विकासन्युज

एनआरएनहरुलाई व्यवसायी चन्द्र ढकालको आग्रह – सातै प्रदेशमा ‘चन्द्रागिरि’ बनाउनुस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेश गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै ढकालले सरकारले हाल लगानी गर्न उद्यमीहरुलाई उत्साहित गरेको र तीनै तहका सरकारहरुबीच लगानी भित्र्याउन प्रतिस्पर्धा नै भएको भन्दै देशमा लगानीको वातावरणमा निकै ठूलो सुधार भएको समेत बताए । उनले चन्द्रागिरि पर्यटकीय क्षेत्रको आवश्यकता हरेक प्रदेशमा आवश्यक भएको भन्दै मुख्यमन्त्रीहरुले लगानी गर्न आग्रह गर्ने गरेको भन्दै ढकालले उनीहरुलाई त्यस्तो क्षेत्रमा लगानी गर्ने विकल्प समेत भएको बताए । ढकालले आफूसँग गैर आवासीय नेपालीहरुसँग मिलेर काम गरेको अनुभव समेत भएको भन्दै २७ मेगावाटको दोर्दीखोला जलविद्युत र काठमाडौँमा रहेको चन्द्रागिरि केबलकार गरी दुईओटा प्रोजेक्टमा एनआरएनहरुको समेत लगानी भएको उल्ल्ेख गरे । ‘यी प्रोजेक्टहरु नेपाली उद्यमशीलताको क्षेत्रमा राम्रा उदाहरणका रुपमा स्थापित भएको सबैमा विदितै छ’ उनले भने । यो सफलताले नेपालमा गैर आवासीय नेपाली साथीहरुसँगको संयुक्त लगानीमा धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण नै बनेको भन्दै भन्दै ढकालले भने – ‘आउनुहोस् संयुक्त लगानी गरौँ या तपाईँहरु व्यक्तिगत रुपमै आएर लगानी गर्नुहोस् ।’ आफू विदेश जाँदा कतिपय नेपाली साथीहरुले नेपालमा लगानीको वातावरण नै छैन भन्नेजस्ता कुरा गर्ने गरेको स्मरण गर्दै उनले अमेरिकामा पनि व्यवसाय गरिरहेका साथीहरुका त्यहीँको सरकारसँग आ–आफ्नै गुनासा रहेको भन्दै कहिँपनि सोचेजस्तो नहुने भएकोले केही अवरोधहरुलाई व्यवसायीले सहज रुपमा ग्रहण गर्नुपर्ने समेत बताए । ढकालको विचारमा जलविद्युत, पर्यटन, कृषि लगायतमा क्षेत्रमा एनआरएनएहरुले लगानी गरेर राम्रो लाभ लिनसक्ने ठाउँ छ । ‘आफूले संसारमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालमा लगाउन सकिएमा यसले राम्रै प्रतिफल दिन सक्छ’ उनको सुझाव थियो । कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले पनि चन्द्रागिरि केवलकारबाट सफलता पाएका ढकालकै उदाहरण दिँदै केवलकार एनआरएनहरुको लगानीको अर्को नाफामूलक क्षेत्र भएको टिप्पणी गरे । ढकालप्रति इगिंत गर्दै अर्थमन्त्री खतिवडाले भने –‘केवलकारमा लगानी गरेर अनुहार हँसिलो बनाउने मान्छे यहीँ हुनुहुन्छ ।’

एडभेञ्चर मोटरसाइकल ‘एक्सपल्स २००’ सार्वजनिक, मूल्य ३८५ हजार रुपैयाँ मात्र

काठमाडौं । हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले प्रिमियम मोटर साइकल ‘एक्सपल्स २००’ सार्वजनिक भएको छ । हिरो मोटर कर्पले उत्पादान गरेको यस मोटर साइकल एक्स्पल्स २००को मूल्य तीन लाख ८५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अुनसार यो बाइक देशभरका नेपाल जेनरल माकेटिङल सम्पूर्ण डिलरहरुमा उपलब्ध हुनेछन् । हिरो मोटर कर्पको यस उत्पादनले ग्राहकहरुमाझ आधुनिक डिजाइन, प्रविधि र सबैभन्दा अलग बनौटका उत्पादन प्रस्तुत गर्ने कम्पनीको लक्ष्यलाई प्रतिबिम्बित गरेको छ । भ्रमणमा जान रुचाउने युवा पुस्ताहरु लक्षित गरि निर्माण गरिएको एक्स्पल्स २०० आधुनिक संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाहरुको लागि उत्कृष्ट मोटरसाइकल हुने कम्पनीले जनाएको छ ।

