य पर्यटक आउने गर्दछन । त्यसैले, उनीहरुको सुरक्षा र सूचना दिने दुवै महत्वपूर्ण काम मनाङ प्रहरीले गर्नुपरेको छ । यसलाई थप प्रभावकारी बनाउने काम पनि सुरक्षा गस्तीले गर्ने डिएसपी कार्कीले जानकारी दिए ।अहिलेको सिजनमा मनाङमा दैनिक १ हजार भन्दा बढी पर्यटक भित्रिने गरेका छन । विगत वर्षदेखि विदेशी र स्वदेशी पर्यटक लगभग बराबरीको संख्यामा मनाङ आउने गरेका छन । गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्ष मनाइरहँदा यहाँ आउने पर्यटकको सुरक्षा र सुचना प्रणालीलाई व्यवस्थित गर्न थप ध्यान दिनुपर्ने त्यहाँ घुमेर आएका व्यवसायी दिनेशकुमार चुकेले बताए ।

टिभिएसले भाइवरको साथमा फेरि ल्यायो डाउनलोड एण्ड विन चाडपर्व अफर

काठमाडौं । टिभिएस बाइकको नेपालको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले दुई पाङग्रे सवारी साधनमा अग्रणी म्यासेन्जिंग एपलिकेशन भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ । यो नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढी उत्साह थप्न शुरु गरिएको हो । यो प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टिकर बजारबाट टिभिएस बाइकर्स मेनिया स्टिकर प्याक डाउनलोड गर्नुपर्र्दछ । विजेताहरु लक्की ड्र मार्फत चयन गरिनेछ र उनीहरुले आकर्षक उपहार साथै एक जना भाग्यशाली विजेताले बम्बर उपहार स्वरुप टिभिएस जुपिटर क्लासिक प्राप्त गर्नेछन् । यो अभियान २६ सेप्टेम्बरबाट शुरु भएर २ महिनासम्म जारी रहनेछ । यो स्कुटर १०९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इनजीन भएको प्रति घण्टा ८५ किलोमिटर शीर्ष स्पीड भएको सार्प र क्लासीक स्टाइललाई मूर्त रुप दिने र नेपालमा अत्याधिक मनपराइएको तथा डेब्यू गरेको क्लासीक स्कुटर हो । टिभिएस जुपिटर क्लासीकको सिटको उचाइ ७६५ एमएम रहेको छ जसले सबै उचाईका चालकहरुलाई सहजता सुनिश्चित गर्दछ ।

एनआरएनए ओसेनिया क्षेत्रको संयोजकमा दिनेशराज जाेशीकाे उम्मेदवारी

काठमाडौं । एनआरएनएको नवौं अधिवेशनमा ओसेनिया क्षेत्रको संयोजकमा उम्मेदवारी घोषणा गरेका दिनेशराज जोशीले चुनावी अभियानलाई तीव्र पारेका छन् । हाल अष्ट्रेलियाबाट एनआरएनएका आईसीसी सदस्य रहेका जोशीले अष्ट्रेलिया र समग्र ओसेनिया क्षेत्रबाट नेपालसँग सेतुको भूमिका खेल्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए । दुई दशकयता अष्ट्रेलियामा रोजगारीसँगै सामाजिक क्षेत्रमा सक्रिय जोशी जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक मध्येका एक हुन् । नेपालबाट अष्ट्रेलिया गएका युवाहरुलाई रोजगारी तथा अप्ठेरोमा साथ दिने जोशी सामाजिक अभियान सञ्चालनमा अग्रणी मानिन्छन् । सबै दल निकटसँग समभावको आधारमा अघि बढेकाले आफूलाई ओसेनिया क्षेत्रबाट उम्मेदवारीका लागि दबाब आएकाले अघि बढेको उनले बताएका छन् । ‘एनआरएनएको विभिन्न जिम्मेवारीमा रहे पछि अब ओसेनिया क्षेत्रकै प्रतिनिधिका रुपमा अघि बढ्नुस् भन्ने सुझाव आएकाले उम्मेदवारी दिएको छु,’ उनले भने । चुनावी अभियानका क्रममा आफूलाई सबै क्षेत्रबाट सहयोगको प्रतिवद्धता आएको उनले बताए । ‘हाम्रो राजनीतिक आस्था आ आफ्नो ठाउँमा छ,’ उनले भने,‘नेपालीको छाता संगठनलाई राजनीतिबाट पर राखेर अघि बढ्नुपर्छ भन्ने मेरो धारणा हो ।’ उनले सबै विचार र पक्षलाई समेटेर नेपालमा लगानीका साथै अष्ट्रेलिया र न्युजिल्याण्डका विद्यार्थी र नेपालीको समस्या समाधानमा विशेष जोड दिने बताए ।

अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार विश्वविद्यालयका प्रा. डा. लुइँटेललाई

काठमाडौं । अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार यसवर्ष त्रिभुवन विश्वविद्यालयका प्रा. डा. खगेन्द्रप्रसाद लुइटेललाई प्रदान गर्ने भएको छ । पुरस्कार छनौटका लागि बोर्ड अफ ट्रस्टिज कार्य समितिको बैठकले पुरस्कार समितिको सिफारिसमा तीन सदस्यीय समिति गठन गरेका थिए । सो समितिले उक्त पुरस्कारका लागि यही अक्टोबर ९ मा प्रा.डा. लुइटेलको नाम सिफारिस गरेको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा साहित्यको विकास र अन्तर्राष्ट्रियकरणका साथै अनेसासको बृहत्तर विकासमा विशिष्ट योगदान गरेका व्यक्तिहरूमध्ये एकजनालाई हरेक दुई वर्षमा प्रदान गर्दै आएको छ । नेपाली भाषा साहित्यको विकासमा अनवरत रूपमा लागेर आप्रवासमा नेपाली भाषा साहित्यको विस्तार, संवर्धन र संरक्षणमा दिएको योगदान र नेपाली भाषाको अन्तर्राष्ट्रियकरण र मानकीकरणमा गरेको भूमिकाका आधारमा छनौट गरिएको समितिले जनाएको छ । अमेरिकाको क्यालिफोर्निया निवासी राम लामा अविनाशीले प्रायोजन गरेको सो पुरस्कारको राशी हाल २५ सय अमेरिकी डलर रहेको छ । यसअगि सन् २०१७ मा यो पुरस्कार अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो । त्यसबेला सो पुरस्कारको राशी २ हजार अमेरिकी डलर थियो । आगामी नोभेम्बर १० तारिकमा अमेरिकाको वासिङ्टन डिसीमा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहका अवसरमा प्रा. डा. लुइटेललाई यो पुरस्कार प्रदान गरिनेछ । यो अनेसासबाट प्रदान गरिने हालसम्मको सबैभन्दा ठूलो राशीको पुरस्कार हो ।

नेपालमै पहिलोपटक नेपाल मेडिसिटी अस्पतालमा थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया सफल

काठमाडौं । आधुनिक पद्धतिबाट शरिरको प्राणघातक एन्टिबडि(आफ्नो शरीरलाइ घात गर्ने तत्व) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया नेपालमै पहिलो पटक नेपाल मेडिसिटी अस्पतालमा एक ३३ वर्षीय पुरुष बिरामीमा सम्भव भएको छ । नेपाल मेडिसिटी अस्पतालको आइसियुमा सोमबार यो प्रक्रिया मृगौला, मुटु र फोक्सोमा समस्या देखिएका बिरामीमा सम्भव भएको हो । नेपाल मेडिसिटी अस्पतालका आइसियु विभाग प्रमुख डा. दिप्तेश अर्यालका अनुसार बिरामीमा भास्कोलाइटिस विथ किड्नी फेल्युर विथ हेमोरेजको समस्या रहेको थियो । मृगौलासंगै, नसारोग, फोक्सोरोग, सेप्सीस, इन्डोक्राइन सम्बन्धित लगायतका अन्य समस्या भएको अवस्थामा यो पद्धति अपनाउन सकिने डा.अर्यालको भनाइ छ । रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करिब २ घण्टा लागेको थियो । सोमबार पहिलोपटक सफल भएको थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज थप केहि चरणका गर्न आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ । त्यस्तै, नेपाल मेडिसिटीको ब्लड बैंक इन्चार्ज बिपुल गौतमका अनुसार थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया एफेरेसिस उपकरणबाट सम्भव भएको हो । अस्पतालमा एफेरेसिसले स्टिम सेल, रेडसेल एक्स्चेन्स,प्लेटलेट एक्स्चेन्ज लगायतका कार्य गर्दै आइरहेको उनले बताएका छन् ।