विकासन्युज

सिङ्गो गाउँ नै व्यावसायिक कृषिमा

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलको सिङ्गो गाउँ व्यावसायिक कृषिमा संलग्न भएको छ । बाख्रापालन तथा गोलभेंडा, काउली, सिमीलगायतका तरकारी खेतीमा सिङ्गो गाउँ नै शिक्रयाशील रहेको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित ‘स्मार्ट कृषि गाउँ कार्यक्रम समूह’ अन्तर्गत यहाँका किसान व्यावसायिक कृषिमा आबद्ध भएका हुन् । पहिले घरायसी प्रयोजनका लागि मात्र पशुपालन र तरकारी खेती गर्दै आएका गाउँलेहरु अहिले व्यावसायिक रुपमा कृषिमा संलग्न भएका छन् । कार्यक्रमबाट अहिले गाउँका ५० घरका तीनसय जनसङ्ख्या लाभान्वित भएका छन् । अहिले गाउँमा २५० बाख्रा र १०० रोपनी जग्गामा व्यावसायिक कृषिखेती गरिँदै आएको छ । यहाँका नेपाली सेनाबाट निवृत्त भएका भक्तबहादुर पाण्डे अहिले व्यावसायिक कृषिमा संलग्न भएका छन् । विसं २०६४ मा पेन्सनम निस्केपछि रोजगारीकै लागि १८ महिना साउदी अरब बसेका पाण्डे घर फर्केर बाख्रापालनमा लागेका उनले दुई हजार ५०० मा पाठी किनेर बाख्रापालन शुरु गरेका थिए । अहिले उनीसँग ४४ वटा बाख्रा छन् । रजस्थलकै ६३ वर्षीय प्रेमबहादुर कुवँरले चार रोपनी जग्गामा व्यावसायिक तरकारी खेती शुरु गर्न थालेका छन् । भर्खरै एउटै याममा एक क्वीन्टल गोलभेडा, १० क्वीन्टल आलु, काउली र खुर्सानी बिक्री गरेको कुँवरले बताए । गोलभेंडा रु ७०, आलु रु ३५ मा स्थानीय तथा अन्य बजारमा बिक्री हुने गरेको छ । उनले बुढेसकालमा शुरु गरेको कृषि कर्मले घरखर्च चलेकामा खुशी छन्।उनले भने, “स्मार्ट कृषि गाउँ समूह कार्यक्रमले हामीजस्ता न्यून आय भएका किसानलाई आत्मनिर्भर बनाएको छ ।” गाउँमा कृषि गर्नेका पनि आफ्नै समस्या छन् । विशेषगरी उत्पादित कृषिजन्य सामग्रीले बजार नपाउनु, उचित मूल्य नपाउनु, बिचौलिया मौलाउनुलगायतका समस्याका कारण कृषकहरु चिन्तित देखिन्छन् । व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका थम्मनबहादुर टण्डनले उत्पादित वस्तुले उचित मूल्य नपाउँदा समस्या भएको गुनासो पोखेका छन् । तरकारी तथा पशुपालक अर्का किसान थम्मन टण्डनले बजार नै आफूहरुको प्रमुख समस्या भएको बताउँछन्। ‘‘उत्पादन राम्रो गरे पनि बजारीकरणको समस्या छ, त्यसैमाथि उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । गाउँपालिकाले पैँचो पसल भनेर सस्तो पसल सञ्चालन गरेर किसानलाई धोका दिएको समेत गुनासो गरेका छन् । धुर्कोट गाउँपालिका प्रमुख भूपाल पोखरेल किसानहरुको उत्पादनको उचित मूल्यसहित बजारीकरणको व्यवस्था गरिने बताउँछन्। भर्खर मात्र पैँचो पसल स्थापना गरिएको र पैँचो पसलले किसानका उत्पादन खरिद गर्ने उनको भनाइ छ । उनले किसानले उत्पादन बढाउनुपर्ने र त्यसको बजारीकरण तम्घासमा गरिने पोखरेलले बताए। उनले भने, अब किसानले आफूले उत्पादन गरेका कृषिजन्य वस्तुको बजार भएन वा उचित मूल्य पाइएन भन्ने गुनासो रहँदैन । रासस

नेशनल बैंकिङ इन्स्टिच्यूटबाट बिदा लिँदै सञ्जीव सुब्बाले भने-‘जीवनमा ठूलो आशिर्वाद पाएँ’

काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले राजीनामा दिएका छन् । सुब्बाले गत असारमा नै पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृतको प्रक्रियामा रहेको उक्त संस्थाका अध्यक्ष समेत रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । सुब्बाले ९ वर्ष १० महिना उक्त संस्थाको कार्यकारी प्रमुख भएर जिम्मेवारी सम्हालेका थिए । ‘संस्था स्थापनादेखि नै उहाँ कार्यकारी प्रमुख भएर काम गर्नुभयो । उहाँको भूमिका धेरै राम्रो रह्यो । संस्थाका एकेडेमिक कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन भए । संस्थाको वित्तीय अवस्था पनि राम्रो छ’ अध्यक्ष निरौलाले बताए । ‘नेशनल बैंकिङ इन्स्टिच्यूटमा काम गर्ने अवसर पाउनु मेरो लागि ठूलो आर्शिवाद हो’ विकासन्युजसँग कुरा गर्दै सुब्बाले भने–‘अब जीवन बुझ्ने र समाजमा सकारात्मक परिवर्तनको लागि भोलुन्टर भएर काम गर्छु ।’ कात्तिक ८ गते सुब्बालाई औपचारिक रुपमा बिदाई गर्ने कार्यक्रम रहेको छ । बैंकिङ क्षेत्रमा अनुभवले खारिएको व्यक्तिलाई नयाँ प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी सुम्पने निरौलाले बताए । ‘खुला प्रतिस्पर्धाबाट छानिएर आएको थिएँ । मेरो हातमा संस्था दर्ता प्रमाणपत्र मात्र थियो’ सुब्बाले भने–‘मैले आफ्ना बलबुताले भ्याएसम्म राम्रो गर्ने प्रयास गरेँ ।’ गत असार मसान्त सम्ममा यस संस्थाले ५० हजार मानिसलाई क्षमता विकासका तालिम दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्मचारी खर्चको ३ प्रतिशत रकम कर्मचारीको तालिम गर्नमा खर्च गर्नु पर्ने नीतिगत व्यवस्था गराउने एनविआईले खेलेको भूमिकालाई पनि उनले महत्वपूर्ण उपलब्धिको रुपमा सम्झिए । सन् २०१० मा स्थापना भएको नेशनल बैकिङ इन्स्टिच्यूटमा नेपाल राष्ट्र बैंकसहित २१ वटा बैंक तथा वित्तीय संस्थाको सेयर लगानी रहेको छ । एकेडेमिक संस्था भएकोले नाफा जति भएपनि सेयरधनीलाई ५ प्रतिशत मात्र लाभांश वितरण गर्ने नीति यो संस्थाले अवलम्बन गरेको छ । संस्थाको नाफाबाट संचित कोषमा १५ करोड २५ लाख रुपैयाँ जम्मा भएको छ । संस्थालाई बलियो बनाउन यसरी कोष वृद्धि गरिएको सुब्बाले बताए ।

काठमाडौँको चपलीमा प्राईम कमर्सियलको शाखा बिस्तार

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले बुढानीलकण्ठ नगरपालिकामा शाखा बिस्तार गरेको छ । यो शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ९७ पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बिहीबार बुढानीलकण्ठ नगरपालिका मेयर उद्धवप्रसाद खरेल तथा बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय चपलीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकले आगामी दिनमा पनि शाखा सञ्जाल बिस्तार गर्दै जाने नायब महाप्रबन्धक तथा प्रवक्ता भाइराजा तुलाधरले जनाएका छन् ।