एनआरएनको विश्व सम्मेलन : भित्र विकासको ‘बाइनाकुलर’, बाहिर राजनीतिक गर्मी

काठमाडौं । मंगलबार काठमाडौंको बौद्धस्थित होटल हायातमा एउटा छुट्टै भीड थियो । सँधै सुनसानप्रायः देखिने होटल हायातको त्यति ठूलो स्पेसमा सवारीसाधन पार्किङ गर्ने ठाउँ समेत थिएन । नेपालकै सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको उक्त होटलको चउर र बाटोभरी मानिसको ओहोरदोहोर पनि उत्तिकै थियो, लाथ्यो त्यहाँ कुनै राजनीतिक दलको आमसभा हुँदैथियो । लाग्थो त्यहाँ कुनै ठूलो राजनीतिक दलको आमसभा हुँदैछ । नेपालीहरुको मानसपटलमासम्झनाको रुपमा रहेको राजनीतिक दलहरुको चुनावलाई बिर्साउनेगरी जम्मा भएको त्यो भीड वास्तवमा गैर आवासीय नेपालीहरुको विश्व सम्मेलनको उद्घाटन सत्रको थियो । जसमा करिब ३ हजार सदस्यहरु प्रत्यक्ष रुपमा सहभागी रहेको अनुमान आयोजकको छ । बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मेलनको औपचारिक उद्घाटन गराएसँगै चुनावी प्रचार र खाना नास्ताको लागि सहभागीहरुको भीड लाग्दैगर्दा सम्मेलनको सभाहलमा निर्धारित कार्यक्रमअनुसार अर्को सेसन सुरु भइसकेको थियो जसको विषय थियो – ‘मोबिलाइजेसन अफ रिसोर्सेज फर इकोनोमिक ट्रान्सफरमेसन’ अर्थात् आर्थिक रुपान्तरणका लागि स्रोतको परिचालन । सेसनमा कार्यपत्र प्रस्तुत गर्नेहरुको मुख्य चासो एनआरएनएहरुले नेपालको विकासमा सहभागिता कसरी जनाउने भन्ने सम्बन्धमा थियो । लामो राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीसँगै देशको आर्थिक विकासको भोकलाई सम्बोधन गर्न गैर आवासीय नेपालीहरुले भूमिका कसरी खेल्न सकिन्छ भन्ने बहस भइरहँदा खालीजस्तै देखिने हलमा सहभागीहरु कार्यपत्र प्रस्तुत गरिरहेका थिए बाहिर भने प्रचारप्रसार गर्ने र ब्रोसर र भिजिटिङ कार्डहरु बाँड्नेको कमी थिएन । कार्यक्रममा सूरुमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै पूर्व बैंकर तथा अर्थविद् अनलराज भट्टराईले वित्तीय स्रोतहरुको पहिचान र संकलनका सम्बन्धमा आफ्नो धारणा राख्दा डा. रामप्रसाद धितालले एनआरएनएको लागनीका लागि हाइड्रो क्षेत्र महत्वपूर्ण भएको भन्दै यसका लागि प्रोफेसनल ग्रुप र बिजिनेस ग्रुपबीचको सहकार्यमा उनले जोड दिए । त्यस्तै, सभाकै अर्का प्रस्तुतकर्ता राजेश सैंजुले नेपालको उर्जालाई हाइड्रो क्षेत्रमै सीमित गर्नुभन्दा इनर्जी मिक्समा जानुपर्नेमा जोड दिँदै सोलार, हावा र जलाशयमा आधारित उर्जाको क्षेत्रमा एनआरएनएहरुको लगानीका लागि आह्वान गरे । साइप्रसका एनआरएन रञ्जित महतोले एनआरएन शेयर बजारमा आउँन दिदैगर्दा आउनसक्ने जटिलताको सम्बन्धमा बोल्दै त्यस्तो लगानीको अतिवित्तीयकरण हुन नहुनेतर्फ जोड दिए । एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले विश्वमै डायस्पोराहरु ज्ञान र प्रविधिको संवाहक हुने गरेको भन्दै नेपाली डायस्पोराहरुले अव नेपालको कायापलट गर्ने समय आएको बताए । उनले आफ्नो संलग्नतामा नेपालमा ११६ मेगावाटको आयोजना निर्माण गरेको भन्दे यो २ वर्षभित्र सकिने बताए । व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आफूसँग एनआरएनसँग मिलेर काम गरेको अनुभव भएको काठमाडौंमा चन्द्रागिरि बनेजस्तै प्रत्येक प्रदेशमा चन्द्रागिरि बनाउन आग्रह गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले एनआरएनको लागानीका ५ क्षेत्रहरु पहिचान गर्दैगर्दा फरक राजनीतिक आस्था बोकेका दुई अर्थविद्हरु रामशरण महत र अर्थमन्त्री युवराज खतिवडाबीच नेपाल सरकार, नेपाली जनताले गर्नुपर्ने र समग्र एनआरएनएले नेपालको विकासका लागि खेल्नुपर्ने भूमिकाबारे एकमत देखिएका थिए । पूर्व अर्थमन्त्री रामशरण महतले चीनको विकासमा चिनियाँ डायस्पोराहरुको भूमिकाको चर्चा गरिरहँदा र अर्थमन्त्री युवराज खतिवडाले विभिन्न क्षेत्रहरु पहिचान गर्दै लगानीका लागि आह्वान गर्दैगर्दा खालीजस्तै देखिएको सभाहल बाहिर भने ‘आई एम विथ कुल’ र ‘आई एम विथ कुमार’ लेखिएका पोष्टर र ब्यानरहरु बाँड्न व्यस्त देखिन्थे । त्यही एउटा समूह जसले भोलि तिनै विकासका आकांक्षाहरु पूरा गर्ने जिम्मेवारी पाउँछ, तर आज त्यसलाई सुन्नेसम्म फुर्सद छैन ।

