तिहारमा २५ लाख माला खपत हुने, एउटा मालाको बढीमा ७० रुपैयाँ

<p>काठमाडौं । पछिल्लो समय फूल उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख बन्दै गएको छ । फूल उत्पादनमा आत्मनिर्भरतर्फ उन्मुख भएसँगै यस वर्षको तिहारमा खपत हुने २५ लाख मालामध्ये दुई लाख ५० हजार माला मात्रै भारतबाट ल्याउने फ्लोरिकल्चर एसोसियशनले जनाएको छ । तिहार नजिकिएसँगै उपत्यकाभित्र रहेका पुष्प व्यवसायीले कोटेश्वरमा रहेको पुष्प कोलस्टोरमा माला तथा फूल जम्मा गरिरहेको फ्लोरिकल्चर [&hellip;]</p>


काठमाडौं । पछिल्लो समय फूल उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख बन्दै गएको छ । फूल उत्पादनमा आत्मनिर्भरतर्फ उन्मुख भएसँगै यस वर्षको तिहारमा खपत हुने २५ लाख मालामध्ये दुई लाख ५० हजार माला मात्रै भारतबाट ल्याउने फ्लोरिकल्चर एसोसियशनले जनाएको छ ।

तिहार नजिकिएसँगै उपत्यकाभित्र रहेका पुष्प व्यवसायीले कोटेश्वरमा रहेको पुष्प कोलस्टोरमा माला तथा फूल जम्मा गरिरहेको फ्लोरिकल्चर एसोसियसनका अध्यक्ष कुमार कसजूले बताए । उनले भने–‘ग्रामिण क्षेत्रका किसानहरुपनि यस समयमा आफ्नो उत्पादनलाई बजार जतिसक्दो छिटो बजार पुर्याउने तयारीमा छन् ।’

पुष्प व्यवसायी मात्र नभएर कालिमाटी तरकारी बजारका व्यवसायीहरुले भारतबाट दुई लाख माला अबैध तरिकाले भित्र्याएका छन् । फ्लोरिकल्चर एसोसियशन कसजुले भने-‘बालाजु औद्योगिक क्षेत्रमा रहेको कोलस्टोरमा अबैध तरिकाले व्यवसायीले माला जम्मा गरेका छन् ।

गत वर्ष भन्दा आठलाख बढी मालाको माग
यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनु पर्ने अवस्था छ ।

एउटा मालाको बढीमा ७० रुपैयाँ
यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म बढी तिर्नुपर्ने देखिन्छ । गत वर्ष रु ५० देखि ६० भन्दा बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष कसजूले बताए ।

तिहारमा मात्रै १५ करोडको कारोबार
तिहारमा मात्रै रु १५ करोड फूलको कारोबार हुने गरेको छ । ‘यसपटकको तिहारमा भारतबाट अत्यन्तै थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला केही आयात गर्नुपरेको छ’, कसजूले भने ।

६० प्रतिशत माला खपत
काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ । स्वदेश र विदेशमा गरी वार्षिक रु. दुई अर्ब ४२ करोडको फूलको कारोवार भएको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडवाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।

पुष्प व्यवसायमा मनग्य आम्दानी
विगत १७ वर्षदेखि पुष्प व्यवसाय गर्दै आएका ललितपुर लेलेका राजकुमार पहरी यस क्षेत्रमा आत्म सन्तुष्टि रहेको बताउँछन् । बार्षिक ६० लाख रुपैयाँ फूल उत्पादन गर्दै आएका उनले कोटेश्वर, महादेवस्थान स्थित ४ रोपनी क्षेत्रफलमा अरुण नर्सरी स्थापना गरी व्यवसाय सञ्चालन गरेका छन् ।

उनले भने–‘नेपालमा फूल उत्पादन व्यवयायप्रति आकर्षण बढ्दै गएको छ, फूल खेतीमा नै रमाउनुका साथै आफूलाई समर्पित गरेर अगाडि बढ्नेको संख्या एक्कासी बढ्दो छ ।’ अरुण नर्सरीका सञ्चालक पहरीले सिजनको बेलामा करिब ४ लाखदेखि ५ लाखसम्म आम्दानी हुने बताए ।

४५० प्रजातिका फूल नेपालमा उत्पादन
व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको व्यवसायिक खेती गर्दै आएका छन् ।

विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् ।

Share News