न्यूरोडमा गुहेश्वरी मर्चेण्टको शाखा बिस्तार
काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले न्यूरोडमा शाखा बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले विहीबार एक समारोहका बीच न्यूरोड शाखा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राजेशलाल श्रेष्ठ, अध्यक्ष श्रीमान श्रेष्ठ, संचालकहरुसरोजनी श्रेष्ठ, डा. रेश्मा श्रेष्ठ, राजेश मानन्धर, किर्तिनाथ मास्के एवम् प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको उपस्थिति रहेको थियो । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले २०७६ असोज मसान्तसम्म निक्षेप संकलन रु. ३ अर्ब ८२ करोड तथा कर्जा रु.३ अर्ब २१ करोड प्रवाह गरी रु. २ करोड १० लाख संचालन मुनाफा गरेको संस्थाद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. २४ करोड ८७ लाख रहेको छ ।
१५० प्रतिशत हकप्रदका लागि एनएमबि माइक्रोफाइनान्सको मूल्य समायोजन
काठमाडौं । १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि एनएमबि माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन भएको छ । बुधबारसम्म शेयर किताब खातामा आफ्नो नाम भएका शेयरधनीलाई हकप्रद शेयरको आवेदनमा सहभागी हुन पाउनेगरी उक्त मूल्य समायोजन भएको हो । बुधबार उक्त माइक्रोफाइनान्सको ११०५ रुपैंयामा नेप्सेमा अन्तिम कारोबार भएको थियो । १५० प्रतिशत हकप्रदपछि उक्त शेयरको मूल्य ५०२ रुपैंया कायम भएको छ । एनएमबिको हकप्रद शेयर यही कात्तिक २४ गतेदेखि निष्कासन हुँदैछ । करिब १६ करोड रुपैंया चुक्तापुँजी भएको उक्त कम्पनीको पुँजी सो हकप्रदपछि ४० करोड रुपैंया नाघ्नेछ । पोखराको मिलनचोक केन्द्रीय कार्यालय भएको एनएमबि माचइक्रोफाइनान्स एनएमबि समूह अन्तर्गतको लघुवित्त संस्था हो ।
सेयरलगानीकर्ता भन्छन्-‘पूँजी बजारको अध्ययन गरेका व्यक्तिलाई बोर्डको अध्यक्ष बनाउ’
काठमाडौँ । सेयर लगानीकर्ताका दुई संगठनले पूँजी बजारको अध्ययन गरेका र अनुभवी व्यक्तिलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न माग गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार र शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले विहीबार विज्ञप्ति प्रकाशित गर्दै प्राविधिक ज्ञान र सीपमा पूर्ण दख्खल भएको व्यक्तिलाई बोर्डको अध्यक्षमा नियुक्त गरी सेयर बजारको समस्या समाधानको पहल गर्न अर्थमन्त्री समक्ष माग गरिएको हो । हाल अर्थतन्त्रको ऐनाको रुपमा रहेको सेयर बजार निरन्तर घटिरहेको र लगानीकर्ताको अर्बौँको सम्पत्ति गुमेको कुरा समेत विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ । बोर्डका तत्कालीन अध्यक्ष डा. रेवतबहादुर कार्कीको ४ वर्षे कार्यकाल सकिएपछि हाल उक्त पद रिक्त रहेको छ ।
एलजी खुशीको डबल अपग्रेडको पहिलो भाग्यशाली विजेता घोषित
काठमाडौँ । एलजी नेपालले चाडपर्व २०७६ लाई लक्षित गरी ल्याएको खुशीको डबल अपग्रेड योजनामा खैरेनीका १ का गोविन्द अधिकारी विजेता घोषित भएका छन् । एलजी ब्राण्डका उत्पादनहरु जस्तै टेलिभिजन रेफ्रिजेरेटर, वासिङ मेशिन, भ्याकुम क्लिनर, डिसवासर, माइक्रोवेभ र साउण्ड सिस्टमहरुको खरिद गर्नेहरु मध्ये लक्की ड्र मार्फत अधिकारी विजेता घोषित भएका हुन् । यो योजनामा विजेता हुँदै उनले अनेकौँ इनोभेटिभ प्रोडक्हरुले आफु र आफ्नो घरलाई डबल अपग्रेड गर्ने मौका प्राप्त गरेका हुन् । यो योजना अझै बाँकी छ । यस योजनाको लाभ उठाउनको लागि एलजीका सामाग्रीहरु खरिद गरी ३४३४३ मा म्यासेज पठाउन र खुशीको डबल अपग्रेड अफरको लाभ उठाउन कम्पनीले अनुरोध गरेको छ ।
लक्ष्मी बैंकको ११६औँ शाखा काठमाण्डाैंको तहाचलमा
