विकासन्युज

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई ग्राण्डी अस्पताल लगिएको छ। उनलाई धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल लगिएको अस्पताल स्रोतले विकासन्जयुलाई बताएको छ। प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीले पछिल्लोपटक भाद्र ५ गते सिंगापुर गएर त्यहाँ दुई साता बसेर प्लाज्माफेरेसिस गराई भाद्र २० गते स्वदेश फर्किएका थिए। अस्पताल स्रोतले भने यस विषयमा औपचारिक धारणा राखेको छैन।

धानमा फौजी कीराको प्रकोप, ३२ प्रतिशत उत्पादन घट्ने

बाँके । जिल्लामा फौजी कीराको प्रकोपका कारण एक तिहाइभन्दा बढी उत्पादन घट्ने भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार कूल धान उत्पादनको ३२ प्रतिशत घट्ने भएको हो । जिल्लाको धानखेती हुने ३६ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये ३२ प्रतिशत अर्थात् १७ हजार हेक्टरमा धान फौजी कीराले नष्ट गरेको छ । फौजी कीराले प्रभावित क्षेत्रमा ५० देखि शतप्रतिशतसम्म धान नष्ट गरेको छ । ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार फौजी कीराको प्रकोप सबैभन्दा बढी नेपालगञ्ज, डुडुवा, बैैजनाथ र राप्तीसोनारीमा देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१९ सुँइयालगायतका ठाउँमा शतप्रतिशत धानबाली फौजी कीराले नष्ट गरेको छ । डुडुवाको बन्जारे गाउँ, राप्ती सोनारीको फत्तेपुरलगायतका क्षेत्रमा पनि फौजी कीराले धेरै धान नोक्सान गरेको छ । जिल्लामा कूल दुई लाख २५ हजार ८३६ हेक्टर क्षेत्रफलमध्ये २५ प्रतिशत अर्थात् ५७ हजार २५२ हेक्टरमा खेती हुन्छ । छत्तीस हजार ५०० हेक्टरमा धानखेती हुँदै आएको छ । यस वर्ष बीउ राख्ने र रोप्ने बेलामा पर्याप्त पानी परेकाले धान उत्पादन बढ्ने आँकलन गरिएको बेला फौजी कीराको प्रकोप देखिएको छ । फौजी कीराको प्रकोप बर्दियामा पनि देखिएको छ । प्रदेशसभा सदस्य कृष्णा केसीले फौजी कीराको प्रकोपबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छिन् । सांसद महेश्वर गहतराजले सङ्घीय सरकारका कृषिमन्त्रीलाई भेटेर पीडित किसानलाई राहत उपलब्ध गराउन माग गरेका छन् । “विषादी छरेर फौजी कीराको प्रकोप नियन्त्रण तथा पीडित किसानलाई राहत दिनेबारे योजा बनाउँदै छौँ”, ज्ञान केन्द्र प्रमुख ढकालले भने, “राहतका लागि हामीले सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ ।” रासस

राष्ट्रिय पक्षी डाँफेको संरक्षणमा जुटे म्याग्दीवासी

गलेश्वर । म्याग्दीको उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि स्थानीयवासी सक्रिय भएका छन् । समुद्र सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने यो पक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जङ्गलहरुमा पाइने स्थानीयवासी बताउँछन् । जमीनमा दौडने र थोरै मात्र उड्ने कुखुरा प्रजातिको डाँफेको संरक्षणका लागि धौलागिरि गाउँपालिकाले संरक्षण नीति नै बनाएर संरक्षणको कार्य गरिरहेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–५ शिखका वडाध्यक्ष दिनेशकुमार पुनले गाउँपालिकाका दर्जन बढी जङ्गलमा डाँफे देखिएको बताउँदै त्यसको संरक्षणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप०सँग सहकार्य गरेर संरक्षण अभियान सञ्चालन गरिएको जानकारी दिए । चराविद् कक्सले सन् १९९९ मा गरेको अनुसन्धानअनुसार म्याग्दीको माथिल्लो क्षेत्रमा ७०० को हाराहारीमा डाँफे भेटिएको उल्लेख गरिएको छ । सशस्त्र द्वन्द्वकालमा चोरी, शिकारी र आगलागीका कारण डाँफेको सङ्ख्या घटेकामा २०६५ सालयताको एक दशकको अवधिमा यसको सङ्ख्या दोब्बरले वृद्धि भएको स्थानीयवासीले बताएका छन् । पाँच वर्षदेखि पक्षी तथा जङ्गली प्राणीहरुको खोज–अनुसन्धानमा लाग्नुभएका त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक केशव चोखालका अनुसार नेपालमा पाइने आठ प्रकारका थोरै उड्ने र जमीनमा दौडने पक्षीका प्रजातिमध्ये डाँफे सबैभन्दा आकर्षक र ठूलो प्रजातिको पक्षी हो । नेपालमा डाँफेको सङ्ख्या तीन हजार ५०० देखि पाँच हजारसम्म रहेको अनुमान गरिएको चोखालले बताउनुभयो । उहाँका अनुसार सन् १९७३ को वन तथा वन्यजन्तु ऐनमा यो पक्षीलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ । यो पक्षी विशेषगरी नेपाललगायत अफगानिस्तान, पाकिस्तान, तिब्बत र भुटानमा पाइने गर्दछ ।

सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू, यस्तो छ महत्व

जनकपुर । मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि मंगलबारदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदी­बहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको छ । मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् । संस्कृतिविद् रामभरोस कापडि मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउँछन् । उनका अनुसार दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । के छ सामा चकेवामा ? सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन् । दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनी मनोरञ्जन गर्दछन् । छठको खरना वा पारणदेखि मैथिल ललना माटोको आकृति बनाइ राति एउटा ढक्कीमा राखी दीप बाली घरबाट बाहिर अन्य साथी मिलेर गीत गाउँदै चौरमा गइ यो पर्व मनाउने गर्दछन् । परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् । सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी–बहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिलाई चलायमान गरी सम्वादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला बृन्दावनमा आगो लगाउँछिन् र, कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् । डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन्, जब महिला त्यसलाई पात्रका रूपमा उभ्याएर गीति सम्वाद बोल्छन् । कथा तत्व मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखि नै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति सम्वाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ । स्कन्द पुराणमा सामा चकेवाको कथा सम्प्रसङ्ग उल्लेख गरिएको छ, जसअनुसार श्यामा ९ सामा० र चकेवा पतिपत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा वस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कष्णकहाँ गइ चुक्ली लगाए–श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे १ कृष्ण रिसाएर श्राप दिई चरा बनाइ दिए । भाइ शम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा)को पूर्वरूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ । चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे । चरा भएकी पत्नी सामासँग वस्न थाले । त्यसै क्रममा उनीहरूको वास रहेको वृन्दावनमा विरोधीले आगो लगाए । उठीवास गर्न धेरै प्रयत्न गरे तर अन्ततःआफ्नो तपस्या र पराक्रमले उनीहरू पुनःमानवरूपमा अवतरण भएको आख्यान रहेको छ । केही गीत यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अट्ट सम्बन्ध देखिन्छ । मानव मात्र हैन, घर परिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर र जङ्गली जीवनको अद्भूत समन्वय रूप देखिन्छ । समाज र परिवार जहाँ हुन्छ, त्यहीँ चुक्ली गर्ने, षड्यन्त्र गर्ने चुगलाजस्ता पात्र हुन्छ । कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले हैन, हातले सञ्चालन हुन्छन् र महिला सूत्रधारका रूपमा जीवनका गाथा लोक धुनको आधारमा गाउँछिन् जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ । महिला जब आ–आफ्नो घरबाट डालामा मूर्ति राखी सामा खेल्न चौरतिर निस्किन्छन् तब उनी गाउँछिन् : डालाले बहार भेली, बहिनी से पलाँ बहिनो फलाँ भइया लेल डाला छीन, सुनु गे राम सजनी….। भाइ र उनका परिवारजनको मङ्गल कामना गर्दै गाइने गीतमा जनकपुरधामको चर्चा आउनु महत्वपूर्ण सङ्केत गर्दछ । यसले जनकपुरको प्राचीनता र समृद्धितिर पनि इङ्गित गरेको प्रस्ट छ : सिरी रे जनकपुरसँ आबि गेल भ्रमरा लागि गेल पनमा दुकान..। जब चुगला बारी आउँछ, त्यसलाई बायाँ हातमा समाति त्यसको जुँगा भनी राखिएको सनपाट जुटमा दाहिने आगो लगाउँदै निभाउँदै महिला यस प्रकारको गीत गाउँछिन् : धान –धान–धान , भइया कोठी धान चुगला कोठी भुस्सा…… प्रतीकात्मकरूपमा भैयाकोठी धान र चामल भनी भाइको समृद्धिको कामना गरिन्छ भने चुक्ली लगाउने दुष्ट प्रवृत्तिको कोठीमा भुसा र खरानी भएको देखाएर तिरस्कृत र लाञ्छित गर्नै काम गरिएको छ । सम्पन्नतासँगै भाइ वीर र योद्धा पनि छन् । वृन्दावनमा आगो लाग्दा निभाउने कोही नभएको अवस्थामा बहिनीलाई भाइमाथि विश्वास भएको गीत यसरी गाइन्छ : वृन्दावनमे आगि लागै कोइ ने मिझावे हे हमर भैया फलना भैया दौडि –दौडि मिझाबे हे…..। सामा चकेवाको विसर्जनको बेलाको गीत मर्मस्पर्शी हुने गरेको छ : सामचको, सामचको अइह हे जोतल खेतमे बइसिह हे…..। पूर्णिमा का दिन सामा चकेवालाई अर्को वर्ष फेरि कूड खेतमा आइ बस्नु हे भन्दै सबै माटोका पात्रको विसर्जन गरिने चलन रहेको छ । रासस

