विकासन्युज

बेइजिङ उड्यो हिमालय एयरलाइन्स, काठमाडौँसँग सिधा हवाई सम्पर्क स्थापना

काठमाडौँ । काठमाडौँ र बेइजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ । नेपालको उड्डयन इतिहासमा पहिलो पटक उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान शुरु गरिएको हो । नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायु सेवा प्रदायक कम्पनी हिमालयले बेजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा आइतबारदेखि व्यावसायिक उडान शुरु गरेको छ । यसअघि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले चीनको साङ्घाई र ल्हासा सहरमा उडान गरेको भए पनि राजधानीसँग हवाई पहुँच विस्तार हुन सकेको थिएन । दुई देशका राजधानी काठमाडौँ र बेजिङ जोड्ने हिमालय पहिलो एयरलाइन्स भएको छ । नेपाल भ्रमण वर्षको संघारमा विश्वमै सबैभन्दा धेरै पर्यटक घुम्ने मुलुक चीनमा हवाई उडान शुरु भएसँगै नेपालमा चिनियाँ पर्यटकको आगमनमा बढोत्तरी हुने अपेक्षा गरिएको छ । पछिल्ला दिनमा चीनबाट नेपालमा भएको उच्चस्तरको भ्रमणले पनि धेरैभन्दा धेरै चिनियाँ नागरिकले नेपाल भ्रमण गर्ने अनुमान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङले गत असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणले नेपालको पर्यटन बजारमा नयाँ तरङ्ग पैदा भएको छ । भ्रमण वर्षलाई सफल बनाउन चीनले आवश्यक सहयोग गर्ने राष्ट्रपतिको भ्रमणका दौरानमा नेपाललाई आश्वस्त तुल्याएको छ । चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार हो । सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ को आठ महीनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिमा १० प्रतिशतले चिनियाँ पर्यटक बढेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । चीनबाट वार्षिक १५ करोड विश्व भ्रमणमा जाने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । त्यसको केही हिस्सा मात्रै नेपाल भित्र्याउन सके नेपालको पर्यटनले सकारात्मक फड्को मार्ने सरकारी अधिकारी बताउँछन् । हिमालय एयरलाइन्सले १५८ सिट क्षमताको एयर बस ३२० जहाजबाट काठमाडौँ–बेजिङ उडान औपचारिक रुपमा शुरु गरेको हो । बेइजिङ सिधा उडान नेपालको नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गासावित हुने हिमालय एयरलाइन्सले एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ । पछिल्ला दिनमा पर्यटकको सङ्ख्या अत्याधिक बढेको छ । यसले विदेशी मुद्रा आर्जनमा समेत टेवा पुग्ने कम्पनीका सेवा सुधार शाखा प्रमुख उज्ज्वला दलीले बताए । हिमालयको बेजिङ उडान शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमालय एयरलाइन्सले चीनसँगको हवाई सम्पर्क विस्तारले भ्रमण वर्षको अवधिमा चीनबाट पाँच लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण योगदान गर्ने व्यावसायिक सफलताको कामना गरे । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाल अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तब्य भएको र चिनियाँ नागरिकका लागि पदयात्रा गर्न नेपाल दक्षिण एशियाकै मुख्य रोजाइमा पर्ने गरेको बताए । कम्पनीका अध्यक्ष झो एन्योङ्ले काठमाडौँ–बेजिङ सिधा उडानले नेपालमा चिनियाँ पर्यटकको सङ्ख्यामा बढोत्तरी हुनका साथै आर्थिक गतिविधि पनि बढ्ने विश्वास व्यक्त गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६५ जना यात्रुसहित बिहान ८ः३० बजे हिमालयको जहाज पहिलो उडान एच ९६६५ बेजिङ गन्तव्यमा उडेको थियो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार बिहान उडेको जहाज राति पौने १० बजे काठमाडौँ फर्किने तालिका छ । हिमालयले सातामा तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो रुटमा एकतर्फी न्यूनतम भाडा दर रु २४ हजार पर्ने जनाइएको छ । कम्पनीसँग अहिले दुई थान ‘न्यारोबडी’ जहाज छन् । अर्को जहाज भियतनामको ब्याम्बो एयरलाई भाडामा दिइएको छ । उक्त विमान एक महीनाभित्र फिर्ता ल्याइने कम्पनीले जनाएको छ । हिमालयले नयाँ लगानीकर्ता फेरिएसँगै रणनीतिक योजनका साथ कम्पनीको संस्थागत लोगो परिवर्तन गरेको छ । हिमालको चुचुरोमा उड्दै गरेको चीललाई अङ्कित गर्दै बनाएको नयाँ लोगो फेरी जहाजलाई नयाँपन दिइएको हो । पाँच वर्षको अन्तरालमा सुरक्षा र विश्वसनीयताको प्रतिष्ठा निर्माण गर्दै संस्थालाई नयाँपन दिन संस्थाको महत्वपूर्ण आन्तरिक परिवर्तनसँगै उपयुक्त रणनीतिअन्तर्गत नयाँ लोगो स्वीकार गर्ने निर्णय भएको कम्पनीले उल्लेख गरेको छ । विश्वकै आधुनिक सुविधायुक्त डाक्सिन विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको थियो । हिमालयले बेजिङसँगै सन् २०१९ भित्रै चीनका अन्य तीन शहर क्रमशः गुयाङ, चाङ्सा र नाङचिङमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ । नेपाल र चीनबीच दुई दशकपछि गत साउन १० गते हवाई सेवा सम्झौता पुनरावलोकन सम्झौता भएको थियो । उक्त सम्झौतापछि अब ९८ उडान गर्न सक्नेछ । सातामा ७० उडान हुँदै आएकामा १८ उडान थपिएको थियो । चीनको बेजिङ, ल्हासा, साङ्घाई, कुनमिङ, ग्वान्जाओ, छेन्दु, सियानलगायत गन्तव्यमा नेपाली जहाजले उडान भर्नए पाउनेछन् । चीनसँग दुई दशक बढी लामो हवाई साझेदारी भए पनि नेपाली जहालले चीनको राजधानी बेजिङमा सिधा व्यावसायिक उडान गर्न पाएका थिएनन् । हिमालयले पहिला चाटर्ड उडान गर्दै आएको थियो । लामो प्रयासपछि हिमालयले सिधा उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सले पनि छिट्ट चीनका विभिन्न सहरमा उडान भर्ने तयारी गरेको छ । चीनबाट पाँच वटा त्यहाँको वायु सेवा प्रदायक कम्पनीले नेपाल उडान भर्दै आएका छन् । काठमाडौं बेजिङ रुटमा एकतर्फी उडान समय ५ः३० घन्टा हाराहारीको हुन्छ । हिमालयले हाल बङ्गलादेशको ढाका, युएइको अबुधाबी, दुबई, साउदी अरबको दमाम र कतारको दोहा सिधा उडान गर्दै आएको छ । नेपालले हालसम्म ४० वटा मुलुकसँग हवाई सम्झौता गरेको छ । रासस

