नेपालमै पहिलोपटक नेपाल मेडिसिटी अस्पतालमा थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया सफल
काठमाडौं । आधुनिक पद्धतिबाट शरिरको प्राणघातक एन्टिबडि(आफ्नो शरीरलाइ घात गर्ने तत्व) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया नेपालमै पहिलो पटक नेपाल मेडिसिटी अस्पतालमा एक ३३ वर्षीय पुरुष बिरामीमा सम्भव भएको छ । नेपाल मेडिसिटी अस्पतालको आइसियुमा सोमबार यो प्रक्रिया मृगौला, मुटु र फोक्सोमा समस्या देखिएका बिरामीमा सम्भव भएको हो । नेपाल मेडिसिटी अस्पतालका आइसियु विभाग प्रमुख डा. दिप्तेश अर्यालका अनुसार बिरामीमा भास्कोलाइटिस विथ किड्नी फेल्युर विथ हेमोरेजको समस्या रहेको थियो । मृगौलासंगै, नसारोग, फोक्सोरोग, सेप्सीस, इन्डोक्राइन सम्बन्धित लगायतका अन्य समस्या भएको अवस्थामा यो पद्धति अपनाउन सकिने डा.अर्यालको भनाइ छ । रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करिब २ घण्टा लागेको थियो । सोमबार पहिलोपटक सफल भएको थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज थप केहि चरणका गर्न आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ । त्यस्तै, नेपाल मेडिसिटीको ब्लड बैंक इन्चार्ज बिपुल गौतमका अनुसार थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया एफेरेसिस उपकरणबाट सम्भव भएको हो । अस्पतालमा एफेरेसिसले स्टिम सेल, रेडसेल एक्स्चेन्स,प्लेटलेट एक्स्चेन्ज लगायतका कार्य गर्दै आइरहेको उनले बताएका छन् ।
सिंहदरबार मर्मतकाे ठेक्का ४१ करोड ७९ लाखमा शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीलाई
काठमाडौं । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य भइरहेकोमा पश्चिम मोहडाको प्रबलीकरणका लागि पनि ठेक्का सम्झौता भएको छ । प्रबलीकरण कार्यान्वयनको जिम्मेवारी लिएको प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच सोमबार सम्झौता भएको हो । सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट लक्ष्मी प्रसाद सुवेदीले हस्ताक्षर गरे । जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको छ । सम्झौताअनुसार जेभीले १५ दिनभित्र प्रबलीकरण कार्य सुरु गर्नेछ । आयोजना निर्देशक प्याकुरेलले सिंहदरबारको मौलिक स्वरुप कायम राखी भूकम्प जानुअघिको भन्दा मजबुद हुने गरी प्रबलीकरण गरिने जानकारी दिए । ठेक्का कम्पनीका प्रतिनिधि सुवेदीले तोकिएको गुणस्तरमा समयभित्रै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रबलीकरण कार्यको परामर्शदातामा आइआरसी–इकोकोड नेपाल जेभी छनौट भएको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको सिंहदरबारको यो खण्ड २०३० को आगलागीबाट बचेको भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण मोहडा जलेर नष्ट भएको थियो, जसको पछि पुनर्निर्माण गरिएको थियो । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत कार्य सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले जनाएकाे छ ।
मिटर नचलाउने ११० ट्याक्सी चालक नियन्त्रणमा, यातायात व्यवासायी विरूद्ध कालाेबजारी मुद्दा
पाेखरा । तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको जाँचका क्रममा क्रमशः ५३, २७ र ३० ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारवाही गरिएको सहसूचना अधिकारी एवं प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार दशैँ मनाउन विभिन्न जिल्लामा जाने यात्रु नठगिउन भन्ने उद्देश्यले पोखराबाट बाहिरिने मुख्य सडक एवं बढ्दो सवारी चाप हुने स्थानमा प्रहरीले यात्रु सहायताकक्ष स्थापना गरी सेवा प्रदान गरिरहेको थियो । यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी भाडा लिने र मोलमोलाइ गर्ने प्रवृत्ति अन्त्यका लागि सडकमा जाँचका साथै सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको प्र्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । त्यस्तै, खोटाङ मा यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जनाविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ । तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरी सोमबार मुद्दा दायर गरिएको हो । खोटाङबाट काठमाडौँ जाने यात्रुबाट जनही रु एक हजार ४५० लिनुपर्नेमा रु दुई हजार लिएको गुनासो आएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । यातायातमा कालोबजारी भएको गुनासो आए पनि उजुरी नपरेपछि प्रहरी आफैँ यात्रु भएर जाँदा कालोबजारी गरेको पुष्टि भएपछि उनीहरू पक्राउ परेका थिए । पक्राउ परेकाहरूविरुद्ध सोमबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्नाका साथै १० दिनको म्याद थप गरेर कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । कालोबजारी आरोपमा एक वर्षसम्म कैद तथा रु १० लाखसम्म जरिवाना गर्न सकिने कानूनी प्रावधान छ । दशैँ–तिहारको बेलामा जिल्ला भित्रिने र बाहिरिने यात्रुबाट मनपरी भाडा लिएकाले जाँचका लागि ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए । रासस
सीडीएससीको अर्को रमिता : कारोबार रोक्का भएको सबै शेयरको मूल्य १०० रुपैंया !
