राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन
सान्टीयागो । चिलीमा राष्ट्रपतिको राजिनामा माग्दै दशौँ लाख व्यक्तिले सडकका प्रदर्शन गरेका छन् । राष्ट्रपति सेबास्टेन पिनेराले राजिनामा दिनु पर्ने, आर्थिक पुनसंरचना हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन कानकारीहरुका नेताले परिवर्तनका लागि प्रदर्शन गर्दै आएकाले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरेका छन् । सहभागीहरुले जातीय र राष्ट्रिय झण्डाका साथै लोकप्रिय र स्वदेश गानहरु समेत गाउने र प्रदर्शन गर्ने गरेका थिए । ल्याटीन अमेरिकी यस मुलुकमा केही समयदेखि हिंसात्मक आन्दोलन भइरहेको छ । सान्टीयागोका गभर्नर कार्ल रविलारले ट्वीट गर्दै, “यो ऐतिहासिक दिन हो, शान्तिपूर्ण प्रदर्शन भएको छ भने नयाँ चिलीको सपना पुरा गर्ने आधार तयार हुदैछ ।” देशभरीमा दश लाखभन्दा बढी प्रदर्शनकारी आन्दोलनमा सहभागी भएका थिए । प्रदर्शन चर्किदै गएपछि सान्टियागो राज्यमा अघिल्लो शुक्रबार संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलिपल्ट चिलीका राष्ट्रपतिले अहिलेलाई १५ दिनका लागि संकटकालको घोषणा गरे । संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको अधिकारीले बताएका छन् । अघिल्लो शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनमा आक्रमण गरेर क्षति पुर्याएका थिए । रासस/एएफपी
चिनियाँ र ब्राजिलियन राष्ट्रपति भेटवार्ता, थप आर्थिक साझेदारीको सहमति
बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङ र ब्राजिलका राष्ट्रपति जेयर मेसिया बोल्सोनारोबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ । हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका ब्राजिलका राष्ट्रपति बोल्सोनारो र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच शुक्रबार बेइजिङस्थित ‘ग्रेट हल अफ दि पिपुल’मा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति सिले सो अवसरमा विश्वमा धेरै कुराहरु परिवर्तन हुदै गएको भए पनि चीन र ब्राजिलबीचको सम्बन्ध भने स्थिर र सुमधुर रुपमा अघि बढिरहेको धारणा राखेका थिए । त्यस अवसरमा द्धिपक्षीय हित, आपसी सहयोग र समझ्दारीका साथै चीन र ब्राजिलबीचको आर्थिक लगानी र व्यापार प्रवर्धनका विविध विषयमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङले विकासका सम्भावना र अवसरहरुको सामुहिक रुपमा खोजी गरी आपसी हितका लागि लगानी, आपसी सम्बन्धको प्राथमिकता एवम् चीन ब्राजिल बृहत राणनीतिक साझेदारिताको विकासका क्षेत्रमा जोड दिए । उनले लगानीका साझा र नयाँ क्षेत्रहरुको खोजी गर्नुपर्ने, साझा चासो र फाइदाका क्षेत्रमा लगानी गर्नुपर्ने तथा द्धिपक्षीय व्यापार अभिबृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिएका जनाएका छन् । उनले उर्जा, कृषि, खानी उपजका साथै पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि चीन तयार रहेको भन्दै हालको तुलनामा अझै धेरै ब्राजिलियन सामानहरु आयात गर्न चीन तयार रहेको धारणा राखेको जनाए । त्यस अवसरमा दुवै देशका राष्ट्रपतिले दुई देशको सम्बन्ध इतिहासदेखि नै असल र सुदृढ रही आएको धारणा व्यक्त गरेका थिए । रासस/सिन्ह्वा
