टिकुलीगढ दुग्ध उत्पादक सहकारीको २४ औं साधारणसभा सम्पन्न
काठमाडौं । रुपन्देहीमा रहेको श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा संस्थाका अध्यक्ष जनार्दन शर्मा यादव र सभा सदस्य बलदेव शर्मा पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभामा अध्यक्ष यादवले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थागत र संस्थाका सेयर सदस्यहरुको हकहितको लागि विभिन्न नौं वटा भावी कार्यक्रमहरुको लागि प्रस्ताव पेश गरेका थिए । पेश गरेको प्रस्तावहरुमा दुग्ध उत्पादक कृषकलाई राहत देखि सेयर सदस्यको एकाघरको परिवारको सदस्यको मृत्युमा काजक्रिया खर्चको पनि बृद्धि गर्ने रहेको छ भने संस्थालाई थप मजवुत बनाएर लैजानका लागि अन्य कार्यक्रमहरु पनि अगाडी सारिएको छ । संस्थाका उपाध्यक्ष भूपराज पाण्डे २४ औं वार्षिक साधारण सभामा बोल्दै जिल्ला दुग्ध सरकारी संघका अध्यक्ष लेखनाथ पाण्डेले हुने खाने र गरिखानेका बीच अनुदान वितरणमा भेदभाव भएको बताउँदै दुधको मूल्य बढाए किसानहरुलाई राहत मिल्ने भएतापनि लागत मूल्य घटाउन सकेको अवस्थामा सबैलाई राहत मिल्ने तर्फ सरकार केन्द्रित हुनु पर्ने बताएका छन् । यस सहकारीले दश लाख दुई हजार १५ रुपैयाँ सेयर पुँजी रहेको गत आर्थिक वर्षमा एक लाख ६७ हजार सात सय रुपैयाँ थप गरी ११ लाख ६९ हजार सात सय १५ रुपैयाँ पुर्याएको छ । आर्थिक वर्ष २०७५/७६ मा २७ लाख ३३ हजार तीन सय ७५ रुपैयाँ अर्थात दुई सय ३३ प्रतिशत खुद मुनाफा आर्जन गर्न सफल भएको छ भने तीन सय ५० जना सेयर सदस्यहरुको संख्यामा ५८ जना वृद्धि गरी चार सय आठ पुर्याएको छ ।
चलचित्र तथा मोडलिङमा व्यस्त बन्दै मोडल तथा नायिका अनिता गिरि
काठमाडौं । नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा व्यस्त बन्दै गरेकी मोडल र नायिका हुन अनिता गिरि । मोडलिङ सुरु गरेको एक बर्ष भित्र नै चार वटा चलचित्र तथा करिब आधा दर्जन म्युजिक भिडियोहरुमा जादुमय अभिनय गरिसकेकी उनी अहिले चलचित्रकर्मीहरुको रोजाइमा परेकी छिन् । युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान, नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर चलचित्र तथा मोडलिङको भिडमा आफुलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडि बढदै गरेकी नायिका हुन अनिता गिरि । उनी अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन । मोडलिङ क्षेत्र हुदै चलचित्रमा नायिका बनेकी अनिताले दर्जनौ फेसन सोहरुमा आफ्नो कला कौसल प्रदर्शन गरि सकेकी छिन । अभिनय तथा नृत्यमा पोख्त नायिका अनिता गिरि सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनीप्रतिको आकर्षण हो । अझै मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै सिने नगरी तथा मोडलिङमा स्थापित हुन चाहन्छिन । खोटाको सिम्पानीमा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी गिरि हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभावकी छिन । नयाँ नेपाली चलचित्र मार्फत नायिकाको रुपमा धमाकेदार इन्ट्री गर्न लागेकी नायिका अनिता भन्छिन यदि अन्य राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको बताउँछिन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने अनिता गिरि अभिनयमा पोख्त छिन् । अनिताले भनिन्, अब चलचित्र र मोडलिङमै करिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनी भन्छिन् मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि अनिता बताउँछिन ।
