विकासन्युज

एनआईसी एशियाका ग्राहकलाई अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा ५ सय रुपैयाँ क्यास ब्याक

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र संस्कृति इन्फोएज प्रालिबीच बैंकका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम बैंकका ग्राहकहरुले एनआईसी एशियाको इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएस प्रयोग गरी अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा रु. ५००/– क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा रु. ३००/- क्यास ब्याक प्राप्त गर्न सक्ने छन् । उक्त क्यास ब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले आन्तरिक उडानका लागि एनआईसीएनेपाल, भारतका लागि एनआईसीए र अन्य अन्तर्राष्ट्रिय उडानका लागि एनआईसीएएसआईए प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नु पर्नेछ । सो सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र संस्कृति इन्फोएज प्रालि (माई ट्रिप टु नेपाल) को तर्फबाट बिजनेश डेभलपमेन्ट डाइरेक्टर आशिष जजोडियाले हस्ताक्षर गरेका छन् । २०७६ कात्तिक २ देखि कात्तिक १६ गतेसम्म लागू हुने यस योजनाबाट तिहार तथा छठ पर्वमा आन्तरिक या वाह्य उडान भर्ने बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

सिटी एक्सप्रेसको स्क्राच एण्ड प्रोमेशन योजनामा नरेश थकुल्लाले पाए ३२ इञ्चको टिभी उपहार

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनएस क्यास प्वाइन्ट/लूलू एक्सचेञ्ज मलेशियाको संयुक्त पहलमा सञ्चालित स्क्राच एण्ड प्रोमेशन योजनामा नरेश थकुल्लाले ३२ इञ्चको टिभी उपहार जितेका छन् । थकुल्लाले एन् एस्क्यास पोइन्टको पोर्ट कलाङ ब्रान्चमार्फत सिटी एक्सप्रेसमा रकम पठाएका थिए । स्क्राच एण्ड प्रोमेशन योजना अगस्ट १०, २०१९ देखि शुरु भएको थियो ।