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले कारोबार रोक्का भएका सबै शेयर स्क्रिपहरुको बजारमूल्य १०० रुपैंया कायम गर्ने व्यवस्था सुरु गरेको छ । मेरो शेयर एप्लिकेसनलाई परिमार्जन गरी सार्वजनिक गरेको सीडीएससीले मर्जर, एक्विजिसन वा अन्य कुनैपनि प्रकारबाट नियमित रुपमा कारोबार रोक्का भएका शेयरको मूल्य १०० रुपैंया कायम गर्ने व्यवस्था गरेको हो । सीडीएससीले नेपाल स्टक एक्सचेञ्जमार्फत् भएको अन्तिम कारोबार मूल्यलाई समेत १०० रुपैंया नै मानिदिने व्यवस्था गरेको छ जब कि नेप्सेले भने कारोबार भएको अन्तिम दिन अन्तिममा भएको कारोबारलाई नै त्यसको अन्तिम मूल्यको रुपमा देखाउँदै आएको छ । अहिले बजारमा ग्लोबल आईएमई बैंक, जनता बैंक, गण्डकी विकास बैंक, कैलाश विकास बैंक जस्ता बैंकहरुको शेयर कारोबार मर्जरका लागि रोक्का भएर बसेका छन् । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु भएपनि शेयर कारोबार अझै सुरु भएको छैन । ग्लोबल आईएमई बैंकको अन्तिम कारोबार २९५ रुपैंयामा भएको थियो । कारोबार बन्द हुँदाको अवस्थामा हुँदासम्म २१५ रुपैंयाको हाराहारीमा किनबेच हुँदै आएको थियो । गण्डकी विकास बैंकको अन्तिम कारोबार मूल्य २०१ रुपैंया रहेको नेप्सेको तथ्यांकमा उल्लेख छ । जुलाई ४ मा प्राइम बैंकसँग मर्जर सम्झौता गर्दाको दिनमा कैलाश विकास बैंकको शेयर बजारमा २३८ रुपैंयामा अन्तिम किनबेच भएको थियो । तर यस्ता फरकफरक मूल्य भएका स्क्रिपहरुलाई सीडीएससीले अव्यवहारिक रुपमा १०० रुपैंया मूल्य कायम गर्ने व्यवस्था गरेको हो । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता भने यो व्यवस्था म्यानुअल अनुसार गरेको भन्दै अन्तिम कारोबार १०० रुपैंया देखिनु प्राविधिक कमजोरी नभएको बताउँछन् । ‘तपाईँ म्यानुअल हेर्नुस्, कस्तो स्क्रिपको मूल्य कति कायम गर्ने भन्ने त्यहीँ देख्नुहुन्छ’ उनले भने । तर यो व्यवस्थाले लगानीकर्ताहरु भने आत्तिएका छन् । अघिल्लो दिनसम्म पोर्टफोलियोको एउटा क्याल्कुलेसन गरिरहेका शेयरधनीहरुलाई एक्कासी शेयरको पार्टफोलियो घट्दा उनीहरु आत्तिएका हुन् । ‘आफ्नो शेयर कति मूल्यको छ भनेर हेर्न र दैनिक रुपमा कति घट्यो, बढ्यो भनेर हेर्न मेरोशेयर लिएको, यस्तै हुने हो भने त के विश्वास भयो र ?’ एकजना लगानीकर्ताले भने । ती लगानीकर्ताकै प्रतिप्रश्न थियो, ‘भोलि २०००० रुपैंया मूल्य भएको युनिलिभरको कारोबार रोक्का होला, त्यो दिन युनिलिभरको १०० कित्ता शेयरको २० लाख हुनुपर्ने मूल्यलाई मेरो १० हजार रुपैंया मात्रै हो भनेर मान्ने ?’ बैंकबाट ऋण लिएर शेयर कारोबार गर्दै आएका उनी यही मूल्यांकनका आधारमा बैंकले मार्जिन कल गर्ने हो कि भन्ने त्रासमा छन् । नेपालको एकमात्र केन्द्रीय निक्षेप प्रणालीको रुपमा रहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेड पछिल्लो समय यस्तै प्राविधिक विषयवस्तुमै रुमल्लिएर बसेको छ । लगानीकर्ताको दैनिक व्यवहारसँग जोडिने सीडीएससीले कहिले भारित औसत लागत गणनाको नाममा तथा कहिले रोक्का भएको शेयरको मूल्य कायम गर्ने नाममा अव्यवहारिक निर्णयहरु गर्दै आएको छ । यस्ता गतिविधिले पुँजीबजारको विकासको क्षेत्रमा भएका विभिन्न प्रयासहरु छायाँमा पर्न थालेका छन् । मेरो शेयरमा देखिएको ग्लोबल आईएमई बैंक र गण्डकी विकास बैंकको शेयरमूल्य ।
