मनकामना केबुलकारले ल्यायो नयाँ योजना, दर्शनार्थीले आकर्षक उपहार पाउने
काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले आफ्नो २१औं वार्षिकोत्सबको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ । एक महिना अवधि भएको उक्त योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने कम्पनीले जानकारी गराएको छ । उक्त योजना अनुसार पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको एलजीस्मार्ट टिभी र तेस्रो पुरस्कार सामसुङ स्मार्ट मोबाइल रहेको छ । कम्पनीले आफ्ना यात्रुलाई सम्मान गर्ने उद्देश्यले योउपहार योजना ल्याएको हो । यहि कात्तिक ७ गतेदेखि शुरु भएको यो योजना मंसिर ७ गतेसम्म लागू हुनेछ । कम्पनीले मंसिर ८ गते वार्षिकोत्सवको विशेष अवसरमा लक्की ड्रमार्फत विजेता घोषणा गर्ने छ । यस योजना चितवनको इसमूहका कर्मचारी र कर्मचारीका परिवार, विदेशीनागरिक, स्थानीय वासिन्दा र बालबालिकाको टिकटमा भने लागु नहुने कम्पनीले जनाएको छ । मनकामना दर्शनार्थीलाई लक्षित गरी चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म सञ्चालित यस केबुलकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न समेत योगदान पुर्याउदै आएको छ ।
चाडपर्वमा नेपाल टेलिकमको अफर, कात्तिक १० देखि १६ गतेसम्म रिचार्जमा कति पाइन्छ बोनस ?
काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड तिहारका साथै छठ र नेपाल संवतका अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । सो अवसरमा मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । यो भन्दा पहिले देखि नै उपलब्ध फोरजी÷एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफरहरुलाई समेत निरन्तरता दिइएको छ । रिचार्जमा बोनस: जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा रु. ५०।–, १००।– र २००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु. ५०।–, १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट रु. १०।– देखि ४९९।– सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ । यी अफरहरुलाई पनि निरन्तरता १. फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । २. पहिलो पटक फोरजी÷एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । ३. पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ । ४. प्रिपेड नम्बरमा पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सकिनेछ । ५. कम्पनीको इन्टरनेट/इन्ट्रानेट लिज लाइन सेवा लिने नयाँ ग्राहकहरुलाई दर्ता शुल्क रु. ३२०।– आगामी छठसम्म निःशुल्क गरिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।
७५ प्रतिशत मजदुर व्यवसायजन्य रोगबारे बेखबर
काठमाडौँ । इँटा भट्टामा कार्यरत ७५ प्रतिशत मजदुरलाई कार्यस्थलमा रहेको धुलो धुवाँका कारण दीर्घ रोग लाग्ने बारे थाहा नभएको र सोही नै संख्यामा दीर्घरोगीहरु रहेको पाइएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र(रेस्फेक)ले काठमाडौं उपत्यकाका इँटा भट्टाहरुमा गरेको अध्ययन प्रतिवेदन अनुसार ११ प्रतिशत कामदारको तत्काल दम, खोकी र न्यूमोनिया भएको देखिएको छ । सो सम्वन्धमा शुक्रवार आयोजना गरेको व्यवसायजन्य स्वास्थ्य र सुरक्षा सम्वन्धी कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सुजन जोजीजूले भने,‘नेपालमा व्यवसायजन्य दुर्घटनामा वर्षेनी २ सयभन्दा वढीको मृत्यु हुन्छ तर विभाग वा मन्त्रालयमा रिपोर्ट नै आउँदैन ।’ हरेक उद्योग प्रतिष्ठानले श्रम अडिट र व्यवसायजन्य स्वास्थ्यमा वर्षेनी अडिट गरेको खण्डमा मजदुरहरुको स्वास्थ्य र जीवन सुरक्षित हुने उनको कथन थियो । मजदुरहरुमा सचेतना नहुँदा व्यवसायजन्य सुरक्षा नभएको र रोजगारदाताले व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यान्वयन गर्न नसक्दा धेरै मजदुरहरु अंगभंग भइरहेको उनले जानकारी दिए । उनले भने,‘उद्योग प्रतिष्ठानमा दुर्घटना भइ मजदुर अशक्त भएमा वा व्यवसायजन्य रोग लागेमा उनले खाइपाइ आएको ६० प्रतिशत बराबरको मासिक पेन्सन दिनु पर्ने प्रावधान छ । यसैंले यो अवस्था आउनै नदिनका लागि उद्योग प्रतिष्ठान व्यवसायजन्य स्वास्थ्यको दृष्टिकोणले सुरक्षित हुनुपर्छ ।’ अध्ययनकर्ता पूर्णभक्त दुवालले इँटाभट्टामा मजदुरहरुको स्वास्थस्थिति भयावह रहेको र मजदुरहरुले घाम र चिसोबाट बच्नका लागि आश्रमस्थल नै नभएको बताए । उनले भने, ‘६९.५ प्रतिशत मजदुरले कामकै कारण स्वास्थ्य विग्रिएमा उपचार खर्च आफैले व्यहोर्दै आएको र दुर्घटना भएको अवस्थामा पनि रोजगारदाताले केही अंश मात्र व्यहोर्दै आएका छन् ।’ अध्ययनमा सहभागी ३२.५ प्रतिशत उद्यमीलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका बारेमा जानकारी नै नभएको र ७.५ प्रतिशतले यससम्वन्धमा सुन्दै नसुनेको पाएको उनले बताए । मजदुरहरुको वासस्थान ४ फिटभन्दा अग्लो नभएको र भुइँको चिसोमा सुत्न भएको पनि उनले अध्ययनको क्रममा पाएको बताए । शौचालय पनि अव्यवस्थित र खानेपानी पनि स्वस्थकर नभएको पाइएको अध्ययनकर्ता दुवालले जानकारी दिए । कार्यक्रममा नेपाल इँटा उद्योग व्यवसायी महासंघका महासचिव केपी अवालले इँटाभट्टामा मजदुरहरु मौसमी हुने गरेकाले र वर्षेनी कामदार फेरिने गरेकाले श्रम ऐन अनुसार मजदुरहरुलाई बुझाउन गाह्रो भइरहेको बताए । उनले भने,‘ सरकारको नीति नियम एकातिर छ र वस्तुस्थिति अर्कै हुँदा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यान्वयन गर्न समस्या भइरहेको छ ।’ इँटा भट्टाबाट हुने प्रदुषण अत्यन्तै कम भइसकेको र सरकारी मापदण्डअनुरुप काम भइरहेको बताउँदै उनले ५ ओटा प्रदेशमा इँटा प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको बताए । व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा इँटा उद्योग महासंघ एकदमै संवेदनशील रहेको र यसमा सवैपक्षको उत्तिकै सहयोग आवश्यक रहेको उनको टिप्पणी थियो । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले जनताको स्वास्थ्य अधिकारका लागि रेस्फेकले काम गर्दै आएको र मजदुरहरुको स्वास्थ्य राम्रो भएमा मात्र उत्पादन वढ्ने बताए । उनले भने,‘व्यवसायी, मजदुर र सरकारसँग मिलेर इँटा भट्टामा देखिएको समस्यालाई समाधान गर्न त्रिपक्षीय छलफल निरन्तर गरी कार्यक्रम अगाडि बढाइनेछ र नीति तथा कानुन कार्यान्वयनमा रहेका व्यवहारिक कठिनाइ पहिल्याइ भावी कार्यक्रम तय गरिनेछ। उनले अध्ययन प्रतिवेदनका आधारमा इँटा भट्टामा सचेतनामुलक तालिम चलाइने पनि जानकारी उनले दिए । नेपाल ट्रेड युनियन महासंघ–जिफन्ट)का उपाध्यक्ष विदुर कार्कीले कुनै पनि पेशा वा व्यवसायको प्रकृति अनुसार कार्यथलोमा काम गर्दा श्रमिकहरुको स्वास्थ्यमा पर्ने शारिरिक, मानसिक वा जोखिमयूक्त असुरक्षित वातावरणलाई घटाउँदै स्वस्थ र सुरक्षित वातावरण स्थापित गर्न विकसित भएको अवधारणालाई नै व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य भनिने जानकारी दिए । उनका अनुसार व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा ध्यान दिए औद्योगीक दुर्घटना ९० प्रतिशत रोक्न सकिन्छ । नेपाल ट्रेड युनियन कंग्रेसका महासचिव योगेन्द्र कुँवरले कुनै पेशा÷ व्यवसायमा संलग्न भएकै कारण काम वा पेशाको प्रकृति अनुसारको लाग्ने अल्पकालिन तथा दिर्घकालिन विभिन्न रोगहरु व्यवसायजन्य रोग भएको जानकारी दिए । यस्तो किसिमको रोग बैंकमा काम गर्ने कर्मचारीदेखि उद्योगमा काम गर्ने मजदुरसम्मलाई लाग्ने जानकारी उनले दिए । जनस्वास्थ्य अभियन्ता प्राडा शरदराज वन्तले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका सम्वन्धमा नेपालमा खासै अध्ययन नभएको र रेस्फेकले गरेको अध्ययन नीति निर्मातादेखि मजदुरसम्मका लागि उत्तिकै महत्वपूर्ण रहेको बताए ।