शेयर बजार: यस साता पुगेन अर्बमाथि कारोवार
काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । सामान्य अङ्कले बढेको बजार साताको शुरुदेखि अन्तिम दिनसम्म पनि बढ्ने क्रममा नै रह्यो । कूल १ सय ५५ कम्पनीको ३४ लाख ८४ हजार २ सय ७१ कित्ता शेयर ९३ करोड ४३ लाख ९६ हजार ९७ रुपैयाँ मूल्यमा खरीद बिक्री भए । साताभर बजारमा नवीकरण शुल्क नबुझाएका कारण बजारले लय समात्न सकेन । जसका कारण बजार बढेको जस्तो देखिए पनि कारोवार रकममा भने उल्लेख्य सुधार आउन सकेन । साताको दुई दिन बजार ओरालो लाग्यो भने तीन दिन उकालो लाग्यो । नवीकरण शुल्क नबुझाएका कारण समस्यामा परेका कम्पनीले उक्त शुल्क बुझाए पनि बजारले उकालोको यात्रा तय गरेको हो । साताको पहिलो दिन नेप्से ४.०३ विन्दुले ओरालो लागेर एक हजार १३३.७१ विन्दुमा पुग्यो । नेप्से आरोलो लागेसँगै कारोवार रकममा समेत गिरावट आयो । कूल १ सय २८ कम्पनीको चार लाख २१ हजार ४ सय ७४ कित्ता शेयर ११ करोड ३३ लाख ५९ हजार ९ सय ५६ रुपैयाँमा खरीद बिक्री भए । यस्तै सोमबार नेप्से परिसूचक ओरालो लायो । सो दिन नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुग्यो । कूल १ सय४५ कम्पनीको ६ लाख ८ हजार ६०१ कित्ता शेयर १६ करोड ४३ लाख ४९ हजार ५ सय ३६ रुपैयाँमा खरीद बिक्री भयो । मङ्गलबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुग्यो । कूल १ सय ५५ कम्पनीको ६ लाख ४५ हजार ४ सय ५३ कित्ता शेयर १६ करोड ५२ लाख ९६ हजार पाँच रुपैयाँ बराबरको कारोवार भयो। बुधबार नेप्से परिसूचक झण्डै आठ अङ्कले वृद्धि भयो । सो दिन नेप्से ७.७९ अङ्कले बढेर एक हजार १४२.६० मा पुग्यो । कूल १५३ कम्पनीका ६ लाख ४ हजार ७२८ कित्ता शेयर १६ करोड ३७ लाख ५७ हजार ८ सय ४७ रुपैयाँमा खरीद बिक्री भए । बिहीबार कूल १ सय ५५ कम्पनीको १२ लाख ४ हजार १५ कित्ता शेयर ३२ करोड ७६ लाख ३२ हजार २ सय ५८ रुपैयाँमा खरीद बिक्री भयो । यस साता दुई कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भए । एनआइसी एशिया व्यालेन्स फण्डको सात करोड ५५ लाख साधारण शेयर र एसबीएल डिबेञ्चर २०८३ को २५ लाख कित्ता साधारण शेयर सूचीकृत भए । रासस
नौ अर्ब घाटाको प्राधिकरण सात अर्ब नाफामा, तीन वर्षमा १२ लाख सेवाग्राही
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताए । धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उनले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गरे । आगामी वर्ष दश अर्ब नाफामा पुर्याउने र यस वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युत् सेवा पुगेको जिल्ला घोषणा गर्ने तयारीमा रहेको उनको भनाइ छ । “हामीले विद्युत्भार कटौती मात्रै अन्त्य गरेनौँ ।” उनले भने, “अब विद्युत् अपुगभन्दा पनि पर्र्याप्त भएकाले सक्नेजति खपत गर्न आम उपभोक्तालाई आग्रह गर्न चाहन्छु ।” सरकार, ऊर्जा मन्त्रालय र सबैको प्रयासले लोडसेडिङ अन्त्य गर्न सकेको उल्लेख गर्दै उनले अब भएको विद्युत्लाई उपभोग गर्न आम उपभोक्तालाई आग्रह गरे । तीन वर्षमा १२ लाख ग्राहक बनाउन सफल भएको जानकारी दिए । विद्युत् पु¥याउने अभियानमा लागेको विद्युत् प्राधिकरण अझैपनि ४० प्रतिशत विद्युत् सेवा पुर्याउन बाँकी रहेको काभ्रेपलाञ्चोक जिल्लालाई आगामी दुई वर्षमा सत्प्रतिशत विद्युत् सेवा पुर्याउने बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बस्ती विस्तार गर्नुभन्दा पहिला नै सरकारले सबै प्रकारको विकासको व्यवस्थापन नभएका कारणपछि गर्ने काममा निकै समस्या निम्तने गरेको बताए । रासस