मधु लामाको दाबी : साजन मेरो आफन्त होइन, मैले राम्रो निर्णय गरेँ
काठमाडौं । भ्वाइस अफ नेपाल सिजन २ अन्तर्गत ब्याटल राउन्डमा डुओको प्रस्तावलाई अस्वीकार गरेका प्रतिस्पर्धी मधु लामाले साजन लामा आफ्नो आफन्त नै नभएको दाबी गरेका छन् । आफ्नो फेसबुक पेजमार्फत् करिब ७ मिनेट लामो वक्तव्य दिँदै उनले मधुको भनाई असत्य भएको भन्दै उनले त्यसो गर्नु हुँदैनथ्यो भनेका छन् । उनले आफूले गरेको डिसिजन सही भएको भन्दै साजनसँगै डुओ भएर गएको भए आफू धेरै अघि बढ्न नसक्ने दाबी समेत गरे । भ्वाइस अफ नेपाल सिजन ३ अन्तर्गत छैटौं एपिसोडका यी दुई प्रतिस्पर्धीबीच भिडन्त भएको थियो । कोचको रुपमा रहेका गायक प्रमोद खरेलले उनीहरुको प्रस्तुतिमा म्याचिङ देखेपछि डुओ बनेर जाने प्रस्ताव गरेका थिए । यो प्रस्तावलाई चारैजना कोचहरु र साजन लामाले समेत स्वीकारे पनि मधुले मानेका थिएनन् । यसैबीच साजनले आफ्नो फेसबुक पेजमार्फत् भावुक सन्देश दिएका छन् । ‘तपाईँहरुको माया र आशिर्वाद बोकेर गएको थिएँ । तर त्यो जोगाउन सकिँन । मलाई माफ गरिदिनुहोला यसपाली यस्तै भयो……’ उनले लेखेका छन् । उता मधुले गरेको निर्णयले उनीविरुद्ध दर्शकलाई आक्रोशित बनाएको छ । दर्शकहरुले उनलाई आगामी चरणमा भोट नगर्ने बताउन थालेका छन् ।
परिसंघले प्रधानमन्त्रीलाई भेटेर भन्यो–‘धेरै नयाँ कानुन बन्दा र व्यवसायी माथि धरपकट हुँदा गम्भिर समस्या’
काठमाडौं । एकै पटक धेरै प्रकारका नयाँ कानुन बनेको र व्यवसायीहरुमाथि धरपटक भएको भन्दै नेपाल उद्योग परिसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेको छ । सामान्य त्रुटिमा समेत उद्योगी व्यवसायीलाई पक्राउ गर्ने जस्ता घटनाले व्यवासायिक क्षेत्र हतोत्साहित हुन सक्ने अवस्था आएको पनि परिसंघको अध्यक्ष सतिश कुमार मोरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । ‘एकै पटक आएका धेरै प्रकारका नयाँ–नयाँ कानुन र नियमनकारी व्यवस्थाले उद्योगी व्यवसायीहरु दवावमा पर्दा नयाँ लगानीका लागि वातावरणमा संकुचन देखिएको विषयमा अध्यक्ष मोरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो’ परिसंघले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । कार्यान्वयनतहमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र राष्ट्र बैँकलगायत सम्बन्धित निकायको सहभागितामा प्रधानमन्त्री कै मातहतमा उच्चस्तरिय समिति गठन गर्न पनि अध्यक्ष मोरले माग गरेका छन् । सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले सरकारका विभिन्न निकायमा छिटो–छिटो सरुवा तथा विभागिय फेरवदल हुदाँ त्यसको प्रतिकूल असर उद्योग व्यवसायमा परेको बताए । त्यसैगरी उनले वित्तीय क्षेत्रमा तरलता अभाव कम गर्न तथा पूँजी