नेपाल लाइफको शाखा डोल्पाको दुनैमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएकाे छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरेका हुन् । सो कार्यक्रममा अध्यक्ष चापागाँईले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बीमाको दायरामा ल्याउन र बीमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको बताए । यसैगरी, कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तिब्र गतिले बीमा व्यवसाय विस्तार भइरहेको अवस्थामा नेपालभर नै सेवाको विस्तार गर्ने रहेको जानकारी दिएका छन् । यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी रू. ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा ७ अर्ब ९० करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९३ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
काठमाडौंको टोखामा प्राइम कमर्सियल बैंकको दुई शाखा विस्तार
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले टोखा नगरपालिकामा दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रममा ग्राण्डी शाखा बैंकका संचालक नरेन्द्र बज्राचार्य र बानियांटार शाखाको संचालक मनोज पौडेलले उद्घाटन गरेका हुन् । यस बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै निक्षेपकर्ता तथा ग्राहकहरुलाई थप गुणस्तर दिंदै जानेछ । यस शाखाहरुको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ९९ पुगेको छ ।
राष्ट्रिय वाणिज्य बैंकबाट ६७४ जनाले लिए सहुलियतपूर्ण कर्जा, महिला उद्यमीतर्फ मात्रै ६० प्रतिशत
काठमाडाैं । सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या हालसम्म ६ सय ७४ पुगेको छ । केही सीप भएका र आत्मनिर्भर बन्न चाहनेहरुलाई मध्येनजर गर्दै ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या ६ सय ७४ पुगेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको हो । तिनीहरुलाई करिब ६० करोड रुपैयाँ कर्जा वितरण गरिसकेको बैंकले जनाएको छ । गत वर्ष सरकारले कृषि तथा पशुपंछीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवमं रोजगारी अभिबृद्धि गर्न, शिक्षित वेरोजगारी युवालाई मुलुकभित्र रोजगारीको अवसर सिर्जना गर्न, आर्थिक रुपमा विपन्न समुदाय र विद्यार्थीलाई उच्च र प्राविधिक शिक्षा अध्ययनका लागि ऋण उपलब्ध गराउने लगायत शिर्षकका लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यविधि ल्याएको थियो । यस्तै महिला उद्यमशीलको विकास गर्न पनि सहुलियतपूर्ण कर्जा ल्याएको थियो । हालसम्म महिला उद्यमशिलता तर्फ मात्र ४ सय १० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । जसको ६० प्रतिशत हुन आउँछ । महिलाहरुले मात्रै हाल सम्म ४० करोड ६२ लाख कर्जा लिएको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए । ‘सबै प्रदेशमा सन्तुलित रुपमा कर्जा प्रवाह भएको छ’ उनले भने, महिलाका लागि मात्रै ६० प्रतिशत जानु ठुलो उपलब्धि हो, सात वटै प्रदेशका सबै ग्रामिण भेगमा बढी कर्जा प्रवाह भएकाे छ ।’ जसको परियोजना मापदण्ड ठीक छ उसैलाई कर्जा उपलब्ध गराएको बताउँदै उनले यसलाई अझै प्रभावकारी बनाउन जनशक्ति थपिने बताए । यसैगरी महिलाहरूको पुनरुत्थान र सबलीकरणका लागि विभिन्न जिल्लामा लागू भएको महिला उद्यमशीलता कर्जा पनि बिना धितोमा ६ प्रतिशत ब्याजमा दिइएको बताए । कतिपय कर्जा लिनकै लागि व्यवसाय दर्ता गर्ने र देखावटी व्यवसाय गर्ने, रकम प्राप्त गरिसकेपछिका दिनहरूमा व्यवसाय सञ्चालन गर्न छाड्ने प्रवृत्ति देखिएको छ । यसको अन्त्यका लागि बैंकले परिपक्क निर्णय बनाएर सिस्टमेटिक तरिकाले अगाडी बढेको उनले बताए । सरकारले सात कर्जाहरु घोषणा गरेको थियो । जसमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा तर्फ ५ करोड, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख, महिला उद्यमशील कर्जा १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५ लाख र भूकम्पपीडितहरूको निजी आवास निर्माण कर्जा ३ लाख रुपैयाँसम्म रहेको छ । बैंकहरुले आफ्नो आधार दरमा २ प्रतिशत बिन्दुमाथिसम्म मात्र यस्तो ऋणको ब्याजदर तोक्न पाउने सरकारी कार्यविधिमा उल्लेख छ । राष्ट्रिय वाणिज्य बैंकको हालको आधारदर ५.६० प्रतिशत कायम छ । यसमा २ प्रतिशत बिन्दू जोड्दा ब्याज ७.६० प्रतिशत कायम हुन्छ । महिला उद्यमीहरुले लिने ब्याजमा ६ प्रतिशत अनुदान दिइएका कारण उनीहरुले १.६० प्रतिशतमै कर्जा पाउने छन् । र अन्यमा भने ५ प्रतिशत सरकारी अनुदान दिइएकाले २.६० प्रतिशत ब्याजमै बैंकहरूले ऋण उपलब्ध गराउँदै आएका छन् । बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रदान गरिरहेको छ । सीईओ श्रेष्ठले एक अर्ब ४६ करोड रूपैयाँसम्म बैंकले कर्जा दिन सक्ने बताए । बैंकले गत आव २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
२ अर्ब लगानीमा नर्भिक हस्पिटलको नयाँ भवन बन्दै
काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्माणार्थ शुक्रबार “भूमिपूजन” तथा भवन निर्माणको शिलान्यास गरेको छ। नयाँ भवनको निर्माण पश्चात् नर्भिक २०० शैयायुक्त अत्याधुनिक सुविधासम्पन्न र पूर्वाधारयुक्त हस्पिटलका रुपमा परिणत हुने र यो चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र साधन–सुविधाले सुसज्जित हुने र विश्वस्तरीय स्वास्थ्य सेवा पु¥याउन आवश्यक पर्ने सवै आधुनिक साधन–सुविधा हरु जडित हुने बताईएको छ। नवीनतम् हस्पिटल भवन निर्माणार्थ भूमि पूजन तथा भवनको शिलान्यास एक विशेष समारोह बीच हस्पिटल परिसरमा शुक्रबार अपरान्ह हस्पिटलका अध्यक्ष वसन्त कुमार चौधरीले गरेका थिए। नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १ लाख ५४ हजार वर्गफिट हुने र जग्गा वाहेक परियोजनाको जम्मा लागत करिव दुई अर्ब हुने बताइएको छ। अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन बर्षभित्र सम्पन्न भइसक्ने अस्पतालले जानकारी दिएको छ। नेपाली चिकित्सा फाँटमै नवीनतम् यस परियोजनाको डिजाइन नेपाली आर्किटेक्चर र परियोजना व्यवस्थापन कम्पनीहरु मध्येको अग्रणी कम्पनी–केज कन्सल्ट (प्रा.) लि. ले गरेको छ भने निर्माण हुने नवीनतम् भवनको आन्तरीक साज–सज्जाका सम्पूर्ण कार्यहरु सिङ्गापुरको एक ख्यातिप्राप्त कम्पनीले गर्नेछ। वि.सं. २०५० मा काठमाडौंमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा ख्यातिप्राप्त एक उत्कृष्ट हस्पिटल रहँदै आएको छ । नेपाली स्वास्थ्य सेवाका फाँटमा नर्भिकको प्रवेश पश्चात् स्तरीय स्वास्थ्य सेवाका लागि ठूलो धनराशी सहित विदेसिनुपर्ने नेपालीहरुको वाध्यतालाई न्यूनीकरण गर्न नर्भिकले ठूलो सहयोग पुर्याउँदै आएको छ।
मेलम्ची आयोजनाको काम के के हुँदैछ ?
मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ । यद्यपि मेलम्ची आयोजनाको निर्माण कार्य भने ९५ प्रतिशत पूरा भै सकेको छ । मेलम्चीको सहायक परियोजना–१ अन्तर्गत सुरुङ निर्माण हुँदै प्रशोधन केन्द्रसम्मको निर्माण रहेकामा दोस्रो चरणमा प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घर–घरसम्म पु¥याउने काम भै रहेको छ । सन् २०११ देखि आयोजनाले मुख्य, सहायक र वितरण पाइप बिच्छ्याउने काम गरिरहेको छ । पानी सङ्कलनका लागि विभिन्न १० स्थानमा ट्याङ्की निर्माण भइरहेको छ । मेलम्चीको पानी दुई चरणमा गरी काठमाडौँ उपत्यका ल्याउन लागिएकामा अहिले पहिलो चरणमा भित्रने १७ करोड पानी सङ्कलन, वितरण हुँदै फोहर पानी प्रशोधनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको हो । यस चरणमा चक्रपथभित्रका एक लाख १० हजार घरधुरीमा पानी वितरण हुनेछ । काठमाडौँका चोकहरुमा एउटा दिशाबाट अर्का दिशामा पाइप लैजानका लागि ‘क्रसिङ’ गर्नुपर्नेमा अधिकांश स्थानमा सकिएको मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पुतलीसडक, कलङ्की, दरबारमार्गलगायत नौ चोकमा निर्माण गर्न बाँकी रहेकामा यी स्थानमा अब अघि बढ्ने परियोजना निर्देशक भोजविक्रम थापाले बताए । यी स्थानमा सवारी आवागमनमा बाधा पुग्ने भनी ‘क्रसिङ’ निर्माण नभए पनि अहिले निर्माणका लागि सहमति भइसकेको थापाको भनाइ छ । थापाका अनुसार सडक विभागसँग सहमति लिइसकेकाले अब चाँडै शुरु हुनेछ । मेलम्चीको पानी आएपछि पानी भण्डारणका लागि १० वटा ‘रिजर्भ ट्याङ्की’ निर्माण गर्ने आयोजनाको योजना रहेको थियो जसमध्ये नौ स्थानमा निर्माण भइसकेको आयोजना प्रमुख थापाले बताउनुभयो । यी सबै स्थानमा सात करोड ४५ लाख लिटर क्षमताको ट्याङ्की निर्माण भएको हो । भक्तपुरको कटुञ्जेमा विवादका कारण निर्माण हुन नसकेकामा अहिले विवाद समाधान भइसकेकाले छिट्टै निर्माण शुरु हुने उनको भनाइ छ । यस स्थानमा डेढ किलोमिटर पाइप निर्माणसमेत अघि बढ्न नसकेकामा अब अघि बढाइने उनले । आयोजनाले मुख्य, सहायक र वितरण गरी तीन किसिमका पाइपलाइन बिच्छ्याइरहेको छ । जसमध्ये घर–घरमा पुग्ने वितरण पाइप जडानको काम झण्डै ८९० किलोमिटर सकिएको र झण्डै २०० बाँकी रहेको आयोजनाले जनाएको छ । पाइप लाइन विस्तारसँगै आयोजनाले पाइपहरुको जाँच गरिरहेको निर्देशक थापाले बताए । अहिले वाग्मतीको पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर नयाँ जडान भएका पाइपहरुको जाँच भइरहेको हो । नियमितरूपमा भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पुरानै पाइपमार्फत वितरण गरिरहेको छ । १०० वर्षभन्दा पुराना पाइपहरु जीर्ण अवस्थामा छन् । ठाउँ–ठाउँमा ‘हेभी’ गाडीका कारण पाइपमा समस्या आइरहँदा मर्मत गरेर सञ्चालन गरिएको थापाको भनार्इ छ । “कतिपय स्थानमा पाइप माटोमा नै परिणत भइसकेको छ, मेलम्चीको बाँकी काम सकिएर पानी वितरण गर्न शुरु भए पनि यी पाइप पूर्णरूपमा प्रयोगमा आउँदैन ।” आयोजनाअन्तर्गत नै पाइप विस्तारका लागि खनिएका सडकहरु मर्मतका कामसमेत आयोजनाले गरिरहेको छ । सडक विभागको अधिकार क्षेत्रअन्तर्गत पर्ने सडक विभागले र स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने सडकको मर्मतको काम परियोजनाले गरिरहेको छ । मेलम्चीको पानी आएपछि त्यसको व्यवस्थापनका लागि आयोजनाले नै चार स्थानमा पाँच वटा फोहर पानी प्रशोधन केन्द्रको निर्माण गरिरहेको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणको काम कम मात्रै बाँकी रहेकाले आयोजनाले वितरणका लागि आवश्यक पूर्वाधारका कामलाई तीव्रता दिइएको हो । सरकारले आयोजनाको बाँकी रहेको भनिएको पाँच प्रतिशत काम सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । उक्त कम्पनी साइटमा गएसँगै कामले गति लिने देखिएको छ । आयोजनाको जम्मा कामको ९५ प्रतिशत काम सम्पन्न भइसकेकाले बाँकी पाँच प्रतिशत कामका लागि ठेक्का सम्झौता भएको हो । दुई महीना पहिले १५ महीनामा काम गर्ने गरी सम्झौता भएको थियो । कम्पनीले काम शुरु गरेको दिनदेखि १५ महीनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्य लिएको पन्तले बताए । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सरकारको योजना छ ।