विकासन्युज

२२ करोड डलरमा कारखाना स्थापना, साढे तीन हजारले रोजगार पाउने

इथियोपिया । चीनको विशाल टेक्स्टाइल कम्पनी उक्सी कटन टेक्स्टाइलले इथियोपियामा करिब २२ करोड अमेरिकी डलर लगानीमा कारखाना स्थापना गरेको छ । कम्पनीले अफ्रिका समेतका अन्य मुलुकमा कपडा निर्यात गर्ने मुख्य उद्देश्यका साथ उक्त कारखाना स्थापना गरेकाे हाे । इथियोपियाको पूर्वी डायर डावा शहरमा स्थापना गरिएको उक्त नवनिर्मित कारखानाको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ । कम्पनीले यहाँबाट उत्पादित सम्पूर्ण लत्ताकपडा र टेक्स्टाइल शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने जनाएको छ । यहाँबाट उत्पादित सामग्री खासगरी युरोप, उत्तर अमेरिका र एसिया समेतका मुलुकमा निर्यात गर्ने कम्पनीको तयारी छ । उक्सी टेक्स्टाइलका महाप्रबन्धक झाङ शेङमिङले कारखानाले तीन हजार ५०० लाई रोजगारी उपलब्ध गराउन सक्ने बताएका छन् । रासस

कन्यामको चियाबारीमा घोडा चढाउने व्यवसायः पर्यटकको आकर्षण, मासिक ७० हजार कमाइ

काठमाडौं । पछिल्लो समय पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरुलाई घोडामा चढाएर घुमाउने व्यवसाय फस्टाउदै गएको छ । यस्तो व्यवसाय इलामको कन्याममा रहेको चियाबारीमा समेत फस्टााएको छ । त्यहाँ ३९ वटा घोडा पर्यटक चढाउनका लागि राखिएका छन् । ४ वर्ष अघिदेखि कन्याममा पर्यटकका घोडा चढाएर घुमाउने व्यवसाय सुरु गरेका ३० वर्षीय दुर्गा भुजेलले कुनै दिन १० हजारसम्म कमाएको अनुभव सुनाए । उनले भने–‘मेरा साथीहरु विदेश जान थाले, म के गरौँ भनेर सोचिरहेको थिएँ । अरु साथीहरु १ लाख जति लगानी गरेर विदेशको तातो घाममा काम गर्न गए, तर मैले कन्याममा आएका पर्यटकहरुलाई घोडामा सवार गराउने विचार गरेँ ।’ सुरुमा त साथीहरुले हुँदैन भनिरहेका थिए, काम सुरु गरेका ३ महिना पछि व्यवसाय राम्रो हुँदै गयो–उनले बताए । उनी भन्छन्–‘१ वर्ष पछि आफैँले १ लाखमा घोडा किने त्यसपछि जीवन परिवर्तन हुँदै गयो ।’ अहिले उनीसँग विदेशबाट फर्केका साथीहरुले के गर्दा राम्रो हुन्छ भनेर सल्लाह लिने गरेका छन् । पहिले विदेश जान सकेन भन्ने गाँउलेहरुले पनि घोडा सवार पेशा राम्रो रहेछ भनेर बुझेका छन् । समितिले कन्याममा नयाँ घोडा थप्न दिंदैन । कसैले घोडा सवार व्यवसाय गर्छु भनेर पाउँदैन । समितिले राखेको ३९ वटा घोडा मध्ये नै कसैले बेच्ने भयो भने मात्रै यो व्यवसायमा नयाँ व्यक्तिले प्रवेश पाउने छ । ३० वर्षका भुजेलले बिहान उठेदेखि साँझसम्म पर्यटकलाई घोडा चढाएर डुलाउने गर्छन् । कन्याम घर भएका भुजेलले पर्यटकलाई मनोरञ्जन गराउँदै राम्रो आम्दानी लिन सफल भएका छन् । चिया बगानसँगै प्राकृतिक सौन्दर्य हेर्न जाने पर्यटकहरुका लागि इलामको कन्याममा घोडचढी अर्को आकर्षण हो । कन्याम पुगेका पर्यटकलाई चियाबगान र कन्याम आसपासका क्षेत्रमा स्थान बिशेष बारे जानकारी सहित घोडामा चढाएर घुमाउने गरिन्छ । विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकहरु सवारी साधनमा भन्दा पनि घोडामै चडेर घुम्न रुचाउने गरेको भुजेलले बताए । कन्याममा दैनिक हजारभन्दा बढी आन्तरिक तथा बाह्यपर्यटक आउने गर्छन् । यी पर्यटकहरु अधिकांशले घोडा चढेर कन्यामको चियाबगान परिक्रमा गर्ने गरेको स्थानीयहरु बताउँछन् । भुजेलले २०७२ सालदेखि १० रुपैयाँ शुल्क लिएर घोडा चडाउन शुरु गरेको बताए । अहिले घोडा चढेर फोटो खिचेको ५० रुपैयाँ, १० मिनट घुमेको ३५० रुपैयाँ र पुरै कन्याम घुमेको समय हेरेर पैसा लिने गरेको बताउँछन् । उनले घोडामा पर्यटकलाई नै घुमाएर राम्रो आम्दामी गरिरहेका छन् । एक छोरा, एक छोरी र श्रीमतीलाई यही पेशाबाटै गुजारा चलाई मासिक ४०-५० हजार रकम बचत समेत गर्ने गरेको उनले बताए । शुरुमा इलामबाट झापासम्म घोडामा तरकारी ढुवानी गरी व्यपार गर्ने गरिन्थ्यो । बिस्तारै कन्याममा पर्यटकले घोडा चढ्न माग गरेपछि एक रुपैयाँ भाडा लिएर यो पेशा सुरु भएको उनी बताउँछन् । घोडा बालबालिका, युवादेखि बृद्धबृद्धासम्मले घोडामा चढ्ने गरेका छन् । चना, मकै, घाँस र सामान्य दानाले घोडालाई हुने भएकाले कम लागतमा पर्यटकलाई घुमाउँदा राम्रो आम्दानी हुने गरेको घोडचढी व्यवसाय सञ्चालन गरिरहेकाहरु बताउँछन् । इलामको कन्याम क्षेत्र बिषेश गरी घुम्न, सुटिङ, पिक्निक र अवलोकन भ्रमणका लागि प्रमुख आकर्षणको केन्द्र हो ।