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तयारी, तिहारमा मात्र २५ लाख माला चाहिने

काठमाडौं । तिहारका लागि करिब २५ लाख फूलकाे माला आवश्यक पर्ने भएको छ । पछिल्लो समयमा ८० प्रतिशत फूल आन्तरिक उत्पादनले नै पुग्ने गरेकाे हुँदा २० प्रतिशत भारतबाट आयात हुँदै आएको फ्लोरिकल्चर एशोसिएसन नेपालको अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ललितपुरमा हुने लागेको १३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी व्यवसायीलाई हौसला दिनकै लागि प्रत्येक वर्ष हुँदै आएको संयोजक शिवबहादुर खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । फूलको पर्व नजिकीएसँगै घर आँगन र बगैंचामा सजाउन तथा पाहुनाको सत्कारका लागि फूलको प्रवद्र्धन हुँदै आएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिवरि’ भन्ने नाराको साथ कात्तिक १ गते विहान ११ बजे उक्त मेलाको उद्घाटन गर्ने आयोजकले जानकारी दिएका छन् । पछिल्लो समय फूलको महत्वको बारेमा सरकारले चासो दिएको फ्लोरिकल्चर एशोसिएसन नेपालको अध्यक्ष श्रेष्ठले खुसी व्यक्त गरेका छन् । हालै सम्पन्न चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको अवसरमा करिब १ करोड रुपैयाँ फूलमा खर्च गरेको भन्दै फूलले आत्मियता प्रदान गर्ने हुँदा हाल स्वागतका लागि फूल अनिवार्य भईसकेको हुँदा नेपाली बजारमा प्रतिवर्ष १० देखि १५ प्रतिशतको दरले फूलको माग बढी रहेको अध्यक्ष श्रेष्ठले बताए । तिहार तथा छठको अवसरलाई ध्यानमा राखि प्रत्येक वर्ष हुने मेला अघिल्लो वर्षहरुमा कृषि विकास मन्त्रालयको तथा विभागको सहयोगमा आयोजना गरिएको थियो, भने यस वर्ष फ्लोरिकल्चर एशोसिएसन नेपालले आफ्नै साधन, स्रोतमा सञ्चालन गर्न लागेको मेला संयोजक खड्काले बताए । कात्तिक एक गतेदेखि चार गतेसम्म हुने उक्त मेलामा ४४ वटा व्यवसायिक स्टल, ४ वटा सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४९ वटा प्रदर्शनी कक्ष रहने छन् । पुष्प व्यवसायीहरुको व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान तथा व्यवसायिहरु बीचको प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको हो । सामान्य रुपमा वि.सं. २०११ सञ्चालन भएको पुष्प व्यवसायले आर्थिक वर्ष २०७५/७६ सम्म आइपुग्दा ७ सय भन्दाबढी रहेका छन्, भने ४३ वटा जिल्लामा पुष्प खेती विस्तार भएको छ । करिब १ सय ५७ हेक्टरमा फैलिएको पुष्प व्यवसायमा आश्रित भई करिब साढे ४३ हजारले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका छन् । त्यसैगरी आर्थिक वर्ष २०७५/२०७६ सालमा २ अर्ब ४२ करोड रुपैयाँ वरावरको कारोबार भएको थियो ।