‘हेलो सरकारका गुनासा स्थानीय तहबाटै सम्बोधन’, ट्वीटरबाट बढी गुनासा
काठमाडौं । सरकारले स्थानीय तहबाट नै जनताका गुनासो सम्बोधन गर्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेलो सरकार शाखाले ‘हेलो सरकार’को नयाँ सफ्टवेयर पोर्टल जडान गरेसँगै ७ सय ५३ वटै तहबाट जनताका गुनासो सम्बोधन हुने गरेका छन् । शाखाका प्रमुख शेखर पौडेलले साउनदेखि नयाँ पोर्टल जडान गरेपछि जनताका गुनासो सम्बन्धित स्थानीय तहबाट नै सम्बोधन हुन थालेको जानकारी दिए । त्यसका लागि हेलो सरकारले सबै स्थानीय तहलाई हेलो सरकारको ‘युजरनेम’ र ‘पासवर्ड’ दिएको छ । उक्त युजरनेममा हेलो सरकारमा आएका गुनासो सम्बन्धित ठाउँका स्थानीय तहमा पठाइन्छ र गुनासोलाई सम्बोधन गरिन्छ । “हामीले अब सिधैँ हामी कहाँ आएका गुनासो स्थानीय तहलाई पठाउँछौँ”, उनले भने, “ती गुनासोलाई सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र गुनासो सुन्ने अधिकारीले सम्बोधन गर्नेछन् ।” पहिले हेलो सरकारमा आएका गुनासोलाई यहाँका कर्मचारीले सम्बन्धित निकायसँगको सहयोगमा सम्बोधन गर्ने गर्दथे । हेलो सरकारले सङ्घीय मन्त्रालय, विभाग, प्रदेश मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई समेत हेलो सरकारको युजरनेम र पासवर्ड दिएको छ । वि.सं २०६८ कात्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनताका गुनासो सम्बोधन गर्नका लागि हेलो सरकार सञ्चालनमा ल्याउनुभएको हो । नयाँ पोर्टल सञ्चालन भएपछि गुनासा घटे हेलो सरकारको नयाँ पोर्टल सञ्चालन भएपछि गुनासाको सङ्ख्या घटेको छ । पहिलेको पोर्टलमा हेलो सरकारमा आएका जस्ता गुनासो पनि लिने गरिन्थ्ये भने अहिले ती आएका गुनासोलाई अवस्था हेरेर लिने गरिन्छ । “अहिले आएका गुनासोको व्यहोरा पूर्णरूपमा उल्लेख गरिएको छ कि छैन भनेर हामीले छलफल गरेर मात्र सम्बन्धित ठाउँमा ती गुनासो पठाउने गरेका छौँ”, हेलो सरकार शाखाकी शाखा अधिकृत हरिकला आचार्यले भने, “जसले गर्दा हेलो सरकारमा आउने गुनासाको सङ्ख्या घटेको हो ।” उनका अनुसार गत वैशाख १ देखि असारमसान्तसम्म एक हजार ८ सय ९ गुनासो आएका थिए, भने नयाँ पोर्टल सञ्चालन भएपछि साउनदेखि असोजसम्म एक हजार ७२ गुनासा आएका छन् । ट्वीटरबाट बढी गुनासा यसैगरी सर्वसाधारणले हेलो सरकारमा पहिले फोनबाट बढी गुनासा राख्ने गरेता पनि अहिले ट्वीटरबाट बढी गुनासो राख्ने गरेको पाइएको छ । शाखाका शाखा अधिकृत किरण जोशीले दैनिक ट्वीटरबाट सयको सङ्ख्यामा गुनासो आउने गरेको बताए । फोनबाट भने दैनिक १५ को सङ्ख्यामा मात्र गुनासो आउने गरेका छन् । हेलो सरकारमा फोनसहित फेसवुक, ट्वीटर, भाइवर र इमेलमार्फत गुनासो लिइने गरिन्छ । फोनका लागि पैसा नलाग्ने नम्बर ११११, भाइवरका लागि ९८५११४५०४५ र इमेल [email protected] रहेको छ । शाखा प्रमुख पौडेलले हेलो सरकारबारे जनचेतना जगाउन आवश्यक रहेको बताए । “अझै हेलो सरकारबारे सर्वसाधारणलाई थाहा छैन”, भने, “त्यही भएर सर्वसाधारणलाई जानकारी दिनका लागि जनचेतना जगाउने कार्यक्रम ल्याउन थालेका हौं ।” दैनिक दुई सयको सङ्ख्यामा हेलो सरकारमा सर्वसाधारणका गुनासो आउने गरेका छन् । अहिले बिहान ७ः०० देखि साँझ ९ः०० बजेसम्म हेलो सरकारमा १६ कर्मचारी जनताका गुनासो सम्बोधन गर्न खटिएका छन् । गत आर्थिक वर्षमा हेलो सरकारमा १६ हजार १२० गुनासोमध्ये आठ हजार २२ गुनासो फछ्र्यौट गरिएको छ । रासस