बजारमा लगानीकर्ताको मनोबल बढाउन प्रधानमन्त्रीले थप पहल लिनु पर्ने अवस्था बताएका छन् । आएको तर्फ पनि परिसंघ प्रमण्डलले ध्यानाकर्षण गराएको थियो । आइतबार साँझ परिसंघका अध्यक्षसहित पदाधिकारीहरुले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गरेको हो । परिसंघले चीनका राष्ट्रपतिको भ्रमण अत्यन्तै सफल भएकोमा प्रधानमन्त्रीलाई बधाइ दिएको छ । भ्रमणका क्रममा भएको सम्झौता तथा समझदारीले हिमाल सीमापार÷बहुआयामिक सम्पर्क विस्तारमा थप महत्व दिएको, साथै यसबाट निजी क्षेत्र उत्साहीभएकोले त्यसको कार्यान्वयनका लागि तिब्र सकृयताको खाँचो रहेको परिसंघले जनाएको छ । प्रधानमन्त्रीसँगको भेटमा परिसंघको तर्फबाट उपाध्यक्षहरु निर्वाण चौधरी, विरेन्द्रराज पाण्डे र राष्ट्रिय परिषद सदस्य अनलराज भट्टराई सहभागि थिए ।
ग्लोबल आईएमई र जनता बैंकले दिए अधिकतम बाेनस; सहमति थियाे-‘जसले जति सक्छ बाँड्ने’
काठमाडौं । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २५.५ प्रतिशत लाभांश दिने घोषणा गर्यो । ग्लोबल आईएमई बैंकसँग मर्जरका लागि समझदारी गरेर राष्ट्र बैंकबाट एलओआई समेत पाइसकेको जनता बैंकले भने १२ प्रतिशत लाभांश घोषणा गर्यो । दुबै बैंकले प्रस्ताव गरेकाे लाभांश दर उनीहरूकाे इतिहासका सर्वाधिक हाे । गत वर्षकाे नाफाबाट दुबै बैंकले आफ्ना सेयरधनीलाई सक्दाे बढी लाभांश दिने सहमति मर्जरकाे सहमतिकाे समयमा नै भएकाेले सहमित अनुसार नै लाभांश वितरणकाे निर्णय भएकाे जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले बताए । दुई बैंकले घाेषणा गरेकाे लाभांश दरले पनि समझदारीलाई समर्थन गरेकाे छ । ग्लोबल र जनता दुबैले नगद लाभांश र बोनस शेयरको हिस्सा ५०/५० प्रतिशत छ । २५.५ प्रतिशत नगद लाभांश दिएको ग्लोबल आईएमई बैंकले १२.७५ प्रतिशत बोनस दिँदा जनता बैंकको १२ प्रतिशत लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ । ग्लोबल आईएमई र जनता बैंकबीच १००ः८५ अनुपातको स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो । तर यो लाभांश घोषणापछि यो हिस्सा १००ः८० मा झर्छ । अर्थात् बराबर शेयरसंख्या रहेका दुई शेयरधनीबीच तुलना गर्ने हो भने ग्लोबल आईएमई बैंकका शेयरधनीले १०० कित्ता शेयर पाउँदा जनता बैंकका शेयरधनीले ८० कित्ता मात्रै शेयर पाउँछन्, यहाँ करिब ५ रुपैंयाको फरक बोनस शेयरको भिन्नताका कारण भएको हो । अर्कोतर्फ, नगद लाभांश समेत ग्लोबल आईएमईका शेयरधनीले बढी पाउने अवस्था छ । लाभांश वितरण पछिमात्रै मर्जरमा जाने भएकोले नगद लाभांशको असर प्रत्यक्ष रुपमा नदेखिन सक्छ तर बोनस शेयरले भने शेयर संख्यामा प्रत्यक्ष रुपमा असर पार्छ । तर पनि जनता बैंकबाट ६ प्रतिशत नगद पाउँदा ग्लोबल आईएमईका शेयरधनीले १२.