करिब एक करोड लगानीमा सात उद्यान निर्माण

बागलुङ । पर्यावरण जोगाउन र पर्यटकीय आकर्षण बढाउन जिल्लामा सात हरियाली उद्यान निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवद्र्धन तथा उद्यान निर्माण’ योजनाअन्तर्गत बागलुङ नगरपालिका–६ स्थित विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोट, वडा नं १३ अमलाचौर, वडा नं १ स्थित कालिका भगवती मन्दिर, वडा नं १२स्थित पै्युँपाटाको डुङ्गाचौर सामुदायिक वन र वडा न. १४ को कैयाचौर सामुदायिक वनमा सो उद्यान बनाइएको हो । यस्तै, गलकोट नगरपालिका–७ मल्मस्थित पर्यटकीयस्थल राम्चेढुङ्गा र ३ हटिया, सहस्रधारामा पनि उद्यान बनाइएको छ । उद्यान निर्माणका लागि डिभिजन वन कार्यालयले झण्डै रु एक करोड लगानी गरेको थियो ।“एउटा उद्यानका लागि कम्तीमा रु नौ लाखदेखि बढीमा २२ लाखसम्म खर्च भएको छ”, कार्यालयकी अधिकृत सीता शर्माले भनिन् । पञ्चकोटमा बनेको हनुमान बाटिकामा सबैभन्दा बढी रु २१ लाख ९९ हजार खर्च भएको थियो । अघिल्लो आवमा सम्झौताअनुसारको काम सकिएको र चालू आवका लागि कार्यक्रम आइनसकेको उल्लेख गर्दै उनले बजेट र कार्यक्रम आएमा थप नयाँ ठाउँमा पनि उद्यान निर्माणको काम अघि बढाइने जानकारी दिएका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले शहर वरिपरिका खाली एवं पाखो जग्गालाई हरियाली क्षेत्रका रूपमा विकास गर्न वन प्रवद्र्धन तथा उद्यान निर्माण कार्यक्रम ल्याएको थियो । ती उद्यानलाई मनोरञ्जनस्थलको रूपमा विकास गर्ने र स्थानीयवासीको आयआर्जनमा समेत पनि टेवा पुर्याउने सो आयोजनाको लक्ष्य छ । गलकोट, मल्मस्थित राम्चेढुङ्गामा आठ रोपनी जग्गामा उद्यान बनाइएको उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताए । उद्यान निर्माणमा प्रदेश सरकारको रु १२ लाख र पाँच लाख बराबरको जनश्रमदान गरी रु १८ लाख खर्च भएको उनको भनाइ थियो । उद्यानस्थलमा प्रवेशद्धार, पदमार्ग, शौचालय, बिरुवा रोपण, टिकट बिक्री कक्षलगायत संरचना बनाइएको छ । उद्यानको सबै काम सक्न बजेट, कार्यक्रम थप हुनुपर्ने अध्यक्ष थापाले बताएका छन् । स्थानीय जनहित माविको नाममा रहेको जग्गामा निर्माण गरिएको उद्यानबाट आउने आम्दानी आधा विद्यालयले पाउने सहमति छ । राम्चेढुङ्गामा प्याराग्लाइडिङ र सहस्रधारामा रहेको झरनामा छाँगावरोहण (क्यानोनिङ) को सफल परीक्षणसमेत भइसकेको छ । सहस्रधारामा पनि पदमार्ग, पोखरी निर्माण, शौचालय, बगैँचा, बिरुवा रोपणलगायत काम गरिएको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए । सहस्रधारा क्षेत्र ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्छ । रासस