नेपाली हाेटलमा विदेशी व्यवस्थापन: ‘लगानी नेपालीको, कमाइ विदेशीको’

काठमाडौं । पछिल्लो समय ठूलो लगानीका होटलहरु खुल्ने क्रम बढ्दो छ । ठूलो लगानीका होटलहरु बढेसँगै विदेशी व्यवस्थापनसहितका ‘चेन ब्राण्ड’ नेपाल भित्रिने क्रम पनि बढ्दै गएको छ । अर्बौ रुपैयाँ लगानी गरेर खोलिएका होटलको व्यवस्थापन विदेशीलाई दिँदा ‘लगानी नेपालीको, कमाइ विदेशीको’ भएको छ । ठूला होटल व्यवस्थापन गर्न दक्ष जनशक्ति नेपालमा नहुँदा र होटल सञ्चालनका लागि राम्रो प्रणालीको विकास गर्न नसक्दा विदेशी व्यवस्थापन भित्र्याउनु पर्ने वाध्यता रहेको होटल संघ नेपालका अध्यक्ष सिर्जना राणा बताउँछिन् । नेपालमा कुनकुन चेन ब्राण्ड छन ? हाल मेरियट, ताज, अलफ्ट, हिल्टन, शेराटन, फेयरफिल्ड, हायात, फ्रेन, स्विस, क्राउन लगायतका अन्तर्राष्ट्रिय होटल व्यवस्थापनका ब्राण्डहरु नेपालमा कार्यरत छन् । अमेरिकी होटल कम्पनी मेरिओटले एमएस समूहद्धारा सञ्चालिन होटल काठमाडौं मेरियटको व्यवस्थापन लिएको छ । भारतको ताज होटलले ललितपुरको होटल भिभान्ताको व्यवस्थापन गरिरहेकोछ । चौधरी ग्रुपको लगानी रहेको चितवनको मेघौली सराई सफारी होटलमा पनि ताजकै व्यवस्थापन छ । यस्तै चौधरी समूहको लगानी रहेको भरतपुरस्थित फ्रने रेसिडेन्सीमा भारतीय होटल तथा रिसोर्ट कम्पनी फ्रेनले व्यवस्थापन सम्हालेको छ । पोखरामा सञ्चालनमा आएको चारतारे होटल सरोवरमा स्विस इन्टरनेश्नलले व्यवस्थापन गरिरहेको छ । पाँचतारे अन्नपूर्ण होटलले भारतको ताज होटलको लगानी सहित व्यवस्थापन समेत भित्र्याएको थियो । त्यसैगरी सोल्टी होटलमा भारतीय होटल ओबरोय लाई व्यवस्थापनको जिम्मेवारी दिइएको थियो । बन्द भएर पुनः सञ्चालनमा आएको एभरेष्ट होटलमा पनि शेराटनले व्यवस्थापन सम्हालेको थियो । तर यी ब्राण्ड लामो समय टिकेनन् । सोल्टीबाट ओबरोय फिर्ता गएपछि अहिले क्राउन प्लाजा छ । होटल र्याडिसन ब्राण्डमा सञ्चालित नेपाल ओरियन्टल होटलमा पनि र्याडिसनको फ्रेन्चाइजी मात्र छ । हायात होटलको ब्राण्डमा सञ्चालित तारागाउँ रिजेन्सीमा भने हायात कर्पोरेसनले व्यवस्थापन नै सम्हालेको छ । यस्तै थाइल्याण्डको चेन होटल दुसीत थानीले नगरकोटको हिमालयन रिसोर्ट एण्ड स्पाको व्यवस्थापन गरिरहेको छ । होटललाई गुणस्तरीय मापदण्डमा ल्याएको भारतीय आयो ब्राण्डले पनि नेपालका होटलहरुमा व्यापक विस्तार गरिसकेको छ । स्थानीय होटलहरुसँगको साझेदारीमा अहिले देशका करिब २०० भन्दा बढि होटलमा ओयोको उपस्थिति रहेको छ । वर्षेनी कति रकम विदेशिन्छ ? अन्तर्राष्ट्रिय चेन ब्राण्डहरुले होटलहरुको व्यवस्थापन गरेवाफत वर्षेनी ठूलो धनराशी विदेश लैजाने व्यवसायीहरु बताउँछन् । ‘कुल आम्दानीको २५ देखि ३० प्रतिशत मेरियटले नै लैजान्छ’ होटल काठमाडौं मेरियटका अध्यक्ष शशिकान्त अग्रवालले भने । उनीहरुले रेट पनि उच्च राखेका हुन्छन् । हाल काठमाडौंको पाँच तारे होटलमा प्रतिरात ६ हजार रुपैयाँमा कोठा पाइन्छ भने काठमाडौं मेरियटले १५ हजार घटी कोठा बेचिरहेको छैन । व्यवसायीहरुले ठूलो रकम वाहिरीने गरेको बताए पनि नियमक निकायसँग भने तिनीहरुले कति रकम विदेश लगेर जान्छन् ठ्याक्कै तथ्याङ्क छैन । नेपाल राष्ट्र बैंक विदेशी विमिमय विभाग प्रमुख सरिता भट्टका अनुसार चेन होटलमार्फत नेपालबाट विदेशमा कति रकम जान्छ त्यसको मात्रै ठ्याक्कै अलग्गै तथ्याङ्क राख्ने गरिएको छैन । पहिला होटलमा विदेशी व्यवस्थापन कम भएकाले यस्तो तथ्याङ्क नराखे पनि अबका दिनमा भने राख्नु पर्ने महशुस राष्ट्र बैंकले गरेको छ । कतिपय विदेशीहरुले नेपाली होटलमा लगानी गरेर रकम विदेश लैजाने गरेका छन् भने कतिपय चेनहरु नेपाली होटलमा पूँजी लगानी नगरी होटलको व्यवस्थापनवाफत कुल आय र कुल नाफाको निश्चित प्रतिशत