२९ सय २५ मेगावाटका १०८ आयोजना सरकारी बास्केटमा

काठमाडाैं । सरकारसँग अध्ययन अनुमति लिएर काम पुरा नगरेका १०८ जलविद्युत आयोजनाहरु सरकारी बास्केटमा रहेका छन् । विद्युत विकास विभागको तथ्यांक अनुसार २९ सय २५ दशमलव १९२ मेगावाटका १०८ आयोजनाहरु सरकारी बास्केटमा परेका हुन् । सरकारले १० वर्ष भित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । तर यता जलविद्युत आयोजनाहरुको बास्केटमा पर्नेको संख्या भने दिनहुँ बढ्दै गएको छ ।आयोजना संचालनका लागि अनुमति लिएर सम्पन्न नभएका आयोजनलाई सरकारले बास्केटमा राख्ने गर्दछ ।  यो प्रक्रियाले पनि सरकारले लिएको लक्ष्यमा चुनौती थपिएको छ । विद्युत विकास विभागकी सूचना अधिकारी निशा रिजालले अनुमति प्राप्त आयोजनाहरुले काम राम्रो नगर्नु, समयमै काम सम्पन्न नगर्नु, सरकारबाट जारी गरिएका शर्तहरु पालना नगर्नाले आयोजनाहरु बास्केटमा पर्ने गरेको बताइन् ।  उनले अनुमति प्रदान गरिएका योजनाहरुको उत्पादन क्षमता, लागत र प्राविधिक अवस्थाका आधारमा आयोजनालाई तीनदेखि पाँच वर्षसम्ममा सक्नुपर्ने गरी समयसीमा तोकिएकाे छ । निर्धारित समयसीमाभित्र काम गर्न नसक्ने आयोजनाका निमित्त विभागले पुनः समय थप गर्न सक्ने प्रावधान रहको उनले बताइन् । यदि त्यो समयभित्र पनि काम नसके वा विभागको सम्पर्कमा नआए त्यस्ता आयोजनालाई बास्केटमा राख्ने गरेको उनले बताइन् । बास्केटमा रहेका आयोजनाहरुलाई अर्कै प्रमोटरले लिन सक्ने समेत उनले बताइन् । बास्केटमा ०.९५० मेगावाटदेखि ९१६ मेगावाटका आयोजनाहरु रहेका छन् । जुन वि.स ०७१ पछिदेखिको तथ्याकं हो । एक सय भन्दा माथिका मात्रै ६ आयोजनाहरु रहेका छन् । बास्केटमा रहेका एक सय भन्दा माथिका आयोजनाहरुमा भेरी स्टोरेज हाइड्रोपावर प्रोजेक्ट (४८० मे.वा), बुढीगण्डकी (१३० मे.वा), चेरा १ (१४८मे.वा), डाँडागाउँ खोला (१२८ मे.वा), हुम्ला कर्णाली क्यासकेड (९१६ मे.वा) र नाम्लन जलविद्युत आयोजना (३०३ मे.वा) रहेको विभागको तथ्याकंले देखाउँछ । यस्तै यस वर्ष अथवा बैशाखदेखि भदौसम्मको पाँच महिना अवधिमा विभागले १५ वटा आयोजनाहरुको उत्पादन अनुमति जारी गरेको छ । २३७ दशमलव २२२ मेगावाटका १० वटा आयोजनाहरुले जलविद्युत उत्पादन अनुमति जारी गरेको हो भने ३६ दशमलव ९ मेगावाटका पाँच वटा आयोजनाहरुको सौर्यविद्युत उत्पादन अनुमति जारी गरेको हो । हालसम्म भने विभागले ७ हजार ९ सय ५४ दशमलव ४४६ मेगावाटका २०९ जलविद्युत आयोजनाको उत्पादन अनुमति जारी गरेको छ । उत्पादन अनुमति लिएका आयेजनाहरुले अनुमति लिएको ६ महिना भित्र काम सुरु गरेको हुनु पर्ने प्रावधान छ ।

आरबिबि मोबाइल बैंकिङ महामेलामा कैलाश सुवालले पाए थाइल्याण्ड भ्रमणको अवसर

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबिबि मोबाइल बैंकिङको प्रवद्र्धनको लागि भदौ १८ देखि असोज ३० गते सम्म एफवान सफ्टको सहकार्यमा संचालन भएको महामेलाका बिजयीहरुलाई पुरस्कार वितरण गरिएको छ । करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका पाँच जना विजयीहरुलाई आईतबार एक समारोहका बीच पुरस्कार प्रदान गरिएको हो । सो समारोहमा कैलाश सुवालले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन् भने सनम राई, ध्रुबकुमार शाही, प्रकाश बोहोरा, हिरा खनाल पोखरेल र सुजन पराजुलीले एक–एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् । विजयीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गरे । हाल राष्ट्रिय वाणिज्य बैंकका १० लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेको जनाइएको छ ।

पल्सर एनएस २०० अब एबीएसमा, शुरुवाति मूल्य ३ लाख

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम (एबीएस) ल्याएको छ । एबीएस भएको पल्सर एनएस २०० को शुरुवाति मुल्य रु ३,३४,९००/– मात्र रहेको छ । यो देशभर रहेको बजाजको सबै आधिकारिक शोरुमहरुमा उपलब्ध छ । एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको कम्पनीले जनाएको छ । एबीएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्दछ । एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन्, किनकी यसले ब्रेकिङ्ग दुरी कम गर्दछ र जोखिमपूर्ण सडक वा आपतकालीन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन पनि एकदमै मद्दत गर्दछ । यसैबीच, यसले सवारी चलाउने क्रममा चोटपटक लाग्न सक्ने सम्भावना न्यून गर्दछ र बाइकको स्थिरता बढाउँछ । यसले दुर्घटना हुने जोखिम पनि कम गर्दछ ।