सिंगारिएकाे सडक पखालिँदै, देखावटी विकासको नाङ्गो रुप धोवीखोला र विष्णुमति पदार्पण
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा सिंगारिएका राजधानीका सडक पखालिएका छन् । चोक चोकमा सजाईएको फूलका गमला हटाइएका छन् । दुसित खोलानाला छोप्न राखिएको आकर्षक फ्लेक्सहरु पनि हटाइएका छन् । भ्रमण सकिएपछि राष्ट्रपति विद्यादेवि भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङका फोटाहरु, उनीहरुको स्वागतमा राखिएको सजावटपूर्ण द्वारहरु, सडकका दुबै किनारमा राखिएका दुई देशका झण्डाहरु हटाउनु स्वाभाविक हो । तर सदाको लागि सुन्दरता दिने फुलका गमला, बगैँचा र कलात्मक फ्लेक्स पनि हटाइएका छन् । र, दुई दिनका लागि बनेको मोहिन क्षेत्रहरु पुनः कुरुप क्षेत्र बन्दैछन् । चिनियाँ राष्ट्रपतिको स्वागतका लागि करोडौं खर्च गरेर बनाइएका नयाँ संरचनाहरु उनको विदाई सँगै भत्काईएकोमा आम नेपालीको मन दुःखेको छ । तिनकुनेमा भेटिएका एकजना स्थानियले सरकारले विदेशी भिआइपी नेपाल आउँदा जहिले पनि यसै गरी सिँगार्ने गरेकाे तर पछि पुनः हालकै अवस्था जस्ताे हुने बताए । सरकारले समय-समयमा यति धेरै खर्च गर्नुभन्दा दिर्घकालिन रूपमा समाधान खाेजे रकम पनि कम लाग्ने बताए । सरकारको देखावटी विकासको नाङ्गो स्वरुप फेरी पनि धोवी खोला, विष्णुमति र बाग्मती पुलमा पुग्दा देखिन्छ । चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई लक्षित गरि सडक मर्मतका लागि सरकारले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयलाई सात करोड रुपैयाँको स्वीकृति दिएको थियो । त्यसमा मध्ये करिब चार करोड भन्दाबढी खर्च भएको कार्यालय प्रमुख राजेन्द्रराज शर्माले बताएका छन् । रातारात बनेको सडकमा प्वाल पर्न थालेका छन् भने फूटपाथमा धुलो उड्न थालेको छ । सडक राम्रो भएपनि हतारमा बनेको फूटपाथबाट धुलो उड्न थालेको कालिमाटी–सोल्टीमोड सडक खण्डका स्थानीयबासीको भनाई छ । ‘मेलम्ची खानेपानी परियोजनाले पाइप विछ्याउन सडक खनेपछि यो सडक बनेको थिएन । चिनियाँ राष्ट्रपति सोल्टी होटलमा बस्ने भएपछि यो सडक रातारात राम्रो बन्यो । हामीलाई धेरै राहात् भयो’ व्यवसायी किरण तुलाधरले भने–फुटपाथ भने राम्रोसँग बनेको छैन । अहिले नै भत्किसक्यो, फुङ्ग धुलो उड्छ ।’ राष्ट्रपति सी चिनफिङ फर्किए लगत्तै सडकका किनारामा र चोक चोकमा राखिएको फूलसहितको गमला काठमाडौं महानगर पालिकाले उठाएको छ । एयरपोर्ट, सिनामंगल, तिनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, सोल्टीमोड, सुन्धारा, लाजिम्पाट, शितल निवास क्षेत्रका चोक चोकमा राखिएका अधिकाशं गमला दुई दिनमा नै हटेका छन् । बिजुलीबजारमा धोविखोलाको पुलको दायाबाँयामा राखिएका सजावटयुक्त फ्लेक्सले सामाजिक संजाल पनि रंगाएको थियो । नेपालका चर्चित मन्दिर, गुम्बा, पर्यटकीय स्थलहरुको फोटो छापिएको रंगिङ फ्लेक्स ती क्षेत्रलाई सुन्धर मात्र बनाएको थिएन, धोवी खोला, विष्णुमति र बागमतीको कुरुपपन छोपेको थियो । सी