विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुरधामपुर ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रवाह
नेपालगञ्ज । बाँकेको कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनमा बिहीबारदेखि विद्युत् प्रवाह गरिएको छ । विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि विद्युत् प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका अनुसार ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि ११ हजार भोल्ट करेन्ट प्रवाह गरिएको छ । विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षण शुरु गरिएको हो ।
युरोपेली केन्द्रीय बैंक इसीबीले ब्याजदर यथावत राख्ने
फ्राङ्कफर्ट, जर्मनी । यूरोपेली केन्द्रीय बैंक (इसीबी)ले यूरो क्षेत्रका लागि निर्धारण गरेको ब्याजदर यथावत राख्ने बिहीबार निर्णय गरेको छ । इसीबीले यूरो क्षेत्रको आधारभूत ब्याजदर शुन्य प्रतिशतमा नै यथावत राखिने जनाएको हो । त्यस्तै उक्त बैंकले ‘मार्जिनल लेन्डिङ’ दर तथा निक्षेप दरलाई क्रमशः ०।२५ प्रतिशत र ०।५० प्रतिशत कायम गरेको छ । रासस/सिन्ह्वा
चेम्बरमा राजदूतसँग भेटवार्ता, स्पेन र अष्ट्रेलियासँग आर्थिक-व्यापारिक सम्बन्ध बिस्तारमा जोड
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावा फूटी शेर्पा तथा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालबीच बिहीबार चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ । सो कार्यक्रममा स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शेर्पाले आफूले दुई मुलुकबीच आर्थिक सम्बन्ध मजबुत बनाउन उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले निजी क्षेत्रको सुझावअनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसंग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता जनाइन् । सो अवसरमा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत दाहालले नेपालमा उत्पादित वस्तुको बजार विस्तार गर्नु आफ्नो प्राथमिकतामा रहेको र द्धिपक्षीय सम्बन्ध विस्तार गर्न आफूले कार्य योजना बनाई सहजीकरण गर्ने बताए । उनले नेपालमा निर्मित गरगहनाको निकासी बढाउन, नेपालमा लगानी अभिवृद्धि गर्न, द्धिपक्षीय वाणिज्य सम्बन्ध वृद्धि गर्न, द्धिपक्षीय भ्रमणको आदान प्रदान गर्न आफुले जोड दिने बताए । नेपाल अष्ट्रेलियाबीच पर्यटन प्रबद्र्धन गर्न सिधा हवाई सेवाको मूर्त रुपमा कार्य गर्न सरोकारवालाहरुसँग छलफल गर्ने बताए । उक्त अवसरमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, हल्कापेय पदार्थको उत्पादन लगायतका क्षेत्रमा स्पेनी लगानी एवम् प्रविधि भित्र्याउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिए । स्पेन र अष्लेलियासँगको ब्यापार घाटा कस्तो छ ? चेम्बरमा प्राप्त पछिल्लो तथ्याङ्क अनुसार सन् २०१८ मा स्पेनसँग ५४,८६,८४९ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा स्पेनबाट गतवर्ष सन् २०१८ मा ८२,७०,००५ अमेरिकी डलरबराबर आयात भएको छ भने नेपालबाट स्पेनमा २७,८३,१५६ अमेरिकी डलर बराबरको निर्यात भएको छ । नेपालले विशेष गरी तयारी पोशाक, गलैँचा, हस्तकलाका सामग्रीहरु निर्यात गर्दैै आएको र स्पेनबाट मेशिनरी पार्टपूर्जाहरु, मेडिकल उपकरणहरु तथा पेय पदार्थ आयात गर्दै आएको पाइन्छ । यस्तै सन् २०१८ मा अष्ट्रेलियासँग १,१९,४३,३६३ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा अष्ट्रेलियाबाट ७,२१,१४,४०६ अमेरिकी डलर बराबर आयात भएको छ भने नेपालबाट अष्ट्रेलियामा ६०,२१,०७५ अमेरिकी डलर बराबरको निर्यात भएको छ ।