६० करोड मूल्यका झिलिमिली बत्ति भित्रिए, ९० प्रतिशत चीनबाट मात्रै

काठमाडौं । दशैं सकिएसँगै यतिखेर बजारमा तिहारको माहोल बढेको छ । बजारमा तिहार तथा दिपावलीका लागि झिलिमिली बत्ति खरिद गर्नेको भिड पनि बढेको छ । विभिन्न किसिमका बत्तिले घर सजाउने र आफन्तजनहरुलाई शुभकामना दिनेहरु बढ्दै गएका छन् भने घरबाट टाढा रहेकाहरु पनि घर आउने जाने  क्रम बढ्दो छ । पहिले लोडसेडिङको सास्तीले चाहे र खोजे जति बत्ती बाल्न पाउँदैनथे । तर, अहिले लोडसेडिङमुक्त भएपछि झिलिमिली बत्ति बाल्नेको संख्या पनि बढेको छ । तिहार दिपावलीका लागि प्रयोग गरिने बत्ति खरिद गर्ने ग्राहकहरु पनि दिनप्रति दिन बढ्दै गएको ब्यापारीहरु बताउँछन् । डुम लाईट, पियानो लाईट, लेजर लाईट, झुमर, रेनफल लाईट, डिस्को लाईट, लेजर लाईट चीम लगायतका बत्ति तिहार तथा दिपावलीमा बढि प्रयोग हुने गरेका छन् । व्यापारीहरुले हाल बजारमा सबैभन्दा बढी झुमर, चीम र डुम लाईट बढि बिक्री हुने एक व्यापारीले बताए । ‘कहिले काहीँ दिनभर पनि त्यतिकै बसेर दिन कटाउनु पथ्र्यो’ न्युरोडका एक व्यापारीले भने–‘अहिले खाना खाने पनि फुर्सद छैन, दिनभर पसलमा ग्राहकको भिड लाग्ने गरेको छ, सबैभन्दा बढि झुमर र डुम लाईट बिक्री हुने गरेका छन् ।’ नेपालमा खरिद  बिक्री हुने सम्पूर्ण बत्ति चीन र भारतबाट आयात हुने गरेका छन् । यस पटक हालसम्म तिहारका लागि मात्रै चीनबाट ९० प्रतिशत र भारतबाट १० प्रतिशत बत्ति आयात भएको छ । चीनबाट आयात हुने बत्ति भारतको भन्दा बढी सस्तो र आकर्षण हुने भएकोले बढी सामाग्री चीनबाट आयात हुने नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका उपाध्यक्ष सुदर्शन पौड्यालले बताए । तिहारमा आवश्यक पर्ने बत्तिको आयात विगत वर्षहरुको तुलनामा कम भएको उनले बताए । गुणस्तरीय बत्ति दुई तीन वर्ष चल्ने भएकोले धेरैसँग पुरानै हुन्छ । तिनीहरुले पुरानै प्रयोग गरेको र नयाँ ग्राहक मात्र बजारमा खरिद गर्न आउने भएकाले आयात कम भएको उनले बताए । पौड्यालले यकिन तथ्याङ्क नआई पुगेपनि करिब ६० करोड मूल्यका बत्ति चीन र  भारतबाट आयात भएको बताए । बजारमा वाट अनुसारको बत्तीको मूल्य तोकिएको छ । डुमलाईटको आठ सय पचास, ६० मिटर पियानो लाईटको एक हजार दुई सय, लजेर लाईटको एक हजार दुई सय, डिस्को लाईटको आठ सय पचास रुपैयाँ मूल्य रहेको छ । यस्तै सबैभन्दा बढी बिक्री हुने झुमरका पनि १ हजार देखि ३०-४० हजारसम्म खरिद बिक्रि भइरहेका छन् । पहिलेको वर्ष नै खरिद गरिएका गुणस्तरीय एलइडी प्रयोग भएका झिलिमिली बत्तीहरुको प्रयोग बढेकै कारण व्यापारमा कमि आएको साथै उपभोक्ताहरुमा गत वर्षकै स्टक रहेकोले पनि पहिलेको भन्दा व्यापारमा कमी आएको महासंघले जनाएको छ । अहिले बजारमा लाईट, फोटो, स्टिकर, रंगिन बल्ब लगायतका विभिन्न प्रकारका रङ्गीचङ्गी बत्ति खरिद बिक्री भइरहेका छन् ।    

डुइङ बिजिनेसमा नेपालको उच्च सुधार, ६३.२ अंक ल्याउँदा ९४ औं स्थानमा, कुन देशको स्थान कहाँ ?

काठमाडौं । डुइङ बिजिनेसमा नेपाल विश्वमा ९४ औं स्थानमा उक्लिएको छ । विश्वका १९० मुलुकहरुमा व्यवसाय गर्ने वातावरण र सुरक्षा र प्रतिफलका आधारमा  प्रत्येक वर्ष सार्वजनिक गर्ने विश्व बैंकले  सन् २०२० काे रिपाेर्टमा  नेपालले अघिल्लो वर्षभन्दा १६ स्थान सुधार गर्दै उक्त स्थान प्राप्त गरेको हो । नेपालले कुल ६३.२ अंक प्राप्त गरेको छ । सबैभन्दा बढी अंक ल्याउने न्यूजिलयाण्डले ८६.८ अंक ल्याएर पहिलो स्थानमा रहँदा सोमालियाले सबैभन्दा कम २० अंक ल्याएको छ । दक्षिण एशियाली राष्ट्रहरुमध्ये भारत ७१ अंकसहित ६३ औं स्थानमा ६१ अंकसहित १०८ औं स्थानमा, बंगलादेश ४५ अंकसहित १६८ औं स्थानमा ६१.८ अंकसहित ९९ औं स्थानमा, भुटान ६६ अंकसहित ८९ स्थानमा, माल्दिभ्स ५३.३ अंकसहित १४७ औं स्थानमा परेका छन् । चीनभने ८५.३ अंकसहित तेस्रो स्थानमा परेको छ । सन् २०१८ मा नेपाल १०५ औं स्थानमा थियो । २०१९ मा ११० औं स्थानमा पुगेपछि नेपालले विश्व बैंकसामू आफ्नो असन्तुष्टि औपचारिक रुपमै राखेको थियो । अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकको यो प्रतिवेदन पूर्वाग्रही भएको बताएका थिए । [pdf id=176979]