नेपालको दोस्रो लामो पुल निर्माण पूरा, समय भन्दा ४ महिना अघि काम सम्पन्न

तुलसीपुर । नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण सम्पन्न भएको हो । पुलको लम्बाइ ८६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ । झण्डै रु एक अर्ब लागतको उक्त पुल ‘अनक निर्माण सेवा’ले निर्माण गरेको हो । आर्थिक वर्ष २०७२÷७३ देखि निर्माण कार्य शुरु भएको सो पुल आव २०७६/७७ भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । पुल निर्माण योजना कार्यान्वयन गराउने निकाय पुल योजना सेक्टर नम्बर ३ का योजना प्रमुख सुनिलबाबु पन्तका अनुसार सम्झौता अवधि पूरा हुन चार महिना अघि काम सम्पन्न भएको छ । अहिले पुलसम्म पुग्न सडक निर्माण भइरहेको छ । पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करीब डेढ घण्टाको यात्रा गर्नुपर्ने अवस्था थियो । “पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयवासीलाई धेरै गाह्रो भएको थियो । बर्खाको समयमा खोला बढेर वारपार गर्न सकिने अवस्था हुँदैनथ्यो”, पन्तले भन्नुभयो, “भनेको बेला सवारीसाधन नपाउँदा हैरानी हुन्थ्यो ।” पुल निर्माण पछि आयआर्जनमा टेवा पुग्नेछ । देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । यहाँ प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम सञ्चालनमा छ । पुलको अभावमा किसानले उत्पादनको बजारीकरण गर्न सकेका थिएनन् । पुल निर्माण भएसँगै राप्ती नदीपारिका किसानलाई कृषि उत्पादनको बजारीकरण गर्न सहज भएको छ ।रासस

