कृषि विकास र राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता
काठमाडौं । कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि गुरांगाईले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात कृषि विकास बैंक मार्फत राष्ट्रिय सहकारी बैंक (एनसिविएल) सँग आबद्ध सम्पूर्ण सदस्यहरुलाई प्रिपेड कार्ड उपलव्ध गराउने भएकोले ग्रामिण क्षेत्रका दुरदराजमा रहेका सहकारी सदस्यहरुलाई आधुनिक बैंकिङ्गका अत्याधुनिक सेवाबाट लाभान्वित हुने अवसर मिल्नेछ । उक्त अवसरमा कृषि विकास बैंकका का.मु. उप-महाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने ध्रुव चन्द्र गौतम र दिर्घ बहादुर अर्याल , विभागीय प्रमुखहरु पप्पुबाबु श्रेष्ठ, बासु अधिकारी शाखा प्रमुख भोला नेपाल र राष्ट्रिय सहकारी बैंकको तर्फबाट अन्य प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
सात महिनादेखि सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी
भिमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा सात महिनादेखि तालाबन्दी यथावत रहेकाे छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय र रजिष्ट्रारको निवासमा ताला लागेको आधा वर्ष बितिसक्दा पनि ताला खुलाएर विश्वविद्यालयको कामकाज अगाडि बढाउने सुरसारसमेत देखिएन । जिल्लास्तरमा सर्वदलीय संयन्त्र र स्थानीय प्रशासनसम्मको पहलले विश्वविद्यालयको तालाबन्दी नखुल्दा त्यहाँ कार्यरत कर्मचारी भने फुर्सदिला बनेका छन् । नौ वर्षअघि जन्मिँदै लामो हड्ताल र आन्दोलनबाट स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको कलह अझै नसकिएको त्यहाँ अध्ययनरत विद्यार्थीको दुखेसो छ । २०६५ सालमा सुदूरपश्चिम विश्वविद्यालय स्थापनाको माग गर्दै यहाँका विद्यार्थी, नागरिक समाज, प्राध्यापक र सर्वसाधारणले एक महिनाभन्दा बढी समयसम्म आन्दोलन गरेका थिए । “सात/सात महिनासम्म विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुनुभन्दा लज्जाको विषय के नै होला र खै ?” विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्नातक तहमा अध्ययनरत विद्यार्थी दीपक चन्दले भने, “त्यसको प्रत्यक्ष वा परोक्ष रुपमा असर विद्यार्थीमा परेको छ ।” उनले विद्यार्थी र प्राध्यापक स्वयं राजनीतिक स्वार्थसिद्ध गर्न बढी अग्रसर हुने भएकाले नै यहाँ बढी खिचातानी हुने गरेको बताए । “कर्मचारी भर्नादेखि नेतृत्वमा आउनसम्म नै यहाँ राजनीति हुन्छ ।” चन्दले भने, “अब यो बौद्धिक जमानको थलो हो भन्न पनि लाज मान्नुपर्ने बेला भइसक्यो ।” गत चैत अन्तिम साता नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरले विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार निलम्बन गरी नयाँलाई जिम्मेवारी दिइएपछि तालाबन्दी थालेको हो । विद्यार्थीको आन्दोलनलाई यहाँस्थित एकथरि विश्वविद्यालय प्राध्यापक सङ्घ र प्रजातन्त्रवादी प्राध्यापक सङ्घले समेत सर्मथन जनाएको विश्वविद्यालयमा कार्यरत एक कर्मचारीले बताए । “हाम्रोमा त सामान्य माग राखेर पनि आन्दोलन र हड्ताल गर्ने परम्परा नै बनिसक्यो ।” ती कर्मचारीले भने, “विद्यार्थीको हकहितभन्दा पनि व्यक्तिगत र पार्टीगत स्वार्थ हेर्ने प्रवृत्तिले विश्वविद्यालय जर्ज अवस्थामा पुगिसक्यो ।” सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. पूर्णबहादुर चन्दले नेविसङ्घले तालाबन्दी गरेकाले खुलाउन पहल गर्ने बताए । “तालाबन्दी लामो समयदेखि यथावत छ ।” उनले भने, “दशैँ बिदा सकियो अब ताला खुलाउन नेपाली काङ्ग्रेसको जिल्ला नेतृत्वसित कुराकानी गर्ने तयारीमा छौँ ।” उनले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएपछि केही समय कर्मचारीले कार्यालयको कामकाज रजिष्ट्रारको निवासबाट समेत सञ्चालन गरेको बताएका छन् । “रजिष्ट्रारको निवासमा पनि पछि गएर नेविसङ्घले ताला लगायो । सुदूरपश्चिम विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्टको कार्यसञ्चालनप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री कार्यालयले गत पुस २७ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेपछि तालाबन्दी प्रकरण शुरु भएको थियो । पदमुक्त गरिएकी तत्कालीन उपकुलपति श्रेष्ठको कार्यकाल गत भदौ ७ गते सकिएको छ भने तत्कालीन रजिष्ट्रार भट्टको कार्यकाल आगामी माघसम्म छ । गत चैत २७ मा विश्वविद्यालयकै विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा. डा. पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डिन डा. गोविन्द विष्टलाई रजिष्ट्रारको दिइएको छ । श्रेष्ठ र भट्टले आर्थिक अनियमितता गरेको विषय आएपछि सरकारले तीन वटा छानबिन समिति बनाएर छानबिन गरेको थियो । सोही छानबिन टोलीको प्रतिवेदनका आधारमा विश्वविद्यालयका कुलपतिले जिम्मेवारीबाट हटाउँदै नयाँलाई जिम्मेवारी दिइएको बताइन्छ । नेविसङ्घ भने बिना कारण तत्कालीन उपकुलति र रजिष्ट्रारलाई हटाएको भन्दै तालाबन्दीमा उत्रिएको नेविसङ्घ पूर्वकेन्द्रीय सदस्य कैलाश चन्दको भनाइ छ । “प्रक्रिया पुर्याएर नयाँ उपकुलपति र रजिष्ट्रार नियुक्त भए हाम्रो आपत्ति भएन ।” उनले भने, “ऐन विश्वविद्यालय विधानअनुसार तीन महिनाभन्दा बढी काममुकायम दिन मिल्दैन ।” “अहिले पनि दुई जना रजिष्ट्रार छन् ।” चन्दले दाबी गर्दै भने, “परीक्षा नियन्त्रक र सहायक नियन्त्रक नियुक्तको विषयमा पनि हाम्रो विरोध यथावत छ ।” त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक सङ्घका अध्यक्ष पुष्पराज जोशी दुई वटा कार्यकारीले गरेको निर्णय अमान्य हुने भएकाले विरोध गरेको बताएका छन् । “दुई जना कार्यकारीले नियन्त्रक, सहायक नियन्त्रक र डिन नियुक्त भयो ।” उनले भने, “त्यो प्रक्रिया त्रुटिपूर्ण हो भन्ने हाम्रो ठहर छ ।” अध्यक्ष जोशीले केन्द्रीय कार्यालयमा आफूहरुले गत भदौ अन्तिम सातादेखि तालाबन्दी गरेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चार हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । रासस
असोजको आधासम्म कोषमा दर्ता भए १७० रोजगारदाता कम्पनी, करिब ८० हजार श्रमिक आबद्ध