टिकुलीगढ दुग्ध उत्पादक सहकारीको २४ औं साधारणसभा सम्पन्न

काठमाडौं । रुपन्देहीमा रहेको श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा संस्थाका अध्यक्ष जनार्दन शर्मा यादव र सभा सदस्य बलदेव शर्मा पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभामा अध्यक्ष यादवले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थागत र संस्थाका सेयर सदस्यहरुको हकहितको लागि विभिन्न नौं वटा भावी कार्यक्रमहरुको लागि प्रस्ताव पेश गरेका थिए । पेश गरेको प्रस्तावहरुमा दुग्ध उत्पादक कृषकलाई राहत देखि सेयर सदस्यको एकाघरको परिवारको सदस्यको मृत्युमा काजक्रिया खर्चको पनि बृद्धि गर्ने रहेको छ भने संस्थालाई थप मजवुत बनाएर लैजानका लागि अन्य कार्यक्रमहरु पनि अगाडी सारिएको छ । संस्थाका उपाध्यक्ष भूपराज पाण्डे २४ औं वार्षिक साधारण सभामा बोल्दै जिल्ला दुग्ध सरकारी संघका अध्यक्ष लेखनाथ पाण्डेले हुने खाने र गरिखानेका बीच अनुदान वितरणमा भेदभाव भएको बताउँदै दुधको मूल्य बढाए किसानहरुलाई राहत मिल्ने भएतापनि लागत मूल्य घटाउन सकेको अवस्थामा सबैलाई राहत मिल्ने तर्फ सरकार केन्द्रित हुनु पर्ने बताएका छन् । यस सहकारीले दश लाख दुई हजार १५ रुपैयाँ सेयर पुँजी रहेको गत आर्थिक वर्षमा एक लाख ६७ हजार सात सय रुपैयाँ थप गरी ११ लाख ६९ हजार सात सय १५ रुपैयाँ पुर्याएको छ । आर्थिक वर्ष २०७५/७६ मा २७ लाख ३३ हजार तीन सय ७५ रुपैयाँ अर्थात दुई सय ३३ प्रतिशत खुद मुनाफा आर्जन गर्न सफल भएको छ भने तीन सय ५० जना सेयर सदस्यहरुको संख्यामा ५८ जना वृद्धि गरी चार सय आठ पुर्याएको छ ।

चलचित्र तथा मोडलिङमा व्यस्त बन्दै मोडल तथा नायिका अनिता गिरि

काठमाडौं । नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा व्यस्त बन्दै गरेकी मोडल र नायिका हुन अनिता गिरि । मोडलिङ सुरु गरेको एक बर्ष भित्र नै चार वटा चलचित्र तथा करिब आधा दर्जन म्युजिक भिडियोहरुमा जादुमय अभिनय गरिसकेकी उनी अहिले चलचित्रकर्मीहरुको रोजाइमा परेकी छिन् । युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान, नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर चलचित्र तथा मोडलिङको भिडमा आफुलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडि बढदै गरेकी नायिका हुन अनिता गिरि । उनी अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन । मोडलिङ क्षेत्र हुदै चलचित्रमा नायिका बनेकी अनिताले दर्जनौ फेसन सोहरुमा आफ्नो कला कौसल प्रदर्शन गरि सकेकी छिन । अभिनय तथा नृत्यमा पोख्त नायिका अनिता गिरि सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनीप्रतिको आकर्षण हो । अझै मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै सिने नगरी तथा मोडलिङमा स्थापित हुन चाहन्छिन । खोटाको सिम्पानीमा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी गिरि हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभावकी छिन । नयाँ नेपाली चलचित्र मार्फत नायिकाको रुपमा धमाकेदार इन्ट्री गर्न लागेकी नायिका अनिता भन्छिन यदि अन्य राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको बताउँछिन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने अनिता गिरि अभिनयमा पोख्त छिन् । अनिताले भनिन्, अब चलचित्र र मोडलिङमै करिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनी भन्छिन् मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि अनिता बताउँछिन ।