मझौला तथा साना कर्जा लगानी सम्बन्धी सम्झौता

काठमाडौँ । कृषि विकास बैंक लि., ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघबीच ग्रामीण विद्युत उपभोक्ता समितिमा आवद्ध महिलाहरुको आयस्तर वृद्धिका लागि मझौला तथा साना परियोजना/व्यवसायमा कर्जा लगानी गर्ने सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठ र सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले उक्त सम्झौता पत्रमा संयूक्त रुपमा हस्ताक्षर गरे । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यस प्रकारको सम्झौताले दूरदराजमा रहेका साना तथा मझौला व्यवसाय गर्ने महिलाको आयस्तर वृद्धि भई निजहरुको शसक्तीकरण हुनुका साथै वित्तिय साक्षरता बढाउन तथा बैंकमा उनीहरुको पहुंच वृद्धि गर्न बैंकको कर्जा कोशेढुंगा सावित हुने बताए । ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठले वित्तिय सहयोगको अभावमा आफ्नो व्यवसाय विस्तार गर्न नसकिरहेका साना/मझौला महिला व्यवसायीहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न बैंकले प्रदान गर्ने कर्जाले ठूलो सहयोग पुग्ने आशा व्यक्त गरे । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले यस सम्झौताले महिला उत्थानमा जिम्मेवारी, इमान्दारी, समझदारी, पारदर्शी र दुरदर्शिताका साथ काम गर्न प्रेरणा मिलेको बताए । ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक डा. पुरुषोत्तम श्रेष्ठले महिला उत्थानका लागि गरिएकोे यस प्रकारको कार्यक्रम भविष्यमा विस्तार गर्दै लगिने बताए ।

‘मन खोलौं कोक सँग’ दशैं तिहार अभियानको चौथो संस्करण जारी

काठमाडौं । ‘मन खोलौं कोक सँग’ दशैं तिहार अभियानको चौथो संस्करणको ग्राउण्ड एक्टिभेसन उपत्यकाको विभिन्न स्थानमा जारी रहेको छ । एक्टिभेसनको क्रममा कोक प्रेमिहरुले ५०० एमएलको कोक बोटलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गरेर आफ्ना प्रियजनहरुसँग आफ्नो भावनाहरु व्यक्त गरेको कम्पनीले जनाएको छ । ग्राहकहरुले २१ अक्टुबर भाटभटिनी सुपरमार्केट बौद्ध, २२ अक्टुबर भाटभटिनी सुपरमार्केट अनामनगर, २३ अक्टुबर भाटभटिनी सुपरमार्केट बालाजु, २४ अक्टुबर भाटभटिनी सुपरमार्केट कोटेश्वर र २५ अक्टुबरमा सेल्सबेरी चक्रपथमा कोका–कोलासँग आफ्नो भावना व्यक्त गर्ने जनाइएको छ । एक्टिभेसनमा अझ बढि रौनक थप्न लोकप्रिय नेपाली अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टुबरमा एक्टिभेसन हुने स्थानहरुमा भ्रमण गर्दैछिन् । त्यसबाहेक कोका–कोलाको ब्राण्ड एम्बेसेडर प्रियंका कार्की पनि २५ अक्टुबरमा सेल्सबेरी चक्रपथमा हुने एक्टिभेसनमा आउने कम्पनीले जनाएको छ । उनीहरुले भ्रमणको क्रममा आफ्नो फ्यानहरुसँग अन्तरक्रिया गर्नेछन् र उपभोक्ताहरुले उनीहरुसँग फोटो पनि खिच्न सक्नेछन् ।

हेटौँडा र चनौलीमा सिन्धु विकास बैंकको शाखा बिस्तार

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौडा बजार बैंकको शाखा स्थापना गरेको छ । उक्त शाखा हेटौडा उप-महानगरपालिकाका उप–प्रमुख श्रीमती मिना कुमारी लामा तथा मकवानपुर उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राखेका थिए । यसैबीच, चितवन जिल्लाको चनौलि बजारमा पनि बैंकले शाखा बिस्तार गरेको छ । उक्त शाखा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका अध्यक्ष श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।