तिहारमा राजधानीवासीका लागि २५ लाख माला आवश्यक, भारतबाट ३ लाख माला आयात हुने

काठमाडौँ । यस वर्षको तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ । राजधानीमा बसोबास गर्ने नेपालीका लागि वर्षैपिच्छे भारतबाट माला आयात हुने गरेको तथ्याङ्क छ । नेपालमा लगातार गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ । आयातमा भने कमी आएको छैन । विसं २०५३ देखि फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै आएको हो । राजधानीवासीका लागि भाइटीकाको दिन झण्डै २५ लाख मालाको आवश्यक पर्ने फ्लोरिकल्चर एशोसिएसन नेपाल ९फ्यान० का महासचिव विश्वमणि पोखरेलले जानकारी दिए । फ्यानका अध्यक्ष कुमार कसजुले गत वर्ष झन्डै रु २० करोडको विभिन्न जातका फूल आयात भएको बताए । फूलको माग दैनिक बढिरहेको भए पनि उत्पादनमा भने खासै वृद्धि हुनसकेको पाइँदैन । चार वर्ष पहिले नेपालले भारतबाट रु चार करोड मूल्य बराबरका विभिन्न फूल आयात गरेको तथ्याङ्क पाइन्छ । तथ्याङ्कलाई केलाउँदा नेपालमा वर्षको पाँच करोडका दरले फूलको आयात बढ्दै गएको देखिन्छ । नेपाली फूलको माग तिव्बत, मलेशिया, अमेरिका, थाइल्याण्डमा भए पनि उत्पादनभने बढाउन सकिएको छैन । फूल खेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगेको छ । सन् २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७५/७६ सम्म पुग्दा ४३ जिल्लामा विस्तार भएको छ । पहिलोपटक विसं २०७२ मा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपाल व्यावसायिक पुष्पखेती सर्वेक्षण २०७२/७३ ले ३६ जिल्लामा ५६१ व्यवसायीले पुुष्पखेती सञ्चालन गरेको उल्लेख छ । त्यसको चार वर्षमा जम्मा २३९ व्यवसायी वृद्धि भई हाल ८०० पुगेका फ्यानले जनाएको छ । चार वर्ष पहिले १४३ हेक्टरमा खेती भएको पुष्पखेती हाल १४९ हेक्टरमा विस्तार भएको छ । ३८ हजारले रोजगार पाएकामा चार वर्षपछि ४३ हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । भौगोलिक विविधता र अनुकूल वातावरणका कारण नेपालमा थरिथरिका आकर्षक पूmलखेती गर्न सकिन्छ र पनि अर्काको देशबाट आयात भइरहेकाले पुष्पखेतीतर्फ भने खासै आकर्षण देखिँदैन । यहाँ तिव्बत, मलेशिया, अमेरिका, थाइल्याण्डलगायतका मुलुकबाट नेपाली जातका फूलको माग भएको बताइन्छ । नेपालमा भूमिमाथिको द्वैध स्वामित्वको अन्त भएको छैन । सीमित व्यक्तिका हातमा प्रचुर जमीन छ । पर्याप्त जमीन भएकाले जमीन बाझै राख्ने चलन छँदैछ । सरकार भने भूमि बाझो राख्नेलाई कानूनका दायरमा ल्याउन सकेको छैन । त्यसैले गर्दा फूलमा समेतको परनिर्भरता बढेको छ । हाल १० लाख हेक्टर जमीन बाझो रहेको छ । कृषिको आधुनिकीकरण, व्यावसायिकरण त छँदैछ तर विविधिकरणको ज्वलन्त उदाहरण पुष्प व्यवसाय पनि एक हो । प्रचुर तथा अथाह सम्भावना बोकेको पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको पनि सात वर्ष पुगेको भए पनि पुष्पखेतीतर्फ भने सोचेजति आकर्षण नहुनुले फूलको आयात रोकिएको छैन । सर्वेक्षणमा उत्पादन परिमाणको आधारमा प्रमुख पाँच मौसमी फूलमा सयपत्री, पिटुनिया, डाहलिया, जिनिया, प्यान्जी, बहुवर्षे फूलमा गुलाफ, बगानबेली, गोदावरी, एजेलिया, कर्निसन, आलाङ्कारिक फूलतर्फ धुपी, हेज, पम, अशोका, एरिका, कटफ्लावरतर्फ कार्नेशन, जर्वैरा, गुलाफ, ग्याहुलस, क्यालेनडुला र लुज फ्लावरतर्फ सयपत्री, लाहुरे, गोदावरी, एकान्त (सानो सयपत्री) र तारा (कोरेप्सिस) जातको पुष्पखेती हुँदै आएको उल्लेख छ । रासस

नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ विकास बैंकबाट भुक्तानी पाइने

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.र नेपाल रेमिटबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र नेपाल रेमिटका तर्फबाट नेपाल रेमिटका प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । यो अभियान अन्तर्गत भाग्यशाली विजेताहरु मध्ये १ जनालाई स्कुटी, ३ जनालाई ल्यापटप, ५ जनालाई रेफ्रिजेरेटर, ७ जनालाई ३२ ईञ्जको टिभी, १५ जनालाई स्मार्ट मोबाइल सेट, २० जनालाई प्रेसर कुकर र २५ जनालाई ब्लुटुथ स्पिकर प्रदान गर्ने बैंकले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० सचिवालय र एनआरएनएबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर

काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० र गैरआवसीय नेपाली संघ (एनआरएनए) नेतृत्वबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भएकाे छ । भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज बैद्य र संघका अध्यक्ष कुमार पन्तले आइतबार सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौता पत्रमा हरेक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने समझदारी भएको छ । सहमतिपत्रमा सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्नका लागि सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने समेत उल्लेख गरेको छ । यस्तै संघले नेपाल भ्रमण वर्ष २०२० अवधिभर संघका विश्वभर गरिने औपचारिक सेमिनार, गोष्ठीलगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने सहमति भएको छ । संघले विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई सन् २०२० मा ‘स्पेन्ड होलिडे ईन नेपाल विथ फेमिली एण्ड फ्रेन्डस्’ अर्थात् ‘परिवार र साथीहरुसँग नेपालमा विदा मनाऔं’ अभियान सञ्चालन गर्ने छ ।गैर आवासीय नेपालीका विश्वभर रहेका व्यवसायिक फर्महरु तथा होटल रेष्टुरेन्टहरुमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामग्रीहरु राखी प्रचार प्रसार गर्ने तथा प्रचारका सामग्रीहरु वितरण गर्ने समझदारी पनि भएको छ । साथै विश्वभर छरिएर रहेका सम्पूर्ण सदस्यलगायत नेपाली तथा विदेशी मित्रहरुको सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० को लोगोसहितको स्टिकर टाँस्ने व्यवस्था मिलाउने समझदारी पनि भएको छ । संघले विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा भ्रमण वर्ष प्रवद्र्धन कक्ष स्थापना गर्न आवश्यक जनशक्तिसमेत उपलब्ध गराउने छ । नेपाल भ्रमण वर्षको प्रचारका लागि संघले विश्वका प्रमुख शहरहरुमा कार तथा साइकल र्याली गर्नेछ । यस्तो प्रचारात्मक कार्यक्रमको लागि संघले नेपाल भ्रमण वर्ष सचिवालयसँग समन्वय गर्नुपर्ने छ ।