चिनफिङ फर्किए लगत्तै आइतबार राती नै उक्त फ्लेक्स निकालिएका छन् र सरकारको देखावटी विकासको रुप उदाङ्गीएको छ । बास्तविक र धरातलीय अवस्थाको पर्दारपण भएको छ । त्यस्तै, महानगरपालिकाले चिनियाँ राष्ट्रपतिको भ्रमणको अवसरमा रातारात निर्माण गरेको तिनकुने पार्क सुक्न थालिसकेको छ । त्यसको संरक्षणको लागि महानगरले संरक्षकको खोजिगरिरहेको छ । पार्क संरक्षणका लागि नेपाल बैंक र वाणिज्य बैंकले चासो देखाएका छन् । फूलहरु झर्न थालेको र पातहरु सुकिरहेको उक्त पार्कमा महानगरले दैनिक ४ ट्याकर पानी हाल्दै आएको छ भने ७ जना सशस्त्र प्रहरीहरु उक्त पार्कको रेखदेखमा खटिएका छन् ।
रुग्ण उद्योगबाट विद्युत् प्राधिकरण मुक्त, कुलेखानी तेस्राेसँगै प्राधिकरणकाे नयाँ युग सुरू
काठमाडौं । पूर्वाधार विकास वा हाइड्रोपावर निर्माणमा कुनै समस्या देखियो भने त्यसलाई ‘चमेलिया’ हुन लाग्यो भनिन्थ्यो । अर्थात् चमेलिया विकास निर्माणमा उब्जिएको समस्या र बेथितिको सबैभन्दा ठूलो उदाहरण थियो । तर कुलमान घिसिङको कुशल व्यवस्थापनले ६० मेगावाटको यो आयोजना र करिब करिब यस्तै हालत रहेको ६० मेगावाटको माथिल्लो त्रिशुली अब रुग्ण आयोजनाको रुपमा छैनन् । ती कम्पनीहरुले व्यवसायिक उत्पादन सुरु गरिसकेका छन् । । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको राजनीतिक, कर्मचारी नेतृत्व र प्राधिकरणको नियमित अनुगमन तथा प्रयासले रुग्ण आयोजनाको रुपमा सूचीकृत कुलेखानी तेस्रो आयोजना सोमबार सम्पन्न भएको छ । याेसँगै अब नेपाल विद्युत प्राधिकरण रूग्ण आयोजनाबाट मुक्त भएकाे छ । एउटा आयोजना सम्पन्न गर्न सामान्यतया कति समय लाग्ला ? दुई, तीन वा पाँच वर्ष ? तर नेपाल विद्युुत् प्राधिकरणले निर्माण गरेको कुलेखानी तेस्रो आयोजनाले १२ वर्षमा पूर्णता पायाे । सन् २००८ मा शुरु भएको आयोजना सन् २०११ मा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा २०१९ काे पनि अन्तिम समयमा अाएर सकिएकाे हाे । मकवानपुरजस्तो सुगम र ‘क्यासकेड’ परियोजना सम्पन्न गर्न लामो समय लाग्नु नपर्ने थियो । निर्माण व्यवसायीको लापार्वाही त आयोजनाको कारक नै बनेको थियो भने प्राधिकरणको विगतको नेतृत्वले समेत ध्यान दिन सकेको थिएन । सोही कारण १४ मेगावाट क्षमताको आयोजना सम्पन्न गर्न झण्डै उत्तिकै वर्ष लाग्न पुग्यो । आयोजना सम्पन्न गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनरात मेहनत गरे। हरेक दिन आयोजनामा के भइरहेको छ, कुन काम चलिरहेको छ देखि निर्माण व्यवसायीको समस्या समाधानका लागि उनले गरेको प्रयास नै आयोजना सफलताको कारक बनेको छ । आयोजना तोकिएको समयमा नै पूरा हुनेमा कुनै शङ्का थिएन । चिनियाँ निर्माण व्यवसायी हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इञ्जिनीयरिङ एण्ड कन्ट्रक्सनको लापरवाही र कमजोर कार्यसम्पादनले आयोजनाको निर्माण ढिलाइ भएको थियो । आयोजना सम्पन्न गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सबै उपाय अवलम्बन गर्न निर्देशन दिएका थिए । मन्त्री पुनको निर्देशनपछि कार्यकारी निर्देशक घिसिङले प्राधिकरणका प्राविधिक कर्मचारी परिचालन गरी आयोजनालाई गति दिए । जसका कारण १४ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न