उपत्यकाका खम्बामा टाँगिएका तार भूमिगत गरिने, ‘शहर कुरुप बनायो, आगलागीको जोखिम’
काठमाडौँ । काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रमा टेलिफोन तथा अन्य दूरसञ्चार सेवा प्रदायकको तारले कुरुप बनाएको छ । आगलागीको जोखिम पनि उत्तिकै बढेको छ । दुर्घटनालाई टार्न सकिँदैन, तर झोल्लिएका तारका कारण दैनिकजसो नै पैदलयात्री समस्यामा पर्ने गरेका छन् । सवारीसाधन तथा दैनिक जीवन यापनमा समेत अव्यवस्थित तारले हैरान पारेको छ । शहरी सौन्दर्यसमेत बिग्रिएको छ । संसारका धेरैजसो देशमा अस्तव्यस्त रुपमा विद्युत् र टेलिफोनका तार देखिँदैनन्, तर हाम्रो देशमा भने सेवा दिने नाममा शहरी क्षेत्र कुरुप बन्दै गएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने भएको छ । शहरी क्षेत्रमा समस्या पैदा भएको र सौन्दर्यमा समेत समस्या भएको भन्दै सरकारले पहिलो चरणका काठमाडौँ उपत्यकाका १५ स्थानमा नमूना परियोजनाको रुपमा टेलिफोन, इन्टरनेट सेवा प्रदायको तार भूमिगत गर्ने भएको छ । मन्त्रिपरिषद्को यही कात्तिक ५ गते बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । मन्त्री बाँस्कोटाका अनुसार पहिलो चरणमा विमानस्थल, कलङ्की, सिनमङ्गल, पुतलीसडक, सिंहदरबार हुँदै थापागाउँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, त्रिपुरेश्वर हुँदै महाराजगञ्ज, विमानस्थलदेखि कलङ्कीसम्म, सिंहदरबार पुतलीसडकको क्षेत्रमा रहेका अव्यवस्थित टेलिफोनका तार तथा अन्य सेवा प्रदायकको तार भूमिगत गर्न लागेको हो । सरकारले ती स्थानका तार भूमिगत गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । एउटै खम्बामा दर्जनौँ संस्थाका तार रहँदा आगलागीको खतरा बढेको तथा पैदलयात्रुसमेत जोखिममा परेको एवम् नजिकका घरधनीलाई समेत समस्यामा पारेको वास्तविकतालाई आत्मसात् गरेर तार भूमिगत गर्न लागिएको सरकारको बुझाइरहेको छ । मन्त्री बाँस्कोटाका अनुसार पहिलो चरणमा काठमाडौँ उपत्यकाका १५ स्थानमा नमूना परियोजनाका साथ काम शुरु गर्न प्राधिकरणलाई निर्देशन दिएको र क्रमशः देशव्यापी रुपमा नै तार भूमिगत गरिनेछ । त्यसो छ प्राधिकरणले गत भदौ ११ गते नै इन्टरनेट सेवा प्रदायक, केबुल अपरेटर तथा अन्य सङ्घ÷संस्थाले टेलिफोन तथा बिजुलीको खम्बामा अव्यवस्थित हिसाबले राखिएका तार व्यवस्थित गर्न निर्देशन दिएको थियो । शहरको सुन्दरतामै असर पर्ने गरी तार झुण्डाउने तथा सडक पार गराउनेलगायतका कार्य गर्दा शहरको सुन्दरतामा असर पुग्नुको साथै आगलागीसमेत भई गम्भीर दुर्घटना भइरहेको प्राधिकरणको भनाइ थियो । प्राधिकरणले शहरलाई सुन्दर राख्न तथा आम नागरिकलाई सुरक्षित एवम् व्यवस्थितरुपमा सेवा जडान गराउन यसरी अव्यस्थित, असुरक्षित तथा शहरलाई नै कुरुप बनाउने गरी जडान भएका तथा सडक पार गराएका तारलाई दशैँअगावै व्यवस्थापन गर्न प्राधिकरणले निर्देशन दिएको थियो तर, सेवाप्रदायकले प्राधिकरणको उक्त निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन नगरेको पाइएको छ । प्राधिकरणले आफ्नो सूचनाको अवज्ञा गरी अव्यवस्थित रुपमा तार टाँग्ने वा तारलाई सडक पार गराइएको पाइएमा त्यस्ता व्यक्ति तथा सङ्घ–संस्थालाई जिम्मेवार बनाई आवश्यक कानूनी कारवाही गर्नुका साथै सम्बन्धित निकायबाट त्यस्ता संरचना तत्काल हटाइने चेतावनीसमेत