कृषि विकास बैंक र हेफरबीच वित्तिय सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता
काठमाडौं । कृषि विकास बैंक र हेफर ईन्टरनेशनल नेपालबीच मुल्य श्रृंखलामा आधारित वित्तिय सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । हेफर ईन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीको उपस्थितीमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र हेफर ईन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हेफर ईन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले आगामी दिनमा यस्तो कार्यक्रम थप विस्तार गर्दै लैजाने साथै बैंकले सहयोग गर्ने अपेक्षा रहेको बताए । त्यसैगरि हेफर ईन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले २५ बर्ष पहिले २५ जना नेपाली महिलाबाट शुरु गरिएको परियोजना हाल लाखौं नेपाली महिला उद्यमीबीच पुगेको र कृषि तथा पशुको लघु व्यवसायमा बैंकले गर्न लागेको वित्तिय सहयोग कोशेढुंगा सावित हुने जानकारी दिए । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हेफर नेपालसंग गरिएको यस प्रकारको सम्झौताले वित्तिय सहयोगको अभावमा आफ्नो व्यवसाय विस्तार गर्न नसकिरहेका मुल्य श्रृंखलामा आधारित साना÷मझौला महिला व्यवसायीहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न बैंकले प्रदान गर्ने कर्जाले ठुलो सहयोग पुग्ने आशा गरेको बताए । यस कर्जाको कार्यान्वयन पक्ष हेर्ने बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार हेफर ईन्टरनेशनल नेपालले सहकारी/कृषक समुह मार्फत रौतहट, धादिङ्ग, पाल्पा, रुपन्देही अर्घाखांची, लमजुंग, प्युठान र नुवाकोट जिल्लामा प्रवद्र्धन गरेको महिलाहरुलाई बाख्रा, तरकारी, स्थानिय कुखुरा र दुग्ध परियोजनामा बैंकले १ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने जनाएका छन् । थापाका अनुसार कर्जाका अतिरिक्त बैंकले उनीहरुलाई उद्यमशीलता विकासका लागि तालीम, वाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तिय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम समेत संचालन बताए । सो कार्यक्रममा बैंकका उपमहा प्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दिर्घबहादुर अर्याल, परामर्शदातामा घुरन ठाकुर, विभागीय प्रमुखमा बाशु अधिकारी, विना शर्मा तथा विभागका शा.प्र. प्रेम खनाल तथा सि.ए.कृष्ण निरौलाको उपस्थिति रहेको थियो । सो अवसरमा हेफर ईन्टरनेशनल नेपालको तर्फबाट कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मी, प्रकाश कटवाल, अदिस कार्की रविन निरौला लगायतको समेत उपस्थिति रहेको थियो ।
तीन महिनामा आठ अर्ब राजश्व सङ्कलन