भएको छ । कार्यकारी निर्देशक घिसिङले गत वैशाख २९ गते आयोजनाको निर्माणस्थलबाटै भारतमा रहेका हुसालका शरद गोल्छालाई टेलिफोन गरी अझै निर्माणमा लापरवाही गरी कम्पनीले अन्य स्थानमा लिएको ठेक्का तोडी कालोसूचीमा राख्ने चेतावनी दिएका थिए । उनले भनेका थिए “अझै पनि विभिन्न बहाना बनाए कुलेखानी तेस्रोको निर्माण अवरोध गरी विद्युत् उत्पादन धकेलेमा हुलासले लिएका अन्य प्रसारण तथा सवस्टेशन आयोजनामा विलम्ब जरिवाना तिराउँदै ठेक्का तोडेर कालोसूचीमा राख्छु ।” प्राधिकरण र निर्माण व्यवसायीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणको आपूर्ति, जडान र सञ्चालनका लागि ५० लाख अमेरिकी डलर र रु २४ करोडमा ठेक्का सम्झौता भएको थियो । आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाब र खानीखोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भएको आयोजनाको शुरुआती लागत रु दुई अर्ब ३३ करोड थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत रु चार अर्ब ६३ करोड पुगेको छ । आयोजनाबाट उत्पादित विद्युत् उत्पादन गरी काठमाडौँस्थित विद्युत्को केन्द्रीय ग्रिडमा जोडिएको छ । प्राधिकरणले इन्द्रसरोवरमा जम्मा गरेको पानीबाट अब भने कूल १०६ मेगावाट विद्युत् उत्पादन गर्नेछ । कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । नेपालको एकमात्र जलाशययुक्त सो आयोजनालाई ‘पावर बैंक’ को रुपमा लिइन्छ । यस वर्ष इन्द्रसरोवरको जलाधार क्षेत्रमा बढी वर्षा भएका कारण गत साउनको पहिलो साता नै जलाशय भरिएको थियो । जसका कारण प्राधिकरणले आयोजनाबाट नियमित विद्युत् उत्पादन गरी भारत निर्यात गरिरहेको छ । प्राधिकरणअनुसार कूल ४५ मेगावाट विद्युत् निरन्तर रुपमा विहार निर्यात भइरहेको छ । कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवासकुमार मिश्रका अनुसार आयोजनाको निर्माण अवधि विभिन्न कारणले लम्बिएर करीब १२ वर्षपछि मात्रै विद्युत् उत्पादन गर्ने प्रयास सफल भएको हो । स्थानीय भैँसेस्थित कुलेखानीको दोस्रो आयोजनाबाट निस्केको पानीलाई भीमफेदी गाउँपालिका–१ सानुटारस्थित विद्युत्गृहसम्ममा करीब चार हजार २०० मिटर भूमिगत सुरुङमार्गबाट पानी लगिएको छ । रुग्ण आयोजना सम्पन्न गर्न प्राधिकरणको नेतृत्व नै आयोजनास्थलमा पटकपटक खटिएर समस्या समाधानका लागि सहजीकरण गरेका कारण रुग्ण भनिएका सबै आयोजना सम्पन्न भएका छन् । रुग्ण आयोजना सम्पन्न भएपछि नयाँ आयोजना शुरु गर्नका लागि प्राधिकरणलाई थप मार्ग प्रशस्त भएको छ ।
चार करोड लागतमा शान्तिपुर मन्दिरको जीर्णोद्धार सम्पन्न
काठमाडौं । विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार रू चार करोडको लागतमा सम्पन्न भएको छ । भूकम्पका कारण ठूलो क्षति पुगेको उक्त सम्पदा जोखिममा परेपछि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले मन्दिरको जग तथा चारैतर्फको पर्खाल भत्काएर जीर्णोद्धारका साथै आवश्यक स्थानमा पुनःनिर्माणसमेत गरेको हो । स्वयम्भूको संरक्षण तथा व्यवस्थापनमा सक्रिय महासमितिका महासचिव महेन्द्ररत्न बज्राचार्यले स्वदेशी तथा विदेशी दातृ संस्थाबाट सङ्कलन गरेको आर्थिक स्रोतबाट खर्च गरिएको जानकारी दिएका छन् । उनका अनुसार तन्त्रको दीक्षा लिएका डकर्मी, सिकर्मीलगायत