काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावा फूटी शेर्पा तथा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालबीच बिहीबार चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ ।
सो कार्यक्रममा स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शेर्पाले आफूले दुई मुलुकबीच आर्थिक सम्बन्ध मजबुत बनाउन उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले निजी क्षेत्रको सुझावअनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसंग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता जनाइन् ।
सो अवसरमा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत दाहालले नेपालमा उत्पादित वस्तुको बजार विस्तार गर्नु आफ्नो प्राथमिकतामा रहेको र द्धिपक्षीय सम्बन्ध विस्तार गर्न आफूले कार्य योजना बनाई सहजीकरण गर्ने बताए । उनले नेपालमा निर्मित गरगहनाको निकासी बढाउन, नेपालमा लगानी अभिवृद्धि गर्न, द्धिपक्षीय वाणिज्य सम्बन्ध वृद्धि गर्न, द्धिपक्षीय भ्रमणको आदान प्रदान गर्न आफुले जोड दिने बताए । नेपाल अष्ट्रेलियाबीच पर्यटन प्रबद्र्धन गर्न सिधा हवाई सेवाको मूर्त रुपमा कार्य गर्न सरोकारवालाहरुसँग छलफल गर्ने बताए ।
उक्त अवसरमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, हल्कापेय पदार्थको उत्पादन लगायतका क्षेत्रमा स्पेनी लगानी एवम् प्रविधि भित्र्याउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिए ।
स्पेन र अष्लेलियासँगको ब्यापार घाटा कस्तो छ ?
चेम्बरमा प्राप्त पछिल्लो तथ्याङ्क अनुसार सन् २०१८ मा स्पेनसँग ५४,८६,८४९ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा स्पेनबाट गतवर्ष सन् २०१८ मा ८२,७०,००५ अमेरिकी डलरबराबर आयात भएको छ भने नेपालबाट स्पेनमा २७,८३,१५६ अमेरिकी डलर बराबरको निर्यात भएको छ ।
नेपालले विशेष गरी तयारी पोशाक, गलैँचा, हस्तकलाका सामग्रीहरु निर्यात गर्दैै आएको र स्पेनबाट मेशिनरी पार्टपूर्जाहरु, मेडिकल उपकरणहरु तथा पेय पदार्थ आयात गर्दै आएको पाइन्छ ।
यस्तै सन् २०१८ मा अष्ट्रेलियासँग १,१९,४३,३६३ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा अष्ट्रेलियाबाट ७,२१,१४,४०६ अमेरिकी डलर बराबर आयात भएको छ भने नेपालबाट अष्ट्रेलियामा ६०,२१,०७५ अमेरिकी डलर बराबरको निर्यात भएको छ ।