काठमाडौं । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको तीन महीनामा आठ अर्ब ५८ लाख ६४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । गत वर्षको यसै अवधिमा सात अर्ब ४५ करोड ५१ लाख १३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो । आन्तरिक राजश्व कार्यालयका अनुसार चालू आर्थिक वर्षमा राजश्व विभागले तोकेको लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएपनि गत वर्षको यसै अवधिको तुलनामा राजश्व सङ्कलन बढेको जानकारी दिएको छ । विभागले तीन महीनाका लागि १० अर्ब ७४ करोड ९५ लाख ६६ हजार रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य दिएको थियो । चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५५ करोड सात लाख ५१ हजार रुपैयाँ बढी राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षमा अन्तःशुल्कमा ६ अर्ब ८१ करोड ५९ लाख ५० हजार रुपैयाँ, मूल्य अभिवृद्धिकरमा ५९ करोड ४८ लाख ५८ हजार रुपैयाँ, आयकरमा ५२ करोड ६० लाख ३१ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । कार्यालयका अनुसार व्याज करमा चार करोड ७१ लाख ६० हजार रुपैयाँ, बहालकरमा एक करोड ७३ लाख १८ हजार रुपैयाँ, स्वास्थ्य सेवा करमा ४४ लाख पाँच हजार रुपैयाँ र शिक्षा सेवा शुल्कमा एक लाख ४२ हजार रुपैयाँ राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जानकारी दिएको छ । कार्यालयले लक्ष्य निर्धारण बढी भएका कारण तोकिए अनुसारको सङ्कलन गर्न कठिन भएको जनाएको छ । बजारमा व्यापार घटेको, केही कम्पनी ठूला करदाताकामा गएको, भिसिटीएसका कारण ढुवानीमा अन्योल रहेको, मदिराजन्य वस्तुहरुको बिक्री वितरणमा कमी आएको, भन्सार विन्दु घटेकाजस्ता कारण लक्ष्यअनुसार राजश्व सङ्कलन हुन नसकेको आशंका गरेको छ । रासस
अमेरिकी उपराष्ट्रपतिको भनाइप्रति चीनको आपत्ति
बेइजिङ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सको विचार चीनको वास्तविकता र चिनियाँ समाजको वास्तविक प्रणालीको बारेमा विश्व समुदायमा भ्रम फैलाउन खोजिएको भनी चीनले टिप्पणी गरेको हो । अमेरिकी उपराष्ट्रपति पेन्सले दिएको अभिव्यक्ति चीनको मानवअधिकारको वास्तविक अवस्था, धार्मिक आस्था तथा अन्य सामाजिक प्रणालीकै विरुद्धमा रहेको चीनले प्रतिक्रिया दिएको जानकारी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिङले शुक्रबार चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेका हुन् । उनले भने – अमेरिकी उपराष्ट्रपति पेन्सले दिएको विज्ञप्ति हाम्रो आन्तरिक मामिलासम्बन्धी कानुन तथा परराष्ट्र नीतिको विरुद्धमा छ । उक्त भनाई राजनीतिक रुपमा पूर्णतः बायस भएको जानकारी दिए । चीनले आफ्नो सार्वभौमिकता, सुरक्षा प्रणाली तथा चीनको आफ्नो आन्तरिक मामिलाका विषयमा आउने यस्ता भनाइहरुको कडा रुपमा विरोध गर्दछ प्रवक्ता हुवाको भनाई छ । प्रवक्ता हुवाले ताइवान, हङकङ र चीनको सिनजियाङ प्रान्त चीनको विशुद्ध आफ्नो आन्तरिक मामिला भएकोले बाहिरबाट कसैको कुनै टिप्पणी आवश्यक नरहेको बताए । यी क्षेत्रहरुका बारेमा बाहिरबाट कसैले व्यक्त गर्ने विचारहरुमा चीनको कडा आपत्ति रहने जनाए । त्यस पत्रकार सम्मेलनमा उनले भने – ‘म अमेरिकीहरुलाई आफ्नै विषयमा कुरा गर्न, समस्याहरुको व्यवस्थापन गर्न तथा चीनको चासो नलिन सुझाव दिन चाहन्छु ।’ रासस/सिन्ह्वा