जनशक्तिबाट निर्माण गर्नुपर्ने उक्त सम्पदामा तान्त्रिक देवी भएकाले विशेष पूजा गरिनेछ । केही गोप्य कागजपत्र, तान्त्रिक पूजाका अभ्यास र तान्त्रिक देवदेवीको साधना विधि राखिएका छन् । उक्त सम्पदा कहिले निर्माण भएको भनेर यकिनका साथ भन्न सकिँदैन, सर्वसाधारणलाई भित्र जान प्रतिबन्ध गरिएको छ । शान्तिपुरभित्र भएका भित्तेलेखन मल्लकालीन समयसँग मिल्दोजुल्दो पाइएकाले आठौँदेखि १२औँ शताब्दीको बीचमा सो मन्दिर निर्माण भएको विश्वास गरिएको छ । स्वयम्भू महाचैत्यदेखि करिब ३०० मिटरको दूरीमा रहेका उक्त सम्पदा काठमाडौँ महानगरपालिका–१५ मा पर्छ । सम्पदा प्राचीन भए पनि पछिल्लो समय विकास भएका प्रविधिको प्रयोग गरी मर्मतसम्भार गरिएको छ । स्वयम्भू तथा त्यस वरपर क्षेत्रमा शान्तिपुर, अग्निपुर, वायुपुर, नागपुर, अनन्तपुरलगायत महत्वपूर्ण सम्पदा छन् । अग्निपुर, शान्तिपुर, प्रतापपुर र पुरानो तामाङ गुम्बा पूर्णरूपमा भत्किएका सम्पदा हुन् । पुरातत्व विभागका अनुसार २०७२ को भूकम्पमा परी कूल ७५३ चैत्य, मन्दिर तथा गुम्बलगायत सम्पदामा क्षति पुगेको थियो । देशभर भूकम्पबाट क्षतिग्रस्त भएका विभिन्न धार्मिक तथा पुरातात्विक महत्वको बौद्ध, चैत्य, गुम्बा तथा मठमन्दिरको जीर्णोद्वार कार्यले गति लिन सकेको छैन । रासस
एलआईसीले साढे ७ कराेडमा नागरिक लगानी कोषकाे सेयर लिलामीमा राख्याे, बिक्ने सम्भावना कम
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) नेपालले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । इन्स्योरेन्सले उक्त सेयर प्रतिकित्ता न्युनतम १५०५ रुपैयाँ ताेकेर बढाबढ मूल्यमा बिक्री गर्न लागेको हो । कम्तिमा ७ कराेड ५२ लाख ५० हजार रूपैयाँ मूल्य पर्ने उक्त सेयर अहिलेकाे मन्दीमा बिक्री हुने सम्भावना कम रहेकाे जानकारहरू बताउँछन् । सामाजिक सुरक्षा काेष सञ्चालन सँगै नागरिक लगानी काेषकाे सेयर मूल्यमा लगातार गिरावट देखिएकाे र लिलामीमा राखिएको उक्त सेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र किन्न पाउने भएकाेले याे सेयर बिक्री हुन कठिन हुने बताइएकाे छ । लगानी कोषको वार्षिक चार्ट नागरिक लगानी काेषकाे सेयर गत माघ २ गते प्रतिकित्ता २८७४ रुपैयाँमा काराेबार भएकाे थियाे । त्यसपछि निरन्तर घटेर गत साेमबार प्रतिकित्ता १७७१ रुपैयाँमा आइपुगेकाे छ । सामाजिक सुरक्षा कोष सञ्चालनमा आए लगत्तै त्यस्तै प्रकृतिको सेवा सञ्चालन गर्दै आएको नागरिक लगानी कोषको सेयर मूल्य निरन्तर घट्दै गएको छ । गत २०७५ मंसिर २७ गते नेप्से ११४८ अंकमा हुँदा लगानी कोषको सेयर मूल्य घटेर प्रतिकित्ता १५७७ रुपैयाँमा आएको थियो । प्राविधिक विश्लेषणका औजारहरूले नेप्से परिसूचक ८०० अंकसम्म झर्न सक्ने देखाएकाे छ । प्राविधिक विश्लेषणलाइ आधार मान्ने हो भने लगानी कोषको सेयर मूल्य प्रतिकित्ता १३४१रूपैयाँसम्म झर्न सक्छ । याे सेयर बैंक तथा बीमा कम्पनीहरुले मात्र किन्न पाउने भएकाेले उनीहरूले यस्ता प्राविधिक विश्लेषणलाइ पनि आधार मानेर निर्णय लिन्छन् । संस्थागत लगानीकर्ताले सर्वसाधारण लगानीकर्ताहरु जस्तो अनुमानको भरमा लगानी गर्दैनन् । अर्काे महत्वपूर्ण तथ्य के हाे भने, एलआइसीले बेच्न लिलामीमा राखेकाे सेयर संस्थापक सेयर हाे । नागरिक लगानी काेषकाे बजारमा काराेबार भइरहेकाे सेयर साधारण सेयर हाे । सामान्यतय साधारण सेयरकाे मूल्य भन्दा संस्थापक सेयरकाे मूल्य कम हुन्छ, ३० देखि ५० प्रतिशतसम्म ।