दिएको थियो । प्राधिकरणको उक्त चेतावनीलाई कोही कसैले सुनुवाइ नगरे पनि प्राधिकरणले हालसम्म कुनै कारवाही प्रक्रिया अगाडि बढाएको छैन । त्यसो त नेपाल विद्युत् प्राधिकरणले यसअघि नै काठमाडौँको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र मातहतका तार भूमिगत गर्ने प्रक्रिया शुरु गरिसकेको छ । सो योजनाका लागि निर्माण व्यवसायी छनोट भई आवश्यक प्राविधिक तयारी गरिरहेको छ । प्राधिकरणले क्रमशः अन्य स्थानको तारसमेत भूमिगत गर्ने योजना तय गरेको छ । रासस
नेपाल-भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल नचलाइने
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले नेपाल भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल नचलाइने स्पष्ट पारेको छ । धर्मशालामा बस्ने तीर्थयात्रीले सुरक्षा, सरसफाइ, शौचालय, भोजनलगायत उच्च कोटीका सुविधा पाउने गरी सञ्चालकले सेवा प्रदान गर्नुपर्ने गरी व्यवस्था गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । धर्मशालामा तीनतारे होटल चलाउन लागिएको भनी गरिएको प्रचारप्रसारप्रति कोषको ध्यानाकर्षण भएको जनाइएको छ । “सार्वजनिक खरीद ऐन तथा नियमावलीबमोजिम ठेक्का बन्दोबस्त गरी सार्वजनिक सूचना प्रकाशित गरेर खुला प्रतिष्पर्धाबाट सञ्चालनको जिम्मेवारी दिइएको हो, तीर्थयात्रीको प्रवृत्ति शौचालयसहितको कोठामा बस्नेतर्फ बढ्दै गएकाले १० जनाभन्दा बढी अट्नेलाई केही सुधार गरिएको हो”, उनले भने । धर्मशालामा २८८ कोठा रहेको भन्ने तथ्यसमेत सही नभएको कोषले विज्ञप्तिमा उल्लेख गरेको छ । धर्मशालामा जम्मा ८२ कोठा रहेको जनाइएको छ । धर्मशालामा ३९० जना यात्रु अटाउने छन् । थोरै शुल्कमा धेरै सुविधा दिने गरी कोठाको पुनःसंरचना गरिएको कोषले जनाएको छ । ठूला सवारी लिई समूहमा आउने तीर्थयात्रीलाई सामूहिकरुपमै बस्नसक्ने व्यवस्था पनि गरिएको सदस्य सचिव ढकालले बताए । सामूहिक शयन कक्ष भएको कोठामा बस्ने तीर्थयात्रीले रु ३५० भन्दा बढी तिर्नु पर्दैन । कोषको मूल उद्देश्य धर्मशालाबाट नाफा कमाउनु नरहेको उहाँको भनाइ छ । तीर्थयात्रीको क्षमताअनुसारका न्यूनतम् सुविधा उपलब्ध गराउने उद्देश्यअनुसार नै धर्मशाला सञ्चालन गरी सुविधा दिइने कोषले जनाएको छ । भारत सरकारको सहयोगमा निर्माण भएको धर्मशाला बिम्स्टेक सम्मेलनमा भाग लिन नेपाल आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष भदौ १५ गते नेपाली समकक्षी केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका थिए । तिलगङ्गा आँखा अस्पतालसँगै कोषले उपलब्ध गराएको १६ रोपनी क्षेत्रफलमा फैलिएको धर्मशाला निर्माणका लागि रु २२ करोड लागेको थियो । भारत सरकारले नै धर्मशाला निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो ।
वित्तीय विवरण सार्वजनिकमा पहिलो बन्यो सिटिजन्स बैंक, नाफा ३५ करोड, अरु सूचक कस्ता ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब ३५ करोड रुपैंया नाफा कमाएको छ । बैंक तथा वित्तीय संस्थामध्येमै पहिलोपटक त्रैमासिक विवरण सार्वजनिक गर्दै सिटिजन्सले साउनदेखि असोज महिनासम्मको अवधिमा जम्मा ३४ करोड ९१ लाख रुपैंया खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यो आम्दानी बैंक ८ अर्ब ६२ करोडको चुक्तापुँजीका आधारमा वार्षिक १६.