शुल्क लिने गरेका छन् । होटलपिच्छे सहमति तथा सम्झौता अनुसार यस्तो शुल्क भने फरक हुने गरेको छ । साथै, अन्तर्राष्ट्रिय ब्राण्डसँग साझेदारी गरेपछि व्यवसाय नभएपनि निश्चित शुल्क तिर्नुपर्ने हुँदा लगानीकर्ता माथि थप दवाव पनि पर्ने गरेको छ । के भन्छन् होटल उद्यमी ? विदेशी सिस्टमका चेन मेनेज्मेन्टहरु नेपालमा भित्र्यानु लगानीकर्ताका लागि राम्रो भएको होटल उद्यमीहरु बताउँछन् । तर होटल नाफामा नभए शुल्क तिर्न पनि दवाव पर्ने उनीहरुको तर्क छ । नागपोखरीमा मेरियट र ठमेलमा फेयरफिल्ड होटल संचालनमा ल्याएका उद्योगी शशिकान्त अग्रवालले सयभन्दा बढि देशका ६÷७ हजार स्थानमा उपस्थिति रहेको मेरिओटका ब्राण्डसँग जोडिएर उनीहरुको नेटवर्क मार्फत मार्केटिङ गर्नु हाम्रो लागि ठूलो अवसर भएको बताए । ‘अन्तर्राष्ट्रिय ब्राण्डको प्रवेश सम्भाव्य विदेशी लगानीका लागि पनि सकारात्मक हुन्छ’ उनले भने, ‘ग्लोवल ब्राण्डको व्यवसायिक उपस्थिति भएको ठाउँ अरु लगानीकर्ताका लागि समेत चासोमा पर्छ ।’ होटल एशोसिएसन अफ नेपालकी अध्यक्ष सृजना राणाले अन्तर्राष्ट्रिय स्तरका चेन मेनेजमेन्टहरु नेपालमा आउनु राम्रो भएपनि सिस्टम अनुसारको उपलब्धि तथा नाफा हुन आवश्यक रहेको बताइन् । ‘नेपाली बजारमा उनीहरुको सिस्टम आउँछ’ उनले भनिन्, कर्मचारीले पनि राम्रो व्यवस्थापन भएको होटलमा काम गर्ने अवसर पाउँछन् ।’ बढ्दो लगानी दुई वर्ष अगाडीसम्म १० वटामा सीमित पाँचतारे होटलको संख्या हाल १५ पुगेको छ । तीन दशकसम्म दुईवटामा सीमित चारतारे होटल पनि पछिल्लो समय दुई वर्षमै ११ वटा पुगेका छन् । तीन तारेको संख्या ३४, दुईतारे ४३ र एकतारेको संख्या ३६ पुगेको छ भने पर्यटक स्तरका होटलको संख्या पाँच सय २३ पुगेको छ । यो तथ्याकं केलाउँदा पछिल्लो समय नेपालमा होटल क्षेत्रमा लगानी बढ्दै गएको देखिन्छ । होटलमा लगानीकर्ताहरुको आकर्षण बढेसँगै उनीहरुले विदेशी व्यवस्थापनसहितका ब्राण्डहरुलाई पनि स्वदेश भित्र्याईरहेका छन् । देशभरका होटलहरुमा १० खर्ब लगानी देशभरमा सञ्चालित होटलहरुमा १० खर्बको लगानी पुगेको छ । होटल एसोसिएसन अफ नेपालका अनुसार अहिले देशभरका होटलमा १० खर्ब हाराहारीमा लगानी भइसकेको छ । पर्यटन विभागमा दर्ता भएका र सम्बन्धित होटलले दिएको विवरण अनुसार एक वर्षमा थप भएका चारवटा पाँचतारे होटलमा १० अर्बभन्दा बढि लगानी भएको छ । विभागमा सम्वन्धित होटलले बुझाएको विवरण अनुसार चारवटा पाँचतारे होटलको कुल पुँजी नै करिब १० अर्ब रुपैयाँ छ । गत आबमा थप भएका यस्ता पाँचतारे होटलमा दुई काठमाडौं र दुईवटा काठमाडौं बाहिर छन् । काठमाडौं भित्र एभरेष्ट हस्पिटालिटीको म्यारिओट काठमाडौं र छायाँदेवी कम्प्लेक्सको अलफ्ट काठमाडौं पाँचतारेमा थपिएका छन् । होटलमा व्यवसायमा विदेशी लगानी बढ्दै पछिल्लो समय नेपालको होटल व्यवसायमा विदेशी लगानी बढ्दै गएको छ । लगानी गर्न विदेशी लगानीकर्ताहरु आकर्षित भएका छन् । गत आर्थिक वर्षमा होटल व्यवसायमा करिब ५ अर्बले लगानी प्रतिबद्धतामा बृद्धि भएको छ । गत आर्थिक वर्षमा उद्योग विभागमा दर्ता भएका ६९ होटलमा ४० वटा विदेशी होटल रहेका छन् । उक्त होटलहरुले ९ अर्ब ३० करोड ६२ लाख लगानी गर्ने प्रतिबद्धतासहित अनुमति लिएको विभागले जनाएको छ । सो लगानी मध्ये सबैभन्दा धेरै चीनबाट रहेको छ । चीनले मात्रै ९ वटा होटल दर्ता अनुमति लिएको छ । यस्तै भारत, कोरिया र अमेरिकाले ३/३ होटल दर्ता अनुमति लिएका छन् । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८३ करोड ३६ लाख लगानी प्रतिबद्धतामा ८४ वटा होटल दर्ता गर्न प्रतिबद्धता आएको थियो भने ५० वटा विदेशी, १९ वटा स्वदेशी र १५ वटा सयुक्त लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