सिंगारिएकाे सडक पखालिँदै, देखावटी विकासको नाङ्गो रुप धोवीखोला र विष्णुमति पदार्पण

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा सिंगारिएका राजधानीका सडक पखालिएका छन् । चोक चोकमा सजाईएको फूलका गमला हटाइएका छन् । दुसित खोलानाला छोप्न राखिएको आकर्षक फ्लेक्सहरु पनि हटाइएका छन् । भ्रमण सकिएपछि राष्ट्रपति विद्यादेवि भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङका फोटाहरु, उनीहरुको स्वागतमा राखिएको सजावटपूर्ण द्वारहरु, सडकका दुबै किनारमा राखिएका दुई देशका झण्डाहरु हटाउनु स्वाभाविक हो । तर सदाको लागि सुन्दरता दिने फुलका गमला, बगैँचा र कलात्मक फ्लेक्स पनि हटाइएका छन् । र, दुई दिनका लागि बनेको मोहिन क्षेत्रहरु पुनः कुरुप क्षेत्र बन्दैछन् । चिनियाँ राष्ट्रपतिको स्वागतका लागि करोडौं खर्च गरेर बनाइएका नयाँ संरचनाहरु उनको विदाई सँगै भत्काईएकोमा आम नेपालीको मन दुःखेको छ । तिनकुनेमा भेटिएका एकजना स्थानियले सरकारले विदेशी भिआइपी नेपाल आउँदा जहिले पनि यसै गरी  सिँगार्ने गरेकाे तर पछि पुनः हालकै अवस्था जस्ताे हुने बताए । सरकारले समय-समयमा यति धेरै खर्च गर्नुभन्दा दिर्घकालिन रूपमा समाधान खाेजे रकम पनि कम लाग्ने बताए । सरकारको देखावटी विकासको नाङ्गो स्वरुप फेरी पनि धोवी खोला, विष्णुमति र बाग्मती पुलमा पुग्दा देखिन्छ । चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई लक्षित गरि सडक मर्मतका लागि सरकारले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयलाई सात करोड रुपैयाँको स्वीकृति दिएको थियो । त्यसमा मध्ये करिब चार करोड भन्दाबढी खर्च भएको कार्यालय प्रमुख राजेन्द्रराज शर्माले बताएका छन् । रातारात बनेको सडकमा प्वाल पर्न थालेका छन् भने फूटपाथमा धुलो उड्न थालेको छ । सडक राम्रो भएपनि हतारमा बनेको फूटपाथबाट धुलो उड्न थालेको कालिमाटी–सोल्टीमोड सडक खण्डका स्थानीयबासीको भनाई छ । ‘मेलम्ची खानेपानी परियोजनाले पाइप विछ्याउन सडक खनेपछि यो सडक बनेको थिएन । चिनियाँ राष्ट्रपति सोल्टी होटलमा बस्ने भएपछि यो सडक रातारात राम्रो बन्यो । हामीलाई धेरै राहात् भयो’ व्यवसायी किरण तुलाधरले भने–फुटपाथ भने राम्रोसँग बनेको छैन । अहिले नै भत्किसक्यो, फुङ्ग धुलो उड्छ ।’ राष्ट्रपति सी चिनफिङ फर्किए लगत्तै सडकका किनारामा र चोक चोकमा राखिएको फूलसहितको गमला काठमाडौं महानगर पालिकाले उठाएको छ । एयरपोर्ट, सिनामंगल, तिनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, सोल्टीमोड, सुन्धारा, लाजिम्पाट, शितल निवास क्षेत्रका चोक चोकमा राखिएका अधिकाशं गमला दुई दिनमा नै हटेका छन् । बिजुलीबजारमा धोविखोलाको पुलको दायाबाँयामा राखिएका सजावटयुक्त फ्लेक्सले सामाजिक संजाल पनि रंगाएको थियो । नेपालका चर्चित मन्दिर, गुम्बा, पर्यटकीय स्थलहरुको फोटो छापिएको रंगिङ फ्लेक्स ती क्षेत्रलाई सुन्धर मात्र बनाएको थिएन, धोवी खोला, विष्णुमति र बागमतीको कुरुपपन छोपेको थियो । सी चिनफिङ फर्किए लगत्तै आइतबार राती नै उक्त फ्लेक्स निकालिएका छन् र सरकारको देखावटी विकासको रुप उदाङ्गीएको छ । बास्तविक र धरातलीय अवस्थाको पर्दारपण भएको छ । त्यस्तै, महानगरपालिकाले चिनियाँ राष्ट्रपतिको भ्रमणको अवसरमा रातारात निर्माण गरेको तिनकुने पार्क सुक्न थालिसकेको छ । त्यसको संरक्षणको लागि महानगरले संरक्षकको खोजिगरिरहेको छ । पार्क संरक्षणका लागि नेपाल बैंक र वाणिज्य बैंकले चासो देखाएका छन् । फूलहरु झर्न थालेको र पातहरु सुकिरहेको उक्त पार्कमा महानगरले दैनिक ४ ट्याकर पानी हाल्दै आएको छ भने ७ जना सशस्त्र प्रहरीहरु उक्त पार्कको रेखदेखमा खटिएका छन् ।