काठमाडौं । सामाजिक सुरक्षा कोषमा करिब ८० हजार श्रमिक आबद्ध भएका छन् । अनलाइन सेवामार्फत असोज दोस्रो सातासम्म पाँच हजार १७० रोजगारदाता कम्पनी कोषमा दर्ता भई ७९ हजार ६५५ श्रमिकलाई दर्ता गरिएको छ । कोषमा दर्ता भएपछि आधारभूत तलबको ३१ प्रतिशत तलबकट्टी गर्नुपर्ने व्यवस्था छ, कर्मचारी तथा आश्रित परिवारले योगदानमा आधारित पेन्सन पाउनेछन् । आश्रित परिवार भनेको योगदानकर्ताको एकासगोलमा बस्ने पति वा पत्नी, छोरा, छोरीबुहारी, बाबुआमा, सासू वा ससुरा, नाती वा नातिनी हुने व्यवस्था छ । कोषमा दर्ता भएका कम्पनीले श्रमिकको कट्टी गरेको रकम रु तीन करोड चार लाख सङ्कलन भएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिएका छन् । निजी सङ्गठित क्षेत्रका कम्पनीले कोषमा आफ्नो संस्था सूचीकृत गरेपछि योगदानकर्ताले पहिलो किस्ता कोषमा बुझाएर दुर्घटना भई काम गर्न अशक्त भएमा सम्बन्धित कर्मचारीले कट्टी गरेको रकमको निश्चित प्रतिशत जीवनभर पेन्सनका रुपमा प्राप्त गर्नसक्ने व्यवस्था छ । ‘योगदान’ भनेको सामाजिक सुरक्षा योजनाअन्तर्गतका सुविधा प्राप्त गर्न श्रमिक र रोजगारदाताले नियमित रुपमा कोषमा जम्मा गरेको वा गर्नुपर्ने रकमलाई सम्झनुपर्दछ । अनलाइन सेवामार्फत कम्पनी र श्रमिक दर्ता हुने व्यवस्था गरिएकाले यसमा रोजगारदाता कम्पनीका साथै कर्मचारी आबद्ध हुनेक्रम बढ्दै गएको कोषले जनाएको छ । आगामी दिनमा सातै प्रदेशमा कोषका कार्यालय विस्तार गरिनेछ । रासस
अजोड इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर प्रति शेयर १०० रुपैयाँ अंकित दरले सर्वसाधारणहरुमा निष्काशन गर्न एनआईबिएल एसलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । बिक्री प्रबन्धकमा नियुक्ति सम्बन्धी सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । सम्झौता गरेसँगै अब एनआईबिएल एसले इन्स्योरेन्सको सेयर बिक्री सम्बन्धी सम्पूर्ण काम गर्ने छ । हाल इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
पारस खड्काले दिए राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजिनामा
काठमाडाैं । पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान छाडेका छन्। मंगलबार नेपाली क्रिकेट टिमका मिडिया व्यवस्थापक सुरज शाक्यले पारसले जारी गरेको विज्ञप्ति पठाउँदै सो कुराको पुष्टि गरेका हुन्। खड्काले विज्ञप्तिमा भनेका छन् – नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा भएको थाहा पाउँदा निकै खुशी छु र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुको राम्रो गरोस् भन्ने कामना गर्दछु। अहिलेदेखि नै लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजिनामा दिने निर्णय गरेको छु। नयाँ शुरुवात नयाँ तरिकाबाट हो र टोलीलाई अघि बढाउने गरी सबैको सहभागिता रहोस् भन्ने चाहन्छु। यो अविश्वनीय यात्राको क्रममा मलाई सहयोग गर्ने सबै खेलाडी, कोच, अम्पायर, साथीहरु, ग्राउन्ड म्यान तथा मेरा परिवारलागि धन्यवाद व्यक्त गर्छु। जय नेपाल। सन् २००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी(ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो । खड्काले कप्तान पद छाडेपनि राष्ट्रिय टिमबाट भने खेल्नेछन् ।
एनआरएनको ९औँ विश्व सम्मेलन राजधानीमा शुरु, ८१ देशबाट २५ सय प्रतिनिधि सहभागी
