ढुंगेगढी र कृषि उद्यमको मुख्यमन्त्रीले गरे अवलोकन, ‘पर्यटन र कृषि सरकारको प्राथमिकता’

<p>हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रचार प्रसार गर्न सके मकवानपुरमा रहेको ऐतिहासिक ढुंगेगढी पर्यटकीय गन्तब्य बन्ने बताएका छन् । उक्त गढीको बुधबार स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले ऐतिहासिकता झल्कने गरी ढुंगेगढीको बिकास गरिने पनि जानकारी दिए । प्रदेशमा ऐतिहासिकता झल्कने धेरै गढीहरु रहेको स्मरण गर्दै उनले भौगोलिक हिसाबले पनि सो गढीमा पर्यटक [&hellip;]</p>


हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रचार प्रसार गर्न सके मकवानपुरमा रहेको ऐतिहासिक ढुंगेगढी पर्यटकीय गन्तब्य बन्ने बताएका छन् । उक्त गढीको बुधबार स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले ऐतिहासिकता झल्कने गरी ढुंगेगढीको बिकास गरिने पनि जानकारी दिए ।

प्रदेशमा ऐतिहासिकता झल्कने धेरै गढीहरु रहेको स्मरण गर्दै उनले भौगोलिक हिसाबले पनि सो गढीमा पर्यटक आकर्षण गर्न सकिने बताए । प्रदेश सरकारले यसको बिकासका लागि बिषेश महत्वका साथ योजनासहित अगाडि बढ्ने समेत उनको भनाई थियो ।

मकवानपुरढीदेखि करिब ५ किलोमिटर माथि कान्तिराजपथ नजिकै रहेको सो गढीमा अहिले पनि पर्यटकहरु घुम्न आउने गरेका छन् । यसअघि पनि प्रदेश सरकारको सहयोगमा सो स्थानमा ऐतिहासिक मन्दिर तथा बिश्राम स्थल निर्माणसमेत गरिएको छ ।

यसैगरी बुधबार नै मुख्यमन्त्री पौडेलले मकवानपुर गढी गाउँपालिकाका विभिन्न कृषि उद्यमहरुको अवलोकन गरेका छन् ।

मुख्यमन्त्री पौडेलले मकवानपुर गढी गाउँपालिकाका कामधेनु कृषि फर्म, देबकी एकीकृत कृषि फर्म, मकवानपुर एग्रो प्राली, कलश बहुउद्देश्यीय कृषि फर्म, तिमल्सिना कृषि फर्मको अवलोकन गरेका हुन् । किसानहरुलाई हौसला प्रदान गर्न उनीहरुको फर्ममा नै गएर समस्याका विषयमा जानकारी लिएका थिए । किसानहरुले लगाएको तरकारीका साथै भैंसी, गाई, टर्की तथा कुखुरा फर्महरु अवलोकन गरेका हुन् ।

उक्त अवसरमा स्थानीय किसानहरुले मुख्यमन्त्री पौडेलसंग कृषि उत्पादनको बजार ब्यबस्थित बनाउन माग गरेका थिए । यसैगरी फर्महरु स्थापना गरेपनि बाटो, पानी, बिजुली लगायतको समस्याका बारेमा पनि उनीहरुले मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए ।

किसानहरुको जिज्ञासाको जवाफ दिदैं सरकारले सबै भन्दा कृषि क्षेत्रलाई महत्व दिने बताए । किसानले उत्पादन गरेका हरेक कृषि उत्पादनलाई सहजरुपमा बिक्री बितरण गर्न, सहजरुपमा उत्पादनका बिभिन्न भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने उनको भनाई थियो । बुधबार नै मुख्यमन्त्री पौडेलले बिभिन्न निर्माणधीन भौतिक संरचनाहरुको समेत अवलोकन गरे ।

अवलोकनमा जिल्ला समन्वय समिति मकवापुरका प्रमुख रघुनाथ खुलाल, गढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईं, सहकारी संघका केन्द्रीय सदस्य बद्रि लम्साल, दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देबकोटा, रामजी सापकोटा, हेटौँडा उपमहानगरपालिकाका अधिकृत रामकृष्ण थापा, स्थानीय वडाहरुको अध्यक्षहरुलगायत सहभागी थिए ।

Share News