यूएनएफपीएका कार्यकारी निर्देशक डा. नतालिया कनेम काठमाडौँमा

काठमाडौँ । संयुक्त राष्ट्रसंघ जनसङ्ख्या कोष (यूएनएफपीए)का लागि महत्वपूर्ण वर्षको एउटा विशेष महत्वपूर्ण क्षणमा यूएनएफपीएका कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसंघ उप-महासचिव डा. नतालिया कनेमकाठमाडौं आई पुगेकी छिन् । कार्यकारी निर्देशक पदमा दुई वर्ष अघि नियुक्त भएकी डा.कनेमको यो पहिलो औपचारिक भ्रमण हो । उनीसँगै एशिया र प्रशान्तका लागि यूएनएफपीएका क्षेत्रीय निर्देशक बियोन एन्डरसन र यूएनएफपीएका चीफ अफ स्टाफ पियो स्मिथ पनि आएका छन् । नेपाल बसाईको अवसरमा यूएनएफपीएका उच्च प्रतिनिधिमण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास साझेदार, सीएसओ र अन्य प्रमुख सरोकारवालाहरुका साथै यूएनएफपीए कर्मचारीहरुसँग छलफल गर्नेछ । ‘नेपालले विगत २५ वर्षमा आइसिपिडी कार्ययोजना अन्तर्गत गम्भीर चुनौतीहरुको वावजुत पनि अत्यन्तै महत्वपूर्ण पाइलाहरु चालेको छ’–कार्यकारी निर्देशक डा. कानेमले उल्लेख गरिन् । सन् २०१९ यूएनएफपीएको ५० औं वार्षिकोत्सव तथा जनसङ्ख्या र विकास सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (आइसिपिडि) को २५ औं वार्षिकोत्सव मनाइँदै छ । सन् १९९४ मा इजिप्टको राजधानी कायरोमा सम्पन्न आइसिपिडी सम्मेलनमा नेपाल लगायत विश्वका १७९ राष्ट्रहरुले हस्ताक्षर गरेका थिए । सम्मेलनले महिला तथा किशोरीहरुलाई विकास एजेन्डाको केन्द्रमा राख्दै जनसाङ्ख्यिक विकास र व्यक्तिगत अधिकार तथा छनौट बीचको सम्वन्धमा सर्वसहमतिले महत्वपूर्ण दूरदर्शी निर्णयहरु गरेको थियो । ऐतिहासिक आइसिपिडि कार्ययोजनाले यौन तथा प्रजनन् स्वास्थ्य र प्रजनन् अधिकारमा सवैको सर्वव्यापी पहुँच पुर्याउन प्रतिबद्धता जाहेर गरेको छ । जसले मानव अधिकारको सिङ्गो संरचानाभित्र लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्रोत्साहित गर्दै दिगो विकासलाई मार्ग निर्देश गर्दछ । कायरो सम्मेलनको दूरदृष्टि तथा सन् २०३० सम्म यस सम्मेलनको कार्ययोजनाको पूर्ण कार्यान्वयनमा नेपाल सरकारको प्रतिबद्धतामा नेपालले हालसम्म हासिल गरेको महत्वपूर्ण उपलब्धीहरुसँग साक्षात्कार हुनका लागि यूएनएफपीएबाट उच्चस्तरीय दुई दिने भ्रमण भएको हो । साथै आगामी नोभेम्वर १२-१४, २०१९ मा नैरोबीमा आयोजना हुन लागेको आइसिपिडी २५औं शिखर सम्मेलनमा प्रजनन् अधिकार सुनिश्चिततामा नेतृत्वदायी भूमिका सहित सहभागी हुन सरकारको उच्च तहलाई आमन्त्रण गर्ने उद्देश्य रहेको छ । सन् १९९४ मा इजिप्टको कायरोमा सम्पन्न आइसिपिडीे सम्मेलन पछिनेपालमा परिवार योजना र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति गराउने लगायत यौन र प्रजनन् स्वास्थ्य सेवाहरूको पहुँचमा उल्लेखनीय वृद्धि भएको छ । परिणामस्वरुप रोकथाम गर्न सकिने मातृमृत्युदर आधा भन्दा बढी घटी हाल प्रत्येक एक लाख जिवित जन्ममा २३९ मा झरेको छ । यद्यपि निरन्तर रुपमा परिवार योजना सेवाहरुको उच्च अपरिपूर्त आवश्यकता र बालविवाहको उच्च दरले निम्ताएको उमेर अगावै गर्भवती बन्ने र बच्चा जन्माउने दर संसारभरकै उच्च रहेकोले गत दशकमा प्रगतिको गति सुस्त भएको थियो ।

२१ बोरा मारुती सिमेन्ट किन्दा १० ग्राम चाँदीकाे सिक्का सित्तैमा

काठमाडाैं । मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक ‘चाँदीको झिलिमिली’ योजना ल्याएको छ । यस योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्ने कम्पनीले जनाएकाे छ । यो योजना २०७६ कात्तिक १६ गतेसम्मका लागू हुने कम्पनीकाे भनाइ छ । मारुती सिमेन्टले नेपालकै उत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रोटरी टेक्नोलोजीको ग्रिनफिल्ड प्लान्टद्वारा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएकाे छ । मारूती सिमेन्टले आइएसओ प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त गरेकाे छ ।