भीभो कम्पनीको ‘भी १७ प्रो’ नेपाली बजारमा चल्ला त ?

काठमाडौं । चिनियाँ मोबाइल उत्पादक कम्पनी भीभोले नेपाली बजारमा आफ्नो पछिल्लो संस्करणको रुपमा ‘भी १७ प्रो’ नेपाली बजारमा भित्र्याएको छ । मोबाइल भित्रिएसँगै यसको व्यवसायिकतामा अनेक आँकलन गर्न थालिएको छ । मोबाइलले व्यवसायिक सफलता हासिल गर्न सक्ला कि नसक्ला भन्ने सवाल उठेको छ । पछिल्लो समय भीभोमा मात्र होइन अन्य ब्राण्डका मोवाइलमा समेत ग्राहकहरूको आकर्षण बढ्दो छ । बढ्दो नयाँ ब्राण्डको मोबाइल बजारमा भित्रिरहेको प्रतिस्पर्धी बजारमा भी १७ प्रोले स्थान लिन सक्ला कि नसक्ला भनी सवाल उठ्नु स्वाभाविक भएको मोबाइल बिक्रेताहरू बताउँछन् । भीभो ‘भी १७ प्रो को मूल्य नेपाली बजारमा ५२ हजार रुपैयाँ पर्छ । नेपाली बजारमा उक्त मोबाइलमा भएको जस्तै फिचरहरू समावेश गरिएको अन्य विभिन्न ब्राण्डको मोबाइलहरू पाइन्छ । मोबाइल ग्राहकहरूको आफ्नो आवश्यकता, सौख तथा स्तरअनुसार बोक्ने गरेको कम्प्युटर एसोसिएशन नेपाल (क्यान) का निवर्तमान अध्यक्ष विनोद ढकालले बताए । सोही कारण मोबाइल किन्दा मूल्यको भन्दा पनि मान्छेको आवश्कतालाई हेरिन्छ,’ उनले भने ‘मोबाइल महङ्गो भएपनि बिक्ने गर्छ ।’ पछिल्लो समय उस्तै मूल्यमा विभिन्न ब्राण्डका मोवाइलहरू बजारमा आएपनिे सेवा सुविधाका आधारमा ग्राहकहरु आकर्षित हुने उनले बताए । नेपाली बजारमा आएको मोवाइल सेटमध्ये भीभोमा आर्कषण बढेको भीभो मोवाइलका मार्केटिङ म्यानेजर प्रियुस गिरीले जानकारी दिए । उनका अनुसार अन्य विभिन्न सेट भन्दा यसमा क्यामेरा बढी भएकोले भीभोे मोवाइल नेपाली बजारमा रुचाइएको हो । यस्ता छन् आधा लाखमा पाइने मोबाइल फोन भीभो मोबाइल कम्पनीले आधा लाख रुपैयाँ पर्ने मोबाइल सेट नेपाली बजारमा ल्याएपनि सो हाराहारीका अन्य सेटहरू बजारमा छ्यापछ्याप्ती रहेको सम्बन्ध क्षेत्रका कम्पनीहरूले बताएका छन् । उस्तै मूल्यका विभिन्न सेटहरू बजारमा उपलब्ध भएकाले भीभोको बजारीकरणमा केही समस्या हुन सक्ने व्यापारीहरूको बुझाइ रहेको पाइन्छ । सामसुङ मोवाइलको ‘ए ५०’ मोडेलको मोवाइल सेट नेपाली बजारमा ४३ हजार रुपैयाँमा किन्न सकिन्छ । यस्तै, ओप्पोको ‘रेनो टु एफ’ मोडलका मोवाइल फोनहरू ४२ हजार रुपैयाँमा बजारमा उपलब्ध छन् । हुवाइको ‘नोभा फाएभ टी’ मोडलका मोबाइल नेपाली बजारमा किन्दा ५४ हजार रुपैयाँ पर्ने गर्छ । राजधानीको रत्नपार्क स्थित पुरानो बसपार्क नजिकै ग्लोवल मोबाइल पसल संचालन गर्दै आएका युवराज गिरी भन्छन्–‘पछिल्लो समय मोवाइको बिक्री राम्रै छ, हामीले आफूहरूसँग उपलब्ध सेटहरु राम्रोसँग बिक्री भइरहेका छन् ।’ उस्तै मूल्यका मोबाइल सेटहरू बजारमा पाइने भएकाले ग्राहकहरूको रोजाइमा भीभो मोबाइल नै पर्ला कि नपर्ला भन्ने उत्सुकता ग्राहकमा जाग्नु नौलो कुरा होइन । यद्यपि सोही विषयमा मोबाइल पसल संचालन गर्दै आएका व्यापारीहरूले मोवाइलको फिचर अनुसार त्यसको व्यापारमा प्रभाव पर्ने कुरामा जोड दिएका छन् । भीभो कम्पनीले अघिल्ला ब्राण्डभन्दा अहिलेको ब्राण्डमा सुधार गरेको कम्पनीको दावी छ । यस्ता छन् भीभो ‘भी १७ प्रोे’ का फिचरहरू ‘भीभो भी १७ प्रो’ डिभाइसमा क्वाड रियर क्यामरा सेटअपका साथमा ३२ मेगापिक्सेलको ड्यूल पप–अप सेल्फी क्यामरा जडान गरिएको छ । यस डिभाइस ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज अप्सनका साथमा क्रिस्टल ब्ल्याक, क्रिस्टल ह्वाइट कलर अप्सन रहेका छन् । भिभो भी प्रो १७ आर्कषण डिजाइनमा बनाएको कम्पनीले जनाएको छ । यो १२८ जिबी भेरियन्ट क्षमता रहेको उक्त मोबाइल सेट गोरिल्ला ग्लास डिजाइन गरेर बनाएकाले निकै बलियो पनि रहेको छ । व्याट्रीको हिसाबले पनि भीभो भी १७ प्रो ४१ सय एमएचको छ भने यसले १८ वाट फास्ट चार्जिङ गर्न सकिने कम्पनीले बताएको छ । केही समय अगावै नेपाली बजारमा भित्रिएको उक्त सेटमा केही नयाँ फिचर समेत राखिएको छ । यसै कारणले पनि ग्राहहरूको आकर्षक यो मोबाइल सेटप्रति रहेको छ । यहि फिचरका कारण बजारमा भीभो भी १७ बराबरकै ५० हजार रुपैयाँ मूल्य पर्ने अन्य उक्त मोवाइल भएपनि ग्राहकहरूको रोजाइमा यो मोबाइल परेको हो । सोही मूल्य बराबरका अन्य मोबाइल भएपनि यसमा रहेको आकर्षक फिचरका कारण आगामी दिनमा भीभी नेपाली बजारमा जम्ने अनुमान कम्पनीले गरेको छ ।