तिहारका चार दिनमा सयौँ जुवाडेबाट करोडौँ बरामद, को को पक्राउ परे ?(नामावली सहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् । यसैगरी भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट रु तीन लाख नगद बरामद भएको छ । दश लाख ५८ हजार नगदसहित जुवाडे पक्राउ पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार ५१० रुपैयाँ नगदसहित नौ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका– ६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा जुवा खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले तासका गड्डी र नगदसहित जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । जुवाडेलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यसैगरी, पोखरा महानगरपालिका–९ बास्तोलाथरमा जुवातासमा संलग्न सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासी रत्नमान गौचनको घर भाडामा लिई जनप्रिय थकाली भान्सा घर सञ्चालन गर्दै आएका प्रकाश शेरचनले अवैध जुवातास खेलाएको भन्ने सूचनाका आधारमा प्रहरीले रु ३२ हजार ४३० नगद र ताससहित सात जनालाई नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । त्यस्तै सोमबार पोखरा महानगरपालिका–५ प्रस्याङ्गबाट रु ३९ हजार २०० नगद र ताससहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासी रुद्रबहादुर केसीको घरमा जुवातास खेलाइएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छ जुवाडे पक्राउ सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो । केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले छ जना जुवाडेलाई पक्राउ गरी रु ८१ हजार ८९५ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । बीरेन्द्रनगर नगरपालिका– ९ बस्ने ४२ वर्षीय गोपाल गुरुङ, ३८ वर्षीय सरोज बस्नेत, ४१ वर्षीय राजन गिरी, ३७ वर्षीय मनोज पन्त, २९ वर्षीय नानुसिंह ठकुरी र सोही नगरपालिका– ६ सुर्खेतका ४८ वर्षीय मुकुन्द मानन्धरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दिपावलीलाई सभ्य र सुरक्षितरुपले मनाउन ९ बजेसम्म मात्र देउसी भैलो खेल्न, जुवातास तथा लङ्गुर बुर्जा नखेल्न, मादक पदार्थ सेवन नगर्न, जबर्जस्ती रकम नअसुल्न र कानूनद्वारा बर्जित काम नगर्न पनि प्रहरीले सार्वजनिकरुपमा सूचना प्रवाह गरेको छ । पाँच लाखसहित १३ जुवाडे पक्राउ पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा करीब रु पाँच लाखसहित पक्राउ परेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकास्थित स्वर्गीय हुमबहादुर कुँवरको घरबाट आज बिहान ती जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए । सापकोटाका अनुसार मानिस नबस्ने खाली घरमा कौडा खेलिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउपर्नेमा तानसेन नगरपालिका–२ का ४४ वर्षीय अमन श्रेष्ठ, रैनादेवीछहरा गाउँपालिका–४ का ३२ वर्षीय देवकुमार पराजुली, रिब्दीकोट गाउँपालिका–७ डबका यमबहादुर कुँवर, सोही स्थानका ६० वर्षीय गोपाल कुँवर, २६ वर्षीय कलम कुँवर, ५४ वर्षीय ताराबहादुर कुँवर, ३२ वर्षीय विष्णुबहादुर थापा, २२ वर्षीय सचिन कुँवर, २० वर्षीय समुद्र कुँवर, ५७ वर्षीय नारायण कुँवर, २२ वर्षीय गौरव कुँवर, ४५ वर्षीय शिव चौहान र ४० वर्षीय सुन्दर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताए । उनीहरुको साथमा पाँच लाख ४५ हजार ८५५ नेपाली रुपैयाँ रहेको छ । दुई हजार ५२० भारतीय पैसा रहेको छ । नौ जुवाडे पक्राउ बाँके । बाँके प्रहरीले रु तीन लाख ३९ हजार ४५० नगदसहित नौ जुवाडेलाई आज कोहलपुरबाट पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर डेण्टल अस्पताल रहेको भवनको तेस्रो तलामा जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १ बजे जुवा खालबाट नगद र खेलमा प्रयोग भएको तास बरामद गरी जुवा खेलमा संलग्न नौ जना जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । चाडपर्वमा हुने जुवा तास नियन्त्रणको लागि बाँकेमा प्रहरीले जुवाडेविरुद्धको अभियान सञ्चालन गरेको छ । कौडा खेल्ने २८ जना पक्राउ नवलपरासी । प्रहरीले कौडा खेलिरहेको अवस्थामा २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । देवचुली नगरपालिका–१३, दलदलेस्थित देवचुली पार्टी प्यालेसबाट कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । पक्राउ पर्नेमा अम्मर गुरुङ, विजय शाही, शम्भु रानाभाट, नेत्रनारायण पोख्रेल, दिलबहादुर टण्डन, कृष्णकुमार श्रेष्ठ, मेघराज शर्मा, रोशन भण्डारी, तिलककुमार आले, ठाकुरप्रसाद पोख्रेल, वीरेन्द्र बस्नेत, सुमन आले, अञ्जान बस्नेत, सलमान मिया, बाबुराम चापागाईं, प्रकाश न्यौपाने, मन विक, शिव बानियाँ, सुभाष ओझा, भूमि भण्डारी, मनबहादुर कुमाल, रामप्रसाद अर्याल, शरद पौडेल, ऋषिराम सुवेदी, नवराज शर्मा, सूर्य घिमिरे, अरुणबहादुर चौधरी र शौरभ खनाल छन् । उनीहरुका साथबाट प्रहरीले रु पाँच लाख ८० हजार बरामद गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ । जुवा खेल्ने १७ जना पक्राउ गुल्मी । जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले गए राति १७ जनालाई पक्राउ गरेको छ । गुल्मी दरबार गाउँपालिका–७ को गलामस्थित लीलासिं अधिकारीको घरबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले रु दुई लाख ८२ हजार बरामद गरेकोे प्रहही नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–७ का कृष्णबहादुर खनाल, सुजन अधिकारी, लीलासिं अधिकारी, अर्जुन बस्नेत, हिमाल अधिकारी, यमबहादुर कार्की, सुमन टण्डन, हरि खत्री, पूर्णबहादुर खड्का, भोजेन्द्र बस्नेत, विनोद टण्डन, विमल बस्नेत, नारायण टण्डन, विक्रम बस्नेत, नारायण टण्डन, रेसुङ्गा नगरपालिका–१२ का सन्तोष टण्डन, अनिल बस्नेतलगायत छन् । उनीहरुलाई प्रचलित कानूनअनुसार कारवाही गरिने घलेले बताए । छ लाखसहित आठ जना पक्राउ दाङ । लमही नगरपालिकाका रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा आज प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले रु छ लाख ७८ हजार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विनोदविक्रम शाहकाअनुसार पक्राउ पर्नेमा जुवा खेलाउने श्रेष्ठ, लमही नगरपालिका–८ का प्रकाश खड्का, सोही ठाउँका कर्णबहादुर बुढाथोकी, खिम पुन, अशोककुमार खड्का, लमही नगरपालिका–३ का अमरबहादुर तामाङ, वडा नं ६ का भिविराज किराती र लमही–५ का मुकेश चौधरी छन् । इलाका प्रहरी कार्यालय लमहीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइने शाहले बताए । खैरहनीबाट २० जुवाडे पक्राउ चितवन । पूर्वी चतवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । उनीहरुको साथबाट रु एक लाख ९१ हजार बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले १२ वटा मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिएको छ ।