काठमाडौं । गैर अवासीय नेपाली संघ (एनआरएन) को ९ औँ विश्व सम्मेलन राजधानीमा शुरु भएको छ । मंगलबार सुरु भएको एनआरएनको सम्मेलन आगामी बिहीबारसम्म चल्नेछ । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी हुन्। यस्तै, परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, उद्योग वाणिज्य महासंघको वरिष्ट उपाध्यक्ष भवानी राणा, एनआएनएका अध्यक्ष भवन भट्ट लगायतको कार्यक्रममा उपस्थिति रहेकाे छ । यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल इन्भेष्टमेण्ट बोर्डका सिईओ महा प्रसाद अधिकारी, नेपाल उद्योग परिसंघका अध्यक्ष सत्तिस कुमार मोर, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, फेड्रेसन अफ नेप्लीज चेम्बर अफ कमर्सका उपाध्यक्ष चन्द्र ढकालको कार्यक्रममा उपस्थित रहने छन् । सम्मेलनमा ८१ देशबाट २५ सय प्रतिनिधि सहभागी छन् । बिहान ९ बजे शुरू भएकाे उक्त कार्यक्रम साँझ साढे ६ बजेसम्म संचालन हुनेछ ।
५ करोड लागतमा ‘इको टुरिजम उद्यान’ बन्ने, १८ महिनामा सक्नेगरी सेभ इञ्जिनीयरिङ कन्स्ट्रक्सनलाई जिम्मा
भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण गर्न लागिएको इको टुरिजम उद्यान सञ्चालनमा ल्याइने भएको छ । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले सोमबार सो उद्यान शिलान्यास गरेका हुन् । वनको आयआर्जनका लागि रु पाँच करोडको लागतमा शिखर हरियाली सामुदायिक वनको १३ बिघा जमिनमा अत्याधुनिक सामुदायिक उद्यान निर्माण गर्न लागिएको हो । उद्यान परिसरमा स्वीमिङ पुल, बाल उद्यान, फूलको बगैँचा, पानीको फोहोरा, वनभोजस्थल, आरामका लागि गोलघर, बिजुलीको व्यवस्था हुने सामुदायिक वनका अध्यक्ष केदार आचार्यले जानकारी दिए । उद्यान निर्माणको जिम्मा पाएको सेभ इञ्जिनीयरिङ कन्स्ट्रक्सन प्रालिले १८ महिनाभित्र निर्माण गर्ने गरी सम्झौता गरेको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले उद्यान निर्माणपछि पूर्वी चितवनको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरेका छन्। रासस
२०२० मा ५ लाख चिनियाँ पर्यटक भित्र्याउने नेपालको लक्ष्यमा सी चिनफिङको साथ
काठमाडौं । दक्षिण एसियामा चिनियाँ नागरिकहरूको छनोटको पहिलो गन्तव्य देश नेपाल हो । हाल प्रत्येक हप्तामा दुई देशबीचका लगभग ६० उडानहरू छन्, हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिहरूले एकअर्काको देश भ्रमण गर्दछन् । नेपालमा पाइला टेक्नुभन्दा एक दिनअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालका दुई ठूला दैनिक पत्रिकामा प्रकाशन गरेको आलेखमा भनेका छन्– लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको छ । … दिन प्रतिदिन बढ्दो आदानप्रदानले दुई देशका जनताबीचको समझदारी बढाउनुका साथै दुई देशका विकास र प्रगतिमा प्रेरक शक्ति थपेका छन् । नेपाल आएपछि राष्ट्रपति विद्यादेवि भण्डारीले आयोजना गरेको रात्री भोजमा सहभागीलाई सम्बोधनको क्रममा पनि सी चिनफिङले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने चिनियाँ नागरिकहरुलाई नेपाल भ्रमणमो लागि प्रेरित गर्ने बताए । उनको लेखाई र भनाईले नेपालको पर्यटन क्षेत्रमा केही उत्साह थपेको छ । पछिल्ला वर्षहरुमा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढेकोले पनि राष्ट्रपति सी चिनफिङको भनाई प्रति नेपाली पर्यटन व्यवसायी आश्वस्त भएका