२० रुपैंया हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४२ करोड ८८ लाख रुपैंया नाफा कमाए पनि यो वर्ष भने पहिलो त्रैमासमा बैंकको नाफा घट्न पुगेको हो । प्रतिशेयर आम्दानी नाफा घटे पनि बैंकको मूल्य आम्दानी अनुपात भने करिब १२ गुणामात्रै छ जुन औसतभन्दा राम्रो हो । बैंकको नाफा ३४ करोड ९१ लाख रुपैंया भए पनि उक्त रकम विभिन्न कोषहरुमा बाँडफाँड गर्दा शेयरधनीलाई बाँड्न मिल्ने रकम भने २१ करोड रुपैंया मात्रै छ । यद्यपि आर्थिक वर्षको पहिलो त्रैमास भएकोले यो नाफाले त्यति ठूलो महत्व भने राख्दैन । बैंकसँग २ अर्ब ९५ करोडको रिजर्भ छ जुन अघिल्लाने वर्षभन्दा १३ करोड रुपैंयाले बढी हो । असोज मसान्तसम्म आइपुग्दा बैंकले निक्षेपतर्फ करिब २ अर्बको सुधार हासिल गर्दा कर्जा प्रवाह करिब साढे ४ अर्बले बढाएको छ । बैंकको निक्षेप संकलन ७२ अर्ब ४३ करोड हुँदा कर्जा प्रवाह ६७ अर्ब ५५ करोड रहेको देखिएको हो । बैंकले यो अवधिमा निष्क्रिय कर्जा अनुपातमा भने उच्च सुधार गरेको छ । अघिल्लो वर्ष १.२३ प्रतिशत रहेको निष्क्रिय कर्जालाई यो अवधिसम्ममा ०.९८ प्रतिशतमा झार्दा बैंकको लोनलस प्रोभिजन १९६ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ८.३० प्रतिशत, बेसरेट १०.७५ प्रतिशत र सीसीडी रेसियो ७८.४१ प्रतिशत हुँदा पुँजी पर्याप्तता अनुपात भने १२.६६ प्रतिशतको कसिलो विन्दुमा छ । नेपाल राष्ट्र बैंकको परिमार्जित स्प्रेडदर गणना विधिअनुसार बैंकको ब्याजको स्प्रेडदर ४.१६ प्रतिशत छ जुन राष्ट्र बैंकले तोकेको ४.४ प्रतिशतको सीमाभित्र हो ।
सेलपेले सिभिल र लविम महलमा स्टल एक्टिभेसन शुरु गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा.लि. को सेलपे सेवाले आजबाट स्टल एक्टिभेसन शुरु गर्ने भएको छ । उक्त एक्टिभेसन कम्पनीले सिभिल महलमा कात्तिक ८ गते शुक्रबारका दिन र लविम महलमा कात्तिक ९ गने शनिबारका दिन १० बजे देखि ५ बजेसम्म हुने कम्पनीले जनाएको छ । यस एक्टिभेसनको मुल उदेश्य ग्राहकहरुसँग अन्तर्क्रिया बढाउन र सेलपे एप्पको बारे यसको प्रयोग र फाइदाहरुको विस्तारमा जानकारी उपलब्ध गराउने रहेका छ । एक्टिभेसनको समयमा सेलपेले स्पटके वाईसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात १०० रुपैयाँको फ्री टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्नेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुबै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
होण्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगिता सम्पन्न
काठमाडौँ । होण्डा नेपालले बुधबार ग्वार्को स्थित होण्डा सर्भिस ट्रेनिङ्ग सेन्टरमा होण्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगिता आयोजना गरेको छ । क्षेत्रीय स्तरबाट शुरु गरिएको प्रतियोगितामा देशभर रहेका होण्डाका १३ आधिकारिक टेक्निसियनहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सर्वश्रेष्ठ २ प्रतियोगीहरु सागर गुरुङ्ग र मोहन थापामगरले नेपालको प्रतिनिधित्व गर्दै मार्च २०२० मा थाइल्याण्डमा हुने एसियन होण्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेका छन् । त्यसै गरी तेस्रो हुने होण्डा हाउस, गोरखाका टेक्निसियन नरबहादुर चौधरीले पुरस्कार स्वरुपनगद रु.२५,००० प्राप्त गरेका छन् । टेक्निसियनहरुको आत्मविश्वास बढाउन आयोजना गरिएको उक्त प्रतियोगितामा नेपाल अटो मेकानिक्स यूनियनका (नाटु) उपाध्यक्ष प्रदीप घिमिरे र अटोमेकानिक्स एशोसियसन अफ नेपालका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेको उपस्थिति रहेको थियो ।