उदाहरणको लागि अहिले सिटिजन्स बैंकको साधारण सेयर मूल्य १९४ देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ । केही दिनअघि मात्र बैंकको संस्थापक सेयरको मूल्य १०३ रुपैयाँमा कारोबार भएको थियो । यसमा साधारण सेयरभन्दा संस्थापक सेयरको मूल्य करिब ४८ प्रतिशत कम छ ।
कृषि विकास र राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता
काठमाडौं । कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि गुरांगाईले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात कृषि विकास बैंक मार्फत राष्ट्रिय सहकारी बैंक (एनसिविएल) सँग आबद्ध सम्पूर्ण सदस्यहरुलाई प्रिपेड कार्ड उपलव्ध गराउने भएकोले ग्रामिण क्षेत्रका दुरदराजमा रहेका सहकारी सदस्यहरुलाई आधुनिक बैंकिङ्गका अत्याधुनिक सेवाबाट लाभान्वित हुने अवसर मिल्नेछ । उक्त अवसरमा कृषि विकास बैंकका का.मु. उप-महाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने ध्रुव चन्द्र गौतम र दिर्घ बहादुर अर्याल , विभागीय प्रमुखहरु पप्पुबाबु श्रेष्ठ, बासु अधिकारी शाखा प्रमुख भोला नेपाल र राष्ट्रिय सहकारी बैंकको तर्फबाट अन्य प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
सात महिनादेखि सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी
भिमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा सात महिनादेखि तालाबन्दी यथावत रहेकाे छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय र रजिष्ट्रारको निवासमा ताला लागेको आधा वर्ष बितिसक्दा पनि ताला खुलाएर विश्वविद्यालयको कामकाज अगाडि बढाउने सुरसारसमेत देखिएन । जिल्लास्तरमा सर्वदलीय संयन्त्र र स्थानीय प्रशासनसम्मको पहलले विश्वविद्यालयको तालाबन्दी नखुल्दा त्यहाँ कार्यरत कर्मचारी भने फुर्सदिला बनेका छन् । नौ वर्षअघि जन्मिँदै लामो हड्ताल र आन्दोलनबाट स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको कलह अझै नसकिएको त्यहाँ अध्ययनरत विद्यार्थीको दुखेसो छ । २०६५ सालमा सुदूरपश्चिम विश्वविद्यालय स्थापनाको माग गर्दै यहाँका विद्यार्थी, नागरिक समाज, प्राध्यापक र सर्वसाधारणले एक महिनाभन्दा बढी समयसम्म आन्दोलन गरेका थिए । “सात/सात महिनासम्म विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुनुभन्दा लज्जाको विषय के नै होला र खै ?” विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्नातक तहमा अध्ययनरत विद्यार्थी दीपक चन्दले भने, “त्यसको प्रत्यक्ष वा परोक्ष रुपमा असर विद्यार्थीमा परेको छ ।” उनले विद्यार्थी र प्राध्यापक स्वयं राजनीतिक स्वार्थसिद्ध गर्न बढी अग्रसर हुने भएकाले नै यहाँ बढी खिचातानी हुने गरेको बताए । “कर्मचारी भर्नादेखि नेतृत्वमा आउनसम्म नै यहाँ राजनीति हुन्छ ।” चन्दले भने, “अब यो बौद्धिक जमानको थलो हो भन्न पनि लाज मान्नुपर्ने बेला भइसक्यो ।” गत चैत अन्तिम साता नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरले विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार निलम्बन गरी नयाँलाई जिम्मेवारी दिइएपछि तालाबन्दी थालेको हो । विद्यार्थीको आन्दोलनलाई यहाँस्थित एकथरि विश्वविद्यालय प्राध्यापक सङ्घ र प्रजातन्त्रवादी प्राध्यापक सङ्घले समेत सर्मथन जनाएको विश्वविद्यालयमा कार्यरत एक कर्मचारीले बताए । “हाम्रोमा त सामान्य माग राखेर पनि आन्दोलन र हड्ताल गर्ने परम्परा नै बनिसक्यो ।” ती कर्मचारीले भने, “विद्यार्थीको हकहितभन्दा पनि व्यक्तिगत र पार्टीगत स्वार्थ हेर्ने प्रवृत्तिले विश्वविद्यालय जर्ज अवस्थामा पुगिसक्यो ।” सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. पूर्णबहादुर चन्दले नेविसङ्घले तालाबन्दी गरेकाले खुलाउन पहल गर्ने बताए । “तालाबन्दी लामो समयदेखि यथावत छ ।” उनले भने, “दशैँ बिदा सकियो अब ताला खुलाउन नेपाली काङ्ग्रेसको जिल्ला नेतृत्वसित कुराकानी गर्ने तयारीमा छौँ ।” उनले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएपछि केही समय कर्मचारीले कार्यालयको कामकाज रजिष्ट्रारको निवासबाट समेत सञ्चालन गरेको बताएका छन् । “रजिष्ट्रारको निवासमा पनि पछि गएर नेविसङ्घले ताला लगायो । सुदूरपश्चिम विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्टको कार्यसञ्चालनप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री कार्यालयले गत पुस २७ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेपछि तालाबन्दी प्रकरण शुरु भएको थियो । पदमुक्त गरिएकी तत्कालीन उपकुलपति श्रेष्ठको कार्यकाल गत भदौ ७ गते सकिएको छ भने तत्कालीन रजिष्ट्रार भट्टको कार्यकाल आगामी माघसम्म छ । गत चैत २७ मा विश्वविद्यालयकै विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा. डा. पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डिन डा. गोविन्द विष्टलाई रजिष्ट्रारको दिइएको छ । श्रेष्ठ र भट्टले आर्थिक अनियमितता गरेको विषय आएपछि सरकारले तीन वटा छानबिन समिति बनाएर छानबिन गरेको थियो । सोही छानबिन टोलीको प्रतिवेदनका आधारमा विश्वविद्यालयका कुलपतिले जिम्मेवारीबाट हटाउँदै नयाँलाई जिम्मेवारी दिइएको बताइन्छ । नेविसङ्घ भने बिना कारण तत्कालीन उपकुलति र रजिष्ट्रारलाई हटाएको भन्दै तालाबन्दीमा उत्रिएको नेविसङ्घ पूर्वकेन्द्रीय सदस्य कैलाश चन्दको भनाइ छ । “प्रक्रिया पुर्याएर नयाँ उपकुलपति र रजिष्ट्रार नियुक्त भए हाम्रो आपत्ति भएन ।” उनले भने, “ऐन विश्वविद्यालय विधानअनुसार तीन महिनाभन्दा बढी काममुकायम दिन मिल्दैन ।” “अहिले पनि दुई जना रजिष्ट्रार छन् ।” चन्दले दाबी गर्दै भने, “परीक्षा नियन्त्रक र सहायक नियन्त्रक नियुक्तको विषयमा पनि हाम्रो विरोध यथावत छ ।” त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक सङ्घका अध्यक्ष पुष्पराज जोशी दुई वटा कार्यकारीले गरेको निर्णय अमान्य हुने भएकाले विरोध गरेको बताएका छन् । “दुई जना कार्यकारीले नियन्त्रक, सहायक नियन्त्रक र डिन नियुक्त भयो ।” उनले भने, “त्यो प्रक्रिया त्रुटिपूर्ण हो भन्ने हाम्रो ठहर छ ।” अध्यक्ष जोशीले केन्द्रीय कार्यालयमा आफूहरुले गत भदौ अन्तिम सातादेखि तालाबन्दी गरेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चार हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । रासस