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा तथा नेकपाका महासचिव विष्णु पौडेलले बिदाइ गरेका थिए । सो अवसरमा मन्त्रीहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित कूटनीतिक निकायका प्रतिनिधिलगायत विशिष्ट व्यक्ति उपस्थित थिए । प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । यही कात्तिक ८ र ९ गते हुन गइरहेको उक्त सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी रहेका छन् । असंलग्न आन्दोलनको संस्थापक राष्ट्रको हैसियतमा नेपालले स्थापनाकालदेखि नै सबै शिखर सम्मेलनहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस

डिल्लीबजार मालपोतमा इन्टरनेट नचल्दा सेवाग्राहीले सेवा पाउन सकेनन्

काठमाडौं । राजधानीको डिल्लीबजारमा रहेको मालपोत कार्यालयमा बिहानै देखी नेट नचलेका कारण सेवाग्राहीहरु प्रभावित भएका छन् । अन्य स्थानको मालपोतमा बिहानैदेखी सेवा सुचारु भएपनि डिल्ली बाजारको मालपोतमा भने समस्या देखिएको हो । एक सेवाग्राहीले दिएको जानकारी अनुसार-‘बिहानैदेखी हामी आफ्नो काम छाडेर मालपोतमा आयौ, तर सेवा सुचारु हुने छाँट छैन ।’ डिल्लीबजार मालपोत कार्यालयका सूचना अधिकारी प्रभुनाथ राईले भने- ‘आज बिहानदेखी नै कार्यालयमा नेट चल्न सकेको छैन, हामीले सुविसुका टोलीलाई खबर गरेका थियौँ, तर उहाँहरु आइपुगिसक्नु भएको छैन ।’

एनसेलको तिहार अफरः चार गुणा बढी फोरजी डेटा बोनस

काठमाडौँ । एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसर पारी आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस अन्र्तगतग्राहकले चार गुणा बढी डेटाको फाईदा लिन सक्नेछन् । यो अफर बिहीबारबाट लागु भई १५ दिन सम्मकालागि सञ्चालनमा रहने छ । यस अफर अन्तर्गत एक दिन समयावधिभएको ७५ एमबी डेटा र सातदिनको समयावधिभएको ५०० एमबीको डेटा प्याकखरिद गर्ने ग्राकहले चार गुणा बढी डेटा भोल्युमको फाईदा लिन सक्नेछन् । कर बाहेक रु १५ (कर सहित रु १९.१५) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउने छन् । यसको मतलब ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन् । त्यसैगरी कर बाहेक रु ७५ (कर सहित रु ९५ंंं.७७) शुल्कमाआउने ५०० एमबीको खरिदमाथप १५०० एमबीफोरजी डेटा बोनस स्वरुप पाउने कम्पनीले जनाएको छ । यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन् । ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफर अन्तर्गत पाईने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिमप्रयोग गरी फोरजी नेटवर्क संचालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन् । चाडपर्वको अवसरमा संचालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथीभाईबीच सम्पर्कमा रहि रहन, शुभकामना आदानप्रदान तथा खुशी साटासाट गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ । यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले आफुलाई नजिकै पर्ने एनसेल सेन्टरमागई आफ्नो सिमलाई फोरजी सिम अर्थात युसिमसँग साट्न सक्नेछन् । यसको लागि रु १ शुल्क लाग्छ । यस प्रक्रियामार्फत युसिमलिने ग्राहकले सातदिनको समयसिमा रहेको एक जिबी डेटा पनि पाउने छन् । यो डेटा दिनको समयमा अर्थात बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सक्नेछन् । युसिम लिएपछि ग्राहकले एष्ट्रिक्स ३२४ ह्यास डायल गर्न सक्छन् र फोरजी सेवाको फाईदा लिन सने जनाइएको छ ।