तिहारमा देशभर झिलिमिलि, अनुमानभन्दा २११ मेगावाट कम माग भएपछि नाे लाेडसेडिङ्

काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत् उच्च माग (पिक डिमाण्ड) १०८९ पुगेको छ ।नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ साढे ६ बजे पिक डिमाण्ड १०८९ मेगावाट पुगेको रेकर्ड गरेको हो । अघिल्लो वर्षको लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड ११०५ मेगावाट थियो । गत आर्थिक वर्षभरिको पिक डिमाण्ड १३२० मेगावाट थियो ।तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहककाबाहेकको हो । औद्योगिक ग्राहकको विद्युत माग करिब  ३०० मेगावाट छ । यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३३१ मेगावाट रेकर्ड गरिएको छ । प्राधिकरकणले आफ्ना विद्युत गृहहरुबाट ५४६ मेगावाट, निजी क्षेत्रका विद्युत गृहहरुबाट ४३६ मेगावाट र भारतबाट १०७ मेगावाट नेट आयात गरी १०८९ मेगावाट विद्युत् आपूर्ति गरेको छ । यस वर्ष प्राधिकरणका ६० मेगावाटको माथिल्लो त्रिशूली ‘३ ए’ तथा १४ मेगावाटको कुलेखानी तेस्रा र निजी क्षेत्रका केही जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा थपिएकाले भारतबाट आयात हुने परिमाण पनि घटेको छ । प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत् गृहहरु पूर्ण क्षमतामा चलाइएको थियो । जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन गरिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार  संचालकहरु चेतराज जोशी, विश्वप्रकाश गौतमसहित प्राधिकरणका उच्च अधिकारीहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए । विगत वर्षमा झै यस वर्ष पनि फाट्फुट् केही स्थानमाबाहेक लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । तीन वर्षअघि प्राधिकरणले लक्ष्मीपूजाकै दिनबाट मुलुकलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु गरेको थियो । अहिले मुलुक लोडसेडिङमुक्त छ । कार्यकारी निर्देशक घिसिङले विद्युतको चुहावट नियन्त्रणमा चालिएका कदम, उपभोक्ताहरुले प्रयोगमा ल्याएका ऊर्जा कम खपत गर्ने बल्ब लगायतका विद्युतीय उपकरणहरु, गत वर्षभन्दा यस वर्ष तिहार अघि परेकाले पिक डिमाण्ड नबढेको बताए । ‘लक्ष्मीपूजाको दिन अधिकतम माग करिब १४ सय मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्तिको जोहो गरेका थियौं, उपभोक्तालाई पनि प्रशस्त विद्युत भएकाले ढुक्क भएर वत्तिबाल्न आग्रह गरेका थियौं, क्षमताको माग अपेक्षाअनुसार बढ्न नसके पनि ऊर्जा खपत बढेको छ, यो प्रणाली संचालनका लागि राम्रो हो’ उनले भने । ‘विगतमा लोडसेडिङ हुँदा माग र आपूर्तिको विवरण नै तोडमोड गरी त्यसैमा खेलिंदो रहेछ,अहिले देखिएको वास्तविक डिमाण्ड हो ।’ प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतमा चलाइएको अभियान परिणाम स्वरुप अव वास्तविक डिमाण्ड देखि विद्युत् आपूर्ति विश्वसनीय र भरपर्दो हुन थालेको उनले बताए । लक्ष्मीपूजाको दिनमा काठमाडौंको चपली–शिवपुरी, सुनसरीको दुहवी—धरान, रुपन्देहीको बुटवल–नयाँ मिल र बाँकेको कोहलपुर–गुलरिया ३३ केभी प्रसारण लाइन ट्रिपिङ भई केहीछिन विद्युत् आपूर्तिमा अवरोध भएको थियो । तर तीन लाइनहरुलाई करिब २ मिनेट भित्रमै संचालनमा ल्याइएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । ‘काठमाडौंको महाराजगंज वितरण केन्द्रअन्तर्गतका बसुन्धरा, धुक्बाराही, सामाखुशी क्षेत्रमा रहेका स्थानीय ट्रन्सफर्मरमा समस्या देखिएको थियो, तयारी अवस्थामा रहेका हाम्रा प्राविधिक टोलीलाई तत्काल खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सफल भयौं,’उनले भने । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