काठमाडौं । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा ११६औँ शाखा काठमाण्डोैंको तहाचलमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । उक्त नयाँ शाखाको साथ लक्ष्मी बैंकको शाखा सञ्जाल ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १ सय ४० एटिएम, २५सय भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
खप्तड लघुजलविद्युत् आयोजनाः साढे दुई कराेड लागतमा ६० मेगावट विद्युत उत्पादन
अछाम । सुन्दर पर्यटकीय क्षेत्र खप्तडमा विद्युत् उत्पादन शुरु भएको छ । अछामको साँफेबगर नगरपालिका–१२ मा ६० किलोवाटको खप्तड लघुजलविद्युत् परियोजनाले उत्पादन शुरु गरेको हो । विसं २०७० देखि निर्माण कार्य शुरु भएको सो आयोजना निर्माणमा वैकल्पिक ऊर्जाको रु एक करोड २७ लाख ५० हजार, गरिबी निवारण कोषको २५ लाख, २०७० मा तत्कालीन निर्वाचन क्षेत्र विकास कोषबाट १५ लाख, तत्कालीन जिल्ला विकास समितीबाट पाँच लाख खर्च भएको थियो । आयोजनाको लागि पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिबाट १४ लाख, साँफेबगर नगरपालिकाबाट १३ लाख, साँफेबगर नगरपालिका १२ नं. वडाबाट पाँच लाख २० हजार, पूर्वाधार विकास कार्यक्रम अछाम क्षेत्र नं. १ बाट १५ लाख, सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २० लाख आर्थिक सहयोग भएको आयोजनाका अध्यक्ष खकेन्द्र कडायतले जानकारी दिएका छन् । हाल आयोजनाको कूल लागत रु दुई करोड ६८ लाख ५९ हजार पुगेको र ६० किलोवाट विद्युत् उत्पादन भइरहेको अध्यक्ष कडायतले बताए । विद्युत् सुचारु भएसँगै खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको व्यारेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय, छिमेकी जिल्ला बाजुराको छेडेदह गाउँपालिकाको वडा नं. १ र २ तथा खप्तडका सबै टोलका बासिन्दाले विद्युत् उपभोग गर्ने भएका छन । बिहीबार बिहान सो विद्युत् आयोजनाको उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले अब खप्तडमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताएका छन् । खप्तडमा विद्युत्को पहुँच हुँदा यहाँ आउने पर्यटकलाई सहज हुने भएकाले अझ बढी पर्यटक भित्रिने धारणा व्यक्त गरे । उनले दूरदराजका बासिन्दालाई अन्धकारबाट मुक्त गर्न र पर्यटन प्रर्वद्धन गर्न लघुजलविद्युत् आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने समेत बताए । कार्यक्रममा राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्कबहादुर कुँवर, साँफेबगर नगरप्रमुख कुलबहादुर कुँवर, नेकपा अछामका जिल्ला कमिटी सचिव झपट साँउद र अन्य जनप्रतिनिधिलगायत सहभागी रहेको थियो ।
यसकारण प्रख्यात छ १५० सीसीको ‘बेनेली टिएनटि १५० आई’, मूल्य कति ?
काठमाडौं । नेपालका लागि बेनेली मोटरसाइकल्सको आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले केही महिना अघि ‘टिएनटि १५० आई’ लाई नेपालमा सार्वजनिक गरेको थियो । नेपाली बजारमा तीन लाख १५ हजार रुपैयाँ मूल्य तोकिएको सो मोटरसाइकल १५० सीसीको एउटा बहुप्रतिक्षित नेकेड मोटरसाइकल हो । बेनेली टिएनटि १५० आई एउटा मोडर्न फिचरहरु भएको प्रिमियम लुकिङ्ग मोटरसाइकल हो जसको डिजाइन टिएनटि ३०० आई सँग मिल्दोजुल्दो रहेको छ । यस बाइकमा दिइएको रातो रङ्गको फ्रेमले बाइकलाई आकर्षक बनाएको छ । टिएनटि १५० आईमा फुल-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, हेलोजेन हेडलाइट, एलइडि ब्याकलाइट, एलइडि साइड इन्डिकेटर्स, एलइडि डिआरएलहरु लगायतका फिचर्स दिइएका छन् । यस बाइकमा प्रयोग भएको इञ्जिन १४९.५ सीसी सिङ्गल-सिलिण्डर, लिक्विड-कुल्ड, ४-स्ट्रोक, ४-भल्व एफआई इञ्जिन हो । कम्पनीका अनुसार यो इञ्जिनले ९.५ किलोवाटको पावर र ९.