७५ प्रतिशत नगद लाभांश पाउने अवस्था हुन्छ, यसले मर्जर सहमति भई कारोबार रोक्का भएको दिनको तुलनामा जनता बैंकको वास्तविक स्वाप रेसियो ७५ रुपैंयाभन्दा पनि कम हुन जान्छ । जनता बैंकले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ३२ करोड रुपैंया खुद नाफा गरेको थियो । ८ अर्ब १ करोड मात्रै चुक्तापुँजी भएको जनताले १२ प्रतिशतका दरले लाभांश दिँदा करिब ९६ अर्ब १२ करोड रुपैंयाँ बराबरको लाभांश दिएको छ । त्यस्तै ग्लोबल आईएमई बैंकले २ अर्ब ७८ करोड ६८ लाख रुपैंया नाफा कमाएको र उसकाे १० अर्ब ३१ करोड रुपैंया चुक्ता पुँजी भएको बैंकले २५.५ प्रतिशतको दरमा जम्मा २ अर्ब ६२ करोड रुपैंया बराबरको लाभांश बाँडेको छ । यो नाफा लेखापरीक्षण नगरिएको वित्तीय विवरणमा आधारित हो । यो नाफा अनुसार ग्लोबल आईएमईले कुल नाफाको करिब ९५ प्रतिशत बाँड्दा जनताले भने करिब ७३ प्रतिशत मात्रै नाफा वितरण गरेको छ । जनता बैंक नेपाल प्रस्तावित लाभांश सहित वार्षिक प्रतिवेदन राष्ट्र बैंकले स्वीकृत गरिसकेकाे प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले जानकारी दिए । ग्लाेवल आईएमई बैंक भने राष्ट्र बैंककाे स्वीकृतिकाे प्रतिक्षामा रहेकाे छ । ग्लाेवल आईएमई बैंककाे वार्षिक प्रतिवेदन स्वीकृत पछि डीडीए रिपाेर्टलाइ अन्तिम दिइने छ । डीडीएकाे रिपाेर्टले १००ः८५ स्वाप रेसियाे अनुपात गर्ने समझदारीलाई समर्थन गरेकाे स्राेतले बतायाे । डीडीएसँगै दुबैं बैंकले एकै दिन साधारणसभा बाेलाउने भएका छन् ।
कुलेखानी तेस्रोबाट विद्युत्को उत्पादन शुरु, १४ मेगावाटकाे याेजना बनाउन १२ वर्ष
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आजबाट विद्युत्को उत्पादन परीक्षण शुरु गरेको छ । सो आयोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन गरी काठमाडौँस्थित विद्युत्को केन्द्रीय ग्रिडमा जोडिएको उक्त आयोजनाले जनाएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले संयुक्तरुपमा रु चार अर्ब ६३ करोडको अनुदानमा करीब १२ वर्षअघि सो आयोजना निर्माणका लागि लिखित सम्झौता भएको थियो । उक्त आयोजनाबाट उत्पादित विद्युत् अब नियमितरुपमा उत्पादन भइरहने सो आयोजनाले जनाएको छ । कुलेखानी तेस्रो आयोजनाको विद्युत्लाई नियमित उत्पादन गर्नेतर्फ कुलेखानी आयोजना प्रथम र दोस्रो अयोजनाबाट निस्केको पानीबाट मात्र नियमित क्षमतानुसार विद्युत् उत्पादन हुने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवासकुमार मिश्रले बताए । उनका अनुसार, आयोजनाको निर्माण अवधि विभिन्न कारणले लम्बिएर करीब १२ वर्षपछि मात्रै विद्युुत् उत्पादन गर्ने प्रयास सफल भएको हो । कुलेखानी पहिलोबाट दोस्रो सञ्चालन हुने र दोस्रो आयोजना सञ्चालन भएपछि मात्रै तेस्रो आयोजनामा विद्युत् उत्पादन गर्न पानीको आपूर्ति पूरा हुने आयोजना प्रमुख मिश्रले बताए । भैँसेस्थित कुलेखानीको दोस्रो आयोजनाबाट निस्केको पानीलाई भीमफेदी गाउँपालिका– १ सानुटारस्थित विद्युत्गृहसम्ममा करीब चार हजार २०० मिटर भूमिगत सुरुङमार्गबाट पानी ल्याउने गरिएको सो आयोजनाले जनाएको छ । केही हप्ताअघिदेखि सानुटारस्थित विद्युत्गृहमा चिनियाँ प्राविधिकले आवश्यक उपकरण जडान गरेपछि विद्युत् उत्पादन गर्न सफल भएको आयोजनाका प्राविधिकको भनाइ छ । रासस