छन् । सन् २०१७ मा एक लाख चार हजार ६६४ चिनियाँ नागरिक नेपाल घुम्न आएका थिए । सन् २०१८ मा एक लाख ५४ हजार ६३३ जना चीनियाँ पर्यटकहरु नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले बढी हो । समग्रमा विदेशी पर्यटकको आगमन सन् २०१७ को तुलनामा २०१८ मा करिव २५ प्रतिशतले वृद्धि भएको बेलामा चिनियाँ पर्यटकको वृद्धि दर झण्डै दोब्बर बढी छ । गत वर्ष विभिन्न देशहरुबाट ११ लाख ७३ हजार विदेशी पर्यटक नेपाल भित्रिएको तथ्याङ्कले देखाएको छ । सन् २०१७ मा भने ९ लाख ४० हजार २ सय १८ जना पर्यटक नेपाल घुम्न आएका थिए । पछिल्ला तीन वर्षमा भने चीनियाँ पर्यटकहरुको नेपाल आगमनमा निरन्तर बढेको नेपाल पर्यटन बोर्डका अनुसन्धान तथा योजना विभागका गोकुल भण्डारीले बताए । उनका अनुसार सन् २०१९ को जुनसम्म ८५ हजार ३०८ जना चिनियाँ पर्यटक नेपालमा आएका छन् । शक्तिशाली देशका शक्तिशाली व्यक्तित्वको नेपाल भ्रमणले नेपाल भ्रमण वर्ष २०२०लाई समेत उल्लेख्य टेवा पुग्ने नेपाल भ्रमण वर्षका संयोजक सुरज बैद्यको विश्वास छ । पछिल्लो समय चीनियाँ पर्यटकहरु नेपालमा बिदा मनाउन, हिमाल चढ्न वा पदयात्रा गर्न, तिर्थयात्रीका रुपमा, व्यापार व्यवसाय गर्न, लगायतका अन्य उदेश्यका साथ नेपाल आउने गरेको पर्यटन बोर्डले जनाएको छ । हाल नेपाल–चीन र चीन–नेपाल गरी हप्ताको साठी पटक हवाई जहाजहरु ओहोर दोहोर हुने गरेको छ । अब दुई देशबीचको उडान संख्या साताको ९८ बनाउने दुई देशबीच हवाई सम्झौता पनि यसै वर्ष भएको छ । नेपालले २०२० मा चीनबाट मात्र ५ लाख पर्यटक भित्र्याउने नेपालको लक्ष्यमा सी चिनफिङको भ्रमणले साथ दिएको छ । घट्दो आम्दानी विदेशबाट नेपाल आउने पर्यटकहरुको संख्या वर्षेनी बढेपनि तिनीहरुले गर्ने खर्चमा भने झन्–झन् कम हुँदै गएको देखिएको छ । नेपाल पर्यटकको संख्यामा जसरी बृद्धि भइरहेको छ, त्यसैगरी उनीहरुले गर्ने खर्चमा भने बढेको छैन । बरु, त्यो बृद्धिदर घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्ला तीन वर्षमा पर्यटकको आम्दानी बृद्धिदरमा कमी आएको छ । अघिल्लो वर्ष ४० प्रतिशतले बढेको आय गत वर्ष १४ प्रतिशतले मात्र बढेको छ । विश्वब्यापी रुपमा ट्राभल कस्ट कम हुँदै गएकोले पनि आयको बृद्धिदर पहिले जस्तै बढ्न नसक्नु एउटा कारण हो । छिमेकी मुलुकबाट आउनेहरुले आफ्नै देशमा भुक्तानी गरेर नेपालमा सेवा लिने प्रवृति बढेकोले आय अपेक्षित बढ्न नसकेको पाइएको हो । नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभाग प्रमुख सरिता भट्टले नेपालमा पर्यटकहरुले खर्च गर्ने प्रशस्त ठाउँहरु नभएका, उनीहरुको बसाई अवधि कम भएकोले पनि पर्यटक संख्या वृद्धि भए झै आए वृद्धि नभएको बताइन् । साथै, चिनियाँ पर्यटकहरुले नेपाल भ्रमण गर्दा नेपालीहरुलाई तुलनात्मक रुपमा कम लाभ भएको पनि नेपाली व्यवसायीहरुको अनुभव छ । उनीहरुले नेपाल भ्रमण गर्दा गरेको खर्च पनि वीच्याट र अलिपेबाट भुक्तानी गर्ने गरेकोले नेपाल विदेशी मुद्रा आर्जन गर्नमा चुकेको छ । तर नेपाल राष्ट्र बैंकले गत जेठ महिनामा एक सूचना जारी गरी वीच्याट र अलिपे लगायत राष्ट्र बैंकबाट स्वीकृत नपाएको कुनै पनि कम्पनी वा एपबाट हुने कारोबारमा बन्देज लगाएको छ ।