धनधान्यकी देवी माता लक्ष्मीको पूजा तथा आरधना गरी मनाइँदै

काठमाडौं । आज धनधान्यकी देवी माता लक्ष्मीको पूजा । अन्य वर्षहरूमा यमपञ्चकको तेस्रो दिन पर्ने लक्ष्मी पूजा आज साँझ देशैभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सबैको घर–घरमा माता धनकी देवी लक्ष्मीले बास गरुन्, कहिले धन सम्पत्तिले अभाव नहोस् भन्ने मनोकांक्षाका साथ माता लक्ष्मीको पूजा तथा आरधना गरिन्छ । हुन त तिहारलाई फूल र दिपको चाड पनि भनिन्छ । माता लक्ष्मी गोधुली साझमा दिपको उज्यालोमा सबैको घर–घरमा प्रवेश गर्ने जनविश्वास रहि आएको छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । आज साझ सबैको घर–घरमा मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपेर चामलको पीठो एवम् अबिरले लक्ष्मीको पाइला बनाइ केराको सुत्लामा बत्ती बाल्ने चलन छ । पछिल्लो.रातो माटो र गोबरले लिपेको ओभानो नभइसकेको आँगनमा बनाइने आकर्षक मण्डलाकार रंगोली, फूल र दिपले घरलाई सजाएर दीपावली मनाउने प्रचलन छ । दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गर–गहना, पैसा, कौडा, धान, चामल, फलफूल, सेलरोटी र कमल फूल र फूलमाला चढाइ चढाइ लक्ष्मीको मूर्ति वा तस्बिरमा श्रद्धापूर्वक स–परिवारले विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने प्रचलन छ । घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । यस्तो छ लक्ष्मी पूजाको परम्परा सत्ययुगमा वामन अवतार भगवान विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले भगवानलाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गरेको उपलक्ष्यमा घर–घरमा यमपञ्चकमा दीपावली गरिन्छ । दानवराजले यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको हो । आज साँझ केटीहरू समूह बनाइ घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।

नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, लगानीकर्तालाई मंसिरभित्रै नगद र बोनस सेयर

काठमाडौं । नेपाल बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । गत विहीबार बसेको सञ्चालक समितिको बैठकले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्ने र त्यसको व्याज वार्षिक १० प्रतिशत तोक्ने निर्णय गरेको हो । सबै वाणिज्य बैंकहरुले चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने नेपाल राष्ट्र बैंकको नीति पालना गर्ने क्रममा उक्त ऋणपत्र जारी गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए । नेपाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ । उसले निष्काशन गर्न लागेको ऋणपत्र चुक्ता पुँजीको साढे २५ प्रतिशत हुनेछ । बैंकले मंसिर मसान्तअघि नै वार्षिक साधारणसभा गर्न लागेको उनले जानकारी दिएका छन् । गत वर्षको नाफाबाट बैंकले १५ देखि २० प्रतिशत लाभांश दिन सक्ने र त्यसमा बोनस सेयर र नगद लाभांश दुबै हुने जानकारी उनले दिए । असार मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार सेयरधनीलाई वितरणयोग्य नाफा ३ अर्ब ४५ करोड रुपैयाँ छ । ‘कति लाभांश दिने भनेर सञ्चालक समितिले निर्णय गरिसकेको छैन । हामी स्टेवल लाभांश नीतिमा जानेछौं । लाभांशमा बोनस सेयर र नगद दुबै हुनेछ । १५ देखि २० प्रतिशतसम्म दिन सकिन्छ’ विकासन्युजको नियमित स्तम्भ ‘विकास वहस’मा उनले भने । २०५८ देखि थालिएको वित्तीय क्षेत्र सुधार कार्यक्रममा नेपाल बैंकलाई निजीकरण गर्ने उदेश्य राखिएको थियो । तर वर्तमान सरकार नेपाल बैंकलाई निजीकरण गर्ने पक्षमा नभएको उनले बताए । उनले नेपाल बैंकमा ट्रेड यूनियनको संख्या घट्न थालेको र बैंकले दिने सेवाको प्रभावकारीता बढेको बताएका छन् । तर नेपाल बैंकको प्रभाव बाजेको पुस्तामा जस्तो नातिको पुस्तामा नभएको उनले स्वीकार गरेका छन् । यद्यपी आफ्नो कार्यकालमा वार्षिक २५ प्रतिशतको ग्रोथ हासिल गर्ने बताएका छन् । उनीसँग गरिएको ‘विकास वहस’ भिडियो यूट्युवमा गई विकासन्युजमा हेर्न सकिने छ ।  