रुग्ण उद्योगबाट विद्युत् प्राधिकरण मुक्त, कुलेखानी तेस्राेसँगै प्राधिकरणकाे नयाँ युग सुरू

काठमाडौं । पूर्वाधार विकास वा हाइड्रोपावर निर्माणमा कुनै समस्या देखियो भने त्यसलाई ‘चमेलिया’ हुन लाग्यो भनिन्थ्यो । अर्थात् चमेलिया विकास निर्माणमा उब्जिएको समस्या र बेथितिको सबैभन्दा ठूलो उदाहरण थियो । तर कुलमान घिसिङको कुशल व्यवस्थापनले ६० मेगावाटको यो आयोजना र करिब करिब यस्तै हालत रहेको ६० मेगावाटको माथिल्लो त्रिशुली अब रुग्ण आयोजनाको रुपमा छैनन् । ती कम्पनीहरुले व्यवसायिक उत्पादन सुरु गरिसकेका छन् । । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको राजनीतिक, कर्मचारी नेतृत्व र प्राधिकरणको नियमित अनुगमन तथा प्रयासले रुग्ण आयोजनाको रुपमा सूचीकृत कुलेखानी तेस्रो आयोजना सोमबार सम्पन्न भएको छ । याेसँगै अब नेपाल विद्युत प्राधिकरण रूग्ण आयोजनाबाट मुक्त भएकाे छ । एउटा आयोजना सम्पन्न गर्न सामान्यतया कति समय लाग्ला ? दुई, तीन वा पाँच वर्ष ? तर नेपाल विद्युुत् प्राधिकरणले निर्माण गरेको कुलेखानी तेस्रो आयोजनाले १२ वर्षमा पूर्णता पायाे । सन् २००८ मा शुरु भएको आयोजना सन् २०११ मा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा २०१९ काे पनि अन्तिम समयमा अाएर सकिएकाे हाे । मकवानपुरजस्तो सुगम र ‘क्यासकेड’ परियोजना सम्पन्न गर्न लामो समय लाग्नु नपर्ने थियो । निर्माण व्यवसायीको लापार्वाही त आयोजनाको कारक नै बनेको थियो भने प्राधिकरणको विगतको नेतृत्वले समेत ध्यान दिन सकेको थिएन । सोही कारण १४ मेगावाट क्षमताको आयोजना सम्पन्न गर्न झण्डै उत्तिकै वर्ष लाग्न पुग्यो । आयोजना सम्पन्न गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनरात मेहनत गरे। हरेक दिन आयोजनामा के भइरहेको छ, कुन काम चलिरहेको छ देखि निर्माण व्यवसायीको समस्या समाधानका लागि उनले गरेको प्रयास नै आयोजना सफलताको कारक बनेको छ । आयोजना तोकिएको समयमा नै पूरा हुनेमा कुनै शङ्का थिएन । चिनियाँ निर्माण व्यवसायी हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इञ्जिनीयरिङ एण्ड कन्ट्रक्सनको लापरवाही र कमजोर कार्यसम्पादनले आयोजनाको निर्माण ढिलाइ भएको थियो । आयोजना सम्पन्न गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सबै उपाय अवलम्बन गर्न निर्देशन दिएका थिए । मन्त्री पुनको निर्देशनपछि कार्यकारी निर्देशक घिसिङले प्राधिकरणका प्राविधिक कर्मचारी परिचालन गरी आयोजनालाई गति दिए । जसका कारण १४ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न