नेपाली बजारमा ल्यापटपः डेलको माग बढी, अरुको अवस्था कस्तो ?

काठमाडौं । नेपाली बजारमा विभिन्न ब्राण्डका ल्यापटपहरु उपलब्ध छन् । ती मध्येपनि डेल, लेनोभो र एचपी ग्राहकको रोजाइमा अगाडि छन् । मोबाइल फोनमा इन्टरनेट प्रयोग गर्न मिलेपनि ल्यापटप नै खोज्ने ग्राहकहरु नभएका भने होइनन् । कार्यालयको कामदेखी लामो समय लगायर गरिने काममा लागि मोबाइल भन्दा ल्यापटप आवश्यक हुन्छ । पुतली सडकमा रहेको मल्टी इन्टरनेशनल प्राइभेट लिमिटेडले नेपालीहरुको महान् चाड तिहारको अवसरमा ल्यापटप किन्ने ग्राहकहरुको लागि छुटको अफर ल्याएको छ । विभिन्न ब्राण्डका ल्यापटक किन्दा ग्राहकहरुले झोला, किबोर्ड, ल्यापटपको खोल, इयरफोन, ल्यापटप क्लिनर तथा वायरलेस माउस लगायतका गिफ्ट पाउँदै आएका छन् । यस्तो छ मुल्य नेपालमा किनबेच हुँदै आएको ल्याटपहरुमा सबैभन्दा बढी बिक्री हुने ल्यापटपमा डेल कम्पनी पर्छ भने दोस्रोमा एचपी पर्छ । यस्तै, तेस्रोमा एसर, लेनोभो पर्न आउँछन् । यसरी अगाडि पछाडी देखिएपनि बजारमा ग्राहकको रोजाइमा भने यी कम्पनीहरुमा खासै ठूलो अन्तर नरहेको व्यापारीहरुले बताए । डेल कम्पनीको ल्यापटप गेमिङ्ग (महङ्गगो) ब्राण्डका खरिद गर्दा ग्राहकले २ लाख रुपैयाँसम्म तिर्नु पर्छ । सोही डेल ब्राण्डको (सेलिङ्ग) सस्तो ल्यापटप भने ३० हजार रुपैयाँसम्ममा पाउन सकिन्छ । एचपी कम्पनीको गेमिङ्ग (महङ्गगो) ब्राण्डका ल्यापटप लाई ९९ हजार पर्छ । सोही एचपी कम्पनीको (सेलिङ्ग) सस्तो ल्यापटपको मूल्य ४७ हजार रुपैयाँसम्म पर्छ । यस्तै, एसर कम्पनीको ल्यापटप महङ्गगो (प्रिडियटर) तथा सस्तो (आई थ्री) को मूल्य पनि एचपीकै हाराहारीमा रहने व्यवसायीले बताएका छन् । घटबढ भइरहन्छ  ल्यापटपको बिक्री वितरणमा लामो समय बिताएका केही ग्राहकहरुले यसको मूल्यमा एकरुपता नरहने बताएका छन् । प्रायः हप्ता दिन जस्तोमा नै ल्याटपको मूल्यमा परिवर्तन आइरहने गर्छ । बेलामा ल्यापटपको माग र बिक्रीमा हुने परिवर्तनले मूल्य घटबढ हुनमा भूमिका खेल्ने व्यवसायीहरु बताउँछन् । मोबाइलका कारण ल्यापटपको ब्यापार खस्किंदै पछिल्लो समय नेपाली बजारमा ल्यापटप (कम्प्युटर)को बिक्री खस्केको छ । ल्यापटपको बजारलाई मोबाइल फोनले असर गरेको हो । ल्यापटपले गर्ने काम मोबाइलबाटै सम्भव हुने थालेपछि मोबाइल फोनमा आकर्षण बढ्न थालेको हो । कम्प्युटर एशोसियशन अफ नेपाल(क्यान महासंघ)का निवर्तमान अध्यक्ष बिनोद ढकालका अनुसार–‘टेक्नोलोजी समय अनुसार परिवर्तन हुँदै जाने भएकाले अघिल्ला बर्षमा आएका ब्राण्डको मूल्य अर्को बर्ष केही सस्तो हुन जान्छ । यस्तै, ब्राण्ड उही भएपनि भिन्न किसिमका फिचरहरु ल्याउँदा मूल्यमा वृद्धी हुने उनकोे बुझाई छ । राजधानीको पुतलिसडकस्थित ‘डिजिटल वन’ नामक मोवाइल पसलका संचालक रमेश महर्जन भन्छन्-‘अहिले ल्यापटप खासै बिक्दैन, मोबाइलले बजार खाएको कारण यस्तो भएको हुन सक्छ ।’ महर्जनले मोबाइल फोन बोक्न सहज तथा विभिन्न काममा सहयोगी हुने भएकाले यस्तो भएको हुनसक्ने तर्क गरे ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सहितका शीर्ष नेताको भाइटीकाः कसले को बाट लगाए ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा मंगलबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाएकी छिन् । चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले भाइद्वय पाण्डेलाई टीका लगाएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । दुबै भाइले यथाशक्य दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिए । त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन् । उपराष्ट्रपतिबाट टीका ग्रहण उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीवाट यसवर्षको भाइटीका ग्रहण गरेका छन् । भाइटीकाका अवसरमा उनले रोल्पास्थित आफ्नै घरमा बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् । टीका लगाइदिएपछि उनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । उपराष्ट्रपनि पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे । उपराष्ट्रपति पुनसँगै उनका भाइद्वय भीमप्रकाश पुन र दीपक पुनसमेतले दिदीबहिनीको हातबाट टीका लगाए । प्रधानमन्त्री ओलीको भाइटीका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन् । टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । साथै प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिएका थिए । प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे । दलका नेताको भाइटीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिहारको शुभसाइतमा आफ्ना दिदी बहिनीहरुबाट भाइटीका ग्रहण गरेका छन् । खुमलटारस्थित निवासमा अध्यक्ष दाहालले बहिनीहरु कमला, अप्सरा, सरस्वती, विष्णु र मिठुको हातबाट टीका लगाएका हुन् । यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नी दिदी कालिका भण्डारी तथा र बहिनीद्वय इन्दिरा न्यौपाने र वसुधा पोखरेलको हातबाट भाइटीका लगाए । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भने यसपटक भाइटीका लगाएनन् । जुठो परेका कारण भाइटीका लगाउने कार्यक्रम नरहेको सभापति देउवाको स्वकीय सचिवालयले जनाएको छ । यस्तै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने जुठो परेका कारण भाइटीका लगाएनन् । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनमा पुगेर चार दिदीबहिनीको हातबाट टीका लगाएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।