७५% मजदुर व्यवसायजन्य रोगबारे बेखबर, ११% कामदारको तत्काल दम, खोकी र न्यूमोनिया

काठमाडौं । इँटा भट्टामा कार्यरत ७५ प्रतिशत मजदुरलाई कार्यस्थलमा रहेको धुलो धुवाँका कारण दीर्घ रोग लाग्ने बारे थाहा नभएको र सोही नै संख्यामा दीर्घरोगीहरु रहेको पाइएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले काठमाडौं उपत्यकाका इँटा भट्टाहरुमा गरेको अध्ययन प्रतिवेदन अनुसार ११ प्रतिशत कामदारको तत्काल दम, खोकी र न्यूमोनिया भएको देखिएको छ । सो सम्वन्धमा शुक्रवार आयोजना गरेको व्यवसायजन्य स्वास्थ्य र सुरक्षा सम्वन्धी कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सुजन जोजीजूले भने,‘नेपालमा व्यवसायजन्य दुर्घटनामा वर्षेनी २ सयभन्दा वढीको मृत्यु हुन्छ तर विभाग वा मन्त्रालयमा रिपोर्ट नै आउँदैन ।’ हरेक उद्योग प्रतिष्ठानले श्रम अडिट र व्यवसायजन्य स्वास्थ्यमा वर्षेनी अडिट गरेको खण्डमा मजदुरहरुको स्वास्थ्य र जीवन सुरक्षित हुने उनको कथन थियो । मजदुरहरुमा सचेतना नहुँदा व्यवसायजन्य सुरक्षा नभएको र रोजगारदाताले व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यान्वयन गर्न नसक्दा धेरै मजदुरहरु अंगभंग भइरहेको उनले जानकारी दिए । उनले भने,‘उद्योग प्रतिष्ठानमा दुर्घटना भइ मजदुर अशक्त भएमा वा व्यवसायजन्य रोग लागेमा उनले खाइपाइ आएको ६० प्रतिशत बराबरको मासिक पेन्सन दिनु पर्ने प्रावधान छ । यसैंले यो अवस्था आउनै नदिनका लागि उद्योग प्रतिष्ठान व्यवसायजन्य स्वास्थ्यको दृष्टिकोणले सुरक्षित हुनुपर्छ । ’ अध्ययनकर्ता पूर्णभक्त दुवालले इँटाभट्टामा मजदुरहरुको स्वास्थस्थिति भयावह रहेको र मजदुरहरुले घाम र चिसोबाट बच्नका लागि आश्रमस्थल नै नभएको बताए । उनले भने, ‘६९.५ प्रतिशत मजदुरले कामकै कारण स्वास्थ्य विग्रिएमा उपचार खर्च आफैले व्यहोर्दै आएको र दुर्घटना भएको अवस्थामा पनि रोजगारदाताले केही अंश मात्र व्यहोर्दै आएका छन् ।’ अध्ययनमा सहभागी ३२.५ प्रतिशत उद्यमीलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका बारेमा जानकारी नै नभएको र ७.५ प्रतिशतले यससम्वन्धमा सुन्दै नसुनेको पाएको उनले बताए । मजदुरहरुको वासस्थान ४ फिटभन्दा अग्लो नभएको र भुइँको चिसोमा सुत्न भएको पनि उनले अध्ययनको क्रममा पाएको बताए । शौचालय पनि अव्यवस्थित र खानेपानी पनि स्वस्थकर नभएको पाइएको अध्ययनकर्ता दुवालले जानकारी दिए । कार्यक्रममा नेपाल इँटा उद्योग व्यवसायी महासंघका महासचिव केपी अवालले इँटाभट्टामा मजदुरहरु मौसमी हुने गरेकाले र वर्षेनी कामदार फेरिने गरेकाले श्रम ऐन अनुसार मजदुरहरुलाई बुझाउन गाह्रो भइरहेको बताए । उनले भने,‘ सरकारको नीति नियम एकातिर छ र वस्तुस्थिति अर्कै हुँदा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यान्वयन गर्न समस्या भइरहेको छ ।’ इँटा भट्टाबाट हुने प्रदुषण अत्यन्तै कम भइसकेको र सरकारी मापदण्डअनुरुप काम भइरहेको बताउँदै उनले ५ ओटा प्रदेशमा इँटा प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको बताए । व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा इँटा उद्योग महासंघ एकदमै संवेदनशील रहेको र यसमा सवैपक्षको उत्तिकै सहयोग आवश्यक रहेको उनको टिप्पणी थियो । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले जनताको स्वास्थ्य अधिकारका लागि रेस्फेकले काम गर्दै आएको र मजदुरहरुको स्वास्थ्य राम्रो भएमा मात्र उत्पादन वढ्ने बताए । उनले भने,‘व्यवसायी, मजदुर र सरकारसँग मिलेर इँटा भट्टामा देखिएको समस्यालाई समाधान गर्न त्रिपक्षीय छलफल निरन्तर गरी कार्यक्रम अगाडि बढाइनेछ र नीति तथा कानुन कार्यान्वयनमा रहेका व्यवहारिक कठिनाइ पहिल्याइ भावी कार्यक्रम तय गरिनेछ। उनले अध्ययन प्रतिवेदनका आधारमा इँटा भट्टामा सचेतनामुलक तालिम चलाइने पनि जानकारी उनले दिए । नेपाल ट्रेड युनियन महासंघ –जिफन्ट)का उपाध्यक्ष विदुर कार्कीले कुनै पनि पेशा वा व्यवसायको प्रकृति अनुसार कार्यथलोमा काम गर्दा श्रमिकहरुको स्वास्थ्यमा पर्ने शारिरिक, मानसिक वा जोखिमयूक्त असुरक्षित वातावरणलाई घटाउँदै स्वस्थ र सुरक्षित वातावरण स्थापित गर्न विकसित भएको अवधारणालाई नै व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य भनिने जानकारी दिए । उनका अनुसार व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा ध्यान दिए औद्योगीक दुर्घटना ९० प्रतिशत रोक्न सकिन्छ । नेपाल ट्रेड युनियन कंग्रेसका महासचिव योगेन्द्र कुँवरले कुनै पेशा /व्यवसायमा संलग्न भएकै कारण काम वा पेशाको प्रकृति अनुसारको लाग्ने अल्पकालिन तथा दिर्घकालिन विभिन्न रोगहरु व्यवसायजन्य रोग भएको जानकारी दिए । यस्तो किसिमको रोग बैंकमा काम गर्ने कर्मचारीदेखि उद्योगमा काम गर्ने मजदुरसम्मलाई लाग्ने जानकारी उनले दिए । जनस्वास्थ्य अभियन्ता प्राडा शरदराज वन्तले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका सम्वन्धमा नेपालमा खासै अध्ययन नभएको र रेस्फेकले गरेको अध्ययन नीति निर्मातादेखि मजदुरसम्मका लागि उत्तिकै महत्वपूर्ण रहेको बताए ।