भएको छ । कार्यकारी निर्देशक घिसिङले गत वैशाख २९ गते आयोजनाको निर्माणस्थलबाटै भारतमा रहेका हुसालका शरद गोल्छालाई टेलिफोन गरी अझै निर्माणमा लापरवाही गरी कम्पनीले अन्य स्थानमा लिएको ठेक्का तोडी कालोसूचीमा राख्ने चेतावनी दिएका थिए । उनले भनेका थिए “अझै पनि विभिन्न बहाना बनाए कुलेखानी तेस्रोको निर्माण अवरोध गरी विद्युत् उत्पादन धकेलेमा हुलासले लिएका अन्य प्रसारण तथा सवस्टेशन आयोजनामा विलम्ब जरिवाना तिराउँदै ठेक्का तोडेर कालोसूचीमा राख्छु ।” प्राधिकरण र निर्माण व्यवसायीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणको आपूर्ति, जडान र सञ्चालनका लागि ५० लाख अमेरिकी डलर र रु २४ करोडमा ठेक्का सम्झौता भएको थियो । आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाब र खानीखोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भएको आयोजनाको शुरुआती लागत रु दुई अर्ब ३३ करोड थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत रु चार अर्ब ६३ करोड पुगेको छ । आयोजनाबाट उत्पादित विद्युत् उत्पादन गरी काठमाडौँस्थित विद्युत्को केन्द्रीय ग्रिडमा जोडिएको छ । प्राधिकरणले इन्द्रसरोवरमा जम्मा गरेको पानीबाट अब भने कूल १०६ मेगावाट विद्युत् उत्पादन गर्नेछ । कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । नेपालको एकमात्र जलाशययुक्त सो आयोजनालाई ‘पावर बैंक’ को रुपमा लिइन्छ । यस वर्ष इन्द्रसरोवरको जलाधार क्षेत्रमा बढी वर्षा भएका कारण गत साउनको पहिलो साता नै जलाशय भरिएको थियो । जसका कारण प्राधिकरणले आयोजनाबाट नियमित विद्युत् उत्पादन गरी भारत निर्यात गरिरहेको छ । प्राधिकरणअनुसार कूल ४५ मेगावाट विद्युत् निरन्तर रुपमा विहार निर्यात भइरहेको छ । कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवासकुमार मिश्रका अनुसार आयोजनाको निर्माण अवधि विभिन्न कारणले लम्बिएर करीब १२ वर्षपछि मात्रै विद्युत् उत्पादन गर्ने प्रयास सफल भएको हो । स्थानीय भैँसेस्थित कुलेखानीको दोस्रो आयोजनाबाट निस्केको पानीलाई भीमफेदी गाउँपालिका–१ सानुटारस्थित विद्युत्गृहसम्ममा करीब चार हजार २०० मिटर भूमिगत सुरुङमार्गबाट पानी लगिएको छ । रुग्ण आयोजना सम्पन्न गर्न प्राधिकरणको नेतृत्व नै आयोजनास्थलमा पटकपटक खटिएर समस्या समाधानका लागि सहजीकरण गरेका कारण रुग्ण भनिएका सबै आयोजना सम्पन्न भएका छन् । रुग्ण आयोजना सम्पन्न भएपछि नयाँ आयोजना शुरु गर्नका लागि प्राधिकरणलाई थप मार्ग प्रशस्त भएको छ ।