५ एनएमकै टर्क प्रोड्युस गर्छ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स र वेट क्लच पनि दिइएको छ । १३.५ लिटरको फ्युल ट्याङ्क क्यापासिटि रहेको यस बाइकले दिने माइलेज ५० केएमपीएलको हाराहारी रहेको छ । फ्रन्टमा अपसाइड-डाउन फर्क र रियरमा मोनोशक दिइएको टिएनटि १५० आई को अगाडिको चक्कामा डुअल पिस्टन क्यालिपर डिस्क ब्रेक र पछाडिको चक्कामा भने सिङ्गल पिस्टन क्यालिपर डिस्क ब्रेक दिइएको छ । त्यसैगरी १४४ के.जी. कर्ब वेट भएको यस बाइकको ग्राउण्ड क्लियरेन्स चाहिँ १९० मिलिमिटर छ । कम्पनीले जनाए अनुसार अहिलेको चाडपर्वलाई लक्षित योजना अनुसार बेनेली टिएनटि १५० आई को खरिदमा दुई अलग स्क्र्याच कार्ड मार्फत प्रत्येक स्क्र्याचमा कम्तीमा सात हजार रुपैयाँ देखि लिएर एक लाख रुपैयाँ सम्मको नगद छुट प्राप्त गर्न सकिनेछ ।
तिहारमा २५ लाख माला खपत हुने, एउटा मालाको बढीमा ७० रुपैयाँ
काठमाडौं । पछिल्लो समय फूल उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख बन्दै गएको छ । फूल उत्पादनमा आत्मनिर्भरतर्फ उन्मुख भएसँगै यस वर्षको तिहारमा खपत हुने २५ लाख मालामध्ये दुई लाख ५० हजार माला मात्रै भारतबाट ल्याउने फ्लोरिकल्चर एसोसियशनले जनाएको छ । तिहार नजिकिएसँगै उपत्यकाभित्र रहेका पुष्प व्यवसायीले कोटेश्वरमा रहेको पुष्प कोलस्टोरमा माला तथा फूल जम्मा गरिरहेको फ्लोरिकल्चर एसोसियसनका अध्यक्ष कुमार कसजूले बताए । उनले भने–‘ग्रामिण क्षेत्रका किसानहरुपनि यस समयमा आफ्नो उत्पादनलाई बजार जतिसक्दो छिटो बजार पुर्याउने तयारीमा छन् ।’ पुष्प व्यवसायी मात्र नभएर कालिमाटी तरकारी बजारका व्यवसायीहरुले भारतबाट दुई लाख माला अबैध तरिकाले भित्र्याएका छन् । फ्लोरिकल्चर एसोसियशन कसजुले भने-‘बालाजु औद्योगिक क्षेत्रमा रहेको कोलस्टोरमा अबैध तरिकाले व्यवसायीले माला जम्मा गरेका छन् । गत वर्ष भन्दा आठलाख बढी मालाको माग यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनु पर्ने अवस्था छ । एउटा मालाको बढीमा ७० रुपैयाँ यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म बढी तिर्नुपर्ने देखिन्छ । गत वर्ष रु ५० देखि ६० भन्दा बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष कसजूले बताए । तिहारमा मात्रै १५ करोडको कारोबार तिहारमा मात्रै रु १५ करोड फूलको कारोबार हुने गरेको छ । ‘यसपटकको तिहारमा भारतबाट अत्यन्तै थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला केही आयात गर्नुपरेको छ’, कसजूले भने । ६० प्रतिशत माला खपत काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ । स्वदेश र विदेशमा गरी वार्षिक रु. दुई अर्ब ४२ करोडको फूलको कारोवार भएको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडवाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ । पुष्प व्यवसायमा मनग्य आम्दानी विगत १७ वर्षदेखि पुष्प व्यवसाय गर्दै आएका ललितपुर लेलेका राजकुमार पहरी यस क्षेत्रमा आत्म सन्तुष्टि रहेको बताउँछन् । बार्षिक ६० लाख रुपैयाँ फूल उत्पादन गर्दै आएका उनले कोटेश्वर, महादेवस्थान स्थित ४ रोपनी क्षेत्रफलमा अरुण नर्सरी स्थापना गरी व्यवसाय सञ्चालन गरेका छन् । उनले भने–‘नेपालमा फूल उत्पादन व्यवयायप्रति आकर्षण बढ्दै गएको छ, फूल खेतीमा नै रमाउनुका साथै आफूलाई समर्पित गरेर अगाडि बढ्नेको संख्या एक्कासी बढ्दो छ ।’ अरुण नर्सरीका सञ्चालक पहरीले सिजनको बेलामा करिब ४ लाखदेखि ५ लाखसम्म आम्दानी हुने बताए । ४५० प्रजातिका फूल नेपालमा उत्पादन व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको व्यवसायिक खेती गर्दै आएका छन् । विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् ।