भ्रमण वर्ष सफल बनाउन सहयाेग गर्ने जापानीकाे प्रतिबद्धता

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न जापानले सहयोग गर्ने भएको छ । अबको दुई महिनापछि शुरु हुने भ्रमण वर्षका दौरानमा बढीभन्दा बढी जापानी नागरिकलाई नेपाल भ्रमणमा अभिप्रेरित गर्ने जापान सरकारको प्रतिबद्धता रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको जापान भ्रमणका क्रममा जापान सरकारले नेपाल भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । भ्रमणका दौरानमा राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भएको भेटवार्तामा नेपालको आर्थिक विकासमा जापानी सहयोग अभिवृद्धिका साथै भ्रमण वर्षलाई सहयोग गर्ने त्यहाँका प्रधानमन्त्रीले बताए । राष्ट्रपति भण्डारीले यही कात्तिक ३ गते जापानी सम्राट नारुहितोको शुभराज्याभिषेक समारोहमा सहभागी हुन म्यान्मार हुँदै जापान पुगेकी थिइन् । राष्ट्रपति भण्डारीले नेपालको पूर्वाधार विकासमा जापानी लगानी तथा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जापानी सहयोगका लागि आग्रह गरेकी हुन् । जापानी प्रधानमन्त्री आबेले नेपालको दिगो विकासमा जापानको सहयोग निरन्तर रहने आश्वासन दिँदै दुई मुलुकबीच व्यापार घाटा कम गर्ने विषयमा छलफल गरी अगाडि बढ्ने बताए । नेपाल र जापानबीच सिधा हवाई सम्पर्क विस्तार भएकाले पनि जापानबाट उल्लेख्य सङ्ख्यामा पर्यटन नेपाल आउने अपेक्षा गरिएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज ए–३३० ले गत भदौ १२ गतेदेखि जापानको ओशाकास्थित ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा व्यावसायिक उडान शुरु गरेको थियो । निगमले साताको दुई दिन मङ्गलबार र शनिबार नियमित उडान गर्दै आइरहेको छ । पछिल्लो समय ओसाका–काठमाडौँ उडानमा सन्तोषजनक व्यापार भइरहेको निगमले उल्लेख गरेको छ । राष्ट्रपति भण्डारीले नेपाल र जापाबीचको लामो दौत्य तथा सांस्कृतिक सम्बन्ध रहिआएको र सन् २०२० मा धेरैभन्दा धेरै जापानी नागरिकले नेपाल भ्रमण गर्ने तथा काठमाडौँ–नारिता सिधा उडान चाँडै हुने विश्वास व्यक्त गरे । निगमले नेपालीको बसोबास बाक्लो भएको जापानको राजधानी टोकियो नजिकको टोकियो नारिता इन्टरनेशनल एयरपोर्टमा तिहारपछि सिधा उडान गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको निगमले जनाएको छ । जापानबाट वार्षिक ४० हजार पर्यटक नेपाल भित्र्याउने निगमको लक्ष्य रहेको छ । राष्ट्रपति भण्डारीको जापान भ्रमणकै सन्दर्भमा त्यहाँको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका महाचिव तोसिहिरो निकाइले पनि नेपाल भ्रमण वर्षमा ६० हजार जापानीलाई नेपालमा भ्रमण गराउने लक्ष्य लिइएको अवगत गराए । सन् १९५६ देखि नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात आपसी सम्बन्धका विविध पक्षमा विस्तार हुँदै गएको छ । दुई देशबीचको परम्परागत सांस्कृतिक र कूटनीतिक सम्बन्ध मात्र नभई जापान नेपालको असल विकास साझेदार मुलुक पनि हो । मुलुकको आर्थिक समृद्धिका लागि महत्वपूर्ण आधारको रुपमा लिइएको पर्यटन क्षेत्रको विकासका लागि एसियाकै विकसित मुलुक जापानको अहम भूमिका हुने देखिन्छ । जापानबाट पछिल्लो समय पर्यटक आगमनमा बढोत्तरी भइरहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटक नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१४ मा २५ हजार ८२९ र सन् २०१६ २२ हजार ९७९ जापानी पर्यटकले नेपाल भ्रम्ण गरेका थिए । भूकम्प र नाकाबन्दीकाबीच पनि सन् २०१५ मा १४ हजार ४६५ जापानी नागरिकले नेपाल भ्रमण गरेका थिए । भ्रमण वर्ष अभियानको संघारमा नेपाल र जापानबीचको उच्चस्तरीय भ्रमण तथा निगमले जापान सिधा उडानले नेपालमा जापानी पर्यटकको बढोत्तरी हुने अपेक्षा गरिएको छ । जापानमा करीब ११ करोड जनसख्या छ । टोकियो, ओशाका, योकोहामालगायत मुख्य शहर हुन् । जापानमा ९० हजारभन्दा बढी नेपालीको बसोवास रहेको अनुमान रहेको छ । रासस